पोखरा: पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बीच पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि रविरमण तिवारी उद्घाटन गर्नुभएको थियो । सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै उहाँले केही सहकारीमा समस्या भएपनि वित्तीय अनुशासनमा चलिरहेका सहकारीहरूमा बाहिर प्रचार भए जस्तो समस्या नरहेको उल्लेख गर्नुभयो । समुदायमा आधारित सहकारीमा तरलता बढी भएकोले सोतर्फ पनि सचेत रहन उहाँले सुझाव दिनुभयो । कार्यक्रममा उत्कृष्ट सदस्यहरू कृशु पौडेल, शुसिल गुरुङ, बुद्धिनाथ पाण्डे, भिमबहादुर खड्का, दावा छिरिङ् शेर्पालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो । त्यस्तै सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा शिक्षा समितिको सिफारिसमा सिष्मा गुरुङ र माध्यामिक तहमा ऐश्वर्या अधिकारीलाई नगद तथा प्रमाणपत्रबाट सम्मान तथा पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता एवम् सचिव सोमबहादुर थापाद्वारा सञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक भोजकुमार श्रेष्ठले स्वागत तथा सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो । संस्थाका अध्यक्ष सापकोटाले आगामी दिनहरूमा पनि सदस्यहरूको सान्र्दभिक साथ र सहयोग पाउने विश्वास व्यक्त गर्दै सबैको साथ र सहयोगमा यसको महिमा र गरिमालाई उचो बनाउने बताउनुभयो । सचिव थापाका अनुुसार हाल संस्थामा एक हजार ९२९ जना शेयर सदस्य एवम् शेयर पुजीँ छ करोड एक लाख रुपैयाँ रहेको छ । संस्थाको कुल वासलत २७ करोड ४५ लाख रुपैयाँ रहेको र संस्थाले १८ करोड ८५ लाख निक्षेप संकलन गरी १८ करोड ३१ लाख ऋण परिचालन गरेको उहाँले जानकारी दिनुुभयो । सहकारीलाई प्रविधिमैत्री बनाउँदै यसको सञ्चालनका लागी आवश्यक नीति तथा कार्यबिधिहरू निर्माण गरि सहकारीका मूल्य र मान्यता अनुरुप सञ्चालन गर्ने उहाँले स्पष्ट पार्नुभयो । साधारणसभाले सचिव थापाद्वारा प्रस्तुत सचिवको प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक ईश्वरीप्रसाद पौडेलद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन र कोषाध्यक्ष लिला भट्टराईद्वारा प्रस्तुत वार्षिक बजेट प्रस्ताव पारित गरेको छ । कार्यसमिति सदस्य एवम् विनियम उपसमिति संयोजक रामचन्द्र शर्माले संस्थाका विभिन्न विनियम निर्माणका लागि प्रस्ताव प्रस्तुत गर्नुभएकोमा साधारणसभाले सर्वसम्मत पारित गरेको छ । उक्त अवसरमा ऋण उप समिति संयोजक जीवनराज सापकोटाले ऋण लगानी र असुलीको बारेमा सदस्यहरूलाई प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकारहरू डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बिष्णुबहादुर गुरुङ, कानुनी सल्लाहकार दामोदर अधिकारी, जिल्ला सहकारी संघका प्रतिनिधि मैना देबी रावतले बोल्नुुभएको थियो ।
