पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:     हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।  कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ ।   कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहने छ ।   कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो ।  “कृषि अनुसन्धान परिषद् (नार्क)बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ”, गौचनले भन्नुभयो, “परीक्षणका लागि गरेको चियाखेती सफल भएको छ ।” परीक्षण खेती सफल भएपछि फलाते आसपासका बाँझो पाखा जमिनमा चियाखेती गरेर किसानले आम्दानी गर्न सक्ने गौचनले बताउनुभयो । आफन्त र बजारमा कोशेलीका रूपमा पठाउनुका साथै म्याग्दीको पर्यटकीय घोडेपानी, शिख, घारका होटलमा फलातेको चिया प्रयोग हुन थालेको छ ।  विषादी र रासायनिक मलको प्रयोग नगरी उत्पादन गरिएको चियालाई ‘बल्याक टी’ नाम दिइएको छ । स्वाद र गुणस्तर राम्रो भएकाले फलातेको चियाले स्थानीय उपभोक्ताको मन जित्न थालेको छ । वार्षिक ५० किलोग्रामसम्म चिया उत्पादन हुने गरेको गौचनले बताउनुभयो । काठमाडाँैमा व्यवसाय गर्दै आएका गौचनले पुख्र्यौली जन्मथलोमा खेर गएको बारीमा चियाखेतीसँगै दातेओखर पनि लगाउनुभएको छ । चिया बगानको रेखदेख भने ८२ वर्षीया आमा रनदेवी गौचनले गर्नुहुन्छ । रनदेवीसँगै अन्य दुई जना स्थानीय कामदारले रेखदेख, चिया टिप्ने, सुकाउने र प्रशोधन गर्दै आएका छन् ।  छ रोपनी क्षेत्रफलमा चियाखेती गर्न रु २० लाख लगानी भएको रनदेवीले बताउनुभयो । “अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी–भुरुङ्ग तातोपानी पदमार्गमा यात्रा गर्ने पर्यटक पनि चिया बगान हेर्नका लागि आउँछन्”, उहाँले भन्नुभयो, “पाहुना र पर्यटकलाई आफ्नै बगानको चिया पकाएर खुवाउने गरेकी छु ।”  फलातेअघि अन्नपूर्ण गाउँपालिका–६ खिवाङको पाखामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मार्फत चियाखेती भए पनि रेखदेख र संरक्षण नहुँदा बगान मासिएको थियो । मालिका गाउँपालिका–३ किनेतीस्थित वडा कार्यालय पसिरको सार्वजनिक पाखोमा पनि परीक्षणका लागि गत वर्ष चियाखेती भएको छ ।  म्याग्दीका अन्य ठाउँमा व्यावसायिक रूपमा चियाखेती भएको छैन । फलातेको चिया बगानको अवलोकन गर्न पुग्नुभएका अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले स्वाद, गुणस्तरका हिसाबले व्यावसायिक चियाखेतीको सम्भावना देखिएको बताउनुभयो ।  चियाखेतीको माध्यमबाट बाँझिएका खेतीयोग्य जमिनलाई सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँले बताउनुभयो ।

सप्तरी:     कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् ।  कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् ।  उनीहरूलाई  उपचारका लागि विराटनगर पठाइएको छ ।  घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा  भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो । उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

काठमाडौं:     नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।        युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।        अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुर्ई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।        जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर आठ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।        केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा तोकिएको छ ।        राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको  खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।        राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने बताइएको छ । 

तनहुँ:     निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ ।  तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ ।  आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ ।  प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ ।  प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पूरुा भएको छ । आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्याकेज–१ अन्तर्गत बाँध निर्माण जारी छभने सुरुङ, विद्युत्गृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को काम पनि भइरहेको छ ।  प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको केइसी इन्टरनेशनलले गरिरहेको छ । 

