सोलुखुम्बु: सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नं २ सुर्केसम्म रु १६ करोडको लागतमा करिब २५ किलोमिटर सडक निर्माण गरिएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि सुरु भएको थियो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना—सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ । थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत रु १० करोड ५२ लाखमा निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका लेखा शाखा प्रमुख चेतनाथ कट्टेलका अनुसार ५० प्रतिशत लगानी गाउँपालिकाको छभने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक भने रु छ करोड १४ लाख लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको थियो । दूधकोशी नदीमा रहेको मितेरीपुल बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर सडक सञ्जाललाई निरन्तरता दिइएको छ । दूधकोशीपारिको खरिखोला र पैयाँखोला गरी दुई ठाउँमा ह्युमपाइप प्रयोग गरिएको वडा नं २ का अध्यक्ष आङफुर्वा शेर्पाले बताउनुभयो । यसले मालवाहक र अन्य सवारीलाई सहजै सुर्केसम्म पुर्याउन सम्भव बनाएको छ । स्थानीय पर्यटन व्यवसायीले सडक निर्माणप्रति उत्साह व्यक्त गर्दै यो कदमले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् । मौसमका कारण उडान रद्द हुँदा यात्री अलपत्र पर्ने समस्या अब समाप्त हुने व्यवसायीको धारणा छ । स्थानीयवासीले सडक विस्तारले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । यसले उनीहरूको दैनिकी सहज बनाउनुका साथै क्षेत्रीय विकासमा गति दिनेछ । लुक्ला नजिकैको सुर्केसम्म सडक सञ्जाल विस्तार भएको खुम्बु क्षेत्रका लागि कोशेढुङ्गा सावित हुँदैछ । सगरमाथा क्षेत्रको पर्यटकीय महत्वलाई बढाउँदै यो परियोजनाले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायी, स्थानीयवासी र सरोकारवाला सबैले यो विकासलाई स्वागत गरेका छन् । सुर्केसम्म सडक पुगेपछि सल्लेरीबाट ६४ किलोमिटरको दूरीलाई सहज यात्राका माध्यमबाट पार गर्न सकिने भएको छ । लुक्ला विमानस्थलबाट करिब डेढ घण्टाको पैदल दूरीमा पर्ने फाक्दिङसम्म सडकको पहुँचले भरपर्दो विकल्प सृजना गरेको पर्यटन व्यवसायी अमृत मगरले बताउनुभयो । यसअघि मौसम प्रतिकूल हुँदा विदेशी पर्यटक हप्तौँसम्म रामेछापको मन्थलीमा कुर्न बाध्य हुने अवस्था थियो । अब सडक मार्गको विकल्पले मौसमको प्रतिकूलताबाट प्रभावित हुने समस्यालाई धेरै हदसम्म समाधान गर्ने देखिन्छ । पर्यटन व्यवसायी निराजन शर्माका अनुसार आधा पर्यटक अब सिधै सडक मार्गबाट खुम्बु पुग्ने सम्भावना छ । पर्यटनमा सम्भावना र आर्थिक प्रभाव सडक विस्तारसँगै खुम्बु क्षेत्रमा पर्यटन व्यवसायमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । यसले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड र पोर्टरको रोजगारीमा पाि सकारात्मक प्रभाव पार्नेछ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार यो सडकले स्थानीय उत्पादनको ढुवानीलाई पनि सहज बनाउनेछ । यस क्षेत्रका आलु, गहुँ, जौँजस्ता उत्पादन अब बजारमा सहजै पुग्ने छन् । साथै निर्माण सामग्री र खाद्यान्न आपूर्तिमा पनि सुधार आउनेछ । सडक निर्माणको यो महत्त्वपूर्ण परियोजना यही पुस २० उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसले खुम्बु क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थप प्रचार गर्ने विश्वास गरिएको छ ।
