पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ । फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित षेत्रका बासिन्दाहरूले आफुहरू भयभीत भएको बताएका छन् । इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको बताउनुभएको छ । उहाँका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ । एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ । ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् । ज्वालामुखीमामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रविन्दु) को सात किलोमिटर दायराभित्र केहि गतिविधिहरू नगर्न निर्देशन दिएको छ । पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रुपमा वृद्धि भइ घरहरुमा क्षति गरे पछि स्थानीयले साम्प्रदायिक भवनमा शरण लिएका छन् । ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयहरूलाई मास्क लगाउन आग्रह गरेको छ ।
भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३६ पुगेको छ । प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८:३० बजे दुर्घटना भएको हो । मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो । दुर्घटनामा थप केही व्यक्ति घाइते भएका र घाइतेमध्ये गम्भीर चोट लागेका तीन जनालाई हवाइ उद्धार गरी देहरादून लगिएको छ । सरकारी उद्धार टोलीले सार्वजनिक गरेको तस्बिरमा बसको भग्नावशेष बाक्लो झाडीमा देखिएको छ भने गाडीको अगाडिको भागमा पूर्णरूपमा क्षति भएको छ । उत्तरी राज्य उत्तराखण्डका एक वरिष्ठ अधिकारी दीपक रावतले भन्नुभयो, “अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका कारण आफ्ना प्रियजन गुमाएकाहरुप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालयबाट जारी एक विज्ञप्तिमा मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग स्वरुप दिने जनाएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजार नजिकैको जङ्गलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताउनुभएको छ । भारतको पहाडी इलाकामा सडकको दुरावस्था, पूराना यातायातका साधन र चालकको लापर्बाहीका कारण हुने दुर्घटनाका कारण हरेक बर्ष सयौँ व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ ।
छठ पर्व मनाउन तीन दिनमात्रै बाँकी रहँदा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा छठपूजाका छठ घाट दुलहीझैँ सजाउने काम भइरहेको छ । यहाँ प्रमुख चाडका रूपमा मनाइने छठका लागि विभिन्न पोखरी, नदी र तलाउमा बनाइएका मन्दिर र घाटलाई विभिन्न वस्तुले दुलहीझैँ सजाउने काम तीव्र रूपमा भइरहेको हो । मिथिलाञ्चलभर एउटै पोखरी तथा नदी तलाउमा धेरै व्यक्तिले छठ पर्व मनाउने चलन रहेकाले १५/२० दिन पहिलेदेखि नै छठ घाटमा विभिन्न तयारी गरिन्छ । जलेश्वर नगरपालिका–५ निवासी संस्कृतिविद् धु्रव रायले मिथिलाञ्चलमा धुमधामका साथ छठ मनाउनका लागि तयारी करिब अन्तिम चरणमा रहेको ेबताउनुभयो । सूर्य भगवान तथा छठ माताको पूजा पानीमै हुने भएकाले मिथिलाञ्चलका जलाशय सरसफाई, घाट निर्माण, सडक, बाटो बनाउने काम सकेर अब घाटमा पंडाल निर्माण, बिजुलीबत्ती जडान, तोरन झुण्ड्याउनेलगायत काम जोडतोडका साथभइरहेका जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहले जानकारी दिनुभयो । जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले स्थानीयस्तरमा रहेका सबैजसो जलाशयमा एक महिना पहिलेदेखि नै सरसफाई, मर्मतसम्भार, मन्दिर निर्माण गरी छठको तयारी सुरु हुने बताउनुभयो । उहाँले यसका लागि जलेश्वर नगरपालिकाभित्र रहेका प्रमुख जलाशय वरुण सरोवर, परिक्रमा पोखरी, पाठक पोखरी, चौधरी पोखरी, अस्पताल पोखरी, मिश्रपोखरी, भारी पोखरी, सारी पोखरी, सुगापोखरी, पिगौना पोखरी, बखरीघाटलगायत घाट सिङ्गार्ने काम भइरहेको बताउनुभयो । यसैबीच परापूर्व कालदेखि नै सूर्यपूजा तथा छठी माताको पूजाको लागि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीमा बीच पानीमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै बाँसको तैरिने बाटो निर्माण गरिएको छ भने करीब आधा किलोमिटरसम्म गुफाबाला पंडाल र विभिन्न साजज्जा र बिजुलीबत्ती जडान गरिने कार्य भइरहेको स्थानीय प्रदीप पाठकले बताउनुभयो ।
यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ । केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ । मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्न सक्ने जानकारी दिनुभयो । “गत असोजमा आएको बाढी तथा डुबानका कारण मधेस प्रदेश तथा बागमती प्रदेशलाई सबैभन्दा बढी असर गर्यो, पाकेको बाली पनि बगायो, कति स्थानमा काटेको बाली नै पानीको भेलले नष्ट गरायो”, उहाँले भन्नुभयो, “मधेस प्रदेशमा ५७ हजार हेक्टर धान खेतमा क्षति भएको छ, वास्तविक क्षतिको विवरण आउन अझै बाँकी छ । सिरहा, सप्तरीमा जग्गा कटानी भएको र बालुवा थुप्रिएर धान क्षति भको छ जसले गर्दा दुई प्रतिशतसम्म धान उत्पादनमा ह्रास आउँछ कि भन्ने हाम्रो अनुमान छ ।” राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले गत असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेस र बागमती प्रदेशमा धान उत्पादनमा असर परेको बताउनुभयो । “मौसमसम्बन्धी पूर्वसूचना किसानमा पुग्न सकेमा धान कति बेला काट्न हुने या नहुने विषयमा जानकारी हुन्छ र कम क्षति पुग्छ”, उहाँले भन्नुभयो । क्षतिको आँकलन गरिँदै मन्त्रालयले मनसुनजन्य विपद्का कारण धान खेतमा भएको क्षतिसम्बन्धी विस्तृत आँकलन निकाल्न आगामी मङ्सिर अन्तिम साता प्रदेशिक गोष्ठी गर्ने भएको छ । मन्त्रालयका सूचना अधिकृत जोशीका अनुसार सबै प्रदेशबाट सङ्कलित डाटालाई समेटेर क्षतिको यकिन तथ्याङ्क निकाल्न गोष्ठी आयोजना गर्न लागिएको छ । गोष्ठीमा सबै प्रदेशकासम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहने उहाँको भनाइ छ । रोपाइँमा मात्रै अनुकूल रह्यो मनसुन यस वर्ष धान रोपाइँका लागि मात्रै मनसुन अनुकूल रहेको थियो । अधिकांश रोपाइँ आकाशे पानीकै भरमा सम्पन्न हुने गरेकोमा यस वर्ष धेरै पानी पर्दा रोपाइँका लागि मनसुन सुखद् रहेको मन्त्रालयले विश्लेषण गरेको थियो । मन्त्रालयको अनुसार ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकोमा यस वर्ष झण्डै चार प्रतिशत रोपाइँ बढेको थियो । मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार छ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा हालसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष भदौ ७ गतेसम्म कोशी प्रदेशमा ९७ दशमलव सात र मधेस प्रदेशमा ९७ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो । बागमती प्रदेशमा यस वर्ष ९९ दशमलव दुई, गण्डकी प्रदेशमा भने ९७ दशमलव आठ, लुम्बिनी प्रदेशमा ९८ दशमलव तीन, कर्णाली प्रदेशमा यस वर्ष ९९ दशमलव दुई र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत नै रोपाइँ सम्पन्न भएको थियो । गत वर्ष करिब ५७ लाख मेट्रिकटनसम्म धान उत्पादन भएको थियो । यस वर्ष बढी रोपाइँ हुँदा धान उत्पादन सात प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ । तर भित्र्याउने बेलामा खराब मौसमका कारण उल्टो गत वर्षको तुलनामा घट्ने अनुमान गरिएको छ । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले धान भित्र्याउने समयमा मौसम अनुकूल नरहँदा उत्पादनमा ह्रास आउने सम्भावना रहेको बताउनुभयो । “यस वर्ष धान रोपाइँ राम्रो भएको थियो, धानका लागि वर्षा पनि राम्रो भयो”, उहाँले भन्नुभयो, “तसर्थ ७ प्रतिशतसम्म धान उत्पादन बढ्ने अपेक्षा थियो, भित्र्याउने बेलामा मौसम अनुकूलन नहुँदा अब उत्पादन घट्ने भयो ।” यस वर्ष रासायनिक मलको सहज उपलब्धता र किसानका लागि मनसुन सुखद रहेको कारण झण्डै चार प्रतिशतले रोपाइँ बढेको थियो । अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भएकाले रोपाइँ समयमा नै सकिएको जोशीले जानकारी दिनुभयो । “अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समयमा नै हुनेगर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ”, उहाँले भन्नुभयो, “रोपाइँलाई सहज थियो मौसम, अहिले भएन ।” वर्षाको थप असर गत असोजको मात्रै होइन केही दिनयता परेको वर्षाको कारण धान खेतलाई असर गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको अनुसार केही दिनयता मुलुकको अधिकांश पहाडि भेगमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । यसले काटेर थुपारिको धानको पाँजा (निहिन) लाई असर पार्ने देखिएको छ । मङ्गलबारदेखि मौसम सफा हुने महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केही दिनयता मुलुकको विभिन्न पहाडी क्षेत्रमा भइरहेको वर्षा आज रातिसम्म रहने छ । “हामी तीन दिने मौसमी पूर्वानुमान गर्ने छौँ, मङ्गलबार दिउँसोदेखि मौसम सफा रहने छ”, उहाँले भन्नुभयो, “तीन दिनसम्म वर्षा हुने सम्भावना छैन, पछिको अवस्था कस्तो रहन्छ भन्ने अनुमान अहिल्यै गर्न सकिने छैन ।” उहाँका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आयात बढ्ने सक्ने मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा रु ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ । यसैगरी, करिब रु ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको छ । मन्त्रालयका अनुसार यस अवधिमा रु आठ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ । करिब रु नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ । यस वर्ष धान उत्पादन कम भएसँगै आयात पनि बढ्न सक्ने मन्त्रालयको अनुमान गरिएको छ । यस्तो छ, धान उत्पादनको अवस्था कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन पुगेको थियो । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो । कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव २०७९/८० को तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल अघिल्लो चार आवका औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औषत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो । गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ । गत आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश चार दशमलव ४३ मेट्रिकटन प्रतिहेक्टरसहित अग्रस्थानमा रहन गर्यो भने मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिकटन प्रतिहेक्टर मेट्रिकटनमा सीमित भई न्यून स्थानमा रहन पुग्यो । मुख्य धानको तुलनामा विगतका आवमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ ।
प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो । काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौँबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ । देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा तथा तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाडौँ उपत्यका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।
प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो । फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताउनुभयो । तीन दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उहाँले बताउनुभयो । बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापा बताउनुहुन्छ । बारी भरि लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उहाँको भनाइ छ । फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दैआएको थापाको भनाइ छ । प्रतिकिलो फूल रु पाँच सय र प्रतिमाला रु एक सय ५० मा बिक्री भएको थापाले बताउनुभयो । हरेक वर्ष तिहारमा फूलमाला माग अनुसार पुर्याउन नसकिएको उहाँको भनाइ छ । यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ । स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ । गाउँघरमा पनि विद्यालय, विभिन्न सङ्घसंस्थाको आयोजनामा लक्ष्मीपूजा तथा दीपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ । भाइटीकाका दिन लगाउन मात्र नभई तिहार पर्व सुरु भएदेखि नै घर, विद्यालय तथा सङ्घसंस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खरिद गर्न ग्राहक बढेका छन् । यहाँ हरेक वर्ष रु दुई लाखदेखि रुतीन लाख बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लैजाने तयारी गरेको छ । उनी कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानकै क्रममा कास्की प्रहरी हिरासतमा छन् । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिएको थियो । तर, तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् । मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि बुटवल ल्याउने रूपन्देही प्रहरीको तयारी छ । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैंयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ अनुमति दिएको थियो । प्रहरीले अदालतको त्यही अनुमतिअनुसार अनुसन्धानका लागि बुटवल ल्याउने तयारी गरेको हो । बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यो खबर कन्तिपुरमा घनश्याम गौतमले लेखेका छन् ।
व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ खानेपानी र शौचालय अभाव हुनाका साथै फोहोर व्यवस्थापनको चुनौती बढेको हो । कोरला नाका घुम्न गएकी पोखराकी रक्षा श्रेष्ठले व्यवस्थित सार्वजनिक शौचालय नहुँदा झाडी खोज्नुपर्ने समस्या रहेको गुनासो गर्नुभयो । “एउटा सार्वजनिक शौचालय भए पनि फोहोर भएकाले प्रयोग गर्न नमिल्ने भएको रहेछ,” उहाँले भन्नुभयो “पानीको पनि सुविधा नभएकाले झाडी खोज्नुपर्दा असहज भयो ।” नेचुङमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका अनुसार असोज महिनायता दैनिक तीन सय वटाको हाराहारीमा बस, जिप र मोटरसाइकलमा हजारौँ आन्तरिक पर्यटकहरु कोरला नाका घुम्न पुगेका छन् । छोसेरदेखि माथि कोरलातर्फ विदेशी पर्यटकलाई निषेध गरिएको छ । आन्तरिक पर्यटकहरुलाई पनि नेचुङभन्दा माथि क्यामेरा लैजान र कोरोला नाकामा चीनतर्फ फर्किएर तस्बिर खिच्न रोक लगाइएको छ । सुक्खा मरुभूमिजस्तै समथर फाँट, पृष्ठभूमिमा देखिने हिमाल र सीमापारि चीनले बनाएका संरचना हेर्न तथा किनमेलका लागि नेपालीहरु कोरला नाका पुग्ने गर्छन् । मोटरसाइकल चढेर कोरला नाका पुगेका पोखराका सौरभ गौतमले सूचनामूलक होडिङ बोर्ड र फोहोर फाल्ने डस्टबिन राख्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले सुरक्षा निकाय र आपत्कालीन आश्रयका लागि कोरलामा बनाएको १० कोठे प्रिफेक प्रविधिको अस्थायी संरचनाको भवनमा गत हप्ता अध्यागमन कार्यालय स्थापना भएको छ । अध्यागमन कार्यालय स्थापना गर्नुअघि कोरला नाकामा मोबाइल, इन्टरनेट र विद्युत् सुविधा विस्तार भएको थियो । कोरलामा ब्यवसाय गर्दै आएका लोमान्थाङ–१ छोसेरका छिरिङ ल्यामो गुरुङले खानेपानी र शौचालयको अभाव खड्किएको बताउनुभयो । “चीनले कहिलेकाहीँ ट्याङ्करमा दिने पानीले पुग्दैन्,” उहाँले भन्नुभयो, “१० किलोमिटर तलबाट गाडीमा पिउने पानी ओसार्ने गरिएको छ ।” संसदीय समितिको सुझाव कात्तिक दोस्रो साता गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिको टोलीले कोरला नाकाको निरीक्षण गरेको थियो । निरीक्षणमा सहभागी मुस्ताङबाट निर्वाचित प्रदेशसभा सदस्य बिकल शेरचनले कोरलामा तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको विषयमा सरकारलाई सुझाव दिएको बताउनुभयो । खानेपानी र शौचालयका साथै फोहोर व्यवस्थापनका लागि तत्कालै काम गर्नुपर्ने उहाँले बताउनुभयो । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रूपमा बन्द भएको थियो । चार वर्षपछि २०८० कात्तिक २७ गते कोरला नाका सञ्चालन भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । विसं २०५८ सम्म रोकतोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो । नाका सञ्चालनको व्यावसायिक योजना बनाउन र भौतिक संरचनाको आवश्यकता देखिएको गण्डकी प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिका सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । चीनलाई सुरक्षाप्रति विश्वस्त बनाउन नाकामा सुरक्षा र राज्यका निकायको नियमित उपस्थितिका लागि पूर्वाधार निर्माणको काम तत्कालै अघि बनाउन समितिले सरकारलाई सुझाव दिएको छ । कोरलामा बन्दरगाहा निर्माणका लागि सरकारले एक हजार रोपनी जग्गाको व्यवस्थापन पनि गरिरहेको छ । तर स्थायी भौतिक संरचना बनाउन बजेट व्यवस्थापन तथा काम सुरु भएको छैन । नेपाली टहरामा, चीनतर्फ भव्य महल कोरलाको चीनतर्फ निर्माण भएको भवनभित्र पसलहरु छन् । भवन पछाडि ठूलो बस्ती बसेको छ । चीनले कोरलासम्म कालोपत्र सडक निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रवेश अनुमतिपत्रका आधारमा मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा चिनियाँ बजारमा किनमेलका लागि जाने गर्छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका बासिन्दाका लागि पनि प्रवेशपत्र वितरणको काम भइरहेको छ । हालसम्म करिब तीन हजारजनाले प्रवेश अनुमतिपत्र लिएका प्रशासनले जनाएको छ । छोसेरका व्यवसायीहरुले नेपालतर्फ त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन् । चिया तथा खाजा पसल खुलेपछि पर्यटक र व्यापारीलाई सहज भएको छ । अस्थायी टहरा नहुँदा चिसो बतास चल्ने सो ठाउँमा चिसोले पाँच मिनेट टिक्न पनि मुस्किल पर्ने गरेको थियो । चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पीठो, चिउरा, चाउचाउ, जडीबुटी, पस्मिनालगायत सामान निकासी गर्न सकिने सम्भावना रहेको छ । हाल चीनबाट आयात मात्र भएको छ । नेपाली सामान चीनतर्फ निकासी हुन सकेको छैन । आर्थिक वर्ष २०८०/८१ मा रु आठ लाख राजस्व सङ्कलन गरेको नेचुङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु एक लाख १० हजार राजस्व उठेको जनाएको छ । कोरलाबाट ल्याएको सामान जाँचपास गराउन १३ किलोमिटर तल नेचुङमा रहेको भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउनुपर्दा झन्झट भएको उहाँले व्यवसायी मीना गुरुङले बताउनुभयो । अध्यागमन कार्यालयसँगै भन्सारसम्बन्धी सेवा र सुरक्षा पोष्ट पनि कोरलामै राख्नुपर्ने ब्यवसायीहरुले बताएका छन् । सरकारको प्रतिवद्धता अधिकृतको नेतृत्वमा आठजना कर्मचारी रहने गरी स्थापना भएको अध्यागमन कार्यालय चीनबाट नेपाल आउन र नेपालबाट चीन जानका लागि भिसा जारी गर्ने, भिसा ट्रान्सफरसम्बन्धी सेवा प्रवाह हुने अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताउनुभयो । अध्यागमन कार्यालयको कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको थियो । उहाँले कोरलालाई अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको, हिन्दू धर्मावलम्बीहरुलाई मानसरोवरको तीर्थयात्रा र बौद्ध धर्मावलम्बीलाई लुम्बिनी आवतजावतको व्यवस्था मिलाइने बताउनुभएको थियो । उहाँले नेचुङमा निर्माण भएको सशस्त्र प्रहरी बलको (बिओपी)को भवनको पनि उद्घाटन गर्नुभएको थियो । जोमसोमदेखि कोरला नाकासम्म एक सय दश किलोमिटर दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक स्तरोन्नति थालिएको आठ वर्षमा पनि पूर्णता पाएको छैन । पोखरासम्मकै सडकलाई सहज बनाउन सरकारले प्राथमिकता दिएको गृहमन्त्री लेखकले बताउनुभएको थियो । लोमान्थाङको लुङ्कुफाँटमा नेपाली सेनाको क्याम्प राखिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत वर्ष प्रदेश सरकारको रु ५० लाख बजेटबाट बनेको भवनमा अध्यागमन कार्यालय स्थापना भएको बताउँदै थप आवश्यक पूर्वाधार निर्माणका लागि पनि स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय तथा साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको थियो । चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्ने सडकलाई गण्डकी प्रदेशको भाग्यरेखाका रुपमा प्राथमिकता दिएर स्तरोन्नतिको काम भइरहेको पनि उहाँले बताउनुभयो ।

