पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनियमितता गर्ने जो कोहीलाई छुट नहुने बताएका छन् ।       एमाले कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अनियमिततामा संलग्न जो कोहीलाई कानुनअनुसार कारबाही हुने बताए ।         भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जो कोहीलाई कानुन र विधिसम्मत ढंगले कारवाही हुने स्पष्ट पार्दै उनले देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको बताए ।            राष्ट्रको आवश्यकताअनुुसार देशका प्रमुख राजनीतिक दल एक ठाउँमा भएको बताउँदै उनले आफूहरू कानुनका पक्षमा रहेको उल्लेख गरे ।      हाम्रा चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै नेता पोखरेलले यस्ता चाडपर्वले सामाजिक सद्भाव र एकतालाई मजवुद बनाउने बताए ।       एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले लोकतन्त्रको विकल्प अरु हुन नसक्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न निशारालाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।         एमाले स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक प्रणालीलाई सुदृढ गर्दै सुशासनको अभियानमा लाग्नुपर्नेमा जोेड दिए ।       नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले देश र जनताका पक्षमा एकाकार भएर लाग्नुपर्ने बताउँदै अदालतमा प्रवेश भइसकेका विषयलाई सडकबाट प्रभावित गराउन खोज्न नहुने बताए । 

ललितपुर:   उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।       राष्ट्र निर्माणका लागि समाजलाई रुपान्तरण गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने बताउनुभएको छ ।      गणेशमान सिंह प्रतिष्ठानद्वारा आज यहाँ आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन समारोहमा उहाँले खेलकुदको माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान पुग्नाका साथै अनुशासित जनशक्ति विकासमा पनि सहयोग पुग्ने बताउनुभयो ।  उहाँले विद्यालय तहदेखि नै टेनिसलगायत खेलकुदलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिनुभयो ।       प्रतिष्ठानका कार्यसमिति सदस्य भाष्करमान सिंहले प्रतियोगिताका निम्ति सहयोग गरेका सबै सङ्घसंस्थाप्रति आभार व्यक्त गर्नुभयो ।       नेपाल टेनिस सङ्घका सचिव मालिका राणाले प्रतियोगिताका माध्यमबाट खेलाडी उत्पादनका साथै प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताउनुभयो । 

पोखरामा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   सो कार्यक्रमको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐन कुमार साईले गरे ।   सो अवसरमा बोल्दै उनले सडकमा निर्माण सामग्री लिएर जाने सवारी चालक तथा व्यवसायीहरुलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको उल्लेख गरे ।     ‘ढुङ्गा लोड गरेर आएको सवारीलाई ट्राफिकले पानी चुहियो भन्छ, बालुवा ल्याउँदै उही प्रश्न गर्छ । उपाध्यक्ष साईले भने, ‘सडकमा ट्राफिक प्रहरी र प्रशासनले अनाहकमा दुःख दिने गरेको सबैलाई थाहै छ । त्यसैले हामीले बालुवा ल्याउँदा पनि ढाकेर ल्याउने परिस्थिती छ । त्यसैले यस्ता कुरालाई रोक्न हामी माथिल्लो नियालाई ध्यानाकर्षण गरिरहेका छौं ।’   उनले राज्यलाई तिर्नुपर्ने कर तिरेपनि कर अनुसारको सेवा सुविधा व्यवसायीहरुले पाउन नसकेको गुनासो गरे ।      ‘राज्यले तोकेको कर तिर्दै आएका छौं । त्यो अनुसारको सेवा सुविधा पाउन सकेका छैनौं’, उनले भने, ‘सडकमा कसैसँग हात मिलाएर झै गरेर केही राखेर दिनुपर्छ, यसरी हामी व्यवसायी सफल हुन सकिदैन ।’ उनले समिति सफल हुन व्यवसायी र सवारी चालक एकजुट भएर अगाडि बढे मात्र सम्भव भएको बताए ।    यस्तै पृथ्वी राजमार्ग बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले व्यवसायीहरु विस्थापित नहुने गरी व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।    ‘अहिले देशमा व्यवसायीहरु पलायन हुँदै गरेका छन्, कुनै पनि व्यवसायीहरु विस्थापित हुने होइन स्थापित हुने गरी सञ्चालन हुनुपर्छ’, केसीले भने, ‘कुनै पनि समिति सफल हुन मजदुर, व्यवसायी र पदाधिकारी एकजुट भए मात्र समिति सफल हुन्छ त्यसैले हामी सफल हुन सबै एकजुट हुन आवश्यक छ ।’   कार्यक्रममा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्ष मनोज रसाइलीले संघीय सरकारले बर्खा याममा ढुङ्गा, गिटी र बालुवा निकासीमा लगाएको प्रतिबन्द पुन: अध्ययन गरेर प्रतिबन्द खोल्न माग गरे ।      ‘संघीय सरकारले असार साउन र भदौमा ढुङ्गा, गिटी र बालुवा निकाल्न प्रतिबन्ध लगाएको छ, जसले गर्दा निर्माण सामग्री ढुवानी व्यवसायी  मजदुरहरु अन्यायमा परेका छन्, अध्यक्ष रसाइलीले भने, ‘ संघीय सरकारले लगाएको यो प्रतिबन्ध पुनः अध्ययन भएर प्रतिबन्द खुल्ला गर्न माग गर्छु ।’   उनले भैपरी आउने सवारी दुर्घटनामा बिमाबाट प्राप्त हुने औषधी उपचार खर्च कम भएकाले यसमा पुनर्विचार गरी औषधी उपचारमाको माददण्ड बनाउनसमेत माग गरे ।    साधारण सभामा उत्कृष्ट व्यवसायीका रुपमा कैलाश घिमिरे र उत्कृष्ट सवारी चालकका रुपमा छवे नेपाली (अर्जुन) लाई सम्मान गरिएको थियो ।      कार्यक्रममा नेपाल यातायात व्यवसायी जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण प्रसाद ढुङ्गाना, प्रहरी निरीषक बोधराज रेग्मी, गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामबहादुर तामाङ, गण्डकी ट्रक सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र त्रिपाठी लगायतले बोलेका थिए ।    कार्यक्रम गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्ष मनोज रसाइलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इश्वर बस्यालको स्वागत मन्तव्य र सचिव श्याम कुमार ताम्राकारले कार्यक्रम सञ्चालन गरेका थिए ।    

पर्वत:   जाडोयाम सुरु भए पनि यस वर्ष जिल्लामा डेङ्गीका बिरामी घटेका छैनन् । आवश्यक सावधानी नअपनाउँदा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८९ ले बढेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।      कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष साढे पाँच सय प्रतिशतभन्दा बढी व्यक्तिमा सङ्क्रमण भइसकेको छ । गत वर्ष दुई सय २५ मा सङ्क्रमण देखिएकामा यस वर्षको हालसम्म एक हजार पाँच सय १४ जना सङ्क्रमित भइसकेको उहाँले जानकारी दिनुभयो ।      अहिले पनि जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीमा सङ्क्रमण पुष्टि भइरहेकाले सङ्क्रमितको सङ्ख्या अझै बढ्ने प्रमुख शर्माले बताउनुभयो ।  जाडो मौसम भए पनि बिरामीको सङ्ख्या बढिरहेको भन्दै डेङ्गी र मौसमी फ्लूका बिरामीले अहिले अस्पताल भरिभराउ बनेका उहाँले उल्लेख गर्नुभयो ।      स्वास्थ्य कार्यालयका प्रमुख शर्माका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकामा एक हजार एक सय ७१ जना छन् । यो कूल सङ्क्रमितको ८२।८१ प्रतिशत हो ।  त्यस्तै फलेवास नगरपालिकामा ७५, मोदी गाउँपालिकामा ४८, जलजला गाउँपालिकामा २३ जना, पँैयु गाउँपालिकामा सात, विहादी गाउँपालिकामा सात, महाशीला गाउँपालिकामा चार र बाँकी अन्य जिल्लाबाट आएकामा सङ्क्रमणको पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।      लामखुट्टेको टोकाइ बढ्दै जाँदा डेङ्गीको जोखिम पनि बढ्दै जाने भएकाले सचेत हुन स्वास्थ्य कार्यालय पर्वतले अनुरोध गरेको छ ।  लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्नेगरी लुगा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।           अस्पतालमा परीक्षण गरिएको तथ्याङ्कबाहेक निजी अस्पताल र क्लिनिकहरुमा पनि उल्लेख्य सङ्ख्यामा सङ्क्रमित फेला परेको जानकारी प्राप्त भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताउनुभयो ।  डेङ्गीसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको दैनिक चाप बढ्दै गएको भन्दै जटिल प्रकृतिका बिरामीको मात्र परीक्षण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।       