पोखरा महानगरपालिका–२५ हेमजास्थित अम्मटमा ‘बिच एण्ड फिस फेस्टिभल २०८१ आयोजना गर्ने भएको छ । हेमजामा रहेको आर.एस.बिच क्लबले यही कात्तिक ९ गतेदेखि खुला ‘फाइभ ए साइड फुटबल प्रतियोगिता’ आयोजना गर्ने क्लबका अध्यक्ष रमेश कार्कीले बताए । ‘आर.एस.बिच क्लबले आयोजना गरेको बिच एण्ड फिस फेस्टिभल २०८१ को अवसरमा फाइभ ए साइड फुटबल प्रतियोगिता कात्तिक ९ गतेदेखि सञ्चालन गर्दै छौँ, अध्यक्ष कार्की भने, फेस्टिभलमा बल्छि हान्ने, साइकिलिङ, फ्रि स्टाईल फुटबल र बन्जी जम्प प्रतियोगिता गर्दै छौं ।’ उनका अनुसार फाइभ ए साइड फुटबलको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कारसहित प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर र हाईस्कोररलाई पुरस्कार प्राप्त गर्नेछन् । यस्तै फ्रि स्टाइल फुटबल प्रतियोगितामा च्याम्पियन बन्ने खेलाडीले १० हजारसहित बन्जी प्याकेज र उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । घोडा दौड प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । घोडा दौडमा सहभागिता जनाउन एक टिमलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै बल्छी हान्ने प्रतियोगितासमेत आयोजना गरिएको क्लबले जनाएको छ । अम्मट गुफाको प्रचारप्रसार एवम् प्रर्वद्धन गर्ने उद्धेश्य आर.एस.बिच क्लबका अध्यक्ष रमेश कार्कीले ऐतिहासिक महत्व बोकेको अम्मट गुफाको प्रचारप्रसारसँगै प्रवद्र्धन गर्ने उद्धेश्य रहेको बताए । ‘हामीले अम्मटरमा रहेको एतिहासिक अम्मट गुफाको प्रचारप्रसार गर्ने हो, यहाँ साहसिक बन्जी जम्प, जीपलाइन पनि सञ्चालन रहेको छ, कार्कीले भने, ‘यस स्थानमा व्यवसायिक मत्स्यपालसँगै यस क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै व्यवसायिक खेलकुद तथा पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउने उद्धेश्य रहेको छ ।’
गलकोट: स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन् । विसं २०७३ आसरदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको सङ्ख्या वृद्धि भएको हो । यहाँको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमा सेवा लागु भएकाले बिमामा आबद्ध हुनेको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताउनुभयो । पौडेलकाअनुसार स्वास्थ्य बिमामा आबद्धमध्ये ६६ हजार आठ सय ३९ महिला र ५९ हजार पाँच सय ६० पुरुष छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि एक लाख सम्मको स्वास्थ्य उपचार निःशुल्क पाइने भएकाले नागरिक बिमामा आकर्षित भएका छन्”, पौडेलले भन्नुभयो, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजारले स्वास्थ्य बिमा गराएका छन्, एक पटक प्रमियिम तिरेपछि वर्षभरी सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।” दुई लाख ४९ हजार दुई सय ११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गराइसकेका छन् । स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि धौलागिरि अञ्चल अस्पतालमा बिरामीको सङ्ख्यामा तेब्बरले वृद्धि भएको छ । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्यको हकमा प्रति सदस्य रु सात सयका दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ ।
काठमाडौं: विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुति रहनेछ । जङ्गी अड्डामा आयोजना हुने राष्ट्रसङ्घ स्थापना दिवस कार्यक्रमले शान्ति, समानता र सहकार्यका लागि एकजुट हुने सन्देश प्रवाह गर्ने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताउनुभयो । अन्तर्राष्ट्रिय श्रम, खाद्य तथा कृषि, विश्व स्वास्थ्य, हुलाक, नागरिक उड्डयन, जलवायु, बौद्धिक सम्पत्ति, सामुद्रीक, कृषि विकास कोष, औद्योगिक विकास र पर्यटन सङ्गठनलगायत उक्त विश्व संस्थाका १५ वटा विशिष्टिकृत निकायमार्फत श्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलवायुका क्षेत्रमा मुलुकलाई सहयोेग प्राप्त हुँदै आएको छ । छ दशक पुरानो सहकार्य सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य भएको नेपालले त्यसको तीन वर्षपछि शान्ति सैनिक परिचालन गर्न थालेको हो । मुलुकले शान्ति सेनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी परिचालन गर्दै आएका छ । राष्ट्रसङ्घीय शान्ति सेनामा सैनिक परिचालन गर्ने मुलुकको सूचीमा नेपाल प्रथम स्थानमा छ । राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका एक सय २० राष्ट्रबाट ९७ हजार शान्ति कार्यरत छन् । राष्ट्रसङ्घको छाता मुनि विश्वका विभिन्न मुलुकमा स्थापना भएका ११ शान्ति मिसनमा छ सय ५१ महिलासहित पाँच हजार नौ सय १८ नेपाली शान्ति सैनिक परिचालन भएछन् । शान्ति सेनामा महिला परिचालन गर्ने मुलुकको सूचीमा पनि नेपाल शीर्षस्थानमा छ । शान्ति मिसनमा सशस्त्र प्रहरी बलबाट एक सय ९५ र नेपाल प्रहरीका २८ जना कार्यरत छन् । द्वन्द्वबाट जटिल, जोखिम र चुनौतीपूर्ण बनेको परिवेशमा पूर्ण निष्ठा र व्यावसायिकताका साथ काम गरेर नेपाली शान्ति सेनाले देशको गरिमा बढाएको छ । नेपाली सेनाका अनुसार हालसम्म ४४ मिसनमा एक लाख ५३ हजार छ सय ५४ नेपाली शान्ति सैनिक आफ्नो सौर्य प्रदर्शन गरेका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवक्षक परिचालन गरेर विश्वशान्ति स्थापनाका निम्ति स्थापना भएको राष्ट्रसङ्घसँग सहकार्य सुरु गरेको नेपालले सन् १९७४मा नेपाली सेनाको पुरानो गोरख गणलाई इजिप्टमा परिचालन गरेको थियो । हालसम्म ७३ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६९ जना घाइते भएका छन् । शान्ति सेनाका पूर्वफोर्स कमाण्डर ईश्वर हमाल नेपाली सैनिक व्यावसायिक तथा चुनौतिपूर्ण परिस्थितिमा पनि निर्भीकतापूर्वक निर्देशन कार्यन्वयन गर्ने भएकाले सबै फोर्स कमाण्डरले नेपालीलाई रुचाउने गरेका बताउनुहुन्छ । मिलनसार र उत्कृष्ट ढङ्गबाट जिम्मेवारी पूरा गरेकै करण राष्ट्र सङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको उहाँको विश्लेषण छ । राष्ट्रसङ्घबाट माग भएमा १० हजार सैनिक परिचालन गर्न नेपाल तयार रहेको सरकारले बताउँदै आएको छभने नेपालको योगदानलाई कदर गर्दै सिरियास्थित शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारी बलाधिकृत रथी निर्मल थापाले सम्हाल्ने अवसर प्राप्त भएको छ । यसअघि कृष्णनरसिंह थापा, भिक्ट्री राणा, बालानन्द शर्मा, पवनजङ्ग थापा, पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
पाल्पा: पाल्पामा खेलकुदका क्रियाकलाप बढ्दै गएका छन् । खेलकुदमा खेलाडीको मनोबल बढाउन प्रतिस्पर्धात्मक रुपमा विभिन्न खेल सञ्चालन भइरहेका छन् । मण्डली स्पोर्टस क्लब पूर्वखोला–१ सिलुवाको आयोजनामा पाल्पामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक रुपमा खेल हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक हुनेगरी खुल्ला क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोेगिता सञ्चालन हुने भएपछि खेलप्रेमीमा उत्साह बढेको छ । यही कात्तिक २१ देखि २४ गतेसम्म आठौँ मण्डली कप २०८१ सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीको सहभागिता रहनेछ । क्लबमार्फत जुनसुकै स्थानका खेलाडी पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने अवसर रहेको आयोजकले बताएको छ । प्रतियोगितामा विभागीय टोलीबाहेक अन्य जुनसुकै क्लबले पनि प्रतिस्पर्धा गर्न पाउने र विभागीय क्लबका खेलाडी पनि अन्य क्लबमार्फत प्रतियोगितामा सहभागी हुन पाउनेछन् । पुरुषतर्फ छ क्लब र महिलातर्फ चार क्लबको सहभागिता रहने क्लबका अध्यक्ष एवम् भलिबलका राष्ट्रिय रेफ्री अनन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा १४ खेल हुनेछन् । पुरुष भलिबल प्रतियोगितातर्फ प्रथम हुनेलाई रु एक लाख ५० हजार, द्वितीय पुरस्कार रु एक लाख, तृतीय पुरस्कार रु ७० हजार र सान्त्वना पुरस्कार रु ३५ हजार रहेको क्लबका सचिव कृष्णप्रसाद पँगेनीले बताउनुभयो । यस्तै, महिलातर्फ प्रथम पुरस्कार रु ३० हजार, द्वितीय पुरस्कार रु २० हजार, तृतीय पुरस्कार रु १० हजार र सान्त्वना पुरस्कार रु पाँच हजार रहेको छ ।
चितवन: नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि नै सञ्चालनमा आएको हो भने नाम्चे र तुइनखोला पुल कात्तिक मसान्तसम्ममा सञ्चालनमा आउनेगरी काम भइरहेको छ । ती दुवै पुलको कालोपत्रको अन्तिम काम र रङ्गरोगनका काम मात्र बाँकी छ । आचार्यले भन्नुभयो, “दसैँमा कामदार घर गएकाले केही ढिला भयो, यो महिनाको मसान्तसम्ममा काम सकिन्छ ।” पहरो काटेर निर्माण भइरहेको खहरे खोलाको पुलमा पहुँच सडकका लागि धेरै तलबाट पर्खाल लगाउनुपर्ने भएकाले थप दुई महिना लाग्ने उहाँले बताउनुभयो । पुस मसान्तसम्ममा यो सडकका १९ वटै पुल नयाँ निर्माण सम्पन्न हुने आचार्यको भनाइ छ । यस सडकमा १९ वटा पुल छन् । त्यसमध्ये विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि चार नयाँ पुल निर्माण गरिएको थियो । विश्व बैङ्कको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलसमेत ११ मिटर फराकिला बनाइएको छ । पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो । तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । यो सडक राजधानी छिर्ने र बाहिरिने मुख्य सडक हो । विगतका वर्षमा पहिरोका कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै केही सहज हुँदै आएको छ । यही क्रममा पहिरो रोक्नका लागि कामसमेत गरिएको छ ।
बाँके: कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ । नेपालगन्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गर्नुभएका बाँकेको खजुराका युवा व्यवसायी शतिश निरौलाले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद तथा मान्यजनकहाँ जाँदा कोसेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको बताउनुभयो । “सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगन्जबाट अन्यत्र जाँदा दसैँ–तिहारमा कोसेलीका रुपमा लैजाने सहज भएको छ”, उहाँले भन्नुभयो, “विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तोसमेत भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ ।” नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी मङ्गलीमाया श्रेष्ठले यस वर्षको दसैँमा कर्णालीको स्याउ कोसेलीका रुपमा १५ किलो खपत गरेको बताउनुभयो । घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आशीर्वाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउ नै बोकेर जाने गरेको उहाँको भनाइ छ । नेपालगन्जको धम्बोझीमा तिहारलाई लक्षित गरेर अहिले पनि कर्णालीको स्याउ किनबेच गर्नेको भीडभाड हुने गरेको छ । नेपालगन्जको धम्बोझी चोकमा कर्णालीकै महिलाहरुले असोजको पहिलो हप्तादेखि नै स्याउको बिक्री–वितरण गर्दै आउनुभएको छ । जुम्लाको सिँजा गाउँपालिकाबाट नेपालगन्जमा