काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बूढानीलकण्ठ पुग्नुभएको थियो । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिनुभयो ।
गण्डकी: लमजुङको मस्याङ्दी गाउँपालिका–१ घनपोखराका ६० वर्षीय विजय गुरुङ ३० वर्षअघिसम्म बर्खायाममा भेडाबाख्रा र गाईभैँसीको गोठ लिएर कास्कीको मादी गाउँपालिकामा पर्ने ठूलोलेकमा पुग्ने गर्नुहुन्थ्यो । समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको ठूलोलेक कास्की र लमजुङका किसानहरूको चरनखर्क मात्र नभएर परापूर्वकालमा नुनदेखि सुनसम्मको व्यापारका लागि मनाङ आवतजावत गर्ने नाका समेत हो । परापूर्वकालमा पशुगोठ र बटुवाहरूको चहलपहल हुने प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठूलोलेक र आसपासका ऐतिहाँसिक ठाउँहरू यतिखेर भने सुनसान छन् । “वैदेशिक रोजगारको बढ्दो प्रभावसँगै वर्षायाममा पशु र गोठालाहरुले भरिने ठूलोलेकलगायत खर्कहरू सुनसान मात्र नभएर लेकबेंशी गर्न प्रयोग भएका गोरेटो बाटाहरू झाडीले पुरिएका छन्,” पूर्वशिक्षक समेत रहेका गुरुङले भन्नुभयो, “परापूर्वकालमा गुरुङ समुदायको बसोबास रहेको क्होलासोथार वरपरको भूगोल हामी गुरुङहरूको इतिहास पनि हो ।” ऐतिहासिक स्थल क्होलासोथारमा एक हजार दुई सय वर्षअघिसम्म गुरुङ समुदायको तीन वटा बस्ती थियो । त्यसबेलाका घर, दरबार, घट्टलगायत भौतिक संरचनाका भग्नावशेष अझै इतिहासको साक्षीका रुपमा रहेका छन् । क्होलासोथार नेपालका आदिवासी जनजाति गुरुङ समुदायको इतिहास, वर्तमान र भविष्यसँग जोडिएको छ । क्लोलासोथारलाई केन्द्रित गरेर पुर्खाको पदचाप पछ्याउँदै गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गको खोज, अनुसन्धान, पहिचान गरी प्रर्वद्धन र पूर्वाधार निर्माण थालेको छ । सङ्घका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले कास्कीको मादी, लमजुङको क्होलासोथार, मस्याङ्दी, दूधपोखरी, मनाङको चामे र नासो गाउँपालिका जोड्ने पदमार्ग संस्कृति र प्रकृतिको संगम भएको बताउनुभयो । “नुनदेखि सुनसम्मको ब्यापार गर्न मनाङ जान–आउन, भेडाबाख्रा र गाईभैंसी चरनका लागि लेकबेंशी गर्न पुर्खाहरुले प्रयोग गरेको बाटोलाई पछ्याउँदै तयार पारिएको पदमार्गको नक्साङ्कनपछि प्रचारप्रसार र पूर्वाधार निर्माणको काम सँगसँगै अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “गुरुङ समुदायको इतिहाससँग जोडिएको प्राकृतिक रुपमा सुन्दर यस क्षेत्रको संस्कृति संरक्षण गर्दै प्रकृतिमा पर्यटकलाई भुलाउने, रोजगारी सिर्जना र देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्य रहेको छ ।” ताङतिङदेखि–करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलोलेक–थुर्जु–दूधपोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँशीशहरसम्मलाई समेटेर गत जेठ महिनामा पहिचान गरिएको पदमार्गको गत साउन महिनामा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा। टकराज गुरुङको उपस्थितिमा नक्सा सार्वजनिक र घोषणा गरिएको थियो । सहायक गन्तव्यहरु पन्ध्र दिनको मुख्य पदमार्गअन्तर्गत सहायक गन्तव्यहरू पनि पहिचान, प्रवद्र्धन र पूर्वाधार निर्माणको काम थालिएको छ । पर्यटकले इच्छा, क्षमता र अनुकुलता अनुसार लामो र छोटो अवधीको यात्रा गर्न पाउने विकल्प खुल्ला छ । यस पदमार्गमा कम्तीमा दुई दिनदेखि अधिकतम् १५ दिनसम्म