डा बास्तोलाका अनुसार दैनिक २० देखि ३० जना सङ्क्रमित भेटिएका छन् । सरकारले उपलब्ध गराएको डेङ्गी परीक्षण किट सकिएर अहिले आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएकाले जटिल लक्षण देखिएका बिरामीको मात्रै परीक्षण गर्न थालिएको उहाँले बताउनुभयो । बिरामी बढेकाले अस्पताललाई आर्थिक भार बढेको उहाँले बताउनुभयो ।       अधिकांश बिरामीले निजी मेडिकलबाट औषधि किनेर खाने गरेका औषधि व्यवसायीहरुले बताएका छन् । लक्षण देखिएका सबै बिरामी अस्पताल जाने सङ्क्रमितको सङ्ख्या अझै वृद्धि हुने व्यवसायीहरु बताउँछन् ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मका विषयलाई सशक्त रुपमा उठाइने बताउनुभएको छ ।      वन तथा वातावरण मन्त्रालयले शुक्रबार आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उहाँले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा आफूले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप–२९ सम्मेलनमा सशक्त रुपमा आवाज उठाउने बताउनुभयो ।      वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले जलवायु परिवर्तनमा नेपालको अडान र दृष्टिकोणलाई कोप–२९ मा प्रस्तुत गर्ने निर्णय गरेको छ । कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।       प्रधानमन्त्री ओलीले मुलुकका हिमालहरुले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरु जोगाउनु र  देशले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताउनुभयो ।

इलाम:    जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् ।       इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बालले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो चिया मात्र उपलब्ध गराउने सकिने बताउनुभयो ।      “सुइरोबाट बनाइने तयारी चियाको माग विदेशी बजारमा बढी छ”, उहाँले भन्नुभयो, “उहाँहरुले पहिला नै रकम पठाएर आवश्यकताअनुसार ‘बुकिङ’ गर्नुहुन्छ । उत्पादनमा कमी आएकाले मागअनुसार निर्यात गर्न सकिरहेका छैनौँ ।”      कोरोना महामारीका बेलादेखि निर्यात रोकिएको चियाको अन्तर्राष्ट्रिय बजार विस्तारै चलायमान बन्दै गएको सुब्बाले बताउनुभयो । यस वर्ष तेस्रो मुलुकबाट तयारी चियाको माग बढी आएको उहाँले जानकारी दिनुभयो ।       यहाँको तीनजुरे चिया कारखानाले यस वर्ष ‘गोल्डेन ब्याल्क’, ‘ग्रीन टी’लगायत फरक स्वाद र गुणस्तरका २० क्विन्टल तयारी चिया फ्रान्स पठाएको कारखानाका व्यवस्थापक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष एक हजार तीन सय किलो तयारी चिया उत्पादन भएको थियो ।       गत वर्ष चीनमा आयोजित अन्तर्राष्ट्रिय टी एक्पोमा तीनजुरे ‘ग्रान्ड गोल्ड’ विधिमा पुरस्कार पाउन सफल भएको उल्लेख गर्दै व्यवस्थापक श्रेष्ठले यस वर्ष अन्तर्राष्ट्रिय बजारको माग पनि बढेको बताउनुभयो ।       यस वर्ष ग्रीनहिल चिया उद्योगले आठ हजार तयारी किलो चिया भारतसहित तेस्रो मुलुकमा निर्यात गरेको उद्योगका सञ्चालक टङ्क दाहालले जानकारी दिनुभयो । “मागअनुसारको गुणस्तरीय चियाको परिमाण दिन सकिएको छैन”, उहाँले भन्नुभयो, “यो वर्ष हरियोपत्ती गत वर्षभन्दा कम उत्पादन भएकाले आवश्यकता र मागअनुसार तयारी चिया निर्यात गर्न सकिएको छैन ।”      ग्रिनहिलमा गत वर्ष ५५ हजार किलो तयारी चिया उत्पादन भएको जनाउँदै यस वर्ष ४० देखि ४२ हजार किलोमात्र उत्पादन हुने अनुमान गरिएको सञ्चालक दाहालले बताउनुभयो ।       झापास्थित मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा रु तीन अर्ब १६ करोड ३८ लाखको तयारी चिया यहाँबाट निकासी भएको थियो । एक करोड ३४ लाख ३३ हजार आठ सय ५८ किलो चिया निकासी भएको कार्यालयले जनाएको छ ।      नेपालमा उत्पादन हुने चियामध्ये १० प्रतिशत मुलुकभित्रै खपत हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । मौसममा आएको परिवर्तनले गत वर्षको तुलनामा यस वर्ष हरियो चिया उत्पादनमा कमी आएको उहाँले बताउनुभयो ।       बोर्डले अर्गानिक चिया उत्पादन बढाउन किसानलाई तालिमसहित प्राविधिक सहयोग गर्दै प्रोत्साहन वृद्धि गर्ने कार्याक्रम ल्याउने योजना बनाइरहेको अधिकारीले जानकारी दिनुभयो । “गत वर्ष एक हजार तीन सय किसानका गोठ सुधार गरेका छौँ । गोठ सुधारसँगै गोबरबाट बनेको मलको उचित व्यवस्थापनमा किसानलाई सहयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “चिया निर्यातमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन् ।”      