झापा: उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्नुहुन्छ पाहानी राजवंशी र सुरु गर्नुहुन्छ माटाको भाडामा भाक्का पकाउन । यतिबेला उहाँको दैनिकी नै बनेको छ यो काम । मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा घर भएकी ६० बर्षीया राजवंशी भाक्का पकाएर बेच्नकै लागि मेचीनगर–१० को धुलाबारी चोकमा विहान ४ः३० बजे नै पुग्नुहुन्छ । पूर्वपश्चिम राजमार्गको किनारमै रहेका कारण उहाँले पकाएको भाक्का खानेका लागि भीड नै लाग्छ । पकाएको भाक्का ग्राहकलाई बेच्न उहाँका श्रीमान भद्रु राजवंशीले सहयोग गर्नुहुन्छ । गोलभेडामा लसुन र अकबरे खुसार्नी मिसाएको पिरो अचारमा सालको पातमा श्रीमतीले बनाएको भाक्का प्रति गोटा रु १० का दरले बेच्न भद्रुलाई भ्याईनभ्याई नै हुन्छ । उहाँले दैनिक जसो २ हजारदेखि २ हजार ५ सयसम्मको भाक्का विक्री गर्दै आउनुभएको छ । भाक्का खानका लागि बिहान मर्निङवाकमा हिंड्नेहरु, विद्यार्थी र गाडीका यात्रुहरु हुन्छन् । पहानी राजवंशी मात्र होइन धुलाबारी चोक राजमार्ग किनारमा यतिबेला भाक्का बच्चेहरु आधा दर्जन जति छन् । उनीहरुले मङ्सिरदेखि माग मसान्तसम्म भाक्काको व्यापार गर्ने गर्छन् ।चिसो मौसम सुरु भएसँगै पूर्वी तराईको झापा र मोरङका अधिकांश चोक बजारमा यसरी नै भाक्का खानेको भीड लाग्न थालेको छ । धानको पिठोबाट बनाइने भाक्का पोसिलो, स्वादिलो र अडिलो हुने हुँदा अधिकांश मानिसहरुले यसैलाई विहानको खाजाको रुपमा प्रयोग गर्ने गरेका छन् । प्रायः ग्रामीण वस्तीका आदिवासी समुदायका महिलाहरुले बिहान झिसमिसेदेखि नै पूर्वपश्चिम राजमार्गका किनारमा, गाउँ तथा शहरका चोक र गल्लीहरुमा माटाको हण्डीमा पानी उमालेर बाफमा भाक्का पकाएर विक्री गर्ने गर्दछन् । यसरी पकाएको भाक्का बच्चादेखि बृद्धबृद्धाको विहानको खाजा हुने गरेको छ । पूर्वी तराईको लोकप्रिय खानेकुराको रुपमा रहेको भाक्का सुरुमा राजवंशी समुदायका महिलाहरुले मात्र बनाउने गर्दथे । तर, यसको माग बढेपछि अहिले मेचे, धिमाल, ताजपुरिया र थारु महिलाहरुले समेत भाक्का बनाउन थालेका छन् । यसले राष्ट्रिय पहिचान पाइसकेका कारण प्रत्येक बर्ष पुस २९ गते झापामा विगत आठ बर्षदेखि भाक्का दिवस मनाउन थालिएको छ । भाक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भाक्का झनै स्वादिलो हुने मेचीनगर वडा नं ७ का वडाध्यक्ष प्रल्दाहमणि ओली बताउनुहुन्छ । राजवंशी समुदायको मौलिक खानेकुरा भाक्का अब सबै समुदायको साझा परिकार भएको उहाँ बताउनुहुन्छ ।
काठमाडौं: विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम असुल गर्ने, अनलाइन र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा बैङ्किङ कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको हो । प्रहरीले ‘ह्वाट्स एप’मार्फत डरत्रास देखाइ रकम असुली गरेको अभियोगमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाललाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिलाई ‘अन्डर कभर एजेन्ट’ भनी