काठमाडौं: नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ । जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई तीन विकेटले पराजित गरेको हो । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा नेपालले दिएको २ सय ८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९।४ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए । नेपालका लागि कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर चार विकेट लिए । सोमपाल कामीले दुई र ललित राजवंशीले एक विकेट लिए । यसअघि नेपालले टस हरेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुँदै २ सय ८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए । नेपाल लिग(२ मा नौ खेलमा सातमा हार, एकमा जित र एक खेलमा अंक विहीन हुँदै तीन अंकका साथ सातौं स्थानमा छ । अमेरिका दश खेलमा सात मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । अब सिरिजमा अर्को खेल भोली मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
काठमाडौं: नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् । मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो । नेपाल अहिले १० खेलाडीमा सीमित बन्यो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म खेल रोकिएको थियो । खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा पु¥याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा नेपालले चार तथा भारतले दुईवटा मात्र गोल गर्न सक्यो । नेपालले अब फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो ।
सोलुखुम्बु: ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिनुभयो । मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउनुहुने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अवार्ड वितरण गर्न सम्बन्धित विषयविज्ञ सम्मिलित एक मूल्याङ्कन एवं छनोट समिति गठन भइसकेको छ । उहाँले पछिल्ला केही वर्र्षयता जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परिरहेकाले यसले पर्यटन क्षेत्रमा पनि असर गरिरहेकाले बताउँदै यस विषयमा विश्व समूदायको ध्यानाकर्षण गराउन कालापत्थरमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । “पाँच हजार छ सय ५३ मिटरको उचाइमा आयोजित यो सम्भवतः पहिलो पत्रकार सम्मेलन हो, यहाँबाट हामीले विश्वलाई जलवायु परिवर्तनको अवस्थाबारे बुझाउने अपेक्षा गरेका छौँ”, अध्यक्ष लामाले भन्नुभयो । कम्पनीका प्रबन्ध निर्र्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै हिमाल बचाउनका लागि ढिला गर्न नहुनेमा जोड दिनुभयो । “जलवायु परिवर्तनबाट विशेष गरी मुलुकको पर्यटन क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालबाट हिउँ हराउन थालेको छ, सेता हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । यो क्षेत्रलाई बचाउन सकिएन भने पर्यटन क्षेत्रलाई बचाउन सकिँदैन, आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत यो सन्देश हामी विश्व समुदायलाई दिन चाहन्छौँ”, उहाँले भन्नुभयो । प्रबन्ध निर्र्देशक मोक्तानले जलवायु परिवर्तनको असरका कारण सदियौँदेखि जमेका हिमतालहरु फुट्ने क्रम सुरु भएको, अधिक र न्यून वर्षा हुन थालेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद् बढ्ने क्रममा रहेको उल्लेख गर्नुभयो । लुक्लाका पर्यटन व्यवसायी, समाजसेवी तथा स्टार युथ क्लबको केन्द्रीय अध्यक्ष एवं समाजसेवी नाम्गेल शेर्पाले जलवायु परिवर्तनबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको कात्तिकमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही क्षेत्रमा आएर जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको थियो । यस वर्ष हामी खुम्बुवासीले यसबारे आवाज उठाएका छौँ ।” पत्रकार सम्मेलनमा उपस्थित आरोही मिङ्मा तेञ्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको बताउँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर देखिन थालेको उल्लेख गर्नुभयो । “मैले सन् २००७ मा काम सुरु गर्दा र अहिलेको अवस्थामा धेरै फरक देख्न सकिन्छ । जलवायु परिवर्तनका कारण मौसम अस्थिर भएको छ । केही समयअघि खुम्बु क्षेत्रको थामेमा ठूलो विपद् आयो, पहिले हिउँमा आरोहण गर्ने गरेकामा अहिले ढुङ्गा र माटोमाथि आरोहण गर्नुपरेको छ । तसर्थ हिमाल जोगाउन र जलवायु परिवर्तनका असर न्यूनीकरणमा हातोमालो गर्न विश्व समुदायको ध्यानाकर्षण हुन जरुरी छ”, उहाँले भन्नुभयो । वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पा र पर्यटन व्यवसायी एवं आरोही मिङ्मा शेर्पासँगको सहकार्यमा एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टले अवार्ड आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कम्पनीले हालसम्म स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । हालसम्म कम्पनीले जापान, मालदिभ्स, दुबईमा कार्यक्रम गरिसकेको छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभएको छ । औषधिको उचित