पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

काठमाडौं:    दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उड्नुभयो । मलेसिया जान लाग्नुभएकी गिरीले भावुक हुँदै भन्नुभयो, “घर चलाउन, घरै छाड्नुपर्‍यो ।” घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उहाँको भनाइ थियो ।            कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमान्को कमाइले परिवार चलाउन सक्नुभएन ।  छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो । उहाँले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोच्नुभएको होइन तर लगानी गर्ने आँट नभएपछि विदेसिन बाध्य भएको बताउनुभयो ।  “सन्तान छाडेर विदेसिने कुन आमालाई खुसी मिल्छ होला र”, उहाँले भन्नुभयो, “मुटुमा ढुङ्गा राखेर जान लागेकी छु । राम्रै कम्पनी परे त ठिकै हो । नभए के गर्ने थाहा छैन ।” गिरीसँगै कामदारका रुपमा विदेश जान आठ महिला तयार हुनुहुन्थ्यो । ती सबै आमाहरु थिए ।  त्यही लहरमा भेटिनुभएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो । आफ्नै नाम भन्न लजाउने तामाङले समुन्द्रपारिको मुलुकमा कसरी काम गुर्नहुन्छ ? भन्ने प्रश्नको जवाफ छोटोमा दिनुभयो, “जे त होला ।” तामाङले ५ कक्षासम्म मात्रै पढ्नुभएको छ । सानैमा बिहे भयो । १० वर्षकी छोरी छोडेर विदेसिनु कुनै महत्वाकाङ्क्षा नरहेको उहाँको भनाइ छ ।  “यो मेरो बाध्यता हो”, उहाँ भन्नुहुन्छ, “छोरी हुर्किंदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले विदेसिने बनायो ।” तामाङका श्रीमान् सवारी चालक हुनुहुन्छ । सुकुम्बासी बस्तीमा बस्ने उहाँहरुको जग्गा जमिन छैन । घर चलाउन श्रीमान्लाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातिमा दाग देखिएपछि उहाँले आफैँ विदेसिने निधो गर्नुभएको हो । “नेपालको कमाइले पुग्दैन । महँगी छ । त्यसैले विदेसिनुको विकल्प देखिँन”, उहाँले भन्नुभयो ।            स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा हुनुहुन्छ । श्रीमान्ले काम नगर्ने, जाँड रक्सी खाएर कुटपिट गर्ने गरेपछि उहाँले ‘फुटपाथ’मा साग बेचेर जीविकोपार्जन गर्दै आउनुभएको थियो । छोराछोरी पढाउन र हुर्काउन गाह्रो भयो ।  श्रीमान्लाई फकाएर मलेसिया पठाउनुभयो । विदेश गएका श्रीमान्ले खर्च पठाउने आशामा पाँच वर्ष बित्यो तर श्रीमान्ले न त पैसा पठाउनुभयो न त फोन सम्पर्क नै । हातमुख जोर्न मुस्किल भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रवासमा राखेर दुबई जान लागेको बताउनुभयो ।  “विदेश गएको श्रीमान्ले एक सुको पठाएन, वास्तै गरेन”, उहाँले भन्नुभयो, “छोराछोरी पाल्ने कोही नभएपछि उनीहरुकै भविष्यका लागि विदसिन लागेकी हुँ ।”      वैदेशिक रोजगार विभागको सन् २०२२ को तथ्याङ्कमा वैदेशिक रोजगारमा जाने महिलाको उमेर समूहमा २४ देखि ३४ वर्षका ५२ दशमलव तीन प्रतिशत, १८ देखि २४ उमेरका ३२ दशमलव तीन प्रतिशत र ३५ देखि ४४ वर्ष उमेरका १४ दशमलव छ प्रतिशत र ४५ देखि माथिका शून्य दशमलव आठ प्रतिशत उल्लेख छ ।       विभागकाअनुसार बर्सेनी ६० हजार हाराहारीको सङ्ख्यामा महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए ।  आर्थिक वर्ष २०७९/०८० मा ७२ हजार महिला श्रम गर्न विदेश गए । आर्थिक वर्ष २०८०/८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या वृद्धि भई ८० हजार पुगेको छ ।            वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालले तुलनात्मक रुपमा पुरुषभन्दा महिला कमै विदेश जाने गरेको देखिए पनि पछिल्लो  तथ्याङ्कले रोजगारका लागि विदेश जानेक्रम बढ्दो अवस्थामा रहेको बताउनुभयो ।  उहाँका अनुसार खाडी मुलुक जाने महिलाको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । “अधिकांश महिला साउदी, मलेसिया, कुबेत, कतार, युएइलगायत खाडी मुलुकमा रोजगारका लागि जानुहुन्छ”, प्रवक्ता ढकालले भन्नुभयो, “त्यसमा पनि श्रम स्वीकृति नलिइ लुकेर जानेहरुको तथ्याङ्क पाउन मुस्किल छ ।”            राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले वैदेशिक रोजगारमा आमा जान बाध्य हुँदा परिवारमा नकारात्मक असर परेको बताउनुहुन्छ । आयोगले एक वर्षअघि गरेको तथ्याङ्कको विश्लेषण गर्दै भन्नुभयो, “आमा नहुँदा घर परिवार लथालिङ्ग भएको छ ।” राज्यले स्वदेशमै रोजगारीको सुनिश्चितता नगर्दा नागरिककले सास्ती खेप्नुपरेको उहाँको भनाइ छ ।            पौरखी नेपालका पूर्वअध्यक्ष मञ्जु गुरुङका अनुसार आमाहरु परिवार पाल्न विदेसिनुमा सामाजिक, आर्थिक, राजनीतिक पक्षहरु मुख्य छन् । संस्थाले विदेश जानुअघि परामर्श दिने, सकेसम्म स्वदेशमै बस्न उत्साहित गर्ने र नभएमा विदेश जाँदा अपनाउनुपर्ने सचेतताबारे परामर्श दिँदै आएको उहाँले बताउनुभयो ।  बितेका १५ वर्षमा पाँच हजार बढी वैदेशिक रोजगारीमा अलपत्र महिलाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । “नेपाली समाजमा महिलाले थुपैै्र विभेद सहन बाध्य छन्”, उहाँ भन्नुहुन्छ, “जसले गर्दा घर छोडेर कमाउन विदेसिएका छन् ।” आमाहरुलाई स्वदेशमै टिकाउन राज्यले उद्यमशील निती ल्याउन जरुरी रहेको उहाँको सुझाव छ ।

पोखरा:  पोखरामा भोलिदेखी क्लब स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला क्रिकेट संघले ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को आयोजना गर्न लागेको हो ।  संघमा आबद्ध भएका क्लबहरुमात्र उक्त प्रतियोगितामा सहभागि कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए ।  उनले जिल्ला स्तरमा प्रतियोगिता हुँदा खेलाडी विकास हुने बताए । संघले ग्रासरुटस्तरमा खेलाडी विकास गर्ने योजनाका साथ प्रतियोगिता आयोजना गरेको उनले सुनाए । उनका अनुसार प्रतियोगिता नेपाल क्रिकेट संघले आयोजना गर्ने प्रधानमन्त्री कपका लागि जिल्ला छनोटको रुपमा समेत रहेको छ ।  ‘यो पिएम कपको लागि जिल्ला स्तरीय छनोट प्रतियोगिता समेत भएकाले संघमा आबद्ध क्लबहरु बिचमा मात्रै भएको हो । हाम्रो संघमा ९ क्लब दर्ता रहेका छन’ उनले भने, ‘यो खेलाडीहरुका लागि अवसर समेत हो । खेलाडीले राम्रो प्रदर्शनी गर्न सकेमा भोलि राष्ट्रिय टिममा समेत पर्ने सम्भावना रहन्छ ।’   एक दिवसीय क्रिकेट जिल्ला स्तरमा हुँदा खेलाडी विकासमा ठुलो टेवा पुग्नेमा आफु आशावादी रहेको उनी सुनाउछन् ।  प्रतियोगितामा सहभागि कुल ९ टिमलाई तीन समुहमा विभाजन गरिएको छ ।  समुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन् ।  प्रतियोगिताको समुह विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् भने उपविजेता मध्येबाट एक टिम सर्वाधिक अंक ल्याउने वा रनरेटको आधारमा सेमीफाइनलमा प्रवेश गर्नेछ ।  प्रतियोगिता भोलिबाट सुरु भई १२ गतेसम्म सञ्चालन हुनेछ । सांग्रिला क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब बिच उद्घाटन खेल हुने पुनले बताए ।

महोत्तरी:    यहाँको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको रु आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राऊ गरेको छ ।      पक्राऊ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । बीआर ३० एएफ ३८७६ भारतीय नम्बरको मोटरसाईकलमा चढेर मनरासिश्वा नगरपालिका–२ स्थित भोल्ही चोक जाँदै गरेका साहलाई प्रहरी टोलीले शङ्का लागि चेक जाँच गर्दा निजले लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको उक्त नगद बरामद गरेको प्रहरीले जनाएको छ । साहले शरीरका विभिन्न भागमा लुकाएर बोकेको  अवस्थामा स्रोत नखुलेको रु एक हजार दरका नोट आठ सय एक थान र रु पाँच सयका नोट नौ थान बरामद गरेको हो ।      पक्राऊ परेका साह र उनी सवार मोटरसाईकलसहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौं:     पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी खेदजनक भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनाएको छ ।      एमालले उक्त विषयलाई लिएर भएका छलफल, बहस र टीकाटिप्पणीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन्, ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ ।”      पार्टीले एक व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र उहाँकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क प्रदान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको जनाएको छ ।      विसं २०८१ असोज २४ गतेको सचिवालयको ३८औँ बैठकले संस्थागत रुपमा स्वीकार गरी उहाँलाई सहयोगका निम्ति धन्यवाद दिई यही असोज २५ गते औपचारिक रुपमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा  केन्द्रीय कार्यालयको शिलान्याससमेत गरिसक्नुभएको विज्ञप्तिमा उल्लेख छ ।      जग्गादाता गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैङ्क लिमिटेडमा कार्यरत रहँदा बैङ्किङ क्षेत्रमा पार्टीसम्बद्ध कर्मचारीको केन्द्रीय कार्यसमिति सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यतामा रहेको तथ्य जगजाहेर भएको एमालेले जनाएको छ ।      “अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौँ, यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन”, विज्ञप्तिमा भनिएको छ, “उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूका बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही छैन ।”      लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा रहेकाले तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि ग्राह्य हुने जनाएको छ ।      “विगत नौ वर्षदेखि अस्तव्यस्त केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्ने क्रममा रहेका थियौँ”, विज्ञप्तिमा भनिएको छ, “यसै सिलसिलामा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक (८–९ वैशाख २०८१, गोदावरी ललितपुर) बाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिङ्गो बैठकबाट आह्वान गरेका थियौँ ।”      त्यसयता सम्पन्न केन्द्रीय कमिटीलगायत विभिन्न तहका बैठकद्वारा सहयोगका लागि आह्वान भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कमिटीसमेत गठन भएको व्यहोरा सार्वजनिक भएको एमालले जनाएको छ ।      विसं २०७२ मा आएको भूकम्पबाट काठमाडौँ महानगरपालिका–१४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयविहीन भएको र त्यसबीचमा भाडामा धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ ।

धुलिखेल:    तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् ।  काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।      बाढीले सबै बस्ती बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइरहनुभएको छ ।  खोलाले बगाएको आफ्नो चनौटे बस्ती हेर्दै अचेल दिनरात काटाउने गरेको १८ दिन भएको उहाँले बताउनुभयो । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण घरखेत सबै बगाएपछि अहिले बस्तीमाथिको लुइचे पाखामा त्रिपालमुनि बस्दै आउनुभएको छ ।  चनौटेमा रहेको आठ घरसहित, आपसापको खेतबारी सबै बगाएपछि सो डाँडामा उहाँसँगै अरू ६ परिवार एउटै त्रिपालमा आश्रय लिएर बस्दै आउनुभएको छ ।  “असोज ११ गते रातिको बागमती खोलामा आएको बाढीले घर र खेतबारी सबै बगाएपछि हामी बिचल्लीमा छौँ”, फुलबहादुरले भन्नुभयो, “खोलाले बस्तीसँगै हाम्रो पहिचानसमेत बगाएको छ ।” बाह्र जनाको परिवार रहेको उहाँको सातजनाको नागरिकतालगायत सबै आवश्यक कागजात बाढलिे बगाएको छ ।      बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले तत्कालका लागि आश्रयस्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्न कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उहाँहरुको भनाइ छ ।  पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको बाढी पसेको चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिएरहेका छन् ।      गाउँले जीवन, सम्पत्तिका नाममा रहेको त्यही सानो घर, नजिकै वस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, उन्न उब्जाउ गर्ने बारी र खेत बगाएपछि चनौटेको बस्ती नै विस्थापित भएको छ । बालबालिकासमेत बिचल्लीमा छन् ।  बाढीबाट विस्थापित ती परिवार अहिले माथि रहेको लुइचे पाखामा एउटै त्रिपालको अस्थायी बासस्थानमा गुजारा चलाउँदै आएका छन् ।      खानीखोला गाउँपालिका–६ का राजन अधिकारी सो ठाउँका विद्यालय जाने २६ बालबालिका अभिभावकसँगै त्रिपालमुनि बस्दैआएका बताउनुभयो । “नौ बालबालिका त एउटै त्रिपालमुनि बसेका छन्”, उहाँले भन्नुभयो ।      खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले खुलेखानी ड्यामबाट बगेको पानीले बागमती खोलामा आएको बाढीबाट खानीखोलाको दुईवटा बस्ती पूर्ण रुपमा बगाएको बताउनुभयो ।  त्यससँगै बाढीपहिरोले बगाएका कारण कतिपय परिवारको त पालिकाले वितरण गरेको त्रिपाल टाँग्ने जमिनसमेत छैन । अध्यक्ष थिङका अनुसार बाढीपहिरोबाट ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, लघुजलविद्युत् आयोजनालगायत संरचना ध्वस्त भएका छन् । 

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने  उद्देश्यसहित भाेलि पूर्णिमाको दिन (१ गते बिहीबार) विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।   स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले विजयादशमीको अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं भन्ने नारासहित सांस्कृतिक सन्ध्याको आयोजना गरिने क्लबका अध्यक्ष दान बहादुर रानामगरले जानकारी दिए ।    अध्यक्ष रानामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गर्नेछन् ।    उक्त कार्यक्रम सहिद केवल गाहा स्मृति खेलमैदाममा बेलुकी ८ बजे सुरु हुनेछ ।   ‘हाम्रो गाउँमा शत प्रतिशत मगर जातिको बसोबास छ । त्यसैले मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यसको जगेर्ना गर्न हरेक वर्ष विविध साँस्कृतिक कार्यक्रम आयोजना लागेका हाैं । यसले गाउँलाई चिनाउन मात्रै नभई पुख्र्याैली इतिहासलाई उजागर गर्न टेवा पुग्ने विश्वास छ ।’   उक्त क्लबले संस्कृतिको संरक्षणको क्षेत्रमा मात्रै नभई सामाजिक तथा खेलकुदको क्षेत्रमासमेत काम गर्दै आएको छ ।  

काठमाडौं:    भारतको राजधानी नयाँदिल्लीबाट दक्षिणी बेङ्गलोरका लागि  उडेको विमानमा बम राखिएको चेतावनीपछि बुधबार एक भारतीय यात्रुवाहक विमानलाई ‘डाइभर्ट’ गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट दक्षिणी शहर बेङ्गलोरका लागि उडेको अकाश एयरको विमानलाई ‘सुरक्षा सतर्कता’ प्राप्त भएको र ‘सावधानी’ का रूपमा विमानलाई दिल्ली फर्कन आदेश दिइएको थियो । विमानस्थलको आपतकालीन टोलीले विमानलाई निगरानी गरेको र क्याप्टेनले दिल्लीमा सुरक्षित अवतरणका लागि आवश्यक सबै आपतकालीन प्रक्रियाको पालना गरेको आकाश एयरले जनाएको छ । विमानमा तीन शिशुसहित १८४ जना सवार रहेको एयरलाइन्सले जनाएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । स्थानीय सञ्चारमाध्यम र एयरलाइन्सले यस हप्ता कम्तीमा पनि छ वटा यस्ता चेतावनी आएको जनाएका छन् । मङ्गलबार पनि एयर इन्डिया एक्सप्रेसको विमानमा बम हुन सक्ने इमेलमार्फत चेतावनी दिएपछि सिङ्गापुरको लडाकु विमानले एयर इन्डिया एक्सप्रेसको विमानलाई सुरक्षा प्रदान गरेको थियो ।  मङ्गलबार राति चाङ्गी विमानस्थलमा सुरक्षित अवतरण गर्नुअघि दुई वटा एफ–१५ जेट विमानलाई ‘जनघनत्व भएको स्थानबाट टाढा’ सुरक्षा प्रदान गर्न तैनाथ गरिएको थियो । एयर इन्डियाले नयाँ दिल्लीबाट शिकागोका लागि उडेको आफ्नो एउटा विमानलाई क्यानडामा आपतकालीन अवतरण गर्नुपरेको बताएको छ । त्यो विमान पनि सकुशल अवतरण भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार साउदी अरबको जेद्दाह र ओमानको मस्कटका लागि उडान भर्ने दुई उडानका बारेमा भारतको कम लागतको अपरेटर इन्डिगोलाई पनि यसै साता यस्तै हल्ला प्राप्त भएको थियो ।

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताउनुभएको छ ।      नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ आज शुभारम्भ गर्दै मन्त्री गुरुङले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनुपर्ने जरुरी भएको बताउनुभयो ।      “नेपाल विविधतायुक्त समाज भएको राष्ट्र हो, यहाँ धेरै विविधता छन्, धेरै विविधता भएको इन्द्रिणी समाजलाई संरक्षण गर्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो, “राज्यको सबै निकायमा समाजको चित्रअनुसार समेट्नुपर्ने जरुरी छ ।”      मन्त्री गुरुङले  नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।  “नेपाल टेलिभिजन राज्यको हो, यस्मा राज्य झल्किनुपर्छ”, उहाँले भन्नुभयो, “काठमाडौँमा नेपाल भाषा बोल्ने धेरै हुनुहुन्छ, यही भाषामा समाचार सुन्न र हेर्न पाउँदा उहाँहरुलाई गर्व लाग्छ, यो नेपाल टेलिभिजनको गौरवपूर्ण काम हो ।”      राससले मङ्गलबार नेपाल भाषाको समाचार सेवा प्रारम्भ गरेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालले आजदेखि सेवा प्रारम्भ गर्नु महत्वपूर्ण भएको तथा समाचार माध्यमले जनतामा आशा जगाउने किसिमको सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।      मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको एक सय दिनको काममा नेपाल टेलिभिजनले गर्नुपर्ने एउटा महत्वपूर्ण काम समयमै गरेको र यसले नेपाल भाषा बोल्ने समुदायको भाषा मात्रै नभएर लिपिको समेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।      नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग  शाहले स्रोतसाधनको अभावका बाबजुत पनि राज्यप्रतिको आफ्नो दायित्व पूरा गर्न सधँै तयार रहेको र नेपालको भाषा संरक्षण तथा संवद्र्धन गर्न नेपाल टेलिभिजन सधैँ तयार रहेको बताउनुभयो ।      नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले राज्यको प्राथमिकता प्रवद्र्धन गर्न गत वर्षदेखि नै भाषभाषीको समाचार प्रसारण गर्न काम सुरु गरेको र बागमती प्रदेशको दोस्रो ठूलो भाषा ‘नेपाल भाषा’ आजदेखि प्रारम्भ गरेको बताउनुभयो । नेपाल टेलिभिजनबाट आज अपराह्न ४ः३० बजे नेपाल भाषाको समाचार प्रसारण हुने बताइएको छ ।      नेपालको जनगणना २०७८ अनुसार नेपाल भाषा बोल्ने जनसङ्ख्या आठ लाख ८३ हजार (तीन प्रतिशत) रहेको छ । नेपाल टेलिभिजनले गत वर्षदेखि तामाङ र गुरुङ भाषामा केन्द्रबाट समाचार प्रसारण गर्दै आएको छ ।      कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीलगायत उपस्थित हुनुहुन्थ्यो ।

काठमाडौं:   बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् ।  विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले  हवाई यात्रा गरेका हुन् ।        विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दसैँको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन ९असोज ३० गते० सम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान भएका छन् । यो दुईतर्फी उडानको सङ्ख्या हो ।       दसैँको दुुई दिन अर्थात् असोज  २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी÷महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका थिए ।  असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल चार लाख २७ हजार नौ सय ४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवत जावत गरेका छन् ।  यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ पाँच हजार एक सय आठ र अन्तर्राष्ट्रियतर्फ एक हजार सात सय ४४ गरी कुल ६ हजार आठ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ ।           यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए ।  ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका थिए ।  यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो ।          अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।  यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो ।        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन् ।  दसैँको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एयरलाइन्सका विमानले उडान भरे । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए । यि कम्पनीसँग ठूला र मझौला विमान छन् ।  बुद्ध र यतीसँग एटीआर ७० विमान र श्री एयरलाइन्सस ८० सिट क्षमताका  ‘ड्यास एट’ विमान छन् । समिट एयर, तारा एयर र सीता एयरले लुक्लालगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ । –––