पोखरा: पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । महोत्सवमा कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाइएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा बढी किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको प्रर्दशनीमा विभिन्न किसिमका फलफुल तथा तरकारी, बिउ विजन, कृषि प्रविधिहरुका उत्कृष्ट नमुनाहरु प्रर्दशनीमा राखिनुका साथै माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयपन कस्तो छ भनेर किसानलाई जानकारी पनि दिने गरिन्छ । प्रर्दशनीमा सहभागी किसानहरुमध्येबाट उत्कृष्ठ हुनेलाई पुरस्कृत समेत गरिने संघका कृषि उप–समितिका संयोजक खेमराज बरालले जानकारी दिए । महोत्सवमा रहेका कृषिका २४ स्टलहरु मध्ये ताजा तरकारीका ६, सुन्तला तथा फलफुलका ५, मौरी ६ र अन्य कृषिसँग सम्वन्धित स्टलहरु रहेका छन । माछाका स्टलमा बेगनासताल, रुपाताल, खास्टेताल र न्यूरेनीतालका माछाहरु संकलन गरेर विक्रिका लागी राखिएको छ । महोत्सवमा दैनिक रुपमा सरदर ५० केजी भन्दा वढि माछा बिक्रि हुने गरेको कृषि उप–समितिका सल्लाहकार दयाराम तिवारीले जानकारी दिएका छन् । वि स २०५८ सालमा सुन्तला प्रर्दशनीबाट शुरु भएको लेखनाथ महोत्सवमा कास्की र आसपासका जिल्लाहरुबाट ल्याईएका सुन्तलाहरु पनि दर्शकहरुले खरिद गर्न पाउनेछन । सुन्तलाका ५ वटा स्टलहरुमा कास्कीको पुम्दी बाग्लुङ, पर्वत र स्याङ्गजामा उत्पादन भएका सुन्तलाहरु राखिएका छन । ति स्टलहरुमा दैनिक सरदर तीन सय केजी भन्दा बढि सुन्तला बिक्रि हुने गरेको छ । ताजा तरकारीमा स्थानिय क्षेत्रकै उत्पादनहरुको बाहुल्यता छ । लेखनाथमै उत्पादन भएका तरकारीहरुदेखी कास्कीको हेमजासम्मका उत्पादनहरु स्टलहरुमा देख्न पाईन्छ । विभिन्न कृषक समुह, आमा समुहहरुले स्थानिय किसानका उत्पादनहरु संकलन गरी महोत्सवमा विक्रि वितरणको व्यवस्था समेत मिलाएको पाईन्छ । सँगै महोत्सवमा रहेका विभिन्न होटल तथा रेष्टुरेण्टहरुले महोत्सवमा रहेका कृषि उपजका स्टलहरुबाटै सामान खरिद गर्ने गरेका छन । कृषि उत्पादनमा लेखनाथलाई निश्चिीत कुनै एउटा ब्राण्डको रुपमा स्थापित गर्न नसकिएको अवस्था भएपनि स्थानिय स्तरमा उत्पादन भएका विभिन्न कृषि उत्पादनले भने महोत्सवमा राम्रै वजार पाएका छन । स्थानीय तालका माछा, मह, फलफुल, ताजा तरकारी, जडिबुटि, विभिन्न स्थानिय प्रजाती जेठोबुडो, गुर्दी, घैया, मन्सरा लगायतका चामल जस्ता कृषि उपजको किनमेल मात्रै हैन महोत्सव भित्र अवलोकन गर्न आउने र दर्शकहरुले कृषि सम्बन्धी परामर्श र कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीहरुको अवलोकन पनि गर्ने गरेका छन, यसले कृषि उत्पादनको बजारीकरण र प्रर्वद्धनमा टेवा पुर्याउनुका साथै लेखनाथ महोत्सवलाई कृषकको पनि महोत्सवको रुपमा स्थापित गराएको छ । यसैगरी यसपालिको लेखनाथ महोत्सवमा पहिलो पटक महिला हक, अधिकारसग सम्बन्धित रहेर आयोजित महिला हाजिरी जवाफ प्रतियोगिता दर्शकको रोजाइमा रहेको छ भने युवालाई लक्षित गरि कन्सर्ट तथा लोक तथा दोहोरी गीतका पारखीहरुका लागि लोकदोहोरीका कलाकारहरु ल्याएर थप रोचक बनाएको प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) ले बताएका छन् । यसैबिच महोत्सवको सातौं दिन बुधवार करिव १२ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने आर्थिक कारोबार तर्फ ३५लाख बरावरको भएको र हालसम्म दर्शक तर्फ एक लाख आठ हजार र कारोवार तीन करोड ३५ लाख भएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले जानकारी दिएकी छन् । बुधबार विभिन्न राजनितिक दलका प्रदेश एवं महानगर तहका नेता, प्रतिनिधि एवं पुर्वमन्त्रीहरुले पनि महोत्सवको अवलोकन गरेका थिए । महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा राखिएको छ ।
काठमाडौं: कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयको स्थापना भएको छ । राष्ट्रिय खेलकुद परिषद्द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयको उद्घाटन गर्नुभयो । उहाँले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने उक्त प्रतियोगिताको तयारीको सुरुआत भएको बताउनुभयो । खेलकुदमन्त्री चौधरीले प्रतियोगिता हुन तीन महिना बाँकी रहेकाले सो समयसम्म सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसक्ने बताउनुभयो । उहाँले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेटको फाइल अर्थमन्त्रालयमा आजै पुगेको बताउनुभयो । उहाँले प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गर्ने भनिएपनि त्यस विषयमा आगामी माघ ३ गते बस्ने बोर्ड बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेललाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राथमिकतामा राखिने उहाँले उल्लेख गर्नुभयो । खेलकुदमन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट राजीनामा दिने राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारीलाई कारबाहीमा केही छुट हुनसक्ने बताउनुभयो । बोर्ड बैठकले सर्वोच्च र उच्च अदालतको आदेश विपरीत कार्य गर्ने सङ्घका पदाधिकारीलाई कारबाही गर्नसक्ने चेतावनी उहाँले दिनुभयो । त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा आवासीय समस्याका कारण २४ वटा खेल आयोजना गर्ने र बाँकी खेल अन्य स्थानमा गर्ने सम्भावना रहेको बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म गर्ने तय भएको छ ।
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका पराकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन् । आज बिहान ३ः३० बजे र ५ः३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका पराकम्प महसुस गरिएको छ । त्यसपछि बिहान ९ः३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५ः३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि पराकम्पका झट्का अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले पराकम्पका कारण स्थानीय बासिन्दामा त्रास बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खुम्बु क्षेत्र जहाँ मङ्गलबार गएको भूकम्पको केन्द्र तिब्बत् नजिक पर्छ, त्यहाँ धेरै पराकम्प गइरहेका छन्, जसले गर्दा स्थानीयवासीमा त्रास उत्पन्न गराएको छ तर सम्भावित सहयोगका लागि हाम्रा प्रहरीहरू स्थानीयवासीसँगै छन् ।” पराकम्पले छिनछिनमा धक्का दिन थालेपछि स्थानीयवासी घरभित्र छिर्नसमेत डराइरहेको स्थानीय पासाङ शेर्पाले बताउनुभयो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । यस भूकम्पका पराकम्प नै खुम्बु क्षेत्रमा महसुस भएको अनुमान गरिएको छ । खुम्बु तिब्बत्को नजिकपर्ने भएकाले त्यस क्षेत्रमा बढी पराकम्पको धक्का महसुस गरिएको हुनसक्ने बताइएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुनमा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म तेस्रो संस्करणको अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलमा पराजित २ समुहलाई नगद रु ५०÷५० हजार रुपैयाँ प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका बाहिरका जुनसुकै तह वा स्तरका २ जना खेलाडी समावेश गर्न सकिने छ । यता खुल्ला महिला भलिबल तर्फ बिजेतालाई उपाधिसँगै नगद रु १ लाख र उपविजेतालाई नगद रु ५० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र दिइने छ । सेमिफाइनलमा पराजित २ समुहलाई नगद रु २५÷२५ हजार रुपैयाँ प्रदान गरिने छ । महिला भलिबल तर्फ एक समुहमा २ जना सम्म राष्ट्रिय खेलाडी समावेश गराउन पाइनेछ । पुरुष तथा महिला भलिबल प्रतियोगिताको विधागत तर्फ बेस्ट प्लेयर,कोच, स्पाईकर,मिडल ब्लकर,डिफेन्डर,सर्भरलाई पालिकाको लोगो अङ्कित खेलकुद पोषाक प्रदान गरिने उपाध्यक्ष सिता अधिकारीले बताईन ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवासमा मङ्गलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहितका पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्कामा मूल्य समायोजनलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको हो । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउनेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराउनुभयो । सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय स्थानमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । सरकारलाई गुणस्तर मापदण्ड पूूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गर्दै उहाँले लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यानमा राखिएको बताउनुभयो । सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतमा भूकम्पपछिको पुनःनिर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्नुभयो ।
काठमाडौं: गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उहाँले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गर्नुभएको सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा उहाँले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वपूर्ण हुने बताउँदै आगामी मेसम्ममा त्यस्ता भ्रमणका निम्ति सहजीकरण गर्न दूतावासलाई अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो । आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत तुम्बाहाम्फेले गणतन्त्र कोरियामा रहेका एक लाखभन्दा बढी नेपाली कामदारले दुई देशबीच जनस्तरको सम्बन्धलाई प्रवर्द्धनका साथै कोरियाको अर्थतन्त्रमा योगदान गरेका बताउनुभयो । कार्यवाहक राष्ट्रपतिले राजदूत तुम्बाहाम्फेलाई गणतन्त्र कोरियाका लागि नेपालको राजदूतका रूपमा स्वागत गर्दै नेपाल–कोरिया सम्बन्ध प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताउनुभयो । साथै उहाँले राजदूत तुम्बाहाम्फेको सफल कार्यकालको कामना पनि गर्नुभयो । उहाँले कार्यवाहक राष्ट्रपतिमार्फत नेपाल सरकार र आफ्नो तर्फबाट २९ डिसेम्बरमा गणतन्त्र कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयोे । त्यस अवसरमा नेपाली दूतावासका उपप्रमुख पुष्पराज भट्टराई तथा गणतन्त्र कोरियाका विदेशमन्त्री चो ताई युल, शिष्टाचार प्रमुख र विदेश मन्त्रालयका अन्य उच्च अधिकारीको उपस्थिति थियो ।
नवलपरासी: बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् । हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उहाँले बताउनुभयो । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताउनुभयो ।
इलाम: भारतसँग नेपाल एकीकरणमा पूर्वतर्फको सीमामा विजयपश्चात् गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्ने उद्देश्यले आजदेखि निसान मार्ग पदयात्रा शुभारम्भ भएको छ । नेपाली सेनाको इलामस्थित रणसार्दुल गणसहित जिल्लाका तीन वटा पालिकाको समन्वयमा आज पुस २४ गतेदेखि २६ गतेसम्म पदयात्रा सञ्चालन हुनेछ । आज बिहान नेपाल–भारत पूर्वी सीमा मेची बजारबाट पदयात्राको शुभारम्भ भएको हो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले इलाम नगरपालिकाका प्रमुख केदार थापालाई नेपालको झण्डा हस्तान्त्रण गरी पदयात्राको शुभारम्भ गर्नुभयो । आज निसान राखिएको ठाउँ पुर्णेडाँडामा बास बस्ने कार्यक्रम रहेको छ । ४१।१ किलोमिटरको पदयात्रामा करिब दुई सयले एकैपटक यात्रा गर्ने आयोजकले जानकारी दिएको छ । पदयात्राको टोलीले २५ गते पुनः सोही स्थानबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको इलाम नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनपछि फेरि निसान फर्काइएको गोरेटो सटकमा नै पदयात्रा हुनेछ । निसान बास बसेको माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्तीटारमा भोलि २५ गतेको बास बस्ने कार्यक्रम तय भएको छ । पुस २६ गते बिहान नामसालिङको हात्तीटारबाट सुरु भएको पदयात्रा माई बेनी, तिल्केनी हुँदै हाल निसान रहेको इलाम सदरमुकाममा पुग्नेछ । सदरमुकामस्थित माई स्थान मन्दिरमा हाल निसान र तोप राखिएको छ । निसान नेपाल एकीकरणसँग सम्बन्ध जोडिएको ऐतिहासिक सम्पत्तिका रूपमा लिइन्छ । नेपाल एकीकरणसँग ऐतिहासिक सम्बन्ध जोडिएको निसानको महत्व युवा पिँढीले भुल्दै गएको भए पनि पछिल्लो समय यसको जगेर्नामा स्थानीय तह जुटेका छन् । नेपालको पूर्वी सीमा कुनै बेला टिस्टा नदीसम्म पुगेको इतिहास छ । तत्कालीन समयमा नेपाली सेनाको वीरताको प्रतीकका रूपमा त्यहाँ राखिएको दुई सय वर्ष ४८ वर्ष पुरानो निसान फर्काइएको सडकमा पैदल यात्रा गरिने भएको हो । जिल्ला सदरमुकाम समेत रहेको इलाम नगरपालिका, भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका र निसानबीचमा राखिएको माईजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा पदयात्रा गर्न लागिएको हो । निसानसँग नेपाली सेनाको छुट्टै र ऐतिहासिक नाता भएका कारण पनि नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ । सदरमुकाममा राखिएको निसान २०५९ सालमा तत्कालीन सरकार र माओवादी द्वन्द्वका समयमा सुरक्षाका कारण देखाउँदै काठमाडौँ सारिएको थियो । २०७४ सालमा पुनः सो निसान इलाममा नै फर्काइएको थियो । सुगौली सन्धिपछि इलाम भित्र्याइएको सेनाको श्रीनाथ गुल्मको निसान १५ वर्षपछि काठमाडौँबाट पुनः इलाम सारिएको छ । भारतसँग सीमामा राखिएको निसान फर्काइको बाटोको संरक्षण गर्दै निसान पदयात्रा गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । उहाँका अनुसार तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भूमिका समेत सम्झाएको इतिहासकाका जानकार युद्धप्रसाद वैद्यले बताउनुभयो । उहाँले निसान पृथ्वीनारायण शाहसँग सम्बन्ध जोडिएको र नेपाल भारत सीमासँग ऐतिहासिक भएको बताउनुभयो । पदयात्रा हुने स्थानका पालिका, वडा र टोल विकास समितिहरूले आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइ गरिरहेका छन् । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शन समेत हुने भएको छ । जसका लागि सम्बन्धित पालिका र वडाहरूले स्थानीय व्यवस्थापन गरिरहेका छन् । निसानलाई सेनाको ‘शक्तिको स्रोत’का रूपमा समेत लिइन्छ । नेपाली सेनाले निसानलाई ‘शक्ति स्वरूपदेवी’ र ‘निसान भगवती’ मान्दै पूजापाठसमेत गर्ने गरेको छ । निसान नेपाली सेनाको गणको प्रतीक हो । निसान विशेष किसिमको झन्डाको स्वरूपमा हुन्छ । यस पटकको पदमार्गमा समेत तत्कालीन नेपाली सेनाको पोसाकसहित नेपाली सेनाको सहभागिता रहने जनाइएको छ । निसानको साङ्केतिक निसानसहित दौरा सुरुवालसहितको नेपाली सेनाको पोसाकमा १० जना सेना रहने बताइएको छ ।
काठमाडौं: मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो । भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो । मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो । भूकम्पको धक्काले अताल्लिएका काठमाडौँ नागार्जुन–१० का रिकेश थापाले घरको छतबाट हामफाले । हालफाल्दा घाइते भएका उहाँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ । भूकम्पपछि बाराको कलैया उपमहानगरपालिका वडा नं १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ । ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने बताउनुहुन्छ । “धेरै मानिसमा अझै पनि २०७२ सालमा गोरखा भूकम्पको अनुभव बाँकी छ, एक वर्षअघि जाजरकोटको भूकम्पको डर पनि छ । यी दुई ठूला भूकम्पले मानिसको मनोबल कमजोर बनाएको छ”, उहाँले भन्नुभयो, “विसं २०७२ को भूकम्पका कारण धेरैलाई मानसिक समस्या देखापर्यो । यस्ता विपद्बाट मानसिक रोगहरु देखापर्छ । विपद्ले निम्त्याएका तनावलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने कुरामा ख्याल गर्नुपर्छ ।” कार्की भूकम्पलगायत घटनाले धनजनका क्षति मात्रै गर्दैन, यसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । विशेषगरी, भूकम्पको अनुभव गरेको व्यक्तिमा मनोवैज्ञानिक त्रास बढी हुने उहाँको भनाइ छ । डा कार्कीले भन्नुभयो, “भूकम्पले क्षति गरेमा अत्यधिक डर र चिन्तासमेत बढाउन सक्छ, यसले उनीहरूलाई आगामी दिनमा भूकम्प जान्छ कि भन्नेबारेमा डरमा राख्न सक्छ ।” उहाँले फरकफरक व्यक्तिमा फरक प्रतिक्रिया आउने र व्यक्तिको जैविक वातावरणअनुसार असर पनि फरक पर्ने बताउनुभयो । “यस्ता विपद्बाट सबैलाई एकै किसिमको असर गर्छ भन्ने हुँदैन, कसैलाई मानसिक स्वास्थ्यमा धेरै असर गर्न सक्छ, कसैलाई असर गर्दैन”, उहाँले भन्नुभयो, “ सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक छ ।” अनावश्यक त्रास नफैलाउन आग्रह खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गर्नुभएको छ । “भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ । भूकम्प संयमता अपनाउनुपर्छ”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा ठूलोे भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्न हुँदैन । भूकम्पको भविष्यवाणी सम्भव छैन ।” उहाँले आधिकारिक सूचनामात्रै ग्रहण गर्न उहाँको आग्रह छ । पूर्वतयारी र सचेतनाको जरुरी केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले भूकम्प गएमा के गर्ने ? कसरी संयमता अपनाउने रु सुरक्षित हुने तरिकाहरु के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के(के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताउनुभएको छ । उहाँले पूर्वसूचना प्रणाली विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले हालसम्म भूकम्पसम्बन्धी पूर्वसूचनाहरु विकास नभएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चीनमा गएको भूकम्पपछि हिमताल फुट्ने जोखिम बढेकोसमेत उल्लेख गर्नुभयो । “भूकम्पका कारण हिमताल फ्ट्ने जस्ता जोखिम देखिएमा धनजनको सुरक्षाका लागि हामी पूर्वसूचना प्रवाह गर्छौं । आधिकारिक सूचनाको मात्रै विश्वास गर्न आग्रह गर्छु”, जोशीले भन्नुभयो । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले उक्त भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभएको छ । संयमतापूर्वक विपद् व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड रहेको छ । किन जान्छ भूकम्प ? सामान्यतया पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ । पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा रहेको तनाव धेरै बढ़्छ र त्यो असन्तुलनका कारण ऊर्जा मुक्त हुँदा जमिन हल्लिन्छ । यस कम्पनले पृथ्वीको सतहमा झट्का उत्पन्न गर्दछ र यसलाई भूकम्प भनिन्छ । पृथ्वीको बाह्य सतह (लिथोस्फीयर) विभिन्न ठूला टुक्रामा विभाजित छ जसलाई भूकम्पीय प्लेट भनिन्छ । यी प्लेटहरू एकअर्कामा चढ्छन्, जसले भूकम्पको ल्याउँछ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प एक भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानबाट यसको भविष्यवाणी गर्न सकिएको छैन । टेक्टोनिक प्लेटहरुबीचको अन्तरसङ्घर्षको कारणले भूकम्पहरु जाने गर्दछन् । स–साना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठूला भूकम्प केही वर्षको अन्तरालमा जाने गर्दछन् । हरेक दिन जाने साना भूकम्पहरुले सञ्चित ऊर्जा निसृत गर्न सक्दैनन् त्यसैले बेलाबेलामा ठूला र विनाशकारी भूकम्पहरु जाने गर्दछन् । “विगतमा हिमालय क्षेत्रमा ठूलाठूला भूकम्प गइसकेका छन् । सन् १८९७ मा भारतको आसाम, सन् १९०५ मा भारतको काङ्गरा, सन् १९३४ मा नेपाल–भारतको सिमाना र सन् १९५० मा भारतको आसाममा गएका पछिल्ला अन्तर महादेशीय महाभूकम्पहरु हुन्”, केन्द्रले भनेको छ । पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मा (बर्मा) सम्मको करिब दुई हजार पाँच सय किलोमिटर लामो सक्रिय हिमशृङ्खलाको मध्य भागको करिब आठ सय किलोमिटर (एक तिहाइ) भाग नेपाल हिमालयले ओगटेको छ । टेक्टोनिक प्लेटबीचको टकराव र ऊर्जा सञ्चिति र समय–समयमा बिनाशकारी भूकम्पको माध्यमबाट हुने विसर्जनका कारण नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा परेको केन्द्रको भनाइ छ ।