यात्रा गर्न सकिन्छ । नेपाल पर्यटन बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा यही २०८१ पुस ६ देखि ११ गतेसम्म पहिलो चरणअन्तर्गत पर्यटन व्यवसायी, पथप्रदर्शक र जनप्रतिनिधिहरूको टोलीले सिक्लेस– कपुुचे– क्होलासोँथर– करापुडाँडा– याङ्जाकोट हुँदै पुनः पोखरा जोड्ने (राउण्ड मादी) पदमार्गमा पदयात्रा गरेका थिए । गुरुङ पर्यटन व्यवसायीसँग गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले यस आर्थिक वर्षमा दोस्रो चरणमा क्होलासोँथरबाट घलेगाउँ–घनपोखरा–भुजुङ–पसगाउँ–ताप्रो हुँदै क्होलासोँथरबाट सिक्लेस हुँदै पोखरा र तेस्रो चरणमा मस्र्याङ्दी गाउँपालिकाबाट घनपोखरा– मैदु– थुर्जु–कोप्लेक खर्क–सिउरुङ–हरसिंडाँडा हुँदै पोखरासम्मको पदमार्ग प्रवद्र्धन गर्ने योजना रहेको छ । “प्रकृति, संस्कृति र इतिहासको सӶ्गम गुरुङ सम्पदा पदमार्गको सबै भूगोल र विशेषतालाई समेटेर प्रर्वद्धन गर्ने कार्यक्रम बनाएका छौँ,” उहाँले भन्नुभयो “नक्सा, बुकलेटको साथै भिडियो वृत्तचित्र र मल्टिमिडियाको प्रचार सामग्री तयार पारेर प्रचारप्रसार गर्न थालेका छौँ ।” सडक सञ्जाल विस्तारसँगै पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा पर्यटकीय राजधानी पोखराको नजिकै रहेको गुरुङ सम्पदा पदमार्ग महत्वपूर्ण विकल्प बन्नसक्ने अध्यक्ष गुरुङको भनाइ छ । पोखरामा पर्यटकको बसाई लम्बाउनका लागि गुरुङ सम्पदा पदमार्गका गन्तब्यहरूलाई विकास गर्नुपर्ने उहाँले बताउनुभयो । ‘फोरके ट्रेक’ ट्रेकका रुपमा पनि लिन सकिने गुरुङ सम्पदाका पर्यटकीय गन्तव्यहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० भित्र पर्दछन् । मादी गाउँपालिका–१ सिक्ले र २ ताङतिङमा पर्ने सिक्लेस–कपुुचे–क्होलासोँथर–तप्रो– करापुडाँडा–याङ्जाकोट लाई समेटिएको छ । कपुचे, कोरी, क्होलासोँथर र करापुडाडा समेटिएकाले यो पदमार्गलाई ‘फोरके ट्रेक’ का नामले पनि लिन सकिन्छ । मादी नदीको दाया र बाया किनारमा रहेका दुई वटा वडालाई फन्को लगाइने भएर यसलाई गुरुङ सम्पदा पदमार्गअन्तर्गत राउण्ड मादी नामाकरणका लागि प्रस्ताव गरिएको हो । बढीमा सात दिन लाग्ने चक्रीय मादी पदमार्गमा खोला, मनोरम पोखरी, ठूलाठूला खर्क, तालसँगै आकर्षक पाटनहरू भेटिन्छ । साथै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खला नजिकैबाट अवलोकन गर्न सकिन्छ । सिक्लेस–लमजुङ हिमालको काखमा झुरुप्प ढुङ्गे घरहरू रहेको गुरूङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिको संगम सिक्लेसको नेपालको राजनीतिक परिवर्तनको इतिहाससँग जोडिएको छ । एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो स–साना गल्ली, गल्छेँडा र तगारा यहाँका सौन्दर्य हुन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक हुनुभएको थियो । त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । यहाँ शान्ति स्मारक पनि बनेको छ । सिक्लेस पुग्ने पर्यटक गुरूङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरूङ जातिको मन्दिर, मौलिक संस्कृति, भेषवभूषा, झाँकी, नाचगीत आदिमा रमाउने मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ गुरुङले बताउनुभयो । सिक्लेस–हुगु–कपुचे, सिक्लेस–तस–कोरी, सिक्लेस–ताङतिङ, सिक्लेस–ताराहिल–घलेखर्क, सिक्लेस–खिलाङ–चिप्ली पदमार्ग छन् । कपुचे हिमतालः अन्नपूर्ण हिमालको काँखमा