काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताउनुभएको छ । सामाजिक सञ्जालमा आज उहाँले ‘पोष्ट’ गर्नुभएको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गर्नुभएको छ । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ । “यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ, कात्तिक ४ गते आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रुपमा यो व्यवस्था सुरु हुनेछ”, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ । नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी सरकारले गरेको छ । कुनै पनि कामका लागि लाममा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको उहाँले बताउनुभयो । नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रममा उहाँले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गर्नुभयो । “शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा अरूकै भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो । अहिले त्यो विन्दुमा पुगेका छौँ । त्यसैले एकताबद्ध भएर अगाडि बढौँ”, उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले पछिल्ला उपलब्धिको रक्षा गर्न आमजनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने गरी अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, योद्धाहरूको स्मरणमा जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनेलगायत काम गरिएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए आगामी निर्वाचनमा पहिलो संविधानसभाको जस्तै अवस्था आउने बताउनुभयो । जनताको जीवन बदल्ने अभिभारा पूरा गर्न एकता आवश्यक रहेको धारणा राख्नुभयो । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र सङ्घीयतालाई संस्थागत गर्दै लैजानुपर्ने बताउनुभयो । त्यसका लागि माओवादी र वामपन्थी एकता जरुरी रहेको उहाँको भनाइ थियो । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढङ्गले सोच्ने बेला आएको बताउनुभयो । उहाँले सबै कम्युनिष्ट नेताहरूसँग छलफल भइरहेको र माओवादी शक्ति सङ्गठित भएर समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताउनुभयो ।
ललितपुर: ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा४ख १०६ नंको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिनुभयो । सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको उहाँले जानकारी दिनुभयो । बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुईवटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ ।
ताप्लेजुङ: ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरणअभियानथाएिको छ । रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो । रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका सचिव विविश केदमले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानले रेडपाण्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न, सङ्क्रमण र हिंस्रक आक्रमणबाट रेडपाण्डालाई जोगाउन विशेष प्रयास गरिरहेको छ । रेडपाण्डा पाइने क्षेत्रका ग्रामीण समुदायमा पशु स्वास्थ्य र जनावर व्यवस्थापनका गतिविधिलाई प्राथमिकता दिइँदै आएको छ । फुङलिङ नगरपालिकाको फावाखोला, फुरुम्बू, काफ्लेपाटी, माथिल्लो फेदी, हाङदेवा र पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे, सिरिजङ्गाउँपालिकाको सिकैचा क्षेत्रका बस्तीमा बन्धाकरण साथै रेविजभ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । उहाँका अनुसार, यस कार्यममा करिब तीन सय ६८ कुकुर र बिरालोलाई रेविजविरुद्ध खोप दिइएको छ । यसका अतिरिक्त, जनावरको स्वास्थ्यका लागि भिटामिन, लुतोको औषधि, र जुम्राको औषधि पनि वितरण गरिएको छ । कुकुर र बिरालोलाई रेविजविरुद्धको खोप लगाएपछि, रेडपाण्डासँग प्रत्यक्ष सम्पर्कमा आउँदा सम्भावित सङ्क्रमणबाट जोगाउन सकिने भएकाले विगत लामो समयदेखि कार्यक्रमलाई निरन्तरता दिँदै आएको मञ्चले जनाएको छ । मञ्चका सदस्य भिङमारे