गण्डकी: घरमा हुने प्रसूतिलाई शून्यमा झार्न कास्कीको माछापुच्छ्रे गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरी चूल्हो’ कार्यक्रम ग्रामीण भेगका महिलाको लागि लाभदायी बनेको छ । गाउँपालिकाले दुई वर्षअघि सुरु गरेको उक्त कार्यक्रमले सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जाने क्रम बढेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराम दाहालका अनुसार ‘सुत्केरी चूल्हो’ मार्फत महिलाहरूले प्रसूतिका बेला खाना, आवास, स्वास्थ्य स्याहारलगायत सुविधा पाउने गर्छन् । “प्रसूति केन्द्र सञ्चालनमा रहेका गाउँपालिकाका पाँच वटा स्वास्थ्य संस्थामा यो सेवा उपलब्ध छ”, प्रमुख दाहालले भन्नुभयो, “सुत्केरी महिला र उहाँको एक जना कुरुवाका लागि खानेकुरादेखि पकाउने भान्छा, भाँडाकुँडा र सुत्ने प्रबन्धसमेत गाउँपालिकाले नै मिलाएको छ ।” प्रसूति हुनुअघि र भएपछि आवश्यकताअनुसार उक्त सेवा प्रदान गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख दाहालले बताउनुभयो । “सुत्केरी चूल्होको अवधारणा सुरु भएपछि ग्रामीण भेगका महिलालाई प्रत्यक्ष लाभ मिलेको छ”, उहाँले भन्नुभयो । स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार गाउँपालिकामा वार्षिक औसत ५९ जना महिला सुत्केरी हुने गरेका छन् । गाउँपालिका बाहिरका अस्पतालमा हुने प्रसूतिको सङ्ख्या जोड्दा त्यो सङ्ख्या थप बढ्ने स्वास्थ्य शाखा प्रमुख दाहालले बताउनुभयो । “घरमा हुने प्रसूतिलाई शून्यमा पुर्याउँदै सुरक्षित मातृत्व तथा शिशु स्याहार कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले सक्दो प्रयास गरिरहेको छ”, उहाँले भन्नुभयो, “नियमित गर्भ जाँच, परामर्शलगायत सेवा प्रदान गर्ने गरिएको छ ।” गाउँपालिकाले प्रसूति सेवाका लागि स्वास्थ्य संस्थामा आउजाउ गर्दा लाग्ने यातायात खर्चसमेत दिने गरेको छ । गाउँपालिकाका प्रसूति केन्द्रमा सुत्केरी हुन नसकी अन्यत्रका अस्पतालमा पठाउनुपरेमा थप यातायात खर्चसमेत दिने गरिएको छ । स्वास्थ्य संस्थामा प्रसूति सेवा लिनेले पोषण खर्चसमेत पाउने गरेको स्वास्थ्य शाखा प्रमुख दाहालले बताउनुभयो । गाउँपालिकामा गत आवमा १३ जना महिला घरमै सुत्केरी भएका थिए । चालु आवमा पनि चार महिला घरमै सुत्केरी भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले उक्त कार्यक्रमका लागि चालु आवमा रु नौ लाख बजेट विनीयोजन गरिएको जानकारी दिनुभयो । प्रसुति सेवा लिन आउनेलाई कुनै किसिमको समस्या आइ नपरोस् भनेर ‘सुत्केरी चूल्हो’ सञ्चालन गरिएको उहाँको भनाइ छ । एक जना कुरुवासहित सुत्केरी महिलालाई आवश्यक पर्ने सम्पूर्ण सेवा गाउँपालिकाले निःशुल्क रुपमा प्रदान गर्ने गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले छोरी जन्मेमा उक्त शिशुका नाममा रु पाँच हजार खातामा राखिदिने गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो । “जन्म दर्ताको प्रमाणपत्र लिएर आएपछि गाउँपालिकामा जन्मेका छोरीहरूलाई रु पाँच हजार गाउँपालिकाले दिन्छ, १६ वर्ष नहुञ्जेलसम्म उक्त रकम खर्च गर्न पाइँदैन”, उहाँले भन्नुभयो, “छोरीप्रतिको सम्मान र बालिकाहरूमा पैसा बचतको संस्कृति बढोस् भनेर यो कार्यक्रम सुरु गरिएको हो ।” छोरीको जन्मलाई विभेदपूर्ण ढङ्गले लिने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि सो कार्यक्रम सहयोगी बन्ने उहाँको विश्वास छ । आव २०७९र०८० देखि उक्त सुरु भएकामा हालसम्म गाउँपालिकाले एक सय ५३ जना बालिकाको खातामा रु पाँच हजारका दरले पैसा जम्मा गरिदिएको छ । गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूतिसहित ‘पूर्ण संस्थागत प्रसुति’ सुनिश्चितता भएको प्रदेश घोषणा गर्ने प्रदेश सरकारको लक्ष्य छ । सोही लक्ष्य पूरा गर्न स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले पनि उक्त कार्यक्रमलाई प्राथमिकता दिएका छन् । गर्भवती तथा सुत्केरी अवस्थामा आउन सक्ने जटिलता न्यूनीकरण गर्न स्वास्थ्य सेवा र निगरानीको पहुँच अभिवृद्धि गर्न अभियान थालिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अस्पताल नर्सिङ प्रशासक अन्जु पौडेलले उक्त अभियानअन्तर्गत गर्भवती दर्ता र निगरानीलाई मुख्य जोड दिइएको बताउनुभयो । “मोबाइल एप्समा गर्भवतीको नाम र विवरण दर्ता हुन्छ”, उहाँले भन्नुभयो, “गर्भ जाँच, परामर्श सेवा, स्वास्थ्य संस्था जानुपर्न मितिसहितको सन्देश मोबाइलमा जान्छ ।” प्रदेशका ११ वटै जिल्लाका स्वास्थ्य संस्था, प्रसूति केन्द्रका स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाहरूलाई गर्भवती दर्ता र निगरानीको तालिम प्रदान गरिएको उहाँको भनाइ छ । प्रदेशका केही वडा र स्थानीय तहले ‘पूर्ण संस्थागत सुत्केरी’ सुनिश्चता भएको घोषणा गरिसकेका छन् । पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस)ले गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुने दर ९६ प्रतिशत देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार गण्डकीमा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु एक सय ६१ रहेको छ । मातृ मृत्युदर हेर्दा कतिपय महिला अझै पनि असुरक्षित तवरले घरमै सुत्केरी हुने गरेको देखिन्छ । यसरी घरमा हुने प्रसूतिलाई शून्यमा झारेर गण्डकीलाई ‘पूर्ण संस्थागत प्रसूतियुक्त प्रदेश’ बनाउन अभियान सुरु गरिएको हो ।
दाङ: लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष कुर्मीले हिजो राजीनामा बुझाएको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए । बाँके निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट निर्वाचित कुर्मी गत साउन ९ गते मन्त्री नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएदेखि नै उनको बारेमा मानव अधिकारकर्मीहरूले विरोध गर्दै आएका थिए । उनीमाथि नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुर निवासी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेको आरोप र सम्पत्ति हत्याएको आरोप लगाउने गरिएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा पनि वृद्धि भएको छ । यूरोको मूल्य भने घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा रहेकामा आजका लागि खरिदर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा तोकिएको छ । मङ्गलबार युरोपियन यूरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६२ पैसा रहेकामा आजका लागि खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा तोकिएको छ । केन्द्रीय बैंककानुसार मङ्गलबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १४ पैसा रहेकामा आजका लागि खरिददर एक सय ७५ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ ३७ पैसा तोकिएको छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७५ र बिक्रीदर एक सय तीन रुपैयाँ २१ पैसा कायम भएको छ । जापानिज येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ३६ र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८३ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ३१ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दरभने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक आदेशबाट उनीहरूलाई थुनाका लागि कारागार चलान गरिएको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राखेर अनुसन्धान गर्न आदेश गरेको म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताउनुभयो । अदालतको आदेशानुसार मिनाका प्रेमी भनिएका राम खत्री, रामकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाई रोजन खत्री र सोही ठाउँका आफन्त श्याम खत्रीलाई थुनाका लागि म्याग्दी जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गर्भवती मिनाको हत्या गरी शव गाडेको अभियोगमा उनीहरूविरुद्ध यही भदौ २१ गते सरकारी वकिल कार्यालयमार्फत मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ अनुसार माग दाबी गरी ज्यानसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता भएको थियो । आठ महिनादेखि बेपत्ता रही गत २७ गते जङ्गलमा गाडेको अवस्थामा फेला परेको शव परिवारले सनाखत गरेपछि परेको किटानी जाहेरीअनुसार अनुसन्धान हुँदा अभियुक्तले बयानमा हत्या स्वीकार गरेको र प्रमाणको आधारमा सरकारी वकिल कार्यालयमार्फत ज्यानसम्बन्धी कसुरमा अदालतमा अभियोग दर्ता भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । विसं २०८० पुस १६ गतेबाट बेपत्ता भएकी परियारको शव गत साउन २७ गते जङ्गलमा गंगटा खोज्ने क्रममा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । गिठिनी जङ्गलमा फेला परेको शवसँगै भेटिएको सुनको सिक्री, कालो सल, चप्पल र कपडाबाट उक्त शव करिब आठ महिनादेखि बेपत्ता १९ वर्षीय मिनाकै भएको भन्दै परिवारले सनाखत गरेका थिए । मृतक बुबालेगत साउन ३० गते प्रेमी भनिएका छिमेकी २१ वर्षीय राम, निजकी आमा, दाई, भाई र सालासमेत गरी पाँच जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दायर गर्नुभएको थियो । तोरीपानीको गलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ अध्ययनरत परियार र खत्री बीच प्रेम सम्बन्ध भइ पटकपटक यौन सम्पर्कबाट मिनाको छ महिनाको गर्भ रहेको खुलेपछि रामले पटकपटक उक्त गर्भपतन गर्न दबाव दिएको फेसबुक म्यासेन्जरबाट खुलेको थियो । हत्याका मुख्य अभियुक्त खत्री यसअघि विसं २०७६ फागुनमा बेनी नगरपालिका–५ पुलाडाँडामा भएको घटनामा ज्यान मार्ने उद्योगमा ४२ दिन हिरासत बसेर नाबालक भएकाले हिरासतमुक्त भएको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधाणलाई सचेत रहन आग्रह गरेको छ ।
काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देलले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य रहेको बताउनुभएको छ । जङ्गी अड्डास्थित सभामण्डपमा सकलदर्जालाई आज पहिलो पटक सम्बोधन गर्दै उहाँले आफ्ना प्राथमिकता र आगामी कार्यदिशाबारे जानकारी गराउनुका साथै सकलदर्जालाई निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो, “नेपालको संविधान, नेपाली सेनाको मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोच–२०८७ लगायतलाई आधारमानी सङ्गठनको सुदृढीकरण गर्दै लगिनेछ ।” प्रधान सेनापति सिग्देलले राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय संयन्त्रहरुको क्षमता सुदृढीकरणमार्फत समग्र राष्ट्रिय सोचमा आधारित विश्वसनीय र प्रभावकारी रणनीतिको आवश्यकता रहेको हुँदा देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राज्यका सबै संयन्त्रहरुको साझा बुझाइ र समान धारणा विकास होस् भन्ने हेतुले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्धारित समयमै सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनका लागि शिक्षा, स्वास्थ्य, कला संस्कृति र परम्पराको संरक्षण गर्न, पर्यावरण जोगाउन तथा राज्यका सम्पदाहरुको सुरक्षामा योगदान पु¥याउन सैनिक मर्यादालाई ख्याल राख्दै योजना तर्जुमा गरी कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखी देशको परराष्ट्र नीतिलाई टेवा पु¥याउन सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउंदै लगिने उहाँको भनाइ थियो । प्रधानसेनापति सिग्देलले नेपाल सरकार र नेपाली सेनाको प्राथमिकतामा रहेको बङ्कर टु ब्यारेक योजना, लत्ताकपडा प्राप्ति एवं उत्पादनलगायतका कार्यलाई व्यवस्थित गर्दै लगिने जानकारी गराउनुभयो । उहाँले काठमाडौं–तराई÷मधेस द्रुतमार्गलगायत अन्य सडक तथा करिडोर निर्माणमा कुनै पनि प्रकारको ढिला सुस्ती, अनभिज्ञता, अनियमिततालगायतका क्रियाकलाप अस्वीकार्य हुने बताउनुभयो । नेपाली सेनाका सबै युनिटमा प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिति थियो ।
गोरखा: उत्तरी गोरखा जोड्ने एकमात्र आरुघाट–आर्खेत–लार्केभञ्ज्याङ सडकखण्ड झण्डै डेढ महिनादेखि अवरुद्ध भएको छ । गत साउन दोस्रो साता परेको अविरल वर्षाले धार्चे गाउँपालिका–७ स्थित खानीबेंसी खोलामा आएको भीषण बाढीले अवरुद्ध भएको सडक अझै सञ्चालन हुन नसकेको हो । आर्खेतदेखि माछीखोलासम्म दुई ठाउँमा ठूलो पहिरो र बाढीले सडकमा क्षति पुगेको थियो । धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकासम्म पुग्ने सो सडकखण्डकमा बाढी र पहिरोले क्षति पु¥याउँदा त्यस क्षेत्रका स्थानीयलाई आवतजावत गर्न समस्या परेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो । “सडक अबरुद्ध भएपछि पैदल यात्रीलगायत उत्तरी भेगका बासिन्दा तथा आन्तरिक र बाह्य पर्यटकसमेतलाई ओहोरदोहोरमा समस्या भएको छ”, उहाँले भन्नुभयो, “खानीबेंसी खोलामा आएको बाढीले मुख्य सडक बगाएपछि उत्तरी गोरखामा पुगेका सवारीसाधन खानीबेंसीबाट उतै रोकिएर बसेको पनि डेढ महिनाबढी भइसक्यो ।” खानीबेंसी खोलाको बाढीले ५० मिटर बाटो अवरुद्ध भएको छ । उत्तरी गोरखा जोड्ने मुख्य सडक भएकाले अवरुद्ध सडक खुलाउनका लागि पहिरो माथिबाट अस्थायी सडक निर्माण गर्न खोजिएको भए पनि भौगोलिक जटिलता, कडा चट्टान र भिर भएकाले अहिलेसम्म सडक सञ्चालनमा ल्याउन नसकिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैधरुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा सुनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका–१ बाङ्गेसार बस्ने ३१ वर्षीय समिर अहमद र खोटाङ दिप्रुङ गाउँपालिका–५ बस्ने ३० वर्षीय देवराज खत्री रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका समिरलाई करिब ५४ ग्राम तौलको सुन (धातुको ढिक्का एक थान, बेरुवा औँठी एक थान) मोबाइल एक थानसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो । प्रहरीका अनुसार देवराजलाई करिब २५ ग्राम तौलको सुनको सिक्री एक थान, मोबाइल दुई थान र ल्यापटप एक थानसहित पक्राउ गरिएको हो । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गल बुझाएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पर्यटन विभागको सदस्यमा १० सदस्य मनोनीत गर्नुभएको छ । उहाँले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहनुभएको पर्यटन विभागमा आज मनोनयन गर्नुभएको हो । विभागमा खुम सुवेदी, वीरबहादुर महरा, दीपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जङ्गबहादुर लामा मनोनीत हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

