पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

पर्वत:     पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।       पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा जानुभएको थियो ।       घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।       आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।  आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिनुभयो । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ । 

काठमाडौं:    नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।       नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन् ।       गत महिना भएको यु–१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यु–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदै छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी हुने छन् ।       नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड समेत रहेका छन् । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग खेल्ने छ । नेपालले दोस्रो खेल माघ ७ गते  स्कटल्याण्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

पोखरा:    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी विश्वविद्यालयको आयोजनामा भएको “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।  पोखरामा “उच्च भविष्यका लागि नेटवर्किङ माइन्ड्स” विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त सम्मेलनको महत्वलाई उनले उजागर गरेका हुन् ।   मन्त्री थापाले गण्डकी प्रदेशलाई शिक्षा, अनुसन्धान र सामाजिक विकासको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा यस किसिमका अन्तर्राष्ट्रिय मञ्चहरूको भूमिका निर्णायक हुने बताए ।   उनले डा. सन्दुक रुइतजस्तो विश्वप्रसिद्ध व्यक्तित्वसँगको संवादले सबैलाई प्रेरित बनाएको र प्रदेशको विकासका लागि ठोस योजनाहरू निर्माण गर्न थप उत्प्रेरणा मिलेको उल्लेख गरे । सम्मेलनमा प्राज्ञिक, अनुसन्धानकर्ता र सामाजिक अगुवाहरूले आफ्ना विचार प्रस्तुत गरे । गण्डकी प्रदेशलाई एक शिक्षामा आधारित, नवीन र समृद्ध प्रदेश बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री थापाले यस्ता सम्मेलनहरूले प्रदेशलाई थप ऊर्जा दिने बताए । कार्यक्रममा डा. सन्दुक रुइतले आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गर्दै नेटवर्किङ, सहयोग र समर्पणले कसरी उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ भन्नेबारे विचार व्यक्त गरे । सम्मेलनमा विभिन्न सत्रहरू सञ्चालन गरिनुका साथै प्रदेशको युवा, खेलकुद र सामाजिक विकासका लागि सम्भावनाका क्षेत्रहरूबारे छलफल समेत गरिएको थियो ।

