पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

धादिङः    पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा २ वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।  दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।   तीब्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।   

दार्चुलाः   प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा गोरूको प्रयोग गरी खेत जोत्ने चलन विस्तारै हराउन थालेको छ ।  तराईमा मात्र प्रयोग हुँदै आएको ट्याक्टर पछिल्ला केहीवर्ष यता पहाडी ग्रामीण बस्तीमा पनि पुग्न थालेसँगै यसको प्रयोग बढ्न थालेको हो । २ वर्ष अघिसम्म अपिहिमाल गाउँपालिका–४ का प्रकाश कार्कीले गोरूको सहायताले महिनौँ लगाएर खेतबारी जोत्नुहुन्थ्यो । यहाँका अधिकांशको घरमा कम्तिमा १  हलगोरू, हलो र जुवा हुन्थ्यो । अहिले प्रकाशको घरमा गोरू, हलो र जुवा केही छैनन् ।  खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै प्रकाशलाई खेतीकिसानी गर्न सजिलो भएको छ ।  महिनौँ लगाएर खन्नुपर्ने खेतबारी ट्याक्टरले २ दिनमा खन्न थालेपछि काममा सहज हुनुका साथै समयको बचत भएको कार्कीले बताउनुभयो ।  गाउँमा अहिले गहुँ छर्ने बेला भएको भन्दै आफ्नो खेतको काम सकेर अरुकोमा पनि काम  भ्याइने उहाँले उल्लेख गर्नुभयो ।  ट्याक्टरको प्रयोग बढेसँगै खेतीबाली लगाउन, माटो धुल्याउन निकै सजिलो भएको अपिहिमाल–४ का किसान बताउँछन् ।  यसअघि भनेको समयमा गोरू नपाउने, कामदारको अभावलगायत समस्या भोगिरहेका यहाँका किसानलाई ट्याक्टरको प्रयोग बढ्न थालेपछि काममा सहज भएको छ । ट्याक्टरको प्रयोग गरी काम गर्दा समयको बचत हुनुका साथै जमिन बाँझो राख्नुपर्ने बाध्यता अन्त्य भएको विनोद अट्यालले बताउनुभयो । खेत जोत्न ट्याक्टरको प्रयोग गर्न थालेपछि गोरू र खेताला खोज्नुपर्ने झन्झट हटेको उहाँको भनाइ छ ।  कम जनशक्ति र समयमा पनि धेरै काम गर्न सकिने भएकाले ट्याक्टरको प्रयोग उपलब्धिमूलक बनेको उहाँले बताउनुभयो । काममा सजिलो हुने भएपछि अहिले गाउँमा सामूहिक रुपमा ट्याक्टर खरिद गरेर भित्र्याउने चलन बढेको छ ।  सडक नपुगेको अपिहिमालका अधिकांश बस्तीसम्म अहिले ट्याक्टरको पहुँच पुगेको अपिहिमाल–४ का कल्यानसिंह बोहराले जानकारी दिनुभयो ।  उहाँका अनुसार गाउँमा डिजेल रु २ सय ३० प्रतिलिटरमा पुगेको भन्दै महँगो भए पनि किसानले ट्याक्टरको प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् । “पाखा र भिरालो बारीमा मकै, गहुँ, जौ, धानलगायत अन्न छर्न अहिले खेत जोत्ने काम गोरूले नगरी मिनिटिलर (हाते ट्याक्टर)बाट हुन थालेको छ ।  गाउँमा अधिकांशले गोरू पाल्न छोडिसकेका छन्”, बोहराले भन्नुभयो, “अहिले खेती गर्न प्रविधिको प्रयोग बढ्दै गएकाले हामीले पनि हाते ट्याक्टरको प्रयोग गर्न थालेका हौँ ।”  अपिहिमाल–२ का डब्बलसिंह कार्कीले गाउँमा थोरै परिवारले मात्रै अहिले गोरू पाल्ने गरेका सुनाउनुभयो ।  “५–६ वर्ष अघिसम्म गाउँका हरेक घरमा एक हलगोरू हुन्थ्यो । अहिले गाउँमा एकाधबाहेक गोरू नै छैनन्”, उहाँले भन्नुभयो, “दुई–तीन परिवारको खेतमा एउटै व्यक्तिको गोरू प्रयोग हुने गरेको छ ।  अधिकांशले हाते ट्याक्टर प्रयोग गर्छन् ।” किसान वसन्तसिंह लोथ्यालले शिक्षा तथा रोजगारीको खोजीमा युवाले गाउँ छोड्दै जाँदा गाउँमा गोरूको विकल्पमा ट्याक्टरको प्रयोग बढ्न थालेको बताउनुभयो । “काम गर्ने युवा गाउँमा नभएपछि गोरू पाल्ने चलन पनि हराउँदै गएको छ । गोरू चराउने, घाँसपानी गर्ने कोही नभएपछि विस्तारै गाउँलेले गोरू पाल्न छोडेका हुन्”, उहाँले भन्नुभयो ।  