समुन्द्री सतहदेखि दुई हजार चार सय २१ मिटर उचाईमा रहेको कपुचे हिमताल मादी गाउपालिका–१ मापर्छ । दश हजार चार सय ४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कपुुुचेलाई विश्वकै कम उचाईमा भएको हिमतालका रुपमा दाबी गरिएको छ । हरियो र निलो मिश्रित रङ्गको तालको पानीमा घामका किरणहरू पर्दाको दृश्यले पदयात्रीलाई रोमाञ्चित बनाउछ । यहाँ अन्नपूर्ण चौथो हिमालबाट हिउँ पहिरो खसिरहन्छ । पर्यटकहरुको सुविधाका लागि कपुचे र हुगुमा रेष्टुरेन्ट र अस्थायी संरचनाका होटलहरू छन् । काठले बारेका घरमा निगालोको चोयाले बनेका चित्राले छाएका घरहरुमा पर्यटकलाई बास बस्ने व्यवस्था मिलाएको हुगुका होटल व्यवसायी कृष्ण गुरुङले बताउनुभयो । सिक्लेसदेखि सिधै कपुचे पुगेर त्यही बास बसेर भोलिपल्ट फर्किन सक्ने अथवा फर्किएर हुगुमा आएर बास बस्न सकिन्छ । कोरीडाँडाः हुगुदेखि नौलाखर्क, नौटा हुदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुन्द्र सतहदेखि तीन हजार आठ सय ५० मिटर उचाइको कोरीडाँडा पुगिन्छ । सिक्लेसदेखि तास हुँदै कोरी पुग्ने अर्को पदमार्ग पनि छ । हुगुमा खाजा खाएर हिडेका पर्यटक दिउँसोको खाना खान नौटा खर्क पुग्छन् । यहाँ चिया पसल छ । माछापुच्छ्रे, अन्नपूर्ण २, ४, थ्रि सिस्टर, मादी र लमजुङ हिमाललाई नजिकबाट नियाल्न पाउनु कोरीडाँडाको प्रमुख बिशेषता हो । कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरु बास बस्ने थलो र गोठालाको खर्क थियो । चार वटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटकहरू आउने क्रम बढेको होटल व्यवसायी होम गुरुङले बताउनुभयो । सिक्लेसदेखि तसा हुँदै कोरी पुगेका पर्यटकहरु पुरानै बाटो, नौटा–हुगु–कपुचे–हुगु–सिक्लेस, ठुलोलेक–गुरुङ देउराली–तिमाङ, ठूलोलेक–क्होलासोथार –करापुडाडा–याङजाकोट अथवा ताङतिङ भएर यात्रा गर्ने विकल्प छ । ठूलोलेकः कास्की र लमजुङका किसानहरुले परापुर्व कालमा गोठ लैजाने ठूलोलेक समुन्द्री सतहदेखि चार हजार ५० मिटरको उचाईमा अवस्थित छ । कोरीदेखि तीन घण्टा पैदलयात्रा गरेपछि ठूलोलेक पुगिन्छ । विशाल पाटनयुक्त ठूलोलेकदेखि थुर्जु देउराली हुँदै मनाङ र क्होलासोथार निस्कने पदमार्ग छन् । लमजुङको घलेगाउँ, घनपोखरा, पसगाउँ जाने पदमार्ग पनि छ । ठूलोलेकमा तीन वटा आकर्षक र मनमोहक तालहरू छन् । बहुमूल्य यार्सागुम्बा पाइने योकस्तुरी मृग र डाफेको बासस्थान पनि हो । क्होलासोथारः कास्कीको मादी गाउँपालिका–२ को भूगोलमा पर्ने क्होलासोथार गुरुङ समुदायको ऐतिहासिक बस्ती हो । गुरुङ पर्यटन ब्यवसायी सङ्घका महासचिव तुल गुरुङका अनुसार एक हजार दुई सय वर्ष अघिसम्म क्होलासोथारमा गुरुङ समुदायको बसोबास थियो । यहाँबाट बसाई सरेका गुरुङहरू नेपाल र विश्वका विभिन्न ठाउँमा फैलिएको उहाँले बताउनुभयो । गुरुङ समुदायको इतिहाँस, वर्तमान र भविष्यलाई जोडेर गुरुङ सम्पदा पदमार्गको परिकल्पना गरिएको उहाँको भनाई छ । पुराना गोलघर, दरवार, घट्ट, घोडा बाध्ने तबेला आदिका भग्नावशेष रहेको यहाँ पुरातत्व विभागले गरेको उत्खनन्मा पौराणिक महत्वका सामग्रीहरू भेटिएका थिए । ठूलोलेक र तप्रोदेखि दुई तर्फबाट क्होलासोथार जोड्ने परम्परागत मार्ग छन् । ठूलोलेकदेखि क्होलासोथार जाने पदमार्गमा पर्ने ‘बनको छेउ’ नामको पहाडलाई स्थानीयबासीले देवताको रुपमा पुज्ने गर्दछन् । क्होलासोथार नजिकै