पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

झापा:     नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।  “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ”, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भन्नुभयो । इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा रु १३ करोड लगानी भएको उहाँले बताउनुभयो ।  संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ । उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी निर्यात हुँदै आएको जानकारी उहाँले दिनुभयो । बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेको उक्त संस्थाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् । उनीहरूले अघिल्लो महिनाको भुक्तानी सहज रूपमा हरेक महिनाको १५ गते पाउने गरेका छन् ।   

पोखरा महानगरपालिका २९ भण्डारढिकस्थित नयाँबस्तीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको सँयुक्त टोलीले २६ वर्षीय कपिल घिमिरेलाई लागुऔषधसहित पक्राउ गरेको हो ।   प्रहरीले घिमिरेको साथबाट २ सय २८ एम्पुल डाइजापाम, २ सय १२ एम्पुल फेनेरागन र २ सय २२ चक्की ब्रुफिन गरि कुल ६ सय ६२ एम्पुल लागऔषध बरामद गरेको छ ।   पक्राउ परेका घिमिरेविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धि मुद्दामा १० दिन म्याद थपेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं:  मन्त्रिपरिषद् बैठकले दुई जना डिआईजीलाई एआईजीमा बढुवा गरेको छ ।   बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गुरुङ र ढकाललाई बढुवा गर्ने निर्णय  गरेको हो । गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । उनी त्यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालयमा थिए । ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् । 

