काठमाडौं: बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।” उहाँका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ । “डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौँ । हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छौँ । खरिद बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ”, प्रबन्ध निर्देशक पनेरुले भन्नुभयो । सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानकर्षण गराएको थियो । खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ । लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गीको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ । उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको हो ।
काठमाडौं: पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले शुक्रबार जनाएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिर्पोटका अनुसार इजरायलले सिरियाली सीमा नजिकै शुक्रबार बिहान ३ः३० मा आक्रमण गरेको थियो । एनएनएका अनुसार बेरुतको दक्षिणी चौइफत अल–अमरोसिह क्षेत्रमा, इजरायली हामलाले “दुई वटा भवनहरू क्षतिग्रस्त बनाएको थियो । सेन्ट थेरेस क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणमा संवैधानिक परिषद् नजिकैका दुईवटा भवनहरूसमेत ढलेको जनाएइको छ । इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निकासी चेतावनी जारी गरे पछि बेरुतको दक्षिणमा आक्रमण भएको एनएनएले रिपोर्ट गरेको छ । एएफपिटिभीको फुटेजमा आक्रमणपछि बेरुतको दक्षिणबाट धुवाँको मुस्लो उठेको देखाइएको छ । केही समय अघि दक्षिण बेरुतको चौइफत क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको इजरायलले , विस्तारै हारेत ह्रीक र हदथलाई पनि लक्षित गरी आक्रमया सुरु गरेको छ । बुधबारको इजरायली आक्रमणले दक्षिण बेरुतमा छ वटा भवनहरू क्षेतिग्रस्त राष्ट्रिय सञ्चार माध्याम तथा र एएफपी फुटेजले देखाएको थियो भने इजरायली सेनाले हिजबुल्लाह हतियार उत्पादन केन्द्र भित्र आक्रमण गरेको जनाएको छ । सेप्टेम्बर–२३ मा, इजरायलले लेबनानमा तीव्र आक्रमण सुरु गरे पछि गाजा युद्धलाई लिएर इरान समर्थित हिजबुल्लाहसँग सीमापार झडपपछि स्थलगत आक्रमणको घोषणा गरेको छ । पत्रकार संरक्षण समितिले सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा, वेस्ट ब्याङ्क, इजरायल र लेबनानमा कम्तिमा १२८ पत्रकारहरुको मृत्यु भएको जनाएको छ ।
काठमाडौं: डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी हुनुभएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि देशभरका सबै सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । यसअघि प्रत्येक शुक्रबार मन्त्रालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरिसक्नुभएका मन्त्री खड्काले आज पनि उक्त कार्यलाई निरन्तरता दिँदै कर्मचारीलाई हौसलासमेत प्रदान गर्नुभयो । सरसफाइ अभियानका क्रममा मन्त्री खड्काले मन्त्रालय र मन्त्रालयअन्तर्गतका सबै कार्यालयलाई सफा राख्न सम्बन्धित कार्यालय प्रमुख तथा कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै स्वस्थ हुन सरसफाइले विशेष महत्व दिने भएकाले यसप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो । “भोलिका दिनमा मन्त्रालय स्वच्छ र सफा भएको अनुभूति आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । मन्त्रालयका उपसचिवसमेत रहनुभएका मन्त्री खड्काका निजी सचिव मनोज पन्थले मन्त्रीको नेतृत्वमा भएको सरसफाइले सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा: पोखरेली जेठोबुढो धान संरक्षण तथा प्रवद्र्धनमा किसानसँगै कृषिसम्बन्धी निकाय पनि निकाय जुटेका छन् । पोखराको परिचय बनेको लोपोन्मुख जेठोबुढोको उत्पादन र बजारीकरणमा पोखरा महानगरपालिका लागिपरेको छ । जेठोबुढो रोप्ने किसानलाई बिउ अनुदान तथा प्रोत्साहनका अन्य कार्यक्रम सञ्चालन गर्दै आएको महानगरले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कृषि उपज खरिद गरेको छ । यसले जेठोबुढो बिक्रीको बाटो खुलेको छ । सम्झौताअनुसार महानगर क्षेत्रका किसानले उत्पादन गरेको धान खाद्य कम्पनीले खरिद गर्नेछ । जेठोबुढो न्यूनतम समर्थत मूल्य प्रतिक्विन्टल रु। नौ हजार पाँच सय तोकिएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । आगामी असार मसान्तसम्म उक्त कम्पनीले जेठोबुढोसँगै अन्य स्थानीय उपज पनि खरिद गर्नेछ । किसानले आफूले चोहेको समय र तोकिएको मूल्यमा कम्पनीलाई जेठोबुढो बेच्न सक्नेछन् । यसअघि पनि महानगरले जेठोबुढोको ‘प्याकेजिङ, ब्राण्डिङ’का साथ बजारीकरण गरेको थियो । महानगरले जेठोबुढोसहित अन्य ३५ प्रकारका कृषि उपजहरुको समर्थन मूल्य तोकेर महानगरभित्रका किसानलाई न्यूनतम मुनाफासमेत मूल्य सुनिश्चित गरेको छ । महानगरले २०७६ सालदेखि पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा जेठोबुढो धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । वार्षिक दस टनसम्म उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा जेठोबुढोको उन्नत बिउ प्रदान गर्दै आएको छ । कृषि महाशाखाका अनुसार पोखरामा ११ हजार दुई सय हेक्टरमा धान बाली लगाउने गरिएकामा ४० प्रतिशत हिस्सा जेठोबुढोले ओगटेको छ । “उब्जनीका हिसाबले अरु वर्णशङ्कर जातभन्दा जेठोबुढो कम फल्छ तर यसको मूल्य धेरै पर्छ, बजारीकरणको सुनिश्चितता भइसकेको अवस्थामा किसानले जेठोबुढाको खेती गर्दा बढी फाइदा छ”, महाशाखा प्रमुख कडरियाले भन्नुभयो ।
गलेश्वर: गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो । टोलीले बिहीबार साँझ क्षतिको विवरण सार्वजनिक गरेको हो । बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालले दिएको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पु¥याएको छ । असिनापानीले धान बालीमा क्षति भएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न खेतमा पुगेका थियो । असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटको गौश्वारामा भएको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । “गौश्वारामा गरिएको धानखेतीमा असिना पानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको छ, अधिकांश ठाउमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ । किसान अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन् । पीडित किसानलाई क्षतिपूर्ति वा राहतका लागि सम्बन्धित निकायमा अनुरोध गर्नेछौँ”, उहाँले भन्नुभयो । असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानमा क्षति भएपछि किसान चिन्तित बनेका बेनी–२ का वडासदस्य रिजालले बताउनुभयो । उहाँका अनुसार असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान शन्तबहादुर नेपालीले बताउनुभयो । भित्र्याउने समयमा पानीले क्षति पु¥याइदिएपछि किसानहरु चिन्तित भएको बेनी नगरपालिका–२ सानालेखका नारायण शर्माले बताउनुभयो । “धानकोे एउटा बोट पनि ठाडो छैन, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एक दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?” जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको बालीमा क्षति भएको हो । कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिका विवरणहरू सङ्कलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दिनुभएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गर्नुभएको हो । प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभएको छ । उहाँले डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा जोड दिनुभएको छ । “नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेङ्गी नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु”, सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ ।