स्याउ बिक्री गर्न आउनुभएकी शीतली रोकायले दैनिक २५ देखि ३० किलोसम्म स्याउ बिक्री गर्ने गरेको बताउनुभयो । अन्य बेलाभन्दा दसैँ–तिहारको बेला स्याउ धेरै बिक्री हुने गरेको उहाँको भनाइ छ । नेपालगन्जका अन्य फलफूल पसलमा समेत उपभोक्ताले कर्णालीकै स्याउ किन्ने गरेका छन् । नेपालगन्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारले यो वर्ष कर्णालीको स्याउले भारतीय र चाइनिज स्याउलाई जितेको बताउनुभयो । उहाँले आफ्नो पसलमा आउने उपभोक्ताले कर्णालीको स्याउ नै खोज्ने गरेको बताउनुभयो । यो दसैँमा कर्णालीको स्याउ अन्य समयको तुलनामा तीन गुणा बढी बिक्री भएको छ । बाहिरबाट आउने स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिलो र सस्तोसमेत भएकाले उपभोक्ताको रोजाइमा परेको सुनारले उल्लेख गर्नुभयो । कर्णाली स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको ‘अग्र्यानिक’ स्याउ ठूलो मात्रामा नेपालगन्जमा भित्रिएको छ । भारतीय स्याउ प्रतिकिलो रु एक सय ५० देखि रु दुई सय ५० र चीनको स्याउ प्रतिकिलो रु एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको अग्र्यानिक स्याउ बाँकेमा प्रतिकिलो रु ९० देखि रु एक सय २० सम्ममा पाइन थालेपछि यो वर्षको दसैँ–तिहारमा उपभोक्तालाईको रोजाइमा परेको स्थानीय व्यवसायी रमजान कबडियाले बताउनुभयो । उहाँका अनुसार अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक बढेको छ । कबडियाले सीमापारिबाट आउने भारतीय नागरिकले समेत कोसेलीका रुपमा कर्णालीको स्याउ किनेर लैजाने गरेको बताउनुभयो ।
अर्घाखाँची: नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिनुभएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताउनुभयो । अभियानका लागि अर्घाखाँची कांग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई छ स्थानीय तहका ६१ वटा वडामा खटाएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । सयदिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, सङ्गठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी बनाइने कांग्रेसका अर्का जिल्ला सचिव अच्युत गौतमले जानकारी दिनुभयो । भातृ र शुभेच्छुक सङ्गठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मान गरिने नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले बताउनुभयो । अभियान आउँदो पुस १६ गते बिपी जयन्तीका दिन समापन हुनेछ ।
पर्वत: जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छभने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् । जिल्लाको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्याएको हो । कुश्मा–१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गर्नुभयो । उहाँका अनुसार केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो । एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको उहाँको भनाइ छ । सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ । महाशिला–५ की किसान सरस्वती अधिकारीले काटेर सुकाएको धान एक्कासी परेको असिनापानीले झारेर नष्ट गरिदिएको बताउनुभयो । मौसमविद्ले मनसुन सकिएको र मौसम सफा रहने बताएपछि धान खाटेर सुकाएका किसान असिनाले क्षति पुर्याएपछि निराश बनेको उहाँको गुनासो छ । पर्वतका गत वर्ष पनि यही समयमा परेको असिनाले धानबालीमा नोक्सान पुर्याएको थियो । यस वर्ष समयमै मनसुन सुरु भएकाले समयमै रोपाइँ गरेका कारण धान उत्पादनसमेत बढ्न अनुमान गरिएको भए पनि असिनापानीले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जिल्लाका