ज्यान मार्ने धम्की दिई रु ५० हजारदेखि रु २ लाखसम्म रकम माग गरेको आरोपमा प्रहरीले निजलाई शङ्खमुलबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका–३२ ठेगाना भएका ३७ वर्षीय राजेश श्रेष्ठ हाँडीगाउँबाट पक्राउ परेका छन् । निजले सामाजिक सञ्जालमा सम्पर्क गरी विभिन्न बहानामा रु ७ लाख ७५ हजार विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । यसैगरी आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न मुलुकमा वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन कालिका नगरपालिका–७ ठेगाना भएकी २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालिका–२ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने २७ वर्षीय प्रकाशबहादुर रोक्का मगर पक्राउ परेका छन् । रचनाले हङ्गेरी पठाइदिन्छु भन्दै दुई जनाबाट रु १८ लाख र प्रकाशले माल्टा पठाइदिन्छु भन्दै एकजनाबाट रु १ लाख लिई सम्पर्कबिहीन भएका थिए । रचनालाई काठमाडौँ महानगरपालिका–१२ बाट र प्रकाशलाई टोखा नगरपालिका–९ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो । नक्कली फेसबुक आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगीमा संलग्न रहेको अभियोगमा पर्साको वीरगन्ज महानगरपालिका–३१ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–७ बस्ने २१ वर्षीय सुरज पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । निजले फेसबुकबाट दुबईमा वैदेशिक रोजगारका लागि सुवर्ण अवसर छ, भिजिट भिसामा दुबईमा आएर काम गर्न मिल्छ भनी विज्ञापन राखेर पीडितसँग रु २ लाख १५ हजार ठगेको प्रहरीले जनाएको छ । साथै बैंकिङ कसुर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले बेनी नगरपालिका–९ की ३९ वर्षीया विष्णुमाया केसी, काठमाडौँ महानगरपालिका–१५ का ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुर नगरपालिका–७ का ५२ वर्षीय राजेन्द्र तुईतुईलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिनुभयो । केसीले पीडितलाई खातामा पर्याप्त रकम मौज्दात नभएको रु १ करोड ५० लाखको चेक दिई फरार भएकी प्रहरीले जनाएको छ । महर्जन बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले अघिल्लो जेठ २९ गते ५ दिन कैद, बिगो रु १६ लाख र रु ६४ हजार क्षतिपूर्तिबापत पीडित राहतकोषमा जम्मा गराउने ठहर गरेकामा उनी फरार भएका थिए । जिल्ला अदालत काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा पक्राउपुर्जी जारी भई फरार रहेका तुईतुईलाई प्रहरीले भक्तपुर नगरपालिका–७ बाट पक्राउ गरेको हो ।
काठमाडौं: आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन)बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो । परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “ड्रेसकोडको पालना भए÷नभएको परिषद्बाट नियमित अनुगमन हुनेछ । पालना नभएको अवस्थामा परिषद्को नियमावली, २०५९ अनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ ।” परिषद् ऐनको दफा ९ को उपदफा (क) ले दिएको अधिकार प्रयोग गरी फार्मेसी परिषद्ले फर्मासिष्टले हरियो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्ल्लेख गरिएको डे«सकोड लगाउनुपर्ने नियम बनाएको छ । त्यस्तै, फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बरसहितको एप्रोन लगाउनुपर्ने व्यवस्था गरेको हो ।
काठमाडौं: प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेका दाहालले काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिहरुलाई ह्वाट्सएपमार्फत आफु अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्छु भनी म्यासेज गरी रु ५० हजारदेखि रु दुई लाखसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा काठमाडौँ स्थित शङ्खमुलबाट पक्राउ गरिएको हो ।” पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
काठमाडौं: आज सुनको मूल्य प्रतितोला रु १ हजारले बढेर रु १ लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु १ लाख ६३ हजार थियो । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार ९ सय ५० कायम भएको महासङ्घले जनाउको छ । कात्तिक १५ गते रु १ लाख ७१ हजारमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।
पोखरा: कास्की र मनाङको सिमाना अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो। यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दू भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको थियो।
खोटाङ: सहर छाडेर गाउँ फर्किनुभएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)खोटाङका नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् । काठमाडौँ छाडेर ४० वर्षपछि विसं २०७९ मा सपरिवार गाउँ फर्किनुभएका रोकाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खेतमा पुगेर उनीहरुले श्रमदान गरेका हुन् । गाउँ छाडेर सहर जानेको सङ्ख्या वृद्धि भइरहेको बेला गाउँ फर्किएर खेती किसानी गरिरहनुभएका रोकाको सम्मानस्वरुप धान काट्न सहयोग गरिएको नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति सचिवालय सदस्य होमकाजी आचार्यले बताउनुभयो । “पार्टीले आयोजना गरेको जनश्रमदान अभियान अन्तर्गत हरि रोकाको खेतमा पुगेर श्रमदान गरेका छौँ । पछिल्लो समय गाउँ छाडेर सहर जानेको ताँती लाग्न थालेको छ । यो अवस्थामा सहरबाट गाउँ फर्किनुभइ कृषि पेशामा लाग्नुभएका अर्थशास्त्री एवं् राजनीतिक विश्लेषक रोकाको सम्मानका लागि श्रमदान गरिएको हो”, उहाँले भन्नुभयो । संविधानसभा सदस्यसमेत रहनुभएका रोका गाउँ फर्किएर खेती किसानीमा लाग्नुले सकारात्मक प्रेरणा दिएको स्थानीयको भनाइ छ । धान काट्ने श्रमदानमा पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, पार्टीका जिल्ला संयोजक दीपक पाण्डे, प्रदेश समिति सचिवालय सदस्य आचार्य, पालिका समिति अध्यक्ष राजेन्द्रकुमार राई, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रविन खम्बूलगायत सहभागी थिए । सर्वसाधारणको खेतमा श्रमदान गर्ने योजना भए पनि सहरबाट फर्किएर गाउँमै सम्भावना देखाउन सङ्घर्ष गरिरहनुभएका रोकाको हौसलाका लागि श्रमदान गरिएको माओवादी केन्द्रले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा दश हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफल खेतमा धान खेती हुँदै आएको छ ।
