मकवानपुर: मकवानपुरको हेटौँडामा यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । वीरगन्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्रु बाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकै पर्ने पूर्व पश्चिम सडक खण्डको रातोपाटे भन्ने स्थानमा दुर्घटना हुँदा बसमा सवार रहेका १८ मध्ये चालक सहित १७ जना घाइते भएका हुन् । मकवानपुर प्रहरीका अनुसार बाराको पर्सैनि गाउँपालिका वडा नम्बर ३ का ९ वर्षकी जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको छ ।घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
म्याग्दी: मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो । हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई बेचिसकेका सापकोटालाई गौरिया धानको चामलको लागि दैनिक दुई/तीन जनाले फोन गर्छन् । “२५–३० मुरी धानले घरमा खान, आफन्तलाई कोशेली पठाउन र नियमित ग्राहाकलाई चामल पु¥याउन ठिक्क हुन्छ,” उहाँले भन्नुभयो “उत्पादन गर्न सके बजारको समस्या नभएको गौरिया धान खेतीनै घट्दै गएको छ ।” पकाउदाँ घरबाहिरै छुट्टै किसिमको मगमग बास्दा आउने र खाँदा स्वादिलो हुने म्याग्दीको रैथाने गौरिया धानको चामलको माग बढेपनि खेती घट्दै गएको छ । सहर बजारका तारे होटलदेखि घरानीया ब्यापारी, उच्च तहका नेता, कर्मचारीहरु गौरिया धानको चामलका उपभोक्ता भएका मङ्गला –५ छिसवाङका दुर्गाबहादुुर खत्रीले बताउनुभयो । “गौरिया धान पाक्दा खेतनै बसाउँछ । भान्छा कोठामा गौरीयाको भात पकाउदा आगनसम्मै बास्ना आउँछ,” ६८ वर्षीय खत्रीले भन्नुभयो “गौरियाको भात खाइरहेकालाई अन्य धानको भात रुच्दैन् । गौरियानै खोज्छन् ।” गौरिया म्याग्दीको खोप्ती, छिसवाङ, रणवाङ, पिपलबोट, कुरसिम्ला, शेराफाट, तल्लो पोक, बाबियाचौर, सिम, सिमलचौर क्षेत्रमा खेती हुने रैथाने जातको धानबाली हो । स्थानीयबासीहरुका अनुसार चार पुस्ता अघिदेखि खेती हुदै आएको गौरियाको वैज्ञानिक र अंग्रेजी नाम अझै पहिचान भएको छैन् । म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरिखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका छवीलाल कडेल बताउनुुहुुन्छ । “यहाँ वार्षिक ८० मुरीसम्म गारिया धान फलाउने र रु छ लाख सम्मको चामल बिक्री गर्ने कृषक छन्,” उहाँले भन्नुभयो “यहाँबाट लगेको गौरियाको चामल अन्य जातको धानको चामलमा मिसाएर उपभोग गर्दा रहेछन् ।” आधुनिक जातको धान खेतीप्रतिको आकर्षणका कारण गौरियाको खेती घटेको पिपलबोटका कृषक केशव कडेलले बताउनुभयो । “पहिले सबैले गौरिया गर्दथे,” उहाँले भन्नुभयो “नयाँ जातको धानखेती गर्ने क्रमसँगै गौरियाको खेती र उत्पादन घटेको हो ।” गौरिया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुुन्छ । न्यानो ठाउँमा हुने गौरिया धानको बोट अग्लो हुन्छ र सिचाईका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपीने गौरीया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने हुन्छ । गौ रया धानको दाना अरु जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरियाको उत्पादकत्व कम हुुन्छ । पकाउदा भात बढी देखिने गौरिया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ । सुुत्केरी, किरिया बसेकाहरुलाई गौरीया धानको चामलको भात उपभोगी हुुने बताइन्छ । बालाले धान्न नसकेर बोट लड्ने गौरिया धान खेती गर्दाको प्रमुख कमजोरी भएको किसानहरु बताउँछन् । नयाँ जातका धानको खेतीमा आकर्षणसँगै गौरीया, गुडुरा, आँगा, घैयालगायत म्याग्दीका स्थानीय रैथाने जातका धानको खेती घटेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो । “जेठोबुढोसँग मिल्दोजुल्दो गुण भएपनि गौरीया फरक जातको धान हो,” उहाँले भन्नुभयो “कृषकहरुले चासो दिने हो भने गौरियालाई रैथाने बालीको रुपमा ब्राण्डीङ गरेर म्याग्दीको पहिचान बनाउन सकिन्छ ।” गौरिया धानखेती हुने क्षेत्रफल र उत्पादनको मात्राको विषयमा कसैसँग तथ्याङ्क र अभिलेख छैन् । म्याग्दीमा गत वर्ष तीन हजार ८९० हेक्टर क्षेत्रफलमा १२ हजार ४४८ मेट्रिक्टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छन् । यस वर्ष धानको उत्पादनको अवस्था पहिचानका लागि क्रप कटिङ बिधिबाट अध्ययन र तथ्याङ्क संकलनको काम भैरहेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत गंगा लामिछानेले बताउनुभयो । रैथाने गौरियाजातको धानको विषयमा अध्ययन अनुसन्धानका साथै संरक्षणको पहल गर्नुपर्ने मङ्गला गाउँपालिकाका कृषि प्राविधिक समेत रहेका कुरसिम्लाका बासिन्दा जगत बानियाले बताउनुभयो । “अहिले नेपालमा चलेको जेठो बुढोलाई मात खुवाउने उच्च व्यवसायिक सम्भावना बोकेको गौरीया धानको खेती र महत्व स्थानीय स्तरमै सीमित भएको छ,” उहाँले भन्नुभयो “गौरियो धानको विषयमा अध्ययन अनुसन्धान, संरक्षण र प्रर्वद्धनका लागि प्रदेश तथा संघीय सरकारले कृषकले चासो र तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ ।”
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्याली भद्रकालीबाट प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको र्याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ । एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ । र्यालीको नेतृत्व नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गर्नु भएको छ । जागरणसभाको संयोजकको जिम्मेवारी पाउनु भएका एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर जानु परेकाले जिम्मेवारी ढुङ्गेलले सम्हाल्नुभएको हो । र्यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू हुनुहुन्छ । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ ।
कास्की: पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्धि गर्नका लागि चालू आर्थिक वर्षदेखी कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताउनुभयो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै निःशुल्क हुने उहाँले बताउनुभयो । वडाध्यक्ष बास्तोलाले भन्नुभयो ,“सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हाकीले काम गरिरहेका छौँ । सोही अनुसार वडामा स्थायी बसोबास रहेका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको बीमा गर्ने छौँ । ” पोखरा–१२ मा अमरसिँह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय गरी तीन विद्यालय छन् । यी विद्यालयमा चार हजार तीन सय विद्यार्थी अध्ययन गर्दछन् । पारिवारिक बीमा कार्यक्रमबाट सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि गर्ने र वडावासीको स्वास्थ्यमा पहुँच समेत बढाउने अपेक्षा गरिएको वडाध्यक्ष वास्तोलाले बताउनुभयो । चालु वर्षमा विमा कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको वडाले जनाएको छ । स्वास्थ्य विमा कार्यक्रममा वार्षिक रु तीन हजार पाँच सय प्रिमियम तिरेर परिवारका पाँच जना सदस्यले रु एक लाख बराबरको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था रहेको छ । बीमा प्रिमियम बापतको रकम वडाले भुक्तानी गर्नेछ । बीमा कार्यक्रममा सहभागिताका लागि वडामा स्थायी बसोबास खुल्ने अभिभावकको नागरिकता, विद्यालयका सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि सहित निवेदन आह्वान गरिएको वडा सचिव शारदा सापकोटाले बताउनुभयो । यसैगरी वडाले चालू वर्षदेखी सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयहरुमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गरिएको हो । वडाध्यक्ष बास्तोलाले अन्य निजी विद्यालयहरुमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षण सँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो ।”