दैलेख:    नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुग्नुभयो । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्नुहुन्छ ।  खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जीखेती गर्नुभएको छ । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्तागरी गाउँमै व्यावसायिक सागसब्जी लगाउनुभएको छ । कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीतजस्तै भएको छ, खड्कालाई । मलाई अमेरिका यही, मलाई जापान पनि यही । गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उहाँले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गर्नुभएको छ । उहाँले हाँस्दै भन्नुभयो, “ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो ?” पालिकामा तरकारी सङ्कलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उहाँको दिनचार्य नै बनेको छ ।  खड्का भन्नुहुन्छ, “बजारमा पाइला टेक्नेबित्तिकै गाउँले एफएम दाइको, गाउँले तरकारी आयो है आयो, आफ्नै बारीमा फलाएको, अग्र्यानिक तरकारी, किन्नुहोस् भन्दै बजार–बजार डुल्दै चिच्याउनुहुन्छ ठट्यौली शैलीमा ।” उहाँको तरकारीप्रतिको यो लगाव देखेर गाउँका अधिकांश मानिसले सिको गर्न थालेका छन् ।  “सानै उमेरमा हिमाञ्चल गएँ, दुःख पाएँ । अब आफ्नै देशमा गएर केही काम गर्छु भन्ने लाग्यो । गाउँ फर्किएर तरकारी लगाएँ । म १४ वर्षकै उमेरमा विदेश (भारत) मजदुरी गर्न जानुभएका उहाँ  आजभोलि गाउँकै अगुवा कृषक बन्नुभएको छ । पहिला त मैले जहानपरिवारले खाने तरकारी फलाए त्यसपछि बिक्री हुन थालेपछि व्यावसायिक तरकारीखेतीतिर लागेको हुँ”, उहाँले भन्नुभयो ।  हाँसेर कुरा गर्ने उहाँको स्वभाव हो । दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन । डौँसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछु ।  “एकपटक ५५ केजी लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाहा भयो, उहाँ भन्नुहुन्छ, “बुुढो मुन्छे, डोको बोक्दा–बोक्दा थाप्लोका रौँ गइसके । केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु !” श्रीमती (खजुरा)ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर सघाउनुभएको छ । खड्काले गाईवस्तुका बाहेक अन्य मल प्रयोग गर्नु हुँदैन । चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो । जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन् । एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्ष पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन् । “छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा मैले तरकारी बेचेरै दिएको छु,” उहाँले भन्नुभयो ।   ‘गाउँले एफएम दाइ’ विस २०५८ तिर, डौँसुरमा खड्का सानो खुद्रा पसल थियो । पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा सामान किन्न आएका मानिसलाई समाचार सुनाउनु उहाँकै दैनिकजस्तै थियो । त्यतिबेला जनयुद्ध उत्कर्षमा थियो । समाचारप्रति स्थानीयको चासो बढी थियो ।  रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगञ्जको वागीश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँलाई चर्को ‘भोल्युम’मा सुनाउने गरेको उहाँका छरछिमेकी बताउँछन् । “आज यो ठाउँमा यस्तो भीडन्त भयो, यति जनाको मृत्यु भयो, यति जना घाइते भए भनेर सबैलाई भन्थेँ, बिबीसी सुनेर विश्वका घटना पनि ज्ञान लिन्थे । त्यहीबेला माओवादीकै ‘रिवल’ले उहाँको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिनुभएछ, अहिले नगेन्द्र नामले होइन । उहाँले गाउँले एफएमदाई नामले परिचित हुनुहुन्छ ।   खड्का लोकगीत र देउडामा रुचि उत्तिकै छ । “विस ं२०४३ मा रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, जहाँ अहिलेका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलसमेत ठाडीभाका गाउनुहुन्थ्यो, त्यही बेलादेखि मेरो रेडियोतर्फ र गीत–सङ्गीततर्फ लगाव रह्यो ।” देउडा र लोकगीतमा उहाँको रुचि छ । केही वर्षअघि दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा बोल्ने, गाउने गर्नुहुन्थ्यो । गाउँले लबज र प्रष्ट आवाजमा गीत गाउने उहाँ स्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित हुनुभएको छ । अझै पनि उहाँको घरको बाहिर रेडियो झुन्डिएको हुन्छ । रेडियो सुन्दै बारीमा काम गर्नुहुन्छ ।  बजार बुझेर उत्पादन गर्दा आम्दानी  बजारको माग बुझेर उत्पादन गर्दा आम्दानी आइहाल्छ । नत्र त्यत्तिकै तरकारी खेर जाने उहाँको भनाइ छ । विगत सम्झँदै खड्काले भन्नुभयो, “विसं २०७९ वैशाखमा मङ्सिरमा आमचुनाव हुन्छ । चुनावको प्रचारमा आउने कार्यकर्ताले तरकारी किन्छन भनेर बारीमा तरकारी लगाएँ ।  मङ्सिरमा मात्रै २० हजार बराबरको सिमी बिक्री भयो । निर्वाचनको अवधिमा छ क्विन्टल त बन्दा बेचे ।” उम्मेदवारलाई मैले उत्पादन गरेको सिमी र टमाटरको मालासमेत लगाइदिएको उहाँले जानकारी दिनुभयो ।   सिमी, काँक्रा, चिचिन्डोलगायत बीउ खड्का आफैँ उत्पादन गर्नुहुन्छ । “हाइब्रिड जातको बीउ भने पसलबाट खरिद गर्छु । विसं २०८० फागुन–चैतमा मात्र रु २५ हजार बराबरको चिचिन्डोका बेर्ना बिक्री गरेँ,” उहाँले भन्नुभयो, “म तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु, यसपालि दुई सय बोट काउली र त्यही अनुपातमा बन्दा लगाएको छु, राम्रै फलेको छ ।” ठूला दुईवटा टनेलमा छ क्विन्टलजति गोलभेँडा तयार छन् । एउटा बोटमा तीन–चार केजीसम्म गोलभेँडा फलेको उहाँले खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, “भर्खरै मात्र रु दुई हजार पाँचमा टमाटर बेचेर आएँ । अग्र्यानिक टमाटर हो यो, रु ६० केजीमा बिक्री भइरहेको छ ।”  कृषिसम्बन्धी तालिम लिएका खड्का घरमै कीटनाशक औषधि बनाउनुहुन्छ । मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन । उहाँले भन्नुभयो, “अग्र्यानिक मल नै फालाफाल छ । बजारिया मल किन किन्नु, माटो बिगार्छ ।” परम्परागत रूपमा खेती गर्दै आउनुभएका खड्काले अहिलेसम्म गैरसरकारी सङ्घसंस्थाको सहयोग पाए पनि राज्यबाट कुनै अनुदान वा पाउनुभएको छैन । मैले मेहनतले नै पुरस्कार पाएँ ।  उहाँका अनुसार राज्यले दिने करोडौँ अनुदान झोलामै तरकारी फलाउने र झोलामै बाख्रापालन गर्ने बिचौलियाले पाउँछन् । हामीजस्ता किसानले सरकारले दिने अनुदान पाए अधिकांश मानिस गाउँमै स्वरोजगार हुने थिए ।  तरकारीखेतीका लागि खड्कालाई सिँचाइको समस्या छ । एकपटक सेवक नामक संस्थाले उहाँलाई पाल दिएको थियो । पालको छानो राखी उहाँले बारीनजिकै पोखरी बनाउनुभएको छ । वरपर पानीको ठूलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ ।   कक्षा ३ सम्म अध्ययन गरेका नगेन्द्र गाउँका अन्य किसानलाई तरकारी कसरी लगाउने ज्ञान बाँड्नुहुन्छ । कसरी फलाउने भन्नेबारे अध्ययन गर्ने खड्काले चामुन्डाविन्द्रासैनी नगरपालिकाबाट प्रथम, दोस्रो र तेस्रो पुरस्कार पाउनुभएको थियो ।   हरेक मानिसका आ–आफ्ना सौख हुन्छन् । ती सौख पूरा गर्न मानिस लागिपरिरहेका हुन्छन् । कुनै बेला रेडियोप्रेमी खड्का आजभोलि टिकटकतिर मोडिनुभएको छ । कृषिबारे जानकारीमूलक भिडियोे बनाएर उहाँले ‘नगेन्द्र खड्का ४४९’ नामक टिकटक आइडीबाट सेयर गर्नुहुन्छ । 

