पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

म्याग्दीः     केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ । सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन यतिबेला यहाँ थोगी नसक्नुको भीड छ । पुस लागेयता यहाँ रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएका स्थानीय अगुवा भरत केसीले जानकारी दिनुभयो । उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताउनुभयो ।  अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको पर्वत कुश्माका हरिश गौतमले बताउनुभयो । रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ ।  तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ । बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् ।  पहेलँै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् ।   रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डको कालोपत्र सडकको दायाँ र बायाँतर्फ खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीयवासी नेत्रबहादुर महतले बताउनुभयो ।  उहाँले भन्नुभयो, “रत्नेचौर पर्यापर्यटनको आकर्षक स्थल बनेको छ । रत्नेचौरको मौलिकतालाई जोगाएर कृषि पर्यटकीय गाउँ बनाउन यहाँका स्थानीय लागिपरेका छन् ।” केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् ।  शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको स्थानीय सन्तोष महतले बताउनुभयो । रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीन  सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ । “पुलमा खेल्न, तोरीमा रमाउन र वनभोज खान मानिस आउन थालेपछि थामिनसक्नुको भीड हुने गरेको छ” स्थानीय महतले बताउनुभयो । वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको निवर्तमान वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।  तोरी उत्पादन क्षेत्र बनाएर राष्ट्रियस्तरमै पर्यटकीय हिसाबले पनि अहिलेको मौसमका बेलामा प्रवर्द्धन गर्न सकिने हुँदा लोकल तोरीको पनि प्रवर्द्धन हुने र व्यापक रूपमा पर्यटक भित्र्याउन सकिने थापाको भनाइ छ ।  

काठमाडौं:    प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हँुदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन ।  विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन ।       काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुनसकेको छैन । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उहाँले बताउनुभयो । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार  अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । “तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ”, मौसमविद् महर्जनले भन्नुभयो, “बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।”       उहाँले पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको बताउनुभयो ।

गण्डकी:   कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।  शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।  प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताउनुभयो ।  यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको  थियो ।  जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु भएको बताउनुभयो ।  “प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ”, उहाँले भन्नुभयो । थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिनुभएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।  यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।  सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको  जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।  यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।  सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।

पोखराः    कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा २६ औं घलेल ल्होछार उत्सव जारी छ ।    बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा खुल्ला पुरुष भलिबलतर्फ पहिलो चरणको ६ खेल सम्पन्न भएको छ ।    आज भएको पहिलो खेलमा भुर्जुङखोलाले जनजागरण घाचोकलाई २–१ को सेटमा पराजित गर्यो ।    दोस्रो खेलमा ठुलाखेतले छोम्रोङलाई २–१ को सेट, तेस्रो खेलमा बाँझोखेतले तोल्कालाई २–० को सेट, चौथो खेलमा धम्पुस लेक कुनाले खादरजुङलाई २–० को सेटमा पराजित गर्यो।    पाचौं खेलमा ठाँटीले मिर्सालाई २–० को सेटमा र छैठौ खेलमा कुईबाङले डाँडागाउँलाई २–१ को सेटमा पराजित गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।    उनका अनुसार भोलिपनि पहिलो चरणका खेलहरु सञ्चालन हुनेछन् ।    यस्तै महिला भलिबलतर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरेको क्लबका सचिव अमृत गुरुङले जानकारी दिए ।    उनका अनुसार प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा प्रवश गरिसकेको छ ।

काठमाडौं:    सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी हुनुभएको छ ।       अध्यक्ष पोखरेलले तीन सय ६८ मत प्राप्त गर्नुभएको छभने प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश थापाले एक सय ८१ मत प्राप्त गर्नुभयो ।  उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा पुनदेवी महर्जन, कोषाध्यक्ष रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत विजयी हुनुभएको छ ।      खुल्ला सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, पुरुषोत्तम लोहनी, प्रदीपकुमार राजवंशी र शतिशराज मैनाली विजयी हुनुभएको छ ।       कुल छ सय २६ मतदाता रहेको बारको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भएको थियो ।