अधिकांश क्षेत्रमा असिनापानीले क्षति पुर्याएको छ । अहिले स्थानीय तहहरूले तथ्याङ्क सङ्कलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्याङ्क आइपुग्ने बताउनुभयो । किसानले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको जनाउँदै उहाँले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेको पनि बताउनुभयो । यो बेलामा कतिपय जातका धानमा परागसेचनको काम हुने तर यही बेलामा हावा र वर्षाले फूल नै झारेपछि उत्पादनमा ह्रास आउन सक्ने कार्यालय प्रमुख अधिकारीको भनाइ छ । ढलेको धानलाई उठाएर मुठा पारेर केही मात्रामा भए पनि क्षति कम गर्न सकिने भए पनि त्यसले बालीलाई पूर्ण सुरक्षित भने नबनाउने उहाँको भनाइ छ ।
काठमाडौं: भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा नभएको हो । भारतको सिमाना त्रिवेणीबाट चीनको कोरला नाका जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गाबाट जोमसोमसम्मको सडकलाई दुई लेनको बनाएर कालोपत्र गर्न सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७४ मा विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । योजना प्रमुख धु्रवकुमार झाले मालढुङ्गाबाट जोमसोमसम्म ८९ किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि आठवटा खण्डमा ठेक्का सम्झौता भएकामा बेनी–गलेश्वर तीन किलोमिटर, गलेश्वर एक किलोमिटर र कैकुखोला–खन्ती १२ किलोमिटर पाँच सय मिटरमा कालोपत्र गर्ने कार्यले पूर्णता पाएको बताउनुभयो । “मालढुुङ्गा–बेनी, गलेश्वर–तातोपानी, नागढुङ्गा–कैकुुखोला र खन्ती–जोमसोम खण्डमा कालोपत्र गर्ने कार्यले अझै पूूर्णता पाएको छैन”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई समन्वय, कारबाहीको चेतावनी र समन्वय गरेर काममा फर्काउन ताकेता गरे पनि निर्माणले गति लिन सकेको छैन ।” ठेक्का सम्झौता गरेको निर्माण कम्पनी आफैँले काम नगरेर दोस्रो, तेस्रो पक्षलाई काममा लगाउनु, ठेकेदारले कार्ययोजनाअनुुसार उपकरण, मजदुर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्नु, सडकको क्षेत्राधिकारभित्र रहेको घरटहरा भत्काउन ढिलाइ हुनु, पूर्वस्वीकृति नलिई जथाभावी शाखा सडक निर्माण गरिनु, कमजोर भूबनोट, नदी कटान र बाढीपहिरो, सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा रोक लगाएका कारण राष्ट्रिय गौरवको आयोजना प्रभावित बनेको सरोकारवालाले बताएका छन् । कालोपत्र र ढलान भएको सडकमा पहिरो, बाढी र कटानका कारण क्षति पुगेको छ । हिउँदभरि निर्माण गरेको सडक बर्खामा क्षतविक्षत हुने र बीमा भुक्तानी पाउन ढिलाइ हुँदा काम प्रभावित हुुने गरेको नागढुङ्गा–कैकु खण्डको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो । सम्झौताअनुसारको परिणामको काम गरे पनि विपद्का कारण क्षति पुगेको उहाँको भनाइ छ । पहिरो, कटान र बाढीको जोखिम न्यूनीकरणका लागि थप बजेट र योजना आवश्यक रहेको सरोकारवालाले बताएका छन् । कुन खण्डमा कति प्रगति ? पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर दूरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का लिएको थियो । सार्वजनिक खरिद ऐनको १३औँ संशोधनअनुुसार अन्तिमपटक थपिएको ठेक्काको म्याद २०८१ असोज ३० गते सकिएको यस खण्डको भौतिक प्रगति ६२ प्रतिशत छ । ठेक्का अवधि सकिएपछि निर्माण व्यवसायी जरिवानामा परेको छ । रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा शर्मा युनाइटेड जेभीले ठेक्का लिएको थियो । विसं २०७७ मा सम्पन्न हुनुपर्ने यो खण्डको ९० प्रतिशत भौतिक प्रगति भएको छ । यो खण्डको