पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

गलकोट:  बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा रु ४५ लाख भेटी सङ्कलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा रु ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ ।            बडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी सङ्कलन हुने गरेको छ । दसैँमा मात्रै वर्षभरी हुने भेटीमध्ये ६० प्रतिशत सङ्कलन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।        असोजमा भेटीमार्फत रु २२ लाख ८० हजार, परेवा बिक्रीबाट रु ११ लाख ३६ हजार दुई सय ५०, सटर भाडा रु तीन लाख ८५ हजार, बोकाको बली शुल्कबाट रु चार लाख चार हजार, चामल बिक्रीबाट रु ९६ हजार सङ्कलन भएको छ ।  साथै कुखुरा बली शुल्कबाट रु ३० हजार आठ, राँगा बलीबाट रु १८ हजार चार सय, विवाह शुल्क रु १० हजार पाँच सय, आर्थिक सहयोग रु एक लाख ४७ हजार आठ सय ७१, पण्डितबाट प्राप्त शुल्क रु १६ हजार चार सय र व्रतबन्धबाट रु तीन सय आम्दानी भएको समितिका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।           साथै असोजमा विभिन्न शीर्षकमा रु १३ लाख ९० हजार खर्च भएको जनाइएको छ । अध्यक्ष खड्काले दिएको जानकारीअनुसार तलब, पूर्वाधार, कर्मचारी सुविधा, पानी, विद्युत्लगायत उक्त रकम खर्च भएको छ ।       चाडवाडको समयमा कालिका मन्दिर दर्शन गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँमा मात्रै चार लाख दर्शनार्थी मन्दिर दर्शनका लागि आएको गुठीको तथ्याङ्क रहेको छ । गत चैते दसैँमा पनि रु ४० लाख भेटी सङ्कलन भएको थियो । 

पोखरा:   नेपाल क्रीकेट संघको आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय  क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ ।   यही कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यीय खेलाडीहरुको नाम घोषणा गरेको हो ।   उनी अहिले १९ राष्ट्रिय टोलीका सदस्य समेत हुन् । साथै उनले नेपालको प्रतिनिधित्व समेत गरिसकेका छन् ।   टाेलीको छनाैटका लागि गत असोज ७ गते देखि १३ गतेसम्म पोखरा क्रिकेट रंगशालामा संचालन भएको “वाई-वाई यु-१९ गण्डकी प्रदेश स्तरिय पुरुष एक दिवसिय क्रिकेट प्रर्तियोगिता २०८१” मा प्रतिकुल मौसमका कारण पुर्ण हुन नसकेपछि उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी  जिल्लाहरुका प्रशिक्षकहरुको राय समेत लिई पहिलो चरण मा ३७  खेलाडीहरु लाई बन्द प्रशिक्षणका लागि छनौट गरिएको थियो ।   २०८१ असोज २० गते देखि २४ सम्म पोखरामा संचालित  बन्द  प्रशिक्षणको दोश्रो चरणमा २४ खेलाडीहरु सहभागी थिए।    गण्डकीको टिममा करण पंगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् ।   त्यसैगरी वैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन् ।गण्डकीले आफ्नो खेल कार्तिक ११ गते मधेश प्रदेशसँग खेली प्रतियोगिताको सुरुवात गर्ने छ ।    रिजन प्रजुको प्रशिक्षणमा रहेको गण्डकीको यू–१९ टिम सन्तुलित टिम र दाबेदार रहेको छ । टोलीको व्यवस्थापकमा स्याङ्जाका अभिषेक ढकाल रहेका छन् ।

पोखरा:    पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट क्लब बाहिरिएको छ । मंगलबार अरण्यज्योती  क्रीकेट क्लबसंग ७६ रनको हार व्यहोरेसंगै  समूह चरणबाटै बाहिरिएको हो ।  कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट च्याम्पियनसिप  २०८१’ को समूह सि तर्फको  खेलमा १३७ रनको विजयी लक्ष्य पाएको गण्डकी २०.४ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो ।  गण्डकीका लागि ओपनर सिद्धान्त गिरिले २२ रन र अजय रामले १९ रन बाहेक अन्यले खासै रन बनाउन सकेनन् । सिद्धान्तले १६ बलमा ५ चौका प्रहार गरे भने अजयले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।  विवेक अधिकारी २, सम्राट अधिकारी १, दिपक माझी १, श्री राम २ र विमोचन सापकोटा, सौरभ शर्मा र सुस्मानी गौतम शुन्यमै पेभेलियन फर्किए ।  अरण्यज्योतीका लागि सोमबहादुर थापाले ५ ओभरमा २ मेडनसहित १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । प्रविण पौडेलले ५ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । अब्दुल मिया, प्रदिप पौडेल र कल्याण कुमालले १/१ विकेट लिए ।  टस जिटेर ब्याटिङ थालेको अरण्यज्योतीले ३८.६ ओभरमा १३६ बनाउदै अलआउट हुन पुगेको थियो । जितका लागि सुलभ सुवेदिले ४० रनको उत्कृष्ट पारी खेल्दै आउट भए ।  उनले १०६ बलमा २ चौकाको मद्धतमा ४० रन बनाए ।  ओपनर कल्याण कुमाल ८ रनमा, अंकित गजुरेल १०, प्रविण पौडेल २३, प्रदिप पौडेल २०, सन्देश निउरे ३, धन्जु यादव ८, प्रीजन श्रेष्ठल ८, सोमबहादुर थापा १ र अब्दुल मिया ८ रनमा आउट भए । प्रसानी अधिकारी ७ रनमा नटआउट रहे ।  गण्डकीका लागि सिद्धान्त गिरिले १० ओभरमा ५० रन खर्चदै सर्वाधिक ४ विकेट लिए । यस्तै अजय राम र सुमन अधिकारीले २र२ तथा विमोचन सापकोटा र सुस्मान गौतमले १र१ विकेट लिए । समूह सि मा गण्डकी २ खेलमा दुबै हारसंगै अंकविहिन हुँदै बाहिरिएको हो । समूह सि मा अरण्यज्योती र राइजिङ पोखरा क्रीकेट क्लबको सेमिफाइनल सम्भावना कायमै रहेको छ   । दुबैको १/१ खेलबाट समान २ अंक छ । १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल ९ क्लबको सहभागिता रहेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहेको प्रतियोगितामा  संघमा आबद्ध क्लबको मात्र सहभागिता रहेको छ ।  सो प्रतियोगितालाई नेपाल क्रिकेट संघले आयोजना गर्ने पिएम कपका लागि जिल्ला छनोटको रुपमा रहेको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए  ।   प्रतियोगिताको समुुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन ।

काठमाडौं:    भारतीय राजधानी नयाँ दिल्लीबाट काठमाडौंमा अवतरण गरेको विस्तारा एयरलाइन्सको विमानमा बमको हल्ला फैलिएपछि नेपालका सुरक्षाकर्मीले आवश्यक जाँचलाई अघि बढाएका छन्।  १५७ यात्रुसहित दिल्लीबाट काठमाडौं आएको विमानमा बम भएको हल्लापछि सुरक्षाकर्मीले सर्च सुरु गरेका हुन्। अपराह्न ४:३० मा त्रिभुवन विमानस्थलमा उक्त जहाज अवतरण गरेको थियो। जहाजमा बम भएको हल्लापछि सेना र प्रहरीले सर्च गर्न थालेका हुन्।  बमको हल्लापछि त्रिभुवन विमानस्थलको उडान समेत प्रभावित भएको छ।  भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार मात्रै ५४ वटा उडानमा बम भएको सूचना फैलिएपछि उडान प्रभावित भएका छन्।  भारतको इन्डियो, विस्तारा, एयर इन्डिया लगायतलाई लक्षित गर्दै बमले उडाइदिने धम्की आएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ।

काठमाडौं:     भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गर्नुभएको छ ।         गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएपछि सोही स्थानमा दु्रतगतिमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सडक, पुलसम्बद्ध प्राविधिक तथा नेपाली सेनालाई एक समारोहबीच मन्त्री दाहालले सम्मान गर्नुभएको हो ।        आज बिपी राजमार्गअन्तर्गत सिन्धुली एवं रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका क्रममा खुर्कोट पुग्नुभएका यातायातमन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताउनुभयो ।        सो अवसरमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लीलजन खनालसहित टोलीको उपस्थिति थियो ।        बाढीले रामेछापतर्फको ५१ मिटर पक्की पुल बगाएपछि आवागमन पूर्णरुपमा अवरुद्ध भएकामा आजदेखि यातायात सञ्चालनमा आएको नेपाली सेनाले जनाएको छ । बेलिब्रिज सञ्चालनमा आएसँगै गाडीको भारबहन क्षमता परीक्षण गरी यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताइयो ।        सम्मान कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङसहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, सरकारी अधिकारीसहित स्थानीय जनताको उपस्थिति थियो ।

काठमाडौं:    सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।       सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ ।  बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए ।  एक सय ७७ जना घाइते भएका छन् भने, १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्र्रदान गर्ने क्रम जारी छ ।

म्याग्दी:    चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।      हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरुले बताएका छन् ।  दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएपछि घोडेपानी तथा पुनहिलमा पर्यटकको आगमन बढेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताउनुभयो ।      उहाँका अनुसार तिहार र छठ पर्वका अवसरमा घोडेपानी घुम्न आउने आन्तरिक पर्यटकलाई यहाँका सबै होटल तथा लजले खाजा, खाना र आवासमा १० प्रतिशतसम्म छुट दिएका छन् ।  म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधनमार्फत दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक घोडेपानी आएका छन्भने कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाडा, पर्वतको भुक देउराली हुँदै पैदलयात्रा गरेर आउने पर्यटकहरुको सङ्ख्या पनि उल्लेख्य रहेको होटल व्यवसायीहरुले बताएका छन् ।      दसैँपछि धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको होटल सञ्चालक विरेन पुनले बताउनुभयो । पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको दूरीमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ ।      धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबिसी)बाट फर्कने तथा पोखराबाट घोरेपानी आएर घान्द्रुक र एबिसीतिर जाने गरेका होटल व्यवसायी पुनले जानकारी दिनुभयो ।  विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायी उत्साहित भएको उहाँको भनाइ छ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।      समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा रहेका २६ सानाठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सयजना पाहुना बास बस्ने क्षमता रहेको छ । प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि रु पाँच हजारसम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ ।      हिमाल, पहाडी भूूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।  म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्न पछिल्लो समय सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार शुल्क लिने गरिएको छ ।      घोडेपानी पुगेका धेरै पर्यटक हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारका रूपमा चिनिएको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोडके, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनी बजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणमा पर्यटक पुग्ने गर्छन् ।

पोखरा:    गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको आज सम्पन्न बैठकमा गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विषयमा छलफल गरिएको छ । बैठकले विधेयक प्रभावकारी बनाउने सम्बन्धमा विज्ञ, मातहतका सबै निकायसँग थप छलफल गर्ने निर्णय गरेको समितिका सभापति भोजराज अर्यालले बताउनुभयो ।  उहाँकाअनुसार बैठकमा  सडकको वर्गीकरण, ठेक्का प्रणालीमा भएका त्रुटी सच्याउने लगायतका विषयमा सुझाव प्राप्त भएको छ । बैठकमा समितिका सदस्यहरुले सडक पूर्वाधार निर्माण गर्दा त्यसको आवश्यकता र औचित्य समेतका आधारमा त्यसले पार्ने दीर्घकालीन प्रभावलगायतमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । समितिका सदस्य दीपेन्द्रबहादुर थापाले सडक विकासको मेरुदण्ड भएको बताउँदै बिना योजना जथाभावी बाटो खन्दा केबल खर्च मात्रै वृद्धि हुने बताउनुुभयो । सडक पूर्वाधार बन्ने तर त्यहाँ बस्ती नरहने जस्ता गम्भीर विषयलाई आत्मसात गरी आवश्यकताका आधारमा सडक निर्माण हनुपर्ने उहाँको धारणा थियो । अर्का सदस्य प्रकाश बरालले सडक मापदण्ड निर्माणमा आवश्यकता र औचित्यलाई ध्यान दिनुुपर्नेमा जोड दिनुभयो । बैठकमा समितिका सदस्य सीताकुमारी सुन्दास, पार्वती तामाङ, महेन्द्र थापा, गणेशमान गुरुङ, लक्ष्मण पाण्डे लगायतले सडकको वर्गीकरण गरिनुपर्नेमा जोड दिनुभयो । बैठकले कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधीन कोराला नाकासम्मको सडकको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने निर्णय समेत गरेको छ ।