मुस्ताङ: मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँचवटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथको जोमसोम– ठिनी– ढुम्बा खण्डमा कालोपत्र गर्न थालेको हो । कार्यालयका प्रमुख अजय श्रेष्ठका अनुसार निर्माण व्यवसायीले बिहीबारदेखि जोमसोमतर्फबाट प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालेका हुन् । पहिलो दिन एकतर्फी तीन सय मिटर कालोपत्र भएको छ । जोमसोम–ठिनी–ढुम्बा–छैरो खण्डको १२ किलोमिटरमध्ये पहिलो चरणमा पाँच किलोमिटर कालोपत्र गरिने छ । छ किलोमिटर कालोपत्र र छ किलोमिटर ग्राभेल गर्न २०७६ साल असार २६ गते निर्माण कम्पनीसँग रु २१ करोड ४३ लाख १३ हजारमा निर्माण कम्पनीसँग सम्झौता भएको जनाउँदै उक्त कार्यालयले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बताएको छ । घरपझोङ चक्रपथ सडकले जोमसोम–ठिनी–ढुम्बा–चिमाङ, छैरो, मार्फा र स्याङ गाउँ जोडिन्छन् । चक्रपथको मार्फा–स्याङ–जोमसोम खण्ड सङ्घीय सरकारको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनामार्फत स्तरोन्नतिको चरणमा छ । जोमसोम–ठिनी–ढुम्बा–चिमाङ–छैरो खण्डको स्तरोन्नति प्रदेश सरकारले गर्न लागेको हो । मुस्ताङको नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको ठिनीगाउँ र ढुम्बाताल आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । सडक कालोपत्र र ग्राभेल भएपछि स्थानीयवासी, पर्यटकलाई आवतजावतका साथै कृषि उपजको बजारीकरणमा सहज हुनेछ । घरपझोङ चक्रपथअन्तर्गत ठिनीखोलामा प्रदेश सरकारमार्फत मोटरेबल पुल निर्माण सुरु भएको र छैरो–मार्फा जोड्ने बेलीब्रिज निर्माणका लागि सङ्घीय सरकारसँगको साझेदारीमा घरपझोङ गाउँपालिकाले ठेक्का आह्वान गरिसकेको मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनुभयो । ढुम्बाखोलामा मोटेरबल पुल बनाउन पूर्वाधार विकास कार्यालयमार्फत विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर स्रोत सुनिश्चितताका लागि पहल भइरहेको उहाँले बताउनुभयो । ठिनीखोलामा ३५ मिटर लामो प्रिस्टे«स प्रविधिको मोटरेबल पुल निर्माणका लागि छनोट भएको निर्माण कम्पनीले काम थालेको छ । मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयसूचना अधिकारी घनश्याम रोकाले रु चार करोड ४६ लाख ७० हजार तीन सय को लागतमा ठिनीखोलामा पुल बनाइने बताउनुभयो ।
गलकोट: प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको यहाँकोे पर्यटकीयस्थल गाजा दहको संरक्षण गर्न स्थानीय एकजुट भएका छन् । सरकारीस्तरमा दुई वर्षयता पूर्वाधारका लागि बजेट प्राप्त नभएपछि स्थानीयले श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरेर अर्थ सङ्कलनको प्रयास थालेका छन् । जैमिनी नगरपालिका–३ स्थित गाजाको दहको संरक्षण, प्रचारप्रसार र सिद्ध बराहको पुनःनिर्माणका लागि ‘गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ’ हुन लागेको वडाध्यक्ष कृष्ण भुजेलले जानकारी दिनुभयो । आगामी मङ्सिर ८ देखि १४ गतेसम्म महायज्ञ हुनेछ । “प्राकृतिक र धार्मिक रूपमा महत्त्वपूर्ण गाजाको दहलाई उजागर गर्न पर्यटकीय पूर्वाधार निर्माणमा महायज्ञले सहयोग पुर्याउनेछ, दहलाई धार्मिक केन्द्रका रूपमा विकास गर्ने र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो । अनुसार धार्मिक आस्थासँग जोडिएर देशविदेशमा रहेका स्थानीयले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका महायज्ञ मूल आयोजक समितिका अध्यक्ष लोकबहादुर छन्त्यालले बताउनुभयो ।
कञ्चनपुर: लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शङ्कास्पद छ, उहाँले भन्नुभयो, “मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।