म्याग्दी: मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ । उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका स्थानीय किसान कृष्ण शर्माले बताउनुभयो । “अहिले काठमाडौँका व्यवसायीले बगैचाबाटै सुन्तला खरिद गरेर लगेका छन्, गाउँका सबैजसो बगानमा सुन्तला खरिदका लागि व्यवसायी आइपुगेका छन्’’, उहाँले भन्नुभयो । यहाँका किसानले प्रतिकिलो रु ६५ मा सुन्तला बिक्री गरेका छन् । शर्माले मात्रै यस वर्ष रु दुई लाख बढीको सुन्तला बिक्री गर्नुभएको छ । उहाँका बगानमा एक सय बढी सुन्तलाका बोट छन् । गाउँमा मोटरबाटोको सुविधा पुगेपछि स्थानीयलाई सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता हटेको हो । मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्याएर सुन्तला बिक्री गर्दै आएका थिए । पछिल्ला केही वर्षयता बगानबाट सुन्तला बिक्री हुन थालेपछि यहाँका किसान व्यावसायिक सुन्तलाखेतीमा लागेका छन् । हरेक वर्ष सहरी क्षेत्रबाट व्यवसायी सुन्तला खरिदका लागि पेश्की रकम लिएर गाउँमा पुग्ने गरेका छन् । बिमको अर्कला, नराले, ओखलढुङ्गा, दुले, टुनीबोट, नौमाने, भारबाङ, खारलगायत क्षेत्रमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार भइरहेको छ।सुन्तलाखेतीबाट आम्दानी राम्रो हुन थालेपछि अन्नबाली लगाउनुको साटो सुन्तलाखेती विस्तार गरेको स्थानीय भीमप्रसाद विकले बताउनुभयो । “विदेश गएर दुःख गर्नुभन्दा आफ्नै गाउँमा सुन्तला रोप्न सक्योभने त्यसबाट राम्रो आम्दानी गर्न सकिन्छ, उत्पादन भएको सुन्तलाको ग्राहक खोज्नुपर्ने बाध्यता पनि छैन, मैले यसै वर्ष थप नयाँ जग्गामा समेत सुन्तला विस्तार गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो । यस क्षेत्रका किसानले सुन्तलाखेतीबाट रु ५० हजारदेखि आठ लाखसम्म कमाई गरेका छन्भने गाउँमा वार्षिक लाखौँ रुपैयाँ भित्रने गरेको छ । जिल्लामा उत्पादन भएको सुन्तला पोखरा, काठमाडौं, बुटवल, भैरवालगायत ठूला सहरमा खपत हुने गरेको छ । व्यावसायिक सुन्तलाखेती भएका अधिकांश बगौचामा खरिदकर्ता आफैँ पुग्न थालेपछि किसानलाई सुन्तलाको बजार अभाव नहुने र ढुवानीलगायत झन्झट पनि हटेको छ ।
म्याग्दी: मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो । समुद्री सतहबाट २ हजार ६ सय ७९ मिटर उचाइमा रहेको लाम्चो आकारको तालको धार्मिक, पर्यटकीय र जैविक महत्व छ । टिटीका बासिन्दा धिरेन्द्र विश्वकर्माले मुस्ताङ आउनेमध्ये ५ प्रतिशत पर्यटक पनि टिटीतालमा आउन नसकेका बताउनुभयो । “वार्षिक ४ लाखभन्दा बढी पर्यटक भित्रने मुस्ताङ आउनेमध्ये कमै मात्र पर्यटक टिटीतालमा आउँछन्”, उहाँले भन्नुभयो, “टिटीताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने होभने पर्यटकको बसाइ लम्ब्याउन सकिने थियो ।” दैनिक हजारौं पर्यटक आवतजावत गर्ने बेनी–जोमसोम सडकको लेते र कोखेठाटीबाट ५ किलोमिटरभित्र रहेको टिटीताल सुनसान छ । लेते–कुञ्जो–टिटी–धम्पु–सिर्खुम जोड्ने १० किलोमिटर सडक, घम्पुु र लेतेस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण हुने होभने पर्यटक आगमन बढ्ने विश्वकर्माले बताउनुभयो । हाल बेनी–जोमसोम सडकअन्तर्गत लेते छयो, धम्पु र सिर्खुमबाट झोलुङ्गे पुलमा मोटरसाइकल तार्ने अथवा पैदलयात्रा गरेर टिटीताल घुम्न जाने गरेका छन् ।धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ । तालको चारैतिर सल्ला र धुपीका रुखको जङ्गल छन् । शान्त वातावरण, विभिन्न प्रजातिका चराको बासस्थान, पृष्ठभूमिको हिमाल र ताललाई एकैपटक अवलोकन गर्न पाउनु टिटीतालको विशेषता हो । टिटी मुस्ताङमा रहेकामध्ये सबैभन्दा ठूलो ताल पनि हो । बेनी नगरपालिका–१० पात्लेखेतका सागर परियारले पछिल्लो एक वर्षमा तीनपटक टिटीताल घुम्न पुगेको बताउनुभयो । “बिहान धवलागिरिमा सूर्योदय र साँझमा निलगिरि हिमालमा सूर्यास्त हुँदा देखिने दृश्य मनमोहक हुन्छ”, उहाँले भन्नुभयो, “हाँसको बथान रमाइरहेको तालको एकातर्फबाट निलगिरि र अर्कातर्फबाट धवलागिरि हिमाल देख्न पाइन्छ ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गरेको अध्ययनअनुसार टिटीताल क्षेत्रमा एक सय ८६ प्रजातिका चराको बासस्थान छ । यो तालमा ‘मालार्ड’ प्रजातिको हाँसको बासस्थान रहेको मुस्ताङ डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो । उहाँका अनुसार मालार्ड प्रजातिको हाँस नेपालका अन्य ठाउँमा पाइँदैन । त्यसैले टिटीताल जैविक हिसाबले पनि महत्त्वपूर्ण मानिएको वन अधिकृत रानाभाटले बताउनुभयो । मानिस र अन्य जनावरको पहुँच नभएको तालको बीच भागमा रहेको थुम्काहरूमा हाँसले गुँड बनाएका छन् । तालको कुनातर्फ रहेको थानमा हरेक वर्षको जनैपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जनैपूर्णिमाका दिन टिटीतालमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय विकास गौचनले बताउनुभयो । थासाङ गाउँपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ताल संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले बताउनुभयो । गाउँपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा तालको वरपर रेलिङसहितको पदमार्ग, प्रतिक्षालय, सार्वजनिक शौचालय निर्माण भएको छ । टिटीसहित वडा नम्बर २ कोवाङको भूगोलमा पर्ने भुछर्तो र सेकुङताल तथा गुरुसाम्पुक गुुफामा पनि पूर्वाधार निर्माण भएको छ । यसअघि तालको पानी निस्कने ठाउँमा बाँध बनाएर क्षेत्रफल बढाइएको थियो । एक्पापले ताल परिसरमा पर्यटक बस्नका लागि फलामको बेञ्च र फोहर व्यवस्थापन गर्ने डस्टविन राखेको छ ।ताल नजिकैको टिटीगाउँमा थकाली र दलित समुदायका २० घरपरिवारको बसोबास छ । पर्यटकको सुविधाका लागि तीनवटा होटल तथा रेष्टुरेष्ट छन् । टिटीताल नजिकै तेजोडाडामा रहेको हिमालयन प्याराडाइज होटलका सञ्चालक दीपक गौचनले पाहुनालाई अग्र्यानिक तरकारी र खानाका परिकार खुवाउने गरिएको बताउनुभयो । मुस्ताङको सबैभन्दा उर्वर जमिन भएको कुञ्जो र ताक्तुङ गुरुङ समुदायको उद्गम थलो मानिन्छ । कुञ्जोबाट कास्की, लमजुङ, गोरखालगायत जिल्लामा गुरुङ समुुदाय बसाइँसराइ गरेर गएका गौचनले बताउनुभयो । टिटीताललाई सिमसार क्षेत्रमा सूचीकृत गर्न, बीच भागमा थुप्रिएको झार हटाउन, छयो र कालोपानीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल तथा छयो–कुुञ्जो–ताक्लु–टिटी–धम्पुु–सिर्खुम सडक आयोजनालाई पूर्णता दिन स्थानीयवासीले माग गरेका छन् । साथै कोखेठाटीमा मोटरेबल पुुल निर्माणको पनि माग गरेका छन् ।
पोखरा: नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीमा नयाँ नेतृत्व चयन भएकाे छ । शाखाको १३ औँ साधारण सभा तथा सातौं अधिवेशनबाट ओमप्रकाश गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । इक्यानको सातौं अधिवेशनबाट पदाधिकारीसहित ८ जनाको नयाँ नेतृत्व चयन भएको संघका सचिव सुरेन्द्र बरालले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर शाही (सन्तोष) पुन: दोहोरिए । यस्तै सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्री निर्वाचित भए । उपाध्यक्ष बाहेकका पदाधिकारीका