पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:     सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ ।       क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजना गर्दा रु १५ लाख ३८ हजार चार सय ६६ घाटा भएको जनाएको हो । क्लबका अध्यक्ष केशवराज बरालले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताउनुभयो ।       “तेइसौँ संस्करणमा अघिल्लो संस्करणको भन्दा दुई टोली बढी थपिए, केही विदेशी टोली पनि ल्याउनुपर्दा खेलाडीको दैनिक भ्रमण भत्तालगायतमा बढी खर्च भयो”, उहाँले भन्नुभयो, “प्रतियोगितामा नियमित प्रायोजन गर्दै आएका केही व्यापारिक प्रतिष्ठानले गत वर्ष क्लबसँगको सहकार्य टुटाएका कारण पनि बढी व्ययभार थपिन पुग्यो ।” प्रतियोगिताको इतिहासमा पहिलो पटक क्लबले घाटा व्यहोर्नुपरेको अध्यक्ष बरालले बताउनुभयो ।       प्रतियोगितामा कुल आम्दानी रु ९९ लाख ९५ हजार चार सय ५१ र खर्च रु एक करोड १५ लाख ३३ हजार नौ सय १७ भएको उहाँको भनाइ छ । उक्त प्रतियोगितामा प्रायोजनतर्फ रु ५६ लाख ७५ हजार दुई सय सात आम्दानी भएको अर्थ सङ्कलन उपसमितिका संयोजक सुनिल गुरुङले जानकारी दिनुभयो ।       हिम श्री फुड्स प्रालिले रु २२ लाख २५ हजार, पोखरा महानगरपालिकाले रु १० लाख, गण्डकी प्रदेश खेलकुद परिषद्ले रु पाँच लाखलगायत गरी १४ सङ्घसंस्था र व्यापारिक प्रतिष्ठानले प्रतियोगितामा प्रायोजन गरेका थिए ।  टिकट शुल्कबाट रु २६ लाख ३६ हजार छ सय १३ सङ्कलन भएको जनाइएको छ । खर्चतर्फ सबैभन्दा बढी खेलाडीको दैनिक भ्रमण भत्तामा ३९ लाख ७३ हजार चार सय ५७ खर्च भएको अर्थ सङ्कलन उपसमितिका संयोजक गुरुङले बताउनुभयो । प्रोत्साहन खर्चबापत रु १९ लाख ६२ हजार, आयोजक खर्च रु ११ लाख ५७ हजार र आयोजक टिम तयारी खर्च रु पाँच लाख ६३ हजार सात सय ४० भएको क्लबले जनाएको छ । विभिन्न १८ शिर्षकमा उक्त रकम खर्च भएको हो ।       क्लबका अध्यक्ष बरालले बजारमा देखिएको आर्थिक मन्दी र राष्ट्रिय फुटबल खेलाडीको विदेश पलायनले फुटबलको रौनक घट्दै गएकाले प्रतियोगिता सञ्चालनमा चुनौती थपिँदै गएको बताउनुभयो ।  क्लबले विगत २४ वर्षदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । मोफसलको प्रतिष्ठित उक्त प्रतियोगिताको २३औँ संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता थ्री स्टार क्लब बनेको थियो ।

बागलुङ (गलकोट):   बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभित्ता र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।      जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले रेशको नुन्थला माध्यामिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत सन्ध्या किसान र अमृता किसान यही भदौ १३ गते बिहानदेखि बेपत्ता भएका थिए । उनीहरुको खोजी गर्न प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाएर प्रहरी परिचालन गरेको थियो ।       बेपत्ता अमृतालाई भारततर्फ लैजादै गरेको अवस्थामा झापास्थित आफन्त नेपालले उद्धार गरी प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको विद्यालयलका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिनुभयो । सन्ध्यालाई चितवनको एक होटलबाट प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको हो । 

काठमाडौं:     वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।      पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका–७  घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल बस्ने ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ घर भई काठमाडौँ सिनामङ्गल बस्ने ३६ वर्षीय सल्लउदिन वेग तथा तेह्रथुमको फेदाप गाउँपालिका–८ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।      उहाँका अनुसार पक्राउ परेकामध्ये सिंहले दुई जनालाई दुबई पठाउने भन्दै रु आठ लाख ४० हजार, वेगले दुई जनालाई कुवेत पठाउने भन्दै रु सात लाख २० हजार तथा दाहालले तीन जनालाई क्रोएसिया पठाउने भन्दै रु आठ लाख २५ हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहिन भएको पीडितको उजुरीका आधारमा काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।      पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

