पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

काठमाडौं:   गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुन:निर्माण तीव्र गतिमा अघि बढेको बताउनुभएको छ ।            राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले विपद्बाट भएको क्षतिको मूल्याङ्कन र पुनःनिर्माण तीव्र रुपमा अगाडि बढ्ने बताउनुभएको हो ।      “डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्बाट भएको क्षतिबारे विपद् क्षतिको मूल्याङ्कन ९डिडिए०को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनःनिर्माणको अगाडि बढाउने आजको बैठकले निर्णय गरेको छ”, उहाँले भन्नुभयो ।           विपद् क्षतिको मूल्याङ्कन भइसकेको ठाउँमा पुनःनिर्माणका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताउनुभयो ।  “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ । सोहीसम्बन्धी कार्यविधि आज पारित गरेका छौँ । आगामी माघ तेस्रो साताबाट जाजरकोट भूकम्पको विपद् क्षतिको मूल्याङ्कन सुरु हुनेछ”, उहाँले भन्नुभयो ।           उक्त निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत गर्ने उहाँको भनाइ छ । गृ हमन्त्री लेखकका अनुसार आज साँझ ७ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दैछ ।  आजको परिषद् बैठकले निर्णय गरिसकेपछि पुनःनिर्माणको कामले तीव्रता पाउने मन्त्री लेखकको भनाइ छ ।

सर्लाही:    माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ ।  पुसको दोस्रो हप्ता लागिसक्दा सङ्क्रान्तिका लागि तरुल निकाल्ने चटारो बढेको बागमती नगरपालिका–५ टेकानीका तरुल किसान दलबहादुर लुङ्गेलीले बताउनुभयो । लुङ्गेलीले बागमती खोला बगरमा पाँच कट्ठा खेतमा तरुल लगाउनुभएको छ ।       चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाउने भएकाले पुसको तेस्रो हप्तासम्म तरुले बेचिसक्ने योजना बनाएको उहाँले सुनाउनुभयो ।  “तरुलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ ।” उहाँले भन्नुभयो, “त्यसकारण पुस २५÷२६ सम्म बेचिसक्ने योजना छ ।” त्यसपछि तरुलले उति राम्रो मूल्य नपाउने उहाँको अनुभव छ । तरुल स्वास्थ्यका हिसाबले चिसो मौसममा उपयोगी रहेकाले यस बेला ब्यापार र मूल्य बढ्ने गरेको छ ।      बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरुल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ । “बगरको खेती सुन जस्तै बनेको छ”, उहाँले भन्नुभयो, “तरुल उत्पादनबाट मनग्य आम्दानी हुन्छ ।”      तरुलखेती गर्नुभएका बागमती नगरपालिका–४, जिराएतका किसान विमल खड्काले तरुलको उत्पादन राम्रो हुँदा अन्यबालीभन्दा धेरै आम्दानी हुने गरेको बताउनुभयो । आफ्नो र ठेक्का गरेर खड्काले पनि एक बिघा बगर खेतमा तरुल लगाउनुभएको छ । केहीमा तरुल उत्पादन राम्रो भएको र केहीमा बिग्रिएको उहाँको भनाइ थियो ।       यहाँका किसानहरूले आकासे र पताले गरी दुई जातको तरुल उत्पादन गर्ने गरेका छन् । आकासे अर्थात् सेतो तरुल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४ जिरायतका तरुल व्यापारी राम दरेस महतोले बताउनुभयो । अर्को पताले अर्थात् रातो जातको तरुल भने उत्पादन केही कम हुने खान पनि स्वादिलो हुने भएकाले मूल्यसमेत राम्रो रहेको उहाँको भनाइ छ ।       