काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले उपभोक्तालाई शुद्ध खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय ९पिआइडी० को अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले उपत्यकामा खानेपानी वितरण सुनिश्चित गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । पानीपोखरी नियन्त्रण कक्षबाट स्वचालित रुपमा खानेपानी वितरण तथा सञ्चालन गर्ने खानेपानी वितरणसँग सम्बन्धित विभिन्न तथ्याङ्क प्राप्त गर्ने, पानीको चुहावट नियन्त्रण गर्ने कायर्मा बाँकी रहेका काम यथाशीघ्र सम्पन्न गर्नसमेत निर्देशन उहाँले दिनुभयो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) बाट हाल सञ्चालनमा रहेका खानेपानी सम्बन्धिका सबै काम समयमै सम्पन्न गर्न मन्त्री यादवले आग्रह गर्नुभयो ।
काठमाडौं: काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरुका साथ प्लेअफ चरणमा पुगेपछि अझ रोचक बन्ने देखिएको छ । हालसम्म सम्पन्न २८ वटा खेलका नतिजाले आगामी खेलहरुले नेपालमा क्रिकेटको लोकप्रियतालाई झन् उचाइमा लैजाने स्पष्ट छ । नेपालका सबै प्रदेशको प्रतिनिधित्व गरेका ८ टोलीमध्ये ४ टोली शीर्ष स्थानमा पुगेका छन् । यसमध्ये सर्वाधिक १२ अङ्क हासिल गर्न सफल सुदूरपश्चिम रोयल्स तथा अङ्क तालिकामा १० अङ्क प्राप्त गरेर दोस्रो स्थानमा पुगेको जनकपुर बोल्डसबीच पुस ३ गते बुधबार दिउँसो प्रतिस्पर्धा हँुदैछ । शीर्ष २ स्थानमा पुगेका यी २ टोलीबीच क्वालिफायरमा भिडन्त हुन लागेको हो । यसमा जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम र जनकपुर दुवै टोलीले अत्यधिक म्याच जितेकाले दुवै टोलीका खेलाडीहरुमा उच्च मनोबल रहेको पाइएको छ । दुवै टोलीले प्रतियोगता जित्ने दाबी गर्दै आएका छन् । सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सुरुदेखि नै उपाधि जित्ने बताउँदै आएका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथाको कालापत्थरको ढुङ्गा अङ्कित ट्रफी आफ्नो प्रदेशमा लैजान सफल हुने कप्तान ऐरको आत्मविश्वास रहेको छ । एनपिएलको पहिलो म्याचमा विराटनगर किङ्गसलाई सहज रुपमा पराजित गरेर आफ्नो बलियो उपस्थिति देखाएको जनकपुर टोलीका कप्तान अनिल शाह पनि मधेश प्रदेशमा ट्रफी भित्र्याउन दृढ रहेका छन् । यी दुवै टोलीले विगतका म्याचहरुमा ब्याटिङ, बलिङ प्रदर्शन गर्दै दर्शकहरुको मन जितेका छन् । एनपिएल क्रिकेटमा खेल्न विभिन्न कीर्तिपुर रङ्गशालामा दिनहुँ भइरहेको दर्शकहरुको भीडले गर्दा अत्यन्त लोभिएका छन् । सुदूरपश्चिम तथा जनकपुरको म्याच भएको बखत कीर्तिपुर रङ्गशालामा दर्शकको सङ्ख्या अत्यधिक हुने गरेकाले बुधबारको खेलमा पनि दर्शक व्यवस्थापन चुनौती हुन सक्ने आकलन गरिएको छ । सुदूरपश्चिम टोलीका समर्थकहरुले देउडा तथा जनकपुरका समर्थकहरुले स्थानीय भाखामा नाचगान गरेर माहौल रमणीय बनाउँदै आएका छन् । खेलमा पूर्वानुमान गर्न कठिन हुन्छ । एनपिएलमा सशक्त उपस्थिति देखाएको सुदूरपश्चिम तथा जनकपुर जस्तो टोलीलाई पराजित गर्न सफल चितवन राइनोज टोली अहिले अङ्कको आधारमा तेस्रो स्थानमा रहेको छ । बुधबार बिहान समान ८ अङ्क प्राप्त गरेको चितवन राइनो तथा कर्णाली याक्सबीच खेल हुँदैछ । तर काठमाडौँ गुर्खाजले पनि समान आठ अङ्क हासिल गरे तापनि रनरेटका आधारमा प्लेअफबाट बाहिरिनु प¥यो । लिग चरणमा चितवन टोली कर्णालीसँग सात रनले पराजित भइसकेको भएता अब हुने ‘इलिमिनेटर’ प्रतिस्पर्धा चितवन र कर्णाली टोलीका लागि महत्वपूर्ण मानिएको छ । कालिफायरमा पराजित हुने टोलीसँग इलिमिनिटरमा जित्ने टोलीले