पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:   पोखरामा रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान अन्तर्गत सडक नाटक प्रस्तुत गरेको छ ।  रोटरी इन्टरनेशनलले ‘इन्ड पोलियो नाओ’ विशेष अभियानसँगै पोलियो उम्मूलनका लागि सडक नाटक प्रस्तुत गरिएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२  नेपाल–भुटान गभर्नर इक्लेक्ट बिनोद कोइरालाले बताए ।  ‘रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसको रुपमा विश्वव्यापी रुपमा जनचेतना फैलाउँदै पोलियो उम्मूलनका लागि कार्यक्रम गर्दै आएको छ’, कोइरालाले भने, ‘अभियान अन्तर्गत आज विश्वभर नै कार्यक्रम भइराखेका छन्, पोखरामा हामीले आज सडक नाटकसँगै विभिन्न कार्यक्रम मनाइरहेका छौं ।’ उनले अझै पनि पोलियो उन्मूलन गर्न नसकिएकाले जनचेतना मुलक कार्यक्रम गरेर नेपालको सातै प्रदेशमा ‘इन्ड पोलियोे नाओ’ विशेष अभियान सञ्चालन गरिएको बताए ।    रोटरी इन्टरनेशनलले विश्व पोलियो दिवसको अवसरमा आयोजना गरेको सडक नाटकमा समिप सापकोटा, सनिता थापा, रश्मी पराजुली, शिक्षा मगर, उमंग शर्मा, स्वतिका सापकोटा, आयुषा वाग्ले, आकृति ढकाल, आशिष पौडेल, शान्तराम तामाङ, इश्वरी चापागाइ, रोटरी, युवराज लामिछाने, रोटरी सुमिना दाहाल, मिस्टर विष्णु कार्की, रोटरी शिष्टता चापागाइ र रोटरी प्रदिपती केसीले अभिनय गरेका थिए ।  सडक नाटकमा बच्चाहरुलाई पोलियो थोपा खुवाउने र स्वास्थ्यमा कुनै समस्या देखिए स्वास्थ्य स्वास्थ्यमा जाँच गराउनुपर्ने सन्देश प्रवाह गरिएको थियो ।     सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था हो । विभिन्न मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब ५३८ वटा डिष्ट्रिक्टहरुअन्तर्गत आबद्ध छन् । साथै १२ लाखभन्दा बढी सदस्य रोटरी सेवामा सक्रिय रहेको संस्थाले जनाएको छ ।     नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको थियो । सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो । हाल नेपालमा १६१ वटा रोटरी क्लबले स्थानीयस्तरसँगै राष्ट्रियस्तरमासमेत विभिन्न कार्य गर्दै आएका छन् ।       

ललितपुर:   नेपाल महिला सङ्घ केन्द्रीय समितिले गोदावरी नगरपालिका–१ स्थित गोदामचौरमा बाढीपहिरो पीडितलाई केन्द्रित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  गोदावरी नगरपालिका स्वास्थ्य शाखाको समन्वय र वीर अस्पतालका चिकित्सकहरूको सहयोगमा आज एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।      गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित स्थानीय तहमा नेपाली कांग्रेस केन्द्रीय समितिले आफ्ना भातृ तथा शुभेच्छुक सङ्घ संस्थालाई आवश्यक राहत र सहयोगका कार्यक्रम गर्न निर्देशन दिएको थियो ।  सोही निर्देशन बमोजिम स्वास्थ्य शिविर सञ्चालन गरिएको सङ्घका केन्द्रीय अध्यक्ष उषा राउतले जानकारी दिनुभयो ।  “यसअघि हामीले सङ्घको स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकका विभिन्न स्थानहरुमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ, यसपटक वर्षाका कारण प्रभावित गोदावरी नगरपालिका–१ मा शिविर सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।      प्राकृतिक विपद् पश्चात पानीजन्य रोग र सङ्क्रमणबाट मानिसहरू प्रभावित हुनेहुँदा उक्त समस्या समाधानका लागि शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।  गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले बाढीपहिरोबाट प्रभावित नगरबासीहरुका निमित्त स्वास्थ्य शिविर सञ्चालन गरिनु सराहनीय कार्य भएको बताउनुभयो ।      गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीरमण कार्कीले  नगरवासीको हितका निमित्त शिविर सञ्चालन गरेकामा आयोजकलाई धन्यवाद दिँदै नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।  शिविरमा खटिनुभएका वीर अस्पतालका डा अजय पासवानले जनस्तरमा स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सो वडाका वडाअध्यक्ष श्रीराज थापाले शिविर सञ्चालनबाट बाढीपहिरो पीडितहरु लाभान्वित भएको बताउनुभयो । 