लागि सहमति नभएपछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको उपाध्यक्ष धनबहादुर शाहीले बताए । अध्यक्षमा विश्वकल्याण अधिकारीलाई पराजित गदै गैरे निर्वाचित भएका हुन् । सचिवमा गणेश कार्कीलाई पराजित गदैँ बराल निर्वाचित भएका हुन् । भने, कोषाध्यक्षमा रुद्र गिरीलाई पराजित गदैँ क्षेत्री निर्वाचित भए । यस्तै सदस्यहरुमा डम्बरबहादुर जिसी, विक्रम बहादुर बस्नेत, राजन पन्थी र टंकराज बराल सर्वसम्वत चयन भए । निर्वतमान अध्यक्ष कार्यसमितिमा स्वत: चयन हुने व्यवस्था अनुसार रमेशकुमार थापासहित ९ सदस्यीस नयाँ समिति बनेको छ । निर्वाचित नयाँ समितिको कार्यकाल दुइ वर्षको हुनेछ । इक्यानले संघको अधिवेशनका लागि पुष्पराज भट्टराईलाई प्रतिनिधि खटाएको थियो । इक्यानका अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष विष्णुहरी पाण्डे, इक्यान उपाध्यक्ष भुवन क्षेत्री, इक्यान कास्कीका पूर्वअध्यक्ष इवेन्द्रराज तिवारी र सल्लाहकार महेश पौडेलले बोलेका थिए । साधारण सभाले सचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेशबहादुर कार्कीको आर्थिक प्रतिवेदन पास गरेको छ । संघमा ५० संस्था आवद्ध छन् ।
पोखरा: व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–टु’ थाई–बक्सिङ यहि पौष १० गतेदेखि पोखरामा हुने भएको छ । शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गतेदेखि १२ गतेसम्म हुने भएको हो । खेलकुदमार्फत व्यवसायीक खेलकुदको विकाससंगै खेल पर्यटन प्रवद्र्धनगर्ने लक्ष्यसहित लागि पोखराको लेकसाइडस्थित बाराहीघाट उक्त प्रतियोगिता हुने आयोजक तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८४ जना फाइटरहरुको सहभागिता रहनेछ । प्रतियोगितामा कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका महिला र पुरुष गरी कुल ८४ जना खेलाडीहरु पोखरा आउने तयारीमा जुटिसकेको संयोजक क्षेत्रीले बताए । उनका अनुसार प्रतियोगितामा जुनियर÷सिनियर (एमेच्योर÷प्रोफेशनल) तर्फ कुल ४२ फाइट तय गरिएको छ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको पुरुष प्रोफेशनलतर्फ मुख्य फाइटको विजेताले नगद ५० हजार र उपविजेताले नगद रु २० हजार तथा महिलातर्फको विजेताले नगद रु ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्नेछन् । त्यस्तै विभिन्न महिला र पुरुषतर्फ ८/८ फाइटका विजेताले नगद रु १५ हजार र उपविजेताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् भने, पुरुषतर्फ कोमेन इभेन्टका बिजेताले नगद रु २५ र उपबिजेताले १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ । यसैगरी पोखरा भन्दा बाहिरबाट आउने खेलाडीहरुलाई विशेष आकर्षक गिफ्ट ह्याम्परसमेत प्रदान गरिने छ । तीन जना उदीयमान खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ । नेपाल राष्ट्रिय मुवाँथाई संघ र गण्डकी प्रदेश मुवाँथाई संघको स्विकृती एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्नेछन् । प्रतियोगिता बिहान ११ बजेबाट सुरू भई राती ९ बजेसम्म हुने गरी तय भएको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च हुने आयोजकले जनाएको छ ।
दाङ: बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु २ लाख बढी आम्दानी गरेको छ । टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै प्यूठान, रोल्पा, सल्यान, रुकुमलगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताउनुभयो । परम्परागत रूपमा जङ्गलमा पाइने टिमुरलाई आम्दानी बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पाँच वर्षअघिदेखि नर्सरीका रूपमा विकास गरिएको उहाँले बताउनुभयो । यसका लागि रु ७ लाख लगातमा जिआइजेडले ‘ग्रीन हाउस’ र लुम्बिनी प्रदेश वन डिभिजन कार्यालयसँगको साझेदारीमा वन समूहले तीनवटा टनेल निर्माण गरेको थियो । वन समूहले सुरुका वर्षहरूमा साविकको राप्तीसँगै बाँके, सुर्खेत, गुल्मीलगायत ठाउँमा बिरुवा बिक्री गरेर वार्षिक रु १० लाखसम्म आम्दानी गरेको भए पनि पछिल्लो समय अन्य जिल्लामा बिरुवा उत्पादन हुन थालेपछि आम्दानी घटेको वन समूहका अध्यक्ष बुढाले बताउनुभयो । वन समूहले बिरुवा उत्पादन गरेर बिक्रीसँगै टिमुरबाट आम्दानी लिन वन समूहको १९८ दशमलव ३६ हेक्टरमा एक हजार टिमुरका बिरुवा रोपिको अध्यक्ष बुढाले बताउनुभयो । रोपिएका बिरुवा हुर्किएमा वन समूहले बिरुवा बिक्रीसँगै फलबाट पनि आम्दानी लिन सकिने भन्दै अध्यक्ष बुढाले भन्नुभयो, “वन समूहको विभिन्न क्षेत्रमा एक हजार बढी बिरुवा रोपेका छौँ, ती बिरुवा हुर्किएपछि उत्पादनसँगै फलबाट समेत वन समूहले आम्दानी लिने छ ।” उत्पादन गरेको रकम वन समूहको खातामा राख्ने र बिरुवा उत्पादनलगायत विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ ।वन समूहले वार्षिक २५ हजार बिरुवा उत्पादन गरेर बिक्री गर्दै आएको अध्यक्ष बुढाले बताउनुभयो । वनलाई उत्पादनसँग जोड्ने र आम्दानीमा वृद्धि गर्ने उद्देश्यले प्रत्येक विरुवा उत्पादन गर्ने र बिक्री गर्दै आएका छौँ । उहाँका अनुसार लक्ष्यअनुसार बिरुवा उत्पादन गर्न नसक्दा गत वर्ष १० हजार बिरुवा मात्र बिक्री गरिएको बताउनुभयो । नर्सरीका रूपमा विकास भएपछि बङ्गलाचुलीसँगै जिल्लाका विभिन्न सामुदायिक वन समूहसँगै जिल्ला बाहिरका वन समूह तथा व्यक्तिलाई बिरुवा बिक्री गर्दै आम्दानी लिने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार वन समूहका सदस्यलाई बिरुवा उत्पादनका लागि तालिमसँगै व्यावसायिक रूपमा बिरुवा उत्पादनका लागि ग्रीन हाउस र टनेल निर्माण गरिएपछि वन समूहले व्यावसायिक रूपमा टिमुर उत्पादन थालेको हो ।
पोखरा महोत्सव र स्टारसिड टेक्नोलोजिस प्रालिबीच सहकार्य भएको छ । भारत र चिनबाट बिजुलीका समाग्री आयात गरी नेपालमै एसेम्बल गर्दै आइरहेको स्टारसिड प्रालि र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखराबीच महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्धक निर्देशक चन्द्रबहादुर थापा र पोखरा महोत्सव आयोजक युनाइटेड क्लब पोखराका अध्यक्ष लोकबहादुर थापाले हस्ताक्षर गरे । सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्ध निर्देशक चन्द्र बहादुर थापाले स्टारसिडस प्रालिले विगतका संस्करणहरुमासमेत सहकार्य गर्दै आइरहेको र यो पटक पनि सहकार्य गर्ने बताए । स्टारसिडले भारत र चिनबाट समाग्री आयात गरी नेपालमै एसेम्बल गरी उच्च गुणस्तरका बिजुली सम्बन्धी (यु एन आइ एक्सपर्टका) स्वीच, एलइडी बल्व, एलइडी प्यानल, एलइडी कन्सील, एलइडी सिओबी लाइट, ट्रयाक लाइट, पंखाहरु, इलेक्ट्रीक गिजर, हिटर, सेन्सर स्ट्रीट लाइट, फल्ड लाइट र हेलोजिन लाइटहरु उत्पादन तथा विक्री गर्दै आइरहेको छ । स्टारसिड टेक्नोलोजिस प्रालिमा चन्द्र बहादुर थापा, पियुष कोठारी र बिर बहादुर कंडेल सञ्चालकको रुपमा रहेका छन् । प्रालिले काठमाणडौंको रानीबारीमा रहेको आफ्नै कम्पनीबाट सामाग्रीहरु उत्पादन गरी सुनधारास्थित बिजुलीबजारमा रहेको जेटी इलेक्ट्रिकल्स प्रालि र पोखरा १० बुद्धचोक स्थित विवश इलेक्ट्रिकल्स प्रालिबाट सामाग्रीहरुको विक्री गर्दै आइरहेको सञ्चालक थापाले बताए । स्टारसिड टेक्नोलोजिस प्रालिले क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने नारासहित आफ्ना उत्पादनका सामाग्रीहरु विक्री गर्दै आइरहेको छ । यस्तै युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापाले स्टारसिड टेक्नोलोजिस प्रालिले बिगतका महोत्सवहरुमासमेत सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमा समेत सहकार्य गर्न पाउदा खुसी लागेको बताए । स्टारसिड जस्तै सहयोगी संघ संस्थाहरुको सहयोगले नै पोखरा महोत्सव १३ औं संस्करणसम्म आइपुगेको उनको भनाइ रहेको थियो । सो अवसरमा क्लवका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, पूर्व अध्यक्ष लालकाजी गुरुङ, क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, क्लबका आजीवन सदस्य कृष्ण थापा मगर, आजीबन सदस्य मिलन बहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा तेह्रौं संस्करणको पोखरा महोत्सव हुने र त्यसको तयारी तीब्र रुपमा अगाडी बढेको महोत्सका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले शुभारम्भ गरे । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिकाका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिकाका बासिन्दाहरूले समेत सेवा लिन सक्ने गरी लेखनाथमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रले वैदेशिक रोजगारीमा जान चाहने र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि समेत आवश्यक परामर्श सेवा दिने गर्दछ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने सन्दर्भमा सामी परियोजना मार्फत सरकारले प्रभावकारी कार्यहरू गर्दै आइरहेको छ । नगर प्रमुख आचार्यले महानगरपालिकाले स्वदेश मै रोजगारी सृजना गरी उद्यमशीलताको प्रवर्द्धनमा लागिरहेको उल्लेख गर्दै वैदेशिक रोजगारीमा जानेहरूका लागि समेत आवश्यक तालिम र परामर्शका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बताए । विभिन्न अवधिका तालिमका कक्षाहरू सञ्चालन गरिरहेको महानगरपालिकाले सीप विकासमा जोड दिइरहेको उनले बताए । वैदेशिक रोजगारीका सम्बन्धमा आइपर्ने कुनै पनि प्रकारका समस्याहरूको समाधानका लागि महानगरपालिका आवश्यक समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको नगर प्रमुख आचार्यले बताए । सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले वैदेशिक रोजगारीका सवालमा दैनिक रूपमा आउने समस्या र गुनासाको सुनुवाइ विलम्ब नगरी गर्ने गरिएको बताए । वैदेशिक रोजगारीलाई सुरक्षित र विश्वासिलो बनाउने कार्यमा आफूहरू लागिरहेको उनले बताए । सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीका उपसचिव प्रकाशचन्द्र ढुङ्गानाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक रहेको बताए । सामी परियोजनाकी प्रदेश स्तरीय कार्यक्रम व्यवस्थापक उमाकला शर्माले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको उल्लेख गर्दै यसको निराकरणका लागि चेतना र वैदेशिक रोजगारीमा आत्मसम्मानको आवश्यकतामा जोड िदए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नं.