काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधाणलाई सचेत रहन आग्रह गरेको छ ।
काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देलले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य रहेको बताउनुभएको छ । जङ्गी अड्डास्थित सभामण्डपमा सकलदर्जालाई आज पहिलो पटक सम्बोधन गर्दै उहाँले आफ्ना प्राथमिकता र आगामी कार्यदिशाबारे जानकारी गराउनुका साथै सकलदर्जालाई निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो, “नेपालको संविधान, नेपाली सेनाको मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोच–२०८७ लगायतलाई आधारमानी सङ्गठनको सुदृढीकरण गर्दै लगिनेछ ।” प्रधान सेनापति सिग्देलले राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय संयन्त्रहरुको क्षमता सुदृढीकरणमार्फत समग्र राष्ट्रिय सोचमा आधारित विश्वसनीय र प्रभावकारी रणनीतिको आवश्यकता रहेको हुँदा देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राज्यका सबै संयन्त्रहरुको साझा बुझाइ र समान धारणा विकास होस् भन्ने हेतुले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्धारित समयमै सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनका लागि शिक्षा, स्वास्थ्य, कला संस्कृति र परम्पराको संरक्षण गर्न, पर्यावरण जोगाउन तथा राज्यका सम्पदाहरुको सुरक्षामा योगदान पु¥याउन सैनिक मर्यादालाई ख्याल राख्दै योजना तर्जुमा गरी कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखी देशको परराष्ट्र नीतिलाई टेवा पु¥याउन सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउंदै लगिने उहाँको भनाइ थियो । प्रधानसेनापति सिग्देलले नेपाल सरकार र नेपाली सेनाको प्राथमिकतामा रहेको बङ्कर टु ब्यारेक योजना, लत्ताकपडा प्राप्ति एवं उत्पादनलगायतका कार्यलाई व्यवस्थित गर्दै लगिने जानकारी गराउनुभयो । उहाँले काठमाडौं–तराई÷मधेस द्रुतमार्गलगायत अन्य सडक तथा करिडोर निर्माणमा कुनै पनि प्रकारको ढिला सुस्ती, अनभिज्ञता, अनियमिततालगायतका क्रियाकलाप अस्वीकार्य हुने बताउनुभयो । नेपाली सेनाका सबै युनिटमा प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिति थियो ।
गोरखा: उत्तरी गोरखा जोड्ने एकमात्र आरुघाट–आर्खेत–लार्केभञ्ज्याङ सडकखण्ड झण्डै डेढ महिनादेखि अवरुद्ध भएको छ । गत साउन दोस्रो साता परेको अविरल वर्षाले धार्चे गाउँपालिका–७ स्थित खानीबेंसी खोलामा आएको भीषण बाढीले अवरुद्ध भएको सडक अझै सञ्चालन हुन नसकेको हो । आर्खेतदेखि माछीखोलासम्म दुई ठाउँमा ठूलो पहिरो र बाढीले सडकमा क्षति पुगेको थियो । धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकासम्म पुग्ने सो सडकखण्डकमा बाढी र पहिरोले क्षति पु¥याउँदा त्यस क्षेत्रका स्थानीयलाई आवतजावत गर्न समस्या परेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो । “सडक अबरुद्ध भएपछि पैदल यात्रीलगायत उत्तरी भेगका बासिन्दा तथा आन्तरिक र बाह्य पर्यटकसमेतलाई ओहोरदोहोरमा समस्या भएको छ”, उहाँले भन्नुभयो, “खानीबेंसी खोलामा आएको बाढीले मुख्य सडक बगाएपछि उत्तरी गोरखामा पुगेका सवारीसाधन खानीबेंसीबाट उतै रोकिएर बसेको पनि डेढ महिनाबढी भइसक्यो ।” खानीबेंसी खोलाको बाढीले ५० मिटर बाटो अवरुद्ध भएको छ । उत्तरी गोरखा जोड्ने मुख्य सडक भएकाले अवरुद्ध सडक खुलाउनका लागि पहिरो माथिबाट अस्थायी सडक निर्माण गर्न खोजिएको भए पनि भौगोलिक जटिलता, कडा चट्टान र भिर भएकाले अहिलेसम्म सडक सञ्चालनमा ल्याउन नसकिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैधरुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा सुनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका–१ बाङ्गेसार बस्ने ३१ वर्षीय समिर अहमद र खोटाङ दिप्रुङ गाउँपालिका–५ बस्ने ३० वर्षीय देवराज खत्री रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका समिरलाई करिब ५४ ग्राम तौलको सुन (धातुको ढिक्का एक थान, बेरुवा औँठी एक थान) मोबाइल एक थानसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो । प्रहरीका अनुसार देवराजलाई करिब २५ ग्राम तौलको सुनको सिक्री एक थान, मोबाइल दुई थान र ल्यापटप एक थानसहित पक्राउ गरिएको हो । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गल बुझाएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पर्यटन विभागको सदस्यमा १० सदस्य मनोनीत गर्नुभएको छ । उहाँले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहनुभएको पर्यटन विभागमा आज मनोनयन गर्नुभएको हो । विभागमा खुम सुवेदी, वीरबहादुर महरा, दीपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जङ्गबहादुर लामा मनोनीत हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कास्की: पोखराका पर्यटन व्यवसायीले दुई वर्षदेखि बन्द रहेको यहाँ सञ्चालित प्याराग्लाइडिङको सोलो (एकल) उडान खुलाउन माग गरेका छन् । प्याराग्लाइडिङको सोलो उडान बन्द हुँदा विभिन्न देशबाट आउने पर्यटक निरास भएकाले यसको असर पर्यटन क्षेत्रमा परेको व्यवसायीको भनाइ छ । प्याराग्लाइडिङको सोलो उडान प्रतिबन्ध भए पनि व्यावसायिक उडान भने भइरहेको छ । नेपाल हवाई खेलकुद संस्था(ना)को २१औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले उडान बन्द हुँदा नेपाली प्राविधिक खेलाडीको सीप क्षमता विकासमा असर पुगेको बताउनुभयो । पोखरामा विसं २०७९ असोज अन्तिममा नवौँ राष्ट्रिय खेलकुदको दौरान ग्लाइडर दुर्घटनामा एक जना खेलाडीको मृत्यु भएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका सोलो उडानमा प्रतिबन्ध लगाएको थियो । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराईले विभिन्न देशबाट सोलो उडानका पारखीहरु हरेक वर्ष पोखरा आउने गरे पनि अहिले आउन नपाएको बताउनुभयो । उहाँका अनुसार नेपाली पाइलटले प्याराग्लाइडिङको अभ्यास गर्न पाएका छैनन् । अध्यक्ष भट्टराईले उडान खुला गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर माग गरे पनि पूरा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा सोलो उडान खुला गरेर पर्यटकीय गतिविधिहरु वृद्धि गर्नुपर्दछ भनेर माग गरिराखेका छौँ ।” पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बन्द भएको प्याराग्लाइडिङको एकल उडान खुलाउनुको विकल्प नभएको बताउनुभयो । “पोखरा पर्यटन राजधानी घोषित भएको छ । त्यसैले पनि यहाँ आउने पर्यटकलाई धेरैभन्दा धेरै सुविधा र पर्यटकीय गतिविधिहरुमा सहभागी गराउनुपर्दछ । सोलो उडानबाट पर्यटन विकासमा मद्धत पुग्नेछ”, पहारीले भन्नुभयो । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यवसायीको माग पूरा गर्न सरकारले पहल गर्ने बताउनुभयो । उडान खुला गर्नका लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिने उहाँले विश्वास दिलाउनुभयो । “पोखराको पर्यटनका लागि प्याराग्लाइडिङको धेरै महत्व छ । सोलो उडानलाई थप व्यवस्थित बनाउँदै प्रतिबन्ध हटाउने विषयमा सरकारले ध्यान दिनेछ”, मन्त्री थापाले भन्नुभयो । विगतमा सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ उडान हुँदै आएकामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि सो क्षेत्रबाट विस्थापित भएर मान्द्रेढुङ्गाबाट उडान र पामेमा अवतरण क्षेत्र तोकिएको थियो । मान्द्रेढुङ्गा टाढा भएको र पर्यटकको आकर्षण घटे पनि व्यवसायीको मागअनुसार पुनःकेही समयपछि तोरीपानीबाट उडान हुँदै आएको छ । नेपाल हवाई खेलकुद संस्थामा हाल ६२ वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनी र पाइलट तीन सय ९९ जना आबद्ध छन् ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने १५ वर्षीय रोनाल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साथीहरुसँग पौडी खेल्न गएका उनलाई नदीले बगाएर बेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नदीले बगाउने सम्भावित ठाउँमा आज खोजी गर्दा पनि बेपत्ता बालकलाई फेला पार्न सकिएको छैन । खोजी जारी छ ।”
पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाल आदिवासी जनजाति समुदाय कांग्रेसको मेरुदण्ड भएको बताएका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकी प्रदेश समितिको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् । ‘कांग्रेस र जनजाति कुनै पृथक चिज होइन्, अलग होइनन्, कांग्रेस जनजाति हो, जनजाति भनेको कांग्रेस हो, कांग्रेस र जनजातिको सम्बन्ध नङ र मासुको जस्तै छ’, सभापति शर्माले भने, ‘ २००७ सालको आन्दोलन सुरु गर्दा धेरै जनजातिहरु इन्डियन,बिट्रिस आर्मीमा भर्ना भएका थिए उनीहरुलाई जोडेर मुक्ति सेना निर्माण गरेर उनीहरुलाई अगाडि सारेर २००७ सालको आन्दोलनको प्रारम्भ भएको हो, त्यसैले आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड हो ।’ प्रदेश सभापति शर्माले कांग्रेस लोकतन्त्र, प्रजातान्त्रिक पार्टी भएकाले गलत गर्ने नेताको खुलेर विरोध गरेपनि पार्टीको निर्देशनमा चल्दै आएको दावी समेत गरे । गण्डकी प्रदेशका अर्थमन्त्री एवम् नेपाली काग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले अन्य भातृसंगठनले महाधिवेशन गर्न नसक्दा समयमा नै महाधिवेशन गरेर पार्टीलाई सन्देश दिएको बताए । ‘संगठन निर्माण र विस्तारमा हामीले धेरै चुनौतीको सामना गर्दै आएका छौं, यो अवस्थामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले तोकेकै समयमा महाधिवेशन गरेर पार्टीलाई सन्देश समेत दिएको छ, गुरुङले भने, ‘यस महासंघले नेपाली कांग्रेसको अन्य भातृसंगठनलाई समेत समयमा नै महाधिवेशन गरेर पार्टीलाई थप बलियो बनाउन समेत सन्देश दिएको छ ।’ कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष ओमबहादुर घर्ति मगरले आदिवासी जनजातिका लागि पार्टीमा १७ बुँदे माग समेत राखेको बताए । ‘ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति केन्द्रिय महासंघले काठमाडौंमा दुई दिन प्रशिक्षण कार्यक्रम राखेको थियो, त्यस कार्यक्रमबाट हामीले आदिवासी जनजाति समुदायको लागि१७ बुँदे माग पार्टीमा राखेका छौं’, घर्तिले भने, ‘हामीले राखेको १७ बुँदे मागमा पार्टी सभापति देखि महामन्त्रीद्धयसँग समेत छलफल गरेका छौं, हामीले द्धन्द्ध पनि मेटिने र पहिचान भेटिने गरी पार्टीमा माग राखेको छौं ।’ कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघमा केन्द्रिय समिति र जिल्ला समितिलाई सम्मान र नवनिर्वाचित गण्डकी प्रदेश समितिलाई पदस्थापन समेत गरिएको थियो । कार्यक्रम नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष जीबहादुर गुरुङको अध्यक्षता र सचिव बुद्धिबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
काभ्रेपलाञ्चोक: नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो । प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार रु १५ लाखको लागतमा ढलौटको सालिक बनेको हो । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा सङ्कलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले बताउनुभयो । आगामी असोज ५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ । बनेपा–सिन्धुली–बर्दिबास एक सय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ । यो बाटोलाई बिपी राजमार्ग भनिन्छ । जापान सरकारको अनुदानमा बिपी राजमार्ग निर्माण भएको हो ।