काठमाडौं:    भुटान साफ महिला  च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।       त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १३–० ले गोलअन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो ।      भुटानको जितमा देकी लाजोमले पाँच, पेमा छोदेन र डेकी याङदोनले समान दुई तथा नामगेल देमा, देकी याङदोन, छिरिङ लादेन र सोनाम छोदेनले समान एक÷एक  गोल गरे ।      देकी लाजोमले  खेलको १५औँ, १९औँ, ४६औँ, ५२ औँ र ७०औँ  मिनेटमा गोल गरिन् । यसैगरी पेमाले खेलको ७औँ र १७औँ, छिरिङ याङदेनले ६५औँ र ८०औँ, सोनमले ५औँ, नामगेलले ४१औँ, देकी याङदेनले ४७ औँ तथा छिरिङ लादेनले ६८औँ मिनेटमा गोल थेपे ।        पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै सात अङ्क जोड्दै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । भुटानले श्रीलङ्कालाई ४–१ ले हराएको थियो ।       अन्तिम खेल खेल्न बाँकी रहेको नेपालसँग चार अङ्क छ । श्रीलङ्काको दुई खेलमा तीन अङ्क छ । नेपालले आज साँझ नै श्रीलङ्कासँग खेल्ने छ ।

पोखरा:     सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।       जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले सभापति लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । यही कात्तिक २ गते पक्राउ पर्नुभएका पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको अवस्थामा पुनः म्याद थप भएको छ ।  यसैगरी सहकारीको बचत रकम अपचलनकै आरोपमा गत असोज ६ गते पक्राउ पर्नुभएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको सूचना अधिकारी अधिकारीले जानकारी दिनुभयो । 

काठमाडौं:     नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजनीतिक दल, व्यक्ति र संस्थाबाट भइरहेका गतिविधि विधिको शासनविरुद्ध भएको जनाएको छ ।      एमालेका महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गरी सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढिरहँदा रास्वपाका कार्यकर्ताबाट  भइरहेका गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो ।       संसदीय विशेष समितिले बनाएको प्रतिवेदनको आधारमा किटान गरिएका व्यक्तिलाई अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रिया अघि बढेको र त्यसमा सहयोग गर्नु सबैको साझा कर्तव्य रहेको एमालेले जनाएको छ ।      छानबिन समितिले सर्वसम्मतरूपमा औँल्याएका विषयमा छानबिन प्रक्रिया अघि बढिरहेको अवस्थामा प्रधानमन्त्री, सरकारका जिम्मेवार व्यक्ति र निकाय विरुद्ध जिम्मेवार व्यक्तिबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज गर्ने र गलत आक्षेप लगाउँदै छानविन प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्नु अत्यन्त दुःखद् भएको एमालेको ठहर छ ।      फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन, प्रतिरक्षालाई स्वतन्त्र, भयरहित र वैज्ञानिक बनाइ फौजदारी न्याय प्रणालीको प्रभावकारिता बनाउनु सबैको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख छ ।       सबै पक्षको सकारात्मक सहयोगबाट अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई दोषी नउम्कने र निर्दोष कोही नफस्ने कुराको सुनिश्चितता गर्न सकिने एमालेले जनाएको छ । कानुनले अनुसन्धान र अभियोजन गर्ने छुट्टाछुट्टै निकायको व्यवस्था गरेको स्मरण गराउँदै एमालेले रविको पक्राउबारे सरकार र नेतृत्वलाई जोडेर चर्चा गर्नु, अनुसन्धान र अभियोजन प्रक्रियालाई अनुचित प्रभाव पार्ने कार्य न्यायिक दृष्टिकोणबाट अनुपयुक्त भएको ठहर गरेको छ ।      राष्ट्रसेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना बढीको भेला गर्नु गराउनु आफैँमा कसुर भएको एमालेको ठहर छ । यस्तो कसुरमा सङ्घीय सांसदकै उपस्थिति हुनु गैरकानुनी भएको एमालेले जनाएको छ ।  ‘यस्तो कसुरमा सङ्घीय संसद्को सदस्य उपस्थिति हुनु र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णतः गैरकानुनी कार्य हो, यस्तो भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भएतर्फ सबै पक्ष सचेत हुनुपर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।      एमालेले सरकारका अख्तियारप्राप्त निकायबाट भइरहेको अनुसन्धान र अभियोजन प्रक्रियामा बाधा पु¥याउने कुनै प्रकारका गतिविधि नगर्न समेत आग्रह गरेको छ । यस्ता गतिविधि नियन्त्रण गरेर स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण बनाउन पनि एमालेले सरकारलाई अनुरोध गरेको छ ।

म्याग्दी:    हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ ।  दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो ।       मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरुको भ्रमणमा आउने पर्यटकहरु उल्लेख्य मात्रामा वृद्धि भएका मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीले बताउनुभयो ।  उहाँका अनुसार पछिल्लो एकसातायता दैनिक चार हजार बढी धार्मिक पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरिरहेका छन् ।      दसैँ तिहारको बिदाको समयलाई उपयोग गर्दै दैनिक हजारौँ पर्यटक म्याग्दी हुँदै मुस्ताङ भित्रिने गरेका छन् । मुस्ताङ भित्रिएका पर्यटकमध्ये अधिकांशको पहिलो रोजाइ मुक्तिनाथ पर्ने गरेको छ ।  मन्दिर नजिक रानीपौवा बजार क्षेत्रमा ३५ वटा सुविधायुक्त होटल सञ्चालनमा रहेका बताउँदै व्यवस्थापक सुवेदीले अहिले सबै होटल दैनिकजसो धार्मिक पर्यटकले भरिभराउ हुने उल्लेख गर्नुभयो ।      इलाका प्रहरी कार्यालय मुक्तिनाथका अुनसार अहिले आउनेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक छन् । विदेशी पर्यटकमध्ये अधिकांश छिमेकी मुलुक भारतका छन् । चक्रिय अन्नपूर्ण पदमार्गको थोराङभञ्ज्याङ चढेर आउने तेस्रो मुलुकका पर्यटकले पनि मुक्तिनाथको दर्शन गर्ने गरेका मुक्तिनाथ विकास समितिले जनाएको छ ।      बिदाको समयमा विद्यालय, क्याम्पस, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा युवाहरु सडकमार्ग प्रयोग गरेर मुक्तिनाथ पुग्ने गरेका विकास समितिका व्यवस्थापक सुवेदीले बताउनुभयो ।      सामान्य अवस्थामा मन्दिर दिउँसो १२ देखि १ बजेसम्म बन्द रहने भएपनि दसैँलगत्तै दिनभर भक्तजनहरुको घुइँचो लाग्न थालेपछि बिहानदेखि बेलुकीसम्म पूजाआजा र दर्शनका लागि मन्दिरलाई खुला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।       “भक्तजनलाई लाइनमा बसेर सहज रुपमा पूजा र दर्शन गर्ने प्रबन्ध मिलाएका छौँ । अशक्त र वृद्धवृद्धाले लाइन बस्नु पर्दैन । मुक्तिनाथको महिमा र प्रचारप्रसारले प्रत्येक वर्ष यहाँ आउने दशनार्थीको सङ्ख्यमा उल्लेख्य वृद्धि हुँदै गएको छ”, उहाँले भन्नुभयो ।       मुक्तिनाथमा दर्शन गर्नाले मनोकामना पूरा हुने र सुख, शान्तिको बास हुने जनविश्वास रहेको छ । मन्दिर परिसरमा रहेका एक सय आठ धारा र मन्दिरको अगाडी रहेको जलकुण्डमा स्नान गरेपछि मन्दिरमा पूजा गर्ने चलन रहेको पुजारी सुवेदीले जानकारी दिनुभयो ।       मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेसहित म्याग्दीका अधिकांश होटल भरिभराउ भएका छन् । पर्यटकको आगमन बढे्सँगै आयआर्जन वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।