नुवाकोट: पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगयामा हिन्दू र बौद्धमार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन् । पितृ तर्पण (श्राद्ध) गर्ने भक्तजनको सहभागिता हालसम्मकै उच्च रहेको उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डङ्गोलले जानकारी दिनुभयो । उहाँको अनुसार धार्मिक एवं पवित्र नदी त्रिशूली, सलाखु र फलाँखुको त्रिवेणीस्थल बेत्रावती (उत्तरगया)मा दिवङ्गत पितृको चीरशान्तिको कामनासहित जौँको पिण्ड बनाई तर्पण, सिदादान र पिण्डदान गर्न हिन्दू र बौद्ध धर्मावलम्बीहरू सोमबार बिहानैदेखि दिनभर आउजाउ भएको थियो । “सत्ययुगमा देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा त्यसको रापले छट्पट्टिएका भगवान् शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा खोप्दा त्यहाँबाट बगेको जलबाट निर्मित बेत्रगङ्गा र रुद्रगङ्गा तथा त्यसभन्दा दूरमा रहेको नीलाद्री पर्वतमा त्रिशूल खोप्दा निस्किएको जल बगेको त्रिशूली नदीको भेट भएको त्रिवेणीधाम उत्तगरगया पवित्र तीर्थस्थल हो”, अध्यक्ष ड¬ङ्गोलले भन्नुभयो, “वेत्रावती उत्तरगयाधाम हिन्दू धर्मावलम्वीको प्रमुख चारधाममध्येको मुख्य र नेपालमा रहेको एकमात्र धामका रूपमा पुज्ने गरिन्छ ।” दक्षिणायनको अन्तिम औँसीका रूपमा रहेको पौष कृष्ण औँसीका दिन उत्तरगयामा पितृलाई पिण्डदान गर्नाले दिवङ्गत व्यक्तिको बैकुण्ठमा बास हुने, जीवनमा जानअन्जानमा भएका गल्ती क्षमा हुने र मृत्युपरान्त मोक्ष पाउने धार्मिक विश्वास छ । धर्मशास्त्र अनुसार चार गयामध्ये तीनगया भारतमा पर्छ भने नेपालमा पर्ने उत्तरगयाधाम वेत्रावती हिन्दू र बौद्धमार्गीको पवित्र तीर्थस्थल मानिन्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुअघि उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने हिन्दू र बौद्धमार्गी अनुयायीको आस्था जोडिएको छ । सोही तथ्य हिमवत् खण्डमा समेत उल्लेख रहेको ओखलढुङ्गाबाट श्राद्ध गर्न वेत्रावती आउनुभएका पण्डित लोकाथ उपाध्यायले बताउनुभयो । उत्तरगयामा पौष कृष्ण औँसीका दिन आमाबाबु नभएकाले सकेसम्म हरेक वर्ष र अन्यथा जीवनमा एकपटक भए पनि पिण्ड तर्पण गर्नुपर्छ भन्ने विश्वासमा ङो (श्राद्ध) गर्न आएको धुनिबेँसी नगरपालिका–१ धादिङका ज्ञानबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार तामाङ साुमदायमा दिवगङ्त व्यक्तिको पुण्य, आत्मको चीरशान्ति तथा केही बाधा अड्चन भएमा तथा स्वर्गलोक पुग्न बाँकी भएमा त्यसको क्षमाका लागि बौद्धमार्गीहरूले ङो गर्ने गरिएको छ । पवित्र नदी त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ ।
चितवन: पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ । आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला रू ३० ले गिरावट भएको छ । आज प्रतितोला चाँदी रू एक हजार सात सय ६५ मा कारोबार भएको छ । सोही परिमाणको चाँदी सोमबार रू एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।
मोरङ: एकाबिहानै मोरङको पथरी शनिश्चरे–७ स्थित कीर्तिपुरमा जनकल्याण माविको मैदानमा पुग्ने हो भने विद्यार्थी ब्याट र बलसँग रमाइरहेका हुन्छन् । जाडोको समय एकाबिहानै झिसमिसेमा उनीहरुको अभ्यासले ठुल्ठुलो आवाज आउँछ । विद्यालयको मैदानमा भेला भएका उनीमध्ये कोही शारीरिक अभ्यासमा ब्यस्त हुन्छन् त कोही बलिङ र ब्याटिङमा । मैदानमा विद्यार्थीसँगै वरिपरि दौडिएर ‘फिल्डिङ’को अभ्यास गरिरहेका हुन्छन् राकेश राई । उहाँले विद्यार्थीलाई नेतृत्व गरिरहेका हुन्छन् । प्रशिक्षक राईको सपना छ पथरी शनिश्चरेबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने । क्रिकेट खेलमै जीवन बिताएका उनको सपनालाई साथ दिए कीर्तिपुर एकेडेमीका निर्देशक पुकार राईले । पुकार र राकेशको क्रिकेटप्रतिको लगावका कारण मोरङले प्रधानमन्त्री कप महिला लिगका लागि दुई खेलाडी पाएको छ । दुई युवाले आफ्नै लगानीमा सुरु गरेको क्रिकेट प्रशिक्षणले विस्तारै गति लिँदै आएको छ । एकेडेमीले सुरु गरेको क्रिकेट प्रशिक्षणमा ४० भन्दा बढी विद्यार्थी नियमित प्रशिक्षण गर्दै आएका छन् । दश वर्षदेखि १६ वर्षसम्मका १८ बालिका २२ बालकलाई नियमित प्रशिक्षणमा सहभागी रहेका एकेडेमीका निर्देशक पुकार बताउनुहुन्छ । नियमित प्रशिक्षण गराइरहेको एकेडेमीले राष्ट्रियस्तरमा महिला क्रिकेट खेलाडी उत्पादनमा ठूलो सहयोग पुर्याउँदै आएको छ । क्रिकेट र फुटबल खेलाडी उत्पादन गर्दै आएको कीर्तिपुरले जन्माएको खेलाडी हुन सरु लिम्बू । राष्ट्रिय महिला फुटबल खेलाडी उनी अहिले अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त फुटबल खेलाडी हुन् । महिला फुटबलको नियमित सदस्य उनी सशस्त्र प्रहरी क्लबमा आबद्ध भएकी छिन् । फुटबलमात्र खेलाडी उत्पादन गरिराखेको कीर्तिपुरले अब अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्न महिला क्रिकेट प्रशिक्षण सुरु गरेको छ । सरुजस्तै खेलाडीको उद्गमस्थल हो कीर्तिपुर । पछिल्लोपटक प्रधानमन्त्री कप महिला क्रिकेटका लागि एकेडेमीका दुई जना खेलाडी मोरङ जिल्लाको बन्द प्रशिक्षणमा राखिएको छ । प्रशिक्षक राकेश भन्नुहुन्छ, “मोरङले प्रधानमन्त्री कप महिला लिगका लागि बन्द प्रशिक्षणमा उक्त एकेडेमीका स्मारिका गौतम र शुभेक्षा लिम्बूलाई बन्द प्रशिक्षणमा रहनु भनेको हाम्रो सफलता हो ।” कीर्तिपुरको अभ्यासस्थलमा नियमित क्रिकेट अभ्यास गर्न पुगेका बालबालिका निकै फूर्तिका साथ खेलमैदानमा उत्रन्छन् । प्रशिक्षक राकेशले टिम बनाइदिन्छन् र सोहीअनुसार आ–आफ्नो टिममा सहभागी भएर मैदानमा उत्रिन्छन् उनीहरू । एकेडेमीमा खेलसँगै अनुशासन र जिम्मेवारी पनि सिकाइने प्रशिक्षक राकेश बताउनुहुन्छ । घरपरिवारमा के काम गर्ने, विद्यालय र साथीभाइसँग कस्तो व्यवहार गर्नेलगायत विषय पनि अनौपचारिक रूपमा सिकाउने गरिएको छ । क्रिकेट क्षेत्रमा लामो समय बिताउनुभएका राकेश हालै ‘बेसिक लेभल’ प्रशिक्षक बनेका छन् । उहाँले सिकेको सीप तथा कला आफ्नै गाउँका बालबालिकालाई प्रदान गरिरहनुभएको छ । एकेडेमीकै अग्रसरतामा क्रिकेट खेलाडीका लागि ‘नेट प्रशिक्षण’ गर्न नेटसमेत बनाउन थालिएको छ । वडा कार्यालय ७ र ८ ले आर्थिक सहयोग गरेपछि पक्की क्रिजसहितको ‘नेट प्राक्टिस’ सम्भव भएको हो । पछिल्लो स्थानीय तहमा वडादेखि नगरस्तरीय प्रतियोगिता हुने गरेको र राष्ट्रिय खेलाडीसम्म पुग्ने माध्यम भएकाले यस्ता प्रशिक्षण फलदायी हुने प्रशिक्षक राईको बुझाइ छ । एकेडेमीले गरिरहेको यो कार्यलाई नेपाल क्रिकेट फाउण्डेशनले सहयोग गरिरहेको छ । फाउण्डेशनले प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री सहयोग गरिरहेकाले एकेडेमी सञ्चालन गर्न सहज भएको छ । क्रिकेटप्रतिको ‘क्रेज’ बढ्दै गर्दा अभिभावक पनि सकारात्मक बनेका छन् । क्रिकेट खेलेर छोरीले राष्ट्रकै नाम राख्नेमा विश्वस्त छन् अभिभावक इन्द्र गौतम । यही एकेडेमीमा प्रशिक्षण गरेका खेलाडीले हालै इक्वालिटी कपमा सहभागी भएर उत्कृष्ट प्रदर्शन गरेपछि एकेडेमीको प्रभाव देखिन थालेको छ । क्रिकेट विकासका लागि ‘ग्रासरुट’बाट स्वःस्फुर्त रूपमा सुरु भएको यस्ता एकेडेमीलाई राज्यले प्रोसाहन गर्नुपर्ने देखिन्छ । खेलकुद सङ्घसंस्थाको नजरबाट टाढा रहेको सो एकेडेमीलाई स्थानीय सरकारले समेत चिन्न सकेको छैन ।
काठमाडौं: सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिनुभयो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो । राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ)को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।
म्याग्दी । बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो । सदरमुकाम बेनीमा घर बनाइसकेका उनलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र आफन्तले दुःख नगर्न सुझाव दिन्थे । “ तत्कालीन कृषि विकास कार्यालयबाट एक हजार पाँच सय सुन्तलाका बिरुवा बोकेर गाउँमा पुग्दा धेरैले लगाउन मान्नुभएन”, उनले भने, “केही छिमेकीले हामी धान, मकै, कोदो खाने मान्छे हो, कहाँ सुन्तला खाने हो र ? भन्दै प्रश्न पनि गर्नुभयो ।” करिब पाँच सय बोट सुन्तलाका बिरुवा लगाएर खत्रीले आफन्त र छिमेकीलाई एक हजार बिरुवा बाँड्नुभएको थियो । गत वर्ष रु १३ लाखको सुन्तला बेचेका खत्रीले बगैँचामा फलेका तीन सय बोटमध्ये आधा सुन्तला बेच्दा रु १० लाख आम्दानी गरिसके । “बगैँचामा अझै आधा सुन्तला बाँकी छ”, उनले भने, “यसपालि उत्पादन बढेकाले रु १७ देखि २० लाखसम्मको सुन्तला बिक्री हुने अनुमान गरेको छु ।” उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशक अघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दुःख गरेर उब्जाएको खाद्यबालीले छ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो । सुन्तलाखेती हुन थालेपछि मरेकबाट बसाइँसराइ रोकिएको र विदेशिने क्रम घटेको स्थानीय अगुवा किसान इन्द्रबहादुर थापाले बताए । वर्षमा रु ६० हजार बराबरको १८ मुरी धान फलाउने थापाले १४ रोपनीमा गरेको सुन्तलाखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने बताए । तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपालि सुन्तला बेचेर रु छ लाख आम्दानी भएको बताए । “सुन्तलाखेती गरेपछि घरव्यवहार चलाउन विदेश जानुपरेको छैन”, उनले भने, “जीवनस्तरमा परिवर्तन ल्याएको छ ।” मरेक र बालम गाउँमा २१ घरपरिवारको बसोबास छ । बीस घरले सुन्तलाखेती गरेका छन् । प्रतिघर रु एकदेखि २० लाखसम्म सुन्तलाबाट आम्दानी गर्छन् । बेनी नगरपालिकाको विकट र दुर्गम बस्ती भए पनि मरेकका घर खाली र जग्गा बाँझो नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्षसमेत रहेका मरेकका बासिन्दा वीरबहादुर थापाले बताए। “बेनीबजारमा घर र व्यवसाय भए पनि सुन्तलाखेतीले गर्दा मैले पनि गाउँ छाड्न सकेको छैन”, उनले भने, “सुन्तलाखेतीले रोजगारी, आम्दानीको अवसर सृजना गरेकाले मरेकबाट बसाइँसराइ रोकिएको छ ।” बेनीमा फलफूल तथा तरकारी व्यवसाय गर्ने मरेकका काजी थापाले विदेशबाट फर्केपछि गाउँको खेतबारीमा सुन्तलाखेती गरेको बताए । गत वर्ष रु ८० लाखको सुन्तला बिक्री भएको मरेकमा यसपालि उत्पादन दोब्बरले बढेकाले रु एक करोड ५० लाख भित्रिने अनुमान गरिएको हालै त्यहाँको बगैँचा निरीक्षण गरेका कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तलाखेतीको विस्तारमा सहयोग गर्दै आएका छन् । अनुदानमा नयाँ बिरुवा वितरण, बगैँचा व्यवस्थापन, साना सिँचाइ कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताए । उनका अनुसार अनुकूल मौसम, उत्पादन दिने नयाँ बिरुवा थपिएको, दाना झर्ने समस्या कम भएको र फल धेरै लागेकाले जिल्लाभर गत वर्षको तुलनामा एकतिहाइले सुन्तला उत्पादन वृद्धि भएको अनुमान गरिएको छ । मरेकको छिमेकी छेपारेका बासिन्दाले पनि व्यावसायिक सुन्तलाखेती गर्न थालेका छन् । कच्ची सडकको सुविधा भएको मरेकमा उत्पादन भएको सुन्तलालाई बजारको समस्या छैन । व्यापारीले बगैँचाबाट प्रतिकिलो रु ७५ मा सुन्तला खरिद गरेका छन् । अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने व्यापारी राजन तामाङले बताए । पोखरा, काठमाडौँ, हेटौँडाको बजारमा यहाँको सुन्तला लैजाने गरिएको उनले बताए । मरेकको भिरालो पाखा सुन्तला बगैँचाले भरिएको छ । बगैँचा पहेँलपुर सुन्तलाले रङ्गिएर मनमोहक बनेको छ । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिएको बताए । सुन्तला बजारीकरणका लागि सडक स्तरोन्नति गरेर यातायातलाई सहज बनाउने, सिँचाइ र प्रविधि सहयोगका लागि सङ्घीय तथा प्रदेश सरकारका निकायमा समन्वय तथा पहल गरेको बताए । आयआर्जनका लागि गाउँ छाड्नुपर्ने समस्या घटाउन सुन्तलाखेती प्रभावकारी भएको वडाध्यक्ष पुनले बताए ।
सुर्खेत: कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्र गर्दछ । विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ । यसको लोकप्रियता पछिल्लो समयमा बढ्दै गएको छ । विगतमा माथिल्लो कर्णालीमा विशेषगरी चाडपर्व, मेलामालिका, विवाह, व्रतबन्ध, जन्मदिन र शुभसाइत खेलिने देउडाको विस्तार सहरसम्म हुँदै जाँदा देउडा खेल लगाउन अहिले औँसी वा पूर्णिमा कुनै तिथि, मिति र अवसर कुर्न पर्दैन तथापि कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा सञ्चालन हुने गर्दछ । देउडा कार्यक्रम सञ्चालनमा संस्कृति संरक्षण र पुस्तान्तरण भइरहेकाले स्थानीय, प्रदेश तथा सङ्घ सरकार सबैले गर्व गर्नुपर्दछ । कुनै पनि कार्यक्रम तय गर्दा स्रोतसाधन र जनशक्रिको आवश्यक पर्दछ तर यसका लागि बजेट तर्जुमा अर्थात् जोहो र जनशक्रि प्रबन्ध गर्नुपर्दैन । शून्य बजेटमा हरेक महिनाको दुई दिन अनिवार्य देउडा गुञ्जिन्छ कर्णालीमा । मूलतः कार्यक्रममा गर्दा सामान्यतः बजेट अनिवार्य शर्त जस्तै हुन्छ भने यसका लागि आयोजक आवश्यक पर्दछ । कार्यक्रममा प्रयोग हुने सामग्री तथा उपकरण, समय व्यवस्थापन र आवश्यक जनशक्रि पनि नभई हुँदैन । खाना, खाजासाथै भत्ता नभए सहभागिता पनि घट्ने अवस्था हुन्छ र कार्यक्रम नै खल्लो भइदिन जान्छ । यद्यपि देउडा कार्यक्रम भने फरक विशेषताबाट सञ्चालन हुँदै आएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते घण्टाघर नजिकको खुला मैदानमा देउडा पारखी, जानकार, शुभेच्छुक र जिज्ञासुहरू विना कुनै दबाव, तनाव र रोकतोक स्वतन्त्र तरिकाले हजारौँको सङ्ख्यामा खुला मैदानमा जम्मा हुन्छन् । यहाँ कोही आयोजक भएर प्रस्तुत हुँदैन । स्वतः तवरले मैदानमा जम्मा हुनेहरु समूहमा परिणत भएर सहभागीहरू आयोजकको स्वरुपमा सक्रिय बन्छन् । अनि एकपछि अर्को जोडिएर गोलो घेरा बनाउँछन् । यसमा दुई समूह भने अनिवार्य हुनुपर्छ । यो पुरुषपुरुष र महिलामहिला वा महिला पुरुष दुवैले समूह बनाए खेल्छन् । खेलमा दुवै समूहमा एक जना गीत भट्याउने हुन्छ जसले आफ्नो समूहको दरिलो नेतृत्व गरिरहेको हुन्छ । यसमा तर्क गर्ने र शीघ्राती सवाल जवाफ गर्नसक्नेले नेतृत्व गर्छ । खेलमा सधैँ एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन । इच्छुक जोसुकैले आफ्नो सो समयमा प्रभाव राख्न सक्छ । खुट्टा अगाडि पछाडि एकबद्ध गर्दै विभिन्न भाकामा गीत मिलाएर खेलिने देउडा खेल्नेभन्दा हेर्नेले बढी मज्जा र मनोरञ्जन लिन्छन् । गीतमा मायापिरती, सुखदुःख, राजनीति, सामाजिक, सांस्कृतिक अवस्था, विद्यमान वा परिवर्तित परिवेशबारे व्यक्त गरिन्छ । सोमबार परेको १५ गतेलाई कर्णालीको खस भाषामा ‘पुसा पुन्वा’ पनि भन्ने गरिन्छ । कर्णालीवासीले सोमबारलाई लामो रातका रूपमा लिँदै मीठामीठा परिकार खाएर यसलाई अवसर मानी गाउँ खाने कथा हाल्ने वा देउडा खेलेर रमाइलो गरी मनाएका छन् । पुस १५ को महत्व र यसपछि बदलिने समय, रैथानेबाली, यसको संरक्षण, प्रवद्र्धन र बजारीकरणका बारेमा पनि देउडा गीत गाउने गरिन्छ । पोर आइथी पुसका पुन्न अहिले पनि आइगै । उमेर घटाई जोवन लैगै आफू फेरि बाइगै ।। रूपमा जस्तो देखिए पनि सारमा देउडाले यहाँका नागरिकहरूको जीवन बोल्ने गरेको जुम्ला निवासी देउडाकर्मी जीतबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “देउडामा समाज बोल्छ । यसमा सृष्टि, प्रकृति, विश्व जगत्देखि मायाप्रेम, हाँसो, रोदन, आवेग, रोष, व्यङ्ग्य, आलोचना, टिप्पणी, गुनासो, सुझावलगायत सबै कुराको समावेश छ । जसले खेल्नेलाई जोश जगाइरहेको हुन्छ भने हेर्नेलाई उत्साह र उमङ्ग दिन्छ ।” त्यस्तै, कालीकोट निवासी देउडा गायिका कमला धामीले देउडा सामाजिक र सांस्कृतिक पहिचान भएको बताउनुभयो । “देउडा भन्नेबित्तिकै कर्णाली या सुदूरपश्चिम भनेर चिनिन्छ । यो हाम्रो झल्किने पहिचान हो”, उहाँले भन्नुभयो, “मनोरञ्जन र सामाजिक, आर्थिक, राजनीतिक समस्यालाई सरल ढङ्गबाट सरोकारवाला निकायलाई सुनाउने र सम्बोधन गर्न लगाउने माध्यम एवं शैली हो ।” विभिन्न परम्परागत प्रथा, संस्कृति र संस्कार संरक्षणका लागि राज्यले करोडौँको खर्च गरिरहँदा देउडा संस्कृतिको संरक्षण एवं जगेर्नाका लागि भनेर ठूलो लगानी गरेको पाइँदैन । यसको निरन्तरता दिँदै पुस्तान्तरण गर्ने, कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका स्थानीयले आधुनिकतासँगै देउडाको मौलिकतालाई विस्तार गर्दै लगेका छन् । कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचायैले देउडा संस्कृति सिञ्जा सभ्यताको परिचय भएको बताउनुभयो । उहाँका अनुसार देउडाले सिञ्जा सभ्यता एवं कर्णालीको समुल कथा र मर्म बोल्दै आएकाले यसको जीवन्तता रहिआएको छ । कर्णाली प्रदेश सरकारले देउडा खेल र संस्कृतिको महत्व हृदयमगम गरी यसको संरक्षण एवं सम्वर्द्धन गर्ने उद्देश्यले हरेक वर्षको साउन १ गते ‘साउने सङ्क्राति अर्थात् देउडा पर्व’का रूपमा सार्वजनिक बिदा दिँदै आएको छ ।