म्याग्दी: ४ महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडक मर्मत नहुँदा स्थानीयबासी र पर्यटकलाई समस्या भएको छ । स्थानीयबासीले पहिरोले साघुरिएको सडकको डिलतर्फ काठ राखेर जिपमात्र छिर्ने बनाएका छन् । काठको फल्याक र थाम भाचिएर दुर्घटना हुने उच्च जोखिम छ । सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयबासीलाई आवत जावतका साथै होटल ब्यवसायीहरुलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताउनुभयो । घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकल बाहेक जिप, बस, ट्रक, ट्याक्टर वारपार गर्न सकेका छैनन् । पोखरेबगर–चित्रे–घोडेपानी सडक अन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन सकेको छैन् । वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सो भन्दा बढी आन्तरिक पर्यटक आउँछन् । सडकको समस्याका कारण सवारी साधन मार्फत यसपालीको सरदयाममा घोडेपानीमा अपेक्षाकृत संख्यामा आन्तरिक पर्यटक भित्र्न नसकेका घोडेपानी होटल ब्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताउनुभयो । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, गुराँसे जंगल, वन्यजन्तु, पंक्षी, मगर संस्कृति लगायत आकर्षण रहेको छ । १८ किलोमिटर ५ सय ४० मिटर दुरीको पोखरेबगर–चित्रे सडक मार्ग खुलेको १५ वर्षपछि गत बर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्की मार्फत करिब रु ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो । अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पु¥याएको सडक मर्मतका लागि आयोजना कार्यालयले बेवास्ता गरेपछि गाउँपालिकालेनै मर्मत गर्न लागेको बताउनुभयो ।
धनकुटा: बुढाहाङ सेवामा वढाङमी नाचको रन्को अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल, हा है बग्दछ सलल । दिसदिस (देशदेश)को माइती, चारथुम चेली, बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ), निधारको छेरी (आँखीभौँ) सम्झिँदै खेरी, वढाङ्मी मेला, पूर्णेझैँ झलल... यो वढाङ्मी (पापनी) नाचमा गाइन्ने मौलिक गीत हो । धनकुटाको खाल्सा क्षेत्र (हाल शहिदभूमि गाउँपालिका) मा बसोबास गर्ने किरात राई जातिले मनाउने वढाङ्मी पर्वमा नाचिने (पापनी) नाचमा यस्ता गीत गाइन्छ । यतिबेला धनकुटाको खाल्सा क्षेत्र वढाङ्मीमय भएको छ । घुरघरमा कुलपूजा गर्ने र नाचगान गर्ने कार्यले खाल्सा क्षेत्रका बासिन्दा ब्यस्त भएका छन् । यो क्षेत्रका बासिन्दाको प्रमुख पर्व भएकाले पर्वमय भएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई बताउनुहुन्छ । तान्त्रिक राजा बुढाहाङको सेवामा मनाइने वढाङमी पर्व र नाचिने नाच गीतको लय