खेल्नेछ । विजयी हुने टोलीका लागि फाइनलको ढोका खुल्ला हुनेछ । नेपालीलाई सफलता एनपिएलमा हालसम्म सबैभन्दा बढी विकेट अतिथि खेलाडी स्कट कुगेलेइनले १३ लिन सफल भएका छन् । त्यसपछि नेपालका ललित राजवंशी र रिजन ढकालले समान १३ विकेट लिएर आफ्नो क्षमतालाई प्रदर्शन गरेका छन् । करण केसीले भने १२ विकेट लिएका थिए । यसैगरी सर्वाधिक २७९ रन रोहित पौडेलले लिन सफल भएका छन् । उनी पछि सर्वाधिक रन लिनेमा अतिथि खेलाडीहरु छन् । तर नेपाली खेलाडीहरुले पनि सयौं रन लिन सफल भएका छन् । सर्वाधिक रन लिनेको सूचीमा चौंथो स्थानमा रहेका नेपाली कुशल मल्लले २०२ रन तथा दिपेन्द्रसिंह ऐरीले १९८ रन लिन सफल भएका छन् । न्युजिल्याण्डबाट एनपिएल खेल्न आएका दिनेश खरेलले १६२ रन तथा अष्ट्रेलियाबाट आएका किशोर महतोले १० विकेट लिएर विदेशबाट खेल्न बोलाइएका नेपालीहरुको सशक्त उपस्थिति देखाएका छन् । अवसरको खोजीमा विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेटरहरुलाई नेपाल क्रिकेट संघ ९क्यान० ले स्वदेशमा पहिलोपटक आयोजित एनपिएल खेल्न बोलाएर उनिहरुको प्रतिभाको कदर गरेको छ । यसरी नेपाली तथा विभिन्न मुलुकका चर्चित क्रिकेट खेलाडीहरुले एकै टोलीमा रहेर खेलिरहेको यो प्रतियोगिता उपलब्धिमूलक बनिरहेको छ । प्रतियोगितामा नेपाली युवा खेलाडीहरुलाई पनि खेल्ने अवसर दिइएबाट उनीहरु प्रोत्साहित हुन पुगेका छन् । खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका युवा प्रतिभाहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुसँग एउटै टोलीमा रहेर खेल्न पाउनु सानो अवसर होइन । एनपिएल क्रिकेटमा खेल्न विभिन्न मुलुकबाट आएका क्रिकेट स्टारहरु कीर्तिपुर रंगशालामा दिनहुँ भैरहेको दर्शकहरुको भिडले गर्दा लोभिएका छन् । कीर्तिपुरमै बास कीर्तिपुर रंगशालाको वरिपरि ओछ्यान ओछ्याएका पनि देखिन्छन् । रंगशाला प्रवेशद्वार नजिक खानेकुराका साथै अन्य सामग्री बेच्नका लागि ठाउँ ओगटन व्यापारीहरु खुल्ला आकाशमै सुत्ने गरेका छन् । तापक्रम घटेर जाडो बढिरहेको समयमा पनि कीर्तिपुरमा भने क्रिकेटप्रेमीहरुको बिहान सबेरै देखि घुईंचो लाग्ने गरेको छ । टिकट किनेर चिसो चौरमा बस्दै क्रिकेट हेर्दा पनि दर्शकहरुको उत्साहमा भने कमी देखिएको छैन । काठमाडौं बाहिरका केही टोलीले म्याच हेर्न काठमाडौँ आउनका लागि निःशुल्क बसको व्यवस्था गरेर खेलप्रेमीहरुलाई हौसला दिएका छन् । कीर्तिपुर रङ्गशालामा दर्शकहरुले गरेका फोहर सफा गर्ने काममा पनि क्रिकेटप्रेमी युवाहरुले सक्रियता देखाएका छन् । खेलाडी पर्यटक बन्दै नेपालमा एनपिएलका लागि अनुवन्ध भई आएका विश्व प्रसिद्ध क्रिकेट खेलाडीहरुको नेपालको गतिविधिले विदेशमा नेपालको प्रचार भइरहेको छ । उनीहरुले विभिन्न भागको भ्रमण गरेर नेपालको पर्यटन प्रवद्र्धन गरेका छन् । भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवनले पहिलो पटक एनपिएलमा खेल्न नेपाल आएर सगरमाथा आधार शिविरको भ्रमण गर्न समेत भ्याएका थिए । कर्णाली याक्सका तर्फबाट वटा खेलपछि स्वदेश फर्किएका धवनले सगरमाथा क्षेत्रमा बिताएको क्षणका तस्बिर तथा समाचार विभिन्न अन्तर्राष्ट्रिय माध्यमले समेत महत्व दिएर प्रकाशित गरेका थिए। एनपिएल क्रिकेट हेर्न नेपाल आएका विश्व विख्यात क्रिकेटर ब्रायन लाराको नेपाल भ्रमणले पनि विश्वमा नेपाललाई चिनाउन मदत गरेको छ । उनले पनि सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । कमेण्टेटरको कमाल एनपिएल क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारणको माध्यमबाट विश्वमा नेपालको ब्यापक