गण्डकी:    कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो ।   पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हँुदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ ।  यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालक पर्यटन व्यवसायी कृष्ण गुरुङले बताउनुभयो ।     सिक्लेसदेखि तासा हुँदै कोरी पुग्ने अर्को पदमार्गसमेत रहेको छ । हुगुमा बिहानको खाजा खाएर हिँडेका पर्यटक दिउँसोको खाना खान नौटाखर्क पुग्छन् । यहाँ चिया पसल छ । कोरी सूर्योदय र सूर्यास्त हेर्ने उपयुक्त गन्तव्यसमेत रहेको उहाँको भनाइ छ । कोरी जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउने गरेको छ । प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो । नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो ।  हाल चारवटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउने क्रम निकै बढिरहेको होटल व्यवसायी होम गुरुङले बताउनुभयो ।  “कोरी हिमाललाई जरोदेखि टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने गन्तव्य हो”, उहाँले भन्नुभयो, “पदयात्राका क्रममा ठाडो उकालोका कारण थकित बनेका पदयात्रीलाई यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्साउने गरेको छ ।”  सिक्लेसबाट तसा हुँदै कोरी पुगेका पर्यटक पुरानै बाटो, नौटा हुगु– कपुचे–हुगु– सिक्लेस, ठुलोलेक–गुरुङ देउराली–तिमाङ, ठुलोलेक–क्होलासोथार–करापुडाडा–याङजाकोट अथवा ताङतिङ भएर यात्रा गर्ने विकल्प छ ।   कपुचे हिमतालसँगै कोरी, क्होलासोँथर र करापुडाँडालाई समेटिएकाले यो पदमार्गलाई ‘फोरके ट्रेक’का रूपमा समेत लिन सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । कोरीको पदयात्रामा जाने पर्यटक पोखराबाट ४१ किलोमिटर दूरीमा रहेको पर्यटकीय गाउँ सिक्लेसबाट त्यसतर्फको यात्रा सुरु गर्दछन् ।  सिक्लेसमा आएका पर्यटकले यहाँस्थित गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेशभूषा, झाँकी आदिको अवलोकन गर्न पाउने मादी –१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो ।  कोरीको पर्यटकीय सम्भावनालाई उजागर गर्न मादी गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको पुरुयुमबाट कोरीसम्म केबुलकार सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययनसँगै सार्वजनिक सुनुवाइसमेत भइसकेको छ । सिक्लेसबाट अन्नपूर्ण हिमालको काँखमा समुद्री सतहबाट दुई हजार चार सय २१ मिटर उचाइमा रहेको कपुचे ताल अवलोकन गर्दै कपुचेमा नै बस्ने वा हुगुमा आएर बस्ने विकल्प छ ।  त्यहाँबाट पर्यटक कोरीतर्फको यात्रा तय गर्ने उहाँले जानकारी दिनुभयो । कोरीबाट छ हजार नौ सय ८८ मिटर उचाइको लमजुङ हिमाल, सात हजार नौ सय ३७ मिटर उचाइको अन्नपूर्ण दोस्रो, छ हजार नौ सय ९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल र आठ हजार एक सय ५६ मिटर उचाइको मनास्लु हिमाल आँखै अगाडि देख्न सकिन्छ । कोरी पदयात्रासँगै हिमाल अवलोकनको उपयुक्त गन्तव्य रहेको बताउनुहुने पर्यटक पथप्रदर्शक गङ्गा घले आफूले यस पदमार्गमा धेरै पर्यटकको समूहलाई लिएर आइसकेको बताउनुभयो ।  “यहाँ आइसकेपछि जोकोही पर्यटक हिमालसहितको मनोरम दृश्य देखेर रमाउने गरेका छन्”, उहाँले भन्नुभयो, “जरैदेखि टुप्पोसम्म एकसाथ हिमाललाई नियाल्न पाउनु नै यहाँको प्रमुख विशेषता हो ।” करिब १० वर्ष अघिसम्म सेताम्य हुने हिमाल अहिले भने खुइलिएको देख्दा आफूलाई धेरै चिन्तित बनाएको बताउँदै उहाँले पहिला सेताम्य हिमाल देखेर गएका विदेशी पर्यटक दोहोर्याएर आउने क्रममा हिमाल खुइलिएको देख्दा चिन्ताले रुने गरेको अनुभव सुनाउनुभयो ।  “पहिले यहाँबाट देखिने सेताम्य हिमालमा अहिले हिउँ नै छैन”, उहाँले भन्नुभयो, “पछिल्लो १० वर्षयता हिमाली क्षेत्रमा तापमान वृद्धिको धेरै असर परिसकेको छ ।” हिमाललाई बचाउने नसके हाम्रो पर्यटनमा पनि गम्भीर असर पर्ने बताउँदै उहाँले जथाभावी प्लाष्टिकजन्य वस्तु नजलाउन र वातारण प्रदूषण हुने कुनै किसिमका गतिवधि नगर्न सुझाउनुभयो । कोरीडाँडासहित यस क्षेत्रको पदयात्रा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रूपमा यहाँको प्रवर्द्धन र विकासलाई जोड दिएको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो ।  सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहयोगमा पुसको दोस्रो साता सिक्लेसबाट कपुचे, कोरी, क्होलासोथार, कर्पुडाँडा हुँदै याङ्जाकोटसम्मको पदयात्रा सम्पन्न गरिएको कार्यक्रम संयोजकसमेत रहनुभएका उहाँले बताउनुभयो । प्रवर्द्धनात्मक कार्यक्रममा अवसरमा कोरी र त्यहाँको पर्यटकीय सम्भावना, आवश्यकता आदिबारे स्थलगत पहिचान गरिएको बताउँदै उहाँले त्यहाँ विद्युत्, खानेपानी, सञ्चारलगायत अत्यावश्यकीय पूर्वाधार विकास गर्नुपर्ने देखिएको बताउनुभयो । “कोरीमा पर्यटकीय आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो, “राज्यले उक्त स्थानमा तत्काल बिजुली, खानेपानीका साथै सञ्चार सुविधा पुग्नेगरी व्यवस्था गरिनु अपरिहार्य देखिएको छ ।”