मूल्य तथा गुणस्तरवृद्धिका लागि सुझाव दिन गठित समितिका पदाधिकारीसँग मन्त्रालयमा आज भएको छलफलमा मन्त्री पौडेलले आमउपभोक्तालाई उचित मूल्यमा कसरी औषधि वितरण गर्न सकिन्छ सोसम्बन्धी अध्ययन गरी आवश्यक सुझाव दिन समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो । उहाँले औषधिको मूल्य लामो समयदेखि समायोजन नभए पनि अहिले मूल्यवृद्धि गर्नेपर्ने अवस्था नभएको उल्लेख गर्नुभयो । “ग्यास र तेलको मूल्य बढ्यो भनेर औषधिको पनि बढाउनुपर्छ भन्ने होइन । औषधि नागरिकको जीवनसँग जोडिएको विषय भएकाले सरकारले मूल्य समायोजना गर्न खोजेको हो”, मन्त्री पौडेलले भन्नुभयो, “नागरिकलाई सकेसम्म सस्तो मूल्यमा औषधि उपलब्ध गराउने गरी मूल्य समायोजन हुनेछ । यसका लागि सरकार थप दायित्व निर्वाह गर्न तयार छ ।” औषधिको मूल्यसूचीबारे आफूले जानकारी राखेको भन्दै मन्त्री पौडेलले उत्पादन र बिक्री सूचीमा केही मात्रामा मूल्य घटाउन सकिने धारणा राख्नुभयो । उहाँले मूल्य समायोजना गर्दा पनि व्यवसायीले मुनाफा राखेर अहिलेको भन्दा कम मूल्यमा अत्यावश्यक औषधि बिक्री गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । “उत्पादक, बिक्रेताले कानुनभित्र रहेर तोकिएको मापदण्ड अनुसार मुनाफा लिनुपर्छ । यसले आमउपभोक्तालाई पनि सहज हुनेछ र केही पनि मर्कामा पर्ने छैनन्”, मन्त्री पौडेलले भन्नुभयो । अध्धयन गर्न गठित समितिले मूल्य समायोजन, गुणस्तर, व्यावसायिकता र अन्य व्यावहारिक पक्षलाई पनि समेटेर प्रतिवेदन तयार पार्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्यमन्त्री पौडेलले औषधि खर्चका कारण नागरिक गरिबीको रेखामा पर्न नहुने धारणा राख्दै वैज्ञानिक र तथ्यपरक हिसाबले मूल्य समायोजनमार्फत समस्या समाधानको विकल्प निकाल्ने गरी सुझाव आउने अपेक्षा व्यक्त गर्नुभयो । “सरकारी तथ्याङ्कले करिब पाँच लाख नागरिक औषधि खर्चका कारण गरिबीमा परेका छन् भन्ने देखाउँछ”, उहाँले भन्नुभयो, “समितिले औषधिको मूल्यका विषयमा तथ्यपरक र वैज्ञानिक अनुसन्धानबाट समायोजनाको ढाँचा बनाएर सबैलाई सकारात्मक प्रभाव पार्ने गरी सुझाव दिनुपर्छ, यसलाई मन्त्रालयले यथाशीघ्र कार्यान्वयन गर्नेछ ।” गत बिहीबार सरकारको एकसय दिनको प्रगति सार्वजनिक गर्ने क्रममा मन्त्री पौडेलले औषधिको मूल्य घट्नेगरी समायोजन हुने घोषणा गर्नुभएको थियो । त्यसको दुईदिनअघि गत मङ्गलबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद् डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गर्नुभएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
काठमाडौं: उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्याण्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो । करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ । सूचना अधिकारी भूलले थाई एयर एसियाको उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको जानकारी दिनुभयो । “विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउछ”, उहाँले भन्नुभयो, “यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो । अब, तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ । जिएसए पनि रद्द भएको छ ।” विशेष चार्टर्ड उडान अनुमति पाएको सो विमानले काठमाडौँबाट आजै यात्रुलिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएकोछ । थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो । प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनःउडान सुरु गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्र र राष्ट्रियताका पक्षमा प्रश्न उठ्नेगरी कुनै सम्झौता नगरिने स्पष्ट गर्नुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्नुभयो । “अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको छ । अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाड्ने सङ्कल्पका साथ हामी अघि बढ्का छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्र र राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्नेजस्ता घिनलाग्दा काम हामीबाट हुनसक्दैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसअघि नाकाबन्दीको सामना गर्दा सरकारबाट बाहिर पुग्यौँ होला तर कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सत्तामा आउँछौँ भनेका थियौँ र आयौँ पनि । दुई ठूला राजनीतिक दल एमाले र नेपाली कांग्रेससहितको वर्तमान सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ ।” हतियार बिसाएका मात्रै हौँ भनेर दिइने धम्कीप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुठो प्रचार गरेर धम्की नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्नुभयो । आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “भाडामा ल्याइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्, सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय छौँ भन्ने । ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनसम्म कुर्नुपर्ला, त्यसपछि परिणाम थाहाहोला ।” लोकतन्त्र भनेको छाडातन्त्र नभएको स्पष्ट गर्दैै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौँ, चुट्छौँ, मार्छौ, काट्छौँ भन्नु छाडातन्त्र हो, प्रजातान्त्रिक शासन व्यवस्थामा त्यस्ता क्रियाकलाप सैह्य हुँदैनन् ।” उहाँले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा जथाभावि प्रस्तुत हुनेहरुलाई उत्तरदायी बनाउने बाटोमा वर्तमान सरकार रहेको उहाँले स्पष्ट गर्नुभयो । सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई कानुनअनुसार सरकारले कार्यान्वयन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको टिप्पणी गर्नुभयो । उहँले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट अवकाशप्राप्त उच्च अधिकृतहरूले राष्ट्रिय सुरक्षा र पूर्व सुरक्षाकर्मीको भूमिकाबारे विचार प्रस्तुत गर्नुभएको थियो ।
काठमाडौं: तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । त्यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम समान एक÷एक गोल गरेका हुन् । भुटानका लागि डेकी लाजोमले एक गोल फर्काइन् । प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल आज साँझ ६ः३० बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौँ : उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् । उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन् । भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले पटकपटक विद्युत् लाइन काटेर उद्योगीमाथि अन्याय गरेको बताउनुभयो । उहाँले प्राधिकरणले विद्युत् महसुलसम्बन्धी प्रमाण दिए आफूहरुले शुल्क तिर्ने उल्लेख गर्नुभयो । ऊर्जामन्त्री खड्काले उद्योगमा विद्युत् कटौती भएको विषयमा ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरणलगायत सरोकार भएका निकायसँग छलफल गरी यथाशीघ्र समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले उद्योगीले प्रयोग गरेको लाइनबापतको रकम तिर्नुपर्ने भन्दै प्राधिकरणले पनि लाइन काट्न नहुने धारणा राख्नुभयो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत्को बारेमा लाल आयोगले अध्ययन गरिसकेकाले उक्त आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र मन्दीमा रहेका बेला उद्योगको लाइन काट्दा थप समस्या उत्पन्न हुनसक्ने भएकाले यथाशीघ्र समस्याको समाधान गर्न विभागीय मन्त्रालय लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिवद्धय सुरेश आचार्य र सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलगायत मन्त्रालयका उच्च पदस्थ अधिकारी एवं उद्योगी व्यवसायीको सहभागिता थियो ।
पोखरा: पोखरा क्रिकेट क्लबले अरण्यज्योती क्रिकेट क्लबलाई ७० रनले हराउँदै फाइनलमा यात्रा तय गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको कास्की जिल्ला स्तरीय अन्तर क्लब एक दिवसिय क्रिकेट च्याम्पियनसिपको आइतबार भएको दोस्रो सेमीफाइनलमा खेलमा अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखराले फाइनलमा राइजिङको भेट पक्का गरेको हो । १५१ रनको विजयी लक्ष्य पाएको अरण्यज्योती ३०.२ ओभरमा ८० रनमा अलआउट हुँदा पोखराले फाइनलको यात्रा तय गरेको हो । अरण्यज्योतीका लागि सुलभ सुवेदीले १७ र प्रदिप पौडेलले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । ओपनर कल्याण कुमाल ४, अंकित गजुरेल १, प्रविन पौडेल ५, प्रिजन श्रेष्ठ ५, प्रशान्त अधिकारी ४, सोमबहादुर थापा २ रनमा आउट भए भने मुकेश गुप्ता र अब्दुल खलिक मिया शुन्यमा आउट भए । सन्देश निउरे ८ रनमा नटआउट रहे । पोखराका लागि सुवाष भण्डारीले ९.२ ओभरमा ३ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिए । देव शाहले ६ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए भने विजय राउत, अमन सुवेदी र सागर भुजेलले समान १÷१ विकेट लिए । त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको पोखराले २६.५ ओभरमा १५० रन बनाउदै अलआउट हुन पुग्यो । पोखराका ओपनर मुस्कान थापाले ४४ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ११ बलमा ३ चौका र ५ छक्काको मद्धतमा ४४ रन बनाएका थिए । अर्जुन बुढाथोकीले ३९ बलमा ४ चौका प्रहार गर्दै २७ रन बनाए । यस्तै मनिश भण्डारी ५, अनिश खड्का १३, सुवाष भण्डारी १४, देव शाह ६, अमन सुवेदी ९, विजय राउत १०, सागर भुजेल ४ र रोशन पौडेल शुन्यमा आउट भए । समुन्द्र भुजेल १ रनमा नटआउट रहे । अरण्यज्योतीका लागि प्रविन पौडेलले ७ ओभरमा २७ रन खर्चदै ३ विकेट लिए । अब्दुल खलिक मियाले ६.५ ओभरमा ३० रन खर्चदै ३ विकेट लिए । प्रदिप पौडेलले २ तथा सोमबहादुर थापा र कल्याण कुमालले १÷१ विकेट लिए । कात्तिक १ गतेदेखी जारी प्रतियोगिताको उपाधि भिडन्त भोलि हुनेछ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहेको प्रतियोगिता प्रधानमन्त्री कम (पिएम कप) का लागि जिल्ला छनोटको रुपमा समेत रहेको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए । प्रतियोगितामा संघमा आबद्ध कास्कीका ९ क्लबको सहभागिता रहेको थियो ।