रुपमा प्रचार भैरहेको छ । एक्सन स्पोर्टस अन्तर्राष्ट्रिय टेलिभिजनले क्रिकेट प्रतियोगिताका साथै नेपालको पर्यटन प्रवद्र्धन पनि गरिरहेको छ । क्रिकेटको प्रत्यक्ष प्रशारणमा विश्वमै ख्याती कमाएका कमेण्टेटरहरुले दिनहुँजसो नेपालको हिमाल, कला संस्कृति तथा जनजीवनका बारेमा मुक्त कण्ठले प्रशंसा गरिरहेका छन् । उनीहरुले अङ्ग्रेजी भाषामा नेपाली खाजा मःमःदेखि भक्तपुरको जुजु धौ समेतको बारेमा विश्वको विभिन्न देशमा प्रचार गरिरहेका छन् । बेलाबेलामा ड्रोनको माध्यमबाट देखाइने गरिएको काठमाडौंँ उपत्यकाको रमणीय दृश्यले भविष्यमा पर्यटक बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । आगामी दिनको सम्भावनाको ढोका खोल्न पनि योगदान गरिरहेका छन् । तर नेपालमा सयौं टेलिभिजन भएता पनि एनपिएल हेर्न विदेशी च्यानलको भर पर्नुपर्ने तथा पर्ने तथा अंग्रेजी नबुझ्नेहरुका लागि खेलका गतिविधि बुझ्न कठिनाइ भैरहेको छ । (लेखक खेल पत्रकारिताको जानकार हुनुहुन्छ)
ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई जनताकेन्द्रित एवं सेवामैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकार उत्तरदायी भएर जनताका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको बताउनुभयो । “स्थानीय सरकार विगतको जस्तो कर उठाउनका लागि मात्र होइन, हाल यो नागरिक मैत्री पनि भएको छ, सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट विकृति हटाउने काम भएका छन्, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भाष्य गलत हो । सोचेअनुरुप विकास नभए पनि विकासको गति बढेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । गरिबी घटाउन अधिक प्रयास भएको, सडक, पुलजस्ता भौतिक पूर्वाधार निर्माण गरिएका, जनताको जीवनस्तर उकास्न राज्यले हदैसम्म प्रयास गरेको, मुलुकको अर्थतन्त्रको आकार बढेको, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि हुनाका साथै आम नेपालीको सरदर आयु ४२ वर्षबाट ७२ वर्ष पुगेकोलगायत विगतको तुलनामा मुलुकमा क्रमशः विकास–निर्माणका गतिविधिले गति लिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । निरपेक्ष गरिबीको रेखामुनि २० प्रतिशत जनसङ्ख्या मात्र रहनु मुलुकका निम्ति उपलब्धि भएको उहाँको कथन थियो । प्रधानमन्त्रीले अनेकतामा एकता कायम गर्दै सामाजिक सद्भावका साथ समृद्धितर्फको यात्रामा लाग्नु समयको माग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैको प्रयासबाट सबैका लागि साझा प्रगति हासिल गर्नुपर्छ, प्रगतिको यात्रा कहिल्यै टुङ्गिँदैन । सहाराविहीनहरुलाई भरणपोषणसहित आश्रयको व्यवस्था भएको छ । २०८२ सालभित्र देशलाई सडक मानवमुक्त बनाउँछौँ,” राज्यले सामाजिक सुरक्षा प्रदान गरेको चर्चा गर्दै प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नेवार संस्कृतिले भरिपूर्ण देशकै समृद्ध सांस्कृतिक सहर ललितपुर भएकाले यहाँका सम्पदाको संरक्षणका साथै सांस्कृतिक महत्वका स्थलको प्रवद्र्धन गरेर पर्यटन विकासमा योगदान गर्र्न सकिने बताउनुभयो । प्रधानमन्त्रीले भाषासाहित्यको क्षेत्रमा योगदान गरेबापत प्राध्यापक शिवगोपाल रिसाल, २०७२ सालको भूकम्पका बेला उद्धारमा खटिनुभएका नारायण महर्जन, व्यङ्ग्य चित्रकार मोहनश्याम महर्जन र नयाँ पत्रिका दैनिकका संवाददाता शिवहरि घिमिरेलाई सम्मान गर्नुभयो । त्यस अवसरमा सांसद प्रेमबहादुर महर्जनले सरसफाइ अड्डाका रुपमा स्थापना भएको कार्यालय हाल ललितपुर महानगरका रुपमा समृद्धितर्फको यात्रामा लागेको बताउनुभयो । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले ‘डिजिटल’ माध्यमबाट सेवा प्रवाह गर्न सुझाव दिनुभयो । महानगरप्रमुख चिरीबाबु महर्जनले उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण भइरहेको जानकारी दिनुभयो । उहाँले ठेक्का प्रणालीमार्फत बुङ्गमतीमा रातो मच्छिन्द्रनाथको रथ व्यवस्थापन एवं मन्दिर निर्माणसम्बन्धी काम पुनर्निर्माण प्राधिकरणको विघटनसँगै अन्योलमा परेको गुनासो गर्नुभयो । उपप्रमुख मञ्जली शाक्यले महानगरलाई हस्तकलाको राजधानी घोषणा गर्न आग्रह गर्नुभयो ।
पोखरा: तिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । अन्तर व्यवस्थापिका मञ्चको आयोजना एवं गण्डकी प्रदेशसभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातवटै प्रदेशका संसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुुपर्ने बताउनुुभयो । संसद्को प्रभावकारी भूमिकाले सरकारका गतिविधिलाई प्रभावकारी बनाउने उल्लेख गर्दै उहाँले दलहरूको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो । परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँंल्याउँदै सभामुख घिमिरेले सङ्घ र प्रदेशबीच राम्रो समन्वय हुनु जरुरी भएको बताउनुभयो । सङ्घबाट बनेका कानुुनको प्रभावकारी कार्यान्वयन प्रदेशबाट हुन नसकेको जिकि। गर्दै उहाँले अन्तर व्यवस्थापिका मञ्चका यस किसिमका सम्मेलनले समस्या समाधान गर्न मागदर्शन गर्ने विश्वास व्यक्तगर्नुभयो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा धेरै राम्रा प्रावधान रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विभिन्न प्रश्न उठ्ने गरेको बताउनुभयो । कतिपय कानुनको अभावका कारण सङ्घ र प्रदेशबीच खाडल तयार भएको उल्लेख गर्दै उहाँले त्यसतर्फ ध्यान दिनु जरुरी रहेको बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवस्थापिका बलियो भएमा त्यसले सरकारलाई जवाफदेही बनाउने बताउनुभयो । संविधान अनुुसारका कानुन बनाउन नसक्ने र तिनै कानुनको अभावमा काम गर्न नसक्दा प्रदेश सरकारले काम गर्न नसकेको आरोप व्यहोर्नुपरेको उहाँले बताउनुभयो । राजनीतिक अस्थिरताका कारण देशले गति लिन नसकेको अवस्थालाई दृष्टिगत गरी देशका प्रमुख ठूला दुई दल एक ठाउँमा आएका उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले परिवर्तनका उपलब्धिलाई स्थापित गर्नु जरुरी रहेको बताउनुुभयो । सङ्घीयताको मर्म र भावना अनुुसार सङ्घीय सरकारले अधिकार प्रत्यायोजन गर्न नसक्दा अपेक्षित रुपमा काम गर्न नसकिएको उहाँको भनाइ थियो । सङ्घीय निजामति ऐन, प्रहरी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐन जस्ता कानुन नआउँदा काम गर्न समस्या भएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले संविधानमा लेखिएका अधिकारको बाँडफाँड एवं कार्यान्वयन हुनसकेमा त्यसले विद्यमान समस्याको समाधानसँगै सङ्घीयता प्रभावकारी बन्ने धारणा राख्नुभयो । कोभिड– १९, बाढी प्रकोप लगायतका विपत्तिमा प्रदेशले प्रभावकारी भूमिका खेलेको भन्दै उहाँले संविधानतः उल्लेखित अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालको सभापतित्वमा भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशसभाका संसदीय दलका नेता पञ्चराम गुरुङ, गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सातवटै प्रदेशका सभामुख, उपसभामुख सम्मिलित उक्त सम्मेलन बुधबारसम्म चल्ने छ ।
विराटनगर: राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित ‘मिथिला मिथक’ पुस्तकको मुख्यमन्त्री कार्की र कानुनमन्त्री भण्डारीले संयुक्त रुपमा विमोचन गर्नुभयो । पत्रकारितासँगै पुस्तकका माध्यमबाट समाज परिवर्तनमा लेखक झाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।