यहाँका किसानले प्रतिबिघा ८० देखि एक सय २० क्विन्टलसम्म तरुल फलाउने गरेका छन् । यस वर्ष छठको समयमा तरुल प्रतिकिलो एक सय २० रुपैयाँसम्ममा बिक्री भएको थियो । अहिले बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपैयाँ रहेको तरुल व्यापारी डम्बरबहादुर खड्काको भनाइ छ । यस वर्ष उहाँ २० बिघामा लगाएको तरुल बजार लैजाने योजनामा हुनुहुन्छ ।        उहाँले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरुल लगाउनुभएको छ । जग्गा भाडामा लिदा वर्षको प्रतिबिगाहा ५० देखि ६० हजार रुपैयाँसम्म तिर्नुपर्ने उहाँको भनाइ छ । तरुल खेती गर्दा प्रतिकठ्ठा बीउ, मलखाद, कामदार गरी रु आठ हजारसम्म खर्च हुने गर्दछ । उहाँका अनुसार तरुल खेतीबाट किसानहरूले प्रतिकट्ठा रु ३० देखि ४० हजारसम्म आम्दानी गर्दछ ।       बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि लगभग तीन सय बिगाहा क्षेत्रफलमा तरुलखेती हुँदै आएको छ । सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरुल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिकहरू बताउँछन् । बागमती नदी उकास जग्गा तरुल उत्पादनका लागि निकै उपयोगी बनेको छ ।       केही समयअघिसम्म यसैखेर गइरहेको बगरखेतीमा यतिबेला किसानले सुन फलाइरहेका बागमती नगरपालिका कृषि शाखा प्राविधिक हिमाल शाहीले बताउनुभयो । खोलाको बगर स्थानीय किसानले प्रतिपरिवार पाँच कट्ठाको दरले भाग लगाएर केही समय ता खेती गर्दै आएका छन् ।  बगरमा किसानले तरुलसहित मुम्फली, सखरखण्ड, तोरी, मकै, रहरी, परबर, बोडीलगायतको खेती गर्ने गरेका छन् । खेती राम्रो हुने गरेकाले स्थानीयको आयस्तरमा समेत परिवर्तन ल्याएको नगरपालिकाले जनाएको छ ।

कालीकोट:     हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ ।  आज बिहान कार्यालय जाने तरखरमा रहनुभएका उहाँको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।       सत्र वर्षअघि उहाँ राष्ट्रसेवामा प्रवेश गर्नुभएको थियो । उहाँकी श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।  स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताउनुभयो । उहाँले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताउनुभयो । 

काठमाडौं:    पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।  आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।   “तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।” पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । काठमाडौँको न्यूनतम तापक्रम बढ्यो शनिबारको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम  सात दशमलव दुई डिग्री सेल्सियस मापन भएको छ ।  शनिबार पाँच दशमलव नौ डिग्री सेल्सियस मापन भएको थियो । राति काठमाडौँको आकाशमा बादल लागेको हुनाले न्यूनतम तापक्रम थोरै बढेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । न्यूनतम तापक्रम बढेकाले काठमाडौँमा आज तुलनात्मक रूपमा बिहान कम चिसो महसुस भएको छ ।  गत मङ्सिर २९ गते काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।

