तनहुँ: समुद्री सतहबाट २ हजार १ सय ३४ मिटर उचाइमा रहेको आँबुखैरेनी–५ छिम्केश्वरी लाब्दीमा २० रोपनी जमीनमा व्यावसायिक रायो सागखेती गरिएको छ । किसानले उत्पादन गरेका कृषि उपज बिक्री सहजका लागि गाउँपालिकाले हाटबजारको व्यवस्था मिलाएपछि यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । स्थानीय सङ्गिता गुरुङ, टीकामाया गुरुङ, आइतमाया गुरुङ, लक्ष्मण गुरुङ लगायकाले प्रत्येकले दुई÷तीन रोपनीका दरले साग खेती गरेका हुन् । गाउँपालिकाले किसानलाई थप हौसला प्रदान गर्न उत्पादनको आधारमा प्रतिकिलो २५ रुपैयाँ अनुदानको व्यवस्था गरेको आँबुखैरेनी कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार छिम्केश्वरीका किसानले उत्पादन गरेका कृषि उपज हाटबजारसम्म ल्याउन ढुवानीको समेत व्यवस्था गरिदिएको छ । दिनमा २ सय ५० देखि ३ मुठासम्म साग बिक्रीका लागि ल्याउने गरिएको उहाँले बताउनुभयो । यहाँ उत्पादित सागप्रति मुठा रु १ सयमा बिक्री हुने गरेको छ । नाङ्गलो जस्ता सागको पात देख्दा उपभोक्ता किन्नका लागि भीड नै लाग्ने गर्दछन् । यहाँ उत्पादित साग रसिला र मीठो पनि उत्तिकै हुने भएकाले उपभोक्ताको रोजाइमा साग पर्ने गरेको छ । जलवायु परिवर्तनको असरका कारण कीराको प्रकोप हुँदा सागका पात खाने समस्या भएको छ,उहाँले भन्नुभयो “जलवायु मैत्री कृषि प्रविधितर्फ गाउँपालिकालाई उन्मुख गराउने योजना बनाइएको छ ।” जैविक विषादी निमजन्य विषादी कृषि शाखाले निःशुल्क रुपमा किसानलाई उपलव्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ । अघिल्लो वर्ष सागलगायतका तरकारी बिक्री गरेर १ किसानले ५०÷६० हजारसम्म आम्दानी गर्न सफल भए पनि यसवर्ष कीराको प्रकोपका कारण आम्दानी घट्ने देखिएको कृषि शाखा प्रमुख केसीले बताउनुभयो । गाउँपालिकाले रु ४० लाखको लागतमा वार्षिक २ लाख ५० हजार भाडा बुझाउने गरी जग्गा भाडामा लिएर दुई वर्षदेखि आँबुखैरेनी बजार क्षेत्रमा हाटबजार सञ्चालनमा ल्याएको हो । गाउँपालिकामा उत्पादित बाँसजन्य सामग्रीका साथै मह,घीउ, दही, पनिर, बेसार, अदुवा, अकबरे खुर्सानी, मकै, भटमास, स्कुस, बरेला, बोडी, च्याउ र बेमौसमी केराउ लगायतका कृषि उपज बिक्री वितरणमा सहज भएको छ । व्यावसायिक रुपमा यहाँका स्थानीयले तरकारी लगायतका कृषि उपज उत्पादन गर्न थालेपछि महिला आयआर्जनमासमेत सबल बन्दै गएको वडाध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । यहाँ उत्पादित कृषि उपज तल बेसीमा रहेको हाटबजारसम्म लगेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएपछि किसान उत्साहित भएर उत्पादनमा लागेका उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ । गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ । सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ । बाढीबाट रु ६ अर्बको क्षति भएको मन्त्रालयको अनुमान छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको हो । पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उहाँ लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
चितवन: गत वर्षको तुलनामा यो वर्ष चितवनमा धा उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान १ लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष १ लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो ।यो वर्ष २७ हजार २७० हेक्टरमा धानखेती भएको थियो । उक्त कार्यालयले क्रप‘क्रपकटिङ्’माध्यमबाट लिएको तथ्याङ्कअनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ । प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ । पूर्वी चितवनका केही स्थानमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबारो र पतेरा प्यानीकल व्लाईट रोगका कारण उत्पादन घटेको उक्त कार्यालयले जनाएको छ । जिल्लामा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ६, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरामसिनो, राम धानखेती हुने गरेको छ ।
काठमाडौं: क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ । २ मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिनुभएको थियो ।
कैलाली: कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो । ४ वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थाल्नुभएका उहाँले हाल ५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आउनुभएको छ ।५ वटा टनेलबाट उत्पादन भएको च्याउ विक्रीबाट सबै खर्च कटाएर छ महिनामा छ लाख बचत हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,– “हिउँदका छ महिना मात्रै च्याउ उत्पादन गर्छु । ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु । यो च्याउ प्रतिकिलो २ सयदेखि २ सय ५० मा बिक्री हुने गरेको छ ।” “बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन”, उहाँले भन्नुभयो,– “प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।” च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो,– “यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ । ४ जनाको परिवार छ,घर खर्च चलेको छ । पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु ।” च्याउखेती विस्तार गर्दै जाने आफ्नो योजना उहाँले सुनाउनुभयो । यसैगरी, गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गर्नुभएको छ । च्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक २ लाख बचत हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “च्याउखेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ ।” च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उहाँको अनुभव छ । च्याउसँगै डेढ कठ्ठा जग्गामा सागसब्जी पनि लगाउनुभएकी उहाँले त्यसबाट वार्षिक रु १ लाख बचत गर्दै आएको बताउनुभयो । (((
गोरखा: उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “कूल रु दुई करोड २८ लाखको लागतमा अस्पतालको भवन निर्माण भएको हो । भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।” नवनिर्मित अस्पताल भवनको बुधबार एक कार्यक्रम आयोजना गरी पालिकालाई हस्तान्तरण भएको छ । अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो ।
काठमाडौं: क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो । राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडास्थित गैरआवासीय नेपाली सङ्गठनलगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले उल्लेख्य सङ्ख्यामा टोरन्टोमा रहेका नेपाली प्रवासीलाई लक्ष्यित गरी शिविर सञ्चालन गरेको हो । उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिअनुसार विगत एक वर्षमा ‘ग्रेटर टोरन्टो एरिया’मा यस्ता दुईवटा शिविर सञ्चालन गरेर प्रवासी नेपालीलाई सेवा दिएको थियो । ग्रेटर टोरन्टो एरियामा प्रवासी नेपालीका सङ्ख्या अधिक छ । त्यहाँ सञ्चालन भएको यो तेस्रो शिविर हो । यसअघि दूतावासले एडमन्टन, भ्यानकुभर, ह्यालिफ्याक्स र क्यालगरी सहरमा पनि यस्तै शिविरमार्फत सेवा प्रवाह गरेको थियो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । बिहीबार युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५४ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३० पैसा कायम भएको छ । केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ १८ पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ८६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा, बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ । आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा तथा बिक्री दर ९६ रुपैयाँ ७२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ७९ पैसा कायम भएको छ । यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ । यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा तथा बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ १४ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ । यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १३ पैसा तथा बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

