पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

बैतडी:     बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।  सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ ।  भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म  जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं:    कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान महासङ्घ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यही पुस १३ गतेदेखि सुरु भएको महासङ्घको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।      क्यान महासङ्घले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । उहाँ सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ ।  महासङ्घको १५औँ कार्यसमितिको उपाध्यक्षमा, हर्कबहादुर सेटी, चिरञ्जीवी अधिकारी, नवीन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासचिवमा चन्द्रविलास भूर्तेल र कोषाध्यक्षमा विक्रमसिंह निर्वाचित हुनुभएको छ ।      सचिवहरूमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, रामकिशोर रावल र कर्णराज पनेरु चयन हुनुभएको छ ।  त्यस्तै कार्यकारिणी सदस्यमा उमेश रघुवंशी, ध्रुवराज शर्मा, केशवप्रसाद भट्टराई, नारायणप्रसाद श्रेष्ठ, ठाकुरकुमार श्रेष्ठ, हेमपाल श्रेष्ठ, शिला कंसाकार कार्की, दीपेन्द्र पौडेल, राजु कट्टेल, चिन्तामणि बास्तोलालगायत निर्वाचित हुनुभएको छ ।      लेखासमितिको संयोजकमा भानुभक्त शर्मा र सदस्यहरूमा सन्तोष ढुङ्गाना र पूजा अग्रवाल चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई सर्वसम्मत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक प्रयत्न गरिने बताउनुभयो ।  उहाँले नेपाललाई सूचना प्रविधि ‘हब’का रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन नीतिगत सुधारको खाँचो रहेको र यसका लागि आफूले विशेष पहल गर्ने बताउनुभयो ।      नवनिर्वाचित महासचिव भूर्तेलले क्यान महासङ्घको कार्यक्षेत्र विस्तार गर्न विशेष ध्यान दिने र संस्थागत सुधारका लागि ठोस रणनीति अपनाएर लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाउनुभयो ।      सन् १९९२ मा स्थापना भएको क्यान महासङ्घले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।  सन् २०१५ मा महासङ्घमा रूपान्तरण भपछि यस सङ्गठनले सातै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गरिसकेको छ । क्यानले हरेक वर्ष आयोजना गर्ने ‘क्यान इन्फोटेक’ नेपालको ठूलो प्रविधिसम्बन्धी प्रदर्शनीका रूपमा मानिन्छ ।

दाङ:     लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो  । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिनुभयो ।  उहाँका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ । हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ  । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।

सर्लाही:    नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।   बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।  घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । 

महोत्तरी:     पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताउनुभयो । शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पु¥याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गर्नुभयो । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।  जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छभने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चियाको व्यापार बढेको जलेश्वर–२ का चिया व्यापारी सुरेश साहले बताउनुभयो ।    चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा रवीन्द्र साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको छ । ” दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका विभिन्न गाउँबस्तीमा जाडोबाट बच्न ठाउँठाउँमा स्थानीय तहले आगो बालेर ताप्ने व्यवस्था मिलाएका छन् ।  जलेश्वर –११ का किसान उमेश मण्डले चिसोबाट दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोे गुनासो गर्नुभयो । उहाँले मसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली, काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्ष रूपमा चिसोबाट प्रभावित भएको बताउनुभयो ।

पोखरा:    पोखरामा सम्पन्न भएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् ।  पोखराको फेवातालमा आज सम्पन्न दुई सय र पाँच सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पारेको हो । दोहोरो उपाधिसँगै उसले १० हजार डलर पुरस्कार पायो । नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।  चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो तथा लिआओचिङ युनिभर्सिटी तृतीय भयो । युनान प्रान्तको नर्मल विश्वविद्यालयले चौथो स्थान हासिल गर्न सफल भयो । यसैगरी निर्धारित पाँच सय मिटरको दौडमा लिआओ चेङ युनिभर्सिटी दोस्रो भयो । प्रतियोगितामा युहान युनिभर्सिटी तेस्रो भयो ।  प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद पाँच हजार अमेरिकी डलर, उपविजेताले दुई हजार डलर र तृतीयले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे । प्रतियोगितामा  सहभागी टोलीलाई पाँच  सय डलरका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा २० टोलीको सहभागिता थियो । प्रतियोगितामा चीनका आठ, सिङ्गापुरको एउटा तथा नेपालका ११ टोली सहभागी थिए ।  नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस–२०२४ सम्पन्न भएसँगै कार्यक्रमले नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन तथा नेपालको पर्यटन प्रवद्र्धन गर्न मद्दत पुगेको पोखरा महानगरका प्रमुख आचार्यले बताउनुभयो ।

काठमाडौं:   गुरुङ समुदायले सुगा वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् ।   परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावरको नामबाट गणना गरी नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले  जानकारी दिनुभयो ।  सुगा वर्गलाई कसैले भने गिद्ध वर्गअर्थात् वर्ष पनि भन्ने गरेका छन् । गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको छ ।        नयाँ वर्ष सुरु भएको खुशियालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राजधानीको टुँडिखेलमा तीनदिन अघिदेखि ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सव मङ्गलबारसम्म सञ्चालन हुने तमु ह्युला छोंज धीं राष्ट्रिय परिषद्ले जनाएको छ ।    ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसलाई कतिपयले उच्चारणका रुपमा तमु ल्होछार पनि भन्ने गर्छन् । यस दिन गुरुङ समुदायका मानिस परम्परागत भेषभुषामा सजिएर तमु ल्होसार कार्यक्रममा सहभागी हुन्छन् ।       ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाउने विश्वास गरिन्छ ।       पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको यस समुदायका अगुवाको भनाइ छ ।

पाँचथर:   पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ ।           पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो ।  निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका लागि एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डङ्गोलले गोल गरे ।      मछिन्द्रका लागि देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गरे पनि दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका गोलकिपर कृशल मोक्तानले रोकेका थिए । कृशलको त्यही बचाउ चर्च ब्वाइजलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।       खेलको ४५औँ मिनेटमा मछिन्द्रका बिजु भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । अठहत्तरऔँ मिनेटमा छिरिङ लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए ।  खेलको ८८औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । तर अतिरिक्त पाँच मिनेटको समयमा चर्च ब्वाइजका लागि समिर तामाङले गोल गर्दै खेललाई बराबरी गरे ।  दुई मिनेट आफ्नो अग्रता जोगाउन नसक्दा मछिन्द्र उपविजेतामै सीमित बन्यो । उपाधिसँगै चर्च ब्वाइजले रु १० लाख पाँच सय ५५ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता मछिन्द्रले रु पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । 

पोखरा:    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताए । तमु ल्होसारका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस विषयमा कानुन निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् । मन्त्रीका अनुसार गुरुङ र मगर समुदायको सांस्कृतिक, भाषिक पहिचानलाई जोगाउन तथा संरक्षण गर्न यो कदम महत्वपूर्ण हुनेछ । उनले स्थानीय समुदायसँग परामर्श गरी चाँडै विधेयक प्रदेश सभामा प्रस्तुत गरिने बताएका छन् । उनले आउँदो अधिवेशनमै कानुन पास हुने गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । गण्डकी प्रदेशमा गुरुङ र मगर समुदायको जनसंख्या उल्लेखनीय छ । यी भाषाहरूलाई सरकारी कामकाजमा समावेश गर्नाले प्रदेशको सामाजिक समावेशिता र भाषा संरक्षणको अभियानलाई थप बल पुग्ने विश्वास गरिएको उनले बताए । मन्त्रीले कानून निर्माण पछिको कार्यान्वयनका लागि आवश्यक जनशक्ति विकास, भाषा तालिम र प्रशासनिक संयन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकतालाई समेत औंल्याएका छन् । उनले आगामी दिनमा अन्य मातृभाषाहरूको प्रवद्र्धनका लागि पनि यसलाई उदाहरणीय परियोजना बनाउन खोजिएको उल्लेख गरे । “गण्डकी प्रदेशले पहिलो पटक यस्तो कानुनी पहल गर्न लागेको हो”, उनले भने, “जसले बहुभाषिक संरचनालाई बलियो बनाउने अपेक्षा गरिएको छ।” पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै सोमबार पोखरा सहित देशभर तमु ल्होसार मनाइएको छ । समुदायले गुरूङ वर्षलाई बिदाइ गर्दै नाग वर्षको स्वागत गरेको हो । पोखराको पामेमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् कास्की, महिला राष्ट्रिय परिषद् कास्की, छोंज धीं कास्की, तमु धीं नेपाल र पोखरा ११ स्थित तमु प्ये लहु संघ परिवारले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको हो । कार्यक्रममा गुरुङ समुदायहरु आफ्नो पहिचान झल्किने पहिरनमा सजिएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।