लिम्बूकाअनुसार यही कात्तिक अन्तिम सातादेखि मङसिर पहिलो सातासम्ममा फुरुम्बु क्षेत्रका बस्तीमा रहेका कुकुरका लागि बन्ध्याकरण शिविर सञ्चालन गर्ने योजना पनि बनाएको छ । कुकुरको सङ्ख्या व्यवस्थापन स्वस्थ राख्न कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो । बन्ध्याकरण कार्यक्रममार्फत कुकुरको सङ्ख्यालाई सन्तुलनमा राख्न सम्भव हुनेछ, जसले वातावरणमा थप सुरक्षा प्रदान गर्न मद्दत पु¥याउने मञ्चले जनाएको छ । रेडपाण्डा संरक्षणका चुनौती मञ्चकाअनुसार ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा वासस्थान र चरीचर क्षेत्र पर्दछ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ –९, १० र ११ वडा अर्थ पाथीभरा क्षेत्र रेडपाण्डाको बासस्थान पर्दछ । यस क्षेत्रमा समय समयमा पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीले रेडपाण्डा देख्ने गरेका छन् । केहीवर्ष अघि पाथीभरा क्षेत्रमा रेडपाण्डा मरेको अवस्थामा फेला परेको थियो । अनुसन्धानका आधारमा प्रारम्भिक निष्कर्षमा रेडपाण्डाको मृत्युपछि सम्भवतःकुनै हिंस्रक जनावर, जस्तै कुकुरको आक्रमणले गर्दा मरेको निष्कर्ष भयो । यसले हिमाली संरक्षण मञ्चलाई झनै सचेत बनाएको कार्यक्रम संयोजक राईले बताउनुभयो । रेडपाण्डाको प्रत्यक्ष सम्पर्कमा पुग्न सक्ने कुकुर र बिरालोलाई रेविज विरुद्धको भ्याक्सिन दिने अभियानलाई निरन्तरता दिन थालिएको मञ्चले जनाएको छ । रेडपाण्डाको आवासीय क्षेत्रमा कुकुर र बिरालोका कारण सुरक्षा चुनौती सिर्जना भएकाले यो समस्या समाधान गर्न मञ्चले स्थानीय समुदायको सहयोगमा काम गरिरहेको छ । समुदायमा जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्दै, स्थानीयलाई रेडपाण्डा संरक्षणको महत्व र यसका चुनौतीबारे अवगत गराउँदै आएको राईले बताउनुभयो । मञ्चका अनुसार प्रत्येक शिविरमा स्थानीयलाई संलग्न गराएर जनचेतना काकार्यक्रम सञ्चाल नगर्ने गरेको छ । जनावरसँग सम्बन्धित स्वास्थ्य कार्यक्रम, जनावरको जिम्मेवारीपूर्ण पालनपोषण र रेडपाण्डा जस्ता संरक्षणमा संवेदनशील वन्यजन्तुको सुरक्षाका लागि चेतनामूलक कार्यक्रमले रेडपाण्डा पाइने क्षेत्रका बासिन्दालाई आवश्यक जनचेतनाको विकास भएको छ । रेडपाण्डा संरक्षणमा स्थानीयको सहयोगबिना दीर्घकालीन सफलता सम्भव नहुने हिमाली संरक्षण मञ्चको विश्वास छ । रेडपाण्डा संरक्षणमा भइरहेको अभियानले रेडपाण्डाको सङ्ख्या वृद्धि गर्न र वातावरणमा स्थिरता कायम गर्न महत्वपूर्ण योगदान दिने हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बा लिम्बूले बताउनुभयो ।
काठमाडौं: चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् । असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतारमा, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन् । यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि वृद्धि भएको छ । गत भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेसिएका थिए ।
काठमाडौं: सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाडौँबाट पक्राउ गरेको थियो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु ९जीबी० राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
रामेछाप: रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रुपमा गरेसँगै रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोडिएको थियो । यही असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र पक्की आधा पुल (रामेछापतर्फको) बगाउँदा रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्ला एवं काठमाडौँसम्मकोे छोटो दूरीको सडकमार्गको सञ्जाल टुटेको थियो । अब केही दिनमा नै यातायात सञ्चलन गर्न मिल्नेगरी तीव्र गतिमा काम भइरहेको र सोका लागि आवश्यक कच्चापदार्थ र अन्य व्यवस्थापनका कामका लागि सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री पूर्णबहादुर तामाङले विशेष पहल गरिहनुभएको भएको रामेछाप नगरपालिकाका प्रवक्ता एवं सुकाजोरका वडाध्यक्ष समीर कार्कीले बताउनुभयो । उक्त पुलको भाग रामेछापतर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी सवारी अवागमन गर्न तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ । हाल पुलको पाता विछ्याउने र लेवल मिलाउनेलगायत अन्य काम भइरहेका छन् । पुल निर्माण सम्पन्न भए पनि पुल वारी मन्थलीतर्फको करिब दुई सय मिटर सडक थप मर्मत नहुँदासम्म निर्वाध रुपमा दुईतर्फी सवारी आवागमन गर्नसक्ने अवस्था छैन । एकतर्फी रुपमा भने सावधानीपूर्वक सञ्चालन गर्न सकिने स्थानीय पशुपति न्यौपानेले बताउनुभयो । खुर्कोटको पुल बगाएपछि रामेछाप र दोलखावासीलाई तराईका विभिन्न भागमा आवतजावत गर्नका र खाद्यान्न ढुवानी गर्नका लागि रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने सित्खाको पुलमार्फत वैकल्पिक सडकमार्ग प्रयोगगरी आवतजावत गर्ने व्यवस्था मिलाइएको भए पनि उक्त बाटोमार्फत ल्याइएका खाद्यान्न सामग्री महङ्गिएको थियो । यसअघि विपी राजमार्ग सञ्चालन हुनुपूर्व रामेछापको सदरमुकाम मन्थलीलगायत आसपासका क्षेत्रबाट मानिसले काठमाडौँ आवतजावत गर्न मन्थलीबाट चरिकोट–मुडे हुँदै धुलिखेलको वैकल्पिक बाटो प्रयोग गर्दै आइरहेका थिए । नेपाली सेनाका अनुसार अबको तीनदेखि पाँच दिनभित्रबाट मात्र पुलबाट सवारी अवागमन गराउन सकिन्छ ।
कास्की: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ । सो पार्टीले आज पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उहाँले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभयो । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा सहकारी पीडितका पक्षमा रहेको र दोषीलाई दिन नहुनेमा जोड दिनुभयो । यहाँस्थित सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान गर्न निजलाई शुक्रबार पक्राउ गरी यहाँ ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
जुम्ला: यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ । तातोपानी गाउँपालिका–४ का राजेन्द्र पाण्डेले मार्सीधान काट्न व्यस्त रहेको बताउनुभयो । दसैँ सकिएसंगै मार्सीधान भ्यिाउन हतारो भएको सिंजा गाउँपालिकाका जयशङ्कर धितालले बताउनुभयो । गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा भ्यिाउन थालिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । पछिल्लो समय मार्सीधानमा मरुवा रोगको जोखिम बढेसँगै किसान उन्नत जाततर्फ आकर्षित हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा दुई हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । मार्सीधानको क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ । गतवर्ष एक हजार पाँच सय हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष एक सय हजार दुई सय हेक्टरमा झरेको प्रमुख देवकोटाले जानकारी दिनुभयो । जिल्लाका गुठिचौर र तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका र सिंजा भेगका किसान मार्सीधान काट्न व्यस्त भएको यहाँका स्थानीयवासी बताउँछन् । जिल्ला सदरमुकाम खलङ्गामा रहेका कोशेली घरमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा मार्सी चामल पर्ने गरेको व्यवसायी अर्जुन बुढाले जानकारी दिनुभयो । बजारमा मार्सी चामलको माग बढेपछि सुर्खेत, नेपालगञ्ज, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा पठाइने गरेको जनाइएको छ । जिल्लामा मात्रै पाइने काली मार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सीधानको महत्व अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको छ । तत्कालीन राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सीधानको चामल हुलाकबाट काठमाडौँसम्म पुग्ने गरेको जनाइएको छ । करिब सात सय वर्षअघि जुम्लीहरूका देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएर लाछुज्युलाको गुरुफोक्टोमा धान खेतीको सुरुआत गरेको विश्वास गरिन्छ । जुम्ली मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङको हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