गलकोट:    बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन ।   बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि रु ३० लाख खर्चेर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेको थियो ।  आयोजनाको पूर्वाधार निर्माणपछि एकपटक धारामा बालुवासहितको पानी आएको र त्यसपछि पानी आउन बन्द भएको स्थानीय गमिला माझीले बताउनुभयो । उहाँले तीन वर्षदेखि दैलोको धारामा पानी नआएको बताउनुभयो । विसं २०४८ मा बागलुङ–पोखरा सडकखण्ड विस्तारका क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेलमैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखास्थित कालीगण्डकी किनारामा छ वर्षअघिमात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो । त्यसपछि खानेपानीको समस्या समाधानका लागि आयोजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । सत्र घरपरिवार रहेको माझी बस्तीमा अहिले नाङ्लीबाङबाट ल्याइएको पानीको एउटा अस्थायी धारामात्रै रहेको छ ।  उक्त धारामा पानी नआए कालीगण्डकीको पानीको भर पर्नुपर्ने बाध्यता रहेको गमिलीको भनाइ छ । नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि खानेपानी आयोजना तीन वर्षअघि नै सकिएको, ट्याङ्की र धारालगायत पूर्वाधार निर्माण भइसके पनि पानी नआएको स्थानीय लक्ष्मी माझीले बताउनुभयो । सत्र घरको बाहिर धारा बने पनि उक्त धारा अहिले प्रयोगविहीन बनेका छन् । “घरअघि चिटिक्क धारा बनेको तीन वर्ष भइसक्यो तर धारामा पानी खस्दैन, यो लिफ्ट आयोजना भरपर्दोरैनछ, एक पटक कालीगण्डकीको लेदोसहितको पानी धारामा आएको थियो, त्यसपछि पानी आएको थाहा छैन”, लक्ष्मीले भन्नुभयो, “अहिले वैकल्पिक रुपमा नाङ्लीवाङको पानी खान्छौँ, एउटा पाइपमा आएको पानी १७ घरमा पुर्याउन मुस्किल छ, हिउँदमा त खानेपानीको साह्रै समस्या हुन्छ ।” उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो ।  एक घर एक धारा पुर्याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्न झण्डै रु ३० लाख खर्च भइसकेको छ । माझी समुदायले दैलोमा खानेपानीको धारा बनेको तीन वर्ष बित्दा पनि खानेपानी नआएको दुःखेसो गरेका छन् । कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब पाँच सय मिटरमाथि तानेपछि एकीकृत बस्तीमा खानेपानी वितरण गर्ने योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो ।  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले आयोजना सम्पन्न भएर सफल भएपछि स्थानीयलाई हस्तान्तरण गरिएको बताउनुभयो । स्थानीयले पानी नआएको विषयमा कार्यालयमा जानकारी नगराएकोे बताउँदै प्राविधिक पठाएर खानेपानी सञ्चालन गर्ने जानकारी दिनुभयो ।  उहाँले यस विषयमा बुझ्न आयोजनास्थलमा प्राविधिक पठाउने र मर्मतसम्भार गरेर आयोजनामार्फत पानी सञ्चालन गर्ने बताउनुभयो ।  उहाँले माझी समुदालये लिफ्टमार्फत पानी तान्दा खर्चिलो भएको गुनासो गरेको बताउनुभयो । 

पोखरा:     सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार  पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ ।   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