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ । जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ । एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
मोरङ: बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गर्नुभएको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । छ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आउनुभएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आउनुभएको छ । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उहाँले बताउनुभयो । रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसेर आउनुभएका दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा छ सयदेखि सात सय किलोे सुकुटी बनाउने गर्नुभएको छ । उहाँको अनुसार “स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटु माग गर्नुहुन्छ, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन”, विदेशमा रहेका नेपालीहरुमा कोसेलीको रुपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पु¥याउन नसकिरहेको श्रेष्ठ बताउनुहुन्छ । प्रतिकिलो रु दुई हजारमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आउनुभएका शोभितमान श्रेष्ठ नौ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आउनुभएको छ । साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उहाँ बताउनुहुन्छ । लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उहाँले बताउनुभयो । विशेष गरी खाडी मुलुकमा रहेका उहाँ बताउनुहुन्छ । विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उहाँले बताउनुभयो । पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने धेरै टाढाटाढाबाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरु आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठ बताउनुहुन्छ । लक्ष्मीमार्गको नयाँ परिचय यहाँकोे सुकुटी बनेको उहाँले बताउनुभयो ।
लुम्बिनी: लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् । प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालयमार्फत मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई दृष्टिगत गरी संशोधित निर्देशिका कार्यान्वयनमा आएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरुका परिवारका सदस्यहरुलाई सहज भएको बताउनुभयो । यसअघि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्ने व्यवस्था मिलाइएको प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि एक जना बिरामीलाई रु दुई लाखको व्यवस्था गरेको छ ।
गण्डकी: मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर सङ्कट निम्तने ‘कालीगण्डकी बचाऔँ अभियान’ले जनाएको छ । उक्त अभियानले विज्ञप्तिमार्फत सरकारले प्रस्तावित गरेका कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोनजा, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाजस्ता परियोजना अघि बढाउँदा तटीय क्षेत्रको जनजीवन र सांस्कृतिक धरोहरमा असर पुग्ने जनाएको छ । कालीगण्डकी नदीको पानी पथान्तरण (डाइभर्सन) गरी तिनाउमा खसालेर रुपन्देहीसहितका क्षेत्रमा खानेपानी, सिँचाइ सुविधा र जलविद्युत् आयोजना निर्माण गर्ने सरकारको लक्ष्य छ । यस्तै बागलुङ र पर्वत जिल्ला समेटिने गरी कालीगण्डकी नदीमा बाँध बाँधेर छ सय ४० मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना, जलविहारलगायत बहुउद्देश्यीय अयोजना सञ्चालनका लागि अहिले वातावरणीय प्रभाव मूल्याङ्कनलगायत काम भइरहेको छ । ‘कालीगण्डकी बचाऔँ अभियान’ले यी दुवै परियोजनाले नदी र पर्यावरण संरक्षणका दृष्टिले उपयुक्त नरहेको विज्ञप्तिमार्फत जनाएको छ । कालीगण्डकी डाइभर्सन अयोजनाविरुद्ध परेको रिट सर्वोच्च अदालतले हालै खारेज गरिदिएको विषयमा पनि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । “यस्ता परियोजनाले आसपासका क्षेत्रका बासिन्दाको दीर्घकालीन हक र भविष्यको अस्तित्वमा गम्भीर असर पुर्याउन सक्छ । कालीगण्डकी नदीको संरक्षण र यसको पारिस्थितिकीमा अझ बढी खतरा उत्पन्न हुन्छ”, अभियानका संयोजक आरके अदीप्त गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परियोजनाले कालीगण्डकी नदीको आफ्नै जीवन्त प्राकृतिक प्रवाह खल्बलिने र यसको ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वलाई नष्ट गर्ने जोखिम उत्पन्न गरेको संयोजक गिरीको भनाइ छ । नदीको मनलाग्दी दोहन र नदीमा आधारित ठूला विकास परियोजनाका कारण भविष्यमा जलसङ्कट, जैविक विविधताको ह्रास र भौगर्भिक सङ्कटन निम्तन सक्ने उहाँले बताउनुभयो । अभियानले मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा नगर्न र मौनता नसाँध्न सबै पक्षलाई आग्रह गरेको छ । पर्यावरण संरक्षणसँगै मौलिक ढङ्गले विकास परियोजना सञ्चालन गर्नुपर्ने उसको माग छ । हिमालको काखबाट बग्ने कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले विगतदेखि नै रचनात्मक दबाब बढाउँदै आएको छ । चार वर्षअघि जन्मेको उक्त अभियानले यसअघि ‘नदी सप्तक’ कविता शृङ्खला पनि चलाएको थियो । कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई दुःखान्त स्थितिमा पुर्याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको संयोजक गिरीले बताउनुभयो । नदीमा हुने मानवीय हस्तक्षेपका कारण पानीको प्रदूषण, वनस्पति र जनावरको पारिस्थितिकीमा असन्तुलन र जैविक विविधतामा नोक्सानी पुर्याइरहेको उहाँको भनाइ छ । नदीको धार परिवर्तन र जलासय निर्माणले धार्मिकस्थल, ऐतिहासिक संरचना र प्राकृतिक विविधताको नष्ट हुने जोखिम रहेको उहाँको भनाइ छ । कालीगण्डकी नदी मानव जीवनको स्रोत नदी भएकाले यसको संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने गिरीको भनाइ छ । धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ । विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । दोहनकै कारण कालीगण्डकीमा मात्रै पाइने उक्त शालिग्राम शिला लोपोन्मुख स्थितिमा पुगेको छ । यो नदी हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिणतर्फ बग्छ । राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै गिट्टी, बालुवा उत्खननका नाममा मनपरी ढङ्गले नदी दोहन भइरहेको छ । मुक्तिनाथबाट देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटोन्मुख अवस्थामा छन् ।
पोखरा: पर्वतको जलजला गाँउपालिका ७ मिलनचोककी गंगा दर्जीलाई पाठेघरको क्यान्सर भएपछि विभिन्न चरणको उपचारका लागि भरतपुर अस्पतालमा छिन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन गाह्रो भएपछि परिवारले सहयोगको याचना गरेको छ । पारिवारिक स्रोतका अनुसार अहिलेसम्म गंगाको उपचारमा करिब ८ लाख खर्च भइसकेको छ भने, अप्रेशनका लागि थप ५ लाख लाग्ने भरतपुर अस्पतालले बताएको छ । आमाको उपचारका लागि सहयोगको याचना गर्न बाध्य भएको छोरी अनिता दर्जीले सुनाइन् । उनका अनुसार यसअघि उनको बुवाको उपचारमा पनि खर्च भइसकेको छ । उनले विभिन्न दाताहरुको सहयोगमा उपचार भइरहेको र बाँकी रकम जुटाउन थप याचना गर्नुपरेको बताइन् । ‘भाई कामको खोजीमा भारतमा छ । मैले एउटा स्कुलमा पढाउने मात्रै हो । सक्ने जति जुटाएर उपचार गर्याै । अब अप्रेशनको तयारी गर्ने डाक्टरको सल्लाह छ त्यसैले सहयोगको याचना गर्नुबाहेक विकल्प भएन’, उनी पीडा पोख्छिन् । उनले सहयोग गर्न चाहनेहरुले अनिता दर्जीको एनएमबी बैंकको खाता नम्बर १२१०२००९४१७००१२, र राष्ट्रिय वाणिज्य बैंको खाता नम्बर ३५००१००००००४१२०३ मा जम्मा गर्न अनुरोध गरेकी छिन् ।