तनहुँ: जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द थापाले बताउनुभयो । पालिकाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष पञ्चमाया गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैश गुरुङ, राजु बानियाँलगायत प्रतिनिधिको टोली काठमाडौँ पुगेको उहाँले उल्लेख गर्नुभयो । काठमाडौँमा विभिन्न तहका व्यक्ति, सङ्घसंस्थाका प्रतिनिधिलगायत व्यत्तिसँग अन्तरक्रिया गर्नुका साथै भ्रमण वर्षको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सहयोगका लागि अनुरोध गरिएको अध्यक्ष थापाले बताउनुभयो । थापाका अनुसार बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउन उक्त वर्षभरि यहाँ पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरहरूमा पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने उहाँले जानकारी दिनुभयो । पर्यटनलाई आम्दानीको स्रोत बनाएर स्थानीयको जीवनस्तर उकास्न पनि यो कार्यक्रम प्रभावकारी हुने भन्दै यसमा सबैको सहयोग आवश्यक पर्नेमा अध्यक्ष थापाले जोड दिनुभयो । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षित बनाउँदै पौराणिकता झल्किने कार्यक्रम सञ्चालन हुनेछन् ।” गण्डकी प्रदेशको पोखरापछि प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने योजना रहेको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइनलगायत सहासिक खेलहरूको सम्भाव्यता अध्ययन गरिनेछ ।” थापाले गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूमा क्रमशः आउटडोर जिमको विस्तार गरिने तथा पर्यटन क्षेत्रहरूमा रहेका प्राकृतिक शिलाहरूलाई थप आकर्षक बनाइने लक्ष्य राखिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाभित्र रहेका पौराणिक चौतारा ठाँटी एवं बगैँचाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हुने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ । बन्दीपुरको २५ पोखरी ताल पार्कको निर्माण चालु आर्थिक वर्ष सुरुवात गर्नुका साथै वृहत् झप्री फाँट जलाशय र देवी थुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन अगाडी बढाउने छौँ ।” अध्यक्ष थापाले पालिकाले बन्दीपुर आउने विदेशी पर्यटकको सहजताका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिने उद्देश्यले नौ भाषामा जानकारीमूलक सामग्री तयार गरिसकिएको बताउनुभयो । गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा जानकारीमूलक सामग्री तयार गरिएको उहाँले जानकारी दिनुभयो । खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्द सेन पैदलयात्रा ९मिनी ग्रेटवाल०, तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत मुलुकबाट पर्यटक आउने गरेका बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु रहेका उहाँले बताउनुभयो । सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमी उकालो यात्रा हिडेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरालगायत प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिने भएकाले यहाँ बाह्य पर्यटक आउने गरेका समितिका अध्यक्ष प्रधानले उल्लेख गर्नुभयो ।
लुम्बिनी: गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताउनुभएको छ । उहाँले शान्ति सुरक्षा खलबलिने वित्तिकै संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक गुम्ने खतरा रहेकाले शान्तिसुरक्षा खलबलिने गरी नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य नहुने बताउनुभयो । गृह मन्त्रालय तथा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आज रुपन्देहीमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधानमा भएको मौलिक हकको सुरक्षा गर्नु र नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार लोकतन्त्रको पूर्वसर्त शान्ति सुरक्षा हो भन्नुभयो । गृहमन्त्री लेखकले लुम्बिनी प्रदेश सांस्कृतिक, धार्मिक विविधता मात्र नभएर विश्वभरिनै शान्तिको ज्योति प्रवाह गर्ने बुद्धधर्मको महत्वपूर्ण केन्द्र रहेकाले यहाँको शान्तिसुरक्षा भरपर्दो र चुस्त हुनुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी, सीमापार अपराध, सवारी दुर्घटना, लागुऔषध, आत्महत्या, साइबर अपराध जस्ता आपराधिक क्रियाकलाप सुरक्षा चुनौतीका रुपमा रहेको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई पूर्णरूपमा नियन्त्रण गर्न दिर्नेशन दिनुभयो । “कानुनको सीमा भित्र रहेर लोकतन्त्रमा आलोचना गर्न पाइन्छ”, उहाँले भन्नुभयो । आर्थिक, वित्तीय अपराधका घटना बढेकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रभावकारी ढङ्गले काम गर्न उहाँले सुरक्षा निकायलाई निर्देशन दिनुभयो । “मुलुकमा कानुनले शासन गर्ने हो, भिडले होइन”, गृहमन्त्री लेखकले भन्नुभयो, “आपराधिक घटनालाई प्रभावित पार्न सरकारी कार्यालयमा भिड जम्मा गरेर प्रभावित पार्ने प्रयास भइरहेका छन् तिनलाई नियन्त्रण गर्न आवश्यक छ ।” उहाँले संविधानको सुरक्षा, सुदृढीकरण र कार्यान्वयन अहिलेको सरकारको राष्ट्रिय एजेण्डा भएको बताउनुभयो । “वर्तमान संविधानलाई असफल हुन दिने छुट हामीलाई छैन”, उहाँले भन्नुभयो, “अबको एजेण्डा संविधानको सही कार्यान्वयनसहित दीगो शान्ति, सुशासन, विकास र समृद्धि हो, शान्ति, सुशासन, विकास र समृद्धिका लागि दिगो शान्ति जरूरी छ ।” पूर्ण प्रेस स्वतन्त्रतामा अवरोध हुन नहुने र प्रेस स्वतन्त्रतामाथि कतैबाट कुनै पनि प्रकारले खण्डित गरिएमा त्यो अवरोध हटाउनुपर्ने गृहमन्त्री लेखकले बताउनुभयो । “प्रेस स्वतन्त्रता नागरिकको सूचनाको अधिकारसँग सम्बन्धित छ”, उहाँले भन्नुभयो,ख“निर्वाध रूपमा नागरिकले ससूचित हुन पाउने अधिकार पाउनुपर्छ । ”वर्तमान २ दलको समिकरणको सरकार मुलुकमा सुशासन दिन, भ्रष्टाचार नियन्त्रण गर्न र विधिको शासन स्थापित गर्न बनेको गृहमन्त्री लेखकको भनाइ थियो । उहाँले भन्नुभयो, “कांग्रेस–एमाले लगायतका दल मिलेर सरकार बनाएका छौँ, २०८४ सालको निर्वाचनसम्म यही समिकरण रहन्छ, तलमाथि हुँदैन ।” कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको एकल र साझा सुचीका अधिकार कार्यान्वयन गर्न सङ्घीय सरकारले सघाउनुपर्ने बताउनुभयो । प्रदेशमा प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा कायम गर्नेदेखि प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन समेत प्रदेश सरकारलाई समस्या भएको उहाँले बताउनुभयो । उहाँले तत्काल प्रदेशमा प्रहरी समायोजनदेखि प्रदेश अनुसन्धान ब्यूरो स्थापना गर्नेतर्फ सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सङ्घीय सरकारले साझा र एकल सूचीका अधिकारलाई प्रदेशमा कार्यान्वयन गर्न नपठाउँदा समस्या परेको बताउनुभयो । “सङ्घीय निजामती सेवा ऐन नआउँदा प्रदेशमा काम गर्न जटिलता छ । हामीले बनाएको ऐनसमेत कार्यान्वयन गर्न खोज्दा समस्या देखियो”, उहाँले भन्नुभयो, “सङ्घीय शिक्षा ऐनसमेत नआउँदा प्रदेशले काम गर्न पाएन ।” बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल, गृहसचिव गोकर्णमणि दुवाडी, गृह मन्त्रालय अन्तर्गतका तीनवटै सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारी, प्रदेशका गृहमन्त्रालय अन्तर्गतका कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
सर्लाही: यहाँस्थित बागमती नगरपालिकामा जन्मोत्सव र विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा जम्मा हुन थालेको छ । बागमती नगरपालिका–२ धरहरास्थित जनबाल कल्याण माध्यामिक विद्यालयको विकासका लागि स्थानीय, समाजिक व्यक्तित्व, पूर्वविद्यार्थीलगायतले विभिन्न अवसरमा हुने खर्च कटाएर विद्यालय विकास कोषमा जम्मा गर्न सुरु गरेका हुन् । विद्यालयले गत मङ्सिर १ गतेबाट ‘बृहत् श्री जनबाल कल्याण माध्यमिक विद्यालय विकास अक्षयकोष’ स्थापना गरेको हो । १ महिनामा अक्षयकोषमा रु एक लाख ३० हजार ५ सय ७ सङ्कलन भएको प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाले जानकारी दिनुभयो । आन्तरिक आयस्रोतको राम्रो व्यवस्था नभएकाले समाजिक सहकार्यमा विद्यालयको शैक्षिक सुधार प्रयास गरिएको उहाँको भनाइ छ । यसरी सङ्कलित रकमबाट निर्माण हुने बृहत् कोषले विद्यालयको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । “बृहत् राशिको कोष बनाउने लक्ष्य छ, कोषको मूल रकम यथावत रहनेगरी ब्याजबाट विद्यालयले बर्सेनि विभिन्न विद्यालय विकास तथा शैक्षिक गुणस्तर सुधारका काम गर्ने छ”, प्रधानाध्यापक जिम्बाले भन्नुभयो । यसले एकातर्फ विद्यालयलाई आर्थिक सहयोग बढ्ने र अर्कातर्फ अभिभावक तथा समाजको प्रत्यक्ष लगानीसँगै चासो बढ्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष टङ्कबहादुर बोहराले बताउनुभयो । विद्यालयको सिकाइ सुधारमा पनि क्रमिक सुधार हुँदै आएको उहाँले दाबी गर्नुभयो । “हामीले नगरको प्रत्यक्ष लगानी र जनप्रतिनिधिको उपस्थितिमा विद्यालयको भौतिक र शैक्षिक सुधारमा विषेश ध्यान दिएका छौँ, यसले विस्तारै परिणाम दिन थालेको छ । यसको पूरा परिणाम आउन कम्तीमा १० वर्ष लाग्छ । तर सुधारको छनक तपाईँ अहिले पनि देख्न सक्नुहुन्छ”, अध्यक्ष बोहराले भन्नुभयो । कक्षा १० सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा बालबालिकाको सङ्ख्या दुई गुणाले बढेको छ । मुस्किलले तीन सय छात्रछात्रा भर्ना हुनेमा अहिले छ सय १० विद्यार्थी भर्ना छन् । अभिभावकको माग तथा बालबालिकाको चाहनाअनुसार विद्यालयले अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गराउने गरेको छ ।अङ्ग्रेजी माध्यमका कारण अभिभावक आकर्षित भएका विद्यालयका शिक्षक निर्मल तिमल्सेनाले बताउनुभयो । विद्यालयले बालबालिकालाई नैतिक आचरणसहितको व्यवहारिक शिक्षामा जोड्न विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्ने गरेको छ । सिमेन्टको गमला उत्पादनलगायत सीपमा बालबालिका निपूर्ण रहेका बागमती –३ का अभिभावक चत्तुरमान वाइबाले बताउनुभयो । गाउँको सामुदायिक भनेर हेपिएको विद्यालयले समय अनुकूल पठनपाठन गराउन थालेपछि आफूहरू उत्साहित भएको उहाँ बताउनुहुन्छ । यस विद्यालयले केही समय पहिलामात्र स्थानीय अभिभावक, समाजसेवीको रु ४ लाख ४० हजारबराबरको सहयोगमा विद्यालयमा ४ थान डिजिटल बोर्डको प्रयोग सुरु गरिसकेको छ । यसले समेत बालबालिकामा पठनपाठनप्रति उत्साह देखिएको प्रधानाध्यापक जिम्बाको अनुभव छ । शून्य आन्तरिक आम्दानी रहेको कारण विद्यालयले सामान्य योजनासमेत सञ्चालन गर्न नसकेको अवस्थामा यो बृहत् अक्षयकोष कार्यक्रम ठूलो भरोसा बन्ने अपेक्षा विद्यालयको छ ।