बेनीः   म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ ।  गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि प्रेरणाको स्रोत बन्नुभएको हो।  आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले ९ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय घिमिरेले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल हुनुभएको छ । “जहाँ भएपनि काम नगरी सुःख पाइदैन,” उहाँले भन्नुभयो “बिचौलियालाई लाखौ पैसा दिएर आफैलाई बेचेर विदेशमा पुगेर अर्काको नोकर बन्नुभन्दा आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ् ।”  ५ हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गर्नुभएका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरु लटरम्मै झुलिरहेका छन् ।  काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले १ याममा रु ४ लाखभन्दा बढी कमाई हुने बताउनुभयो ।  अमृता कृषि फार्म सञ्चालन गरेका घिमिरेले आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँले गोलभेडा, काउली, बन्दा, आलु, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बेनी बजारमा बिक्री गर्दै आउनुभएको छ ।  घिमिरेको कृषि फार्ममा श्रीमती र छोराले पनि साथ दिनुभएको छ । छोरालाई उच्च शिक्षा पढाउन र घरब्यवहार चलाउन तरकारी खेतिले सहज भएको घिमिरेले बताउनुभयो ।  कृषि ज्ञान केन्द्रले हाइटेक प्रबिधिको टनेल स्थापना गर्न सहयोग गरेको छ ।  केन्द्रका प्रमुख सञ्जिब बास्तोला चन्द्रबहादुर मेहनती, परिश्रमी, संघर्षशिल र सफल अगुवा कृषकको पहिचान बनाउन सफल भएका बताउनुहुन्छ ।  बेनी नजिकै रहेको र सडक यातायातको सुविधाका कारण बजारको समस्या नभएपछि छिमेकीको जग्गाका हुर्कदै गरेका रुखको ओसेप घिमिरेको ब्यवसायिक तरकारी खेतीका लागि चुनौति बनेको छ ।

काठमाडौँः  आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअनुसार देशको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको छ ।  यही कात्तिक १६ देखि १८ गतेसम्म पालिस डेस कङ्ग्रेसमा आयोजित ३४ औँ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालको पर्यटन प्रगवद्र्धनसम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो । ओटावास्थित नेपालको राजदूतावासले पालिस डेस सम्मेलन केन्द्रमा एकल प्रदर्शनीकक्ष खडा गरेर नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने प्रवद्र्धनात्मक वृत्तचित्र र अन्य प्रचारात्मक सामग्री प्रदर्शन गरिनुका साथै ती सामग्री आगन्तुकहरूलाई प्रदान गरिएको थियो ।  उक्त दूतावासका अनुसार नेपाल प्रदर्शनीकक्षमा हस्तकला, काष्ठकला, थान्का, पश्मिना सल,चिया, कफीलगायत नेपालका प्रमुख निर्यातजन्य सामग्री प्रदर्शन गरिएका थिए । ठूलो सङ्ख्यामा नेपालकक्षमा आएका आगन्तुकहरूले रुचिपूर्वक प्रदर्शनीको अवलोकन गर्नाका साथै नेपालका उत्पादन तथा पर्यटकीय गन्तव्यबारे जानकारी लिएका थिए ।   

पोखराः   हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड,  ५ किमी र ह्यप्पी रन समूहमा २ किमी दौड हुनेछ ।  समूह विजेताले रु ४  लाख ५८ हजार, उपविजेताले रु ३ लाख ४३ हजार, व्यक्तिगत विजेता महिला र पुरुषले समान रु १ लाख ५२ हजार पाउनेछन् । विद्यार्थीतर्फको प्रतिष्पर्धाका विजेताले रु ३० हजार पाउँने छ । ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर  पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिनुुभयो ।  प्रतियोगिताले नेपाल र चीनबीचको युुगौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउनुुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।  साहसिक खेलकुदको सहरका रूपमा परिचित पोखरामा यो प्रतियोगिताका साथै इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङलगायत अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । पोखरामा प्याराग्लाइडिङमा जिपलाइन, बञ्जी, अल्ट्रालाइटजस्ता साहसिक पर्यटनका निम्ति पनि चिनियाँ पर्यटक आउने गरेका छन् ।   नेपालमा आउने चिनियाँ पर्यटकमध्ये ४० प्रतिशतले पोखरामा भ्रमण गर्ने होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो ।  चीनबाट धेरै पर्यटक भित्र्याउन सकिने पोखरा पर्यटन परिषद्का उहाँले बताउनुुभयो । व्यापारिक प्रयोजनका लागि पनि चिनियाँ पोखरा आउने गरेका छन् । क्रस कन्ट्री प्रतियोगिताले पोखरासहित समग्र मुलुकका पर्यटकीय क्षेत्रको चीनमा प्रवर्द्धन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ ।       क्रस कन्ट्री रेसका लागि चीनबाट सिछुवान विमान सेवाको विमान  चार्टर गरेर १ सय ४० जना खेलाडी पोखरा विमानस्थलमा अवतरण गर्ने जानकारी दिँदै अध्यक्ष सुवेदीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण पूरा भई सञ्चालन भए पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा विदेशबाट विमान चार्टर गरेर सोझै पोखरामा अवतरण हुनु सकारात्मक भएको बताउनुभयो ।  प्रतियोगिता नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा हुनलागेको हो ।  प्रतियोगिताका क्रममा भोलिदेखि तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ ।  पोखरा पर्वतीय सङ्ग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी पनि हुनेछ । त्यस क्रममा खेलकुद परिषद्लाई युनान खेलकुद ब्यूरोले खेल सामग्री तथा उपकरण प्रदान गर्ने कार्यक्रम छ ।    

काठमाडौँः    नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ ।  मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । साथै हिजो क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेकामा आजका लागि एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा कायम भएको छ ।  साथै आजका लागि अमेरिकी डलर एकको खरिददर १ सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ८८ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर १ सय ४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ७५ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।  बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर १ सय दुई रुपैयाँ ०१ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा कायम भएको छ ।  केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर ४ रुपैयाँ र बिक्रीदर ४ रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ७७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।  राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।  वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।   

काठमाडौँः    नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताउनुभयो । सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ ।  उहाँका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औँ हप्ता चलिरहेको छ ।   डा दाहालले ४२औँ हप्तामा मात्रै २ हजार ५ सय ८२, ४३ औँ हप्तामा २ हजार २ सय ४ , ४४ औँ हप्तामा १ हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।  “जाडो बढेसँगै डेङ्गी सङ्क्रमण घटिरहेको छ”, उहाँले भन्नुभयो, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । सङ्क्रमण घटेपनि सावधानी अपनाउनुपर्छ ।”  अहिलेसम्म २९ हजार १ सय ५८ मा सङ्क्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिनुभयो ।  उहाँका अनुसार डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ ।  सबैभन्दा बढी कास्कीमा ७ हजार २ हजार २४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ ।  उपत्यकामा ६ हजार ६ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाडौँमा ४ हजार ५ सय ९५, भक्तपुरमा ८ सय ३१ र ललितपुरमा १ हजार १ सय ८६ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।  

पोखरा:   रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखराको मानवअधिकार चोकमा प्रर्दशन गर्ने भएको छ ।   लामिछानेको रिहाइको माग गर्दै मानवअधिकार चोकमा प्रदर्शन गरिने केन्द्रीय विभाग सदस्य उत्तम पौडेलले जानकारी दिए ।    उनका अनुसार आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकमा उक्त कार्यक्रम हुँदैंछ ।   यस्तै पार्टीको निर्देशन अनुसार विभिन्न जिल्लामा समेत विरोध कार्यक्रमको तयारी भइरहेको छ ।   मंगलबार तेस्रो पटक कास्की जिल्ला अदालत पेश गरिएका लामिछानेलाई १५ गतेदेखि गणना हुने गरि फेरि १० दिन हिरासतमा राखेर अनुसन्धान  गर्न अदालतले अनुमति दिएपछि रास्वपाका कार्यकर्ता थप आक्रोशित बनेका हुन् ।   हिजो भएको प्रर्दशनको क्रममा ११ जना रास्वपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपनि बेलुकी छाडिएको थियो।     पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।  

पोखराः    प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग जग्गा माग गरेको छ ।  प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको २ सय रोपनी जग्गा प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरिएको जानकारी दिनुभयो ।  प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा उक्त विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेपनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि उक्त योजना समेटिँदै आएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । “प्रधानमन्त्रीसमक्ष जग्गाव्यवस्थापनलगायत विभिन्न १२ मागहरु मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, उहाँले भन्नुभयो ।  मन्त्री पाठकले जग्गा अभावकै कारण विशिष्टीकृत अस्पताल निर्माणमा बिलम्ब भइरहेको बताउनुभयो । उहाँले प्रदेशमा एकीकृत सेवासहितको मातृशिशु, महिला तथा बाल अस्पताल स्थापनाका लागि पनि पहल भइरहेको जानकारी दिनुभयो ।  जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पतालको जरुरी रहेको उहाँको भनाइ छ । मन्त्री पाठकले अन्तरङ्ग सेवासहित २५ शय्याको गण्डकी आयुर्वेद अस्पताल र धवलागिरि आयुर्वेद अस्पतालको स्तरवृद्धिका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन सङ्घ सरकारसँग माग गरिएको बताउनुभयो ।  प्रदेश सरकारले प्राकृतिक चिकित्सा, आयुर्वेद उपचार पद्धति र मेडिकल विज्ञानसमेत सेवालाई एकै ठाउँबाट प्रवाह हुने गरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनाको लक्ष्य लिएको उहाँले बताउनुभयो ।  उक्त केन्द्रका लागि राष्ट्रिय खेलकुद परिषद्को नाममा पोखरा रङ्गशाला परिसरमा रहेको पाँच रोपनी ७ आना जग्गा प्राप्तिका लागिसमेत सहजीकरण गरिदिन प्रधानमन्त्रीसमक्ष माग राखिएको मन्त्री पाठकको भनाइ छ ।  गण्डकी प्रदेश सरकार र स्थानीय तहअन्तर्गत सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणदेखि स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि आवश्यक स्रोतसाधनको व्यवस्थाका लागि सङ्घ सरकारसँग माग गरिएको उहाँले बताउनुभयो ।  स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उहाँले बताउनुभयो ।  मन्त्रालयको कार्ययोजनाअन्तर्गत कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।   “नागरिकलाई सर्वसुलभ र गुणस्तीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ” मन्त्री पाठकले भन्नुभयो ।