दमौली:    तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो ।  आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट आजदेखि यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । यो कार्यक्रम पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा क्रमशः सञ्चालन गरिने चुमानको भनाइ छ ।  गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार पहिलोपटक छात्रा बचत कार्यक्रम सुरु गरिएको चुमानले बताउनुभयो ।  रामशाह माविमा एक हजार आठ सय विद्यार्थी अध्ययनरन छन् । त्यसमध्ये एक हजार एक सय छात्रा छन् । पालिकाले कक्षा १० सम्म अध्ययनरत छात्रालाई रु एक हजार बचत मौज्दातसहित निःशुल्क बाल बचत खाता खोलिदिने चुमानले बताउनुभयो ।  उहाँले भन्नुभयो, “कक्षा १ देखि १० सम्मका छात्राको बाल बचत खाता खोलेर रु एक हजार जम्मा गरिदिन्छौँ । सानैदेखि बचत गर्नुपर्छ भन्ने भावना विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।” शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बाल बचत खाता सञ्चालनको मुख्य उद्देश्य भनेको सानैदेखि बचत गर्ने बानीको विकास, रुचि तथा क्षमताअनुसारको उच्च शिक्षाको पहुँच र उद्यमशील विकास गरी सुनौलो भविष्य निर्माणका लागि सहयोग पुर्याउने रहेको चुमानले उल्लेख गर्नुभयो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले रामशाह माविबाट सुरु भएको यो कार्यक्रम सबै वडाका सामुदायिक विद्यालयमा सञ्चालन गरिनेछ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दुई हजार पाँच सय छात्रा अध्ययनरत छन् । विद्यार्थीको खाता कुमारी बैंकसँगको समन्वयमा खोलिनेछ ।  उक्त खातामा प्रतिविद्यार्थी रु एक हजार गाउँपालिकाले बचत गरिदिनेछ । सोबापत कुमारी बैंकले रु २० बजार बराबरको स्वास्थ्य बीमाको सुविधा दिनेछ ।  कुँवरले भन्नुभयो, “यो कार्यक्रमले बचत गर्ने बानीको विकास गर्ने, विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्चित गर्ने, विद्यार्थीको रुचि तथा क्षमताअनुसारको उच्च शिक्षाको पहुँचमा सहयोग पुग्नेछ ।” यसअघि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणलाई अभियानकै रूपमा अगाडि बढाएको छ ।  सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ । आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति पनि ल्याएको छ ।  त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नम्बर ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने चुमानले बताउनुभयो । 