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ की हिमा छन्त्यालले यस वर्ष चारमुरी कोदो बेचेर रु १७ हजार आम्दानी गर्नुभयो । छन्त्यालले गत असारमा रु ४ हजार खर्च गरेर बाँझो बारीमा कोदोखेती गर्नुभएको थियो । वर्षौंदेखि बाँझिएको बारीमा खनजोत, मल र खेतालाका लागि असारमा रु ४ हजार खर्च गर्नुभएकी छन्त्यालले रु ३० हजार बराबरको ७ मुरी कोदो उत्पादन भएको बताउनुभयो । उत्पादन भएको कोदोमध्ये ४ मुरी बिक्री गरेर ३ मुरी घरायसी प्रयोजनका लागि राख्नुभएकी उहाँले बाँझो रहेको आफ्नो सबै बारीमा अर्को वर्षदेखि कोदोखेती गर्ने बताउनुभयो । छन्त्याल मात्रै होइन पछिल्लो समय म्याग्दीका किसान कोदोखेतीतर्फ आकर्षित हुँदै गएका छन् । माग बढेसँगै आम्दानी पनि वृद्धि हुँदै गएपछि ग्रामीण भेगका महिला किसान कोदोखेतीतर्फ आकर्षित भएका हुन् । राम्रो मूल्य पाउने र उत्पादन गर्न पनि सजिलो भएकाले कोदोखेतीतर्फ आकर्षण बढेको जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।ग्रामीण क्षेत्रका पाखो जमिन कोदोखेतीका लागि निकै उपयुक्त मानिन्छ । कोदोमा मानव स्वास्थ्यका लागि अत्यावश्यक पौष्टिकतत्व भरपुर मात्रामा पाइन्छ । त्यसकारण बेनी, पोखरा, काठमाडौं लगायतका सहरी क्षेत्रमा कोदोको माग बढेको मङ्गला गाउँपालिका–४ की गौमती विकले बताउनुभयो । कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित स्थानीय तहले नै आवश्यक सहयोग तथा बजारीकरणको प्रबन्ध मिलाउन थालेपछि कोदोखेतीतर्फ आकर्षण बढ्दै गएको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । गाउँका महिला कोदोखेतीतर्फ आकर्षित भएपछि स्थानीय तहहरुले पनि कोदोखेतीतर्फ प्रोत्साहित गर्न सहुलियत र अनुदानका विभिन्न कार्यक्रम विस्तार गर्न थालेका छन् । सहरबजारबाट कोदोको माग आउन थालेपछि वर्षौंदेखि बाँझो रहेको जग्गामा कोदोखेती विस्तारका लागि किसानलाई सहयोग गर्ने गरेको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरले बताउनुभयो । “कोदो घरेलु मदिरा उत्पादन र सहरबजारमा खानाका लागि प्रयोग हुँदै आएको छ, पछिल्लो समय सहरबजारबाट कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानले भनेको मूल्य पाएका छन्”, उपाध्यक्ष मगरले भन्नुभयो, “गाउँपालिकाले पनि कोदोखेतीलाई प्रोत्साहित गरेको छ, कोदोको मदिरालाई ब्राण्डिङगरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ ।” आफूले उत्पादन गरेको कृषि उपजले बजार पाएपछि यहाँका किसान पनि खुसी भएका मालिका–१ निस्कोटका वडाध्यक्ष टङकप्रसाद पुनले बताउनुभयो । महिलाहरु आम्दानीसँग जोडिएपछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । ३ वर्ष अघिसम्म प्रतिपाथी रु ६० मा पनि बिक्री नहुने कोदो अहिले रु २ सय प्रतिपाथी बिक्री हुन थालेको किसान लक्ष्मी पुनले बताउनुभयो । प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि ठोस् योजना नै बनाएर प्रोत्साहित गर्ने हो भने कोदो म्याग्दीका किसानको राम्रो आम्दानीको स्रोत बन्न सक्ने पश्चिम म्याग्दीको दरबाङ बजारका व्यवसायी अमृत सापकोटाले बताउनुभयो । म्याग्दीका ६ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ । थोरै बीउमासमेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा २ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएकामा गत वर्षदेखि बाँझो जग्गामा पनि किसानले कोदोखेती विस्तार गर्न थालेका छन् । गाउँगाउँमा सञ्चालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । उत्पादित कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खान बजारमा माग बढिरहेको बताइएको छ ।