३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी र पोखरा महानगरपालिकाका रोजगार संयोजक तथा सामी कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद दाहाल लगायतले बोल्नुभएको थियो । कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारीका सम्बन्धमा भोग्न परेका समस्याहरूका बारेमा जिज्ञासा राखेका थिए ।
काभ्रेपलाञ्चोक: गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ । बाढीपहिरोमा परी उक्त गाउँपालिकामा १२ जनाको ज्यान गएको थियोभने चार सय ८२ घर पूर्ण रूपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो । चिसो बढ्दै गएपछि बाढीपहिरोपीडित अझ प्रभावित हुने भएपछि पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार हाल वडा नं २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको हो । यस वडामा ३० अस्थायी आवास निर्माण हुनेछ । विभिन्न सहयोगी संस्थाको साझेदारीमा विपद्पीडितको अस्थायी आवास निर्माण भइरहेको जनाइएको छ । “अस्थायी आवासले छिमेक एवं आफन्तको घरमा बसेका तथा तथा टहरामा बसेकालाई राहत पुग्नेछ, हामी सहयोग जुटाएर पहिलो चरणमा पूर्ण रूपमा घर क्षति भएकालाई अस्थायी आवास बनाउने क्रममा छौँ”, अध्यक्ष लामाले भने। उनका अनुसार बाढीपहिराले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियोभने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । यस्तै बाढीपहिराले निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो । स्थानीय स्रोत, साधन प्रयोग गरी अस्थायी आवास निर्माण भइरहेको हो । वडा नं २ मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट स्वीकृत मापदण्डअनुसार नै अस्थायी आवास निर्माणको काम भइरहेको उनले बताए । उनका अनुसार व्यक्तिगत सहयोगमा वडा नं ९ नार्के तथा आसपास ३० अस्थायी आवास निर्माणको काम भइरहेको छ । उक्त गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गत कात्तिक ३० गते नै विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छभने विपद् कोष रु दुई करोड ८० लाखको बनाएको जनाएको छ । कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिराले पुर्याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको थियो । अध्यक्ष लामाका अनुसार तत्कालका लागि विपद्ले क्षति पुर्याएका पूर्वाधारको मर्मत तथा निर्माणका लागि रु एक करोड, विपद् हेल्पडेस्कका लागि रु पाँच लाख, तथ्याङ्क सङ्कलन तथा जनशक्ति परिचालनमा रु १० लाख, राहत (खाद्यान्न, लत्ताकपडा)का लागि रु ५० लाख, मृतक परिवारलाई प्रतिपरिवार रु ५० हजार, मर्मतसम्भारमा रु ५० लाख, विपद् सामग्री खरिदमा रु १० लाख तथा बाढीपीडितलाई सहायताका लागि रु ५५ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले गत असारमा पारित बजेटको आकार घटाएको हो । चालु आवका लागि विनियोजित रु ६९ करोड २० लाख ९८ हजारमा रु तीन करोड ४३ लाख घटाएर रु ६५ करोड ७७ लाख ९८ हजार बजेट कायम गरेको छ ।