काठमाडौं:    नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि ‘सपनीमा’ बोलको गीत तयार भएको छ । उक्त गीतमा शब्द र सङ्गीत करुण थापाले दिनुभएको छभने गायिका इन्दिरा जोशी र गायक करण परियारको स्वर रहेको छ ।       सङ्गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व सङ्गीतमा फर्किनुभएको हो ।  सन् २००४ मा ‘बादल वर्षा बिजुली’ बोलको गीतपछि चलचित्रका लागि पहिलोपटक गीतसङ्गीत तयार गरेको उहाँले बताउनुभयो ।  “मैले चलचित्रको गीत लेखन र सङ्गीतको काम छाड्नुको कारण उक्त समयमा गीतसङ्गीतलाई हल्का रूपमा प्रयोग गर्ने प्रचलन मुख्य थियो, त्यसैले मैले व्यर्थका गीतहरू लेख्न र सिर्जना गर्न सकिन”, उहाँले भन्नुभयो ।       उहाँलाई ‘बादल वर्षा बिजुली’ झैँ गीत तयार गर्न धेरै चलचित्रकर्मीले आग्रह गर्नुभएको रहेछ तर सङ्गीतकार थापा तयार हुनुभएन । त्यसपछि गीतिसङ्ग्रहमा मात्र काम गर्नुभएका सङ्गीतकार थापा पुनः चलचित्रमा काम गर्न तयार हुनुको कारण भने निर्देशक दीपेन्द्र गौचन रहेको बताउनुुहुन्छ ।      चलचित्रको विषयवस्तु बुझेपछि र गीतको प्रसङ्ग थाहा पाएपछि सङ्गीतकार थापाले शब्द र सङ्गीत सिर्जना गर्नुभयो । त्यसपछि उहाँले चलचित्रको विषयअनुसार पुरुष गायनमा परियार र महिला गायनमा जोशीलाई छनोट गर्नुभएको जनाइएको छ ।  “म नेपाल आइडल नामक साङ्गीतिक प्रतियोगितामा पुग्दा नै गायक परियारको गायनबाट प्रभावित थिए । महिला स्वरका लागि मलाई गायिका जोशी उपयुक्त लाग्नुभयो”, सङ्गीतकार थापाले भन्नुभयो ।       यसरी गीतमा तीन पुस्ताको सहकार्य सम्भव भएको उहाँले बताउनुभयो । गायिका जोशीले यो सहकार्यमार्फत आफूले सिक्ने अवसर पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई आफूभन्दा अग्रज र आफैँ निर्णायक रहेको प्रतियोगितामार्फत उदाएका अनुजसँग काम गर्न पाउँदा निकै खुसी लागेको छ । चलचित्रको विषयअनुसार नै सहरिया युवतीका लागि मैले स्वर दिएकी हुँ ।”       गायक परियारले आफ्नो पाश्र्व गायनमा उदाउने सपना पूरा भएको बताउनुभयो । “म चलचित्रका गीतमा स्वर दिन चाहन्थे, यो सपना पूरा भएको छ । मैले न्याय गर्न सकेको छु भन्ने लागेको छ । आफ्नै गुरु गायिका जोशी र अग्रज सङ्गीतकार थापासँग काम गर्न पाउनु मेरा लागि अवसर र चुनौती दुवै थियो । मैले सङ्गीतमा देखेको एउटा सपना पूरा भएकामा खुसी छु”, उहाँले भन्नुभयो ।       चलचित्रका निर्देशन गौचनले विषयवस्तुअनुसार गीतको अडियो र श्रव्यदृश्य तयार गरिएको बताउनुभयो ।       वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक गौचनले ठूलो पर्दाका लागि पहिलोपटक चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको हो ।  उहाँले पहाडी समुदायको केटी र मधेशी समुदायको केटाको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताउनुभयो । यो चलचित्र आगामी माघ ११ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।  