काठमाडौं:    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमा परिवर्तनका सम्बाहक भएको बताउनुभएको छ ।      चन्द्रागिरी नगरपालिका–१४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले त्यस्ता बुवाआमालाई सधै समाजले सम्झिरहने बताउनुभयो ।  सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई बामपन्थी रुझानबाट अघि बढाउँदै पाँच छोरा, पाँच बुहारी र चार छोरीलाई राजनीतिक, सामाजिक आन्दोलनमा लाग्न प्रेरित गर्ने बुद्धराम प्रेरणाको स्रोत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले २०४५ सालदेखि बिरामी अवस्थामा रहेका बुवाको सम्मानपूर्वक स्याहारसुसार गर्ने परिवार पनि उत्तिकै उदाहरणीय भएको बताउनुभयो ।      धेरै कठिनाइका बीचबाट पनि दुलालले सामाजिक क्षेत्र, बामपन्थी झुकाव हुँदै कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्दै अध्यक्ष प्रचण्डले यस्ता विशिष्ठ व्यक्तित्वहरु सधै समाजको अग्रस्थानमा रहने बताउनुभयो ।      जुत्ता सिलाउने पेशा अङ्गालेका बुद्धरामले समाज रुपान्तरणमा गरेको योगदानले सचेत श्रमजीवी वर्गको यथार्थ प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उहाँले यसबाट सचेत श्रमजीवी वर्ग नै सामाजिक रुपान्तरणका अगुवा हुन सक्छन् भन्ने थप पुष्टि भएको पनि बताउनुभयो ।      नेपाली समाजको रुपान्तरणका लागि बुद्धरामजस्ता थुप्रै अगुवाले गरेको योगदानका कारण अहिले मुलुकमा समानतायुक्त राजनीतिक व्यवस्था स्थापना भएको चर्चा गर्दै उहाँले प्राप्त उपलब्धिको उपभोग, रक्षा र विकासमा पनि उत्पीडित समुदायले बढी नै ध्यान दिनुपर्ने बताउनुभयो ।      दिवङ्गत बुद्धरामको जीवनीबारे उहाँका जेठा छोरा एवं नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य शङ्कर दुलालले जानकारी दिनुभएको थियो । उहाँले पञ्चायतकालमै बाम अन्दोलनको समर्थनमा लाग्नुभएका बुवाकै प्रेरणाका कारण आफ्नो परिवारले राजनीतिक तथा सामाजिक आन्दोलनमा लाग्ने अवसर प्राप्त भएको बताउनुभयो ।      कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटालगायतका नेता कार्यकर्ताको उपस्थिति थियो । 

पर्वत:   जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ ।   आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो ।   जेष्ठ नागरिकमा सर्ने तथा नसर्ने रोगको अवस्था पहिचान गरी परामर्श र उपचारमा सघाउने उद्देश्यले प्रत्येक दुई महिनामा हरेक टोलमा स्वास्थ्यकर्मी पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणको व्यवस्था मिलइाएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो ।   जलजला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख गणेश मल्लले पालिकाक्षेत्रका ९ वटा वडाका ९० वटा टोलमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्यकर्मी परिचालन भएका बताउनुभयो ।   स्वास्थ्य परीक्षण उनीहरुलाई निःशुल्क औषधी पनि वितरण गरिनेछ ।   आर्थिक रूपमा अक्षम र सहाराविहीन यो कार्यक्रमबाट लाभान्वित हुने उहाँले बताउनुभयो । 

माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ ।   गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो ।   घाचोकको सिरानखेत र तल्लाखेतमा गरी तीन सय १६ रोपनी जमिन चक्लाबन्दी गरी सामूहिक खेती थालिएको छ ।   स–साना खेतका गरालाई मिसाएर ठूलो क्षेत्रफलमा सामूहिक खेती थालेपछि कृषि क्षेत्रमा घाचोक नमूना बन्दै गएको भूमे सिर्जनशील कृषक समूहका सचिव भुवनेश्वर पोखरेलले बताउनुभयो ।   उहाँका अनुसार चक्लाबन्दीमा कसरी काम भइरहेको छ भनेर देशका विभिन्न भागबाट जनप्रतिनिधि, राजनीतिक दलका नेता, इञ्जिनियर, कृषि प्राविधिक, कृषक तथा सरोकार भएका निकायका प्रतिनिधि अध्ययन, अवलोकनका लागि आउने गरेका छन् ।   “हामीले स–साना कित्तामा विभाजित जग्गालाई चक्लाबन्दी गरेर सामूहिक खेती गरेका छौँ । यहाँको चक्लाबन्दी अवलोकन र अध्ययन गर्न देशभरबाट विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व आउने गर्नुभएको छ”, सचिव पोखरेलले भन्नुभयो, “हाम्रो ठाउँ अहिले देशमा कृषि क्षेत्रमा नमूना बन्दै गएकामा खुशी छौँ ।”   सचिव पोखरेलले चक्लाबन्दीपछि खेती गर्न लागत कम हुनाका साथै उत्पादनमा वृद्धि भएको जानकारी दिनुभयो ।   “चक्लाबन्दीका फाइदा धेरै छन् । खेती लगाउन सजिलो भएको छ भने उब्जाउ समेत बढेको छ । सिँचाइमा पनि सहज भएको छ”, उहाँले भन्नुभयो । “चक्लाबन्दी गरिएको जमिनमा खेती लगाउनेदेखि थन्काउनेसम्मको सबै जिम्मेवारी कृषक समूहको छ । आफैँ काम गर्ने कृषकले समूहबाट ज्याला पाउने गर्दछन् । काम गर्न नभ्याउनेले लागत बोर्होनुपर्ने गरी नियम बनाइएको छ । यसबाट खेतीमा समय दिन नसक्नेलाई सजिलो भएको छ”, कृषक समूहका सचिव पोखरेलले बताउनुभयो ।   प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषिको आधूनिकीरकण तथा यान्त्रीकरणका माध्यमबाट ठूलो क्षेत्रफलमा व्यावसायिक खेतीका लागि जमीन चक्लाबन्दी कार्यक्रम ल्याएपछि कृषक त्यसतर्फ आकर्षित भएका हुन् ।   सुरुमा कृषकको जमिन एकीकरण गरेर समथर बनाउनका लागि कृषि मन्त्रालयले अनुदान दिने गरेको छ ।   सरकारले चक्लाबन्दी गर्न ४० देखि एक सय रोपनीसम्मका लागि बढीमा रु १० लाख अनुदान, एक सय एकदेखि दुई सय रोपनीलाई रु २० लाख, दुई सय एकदेखि तीन सय रोपनीसम्म रु ३० लाख र तीन सय रोपनीमाथि प्रतिरोपनी रु १० हजारका दरले अनुदान उपलब्ध गराउँदै आएको छ ।    