पोखरा:    गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उनले ६ महिनाभित्र, २ वर्षभित्र र ५ वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गरे । पत्रकार सम्मेलन गरेर नै कार्यक्रमबारे जानकारी दिइसकेको उल्लेख गर्दै अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे । प्रदेश सरकार मातहतको लमजुङ जिल्ला अस्पतालको दोस्रो वार्षिकोत्सव समारोहका प्रमुख अतिथि मन्त्री पाठकले लमजुङ जिल्ला अस्पताल प्रदेशको महत्वपूर्ण अस्पताल बताए । उनले यो पायक पर्ने अस्पताल भएकाले सेवाग्राहीको संख्या उल्लेख्य रहेको जनाए । लमजुङ अस्पतालको स्तरोन्नतिका काम अब अघि बढिहाल्ने पनि उनले जानकारी दिए । ‘आधुनिक भवन निर्माण हुँदैछ । अब टेण्डर प्रक्रियामा जान्छ । विशेषज्ञसहितका सिटी स्क्यान लगायत अत्यावश्यक उपकरण सेवा अस्पतालमा जोडिनेछन् ।’ – पाठकले भने । स्वास्थ्य सेवाका लागि भवन, उपकरण र जनशक्ति आवश्यक पर्नेमा प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा सबैको तारतम्य मिल्न नसक्दा कहिँ केही नमिलेको जस्तो अवस्था आएको भन्दै मन्त्री पाठकले यस समस्यालाई समाधान गर्ने गरी प्रदेश सरकार अघि बढेको बताए ।  ‘९८ प्रकारका औषधि निःशुल्क भनिएपनि औषधि पाइएको छैन, स्वास्थ्य बीमामा समस्या छ । साना साना कुराले नागरिकले सास्ती पाएका छन् । संघ सरकारसँग समन्वय गरेर यसलाई समाधान गर्न लागिपरेको छु ।’ उनले भने । स्वास्थ्यकर्मीको समस्याबारे आफू जानकार रहेको भन्दै उनले स्तरवृद्धि तथा आवश्यक तालिमहरू गर्न आफूले ल्याउने बजेटमा व्यवस्था गर्ने पनि बताए । ७१ प्रतिशत नसर्ने रोगका कारण मृत्यु हुने गरेको उल्लेख गर्दै मन्त्री पाठकले समुदायतहसम्म पुगेर रोगहरुको स्क्रिनिङ गरी औषधोपचार गर्नुपर्छ भनेर स्थानीय तह, वडा तहसम्म मिलेर काम गर्न तत्पर भएको सुनाए । डेंगुको प्रकोप बढिरहेको हुँदा जनचेतना बढाउनुपर्नेमा उनको जोड छ । अहिलेसम्म गण्डकीमा १४ हजार ८ सय ५८ संक्रमित भएकोमा ७ जनाको मृत्यु भइसकेको तथ्यांक प्रस्तुत पनि गरे । कार्यक्रमको अध्यक्षता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले गरेका थिए । लमजुङ अस्पताल २०३२ सालमा १५ शय्याको जिल्ला अस्पतालको रूपमा स्थापना भएकोमा सरकारले सञ्चालन गर्न नसकेपछि २०५८ मा समुदायलाई हस्तान्तरण गरिएको थियो । मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले सरकारसंग सम्झौता गरी २०५८ साउन ५ देखि सञ्चालन गर्दै आएको थियो । सरकारले सञ्चालन गर्न नसकेपछि गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको जिल्ला अस्पताल लमजुङ २१ वर्षपछि दुई वर्ष अघि सरकारलाई नै हस्तान्तरण गरिएको हो  ।

पोखरा:   सहारा क्लब अष्ट्रेलियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।  संस्थापक अध्यक्ष राजमान थकालीको हालै असामयिक निधनसँगै पद रिक्त थियो । सहारा क्लब पोखराका पूर्व सदस्य समेत रहेका सिद्धार्थ पौडेल पोखरा बाघमाराका हुन् ।  समिति उपाध्यक्षमा सन्तोष पाण्डे र पुस्कल थकाली चुनिए । सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ, कोषाध्यक्ष कल्याण खड्का र सहकोषाध्यक्ष गौरव बराल चयन भएका छन् । कार्यसमिति सदस्यमा नीराजन श्रेष्ठ, रजनी गुरुङ, सूर्य खनाल र ईश्वर पहारी छन् ।  प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल चुनिए । तास्मेनिया ज्ञानेन्द्र गौतम, पर्थ को–ण्अर्डिनेटर सुवास श्रेष्ठ, भिकटोरीया सज्जन शर्मा,क्विनलाईन  रोमन शाही चयन भए ।  नवनिर्वाचित अध्यक्ष सिद्धार्थ पौडेलले सहारा अष्ट्रेलिया कपलाई निरन्तरता दिने तथा क्लबका राम्रा कार्यलाई अघि बढाउने प्रतिबद्धता जनाए ।  उनले सहारा क्लब अष्ट्रेलियालाई सिड्नीमात्र नभई अष्ट्रेलियाभर बिस्तार गर्ने योजना सुनाए । सहारा क्लब पोखराका विदेश शाखामध्ये अष्टे«लिया एक हो । सहाराले यसअघि सहारा हङकङ र सहारा युके बिस्तार गरिसकेको छ ।  फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लब पोखराले सहारा फुटबल एकेडेमी एकेडेमी संचालन गरी आर्थिक स्थिति कमजोर तथा कठिन परिस्थितिका बालकहरुलाई आवासीय सुविधासहित शिक्षा, दीक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ ।