गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै योजनाहरू अघि बढाएको बताएका छन् । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) को छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनमा प्रमुख अतिथि मन्त्री पाठकले योजना अनुसार नै गण्डकीबासीको स्वास्थ्यलाई स्वस्थ बनाउन प्रयास सुरु गरिएको बताए । प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न तीन कालीन योजना बनाएर काम थालेको उनको भनाई छ । ‘अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने बाटो तय गरेको छु’, उनले भने । यसैबीच, गण्डकीको स्वास्थ्य सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । निजी स्वास्थ्य संस्थाका समस्यालाई हल गर्ने जिम्मेवारी आफूले लिने उनले बताए । स्वास्थ्य क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन लागि पर्ने पनि मन्त्री पाठकले बताए । अफिनले स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेका ६ जनालाई सम्मान पनि गरेको छ । चार दशक भन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा डाक्टर विनोद तुलाचन, नर्सिङतर्फ किरण चन्द, ल्याबर्फत श्यामकृष्ण प्रधान, फार्मेसीतर्फ टंकबहादुर साही, रेडियोलोजीतर्फ वेदबहादुर रायमाझी र फिजियोथेरापीतर्फ विजय प्रधान रहेका छन् । उनीहरुलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री पाठक, पोखरा महानगरपालिका मेयर धनराज आचार्य र संस्थाका अध्यक्ष डाक्टर गिरधारी शर्माले संयुक्त रुपमा सम्मान गरेका हुन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निजी स्वास्थ्य संस्थाले राम्रो काम गरिरहेको बताउँदै बेला बेलामा अनुगमन हुनुपर्ने बताए । उनले निजी स्वास्थ्य संस्थासँग सहकार्य गर्न महानगर पनि तयार रहेको बताए । अफिन गण्डकीका अध्यक्ष डाक्टर गिरधारी शर्माले गण्डकीमा निजी स्वास्थ्य संस्थामा करिब १ सय ५० अर्ब लगानी भएको बताए । शर्माले विगत २ वर्षमा संस्थाले गरेका गतिविधि पनि प्रस्तुत गरेका थिए । शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डाक्टर पदमबहादुर खड्का, अफिन गण्डकीका संस्थापक अध्यक्ष अशोक पालिखे, उपाध्यक्ष कपिल पोखरेल, सचिव ऋषि खतिवडा, कोषाध्यक्ष सूर्यप्रसाद पोखरेल सम्मानित व्यक्तित्व, किरण चन्द र वेदबहादुर रायमाझी लगायतले स्वास्थ्य क्षेत्र र निजी स्वास्थ्य संस्थाको बारेमा बोलेका थिए । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ।
पोखरा: पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण मुद्धामा म्याद थप गर्न अदालत लैजाँदा प्रहरीले इजलासमै दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भ्रम छरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आपत्ति जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी बसन्तकुमार शर्माले आज प्रेस विज्ञप्ति जारी गरेर प्रहरी अनुसन्धामा रहेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति लामिछानेलाई अदालतमा उपस्थित गराउँदा इजलासमै प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेको लगायत आरोप लगाइएको भन्दै प्रहरीले आपत्ति जनाएका हुन् । कास्की प्रहरीले भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न पनि कास्की प्रहरीले अनुरोध गरेको छ ।
सुर्खेत: कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ती मार्फत सहयोग गर्न थालेको हो । निर्देशनालयले अहिले प्रदेशका चिकित्सा शिक्षा पढ्दै गरेका १० विद्यार्थीलाई छात्रवृत्ती सहयोग गरिरहेको छ । प्रति विद्यार्थी वार्षिक रु चार लाखका दरले छात्रवृत्ती प्रदान गरिएको निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु चार लाखका दरले रु ४० लाख र आर्थिक वर्ष २०८०/८१ मा पनि रु ४० लाख रकम चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ती प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेमा कालिकोटका निहान शाही, जाजरकोटका लक्सन शाही, जुम्लाका बिनोद रोकाय, डोल्पाका कमल विष्ट, दैलेखका आदित्य गौतम, रुकुम पश्चिमका विशाल केसी, सल्यानका आकाश अधिकारी र सुर्खेतका राज पोख्रेल रहेका छन् । यसैगरी, हुम्लाका भुवन बुढा र अंग्मु लामालाई पनि प्रदेश सरकारले छात्रवृत्ती प्रदान गरेको छ । कर्णालीमा चिकित्सक अभाव हुन नदिने गरी प्रदेश सरकारले योजना बनाएको निमित्त निर्देशक हमालले बताउनुभयो । सरकारको मापदण्ड पुरा गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ती प्रदान गरेको उहाँको भनाइ छ । कर्णालीमा पछिल्लो समय चिकित्सा शिक्षा पढ्ने पनि बढेका छन् । यसका साथै सरकारले इन्जिनियर, सूचना प्रसिधि, भेटेरेनरी, नर्सिङ, कृषि लगायतका प्राविधिक शिक्षा अध्ययन गर्नेहरुलाई छात्रवृत्ती प्रदान गर्दै आएको छ । प्रदेश सरकारले रकम अभावले प्राविधिक शिक्षा लिन नपाएका कर्णालीका महिलालाई अध्ययन गर्न ‘छोरी बुहारी छात्रवृत्ती’मार्फत सहज बनाएपछि अहिले प्राविधिक शिक्षा पढ्ने महिलाको सङ्ख्या बढेको निमित्त निर्देशक हमालले बताउनुभयो । “पछिल्लो समय प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिएको छ, चिकित्सा शिक्षासँगै प्राविधिक शिक्षा पढ्ने गरिब जेहेन्दार विद्यार्थीलाई कार्यविधिअनुसार छात्रवृत्ती मार्फत अध्ययन गर्न सहज बनाएका छौँ, यसबाट कर्णालीमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।
काभ्रेपलाञ्चोक: पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट रु ९३ हजार तीन सय १५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । पक्राउ परेकालाई इप्रका बनेपामा राखी आज म्याद थपको तयारी भइरहेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले यसअघि बुधबार साँझ मात्रै पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई रु ९५ हजार नगद बरामद गरेको थियो । उक्त समूहलाई मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका मन्त्री पौडेलले यहाँस्थित नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मातृभूमिको विकासका निम्ति लगानीका माध्यमबाट सघाउन आग्रह गर्नुभएको हो । मन्त्री पौडेलले भन्नुभयो, “वर्तमान सरकारको उद्देश्य जनचाहनाअनुसार विकास गर्दै समृद्धिको मार्गमा अघि बढ्नु हो, त्यहीअनुरुप काम गरिरहेका छौँ ।” उहाँले ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका पर्याप्त अवसर भएकाले यहाँ आर्जन गरेको सीप, पुँजी र ज्ञानलाई नेपालमा उपयोग गर्न सुझाउनुभयो । साथै उहाँले लगानीकर्तालाई सरकारले प्राथमिकताका साथ सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्रीले सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपालमा लगानीको वातावरण र प्रतिफल प्राप्तिको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अधिक पुँजी आवश्यक परेकाले गैरआवासीय नेपालीको सहयोग आवश्यक भएको बताउनुभयो । छलफलका सहभागीहरूले नेपालको कर प्रणाली, लगानीमैत्री वातावरण, कर्मचारी संयन्त्रको कार्यसम्पादन र प्रविधिबारे जिज्ञासा राखेका थिए ।
काठमाडौं: सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो । शुक्रबार प्रतितोला रु एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । शुक्रबार प्रतितोला रु दुई सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ८५ निर्धारण भएको छ ।
पोखरा: लेखनाथको आदर्श चोकमा गएराति बोलेरोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ आदर्श चोकमा बोलेरोले पैदल यात्रीलाई ठक्कर दिँदा ५७ वर्षीय सोनु खड्काको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । तालचोकबाट गगनगौडातर्फ जाँदै गरेको ग ३ च ४७५७ नम्बरको बोलेरोले गएराति आदर्श चोकमा सर्लाही घर भई पोखरा–२९ बस्ने खड्कालाई ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट गम्भिर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बोलेरो जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंमा जारी साफ वुमन्स च्यायिपनसीपमा समूह विजेताको रुपमा सेमिफाइलनमा पुगेको नेपालले आज भारतविरुद्द खेल्दैछ । समूहचरणमा श्रीलंकालाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । आज सेमिफाइनल अन्तरगत नेपालले भारतविरुद्द खेल्नेछ । नेपाल यसअघि ४ पटक फाइनलमा भारतसँग पराजित भएको थियो । तर अहिले सेमिफाइनलमै जित्ने अवसरमा पाएको छ । उक्त खेल आज बेलुकी दशरथ रंगशालामा साढे ६ बजे सुरु हुनेछ । यस्तै अर्काे सेमिफाइनलमा आज साढे १ बजे भुटान डिफेन्डिङ च्याम्पियन बङ्गलादेशसँग भिड्नेछ ।
मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ । शनिबार बेलारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा–११ ले रु आठ लाख नगदसहित ट्रफी जितेको छ । यस्तै उपविजेता सलहेस फुटबल क्लब सिराहाले रु चार लाख नगदसहित ट्रफी प्राप्त गरेको छ । झापा–११ का लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङ तथा सलहेशका लागि राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरेका थिए । सलहेशका समीर तामाङको प्रहार झापाका गोलरक्षक सन्दीप लिम्बूले गोल हुनबाट बचाएका थिए । फाइनल खेलमा मध्यान्तरअघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलको ५०औँ मिनेटमा सलहेश फुटबल क्लबका अजयी मार्टिनले गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाएका थिए । यस्तै खेलको ७१औँं मिनेटमा झापाका प्रदीप बुढाथोकीले जवाफी गोल गर्दै खेल बराबरीमा पुर्याए । निर्धारित समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि जित हारको निर्णय टाइब्रेकरबाट गरिएको हो । फाइनल खेलको म्यान अफ दी म्याच अभिषेक गुरुङ घोषित भए । उनले नगद रु पाँच हजारसहित ट्रफी प्राप्त गरे । झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङले रु १० हजार नगदसहित ट्रफी र अन्य खेलाडीले जनही रु सात हजार नगद तथा ट्रफी प्राप्त गरे । यस्तै सलहेश फुटबल क्लबका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिभर पाँच गोल गरेका थिए । सलहेशका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै रु सात हजार नगद र ट्रफी प्राप्त गरे । विजयी खेलाडीलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईलगायतले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगिता यही कात्तिक २ गतेदेखि सुरु भएको थियो ।