तत्कालीन घले राजाको घोडा दौडाउने र मेला लाग्ने चौर पनि रहेको छ । ठूलोलेक र तप्रोदेखि क्होलासोथार पुग्न करिब पाँच घण्टा पैदलयात्रा गर्नुपर्छ । करापुडाँडाः मादी गाउँपालिका–२ मा पर्ने करापुडाँडा समुुन्द्री सतहदेखि दुई हजार नौ सय मिटर उचाईमा छ । कोरी– ठूलोलेक–क्होलासोथार–तप्रो हुदै यात्रा गर्दा क्होलासोथारदेखि चार घण्टा हिडेर पुगिने तप्रोमा बिहानको खाना खाएपछि थप पाँच घण्टा डाँडैडाडा पहाड, जङ्गल र हिमाल हेर्दै यात्रा गरेपछि करापुडाँडा पुगिन्छ । गुराँसे जङ्गल, रङ्गीबिरङ्गी फूल, चराचुरुङ्गीको आवाजसँगै हिमालको दृ्श्यावलोकन गर्दै पदयात्रा गर्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देखिनुको साथै मनास्लु हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४, अन्नपूर्ण–३ , माछापुच्छ्रे, मर्दी हिमाल, अन्नपूर्ण साउथ, वुद्ध, मनास्लु, हर्क गुरुङ हिमाल देखिन्छ । यहाँको क्याम्पिङ साइटमा एउटा धर्मशाला छ जहाँ नजिकै पानीको स्रोत र क्याम्प बस्न मिल्ने सुविधा छ । टेन्ट र अस्थायी टहराहरूमा पर्यटक बास बस्न पाउने गुरुङ पर्यटन व्यवसायी सङ्घका कोषाध्यक्ष भुपाल गुरुङले बताउनुभयो । करापुडाँडाको फेदीमा रहेको ताङतिङमा होमस्टे र होटलको सुविधा छ । करापुडाँडाबाट ओरालो करिब चार–पाँच घण्टा डाँडा र जङ्गलको बाटो हुँदै याङ्जाकोट पुगिन्छ । शुरुको करिब २० मिनेट बाटो भिरालो र अप्ठ्यारो छ, डोरीको आवस्यक पर्नसक्छ । यो ठाउँमा पदमार्ग सुधार र मर्मत गर्नु जरूरी छ । क्होया डाँडा, देउराली, चौतारा, बाघ खोर, ठाटी पौवा, तउरो हुँदै याङजाकोट पुगिन्छ । सञ्चार, विद्युत् र खानेपानी सुविधा आवश्यक पर्यटन व्यवसायी बलराम थापाले गुरुङ सम्पदा पदमार्गले धेरै सम्भावना बोकेको बताउनुुहुन्छ । तत्काल सडक पुग्न नसक्ने र पुरानो पदमार्ग भएकाले यसलाई सामान्य मर्मत तथा केही पूर्वाधार विकास गर्नुपर्ने उहाँले बताउनुभयो । क्होलासोँथार, तप्रो र ठूलोलेकमा रेष्टुरेन्ट आवश्यक रहेको र पुराना पदमार्गको मर्मत, सुधार गर्नुपर्ने, सङ्केत चिन्ह राख्नुपर्ने थापाले बताउनुभयो । कोरी, करापुडाँडामा खानेपानी, विद्युत र सबैजसो ठाउँमा तीव्र गतिको इन्टरनेट सुविधा विस्तार गर्नुपर्ने अर्का पर्यटन ब्यवसायी गङ्गा घलेले बताउनुभयो । मादी गाउँपालिका–२ का पूर्व वडाध्यक्ष एकजङ्ग गुरुङले यसवर्ष गण्डकी प्रदेशको रु ३० लाख बजेटबाट करापुडाँडादेखि तप्रोतर्फ पदमार्ग निर्माण गरिएको बताउनुभयो । अर्को शीर्षकमा विनियोजन भएको रु ४० लाख बजेटबाट पनि पदमार्ग निर्माणको तयारी भएको बताउँदै उहाँले थप बजेटका लागि पहल गरिएको बताउनुभयो । सिक्लेस कोरी मनाङ पदमार्गका लागि पनि संघीय सरकारबाट यस वर्ष रु एक करोडभन्दा बढी विनियोजन भएको छ ।
ललितपुर: नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा सर्वाधिक राशिको सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । महाधिवेशन निर्देशक समितिले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आगामी माघ १० देखि १७ गतेसम्म उक्त प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २६ लाख र दोस्रो पुरस्कार नगद १३ लाख रहेको महाधिवेशन निर्देशन समिति २०८१ का संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । दशरथ रङ्गशाला त्रिपपुरेश्वरमा हुने प्रतियोगितामा राष्ट्रिस्तरका ‘ए’ डिभिजन