डडेल्धुरा: डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताउनुभयो । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो । प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
तनहुँ: देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो । सुन्तला बगैँचा लगाउनुभएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको बताउनुभयो । रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उहाँको माग छ । आफ्नो बगैँचामा पनि लटरम्म सुन्तला फलेका तर रोगव्याध लागेकाले गर्जो टार्ने चिन्ताले भरतसिंह मगरलाई सताएको छ । सुन्तला बेचेर घरखर्च टार्ने र घरव्यवहार मिलाउने आफ्ना योजना भताभुङ्ग भएको दुखेसो उहाँले गर्नुभयो । तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभई काठमाडौँ उपत्यकामा पनि खपत हुने गरेको छ । गत वर्ष लुङग्रिङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
काठमाडौं: हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक९दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौं: नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन थालिएकोे समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउनुहुन्छ । माता दुर्गाका तीनवटा रुपमध्येका एउटा रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उहाँले बताउनुभयो । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ । त्यसैग्री थाई भाट एकको खरिददर ४ रुपैयाँ २ पैसा र बिक्रीदर चार रुपैयाँ ४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३ १ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददार १२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२ रुपैया ९८ पैसा, र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ४७ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्नुहुन्छ,“पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ ।” विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ । डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । डा पुन भन्नुहुन्छ, “झूलको प्रयोग गर्नु राम्रो हुन्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।”
काठमाडौं: आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका नागरिक मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् । टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ । यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादशैँ समापन हुन्छ ।
भक्तपुर: जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित आज एक जनालाई पक्राउ गरेको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङले हतियार बोकी हिडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी टोलीले घरबाटै तीन राउण्ड गोली लोड भएको मेडइन यूएसए लेखिएको पेस्तोलसहित तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । म्याद थप गरी आजै तामाङमाथि थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।
काठमाडौं: पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिले प्रयोग गरिराखेको पशुपति गौशाला धर्मशाला कानुनअनुसार नै खाली गरिने जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ जिल्ला अदालतले यही असोज १६ गते गरेको फैसलाअनुसार धर्मशाला सञ्चालन गरिने जानकारी गराइएको हो । कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राज्यको सम्पत्ति कुनै व्यक्ति विशेषलाई दिन नसकिने भएकाले अदालतको फैसलाअनुसार धर्मशाला खाली गराइने बताउनुभयो । कोष र काठमाडौँ महानगरपालिकाको समन्वयमा धर्मशाला सञ्चालन गर्ने गरी सहमति भएको उहाँले जानकारी दिनुभयो । कोषले मारवाडी सेवा समितिलाई विसं २०८० साउन १७ गते पहिलेको करार खारेज गरी १५ दिनभित्र सम्झौता गर्न बोलाउँदा नआएको पनि सदस्य सचिव थापाले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गतले गौशाला सञ्चालन गर्न दिएको संस्थाले पशुपतिनाथको सम्पत्तिमा नजर लगाएपछि स्थानीय सरकार जिम्मा लिन अघि सरेको बताउनुभयो । उहाँले कोषसँगको सहमतिअनुसार महानगरपालिकाले धर्मशाला सञ्चालन एवं व्यवस्थापन गर्न मारवाडी सेवा समितिसँग कार्यालय राख्ने स्थान माग गर्दा पनि नदिएको सुनाउनुभयो । कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले मारवाडी सेवा समितिले मोही हुँ भनी गर्दै आएको दावी कानुनी रूपमा प्रमाणित हुन नसक्ने धारणा राख्नुभयो । विसं २०२१ र २०४२ को नापीमा पनि फिल्डबुकमा मोहीका रूपमा समितिको नाम जनाउ नभएको उहाँको भनाइ थियो । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कानुनी प्रक्रियाअनुसार नै अघि बढेर धर्मशाला महानगरपालिकासँगको समन्वयमा सञ्चालन गरिने बताउनुभयो ।

