काभ्रेपलाञ्चोक: मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ । बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी काम थालिएको थियो । ‘कोरोना–प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण बजेट अभावले दुई वर्षदेखि रोकिएको हो । योजनाअन्तर्गत छ वटा घर बन्न बाँकी छन्भने बनेका घरहरुको ‘फिनिसिङ’ गर्न बाँकी छ । नमूना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो । बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ । उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो । बाँकी काम पूरा गर्न नगर कार्यालयले रु ४० लाख सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखिनै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको हो । बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो । सरकारको योजनअनुसारनै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘होम–स्टे’सहितको नमूना तामाङ बस्तीको निर्माण थालिएको थियो । नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फछ्र्योट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँदै आउनुभएको छ । यसअघि नगरले रु १० लाख सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरीदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ । प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताउनुभयो । केही वर्षअघिसम्म स्थानीयस्तरमै पटकपटक रु ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । प्राधिकरणबाट रु दुई करोड ८० लाख रकम निकासा भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकमबाट एकीकृत बस्तीमा पहूँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुरस्थित तीनधारामा तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण सुरु गरिएको थियो । तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गर्न जनश्रमदान बाहेक रु १३ लाख लाग्ने अनुमान गरिएको थियो । बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीय निकै महिना खटेका थिए । स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत साथ दिएका बताउनुभयो । स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खट्नुभएको थियो । “गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको दुई वर्ष भैसक्यो”, पञ्चकुमारीले भन्नुभयो । उहाँले आफुलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको रु ५० हजार पनि प्राधिकरणको सहमतिअनुसारनै पाँच वर्ष अघिनै बस्ती निर्माणका निम्ति प्रदान गर्नुभएको थियो । त्यसपछि सरकारसँग सम्झौता गरी तीनधाराका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता उपलब्ध नगराएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए । विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा रु एक करोड ४० लाख निकासा हुँदा ऋणले पिरोलिएका तीनधाराका बासिन्दाले कामलाई तीव्र पारेका थिए । बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार पनि खर्चिइएको हो । बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्था गर्नुपर्ने सम्झौता भएको थियो । नमूना बस्तीमा रु ४० लाखमा एक सामुदायिक भवन निर्माण भएको छ । उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा, तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रोलगायतका सामाग्री सङ्ग्रह गरिने तथा तिनका बारेमा जानकारी दिने योजना थियो । छ घरको एक ‘ब्लक’ बनाएर छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाउने योजनाले पूर्णता नपाउँदा तीनधाराका बासिन्दा खिन्न भएका छन् ।
काठमाडौं: विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका–दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गर्नुभएको छ । वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो । यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ। उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।
म्याग्दी: स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भन्नुभयो, “यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो । प्रारम्भीक मूल्याङ्कनअनुसार यस वर्ष करिब रु ९३ करोडको हाराहारीमा स्याउ निर्यात भएको पाएका छौँ, पूरै तथ्याङ्क अझै आइसकेको छैन । यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो, जसबाट किसान निकै लाभान्वित भएका छन् ।” विगतको तुलनामा यस वर्ष करिब ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष मुस्ताङमा छ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष गत वर्षभन्दा सात सय ३४ टनभन्दा बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ । गत वर्ष रु ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएकोमा यसवर्ष गत वर्षभन्दा करिब रु २९ करोड बढी आम्दानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङले जानकारी दिनुभयो । यसैगरी कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कअनुसार मुस्ताङमा स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिकटन उत्पादन भएको छ । स्थानीय जातको स्याउ कुल आठ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएकामा पाँच सय ६६ हेक्टर क्षेत्रफलको स्याउका बोटबाट उत्पादन भइरहेको छ । यस वर्ष किसानबाट खरिद गर्दा व्यापारीले औसत मूल्य एक सय १० रुपैयाँ दिएका छन् । जसको कुल मूल्य रु ६६ करोड ८६ लाख ७२ हजार चार सय रहेको जनाइएको छ । स्थानीय जातका स्याउ प्रतिकेजी एक सय १० रुपैयाँ र हाईब्रिट स्याउ प्रतिकेजी रु दुई सयमा निकासी हुँदा मुस्ताङमा करिब रु ८३ करोड रकम भित्रिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख गुरुङले जानकारी दिनुभयो । कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक बासुदेव रेग्मीले यसपटक करिब रु ६० करोड १८ लाख मूल्य बराबरको स्थानीय जातको स्याउ खपत तथा निर्यात हुने अनुमान गरिएकामा अनुमान गरेभन्दा छ करोड बढी मूल्यको स्याउ विक्री भएको बताउनुभयो । उहाँका अनुसार मुस्ताङमा स्थानीय जातभन्दा आयातित उच्च घनत्व स्याउको उत्पादन राम्रो हुँदै गएको देखिएको छ । केही कृषकले लगाएको विदेशी जातको स्याउको बोटबाट छोटो समयमा धेरै परिमाणमा उत्पादन हुँदा व्यावसायिकरूपमा स्याउ उत्पादनको सम्भावना झनै बलियो बन्दै गइरहेको महानिर्देशक रेग्मीको भनाइ छ । मुस्ताङमा हाल ६० हेक्टर क्षेत्रफलमा मात्रै उच्च घनत्व जातका स्याउको खेती गरिएकोमा ५० हेक्टर क्षेत्रफलका बोटले उत्पादन दिन सुरु गरिसकेका छन् । उक्त क्षेत्रफलबाट एक हजार दुई सय ५० मेट्रिकटन स्याउ फलेको छ । जसको विक्री दर औसतमा दुई सय रुपैयाँ प्रतिकिलो रहेको छ । यसको कुल मूल्य रु २५ करोड रुपैयाँ रहेको छ । यहाँ उत्पादन भएकामध्ये १० प्रतिशत जिल्लामा नै खपत तथा भण्डारण हुने गरेको र बाँकी ९० प्रतिशत उत्पादन म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा, नारायणगढ, काठमाडौँलगायतका ठाउँमा भण्डारण र निर्यात हुने गरेको निर्देशनालयले जनाएको छ । मुस्ताङमा एक हजार चार सय १५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको र पाँच सय ८५ हेक्टर जमिनमा लगाइएको स्याउका बोटमा मात्रै स्याउ फलेका कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । यहाँ ८० प्रतिशत स्थानीय जातका स्याउ र २० प्रतिशत हाईब्रिड स्याउको खेती गरिएको छ ।
काभ्रेपलाञ्चोक: सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा आजदेखि पूर्णरूपमा सञ्चालन गर्न अनुमति दिएको छ । कार्यालयले जोखिमका कारण गत असोज ३० गतेदेखि रातको समयमा (दश घण्टा) यातायात सञ्चालनमा रोक लगाएको थियो । असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बिपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबँेसी–बर्खेखोला सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको थियो । कार्यालयले सुक्खा पहिरो खस्न सक्ने तथा काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित १ नम्बरपुल–चौकीडाँडा–बर्खेखोला खण्डको करिब आठ किलोमिटर सडक ट्रयाक मर्मत–सुधार गरी यात्रा सुरक्षित बनाउनुपर्ने जनाउँदै उक्त सडकखण्ड रातको समयमा बन्द गरेको हो । बाढीपहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेँसी–चौकीडाँडा–बर्खेखोला खण्डका विभिन्न स्थानमा पूर्णरूपमा बगाएको ८ किलोमिटरभन्दा बढी लम्बाइको सडकमा वैकल्पिक ट्रयाक निर्माण गरेर सो रुटमा परमिट भएका यात्रुवाहक बस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आउजाउ गर्छन् । राजमार्गको कूल एक सय ६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि भ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको कार्यालयले जनाएको छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकारमा जानेभन्दा सङ्गठन बलियो बनाउने अभियानमा लागेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आमनागरिकको हितमा काम गर्न सरकारलाई सुझाव दिँदै भन्नुभयो, “दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारलाई निरङ्कुश बन्न छुट छैन, संसदीय पद्धति र परम्परालाई पालनागरी सुशासनसहित जनतालाई राहत सुविधा दिनेतर्फ सरकारको ध्यान जान आवश्यक छ ।” उहाँले भ्रष्टाचारमा संलग्न दोषीलाई कुनै हालतमा छाड्न नहुने धारणा व्यक्त गर्दै गत असारमा आएको अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । एक प्रश्नको जवाफमा वर्तमान सरकारको सय दिनको समीक्षा हामी प्रतिपक्ष राजनीतिक दललेभन्दा आमनागरिकले गर्ने छन् भन्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “विद्यमान अवस्थामा कुनै पनि किसिमका ऐन, कानुन अध्यादेशबाट ल्याउनुभन्दा जनताको सर्वोच्च निकाय संसद्मा छलफल गराई आउनुपर्दछ, संसद्लाई उपेक्षागरी कानुन ल्याउन खोजिए प्रमुख प्रतिपक्ष दलका हैसियतले माओवादी पार्टी संसद् र सडकबाट विरोधमा उत्रन्छ ।” उहाँले हाम्रो ध्यान सरकारभन्दा पनि सङ्गठन विस्तार, सुदृढीकरण, पार्टी एकता एवं एकीकरण अभियानमा लागेको स्पष्ट गर्नुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गर्नुभएको हो । प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतल निवासमा आएको जानकारी दिनुभएको थियो । राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिनका लागि आफूहरू आएको बताउँदै उहाँहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । नेताहरूले संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो । सो असरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईहरूलाई विश्वास दिलाउन चाहन्छु ।” संसद्मा प्रतिपक्षमा नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र आमजनता पार्टी छन् । राष्ट्रपति पौडेलसँगको भेटमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आमजनता पार्टीबाट नेता तिलक थापामगर सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले गरिरहेको हूलहुज्जत र सडक प्रदर्शनले अनुसन्धानलाई प्रभावित गर्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले आज विज्ञप्ति जारी गरी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सो पार्टीका सभापति लामिछानेका समर्थकहरुले राज्यका तटस्थ निकायहरुलाई आतङ्कित र त्रसित पारी अनुचित दबाब सिर्जना गरिरहेको उल्लेख गरेको छ । राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणलाई बाधा पु¥याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सद्भाव र स्थानीय शान्तिसुरक्षामा समेत खलल पु¥याउने गतिविधिप्रति कांग्रेसले विरोध जनाएको छ । संसदीय छानबिन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकाले सोही बमोजिम केही सहकारीको रकम अपचलन गरेको अभियोगमा गोर्खा मिडिया कम्पनीका सञ्चालकहरु जिबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेलाई उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । “कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पु(याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन् बढी जिम्मेवारी हुनु पर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “तर रास्वपाका नाममा भइरहेको गतिविधिहरुले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ ।” प्रचलित कानुनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरुमाथि समान ढङ्गले अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ भन्ने मान्यताप्रति कांग्रेस प्रतिबद्ध रहेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चितवन: सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष २०८२ सफल पार्ने लक्ष्यका साथ अभियान बोकेर मेची–महाकाली राष्ट्रिय उद्घार यात्रा–२०८१ मा निस्केको टोली मङ्गलबार चितवन आइपुगेको छ । ‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा पूर्वको मेची पुलबाट सुरु गरिएको अभियानको टोलीलाई भरतपुरमा आज स्वागत गरिएको छ । स्वागत कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले महानगरपालिकाले देशमै पहिलो पटक सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको स्मरण गर्नुभयो । मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी सडक मानवको खोजी र उद्घार कार्य गरी सो अभियान सफल पारेको उहाँले बताउनुभयो । आजको दिनमा चितवन तथा भरतपुरमा सहयोगापेक्षी सडक मानव नभेटिएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले १२ वर्षअगाडि स्थापना भएको मानव सेवा आश्रम आज देशका सात प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्रबाट सेवा प्रवाह भइरहेको बताउनुभयो । उहाँले विसं २०८२ सम्ममा नेपालको सडकपेटीमा कसैले पनि भोकै नाङ्गै बेसहारा भएर बस्न नपर्ने राष्ट्र निर्माण गर्ने सङ्कल्प आफूहरुको रहेको उल्लेख गर्नुभयो । महानगरमध्येमा सबैभन्दा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त भरतपुर महानगर घोषण भएको भन्दै आज भरतपुर आइपुग्दा मेची–महाकाली यात्रामा हौसला मिलेको उहाँको भनाइ थियो । अभियानका क्रममा अध्यक्ष अधिकारीले हेटौँडादेखि भरतपुरसम्म आउँदा एकजना पनि बेसहारा सहयोगापेक्षी मानव नभेटिएको बताउनुभयो । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा हालसम्म कोशी र मधेश प्रदेशमा ८४ जनाको उद्धार भएको अधिकारीले जानकारी दिनुभयो । उहाँले चितवनमा आइपुग्दा सहयोगापेक्षी मानव नभेटिनुले अभियानमा हौलसा मिलेको उहाँको भनाइ थियो । छोइङ डोल्मा फाउन्डेसनका संस्थापक आनी छोइङ डोल्माले यो अभियान सबैको साझा अभियान रहेको बताउनुभयो । यात्राका क्रममा सहयोगापेक्षीहरु कम भेटिनु अभियानको शुभ सङ्केत रहेको भन्दै उहाँले भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त भएकामा खुसी व्यक्त गर्नुभयो । गत असोज २६ गतेदेखि सुरु भएको सहयोगापेक्षी सडकआश्रित मानवको मेची–महाकाली राष्ट्रिय उद्घार यात्रा यही कात्तिक २८ गते सकिनेछ ।
पोखरा: गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को समुहको विजेता बनेको हो । ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि सिबृन श्रेष्ठले ३५ रनको उत्कृष्ट पारी खेलेपनि उनको विकेट पतनसँगै टोली संकटमा परेको थियो । उनले ३४ बलमा ६ चौका र १ छक्काको मद्धतमा ३५ रन बनाएका थिए । उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । ओपनर मेघनाथ खनाल १, राकेश गुप्ता ५, अरुण अधिकारी ४, सनम बुढा १ रनमा आउट भए भने, सुदिप पौडेल, विराट दवाडी, सुमिट शेरचन, सागर बस्याल र भुवन रेग्मी शुन्यमै पेभिलियन फर्किए । पोखराका लागि सुवाष भण्डारीले ७ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । देव शाहले ५.५ ओभरमा ३१ रन खर्चदै ४ र अनिश खड्काले १ विकेट लिए । त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पोखरा २७.१ ओभरमा ८० रन बनाउँदा अलआउट हुन पुग्यो । पोखराका लागि ओपनर मुस्कान थापाले १८ रन बनाए । अर्जुन बुढाथोकी १, मनिष भण्डारी ७, सुवाष भण्डारी १२, रोशन पौडेल ११, अनिष खड्का ८, रोहन चन्द २, अमन सुवेदी ४ रनमा आउट भउ भने देव शाह र सागर भुजेल शुन्यमै पेभिलियन फर्किए । सांग्रिलाका लागि भुवन रेग्मीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सिबृन श्रेष्ठ र सुदिप पौडेलले २÷२ तथा सुनम बुढा, सागर बस्याल र सुमिट शेरचनले १÷१ विकेट लिए । जितसँगै पोखराको कुल ४ अंक रह्यो । सांग्रिला र यस अघि नै बाहिरिएको लेकसाइडको १/१ अंक रहेको छ । १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद र पोखरा महानगरपालिकाको सहयोग रहेको छ । पिएम कपको जिल्ला छनोटको रुपमा समेत रहेको प्रतियोगिताको समुुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन ।