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ ।   हाल देशका पहाडी भूभागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ ।   कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहनेछ ।   सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ ।   लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना पनि छ ।   यसैबीच विभागले बुधबार अपराह्न विशेष मौसम बुलेटिन निकालेर आज साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् ।   काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उहाँले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो ।   सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताइन्  । प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।

काठमाडौँ:    नेपाल राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।   राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बडादशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो ।   “नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८१ असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ”, राष्ट्र बैंकले सूचनामार्फत भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।”   सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएरसमेत सफा तथा सुकिलो नोट साट्न सक्नेछन् ।       विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।   सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो ।        दसैँको मुखमा सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र त्यसपछि ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकको भनाइ छ ।   विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन् ।   ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रँने तथा कुहिने अवस्था सिर्जना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हुने भन्दै राष्ट्र बैंकले चलनचल्तीकै सुकिलो र सफा नोट साट्न लागेको हो ।       चाडबाडका समयमा मुख्यतय: रु पाँच, १०, २०, ५० र १०० दरका नोटहरुको माग अत्यधिक हुने गरेको छ ।   साना दरका यस्ता नोटको होल्डिङ लागत न्यून हुनेहुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटहीगरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलनसमेत रहेको पाइन्छ ।   पाँच सय र एक हजार दरका नोटको हकमा भने बजारमा वृद्धि हुने चाडबाडलक्षित कारोबारअनुरुप माग हुने गरेको छ ।       देशभर नोटको आपूर्ति गर्ने र पुराना तथा मैला नोटलाई खिचेर प्रतिस्थापन गर्दै जाने कार्य नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ ।   मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो । आार्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना मैला नोटहरु खिचेर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो ।   बैंक नोट छपाइको काम अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट विदेशमा हुने गरेको छ । नोट छपाइमा विदेशी मुद्राको ठूलो राशि खर्च हुने भएकाले त्यसमा कमी ल्याउनका लागि पनि नोट सफा राखिराख्नु आवश्यक छ ।   चलन चल्तीमा गुणस्तरीय, विश्वस्त र सफा नोटमात्र चलन चल्तीमा ल्याउने तथा मक्किएका, च्यातिएका, गलेका पुराना तथा मैलो नोटहरु प्रशोधन तथा जलान मार्फत चलन चल्तीबाट हटाउँदै लैजाने काम राष्ट्र बैंकले गर्दै आएको छ ।   बैंक तथा वित्तीय संस्थामा रहेका नोटलाई गुणस्तर हेरी वर्गीकरण गरेर राख्नुपर्ने व्यवस्था रहेको र यसलाई कार्यान्वयन गरे नगरेकोबारे राष्ट्र बैंकले अनुगमनसमेत गर्ने गरेको सहायक प्रवक्ता पोखरेलले बताउनुभयो ।    झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर अङ्क, चित्र तथा सुरक्षण विशेषता नबुझिने वा बिग्रिनेगरी रङ लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको वा पूर्वराजाको तस्वीर अङ्कित नोटलाई पुनःनिष्काशन अयोग्य नोटका रुपमा वर्गीकरण गरी नेपाल राष्ट्र बैंक नष्ट गर्ने गरेको छ ।