पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

पोखरा:    सञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ । सञ्चारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८१ बाट शर्मालाई पुरस्कृत गरिने भएको हो । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा, वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङ र सञ्चारिकाका पूर्व अध्यक्ष सुष्मा पौडेल सदस्य रहेको छनोट समितिले दुवैलाई पुरस्कारका लागि सिफारिस गरेको हो । विसं २०५३ देखि जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी भण्डारी यसअघि गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार, ‘प्रेस चौतारी पत्रकारिता पुरस्कारवाट सम्मानित भइसकेकी छिन् । भण्डारी प्रेस काउन्सिलका पूर्व सदस्य हुन् ।   यस्तै २०५७ सालमा धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गरेकी वर्षा यसअघि टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार, रासस गण्डकी प्रदेश उत्कृष्ट सम्वाददाता पुरस्कार, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार जस्ता थुप्रै पुरस्कारवाट सम्मानित भइसकेकी छिन् । शर्मा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष हुन् ।    पोखरा किन्डर गार्डेनका संस्थापक प्रधानाध्यापक कमला प्रधानले २ लाख रुपैंयाको अक्षयकोष राखी यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि  २० हजार   रुपैयाँ र सम्मानपत्र छ ।   यस्तै, गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अर्वाड म्याग्दीकी देवी जिसीलाई प्रदान गरिने भएको छ । सोही छनोट समितिले सञ्चारिका समूह गण्डकीले प्रदान गर्दै आएको यो पुरस्कारका लागि जिसीलाई सिफारिस गरेको थियो । जिसी सञ्चारिका समुह नेपाल जिल्ला शाखा, म्याग्दीकी अध्यक्ष हुन् ।   सौन्दर्य व्यवसायी चिनु गुरुङले गुरुङ ब्युटी एकेडेमीको नाममा यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र छ ।

रामेछाप:    सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् ।  काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् ।  रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन् ।  नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् । मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिनुभयो । पर्यटकहरु शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन् ।  

धनगढी:    धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ ।  यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो ।      सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना बिष्टले जानकारी दिनुभयो ।  डडेल्धुरास्थित गोदामबाट एक सय ५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट दुई सय २६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उहाँले जानकारी दिनुभयो ।      कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो रु पाँच छुट दिएर बिक्री गरिरहेको उहाँले बताउनुभयो । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने तथा दुई हजार क्विन्टल उहाँले जानकारी दिनुभयो ।

काठमाडौं:    नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनामा जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भुटान र बङ्गलादेश सहभागी छन् । उक्त प्रतियोगिताको लागि पाकिस्तान, माल्दिभ्स र बङ्गलादेशको टोली नेपाल आइसकेका छन् भने भारत र भुटानको टोली भोलि काठमाडाँै आइपुग्ने एन्फाले जनाएको छ ।   सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले जानकारी दिनुभयो ।   उक्त प्रतियोगिताको टिकेटिङ्ग अधिकार भने माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सलाई प्रदान गरिएको छ । प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण प्याराफिटतर्फ रु तीन सय र भीआइपीतर्फ रु पाँच सय तोकिएको छ  ।  त्यस्तै नकआउट चरणका खेलहरूको टिकट दर साधारण प्याराफिटतर्फ रु पाँच सय र भीआईपीतर्फ रु एक हजार कायम गरिएको छ ।  यसैगरी प्रतियोगिताको खेल हेर्न १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइने एन्फाले जनाएको छ ।

पोखराको काँहुडाँडामा रहेको रिचमन्ड फेलोसिप पोखराले सोबर हाउस इन्टर रिहाब सिक्स ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।    आगामी कात्तिक १ र २ गते, माछापोखरी खेलकुद मैदानमा “लागु पदार्थ होइन, स्वास्थ्यमा ध्यान दिउँ भन्ने मुल नारासहित प्रतियोगिता आयोजना गरिएको प्रदीप बस्नेतले जानकारी दिए ।   लागुऔषध तथा मादक पदार्थ उपचार केन्द्रमा रहेका उपचारार्थी, स्वयंसेवक र कर्मचारीहरु उक्त प्रतियोगितामा सहभागी हुन पाउने उनले बताए ।   उनका अनुसार सो प्रतियोगिताको विजेतालाई च्याङ्ग्रा, शिल्ड र प्रमाण–पत्र प्रदान गरिनेछ भने, उपविजेता टोलीले खसी शिल्ड र प्रमाण–पत्र प्राप्त गर्नेछ ।    प्रतियोगितामा पोखरा भित्र रहेका १२ वटा लागुऔषध उपचार तथा सुधार केन्द्रहरुले सहभागिता जनाउने छन् ।   विगत वि.सं. २०५५ सालदेखि लागुपदार्थ र एचआइभीको क्षेत्रमा विभिन्न कार्यक्रम र सेवाहरु दिँदै आइरहेको रिचमन्ड फेलोसिप पोखराले लागुऔषध र मादकपदार्थ सम्बन्धि परामर्श र उपचार केन्द्र चलाइरहेको छ ।  

बलेवा:    यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् ।  जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ पढ्ने बालबालिकाले पञ्चैबजा र नौमती बजाएर सबैलाई चकित पार्ने गरेका हुन् । कक्षा ४ मा अध्ययनरत विवेक परियारले ढोलकी बजाउँदा शिक्षक, अभिभावक अचम्मित हुन्छन् । उनीहरुले नौमती बजाउँदा मेला महोत्सव र सार्वजनिक कार्यक्रमको रौनक थपिने गरेको छ ।  बाजा बजाउन सिक्न थालेको उनीहरुले एक वर्ष भयो । विद्यालयले पाठ्यक्रमका अतिरिक्त रैथाने सीप सिकाइरहेको छ । त्यसअघि एक दुई जनाले घरमा अभिभावकसँग पनि सिकेका थिए ।  विद्यालयले समूहमा राखेर सिकाएपछि सबैजना बाजा बजाउन जान्ने भएका हुन् । सिकाइकै लागि उनीहरु मेला महोत्सव, धार्मिक र साँस्कृतिक कार्यक्रममा बाजा बजाउँछन् । पारिश्रमिक लिएर भने उनीहरुले हालसम्म बाजा बजाएका छैनन् ।  गत वर्षदेखि विद्यालयले बालबालिकालाई नौमती बाजा सिकाउन थालेको प्रधानाध्यापक तिलक आचार्यले बताउनुभयो । विद्यालयकै शिक्षक थमबहादुर परियारलाई सबै बाजाको ज्ञान भएकाले उहाँले इच्छुक विद्यार्थीलाई प्रशिक्षण दिइरहनुभएको छ ।  सुरुमा गाउँमा बाजा बजाउन सिकाएपछि हौसिएका बालबालिकालाई विद्यालयले रु तीन लाख खर्चेर नौमती बाजाको ‘सेट’ नै ल्याइदिएपछि अहिले नियमित सिकिरहेका छन् । नौमती सिक्नेमा परियारबाहेक अन्य जातका पनि छन् । सबै मिलेर नौमती बजाउन जान्ने भएपछि बालबालिकालाई हरेक शुक्रबारको अतिरिक्त क्रियाकलापमा बाजा बजाउने प्रतियोगितासमेत गराउन थालिएको प्रधानाध्यापक तिलक आचार्यले जानकारी दिनुभयो । विद्यालयले विज्ञान प्रयोगशाला जस्तै बाजा सिक्ने कक्षलाई पनि व्यवस्थित बनाउने तयारी गरेको छ ।  “यहाँ धेरैले चासो राखेपछि एकजोर नौमती बाजाले नपुग्ने भयो । अभिभावक र विदेशमा बस्ने युवाबाट सहयोग जुटाएर कम्तीमा दुई जोर बाजा पु(याउने लक्ष्य छ”, प्रअ आचार्यले भन्नुभयो ।

कालीकोट:   कालिकोटको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो । चालु आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक रु एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले जानकारी दिनुभयो ।  “चालु आवको गाउँसभाबाट एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो,” उहाँले भन्नुभयो, “साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता दिइसकेका छौँ ।” मापदण्ड भित्रका एकल पुरुष काम गर्न शारीरिक रुपमा कमजोर हुँदै जाने उमेर समूहका भएकाले उहाँहरुको सहाराका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।  “६० वर्ष उमेर पुगेपछि नागरिकले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ,” उहाँले भन्नुभयो, “त्यसभन्दा कम उमेरका एकल पुरुषलाई भत्ता दिन थालेका छौँ ।”  गाउँपालिकाले ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्ष सम्मका पुरुषलाई मासिक भत्ता दिने गाउँपालिकाले जनाएको छ ।

बाँके:     बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे)मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।      वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिनुभयो ।      “अहिले दसैँ मनाउन बाहिरबाट आएका पाहुनाको चहलपहल बढी हुने गरेको छ”, उहाँले भन्नुभयो, “दसैँ मनाउन कोहलपुर, नेपालगञ्जलगायत गाउँघरमा आएका आफन्तजन यहाँ घुम्न आउने गर्नुभएको छ ।”      थारू र मुगाली समुदायद्वारा सञ्चालित ‘गाभर भ्याली होमस्टे’मा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । वर्षात्मा सुनसान हुन पुगेको उक्त घरबासमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको अध्यक्ष चौधरीले बताउनुभयो । बाहिरी जिल्लाका साथसाथै दसैँ मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उहाँले बताउनुभयो ।      आन्तरिक पर्यटकलाई लक्षितगरी मिनी गाभरमा भर्खरै सञ्चालनमा आएको बिसौनी ग्रिनरी रिसोर्ट पनि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । प्राकृतिक सुन्दरता र आकर्षक पूर्वाधारकाले दसैँको माहोलमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दो रहेको महाप्रबन्धक केशव चालिसेले बताउनुभयो ।       उहाँका अनुसार मिनी गाभरमा रहेका होमस्टेमा बाँके र बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढीमात्रामा पाहुना घुम्न आउने गरेका छन् । मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ ।      छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।      “यतिबेला बाहिरी जिल्लासँगै नेपालगञ्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहेका छन्”, बिसौनीका महाप्रबन्धक चालिसेले भन्नुभयो, “दसैँ पर्व मान्न गृहजिल्ला बाँके आएका व्यक्ति समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।”      दसैँ मनाउन गाउँ फर्केका आन्तरिक पर्यटक होमस्टेमा घुम्न आउने गरेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ घरबासका अध्यक्ष मङ्गल थारूले बताउनुभयो । बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले घरबासको आनन्द लिन आफूकहाँ आउने गरेको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “दसैँमा घुम्न आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोंगीलगायत स्थानीय प्राङ्गारिक परिकारले स्वागत सत्कार गर्ने गरिएको छ ।”

म्याग्दी:    यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ ।  दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।       केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङग्रा बेचेका छन्”, उहाँले भन्नुभयो, “सरदर मूल्यअनुुसार रु १६ बराबरको च्याङग्रा बिक्री भएका छन् ।”      गत वर्ष सात हजार भेडाच्याङग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् ।       जडीवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले  दसैँ तिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ ।       बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङग्रा रु १० हजार कम मूूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङग्रापालन हो ।