काठमाडौं:     संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गर्दै विद्यमान समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।       सरकार गठन भएको एकसय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल एयरलाइन्समा देखिएका समस्याहरु समाधान गर्दै भरपर्दो सेवा प्रवाह गरिने उल्लेख गर्नुभयो ।      मन्त्री पाण्डेले भन्नुभयो, “नेपाल एयरलाइन्समा रहेका विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ । नेपाल नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दो तथा विश्वसनीय बनाउन समिति गठन गरेर काम अघि बढाइसकेका छौँ ।”      मन्त्री पाण्डेले  नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना तथा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने बताउँदै सोका मन्त्रिपरिषद्मा ती विधेयक पेस गरिएको जानकारी दिनुभयो ।       उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको पनि बताउनुभयो ।      “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यही कात्तिक २४ गतेदेखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत गरिएको छ”, मन्त्री पाण्डेले भन्नुभयो, “आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा बिमालाई समयानुकूल वृद्धि गर्न हवाई सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकिृया अघि बढाइएको छ ।”      यस अवधिमा मन्त्रालयले यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाएको जनाएको छ ।       अवरुद्ध सडक सञ्जाल सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको उल्लेख गर्दै उहाँले नेपाल र इन्डोनेसियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।      मन्त्रालयले यस अवधिमा सौर्य एअरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरेको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझाव कार्यान्वयनका लागि निर्देशनसमेत दिएको जनाएको छ ।       मन्त्री पाण्डेले भन्नुभयो, “यस अवधिमा पर्यटन विधेयक, सङ्घीय संसद्मा दर्ता गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ । क्यासिनो नियमावली, पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ संशोधन गर्न मन्त्रिपरिषद्मा पेस गरिएको छ ।”       नेपालका पाँच हजार आठसयदेखि छ हजार पाँचसयसम्म उचाइका थप ५७ हिमाल आरोहणका लागि खुला गरिएको मन्त्री पाण्डेले जानकारी दिँदै पर्यटन विभागका सेवाअन्तर्गत पर्वतारोहण र होटल व्यवस्थापनलाई अनलाइन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो ।      यस अवधिमा ‘ग्रेट हिमालयन ट्रेल’को थप पाँच किलोमिटर पदमार्ग निर्माण् सम्पन्न गरिएको, हिमाल आरोहण र पदयात्राको क्रममा विपद्मा रहेका करिब दुई सय पर्यटकलाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।      त्यस्तै प्रतिलिपि अधिकार विधेयक, २०८१ मस्यौदा तर्जुमा गरी सुझावका लागि नीति अनुसन्धान प्रतिष्ठानमा पेस गरिएको, पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको, सङ्घीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको मन्त्री पाण्डेले बताउनुभयो ।      मन्त्रालयले यस अवधिमा ललितपुरको गुईत टोलको चैत्यबाट हराएर अमेरिकामा पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाणसहित नेपाल फर्काउन कूटनीतिक प्रक्रिया अघि बढाइएको जनाउँदै शङ्कर कीर्ति महाविहार, भगवान वहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्र्ति सोही स्थानमा पुनःस्थापना गरिएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । 

पोखरा:    पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।      उहाँहरूलाई आज अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक बसन्तकुुमार शर्माले जानकारी दिनुुभयो ।  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दाका सम्बन्धमा लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइएको थियो ।  थप अनुसन्धानका लागि पक्राउ परेको मितिदेखि लागू हुने गरी आइतबार छ दिनको म्याद थपिएको थियो ।      लामिछानेलाई पहिलो पटकको म्याद सकिएपछि आज पुनःअदालत उपस्थित गराइएको हो । पूर्वप्रहरी नायब महानिरीक्षक जोशी सोही सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा हुनुहुन्छ ।  पोखरामा लामिछानेका समर्थकका साथैै सहकारी पीडितका छुट्टाछुट्टै प्रदर्शनका कार्यक्रम जारी रहेकाले सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरीले जनाएको छ ।