काठमाडौं: आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो । मङ्गलबार प्रतितोला रु एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला रु एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला रु एक हजार सात सय ६५ मा किनबेच हुँदैछ ।
भक्तपुर: विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा बन्द, हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य नभएको बताउनुभएको छ । आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र ख्वपः अस्पतालको निरीक्षणपछि नगरपालिकाले आयोजित अन्तरक्रियामा उहाँले विश्वविद्यालयमा उक्त कुरा बताउनुभएको हो । भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य उदाहरणीय र अनुकरणीय रहेको बताउँदै उहाँले ख्वपः विश्वविद्यालयको विधेयकलाई पूर्णता दिने विषयमा लामो समयदेखि छलफल चलिरहेको बताउनुभयो । मन्त्री भट्टराईले ख्वपः विश्वविद्यालयको विधेयक पूर्णता पाउनुपर्छ भन्ने पक्षमा आफू सहमत रहेको भन्दै ख्वपः विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्मा पुगेको र त्यहाँ सकारात्मक छलफल भइरहेको बताउनुभयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्ने बताउँदै ख्वपः विश्वविद्यालयलाई जनताको विश्वविद्यालयको रुपमा स्थापना गरी देशभरिका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वपः विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न सल्लाघारीस्थित एक सय आठ रोपनी जग्गा प्राप्तिका लागि नेपाल ट्रष्ट समक्ष पटक–पटक पत्राचार गरिसकेको बताउँदै ख्वपः विश्वविद्यालय विधेयक २०८० पारित गर्न आवश्यक पहल एवम् प्रक्रिया अगाडि बढाउन मन्त्री भट्टराईसमक्ष अनुरोध पत्र हस्तान्तरण गर्नुभयो । मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालय, ख्वपः कलेज, शारदा क्याम्पस मावि, ख्वपः कलेज अफ ल, ख्वपः अस्पताल, ख्वपः बहुप्राविधिक अध्ययन संस्थान, ख्वपः इञ्जिनियरिङ कलेज र ख्वपः कलेज अफ इञ्जिनियरिङलगायतको स्थलगत अवलोकन गरी कलेजहरुबाट प्रवाहित सेवा सुविधा, विद्यार्थी सङ्ख्या र भौतिक अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री भट्टराईलाई सचिव सुवालले पार्टीका प्रकाशनहरु, नगरप्रमुख प्रजापतिले नपाका प्रकाशन र कलेजका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभयो ।
म्याग्दी: मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो । कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८६ लाखमा निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीले बताउनुभयो । विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ । यसैबीच, बागलुङको गलकोटबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार बोक्से–सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ । दश किलोमिटर सडकमध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो । आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दश किमी कालोपत्र गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको हो ।
काठमाडौं: जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ । नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनुहुने जनाइएको छ ।
ढोरपाटन: परियार समुदायको पुख्र्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै पन्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् । युवा शक्ति विदेश पलायन भएपछि सङ्कटमा पर्न थालेको पन्चैबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ । अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन् । पन्चैबाजा बजाउने चलन लोप हुन थालेपछि महिलाहरु यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका–३ देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले बताउनुभयो । विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरुले बजाउन थालेको उहाँको भनाइ छ । पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उहाँले उल्लेख गर्नुभयो । थापाले भन्नुभयो, “अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ, नयाँ पुस्ता विद्यालय सकाएपछि विदेश नै जान हतारिन्छन्, बुढापाकाले बजाउन सक्दैनन्, टोल छिमेकमा कसैको बिहे, व्रतबन्ध, पास्नी हुँदा बाजा बजाउनै छोडेको हुँदा दिदीबहिनीहरु मिलेर पन्चैबाजा बजाउन थालेका हौँ, सुरुमा सिक्न केही समय लाग्यो अहिले सबैले सिकेपछि ठाउँ–ठाउँमा बजाउन जाने गरेका छौँ ।” दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाहरुले अहिले यसैबाट आम्दानीसमेत गर्न थालेका छन् । सुरुमा गाउँका पन्चैबाजा समूहबाट सिकेका उनीहरुले रु एक लाख ५० हजारमा बाजा सेट खरिद गरेर व्यावसायिक रुपमा बजाउन थालेका हुन् । एउटा विवाहबाट रु ३० हजारदेखि ५० हजारसम्म लिने गरेको पन्चैबाजा समूहकी सदस्य कला श्रीसले जानकारी दिनुभयो । विवाहको याममा बागलुङका ग्रामीण क्षेत्रदेखि ठूला–ठूला सहरसम्म बाजा बजाउन जाने गरेको उहाँको भनाइ छ । “सुरुमा बाजाको ताल सिक्न केही समय लाग्यो, अहिले ५० जनाभन्दा बढी दिदीबहिनीहरुले पन्चैबाजा बजाउने गर्छौँ”, उहाँले भन्नुभयो, “अब सिक्न चाहनेलाई पनि सिकाउन सकिन्छ, हामीलाई मङ्सिर र माघमा भ्याइनभ्याइ हुन्छ, यसबाट हाम्रो आम्दानी पनि राम्रो भएको छ ।”
सर्लाही: तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट ९बिओपी०मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा निजको मृत्यु भएको छ । गए राति बागमती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ ।
बाँके: माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको मङ्गलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार काम, विवाह, घुमघाम, किनमेललगायतको बहाना बनाएर नाका पार हुन थालेका शङ्कास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि उनीहरुलाई नेपाल फिर्ता गरिएको हो । संयोजक कोइरालाले एक वर्षमा सात सय ७७ जनाको खोजतलासको निवेदन परेको र चार सय सात जना फेला परेको बताउनुभयो । भारत तथा तेस्रो मुलुकमा पुगेकाहरु सम्पर्कमा नआएपछि आफन्तीले खोजतलासको निवेदन दिने गर्दछन् । संयोजक कोइरालाले सन् २०२४मा खोजतलासको निवेदन धेरै पर्नेमा बाँके जिल्ला अगाडि रहेको जानकारी दिनुभयो । जोखिमपूर्ण यात्रा गर्दै नाका पार हुनेहरुमा प्रायः जसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालहरु बेचविखनमा सक्रिय रहेको उल्लेख गर्दै संयोजक कोइरालाले तीनै तहका सरकारसँग समन्वय गरेर मानव बेचबिखन नियन्त्रणसम्बन्धी काम गरिरहेको बताउनुभयो । माइती नेपालले मानव बेचबिखन नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच गर्नुका साथै भारतलगायतका मुलुकमा बेचिएका र बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धारका निम्ति काम गर्दै आएको छ । नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले मानव बेचविखन सामाजिक कलङ्क र सङ्गठित अपराध भएको उल्लेख गर्दै त्यस्ता क्रियाकलापमा संलग्नलाई निरुत्साहित गर्न सञ्चारमाध्यमको अहम भूमिका हुने बताउनुभयो । अध्यक्ष गिरीले मानव बेचविखन विश्वव्यापी समस्या भएकाले यसको नियन्त्रण र रोकथामका लागि सुरक्षा कूटनीतिको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं: ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।
पोखरामा आयोजना गरिएको २१औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिताको उपाधि आरव सम्राट हाडा र सुनिरा थापाले जितेका छन्। कास्की जिल्ला टेनिस संघद्वारा यही पुस ११ गतेदेखि सुरू भएको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरूष एकलतर्फ आरव सम्राट हाडाले प्रनव मानन्धरलाई ६–१ र ६–१ अंकले पराजित गरे। यसअघि सोमबार सम्पन्न सेमिफाइनलमा नेपालका शीर्ष वरियताका प्रदिप खड्कालाई २–१ सेटमा पराजित गरी आरवले फाइनलमा प्रनवसँगको भेट पक्का गरेका थिए। प्रनवले भने सेमिफाइनलमा निशान श्रेष्ठलाई ६–१ र ६–१ अंकले हराएका थिए। यसैगरी महिलातर्फ सुनिराले सलोनीलाई ६–२ र ६–३ अंकले पराजित गरी उपाधि जितिन्। खुलातर्फ च्याम्पियन भएका दुबैले समान रू ८० हजार, ट्रफी र मेडल प्राप्त गरे। उपविजेताले जनही रू ४० हजारका साथमा ट्रफी प्राप्त गरे। यसैगरी ३५ वर्ष माथिको उमेर समूहमा एकलतर्फ जितेन्द्र परियारले प्रतिद्वन्द्वी सन्तोष खत्रीलाई ६–१ र ६–२ अंकले पराजित गर्दै च्याम्पियन भए। उनले रू ६० हजार र उपविजेता सन्तोषले रू ३० हजारका साथमा ट्रफी पाए। प्रतियोगितामा ४५ वर्ष माथिको एकलतर्फको फाइनलमा कमल भण्डारी विजेता बने। रोहित सुनुवारलाई ६–० र ६–२ अंकले पराजित गर्दै उनले रू ४० हजार तथा उपविजेता रोहितले रु २० हजारसहित ट्रफि प्राप्त गरे। य स्तै ५५ वर्ष माथिको फाइनल स्पर्धामा चन्द्र शाही विजयी भए। उनले जीवन घिमिरेलाई ६–२ र ६–२ अंकले हराए। विजेता चन्द्रले रू ३० हजार तथा उपविजेता जीवनले रू १५ हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिताका निर्देशक कुमार अधिकारीले जानकारी दिए । विजेता खेलाडीलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंकका संस्थापक तथा केसी ग्रुपका निर्देशक किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिताका संयोजक नवीन चालिसे, संघका कोषाध्यक्ष विष्णुबहादुर थापा, सचिव भीष्मराज पौडेललगायतले नगद तथा ट्रफी वितरण गरे। प्रतियोगितामा एक सय ४० खेलाडी सहभागी थिए।