क्लब र आमन्त्रित विदेशी दुई टोली सहभागी हुने जनाइएको छ । प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घले प्राविधिक सहयोग उपलब्ध गराउने छ । संयोजक बस्नेतले राज्यले खेलाडीहरुको क्षमताअनुसार प्रतिभा प्रस्फुटन र उनीहरुको क्षमता अभिवृद्धिका लागि बजेट छुट्याउन नसकेकाले सरकारलाई दबाब दिन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । त्यसैगरी लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवशन निर्देशन समितिको बैठकले नयाँ खेलकुद विकास ऐन २०७७ सहित नेपाल ओलम्पिक विवादबारे सम्बन्धित निकायको ध्यानकर्षण गराउने निर्णय गरेको छ । मुलुकको हितमा योगदान गर्नुभएका ३६ जना स्वर्गीय नेता तथा सहिदहरुको सम्मानमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले देशैभर खेलकुद सञ्चालन गर्ने जनाएको छ । प्रतियोगिताका लागि व्यावसायिक घरानाबाट प्राप्त हुने विज्ञापन, टिकट बिक्रीबाट प्राप्त हुने रकम र पार्टीका नेता तथा शुभेच्छुकबाट प्राप्त हुने रकम खर्च गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आसन्न केन्द्रीय समिति बैठकको ‘एजेण्डा’ माथि छलफल गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । यही पुस २१ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रुपान्तरण र पुनःनिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्ने उहाँले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्दै पार्टी रुपान्तरणका लागि मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित छ महिने जनजागरण अभियान सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मन्त्री डा राणाले आज दिउँसो काठमाडौँको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि दिनुभएको हो । परराष्ट्र सेवामा रहनुभएकी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो ।
बाँके: जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । अवधि पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधारमा सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष यादवले समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सबैले अपनत्व लिने गरी, सङ्घीयता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने किसिमले सबैको सहमति र समन्वयबाट मात्रै संशोधन गर्नुपर्ने आवश्यकता छ ।” पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्र र सङ्घीयताको रूपमा प्राप्त भएका उपलब्धिलाई संथागत गर्न सकिएन भने २००७ सालमा भएको परिवर्तन २०१७ सालमा गुमेजस्तै नहोला भन्न सकिँंदैन । त्यसैले उपलब्धिलाई संस्थागत गर्न सबै एकजुट हुनु जरुरी छ ।” अवधि पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रिय सचिव एवं नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, स्थानीय नेतालगायत सञ्चरकर्मीको उपस्थिति थियो ।
काठमाडौं: आइक्युएयरको पछिल्लो वायु गुणस्तर सूचकाङ्क (एक्युआई)को वर्गाीकरणअनुसार प्रमुख विश्वव्यापी वायु गुणस्तर अनुगमन सेवाको तथ्याङ्कका आधारमा कराची र लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा परेका छन् । लाहोर र कराची दुवैले गम्भीर वायु प्रदूषणसँग जुझिरहेका छन् । यसले जनस्वास्थ्यका लागि ठूलो खतरा खडा गरेको छ । विशेष गरी लाहोरलाई विश्वको सबैभन्दा प्रदूषित सहरको रूपमा स्थान दिइएको छ । लाहोरको एक्युआई ३५४ छ । यसलाई बासिन्दाहरूका लागि ‘खतरनाक’ मानिन्छ । एक्सप्रेस ट्रिब्युनका अनुसार एक करोड १० लाखभन्दा बढी जनसङ्ख्या भएको यो सहर सवारी साधनको उत्सर्जन, औद्योगिक गतिविधिहरू र बाली जलाउने कार्यका कारण लामो समयदेखि खराब वायु गुणस्तरसँग जुधिरहेको छ । नतिजाको रूपमा विशेष गरी जाडो महिनाहरूमा जब धुवाँ सबैभन्दा तीव्र हुँदा धेरै बासिन्दाले दम र अन्य फोक्सोका रोगसहित बढ्दो श्वासप्रश्वास समस्याहरूको सामना गर्नुपरेको छ । गत महिनामा धुवाँका कारण १८ लाख ८६ हजार ५८६ जना बिरामी परेका छन् । तीमध्ये एक लाख २९ हजार ,२२९ ले श्वासप्रश्वासको समस्याका लागि अस्पताल उपचार खोजिरहेका छन् । यसैबीच, ६१ लाख १५३ व्यक्तिमा कार्डियोथोरेसिक अवस्थाहरू अवस्था निदान गरिएको छ । त्यसैगरी दैनिक ६९ हजार ३९९ भन्दा बढी बिरामी श्वासप्रश्वासको समस्या, छाती दुख्ने वा धुवाँको कारणले स्ट्रोक भएको रिपोर्ट गरिएको छ । रिपोर्ट अनुसार पाकिस्तानको सबैभन्दा ठूलो सहर कराची १६४ को एक्यूआई सहित सूचीमा १३औँ स्थानमा छ । यसले यो सरहलाई ‘अस्वस्थ’ श्रेणीमा राखेको छ । सहरको व्यस्त बन्दरगाह, भारी ट्राफिक र औद्योगिक क्षेत्रहरूले उच्च प्रदूषणको स्तरमा योगदान पुर्याउँछ । यसले वातावरण र जनस्वास्थ्य दुवैलाई खतरामा पारेको छ । वायु प्रदूषणको सामना गर्न निरन्तर प्रयासहरू भए पनि कराचीको हावाको गुणस्तर बिग्रँदै जाँदा बासिन्दाहरू, विशेष गरी पहिले नै स्वास्थ्य अवस्थाहरू भएका मानिसहरूलाई गम्भीर खतरा उत्पन्न गरेको छ । गैरसरकारी वातावरणीय सङ्गठन क्लाइमेट एक्सन सेन्टर ९सिएसी० ले यसअघि लाहोर र पञ्जाबका अन्य सहरमा धुवाँका साथै कराचीमा हालैको धुवाँलाई सवारी उत्सर्जनसँग जोडेको छ । मङ्गलबार कराची प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा सिएसी निर्देशक यासिर हुसेनले पेट्रोल र डिजेल सवारी साधनहरूबाट उत्सर्जन यी शहरहरूमा प्रदूषणमा प्रमुख योगदानकर्ता भएका बताउनुभयो । कराचीमा ६० प्रतिशत र लाहोरमा ८० प्रतिशत प्रदूषणका लागि जिम्मेवार छ । यसैबीच जाडो याममा दादुराको प्रकोपले स्वास्थ्य विशेषज्ञहरूबीच चिन्ता बढाएको छ । विशेष गरी कुपोषित, प्रतिरक्षाविहीन वा खोप नलगाएकाका लागि नाक बग्ने, ज्वरो, खोकी, रातो आँखा र छालाको चकत्ते जस्ता लक्षणहरूद्वारा चिह्नित दादुरा कमजोर बच्चाहरूका लागि घातक हुनसक्छ । चिकित्सकहरूले यो अत्यधिक सरुवा रोग एक बच्चाबाट अर्को बच्चामा छिटो फैलने चेतावनी दिएका छन् । उनीहरूले आमाबाबुले आफ्ना बच्चाहरूलाई यस सङ्क्रामक रोगबाट जोगाउन नौ महिनादेखि डेढ वर्ष उमेरका बीचमा दादुरा विरुद्धको खोप लगाउन सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
पोखरा: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरा आउने भएका छन् । पुष २० गते शनिबार बिहान ११ बजे पोखराको होटल दिप सागरमा प्रदेश स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन थापा पोखरा आउने कार्यतालिका छ । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न तहका पदाधिकारी, सदस्य र जनप्रतिनिधिहरु उपस्थित हुन भनिएको छ । अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेसलाई अझ गतिशील बनाउनका लागि छलफल कांग्रेसको गण्डकी प्रदेशले जनाएको छ । कार्यक्रममा गगन थापाले नेपाली कांग्रेसका कार्यकर्ताहरूसँग प्रत्यक्ष संवाद गर्ने छन् ।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराउनुभयो । मन्त्री पाण्डेले भन्नुभयो,“पर्यटन क्षेत्रका समस्यादेखि एयरलाइन्ससम्मका समस्या हल गर्नका लागि वृहत् रूपमा छलफलका लागि भेला गर्दै छौँ, त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौँ । पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौँ, केही निकाय त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन ।” उहाँले पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेकोे र नागरिक उड्डयनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी गराउनुभयो । मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारबाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको समितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गर्नुभयो । समिति सभापति राजकिशोर यदवको अध्यक्षमा भएको बैठकमा पूर्व प्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले निजगढ अन्तर्रास्ट्रिय विमानस्थलको विकल्पमा अरू विकल्प हुन नसक्ने भन्दै निर्माणका लागि लगानी कर्ता खोज्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ एयरपोर्टको विकल्प निजगढ मात्रै हो, पहिलो प्राथमिकता दिईयोस्, ट्रान्जिटको भूमिका पनि देखिन्छ ।” पूर्व प्रधानमन्त्री नेपालले कुनै पनि परियोजना बनाउने कुरामा हचुवाको भरमा नभइ कहाँ आवश्यक छ कहाँ छैन कुनै हिसाबकिताब गरेर मात्र गर्नुपर्ने बताउनुभयो । पर्यटकलाई आकर्षित गर्न गन्तव्य ठाउँ सफा सुग्घर बनाउनुपर्ने उहाँको भनाइ थियो । सांसद प्रभू साहले निजगढ एयरपोर्टमा चासो नपुगेको र मन्त्रालयको प्राथमिकतामा किन नपरेको भनी प्रश्न गर्नुभयो । साथै उहाँले पुरातात्विक क्षेत्रमा उत्खननका नाममा दुरूपयोग भइरहेको बताउँदै मन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभयो । सांसद धवल शमशेर जबराले पर्यटन क्षेत्रमा स्थानीय तहलाई जिम्मेवार बनाउने कार्य राम्रो भनी प्रशंसा गर्नुभयो । उहाँले मुलुकमा आउने पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो । सांसद भीमप्रसाद आचार्यले नेपालको आफ्नो हवाई जहाज नहुँदा ६० प्रतिशत पर्यटक विदेशी कम्पनीले लिने गरेको बताउनुभयो । भैरहवा र पोखरा विमानस्थल चलाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले यसका लागि ,दुई छिमेकीमुलुकसँग छलफल हुन जरूरी रहेको बताउनुभयो । सांसद सुदन किरातीले पशुपति धर्मशालाको निर्णयको पुनःअधययन गर्ने निर्णय किन गरेको हो भनी मन्त्रीसँग प्रश्न गर्नुभयो । उहाँले निजगढ विमानस्थल विस्तृत अध्ययन गरेर मात्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै नभए विमानस्थल घाम तापेर बस्नुपर्ने अवस्था आउनसक्छ भन्नुभयो । सांसद सुनिता बरालले पर्यटन क्षेत्रमा भूकम्पपछि क्षति भएका सम्पदा कति सम्पन्न भए कति हुन बाँकी छन् जानकारी गराउन माग गर्नुभयो । सांसद प्रेम सुवालले मन्त्रालयको बेरूजु किन फछर्यौट हुन सकेको भनी प्रश्न गर्नुभयो । सांसद शिशिर खनालले हवाई क्षेत्रमा नियमाक निकाय र सेवा प्रदायक निकाय छुट्याउने विषयमा प्रगति राम्रो भएको उल्लेख गर्नुभयो । सांसद योगेश गौचन थकालीले नेपालमा पर्यटन क्षेत्रमा रहेका झन्झटिला प्रक्रियालाई सरलीकरण बनाउनुपर्ने बताउनुभयो ।