र ढोल झ्याम्टाको तालमा लहरै उभिएर गोलाकार रूपमा नाचिन्छ । यो कुनै लिखित नभएर पुर्खादेखि नै मुखाग्र गाउँदै आइएको गीत हो । यो एकल वा जोडी भएर पुरुष–महिला सबैले गाउँछन् । गायकी सुन्दा उनीहरूलाई आँशुकवि भन्दा फरक पर्दैन । हरेक गीतमा स्थायी र अन्तरा हुन्छन्, जसलाई घन्टौँसम्म गाएर नाचिन्छ । के हो वढाङ्मी ? राईहरूको भाषा र संस्कृतिमा थर र गाउँपिच्छे विविधता र फरकपन पाइन्छ । यही विविधता र फरकपन धनकुटाको खाल्सा क्षेत्र (छिन्ताङ, आखिसल्ला र खोकु गाविस) हाल शहिदभूमि गाउँपालिकाका राई जातिको संस्कृति पनि फरक छ । उनीहरुको सांस्कृतिक धरोहरको रूपमा रहेको छ, वढाङ्मी पर्व र नाच रहेको छ ।कात्तिक पूर्णिमापछिको पहिलो मङ्गलबार साविक छिन्ताङ गाविस–४ (हाल शहिदभूमि गाउँपालिका–३) स्थित साकेन्वा थानमा पूजा गरेपछि वढाङ्मीको औपचारिक सुरुआत हुन्छ । यसपछि स्थानीय राईहरूले घरघरमा कुलपूजा गर्न थाल्छन् । कुलपूजामा फूल–अक्षता, पानसुपारीसँगै अण्डा, कुखुरा, परेवा र बङ्गुरको बली दिइन्छ । पूजापछि टोलको मुख्य घरमा लहरै उभिएर गीतको लयसँगै ढोल–झ्याम्टाको तालमा कुम जोडेर वढाङमी नाच नाचिन्छ । यसपालि मङ्सिर ४ गतेदेखि शुरु भएको यो पर्व र नाच छिन्ताङ र आँखीसल्लामा मङ्सिर ९ गते र खोकुमा मङ्सिर १० गते सकिनेछ । यस नाच र पर्वको शुरुआतको विषयमा स्थानीयबासीमा एउटा गजबको किंबदन्ती रहेको छ । किंबदन्तीअनुसार परापूर्वकालमा खाल्सा क्षेत्रमा बुढाहाङ नाममा शक्तिशाली तान्त्रिक राजाले शासन गर्थे । ती राजा बुढाहाङका छ छोरी थिए । उमेर पुगेपछि उनीहरूले मनोरञ्जनका लागि बुवासँग अनुमति मागे । बुढाहाङले उनीहरूलाई छ दिन छुट्टी दिए । छुट्टी पाएपछि उनीहरू आँखिसल्लाको टप्पु भन्ने ठाउँमा वनभोज खान गए, विभिन्न जीवजन्तु र चराचुरुङ्गीको नक्कल गरी रमाए । उनीहरूको नाचलाई फेरि स्थानीयले देखे र नक्कल गरे । बुढाहाङका छोरीहरूको यही नाच अपभ्रंश भई ‘वढाङ्मी’ हुन पुगेको बढापाकाको भनाइ छ । अहिले पनि बुढाहाङका छोरीहरूले वनभोज खाएको र नाचगान गरेको स्थानलाई आँखिसल्लामा संरक्षण गरेर राखिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष राईले बताउनु भयो । वढाङ्मी नाच उत्पत्तिको किंवदन्ती रोचक छ । जनश्रुति अनुसार परापूर्वकालमा त्यस क्षेत्रका राईहरूका पुर्खा बुढाहाङ भन्ने राजाको पालादेखि यो पर्व शुरु भएको हो । बुढाहाङ यति शक्तिशाली थिए कि, उहाँले समयलाई आफ्नो वशमा पारी रातलाई दिन र दिनलाई रात बनाउन सक्थे । उहाँलाई मार्न धनकुटाको बेलहराबाट सिकारीहरू आएका थिए । यो थाहा पाएर उहाँ दिनलाई रात बनाएर अलप हुनुभयो । त्यसैले उहाँ अझै पनि जिउँदै रहेको विश्वास गरिन्छ । वढाङ्मी गीतका गायक खनप्रसाद राई २४ घन्टासम्म निरन्तर यो गीत गाइने र नाचिने बताउनुहुन्छ । खनप्रसाद स्वयंसँग लगातार १५ घन्टासम्म गीत गाएको अनुभव छ । उहाँभन्नुहुन्छ, ‘गीत गाउने जोडी र नाच्ने समूह हुँदा दिन–रात बितेको पत्तो हुँदैन ।’ विस्तारै पाइला सार्दै नाचिने भएकाले थकाइ नलाग्ने र धेरै समयसम्म नाच्न सकिने स्थानीयवासीको अनुभव छ । यसमा चेली र माइती पनि एउटै लहरमा उभिएर नाच्छन् । खनप्रसादका अनुसार वढाङ्मी सामाजिक सद्भावको पर्व र नाच हो । यस नाचगानमा पारिवारिक सुखदुःख, रसरङका कुरा र देवीदेवताको गुनागानलाई समेटिन्छ । यो नाच विवाह, भोज र अन्य खुसियालीमा पनि नाचिन्छ । यसलाई स्थानीयस्तरमा पापनी लहरे–नाच भनिन्छ । तर, वढाङ्मीको बेला र बिहेमा गाउने गीत भने फरक हुन्छ । वढाङ्मीका बेला बुढाहाङ राजाको गुनगान, देवीदेवताको चर्चा गरिन्छ भने अन्यबेला रसरङको चर्चा हुने गरेको खनप्रसादले बताउनु भयो । स्थानीयको कुलपूजालाई ‘माङ्ला’ भनिन्छ । स्थानीय छिन्ताङ भाषामा ‘माङ्’को अर्थ देवता र ‘ला’को अर्थ चढाउनु हो । अर्थात उत्पादित बाली देवतालाई चढाउनु । आँखीसल्लाका ७८ वर्षीय गोविन्द राईका अनुसार खाल्सा क्षेत्रका राईहरूको चुलो (राई जातिका प्रत्येक घरभित्र तीनवटा चुलो, जसमा कुलपूजा गरिन्छ) सँगै स्थानीय देवीहरूको थानमा पूजा हुने हुने गरेको छ । खासगरी छिन्ताङ जाल्पादेवी मन्दिर, पञ्चकन्या, ढुकुरसिं थानी, देउलिंगे, टप्पुदेवी, ज्वालादेवी लगायत स्थानमा पूजा गरिन्छ । यी देवी र थानलाई स्थानीय राई र अन्य जातिले पनि आफ्नो कुलदेवताकै रूपमा मान्ने गरेका छन् । कुलपूजा र नयाँ बाली शहिदभूमि गाउँपालिका–३ का पूर्व वडाअध्यक्ष योगेन्द्र राईका अनुसार नयाँ बाली भित्रिएको खुसीयालीमा छ दिनसम्म मनाएर वढाङ्मी पर्वको बिदाइृ गरिन्छ । नयाँबाली पाकेपछि कुलदेवतालाई चढाएर मात्र आफूले खानु किरात राई जातिको परम्परा हो । त्यसैले वढाङ्मीमा अर्को वर्ष पनि खेती राम्रो होस्, रक्षा–क्षमा गर्नु भनी आशीर्वाद माग्ने चलन छ ।नाचगान शुरु गर्नुअघि बुढाहाङको नाममा एकजोडी परेवाले क्षमापूजा गरिन्छ । नाचगान गर्दा कुनै झगडा र दुःख नहोस् भनेर क्षमा पूजा गरिन्छ । जुन घरको आँगन वा टोलमा नाचिन्छ, त्यो घर वा टोलले नाङ्लोमाथि दियो, कलश, फलफूल, चिन्दोमा रक्सी, डबका जाँड राखेर आशिकभारा (आशिष माग्ने) गरिन्छ । नाचगान गर्ने सबैको शिर उठाउने र नाचगान गर्ने घर वा टोलको नाम चर्चा गर्नका लागि पञ्च भलाद्मी राखेर आशिषभारा गरेपछि यो पर्व पूरा हुन्छ । उन्मुक्त छोरीचेली यो पर्वमा छ दिनको मेला र छ दिनको बारण (बार्ने) भन्ने चलन छ । पर्वका अवसरमा बुढाहाङ राजाले आफ्ना सहयोगी र राज्यका नागरिकलाई समेत छुट्टी दिएका थिए । त्यसैले खनजोत गर्न नहुने भनेर बार्ने चलन रह्यो। यो चलन अहिले पनि छ । वढाङ्मी मनाउनकै लागि घरको सबै कामलाई रोकिन्छ । कसैले हलो जोत्दैनन्, कोदालो खन्दैनन् ।यो पर्वमा विशेषतः छोरीचेलीलाई छुट दिइन्छ । यो दिन छोरीचेलीलाई काम नलगाउने र उनीहरूले कुनै गल्ती गरे पनि गाली गर्न नहुने मान्यता छ । गाली गरे बुढाहाङ र देवीदेवता रिसाउने, घरमा दुःखबिरामी पर्ने बुढापाकाको विश्वास छ । त्यसैले चेलीहरू यी छ दिन विशेष स्वतन्त्र हुन्छन् । आफ्ना दौतरीसँग हाँसखेल र नाचगान गर्न स्वतन्त्र छन् । अहिले नारी हक–अधिकार र स्वतन्त्रताको आन्दोलन र बहस चलिरहेको छ । तर, धनकुटाको खाल्सा क्षेत्रका राई जातिका महिलामा सदियौंदेखि स्वतन्त्रताको अभ्यास छ । शहिदभूमि गाउँपालिकाका अध्यक्ष राई भन्नुहुन्छ्, ‘देवी–देवताको नाममा भएको यो परम्पराले आजका महिलालाई पनि स्वतन्त्रताको पैरवी गरेको छ ।’ धामीझाँक्रीको मन्दुम राई जातिले तीनचुलोमा कुलपूजा गर्दा होस् वा देवीदेवताको थानमा पूजा गर्दा होस्, धामीझाँक्रीले मुन्दुम फलाक्छन् । यस क्षेत्रका धामी झाँक्रीहरू (छाम्बाक, ङाङशुभा, तालुकसुङपा) ले देवीदेवतासँग मुन्दुम गाउँदै वरदान मागिन्छ । शहिदभूमि गाउँ गाउँपालिका–३ का भक्तविर राई (छाम्बाक) ले मेलामा आएर साकेन्वा र पञ्चकन्या डाँडामा रहेको देवीदेवताको अगाडि शक्ति माग्दै सेवापूजा (भक्तिपूजा) गरिरहेको बताउनुहुन्छ । यहाँका एक दर्जन धामीझाँक्रीले ढोल–झ्याम्टा, खुँडा, तरबार बोकेर मुन्दुम गाउने चलन छ । किरात धर्म–संस्कृति अनुसार, मुन्दुम देवी–देवताले सिकाएको मानिन्छ । आठपहरिया जातिको वढाङमी/वाडाङमेट खाल्सा क्षेत्र (शहिदभूमि) का राई जातिको वढाङमी पर्वसँगै धनकुटा नगरपालिका क्षेत्रभित्रका थातथलोमा बस्ने आठपहरिया जातिको पनि वढाङ्मी पर्व मनाउँदै नाचगान गरिरहेका छन् । आठपहरिया जातिको यो पर्व हिन्दूहरुको दशँै जस्तै महत्वपूर्व रहेको छ । यो पर्वमा पितृ पूजासँगै वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेकाहरु दुःखबाट चोखिने, नयाँ घर बनाए छ भने चोख्याउने, पहिलो सन्तान छोरो जन्मिएको घरमा हर्षबढाई गर्ने चलन रहेको धनकुटा नगरपालिका–५ का अष्टबहादुर आठपहरियाले बताउनुभयो । कात्तिकको भाइटिकाको दिन जमरा राख्ने र माड उठाउने(देवी आह्वान) गर्ने कामसँगै मङ्सिरको औंसीको दिनसम्म यो चाड मनाउने गरेका छन् । चाड शुरु भएपछि गाउँटोलमा ढोल नाच्ने, बराह र मार्गाको मुन्धुम गाउने (स्तुतिगान) चलन छ । यस बीचमा मङ्सिर पूर्णमाको चार दिनअघि वर्षभरि आफन्तको देहान्त भएर बरखी बारेका परिवार र उहाँका आफन्तले सुनसरीको बराहक्षेत्र मन्दिरमा पैदाल हिडेर दर्शन गरी चोखिने चलन रहेको अष्टबहादुरले बताउनुभयो । परापूर्वकालमा तेह्रथुमको पञ्चकन्यामा विष्णु भगवानले बराह अवतार लिएको बेला कन्दमूल खोजिखाने क्रममा फाक्चामाराका लिम्बु जातिले घेराहाली काटेर घाइते बनाएका थिए । घाइते भएका बराह धनकुटाको भगुवाखोला, भुल्केआहाले हुँदै सुनसरीको कोकाहा खोलामा आराम गरी बसेको किंबदन्ती रहेको छ । बराहलाई आठपहरिया जातिको इस्टदेवी मार्गा थानीको दाइको बराहलाई पुज्ने गरेका छन् । त्यसैले आठपहरिया जातिले मार्गालाई आमा र बराहलाई मामाको रुपमा पूजा गर्ने चलन रहेको छ । सप्तकोशी नदीको किनारामा रहेको बराहक्षेत्र मन्दिरमा रहेको बराहको दर्शन गरी त्यहाँको पानी ल्याएर घर चोख्याउने र बराहलाई धनकुटा आउन निम्तो दिने परम्परा रहेको अष्टबहादुरले बताउनु भयो । वढाङ्मेट पर्वको अवसरमा माङकाटा (धामी) बाट जोखाना हेर्ने, शुभकार्यको लागि दियो बत्ती हेर्ने, ढोल झ्याम्टा बजाउँदै वढाङमी नाच्ने र मारुनी नाच्ने चलन रहेको छ ।