काठमाडौं:    देशभरका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासङ्घको आज सम्पन्न सातौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ९२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । अध्यक्ष श्रेष्ठ खिचापोखरी–न्युरोड व्यापार सङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ । यस्तै, महासङ्घको वरिष्ठ उपाध्यक्षमा कमल अग्रवाल र हरिबहादुर गौतम, प्रथम उपाध्यक्षमा लक्ष्मी खड्का र हरिप्रसाद पाण्डे, १३ उपाध्यक्षमा गणेशकुमार न्यौपाने, गोरखबहादुर थापा, कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, पार्वती पौडेल भट्ट, धिरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिवप्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमल्सिना र लेखनाथ पौडेल चयन हुनुभएको छ । यसैगरी, महासचिवमा नवीन लुइँटेल, उपमहासचिवमा रामकुमार पण्डित, नारायणप्रसाद न्यौपाने र लवराज भण्डारी, सात सचिवमा किशोरकुमार गौतम, केदारप्रसाद न्यौपाने, विजुरत्न बज्राचार्य, देवराज कार्की, सुरेन्द्रराज सुवेदी, गोपाल घिमिरे र पृथ्वीनारायण अधिकारी चयन हुनुभएको छ । सात सहसचिवमा प्रदीप घिमिरे, हरिप्रसाद पाण्डे, सुमित लामा, दीपककुमार श्रेष्ठ, जयराज बजगाईँ र मुलुकसिंह तामाङ, कोषाध्यक्षमा हिमलाल खराल र सहकोषाध्यक्षमा त्रिलोचन सुवेदी, यमुना श्रेष्ठ र राममणि भट्टराईलाई चयन गरिएको छ । साना तथा मझौला व्यवसायीको हकहित र अधिकारका लागि स्थापना भएको उक्त महासङ्घमा हाल देशभरका दुई दर्जनभन्दा बढी सङ्घ आबद्ध छन् । महासङ्घमा हाल २५ हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो ।

महोत्तरी:    मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् ।  दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (महोत्तरी) स्थित गोरखनाथ गण ब्यारेकले ओढ्ने मण्डी (ऊनी कम्बल) शनिबार वितरण गरेको हो । शीतलहरको यो राहत पाउने उनीहरु अतिविपन्न मुसहर र डोम समुदायका परिवार हुन् । मटिहानी–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा गोरखनाथ गणका गणपति प्रमुख सेनानी विनोदविकास पाठक, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल र जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले सेनाप्रदत्त कम्बल मुसहर र डोम परिवारलाई प्रदान गर्नुभएको हो । जिल्लामा नेपाली सेनाले प्रत्येक वर्षजसो शीतलहर प्रभावित बस्तीका अतिविपन्न परिवारलाई कम्बल वितरण, चोकचोकमा आगो बाल्ने र बटुवालाई तातो चिया खुवाउने कार्य गर्दै आएको छ । जनताको दुःखमा एकाकार हुन गरिब बस्तीमा कम्बल वितरण गरिएको गणपति प्रमुख सेनानी पाठकको भनाइ छ । सेनाले जाडोमा सहयोगका लागि अतिविपन्न बस्तीका दलित परिवार छानेर प्रशंसनीय कार्य गरेको मटिहानी नगरप्रमुख मण्डलले बताउनुभयो ।  शीतलहर प्रभावितलाई न्यानो वितरण गर्ने समारोहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत, नगरका जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।  महोत्तरीका सुदूरदक्षिण र मध्यभेगमा पुस तेस्रो साता सुरु भएदेखि नै बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहने क्रमले सर्वसाधारण अत्यन्त कष्टकर अवस्थामा छन् । यो अवस्थामा सेनाले सराहनीय कार्य गरेको मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।

काठमाडौं:    आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला रू एक हजार पाँच सय घटेको हो ।      शुक्रबार प्रतितोला रू एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।

पोखरा:    वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई  प्रदान गरिएको हो ।  तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहनुभएका डा रुइतलाई गुठीको ३२औँ वार्षिक साधारणसभा समारोहमा पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीलगायतले शनिबार रु दुई लाख २२ हजार दुई सय २२ सहित श्रीपति समाज सेवा पदक र ताम्रपत्रबाट पुरस्कृत गर्नुभयो । कार्यक्रममा डा रुइतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाज सेवाका लागि अभिप्रेरित गरेको बताउनुभयो । यसैगरी सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई नगद रु २२ हजार दुई सय २२ राशिसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो । देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा गर्नुभएको योगदानको कदर गर्दै डा रुइतलाई पुरस्कृत गरेका हौँ ।” पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजिवीसहितको ६ सदस्यीय समिति गठन गरिएको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदन गरी गत असार २७ गते पुरस्कृत व्यक्तित्वको नाम सार्वजनिक गरेको थियो ।  यसअघि उक्त पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भवानी नमूना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।