विभिन्न ठाउँमा नौ किलोमिटर कालोपत्र भएको छ । विसं २०७४ मा शर्मा–गजुरमुखी जेभीले ठेक्का लिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानी नागढुङ्गाबाट मुस्ताङको घाँसासम्मको १७ किलोमिटर खण्डको ९० प्रतिशत भौतिक प्रगति भएको छ । विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको अवधिसँगै लागत पनि बढेको छ । पछिल्लोपटक भएको ‘भेरियसन अर्डर’सहित लागत रु ६३ करोड पुगेको हो । घाँसा खण्डमा दुई किलोमिटर कालोपत्र र बादरजुङ क्षेत्रमा एक किलोमिटर छ सय मिटर ढलान भएको यो खण्डमा थप आठ दशमलव पाँच किलोमिटर कालोपत्रको तयारी भएको छ । पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा दुई दशमलव पाँच किलोमिटर सडकलाई कालोपत्रबाट हटाइएको छ । पप्पु–गौरी–पार्वती–कोशी एण्ड न्यौपानेले २०७४ सालमा रु ७० करोड ५२ लाखमा ठेक्का सम्झौता गरेको मुस्ताङको खन्तीबाट टुकुचे, मार्फा, स्याङ हुँदै जोमसोमसम्मको १६ किलोमिटर सडकको हालसम्म ९६ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताउनुभयो । खन्ती–टुकुचे र मार्फा क्षेत्रमा कालोपत्र र जोमसोम बजारभित्र ढलान सकिएको यो खण्डको बाँकी ठाउँमा कालोपत्र गराउन निर्माण व्यवसायीलाई ताकेता गरेको उहाँले बताउनुभयो । सकसपूर्ण यात्रा सडक स्तरोन्नतिमा भएको ढिलाइले स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको बेनीका प्रकाश पौडेलले बताउनुभयो । पौडेलको अगुवाइमा बेनी र जलजलाका सरोकारवालाले सडक निर्माणलाई गति दिन दबाबमूलक अभियान थालेका छन् । यात्रुहरू समयमा गन्तव्यमा पुग्न नसक्ने, दुर्घटनाको जोखिम, ढुवानी र यात्रुुको भाडादर महँगो भएको छ । “जोमसोमबाट कोरलासम्मको सडक सहज भए पनि मालढुङ्गाबाट बेनी हुँदै (कैकु–खन्ती-खण्डबाहेक जोमसोमसम्म सडक निर्माणले पूर्णता नपाएको, पहिरो, हिलो र धुलोले सास्ती बनाएको छ”, उहाँले भन्नुभयो, “धार्मिक हिसाबले मुक्ति पाउन र प्रकृतिसँग रमाउन मुस्ताङको यात्रा गर्नेहरूलाई म्याग्दी खण्डमा भएको सकसले नराम्रो सन्देश प्रवाह भएको छ ।” आठ वर्षमा ८४ प्रतिशत प्रगति दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति २०७३ सालमा सुरु भएको आयोजनाको आठ वर्षमा ८४ प्रतिशत भौतिक प्रगति भएको छ । रु १० अर्ब लागत अनुमान गरिएको यो सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ । एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी चापागार्इँले बताउनुभयो । चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल ठेक्का प्रक्रियामा जान बाँकी छ । मालढुङ्गाबाट कागबेनीसम्म आठवटा खण्डमा कालोपत्र गर्ने ठेक्का सम्झौता भएकामा चारवटा सकिएको र चारवटा जारी रहेको छ । बेनी, तातोपानी र रुप्सेमा तीनवटा अस्थायी बेलीब्रिज जडान गरेर यातायात सञ्चालन गरिएको छ । अधुरो सडक निर्माणलाई पूूर्णता दिन म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि, निजी क्षेत्र र विभिन्न सङ्घसंस्थाले दबाब सिर्जना गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा गत हप्ता आयोजना, निर्माण व्यवसायी, जनप्रतिनिधि, प्रशासन, सुरक्षा अधिकारी र दबाब अभियानका अगुवाहरू बीच सडक निर्माणमा देखिएका समस्या समाधान गरी स्तरोन्नतिको कामलाई तीव्रता दिने विषयमा छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ठेकेदार र आयोजना पक्षले निर्माणलाई गति दिने, जनप्रतिनिधिले नदीजन्य निर्माण सामग्रीको आपूर्तिमा सहज वातावरण बनाउने र निर्माणस्थलमा उत्पन्न हुने सामाजिक समस्या समाधानका लागि सबैले सहजीकरण गर्ने सहमति भएको बताउनुभयो ।