नवलपुर:    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा परेका छन्  ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो कलेजमा अध्ययनरत २९ जना विद्यार्थीको नतिजा रोकिदिँदा विद्यार्थी समस्यामा परेका हुन् । कलेजका विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिसको नतिजा रोकिएको जानकारी दिनुभयो ।  “हामीसँगै भर्ना भएका वन विज्ञानतर्फका हेटौँडा र कटारीका विद्यार्थीको ‘रिजल्ट’ यही पुस १६ गते आयो तर हाम्रो रोकिएको छ, थेसिसको रिजल्ट नआएसम्म ट्रान्सकृप्ट पाइँदैन”, उहाँले भन्नुभयो, “यस विषयमा क्याम्पस प्रमुखसँग कुराकानी गर्न खोज्दा क्याम्पस प्रमुखले हामीसँग कुराकानी गर्नै खोज्नुभएन ।” क्याम्पस प्रमुखलाई आफूहरूको नतिजा प्रकाशनका बारेमा फोनमा कुरा गर्दा विद्यार्थीको अभिभावकलाई घरमा फोन गरेर मानसिक तनाव दिइएको विद्यार्थी थपलियाले गुनासो गर्नुभयो ।  “हामीले हाम्रो रिजल्ट रोकिएकोबारे कलेजसँग कुरा गर्न खोज्दा हामीलाई प्रहरी लगाएर थुन्ने धम्की दिइयो”, उहाँले भन्नुभयो, “हाम्रो घरमा अभिभावकलाई समेत फोन गरेर मानसिक तनाव दिइएको छ ।” कलेजका कारण आफूहरूको नतिजा रोकिँदा अब आउने नतिजामा उत्तीर्ण वर्ष २०२५ हुने भएकाले लोकसेवामा आवेदन तथा वैदेशिक अध्ययनमा जानसमेत असर पुग्ने उहाँको भनाइ छ । क्याम्पसका प्रमुख एवं प्रबन्ध निर्देशक छवि कँडेलले विश्वविद्यालयको गल्तीका कारण विद्यार्थीको नतिजा रोकिएको बताउनुभयो ।  “हामीले आन्तरिक मूल्याङ्कनको नम्बर पठाउने अन्तिम दिनमा विद्यार्थीहरूको नम्बर इमेल गरेर विश्वविद्यालयको परीक्षा शाखामा पठाएका थियौँ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयले इमेल नहेरी अरु दुई कलेजको रिजल्ट निकाल्दा हाम्रो कलेजको रोकिएछ ।”  विद्यार्थीहरूको नतिजा रोकिएको विषयमा विश्वविद्यालयसँग कुराकानी भइरहेको जनाउँदै क्याम्पस प्रमुख उहाँले चाँडै नै विद्यार्थीहरूको नतिजा प्रकाशन हुने बताउनुभयो ।  आठौँ सत्रहान्तका विद्यार्थीसँग कलेजले अतिरिक्त शुल्कसमेत माग्दै आएको विद्यार्थीको गुनासो छ । आठौँ सत्रहान्तका विद्यार्थी प्रेमकृष्ण साहले भर्ना गर्ने बेलाबाट नै कलेजमा धेरै समस्याको सामना गर्दै आएको बताउनुभयो ।  “हामी विश्वविद्यालयको आठौँ ब्याच तथा सिद्धान्त कलेजको दोस्रो ब्याचको विद्यार्थी हो”, उहाँले भन्नुभयो, “कलेजले प्रयोगात्मक परीक्षा नलिने तर शुल्क लिने गरेको छ । विद्यार्थीसँग भर्ना हुने बेलामा मागेको धरौटी रकमसमेत फिर्ता नगर्ने कलेजले जनाएको छ ।” कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट बिएस्सी फरेष्ट्रीतर्फको सम्बन्धन लिएर शैक्षिकसत्र २०७५ बाट सिद्धान्त कलेजले अध्ययन अध्यापन गराउँदै आएको थियो । कलेजमा बिएस्सी फरेष्ट्रीतर्फ दोस्रो ब्याचका रूपमा शैक्षिकसत्र २०७६ /२०८१ समूहमा भर्ना लिएको थियो ।  

काठमाडौं:    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका बताउनुभएको छ ।      आजदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरु एमालेविरुद्ध झुठा प्रचारमा लागेका टिप्पणी गर्नुभयो ।  एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरु लागेका बताउँदै अध्यक्ष ओलीले एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न पार्टीका सबैलाई आग्रह गर्नुभयो ।      “हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति–व्यक्ति र घरघरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकाउमा लागेर होइन, एउटै नीतिमा अडिग भएर पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्नुपर्छ ।”      पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर खुसी मनाउ गर्नेहरु पश्चाताप गरिरहेका टिप्पणी गर्नुभयो ।      बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ राजनीतिक मार्गचित्र, एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, वर्तमान गठनबन्धनपछिका छ महिना, बदलिँदो विश्व परिवेश र मुलुकको पराराष्ट्र नीति, स्थानीय तह उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माणलाई समेट्नुभएको छ ।       नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रियहितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथिति अन्त्यगरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय गरिएको र विकास–निर्माणले गति लिएको मुख्य जानकारी गराउनुभयो ।       बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको सङ्क्षिप्त जानकारी, गत वैशाखमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछिका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णयहरुबारे जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरुको सम्बोधन र समसामयिक विषयमा महासचिव शङ्कर पोखरेलले बैठकमा जानकारी गराउनुभएको थियो ।       बैठकले पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको ‘बहस नोट कमिटी’ तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरेको छ ।

काठमाडौं:   युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी घाइते भएको रसियाली समाचार संस्था रिया नोभोस्तीले शनिबार जनाएको छ । डोनेट्स्क–गोर्लोभका राजमार्गमा रूसी पत्रकार चढेको कारमा ड्रोन प्रहार हुँदा रूसी पत्रिका इज्वेस्टियाका स्ट्रिङर अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको समाचारमा जनाइएको छ । “गोर्लोभकामा भएको गोलाबारीपछिको दृश्याङ्कन पछि हामी डोनेट्स्क फर्किरहेका थियौँ। राजमार्गमा मानव ड्रोनले हाम्रो कारलाई ठक्कर दियो,” आरआईए नोभोस्तीका संवाददाता म्याक्सिम रोमानेन्कोले भन्नुभयो ।   डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुशिलिनले टेलिग्राममा सबै घाइते पत्रकारको उपचार भइरहेको बताउनुभएको छ । रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रूसी पत्रकारमाथि हुने आक्रमणका लागि ‘उचित समयमा प्रतिक्रिया’ दिइने बताउनुभएको छ । 

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको सो पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।  उनका अनुसार कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।  कार्यदलमा कान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा तोसिमा कार्की, डा अच्युतम लामिछाने र मेघ आले रहेका छन् ।  उक्त  कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।  यसैबीच रास्वपाको केन्द्रीय समितिको दोस्रो दिनको बैठक स्वयम्भूस्थित स्टार भेन्यूमा जारी छ । दोस्रो दिनको बैठकमा संविधान परिमार्जन र प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी कार्यदिशाबारे छलफल गरिने कार्यवाहक प्रवक्ता झाले बताए ।  पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ । यस्तै पार्टीको केन्द्रीय समिति, सल्लाहकार समिति, सल्लाहकार परिषद् एवं केन्द्रीय विभागको पुनःसंरचनामा छलफल गरिनेछ । बैठकले पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन र आचारसंहितामासमेत छलफल हुने बताइएको छ ।

काठमाडौं:     नेपालमा पुन: १८ महिनापछि मङ्कीपक्स देखापरेको छ । तनहुँ स्थायी घर भई पुस ४ गते काठमाडौँ आएका सउदी अरेबियामा कार्यरत ३६ वर्षीय पुरुषमा पुस ५ गते सङ्क्रमण पुष्टि भएको हो ।   उनको टेकु अस्पतालमा आइसोलेसनमा राखी उपचारपश्चात् डिस्चार्ज भइसकेको छ ।  पहिलो सङ्क्रमित पुस ३ गते विमानस्थलबाट ट्याक्सी चढेर निजी अस्पताल हुँदै सरकारी सरुवा रोग अस्पताल टेकु पुगे भने अर्का ४४ वर्षीय पुरुष पुस १३ गते एक दिन स्वयम्भुमा आफन्तकहाँ बसी आइतबार टेकु अस्पताल पुगे । उनको उपचार भइरहेको छ ।  नेपालमा पहिलोपटक एक अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नमुनामा मङ्कीपक्स देखिएको स्वास्थ्य मन्त्रालयले २०८० असार १ गते पुष्टि गरेको थियो ।       सन् २०२४ सम्मको अफ्रिकाको प्रतिवेदनमा २० देशबाट करिब ६३ हजार बढी नमुनामा १३ हजार ५७९ बढी पुष्टि, मृत्यृ १२ सय बढी छ ।   सङ्क्रमण तीब्ररुपमा फैलिएपछि अफ्रिकी सीडिसीले गत अगष्ट १२ मा जनस्वास्थ्य सङ्कटकाल तथा विश्व स्वास्थ्य सङ्गठनले अगष्ट १४ मा विश्व स्वास्थ्य आपत्काल (पिएचआइसी) घोषणा गरेको थियो । एम–पक्स हाम्रा लागि नयाँ मानिए पनि विश्वमा पहिलेदेखि नै छ ।  अफ्रिकी महादेशमा दशकौं अगाडिदेखि नै देखिरहेको छ । तथापि विशेष चर्चा सन् २०२२ मा युरोपमा फैलन थालेपछि भएको हो । सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले विश्वभर ७५ देशमा १६ हजारजनामा भाइरस पुष्टि भएपछि मंकी–पक्सलाई विश्वब्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको थियो । हाल मंकी–पक्सलाई एम–पक्सको नामले सम्बोधन गरिन्छ ।      सन् १९५८ मा पहिलोपटक पश्चिम अफ्रिकाको डेनमार्कमा एक दुर्गम भेगमा एक बन्दी बाँदरमा फेला परेको थियो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा सङ्क्रमण पाइएको थियो ।  मानिसमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कङ्गोमा नौ महिने बालकमा पुष्टि भएको थियो । त्यतिबेला यो रोग १० अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा आयातित कुकुर हुँदै अमेरिकामा फैलिएको थियो ।  एसियामा सर्वप्रथम सन् २०१९ मा  सिंगापुरमा नाइजेरियाबाट आएका ब्यक्तिलाई मंकी–पक्स देखिएको थियो । बादरबाट मानिसमा मात्र नभई मानिसबाट मानिसमा सर्न थालेको, धेरैलाई निदान गर्न कठिन भएको, खोप नभएको, सङ्क्रमण तीव्र फैलिँदै गएको तथा अहिलेसम्म सङ्क्रमण नदेखिएका देशमा समेत २१ दिनभित्र देखिनसक्ने भएकाले स्वास्थ्य आपत्काल घोषणा गरिएको सङ्गठनले बताएको छ ।  सन् २०२२ जुलाईमा युरोप, अमेरिकालगायत देशमा तीव्र रुपमा फैलिई ११० देशमा ८७ हजार बढी सङ्क्रमित र १४० जनाको ज्यान गएको थियो । हालसम्म भारत, नेपाललगायत ११६ देशमा यो रोग देखा परिसकेको छ ।    के कारणले हुन्छ ?      मङ्कीपक्स भाइरसका क्लेड एक–दुई गरी दुई प्रजाति छन्, यसमा क्लेड–१ बढी सङ्क्रामक र घातक छ । सन् २०२२ मा क्लेड–२ भेरियन्टको सङ्क्रमण७० बढी देशमा फैलिदा एम–पक्सलाई जनस्वास्थ्य सङ्कटका रुपमा घोषणा गरेको थियो ।  अफ्रिकामा देखिएको भेरियन्ट क्लेड–१ हो, जुन समुदायस्तरमै छ तर हाल फैलिएको नयाँ प्रजाति क्लेड–१ बी सङ्क्रमितहरुमध्ये १० प्रतिशत बढीको मृत्यृ हुने गरेको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनले एउटा बिरामीलाई समेत गम्भीर मानेको छ । मध्य एवं पश्चिमी अफ्रिकी देशको जङ्गली स्थानमा पाइने बाँदरबाट मानिसमा सरेकाले मङ्कीपक्स नामकरण गरिएको हो । लक्षण कस्तो हुन्छ ?      सामान्यतः सङ्क्रमण भएको २१ दिनपछि ज्वरो आउने, ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांशपेसी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्छन् ।  सङ्क्रमणबाट भएको घाउ १४ देखि २१ दिनसम्म रहने र त्यसपछि सामान्यतः आफैँ हराउँछ । बिबिराको प्रकृति चिकनपक्स अर्थात् ठेउला र भिरगीसँग मिल्दोजुल्दो छ ।      सङ्क्रमण भएको एकदेखि २१ दिनसम्ममा एम–पक्सको लक्षणहरु देखिने गर्छ र दुईदेखि चार हप्तासम्ममा अधिकांश सङ्क्रमितले स्वास्थ्य लाभ गरिसक्छन् । ‘न्यु इङ्लैण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित अनुसन्धानमा सङ्क्रमितहरुमध्ये सबैभन्दा बढीमा शरिरको बिशेषत गुप्ताङ, मलद्वारमा घाउ, पानीका फोकाहरु देखिएको छ । लक्षण १४ देखि २८ दिनसम्म रहनसक्छ र पछि सामान्यतः आफैँ हराउँछ ।  एक व्यक्तिबाट अर्को व्यक्तिमा लक्षण देखिने अवधि दुईदेखि तीन सातासम्म रहन्छ । सङ्क्रमितमध्ये १० प्रतिशतमा स्वास्थ्य जटिलता भएर मृत्यृ हुनसक्छ । गर्भवती, बालवालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा जटिलता हुनसक्छ । सम्भावित जटिलताहरुमा आखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यृ पर्दछन् ।      सङ्क्रमण घातक देखिने वर्गमा बच्चा, दीर्घकालिन रोगी, शरिर कमजोर भएका व्यक्ति पर्दछन् । पछिल्लो समय शारिरीक क्रियाकलापमा लागेका मानिसमा रोग देखिने गरेको छ र यौनरोगसँग सम्बन्धित भनेर पनि लिन सकिन्छ ।  पछिल्लो समयमा पुरुष समलिङ्गंी समूहमा एउटा मात्रै घाउ दिसा गर्ने भागमा वा लिङ्गमा बिबिरा वा पानीको फोकाजस्तो बिबिरा गुप्ताङ्मा देखिएको छ । यसले सङ्क्रमण भएको स्थानबाट आएको व्यक्तिसँग सम्पर्कमा आउँदा वा नजिकको सम्बन्ध बनाएकोमा एउटा मात्र घाउ, बिबिरा आउँदा पनि एम–पक्स हुनसक्छ ।     सर्ने माध्यम के के हुनसक्छ ?      सम्पर्कमा आएका ५० जनामध्ये एक जनामा सर्ने यो रोग अन्य सङ्क्रामक रोग तथा बिबिरा ठेउला र भिरिङ्गीको बिबिरासँग मिल्दोजुल्दो भएकाले स्वास्थ्यकर्मी झुक्किने सम्भावना बढी छ ।  रोग सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको थुक, ¥याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ, दूषित सतह र मांशपेसीबाट सर्ने गर्दछ ।  भाइरस स्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेका छालामार्फत पनि सर्नसक्छ । यस्तै बाँदर,मुसा लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्न र फैलिन सक्छ ।  सङ्क्रमितसँगको यौन सम्पर्कबाट पनि सर्नसक्छ । तथापि बिर्यबाट सर्ने प्रमाणित भईसकेको छैन । गर्भवतीमा गर्भबाट बच्चामा सर्नसक्छ । फोका, लुगाफाटोलगायतमा सङ्क्रमणहुँदा सर्ने जोखिम बढी रहन्छ ।  बिफरकै समूहमा पर्ने मंकीपक्स सङ्क्रमित व्यक्तिको घाउ, हाच्छिउँका छिटा र थुक पनि सार्ने माध्यम भएकाले सजिलै एकबाट अर्कोमा सर्नसक्छ । तरल पदार्थ स्वासनली, आँखा, मुख वा नाकबाट छिर्नसक्छ । पानीका फोका देखिएर अस्पताल पुग्ने चलन नभएकाले सर्ने माध्यमका बारेमा जानकारी दिई फैलन नदिने नै राम्रो हो । कोभिडजस्तो छिटै सर्ने र घातक नभएकाले आत्तिहाल्नु पर्देन ।      धेरैजसो लक्षणबाट त्यो बाहेक छालाको जाँच र फोकाको पीसीआरबाट पत्ता लगाइन्छ । फोकाबाट लिइएको नमुनाको मन्किपक्स भाइरल पोलिमरेज चेन रिएक्सन—पीसीआरबाट रोगको निदान गरिन्छ ।  नमुना छाला, तरल पदार्थ क्रस्ट वा बायोप्सीबाट निकालिन्छ । एन्टिजेन र एन्टिबडी परीक्षणले अर्थोपक्स भाइरसबीचको फरक पत्ता लगाउन नसक्ने भएकाले उपयोगी हुँदैन । उपचार तथा रोकथाम के हो त ?      धेरैजसो मानिसमा यस्ले कुनै जटिलता नल्याउने र दुईदेखि चार हप्तामा आफैँ निको हुन्छ । तथापि, बच्चा, बृद्धबृद्धा र दीर्घरोगीलाई भने च्याप्ने र छाला, आँखा तथा अङ्गको सङ्क्रमण, निमोनिया, इन्सेफलाइटिस जस्ता जटिलता ल्याउने गर्छ । रोगको मृत्यृदर शून्यदेखि ११ प्रतिशत छ । सिकिस्त बिरामीका लागि एन्टिभाइरल औषधि टेकोभिरिम्याट पनि उपलब्ध छ ।      कोरोना सङ्क्रमणमा अपनाइएका मास्कको प्रयोग, हावा ओहरदोहर गर्ने स्थान, साबुनपानीले हातको सरसफाइजस्ता स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिनपर्छ । सङ्क्रमितले प्रयोग गरेका लुगाफाटा, बिछ्यौनालाई निसङ्क्रमित गरेर मात्र अन्यले प्रयोग गर्नपर्छ ।  सन् १९८० मा उन्मुलन भएको बिफरका लागि प्रयोग हुने खोप मंकीपक्समा ८५ प्रतिशत प्रभावकारी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्क्रमण भएको चार दिनभित्र खोप लिन सकिन्छ र चारदेखि १४ दिनभित्रमा खोप दिनसके सङ्क्रमणको जटिलतालाई धेरै हदसम्म कम गर्न सकिन्छ । बिफरको एन्टिभाइरल औषधि प्रयोग गर्न सकिने भए पनि सजिलै उपलब्ध छैन र खोप नै सफल मानिन्छ ।      बिफर उन्मुलन भइसकेकाले त्यसको खोप बिश्वमा पाउन गाहे छ । बजारमा पर्याप्त मात्रामा नभए पनि अन्कारा नामक खोपको दुई मात्रा लगाउन सकिन्छ । यो खोप सन् २०१९ देखि अमेरिका, क्यानाडा युरोपमा मान्यता प्राप्त छ । उच्च जोखिममा भएका स्वास्थ्यकर्मी, ल्याबमा काम गर्नेले खोप लगाउँदा हुन्छ । बिगतदेखि नै समलिङ्गी बढी सङ्क्रमित छन् ।  बिफरको खोपले मुटुको मांशपेसी सुजन, रोग प्रतिरोधात्मक क्षिमता दबाउने, एचआइभीजस्ता रोग लागेकालाई पनि जोखिम छ भने एक्जेमाका बिरामीलाई प्राणघातक छ ।  नयाँ पुस्ताका खोप जिन्नेइओसजस्ता खोप ठूला समूहलाई दिन सुरक्षित छन । तथापि, अहिलेका लागि सङ्क्रमण रोक्न रिङ्ग भ्याक्सिनेसन नै पर्याप्त छ । हाल प्रयोगमा आइरहेको एम पक्स भाइरसको सक्रिय भाइरस प्रयोग भएकाले एसिएएम २००० नामक खोपले इम्युनोकम्प्रोमाइज्ड ब्यक्तिमा प्रयोगमा नल्याउन सिडिसीले अनुरोध गरेको थियो । निस्क्रिय भाइरस प्रयोग गरिएको कम असर हुने जेन्नोइज नामक खोप पनि उपलब्ध छ ।      रोकथामका लागि स्मलपक्स सङ्क्रमणविरुद्ध प्रयोगमा ल्याइएको एसिएम २०० र जेनिओज नामक खोप हाल प्रयोगमा ल्याइएको छ । सामान्यतया बिफर उन्मलन भइसकेपछि उपचारका लागि तयार पारिएका खोप र औषधिलाई जैविक हतियारको रुपमा प्रयोग गर्न सरक्षित राखिएको थियो ।  सिडिसीले बिफरको उपचारमा प्रयोग गरिने दुई एन्टिभाइरल औषधि टिपीओएक्स र सिडोफोभिर मंकीपक्सविरुद्ध प्रयोग गर्न अनुमति समेत दिएको छ । कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।      असुरक्षित यौन सम्पर्कबाट पनि सरेकाले कण्डम प्रयोग गर्न र यौन साथीहरु परिवर्तन गरेकामा लक्षणहरुमा ध्यान दिनपर्छ । भाइरस बोक्नसक्ने जनावरहरु, बिरामी वा मरेका जनावर, बादर, मुसाजस्ता सङ्क्रमणको इतिहास भएकाहरुको सम्पर्कमा आउनु हुँदैन ।  संदिग्ध जनावर वा मानिससँग सम्पर्कमा आएपछि स्यानिटाइजर वा साबुनपानीले हात धुने गर्नपर्छ । सङ्क्रमित वा संदिग्धको हेरचाह गर्दा पीपीई लगाउने, राम्रोसँग पकाएको मासु मात्र खाने र मङ्कीपक्स सतह र सामग्रीमार्फत पनि सर्नसक्ने भएकाले बिरामी ब्यक्ति वा जनावरको सम्पर्कमा रहेका सामग्रीहरु छुनु हुँदैन ।       विश्वभर मानव आवतजावत कायम रहेकाले रोकथाम सजिलै होला जस्तो पनि देखिदैन । त्यसैमा नेपाल ट्रान्जिट प्वाइन्ट र आवतजावतले निरन्तरता पाइरहेकाले उच्च जोखिममा रहेको हो । सङ्क्रमणङफैलिएका देशबाट आउने तथा पर्यटकको आगमनमा पनि बढोत्तरी नै छ ।  विदेशबाट आएकालाई कम्तिमा दुईदेखि तीन  हप्ता क्वारेन्टाइनमा बस्ने भने पनि कार्यान्वयनमा छैन । सम्भावित जोखिम भएका देशबाट आउनेमाथि निगरानी राख्ने र क्वारेन्टिनमा राख्नपर्छ । सङ्क्रमितलाई तीन हप्ता आइसोलेसनमा राखी कन्ट्याक्ट ट्रेसिङ अनिवार्य गर्नपर्छ ।  संक्रमितलाई २१ दिन आइसोलेसनमा राख्नुपर्छ । मंकीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएकाले परीक्षण गर्ने, सम्पर्कमा आएको सतह, स्थान वा कोठा निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने तथा फोहरलाई उचित स्थानमा व्यवस्थापन गर्नपर्छ ।      अन्तमा, सरकारले निगरानी, फोकल अस्पताल र व्यक्ति, परीक्षण, परामर्श र उपचारको व्यवस्था गरेको छ । तथापि, आम नागरिक जिम्मेवार नहुँदा सरकारको तयारी मात्र पर्याप्त हुँदैन ।  तसर्थ, ज्वरो आएको तीन दिनभित्र अनुहार, हत्केला र पैतालामा डाबर देखिए स्वास्थ्य मन्त्रालयको हटलाइन १११५ मा जानकारी गराउनपर्छ ।  एमपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्ने जोखिममा पञ्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, सङ्क्रमितका लुगा, तौलिया, ओछयान, भाडाहरु तातोपानी, साबुन, डिटरजेन्टले धुने गर्नपर्छ ।  (लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुनुहुन्छ)