पहिले अन्तर्राष्ट्रिय बजारमा चियाको माग कम हुने गरेकामा अहिले प्रचारप्रसारका कारण माग बढ्दै गएको कृषि विकास अधिकृत अधिकारीले जानकारी दिनुभयो । तोस्रो मुलुकका व्यापारीले चियाको उचित मूल्य दिएसँगै यहाँका व्यापारी तथा किसान पनि प्रोत्साहित भएकाले आगामी दिनमा उत्पादन वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।      इलाममा आठ हजार आठ सय ७६ किसान चियाखेतीमा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती हुँदै आएको छ ।

म्याग्दी:     कलाकारले मुस्ताङको प्रकृति, संस्कृति र मौलिकतालाई चित्रमा उतारेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सवमा सहभागी कलाकारले स्थलगत भ्रमण गरी देखेका दृष्यलाई चित्रमा उतारेका हुन् ।  मुस्ताङका पाँचवटा गाउँमा पुगेका कलाकारले स्थलगत रुपमा कला प्रदर्शनी गरेका महोत्सवका संयोजक त्रिपल पि गुरुङले जानकारी दिनुभयो । यही कात्तिक ३ गतेदेखि सुरु भएको महोत्सव शुक्रबार ठिनीमा समापन गरिएको हो ।  “महोत्सवमा सहभागी कलाकारले जोमसोम, ठिनी, कागबेनी, मुक्तिनाथ, झोङ, झारकोट, तिरीको अवलोकन गर्दै चित्र कोर्नुभयो”, संयोजक गुरुङले भन्नुभयो, “महोत्सवले मुस्ताङको पारम्पारिक सङ्गीत, नृत्य र विभिन्न सांस्कृतिक परम्परालाई चित्र कलामार्फत विश्वभर प्रचार गर्न सहयोग पुगेको छ ।”  परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकार माझ बाँड्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा सहभागीहरुले मुस्ताङका गाउँ, जनजीवन, हिमाल, पशुपालन, संस्कृति, कृषि, गुम्बा, मन्दिरको चित्र कोरेका थिए ।  कलाकार मनोज तामाङले कल्पना गरेको भन्दा आफँैले देखेको विषयवस्तुलाई चित्रमा उतार्न सजिलो र वास्तविकता जस्तै भएको बताउनुभयो । स्थानीयवासीका साथै विदेशी पर्यटकहरुले चित्रकारहरुले चित्र कोरेको अवलोकन गरेका थिए ।  महोत्सवमा सहभागी हुन थाइल्यान्डका डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डका इवा क्रुएजकोस्का, रोमानियाका स्टेफन बालोग, भुटानका जामपेल छेदा, इन्डोनेसियाका एमी गोर, ताइवानका छेङ हान वेनलगायतका अन्तर्राष्ट्रिय कलाकार मुस्ताङ आउनुभएको थियो ।   नेपालका कलाकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नवीन नाल्बो र आकाश गुरुङ पनि महोत्सवमा सहभागी हुनुुभएको थियो ।  महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र साङ्गीतिक कार्यक्रम गरिएको थियो ।  हरेक साँझ फरक फरक स्थानमा काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को संयोजनमा घुम्तीरुपमा हिमाली क्षेत्रका चलचित्र प्रदर्शन गरिएको संयोजक गुरुङले बताउनुभयो ।

काठमाडौं:    अफगानिस्तानका महिला तथा बालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महिला विभेद उन्मुलनसम्बन्धी राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यू)ले उनीहरुको शिक्षा, रोजगारी, आवागमन, सार्वजनिकस्थलमा उपस्थितिलगायत आधारभूत मानव अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ ।      सिइडिएडब्ल्यूका सदस्य एवं अफगानिस्तान मामिला प्रमुख बन्दना राणाले शुक्रबार जेनेभास्थित राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को प्रधान कार्यालयमा भएको बैठकमा महिला हकअधिकारका सम्बन्धमा सिइडिएडब्ल्यू निर्धारण गरेका मान्यताको पालना गर्न अफगान सरकार तथा नागरिक समाजलाई निर्देशन दिनुभएको छ ।      लैङ्गिक अधिकार सुनिश्चित गर्ने हिंसा एवं त्रासरहित वातावरणमा महिला तथा बालबालिकाको पठनपाठन एवं रोजगारीको अधिकार प्रत्याभूत गर्न र विगतमा व्यक्त प्रतिबद्धता पालना गर्न समितिले निर्देशन दिएको हो ।  समितिले अफगानिस्तानसम्बन्धी चौथो आवधिक प्रतिवेदन तयारी थालेको र त्यसबाट महिला तथा बालिकाहरुको वास्तविक स्थितिबारे जानकारी हासिल गर्न मद्दत पुग्ने विश्वास समितिले व्यक्त गरेको छ ।