काठमाडौं:    नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ ।  केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ । हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ ।

खोटाङ:    हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ टोली सहभागी हुने भएका छन् ।  लैङ्गिक हिङ्साविरुद्धको १६ दिने अभियानको अवसर पारेर नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगितामा सहभागी हुन विभिन्न जिल्लाका १७ टोलीले नाम दर्ता गरेका हुन् । ‘मेरो गोल, लैङ्गिक हिंसाविरुद्धको बोल’ भन्ने नारासहित नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि रु एक लाख १० हजार एक सय ११ छ ।  जिल्लामा यसअघि आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशिभन्दा हलेसीमा आयोजना गरिएको प्रतियोगिताको पुरस्कार राशि सर्वाधिक हो ।  प्रतियोगिताका लागि जिल्लाका विभिन्न स्थानीयमा दर्ता भएका स्पोर्टस् क्लबका साथै छिमेकी जिल्ला ओखलढुङ्गा र भोजपुरका विभिन्न क्लबमा आबद्ध खेलाडीले नाम दर्ता गराएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । नगरपालिकाले पहिलोपटक आयोजना गरेको महिला फुटबल प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गर्ने तयारी गरिएको छ ।   मङ्सिर ८ गते शनिबारदेखि औपचारिक रूपमा सुुरु हुने फुटबल प्रतियोगिता त्रिधार्मिकस्थल हलेसीस्थित बसाहाथान खेलमैदानमा सञ्चालन गर्ने तयारी गरिएको छ । यही मङ्सिर १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु एक लाख १० हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले रु ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।    सेमिफाइनलिस्ट दुई समूहलाई जनही नगद रु २२ हजार दुई सय २२ सहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । यस्तै, विद्यागततर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक हजार पाँच सय ५५ तथा विद्यागततर्फकै अन्य खेलाडीलाई जनही रु एक हजार एक सय ११ का दरले नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।    अभियानका अवसरमा नगरपालिकाले महिला फुटबलसँगै महिला जनप्रतिनिधिका लागि म्युजिकल चियर प्रतियोगिता पनि आयोजना गरेको जनाइएको छ । दुवै प्रतियोगिता समापनका अवसरमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सहभागितामा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

तनहुँ:    मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो ।   मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ ।  पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ ।       पूर्वी खण्डअन्तर्गत दमौलीको बुल्दीपुलदेखि घाँसीकुवा क्षेत्रमा पनि केही  दिनमा कालोपत्र गरिने इञ्जिनियर पाण्डेले बताउनुभयो । दमौली बजारमा सडक विस्तार निर्माण  भइरहेको छ ।  यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । यसमा १४ वटा साना पुल निर्माण भएका छन् । यो खण्ड  रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारको लागतमा निर्माण हुँदैछ । 

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।           ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मूल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता मङ्सिर ८ गतेसम्म चल्नेछ ।  लाहाचोकस्थित महेन्द्र माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता छ ।  प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि खेलको विशेष महत्व हुने बताउनुभयो ।           खेलका माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुँदा खेलकुदलाई हरेक क्षेत्रले प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।      गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेल क्षेत्रमा गुणात्मक प्रगति गर्नका लागि गाउँपालिकाले आगामी दिनमा अझै रचनात्मक कार्यक्रमलाई अघि बढाउने विश्वास व्यक्त गर्नुुभयो ।      गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले गत वर्ष जस्तो यस वर्ष सङ्घीय सरकारबाट सहयोग प्राप्त नभए तापनि खेलकुदलाई प्राथमिकतामा राखेर पालिकाको आर्थिक लगानीमा यस प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो ।      माछापुछ्रे गाउँपालिका–२ का अध्यक्ष एवं प्रवक्ता गणेश आचार्य, वडा नं ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रीलगायतले खेलकुदले व्यक्तिगत एवं सामाजिक रुपमा पार्ने प्रभावलगायत विषयमा आआफ्ना धारणा राख्नुभयो ।  प्रतियोगिताअन्तर्गतका मार्चपास, विभिन्न दूरीका दौड, लङजम्प, नृत्यलगायत केही खेल आज सम्पन्न भएको आयोजकले जनाएको छ ।