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी माघ २ गतेदेखि पार्टी सङ्गठन निर्माण अभियान सुरु गर्ने निर्णय गरेको छ ।  आजदेखि सुरु भएको दुईदिने केन्द्रीय समितिको पहिलो बैठकले दुई महिनासम्म सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।  पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पहिलो दिनको बैठकले विभिन्न पाँच विषयमा छलफल भएको जानकारी दिनुभयो ।  बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै सङ्गठन निर्माण चरणलाई निर्धारित समयमा पूरा गर्न राष्ट्रव्यापी सङ्गठन निर्माण अभियान सञ्चालन,  केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभागका साथै पार्टीको सम्बन्धित निकायले सिफारिस गरेका विज्ञ सदस्य रहेको जिल्ला समितिअन्तर्गतका पार्टी संरचनालाई सहयोग तथा सहजीकरण गर्न जिल्लाअनुसार कार्यदल निर्माण गर्नेबारे बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।      यसरी गठन हुने कार्यदलले सदस्यता विस्तारका साथै पालिका तथा वडा समिति निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिलाई सहजीकरण गर्नेछ ।  बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टी गतिविधिबारे अवगत गराउनुभएको थियो ।  प्रदेश महामन्त्रीहरूको सहभागिता रहेको आजको बैठकमा केही समयअघि सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पेस गरी आवश्यक छलफल गरेको जनाइएको छ ।  यस्तै, बैठकले दिवङ्गत नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको र हालै अध्यादेशमार्फत ल्याइएको सहकारीसम्बन्धी विधेयकका सम्बन्धमा छलफल जारिरहेको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो । 

पोखरा:   त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को नवौं बार्षिक साधारण सभा एवं तेश्रो अधिवेशनले पुन सुमन भट्टराईको अध्यक्षतामा संचालक समितिको चयन गरेको छ ।  सभाले कलेजको संचालकमा बलराम ढकाल, भरतकुमार अधिकारी, यदुराज आचार्य, मधुसुदन सापकोटा, हरि बहादुर वुढाथोकी, सोमनाथ बास्तोला, शान्ति खनाल र विनोद लामिछाने चयन गरेको छ । संचालक समितिले मुक्तिनाथ सापकोटालाई कम्पनी सचिवमा नियुक्ती गरेको छ ।  यसैगरी राजेन्द्रमणि लामिछाने, बाबुराम गिरी, छत्रधर आत्रेय, विष्णु प्रसाद बराल र लोकराज ढकाललाई सल्लाहकारमा चयन गरेको छ ।  कलेजले त्रिभुवन विश्वविद्यालयबाट गुणस्तर सुनिश्चितताको प्रमाण पत्र प्राप्त गरेपछि अध्ययनका लागि नयाँ कार्यक्रम थप गर्ने जनाएको छ । यसैगरी आवश्यक पूँजि जुटाउन  सर्वसाधारणमा आइपिओ जारी गर्न संभाव्यता अध्ययनका लागि एक समिति गठन गर्ने समेत जनाएको छ ।  यसअघि साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु कुमार थापाले बजारको माग अनुरुपको दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम समावेश गर्न आग्रह गरे ।  मन्त्री थापाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय र शिक्षामा अभिभावकको भूमिका समेट्नेगरी नीतिमा सुधार हुनु पर्नेमा जोड दिए । उनले विद्यार्थीका लागि शुक्रबारलाई झोला र किताव विहिन बनाउने र उत्पादनसँग जोड्ने गरी मन्त्रालयले कार्यक्रम ल्याएको उल्लेख गरे ।  मन्त्री थापाले उच्च शिक्षामा समेत कक्षा छाड्ने समस्या बढ्दै गएको उल्लेख गर्दै पाठ्यक्रममा सुधारगरी उत्पादन र रोजगारीमा जोड्दै लैजानु पर्नेमा जोड दिए ।  उनले शिक्षा नीतिमा देखिएका समस्या समाधान गर्न संघीय शिक्षा मन्त्रीसँग आफ्नो कुराकानी भैरहेको उल्लेख गर्दै, त्यसले प्रदेशलाई पनि सहज हुने बताए । नैतिक शिक्षाका साथ योग र ध्यान एवं प्रणायायलाई समेत शिक्षामा समेट्नु पर्नेमा मन्त्री थापाले जोडदिए ।  कार्यक्रममा पूर्व कानून मन्त्री यज्ञवहादुर थापाले शिक्षा सुधारका लागि अभिभावक, शिक्षक र विद्यार्थीको समान भूमिका रहने उल्लेख गर्दै, सवैलाई जिम्मेवार बनाउन जोड दिए । उनले विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने अहिलेको लहरले करोडौं लगानी भएका क्याम्पस तथा विद्यालयहरु खण्डहरमा परिणतहुन सक्ने संकेत गरे ।    कलेजका प्राज्ञिक सल्लाहकार प्रा.डा. इन्द्र प्रसाद तिवारीले गुणस्तर सुनिश्चितताको प्रमाण पाएपछि कलेजमा एकेडेमिक कार्यक्रम थप गर्नु पर्नेमा जोड दिए ।   

गण्डकी:     नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्ने बताउनुभएको छ ।  नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि’ विषयक प्रदेशस्तरीय गोष्ठी उद्घाटन गर्दै उहाँले चुनावमा जाँदा उपलब्धिपत्र लिएर जानका लागि परिणाम देखाउने गरी काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । महामन्त्री थापाले निराश हुनुपर्ने अवस्था नरहेको तर आगामी तीन वर्षमा जनताले अनुभूति गर्ने गरी क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।  “कांग्रेसको नेतृत्वमा देशमा धेरै उपलब्धि हासिल भएका छन् तर ती कामको प्रचार हुन सकेको छैन । अब थप उपलब्धिका लागि जुनजुन तहको सरकारको जिम्मेवारीमा छौँ, त्यहाँ परिणाम दिनेगरी काम गर्नुपर्छ । तिनै कामको विवरण लिएर आगामी चुनावमा जाने अवस्था बनाउन सबै जिम्मेवारीपूर्वक काममा लागौँ”, उहाँले भन्नुभयो ।  पार्टी संगठन र निर्वाचित जनप्रतिनिधिबीच संवाद आवश्यक भएको बताउँदै महामन्त्री थापाले त्यसले जनअपेक्षा सम्बोधन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । समस्या सुन्ने मात्र नभइ समाधान दिन सक्ने अवस्था सिर्जना गर्न संवादलाई बढावा दिनुपर्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले पार्टीको काँधमा धेरै जिम्मेवारी रहेकाले आगामी १५औँ महाधिवेशनबाट आउने नेतृत्व पार्टी संगठन सम्हाल्न सक्ने हुनुपर्ने धारणा राख्नुभयो ।  उहाँले आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर महाधिवेशनको मात्र कुरा गर्न अवस्था बनाउन आग्रह गर्दै आगामी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।  “चैत्र महिनाभित्र नवीकरण नगर्ने क्रियाशील सदस्यको सदस्यता त्यपछि नवीकरण हुुनेवाला छैन । साथै क्रियाशील सदस्यता फाराम दिइएका जिल्लाले समयभित्र क्षेत्रलाई दिएन भने त्यो क्रियाशील फारम नम्बर फ्रिज गरिने छ । क्षेत्रले आफूभन्दा तलका समितिलाई नदिएमा सोहीअनुसार कारबाही हुनेछ”, महामन्त्री थापाले स्पष्ट पार्नुभयो ।  पार्टीको विधान संशोधनका लागि करिब पाँच महिना लाग्ने र विधान महाधिवेशन गरेर तत्काल पारित हुने र त्यसकै आधारमा महाधिवेशनको प्रक्रिया प्रारम्भ हुने उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टी नेतृत्वको सरकारले गरेका कामको प्रचार हुन नसकेको भन्दै पार्टीले अपनत्व लिनुपर्ने बताउनुभयो ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जाललाई संगठन निर्माणसँगै राम्रा कामलाई जनातामाझ पुर्‍याउने गरी उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा रघुराज वाग्ले र डा हेमराज लामिछानेले जननिर्वाचित प्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।  नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको सभापत्विमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन,  केन्द्रीय सदस्य मधु आचार्य, कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)लगायतले सम्बोधन गर्नुभएको थियो ।

पोखरा:   ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।  शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो । महोत्सवको तेस्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरिता लगायतले प्रस्तुती दिएका थिए भने हाँस्यव्यङ्ग्य तर्फ पवन खतिवडा ‘म्याकुरी’को प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । यस्तै बेलुकापख लाईभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुतीले स्टेज तताएको थियो । शुक्रबार विद्यालयस्तरीय नृत्यतर्फ त्रिवेणी पब्लिक मावि पोखरा–२७, एपेक्स प्रि स्कुल पोखरा–३० र लेकसिटी एकेडेमी मण्टेश्वरी पोखरा–२६ ले नृत्य प्रस्तुत गरेका थिए ।  महोत्सवमा आइतबार लोकदोहोरी कलाकारहरु श्याम राना, भुमिका गिरी, शंकर विरही गुरुङ, बिन्दा परियार, टेक क्षेत्री, कमला गैह्रे, शिवहरी ढुंगाना र उमादेवी खनालको प्रस्तुती रहनेछ भने बेलुका लाईभ कन्सर्टमा सहिमा श्रेष्ठ, सन्तोष बस्याल र र्यापर शुसिलले प्रस्तुती दिनेछन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।