पोखरा — जेनजी प्रदर्शनका क्रममा कास्की जिल्ला कारागारबाट फरार भएका सहकारी ठगीसम्बन्धी कसुरका एक प्रतिवादी पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२९ प...

स्याङ्जा:    स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ ।  स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग गर्दछन् ।  हिउँदका समयमा खोला वारपार गर्नका फट्केले सहज हुने गरेको जनप्रिय माध्यमिक विद्यालय भिरकोट–५ का शिक्षक कृष्णप्रसाद पौडेलले बताउनुभयो । विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थी तथा सिम्लेबाट गैह«ाथोक बजार जान फट्के बनाउनाले खोला तर्न सहज भएको उहाँले जानकारी दिनुभयो । “जाडोको समयमा खोला तर्दा चिसो हुने, जुत्ता मोजा खोल्नुपर्ने, कहिलकाहीँ खोलाले बगाउनेसमेत गथ्र्यो”, उहाँले भन्नुभयो, “खोलामा पस्नै नपरीकन वारपार गर्न फट्केले सहज भएको छ ।” स्थानीयवासी, शिक्षक, विद्यार्थी सबै मिलेर बर्सेनि बनाउँदै आएको फट्केले यस वर्ष पनि निरन्तरता पाएको उहाँले बताउनुभयो । बाँस काटेर सातदेखि नौवटा किला बनाउने र त्यसलाई भाटाले भकारीजस्तै गरी बुनिन्छ । बुनिएको भकारीलाई खोलामा लगेर ढुङ्गा भरिन्छ र त्यसलाई पिल्लरको रूपमा प्रयोग गरी बाँस तेस्र्याइन्छ । तेस्र्याइएको बाँसमाथि बालुवा भरिएको बोरा राखेर फट्के तयार गरिन्छ । खोलाको फैलावटका आधारमा भकारी बनाइने उहाँले बताउनुभयो । “खोला कति फराकिलो भएर बहेको छ, त्यसैका आधारमा भकारीको सङ्ख्या घटीबढी हुने गर्छ”, उहाँले भन्नुभयो, “कहिले सात–आठवटा भकारी बुने पुग्छ, कहिले २०–२२  पनि बुन्नुपर्छ ।” पहिला–पहिला बाँस खोज्न टाढाटाढाका गाउँगाउँमा पुग्नुपथ्र्यो । केही वर्ष अघिदेखि विद्यालय आफैँले बाँस रोपण गरेकाले बाँस खोज्न टाढा जानुपर्ने झण्झट हराएको छ । विद्यालयभन्दा केही तल आँधीखोलामा पक्की पुल निर्माण सुरु भएको पनि वर्षौँ भयो । पुल समयमै सम्पन्न हुन नसक्दा पनि विद्यार्थी तथा स्थानीयले बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता रहिआएको छ ।  खोलाको किनारमै रहेको विद्यालयका शिक्षक, विद्यार्थीले कक्षा खाली भएका बेला स्थानीयसँगै जनश्रमदानमा सहभागी हुने गरेका छन् । फट्के बनाउन कम्तीमा तीन दिनदेखि बढीमा एक हप्तासम्म समय लाग्ने गरेको उहाँले बताउनुभयो ।  पहिला वर्षा तथा हिउँदका समयमा माझी तथा बोटेहरूको सहायतामा डुङ्गाबाट वारपार गर्ने गरिएको स्थानीय चन्द्रध्वज खाणले बताउनुभयो । डुङ्गाबाट खोला वारपार गर्ने गरिएकोमा पछिल्लो समय माझी तथा बोटे समुदाय विस्थापित भएपछि विकल्पका रूपमा फट्के हाल्न थालिएको उहाँले बताउनुभयो ।  पायक पर्ने यस ठाउँमा झोलुङ्गे पुलका लागि पटकपटक माग गरिए तापनि हालसम्म सुनुवाइ नभएको उहाँको गुनासो छ ।  “हिउँदमा फट्के बनाउने र वर्षायाम सुरु हुने बेला झिक्ने यहाँको परम्पराजस्तै बनेको छ”, उहाँले भन्नुभयो, “विगतका वर्षमा जस्तै यस वर्ष पनि विद्यालयको सक्रियता तथा अगुवाइमा फट्के बनाइएको छ ।” एकपटक फट्के बनाएपछि झण्डै सात–आठ महिनासम्म खोला वारपार गर्न सहज हुने गरेको छ ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकन डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, स्विडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ । यस्तै, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, थाई भाट र साउथ कोरियन वनको भने भाउ घटेको छ ।      नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा कायम भएको छ ।      यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८७ पैसा तोकिएको छ ।      केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।      त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा कायम गरिएको  छ ।      केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा निर्धारण भएको छ ।      यस्तै, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ छ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ ।      राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैया ५२ पैसा रे कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५२  पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ९२ पैसा कायम गरेको छ ।      यस्तै ओमनी रियाल एकको खरिदर तीन सय ५२ रुपैयाँ ०५ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ६१ पैसा तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।      राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले आज प्रतिवेदन हस्तान्तरण गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा आयोगका सदस्य महेन्द्र थापाले प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।  गत जेठ १७ गते मन्त्रिपरिषदबाट  पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरिएको थियो । आयोगले यही मङ्सिर १४ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको थियो ।  प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले छानबिन समिति सक्षम व्यक्तिको संयोजकत्वमा आयोग गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनले औंल्याएका निष्कर्षलाई अविलम्ब कार्यान्वयन गरिने बताउनुभयो ।  आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरी निचोडमा पुग्नुपर्ने प्रधानमन्त्री एवं त्रिविका कुलपति ओलीको भनाइ थियो ।   संयोजक त्रिताल अस्वस्थ्य भएका कारण सदस्य महेन्द्र थापाले संयोजन गरी प्रतिवेदनलाई अन्तिमरूप दिनुभएको थियो ।  प्रतिवेदनले विसं २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसका जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि समाधानका उपायहरूसमेत सुझाएको छ ।  समितिले जग्गाको दुरूपयोग भएका सम्बन्धमा अख्तियार दुरूपयोग आयोग र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन पनि सुझाव दिइएको छ । 

बझाङ:    बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।  आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो ।  केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो ।  भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताउनुभयो ।

पोखरा:    पोखरामा दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता २०८१ को तयारी थालिएको छ ।  यही पौष १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन गर्न लागिएको उक्त प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद रु.५ हजार डलर (नेपाली करिब ६ लाख  ७९ हजार रुपैयाँ), उपविजेताले नगद रु.२ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ), तृतीय हुनेले नगद रु.१ हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई नगद रु।५ सय डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) पुरस्कार पाउनेछन्। मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्ष देखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा पोखराको फेवा र वेगनासतालमा सञ्चालन गरिँदै आइरहेको छ ।  दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरूले सहभागिता जनाउने यस प्रतियोगिता पोखरामा पनि लोकप्रिय बन्दै गइरहेको छ । यस वर्ष प्रतियोगिताको दोस्रो संस्करण यही पौष १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन हुन गइरहेको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुन लागेको यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ।  प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्त्वपूर्ण सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गर्नुभयो । चिनियाँ राजदूतावासका डिसिएम वाङ् सिले आफूहरू पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार र पोखराको पर्यटन प्रवर्द्धनका लागि विभिन्न खाले कार्यक्रमहरूमा सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।  नेपाल चिन सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै वाङले पर्यटन, संस्कृति र भौतिक विकासका सन्दर्भमा सहकार्य गर्दै जाने आफूहरूको चाहाना रहेको उल्लेख गर्नुभयो ।

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजना हुने पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।    चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा (भोलि) पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा १० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी पूरा भएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।   उनले उद्घाटन खेलमा बेगा र कास्की बास्केटबल एकेडेमी भिड्ने जानकारी दिए ।    गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए  ।     यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।   संयोजक गुरुङका अनुसार  पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ । 

काठमाडौं:    पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ ।       यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।  उहाँका अनुसार प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रू २५ लाख प्राप्त गर्दा चौथो स्थान हासिल गर्ने टोलीले रू १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।       त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।      क्यानको आयोजनामा मङ्सिर १५ गतेदेखि सञ्चालन भएको यस एनपिएलमा विभिन्न आठ टोली सहभागी छन् । जसमा काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।       सहभागी टोलीमा  चार टोली प्लेअफमा पुगेका छन् भने बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

पोखरा:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासले लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले अदालतबाट म्याद थप भएको जानकारी दिनुभयो ।   पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहनुभएका लामिछाने गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । सभापति लामिछाने, सूर्यदर्शन सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जिवी) सहित ६५ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको हो ।  प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाए पनि जिल्ला सरकारी वकिलको कार्यालयले हालसम्म अदालतमा मुद्दा दर्ता गरेको छैन । सभापति लामिछाने विरुद्ध रुपन्देही, काठमाडौँ, चितवन र पर्सामा समेत सहकारीको रकम अपचलन गरेको जाहेरी परेकाले प्रहरीले ती स्थानमा समेत लगेर बयान लिइएको थियो । 

काठमाडौं:   वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकको विकासका राष्ट्रिय महत्वका आयोजनामा देखिएका कानुनी उल्झन समाधान गर्न आफू सफल रहेको बताउनुभयो । आफ्नो मन्त्रालयलाई विकास विरोधी भनेर लगाइएका आरोप चिर्न आफू सफल भएको पनि उहाँले बताउनुभएको छ ।  रासससँग कुरा गर्दै उहाँले गत असार ३१ गते मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन वनलाई समृद्धिसँग जोड्ने र विकास आयोजनाका काममा सहजीकरण गर्ने प्रतिबद्धता पुनः दोहोयाउँदै भन्नुभयो, “वर्तमान सरकार गठन भएपछि २०८१ साल मङ्सिर मसान्तसम्म विभिन्न २९ आयोजनालाई तीन सय १५ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय मन्त्रिपरिषद्बाट भएको छ ।” मन्त्रालयले यस अवधिमा काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग, दोधारा चाँदनी सुक्खा बन्दरगाहा÷एकीकृत जाँच चौकी आयोजना, लखरपाटा–खम्बागाडे–मुरमुरी जामु–सुनकाडा सडक, पीपलटार–देउडी सडक, पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत कपुरटार मल्पी लामाचौर तल्लो हेम्जा सडक, धरान केराबारी लोटाङ मधुमल्ला सडक, ठूलो खोला जलविद्युत् आयोजनाका लागि जग्गा भोगाधिकार तथा सो जग्गामा रहेका रूखबिरुवा हटाउन दिने निर्णय गरेको जनाएको छ । त्यसैगरी, विभिन्न जलविद्युत् आयोजना, जलविद्युत् प्रसारण लाइन आयोजना र सडक आयोजनालाई वन क्षेत्रको जग्गा भोगाधिकार रूख हटाउन दिने निर्णय गरेको मन्त्री शाहीले जानकारी दिनुभयो । कोप–२९ मा प्रभावकारी सहभागिता जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन ९कोप–२९० अजरबैजानको बाकुमा गत कात्तिक २६ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।  सम्मेलनमा नेपालले अनुकूलन, जलवायुजन्य हानि–नोक्सानी, जलवायु वित्त, पर्वतीय क्षेत्रमा जलवायुले गरेका असरलगायत मुद्दामा प्राथमिकता र नेतृत्वदायी भूमिकाका साथ आवाज उठाएको उहाँको दाबी छ । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि–नोक्सानीको सम्बोधन’ विषयक छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका प्राकृतिक विपद्का बारेमा विश्वको ध्यानाकर्षण गराउन सफल भएको उहाँको भनाइ छ ।  “सम्मेलनकै दौरानमा हामीले बङ्गलादेशका वन, वातावरण र जलवायु परिर्वतनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसन, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका विशेष सल्लाहकार सेल्विन हार्ट लगायतका विशिष्ट व्यक्तिहरुसँग उच्चस्तरीय भेटवार्ता गरेका थियौँ,” उहाँले भन्नुभयो, “सो भेटवार्तामा मैले नेपालको हितमा अर्थपूर्ण कुरा गरेको थिएँ ।”  कोप–२९ मा दुईवटा परियोजना कार्यान्वयनमा आउने सम्झौता भएको मन्त्री शाहीले जानकारी दिनुभयो । साथै विश्व वातावरणीय सुविधा विश्व वातावरण कोष (जिइएफ) को सहयोगमा नौ दशमलव दुई मिलियन अमेरिकी डलरको मरिण जलाधार परियोजना पाँच वर्षका लागि सञ्चालनमा आउने भएको छ । त्यसैगरी, जिइएफको सहयोगमै एक दशमलव ६५ मिलियन अमेरिकी डलरको पारदर्शिताका लागि क्षमता अभिवृद्धि ‘सिबिआइटी’ कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।  यसै अवधिमा जलवायु अनुकूलन कोषका लागि वन मन्त्रालय राष्ट्रिय आधिकारिक निकायका रुपमा तोकिएको, मोन्ट्रियल प्रोटोकलअन्तर्गत किगाली संशोधन अनुमोदन प्रस्ताव संसद्मा पेस भएको, राष्ट्रिय वनस्पति उद्यान गोदावरीको विकासका लागि मित्रराष्ट्र चीनको कुन्मिङ वनस्पति उद्यानसँग भगिनी सम्झौता सम्पन्न गरिएको छ । कार्बन व्यापार र वैदेशिक अनुदान सहायता मन्त्रालयले विश्व बैङ्कबाट समुदायमा आधारित वन व्यवस्थापनका लागि करिब रु एक अर्ब ६० करोड अनुदान रकम प्राप्त गरेको, संवेदनशील जलाधारमा रहेका समुदाय र प्राकृतिक स्रोतको व्यवस्थापनका लागि भू—परिधिमा आधारित जलावायु उत्थानशीलता विकास गर्न करिब रु २९ अर्ब अनुदान प्राप्त भएको जनाएको छ । मन्त्री शाहीले भन्नुभयो, “तराईका १३ जिल्लाका लागि वन क्षेत्रको कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड रकम प्राप्त भएको र कार्बन क्रेडिटका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न स्विडेन सरकारसँग सम्झौता सम्पन्न भएको छ ।” त्यसैगरी, विनयी त्रिवेणी गाउँपालिकाको प्रशासकीय भवन, भुम्लु गाउँपालिकाको प्रशासकीय भवन र अजिरकोट गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा भोगाधिकार दिने काम भएको उहाँले बताउनुभयो ।  बराहताल सब डिभिजन कार्यालय, सब डिभिजन वन कार्यालय, देवचुली ट्रमा सेन्टर भवन, उजिरसिंह रङ्गशाला निर्माण, देवचुली ट्रमा सेन्टर, गोदावरी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा भोगाधिकार दिने र त्यसमा रहेका रूखबिरुवा हटाउन दिने निर्णय भएको तथा मन्त्रिपरिषद्मा पेस गरिएको मन्त्रालयले जनाएको छ ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र हुँदै जाने तीन दशमलव पाँच किमी बाटोलाई सुविधा प्राप्त बाटोमा समावेश गरिएको छ । जैविक विविधता संरक्षणमा उपलब्धि यस अवधिमा वन्यजन्तु अपराध नियन्त्रणका लागि दक्षिण एसियाका सबै मुलुकका सहभागितामा नेपालमा साधारणसभा गर्ने निर्णय भएको, हिमाली क्षेत्रको रानी हिउँ चितुवाको सर्वेक्षण सम्पन्न भएको, राहत वितरण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । “बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको छ र रातो बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सदर चिडियाखानाको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई थप ३० वर्षका लागि दिने निर्णय गरिएको छ,”  उहाँले भन्नुभयो, “व्यावसायिक वन्यजन्तु पालन प्रजननका लागि अनुमति दिने कार्य थालनी गरिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षणले एकसिङ्गे गैँडा संरक्षण गर्ने गरी व्यवस्थापन अगाडि बढाएको छ ।” साथै  नेपाल सरकारका तर्फबाट उपहारस्वरुप कतार सरकारलाई एक जोडी हात्ती दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । सेवा प्रवाह र नीतिगत सुधार मन्त्री शाहीले विगतमा घाटामा रहेको वन निगमले १५ करोड नाफा आर्जन गर्नाका साथै जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सहयोगमा जाजरकोटमा टिमुर सङ्कलन तथा प्रशोधन परीक्षण र खेती विस्तार सम्पन्न भएको जनाउनुभयो ।  जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले सञ्चोलगायत ‘हर्बल केयर’ छ लाख ४७ हजार १ सय ९७ थान र सुगन्धित तेल ३ दशमलव ३८ टन उत्पादन गरेको छ । कम्पनीले उत्पादन बिक्रीबाट रु २ करोड ७९ लाख ३१ हजार एक सय ३८ आम्दानी प्राप्त गरेको छ । वन विकास कोषमा रु छ अर्ब ५९ करोड रकम सङ्कलन तथा खर्च गर्ने कार्यविधि तयार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री शाहीले विगत केही वर्षदेखि वन व्यवस्थापनमा देखिएको अन्योलता हटाउन सफल भएको उल्लेख गर्नुभयो । उहाँले २२ लाख हेक्टर वन क्षेत्रमा समुदायको सहभागितामा काठ दाउरा तथा जडीबुटीको दिगो व्यवस्थापनका लागि दिगो वन व्यवस्थापनको मापदण्ड, २०८१ स्वीकृत गरिएको जानकारी दिनुभयो । मन्त्रालयले कार्बन उत्सर्जनबाट प्राप्त लाभको ८० प्रतिशत समुदाय र आदिवासीको हकहितका लागि खर्च गर्न पाउने गरी लाभांश बाँडफाँड योजना स्वीकृत गरेको छ । निजी क्षेत्र र प्रतिस्पर्धी कार्बन व्यापारका लागि वातावरण संरक्षण नियमावली संशोधनको मस्यौदा तयार भएको जानकारी गराउनुभयो । उहाँले वायु गुणस्तरसम्बन्धी वातावरणीय मापदण्ड २०८१ स्वीकृत भएको उल्लेख गर्नुभयो ।