धनगढी: लोड गरिएको अवस्थामा दुई नाल भरुवा बन्दुकसहित कैलालीमा एक जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको गोदावरी नगरपालिका ४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल बहादुर बुढामगरलाई मंगलबार साँझ दुई नाल भरुवा बन्दुक, गोली, बारुदसहित पक्राउ गरेको हो । बुढामगरको घरबाट करिब ५० मिटर पूर्व रहेको चैतडा सामुदायिक जङ्गलको खोल्सामा लुकाई–छिपाई राखेको अवस्थामा २ नाल लोड गरेको भरुवा बन्दुक, सोही बन्दुक नजिकै रहेको कालो रङको झोलाभित्र ४ ओटा फलाम र ४ ओटा सिसाको गोली गरी जम्मा ८ ओटा गोली र अन्दाजी १००/२०० ग्राम बारुद बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिए । बुढामगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
चितवनः भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु १ करोड १ लाखको अक्षयकोष स्थापना भएको छ । केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौँ संरक्षण सुरु भएको भन्दै उहाँले त्यसलाई निरन्तरता दिइएको बताउनुभयो । अक्षयकोषका लागि रु ११ हजार १ सयको आजीवन सदस्य र रु १ लाख १ हजारको संरक्षक सदस्य बनाइएको छ । पैतालिस जना संरक्षक सदस्य र ३ सय २५ जना आजीवन सदस्य छन् । विसं २०७४ बाट कोष स्थापना गरी रकम सङ्कलन गर्न थालिएको हो । कोषमा रु १० करोड जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा रु १८ लाखभन्दा बढी सङ्कलन भएको उहाँले बताउनुभयो । गौँ संरक्षण केन्द्रले २ सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताउनुभयो । दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् । योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नुभएको हो । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।
धरानः बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाउनुभएको थियो । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उहाँ कृषि क्षेत्रमा सक्रिय हुनुभयो । अहिले उहाँलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लाग्नुभएका उहाँले यसैबाट मनग्गे आम्दानी गरिरहुनभएको छ । हाल उहाँले एक विघामा भुइँकटहर लगाउनुभएको छ । यसबाट वार्षिक रु १५ लाख आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । वार्षिक रु एक लाख खर्च खर्च कटाउँदा रु १४ लाखसम्म सजिलै बचाउन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, भुइँकटहरको माग राम्रो छ बजारमा भनेको मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।” उहाँका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उहाँले भुइँकटहर प्रतिगोटा रु १ सयदेखि रु १ सय ५० सम्म बिक्री गर्दै आउनुभएको छ । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उहाँको भनाइ छ । अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक रु १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ । उहाँले एउटा विरुवालाई रु १० देखि रु २० सम्ममा बिक्री गर्दै आउनुभएको छ । उहाँको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप रु ७७ हजार उपलब्ध गराइसकेको छ ।
पोखरा: गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । सर्वाेच्चले उनलाई दोषी ठहर गरेको छ । उनी गण्डी प्रदेशमा सबैभन्दा बढी पटक मन्त्री बन्ने सांसद हुन् । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित सांसद हुन् । स्वतन्त्र निर्वाचित भएपनि उनी सत्तामोहका लागि कहिले नेकपा (एमाले) कहिले एकिकृत समाजवादी बन्ने गरेका थिए । पछिल्लो सयम उनी स्वतन्त्र भएको दाबी गर्दै आएका छन् । कसरी लाग्यो मनाङेलाई मुद्धा ? चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा २०६१ सालमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ७६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो । त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए । दीपक मनाङे उर्फ राजीव गुरुङको गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो। आक्रमणमा मनाङे समूहले चक्रेको हात नै छिनाएको थियो । पछि शिक्षण अस्पतालमा चक्रेको हात जोडिएको थियो । ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो । तर जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङेलाई २ वर्ष कैद सजाय सुनायो । तर जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारवादी उक्त मुद्दा पुनरावेदन अदालत पाटनमा दायर भयो । पुनरावेदनले जिल्ला अदालतको फैसलामा केही उल्टी गर्दै ज्यान मार्ने उद्योग अन्तर्गत मनाङेलाई ५ वर्षको जेल सजाय तोक्यो भने मनाङेसँगै अन्य आरोपितलाई सफाई दिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत बसाई लम्बिने भएको छ । आज उनलाई कास्की जिल्ला अदालत लगिएको थियो । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको तेस्रो पटक म्याद थप गरिएको हो । मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले हिरासतमा राखेर सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाको तत्कालिन प्रबन्धक निर्देशक हुँदा सो मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
जुम्लाः यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् । ८ वर्ष अघि सङ्घीय खानेपानी कार्यालय जुम्लाबाट तिला–९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिएपनि पनि उपझोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगर्दा योजना सञ्चालन हुन सकेन । स्थानीय सरकार गठन भएपछि रु ५० लाखमा गाउँमा खानेपानी लिफ्टिङ योजना बनाइयो तर पानी आइपुगेन । यहाँका बासिन्दाले धित मरुन्जेल खानेपानी पिउन नपाएको पुस्तौँ भइसक्यो । विसं २०३५ मा निर्माण गरिएका चारवटा सार्वजनिक धारा छन् । यी धारामा दैनिक ४ घण्टाका दरले पानी आउँछ । गाउँमा रहेका दुई सय ६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन् । कहिलेकाहीँ धारामा पानी नआउँदा १ घण्टा पैदल दूरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन् । ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदा पानीको सङ्कट झन् बढ्ने चिन्ता थपिएको छ । पानीको मूल विस्तारै सुक्न थालेको छ । मागअनुसार आपूर्ति नहुने भएकाले गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ । रारागाउँ वरपर पर्याप्त उर्वर जमिन छ । तर, सिँचाइ अभावले गाउँ मरुभूमिजस्तो देखिन्छ । गाउँको तलपट्टि कर्णाली राजमार्गको छेउबाट तिला नदी बगिरहे पनि खेतमा सिँचाइका लागि कुलो नभएको स्थानीयवासी मानसिंह रावतले गुनासो गर्नुभयो । “घरवरिपरिका करेसाबारी बाँझै छन, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । उत्पादन हुने उर्वर जमिन त छ, तर सुक्खा छ,” रावतले भन्नुभयो, “नदीको पानी खेर गइरहेको छ ।” १४ वर्षअघि खानेपानी आयोजना निर्माण थालिए पनि बिचमै रोकिएको थियो । उक्त आयोजना किन रोकियो, कति बजेट खर्च भयो भन्नेबारे स्थानीयले थाहै पाएनन् । सो आयोजनाका लागि ल्याइएको जिआई पाइपलगायतका केही निर्माण सामग्री तिला गाउँपालिका– ८, पुरुगाउँ खोलामा अहिले पनि लथालिङ्ग छन् । खानेपानीको समस्या समाधानका लागि हाल गाउँपालिकाले ४ करोडको योजना कार्यान्वयनमा ल्याएको छ । गत आर्थिक वर्ष २०८०ः८१ मा ६ करोडको ठेक्का आह्वान गरेकोमा चार करोडमा निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीसँग ३ वर्षभित्र खानेपानी गाउँमा पु¥याउने गरी सम्झौता भएको छ । पहिलो चरणको काम सुरु भएको गाउँपालिका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले जानकारी दिनुभयो । गाउँमा ३ वर्षभित्र खानेपानी पुञ्याउने गरी सङ्घीय सरकारबाट प्राप्त विशेष अनुदान अन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजन जम्मा बजेट रु ४ करोड ६९ लाखमध्ये गतवर्ष ५० लाख र यो वर्ष १ करोड ५० लाख क्रमागत रकम पालिकामा प्राप्त भएको हो । उक्त योजनाका लागि संयुक्त राष्ट्रसङघीय विकास कार्यक्रम (यूएनडिपी) ले रु ९५ लाख सहयोग गरेको हो । सो योजनामा १ करोड १० लाख पालिकाले बजेट विनियोजन गरेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो । योजना छिटो सम्पन्न गर्न अनुगमनलाई प्राथमिकतामा राखिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । तिला–६ बाट रारा गाउँसम्म मुहानको संरचना १५ किलोमिटर लामो छ । गाउँमा खानीपानी निर्माण योजनाको काम अघि बढेपछि स्थानीयवासीमा खुसी छाएको छ ।
पोखरा: रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रिहाइको माग गर्दै गरिएको प्रदर्शनमा झडप भएको छ । रविका समर्थकहरु निषेधित क्षेत्र नजिक पुग्न खोजेपछि कास्की प्रहरीले २ सेल अश्रु ग्यास प्रहार गरेको थियो । त्यसपछि भीड झन आक्रोशित बनेको थियो । त्यही क्रममा कास्की प्रहरीले लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित ११ जनालाई पक्राउ गरिएको रास्वपाका केन्दीय विभाग सदस्य उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार अहिले शान्तिपूर्ण तरिकाले नाराबाजी भइरहेको छ । पक्राउ परेकाहरुलाई विनाशर्त रिहाइको माग गर्दै उनले राजनीतिक प्रतिशोध साँध्दै सरकार उधो गतिमा लागेको टिप्पणी गरे । पक्राउ परेकाहरुलाई अहिले वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । आज लामिछानेलाई कास्की जिल्ला अदालत पेश गरिने भएपछि रास्वपाले विरोध कार्यक्रमको तयारी गरेको थियो । सोही अनुरुप अहिले पनि वाइचोकमा विरोध प्रदर्शन भइरहेको छ । थप तस्बिरहरु:-
काठमाडौँः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २ हजार ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु १ लाख ६८ हजार २ सय तोकेको छ । यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु १ लाख ७१ हजारमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ । महासङ्घले १ तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला रु २ हजार ९० मा कारोबार भएको थियो ।

