पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:    चित्रकार एससी सुमन श्रीलङ्कामा भइरहेको ‘कोलम्बो आर्ट एक्स्पो–२०२४’ सहभागी हुनुभएको छ ।       अन्तराष्ट्रियस्तरको कला प्रदर्शनीमा सहभागी हुनुभएका सुमनले मिथिला चित्रकला प्रदर्शन गर्नुभएको छ ।  उहाँको कलामा मिथिला संस्कृतिसँगै इतिहास, मानव सभ्यता, प्रकृति, राजनीतिदेखि ब्रहमाण्ड जगत्को भाव समेटिएको छ ।        एक्स्पोमा सहभागी कलाकार सुमनका अनुसार अन्तर्राष्ट्रियस्तरमा कला प्रदर्शनीमा सहभागी हुँदा एकअर्काको कलासंस्कृति अनुशरण गर्न पाइने बताउनुभयो ।    एक्स्पोमा कला शिविर, कार्यशाला र प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको उहाँले राससलाई बताउनुभयो ।       “सबै देशका कलाकार एकै ठाउँमा जम्मा हुँदा सिक्ने र सिकाउने मौका पाएका छौँ”, उहाँले भन्नुभयो, “यो एक्स्पोको अर्थ पनि कलाको विश्वव्यापीकरण गर्नु र मित्रताको सन्देश दिनु हो ।”  एक्स्पोमा आठ देशका ४० जना कलाकारको कला प्रदर्शनी गरिएको सुमनले जानकारी दिनुभयो । चारदशकदेखि मिथिला कलामा सक्रिय उहाँले बेलायत, चीन, श्रीलङ्कामा ४० पटकभन्दा बढी सामूहिक कला प्रदर्शन गरिसक्नु भएको छ । नेदरल्याण्ड, अष्ट्रेलियाजस्ता देशमा १८ भन्दा बढी एकल प्रदर्शन गर्नुभएको छ ।       ‘एनएसजी कलाकार समूह बङ्गलादेश, फ्याकल्टी अफ भिजुअल आर्ट र भिजुअल एण्ड पर्फमेन्स विश्वविद्यालय, श्रीलङ्काको कला सङ्कायको सहकार्यमा एक्स्पो आयोजना गरिएको हो ।  एक्स्पोमा चित्रकला, मूर्तिकला, सिरामिक र प्रिन्टमेकिङलगायतका  विधामा कला प्रदर्शन गरिएका छन् । सेप्टेम्बर ६ तारिखदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय कला प्रदर्शनी सेप्टेम्बर १४ सम्म चल्नेछ ।

काठमाडौं:   श्रीलंकामा अर्को महिना हुने काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ खेलाडीको नेपाली टोली घोषणा भएको छ । नेपाल भलिबल संघले बिहीवार १२ खेलाडीको नाम सार्वजनिक गरेको छ। संघले बन्द प्रशिक्षणमा रहेका १८ मध्ये १२ खेलाडीको अन्तिम छनोट गरेको हो । भदौ ८ गतेबाट बन्द प्रशिक्षण गरिरहेको थियो । च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। केहि महिनाअघि काठमाडौंमा‌ भएको यू– १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो । सो प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले गत महिना माल्दिभ्समा सम्पन्न काभा यू–२० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो।   नेपाली यू–२० टोली   पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी र दिनेश कुँवर । 

काठमाडौं:    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढाउन पुँजीगत खर्च बढाउने सरकारको नीति रहेको बताउनुभएको छ ।            भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र लगानी बोर्डको संयुक्त आयोजनामा आजदेखि सुरु भएको नेपाल पूर्वाधार सम्मेलनको पाँचाँै संस्करणमा उहाँले पूर्वाधार विकासका लागि विनियोजित बजेटको आधार बढाउने प्रतिबद्धता जनाउनुभएको हो ।        “सरकारले पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजनलाई बढाउँदै जाने नीति लिएको छ, पुँजीगत खर्च बढाउन विभिन्न कानुनी तथा प्रक्रियागत सुधारलाई अगाडि बढाउने र वैदेशिक सहायतालाई भौतिक पूर्वाधार विकासमा केन्द्रित गर्ने नीति छ”, उहाँले भन्नुभयो, “समस्त नेपालीको आकाङ्क्षा ‘समृद्ध नेपाल र सुखी नेपाली’ हो । सरकार यही आकाङ्क्षा साकार पार्न अनवरत लागिरहेको छ । समृद्ध नेपाल निर्माणको मूल आधार नै पर्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास हो ।”      एक्काइसौँ शताब्दी अनुकूल एवं नागरिकको चाहनाबमोजिम पूर्वाधार विकास एवं निर्माणमा सरकार केन्द्रित हुने उहाँको भनाइ छ । मन्त्री पौडेलले आर्थिक तथा वित्तीय अनुशासन एवं वित्तीय उत्तरदायित्व कायम गर्दै सार्वजनिक वित्त परिचालन एवं उपयोग गर्न चाहेको जानकारी दिनुभयो ।       “सरकारको एक्लो प्रयासबाट पूर्वाधार विकासको कमी पूरा गर्न सम्भव छैन । यसमा निजी क्षेत्र, बाह्य लगानीकर्ता, अन्तर्राष्ट्रिय समुदाय एवं विकास साझेदारसमेतको उत्तिकै भूमिका रहन्छ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले वित्तीय नीति, मौद्रिक नीति एवं नियामकीय नीतिहरुमा समयानुकूल परिवर्तन एवं परिमार्जन गर्दै आएको छ । आगामी दिनमा यसलाई अझ अनुकूल बनाउँदै लैजाने प्रतिबद्धता यस अवसरमा व्यक्त गर्न चाहान्छु ।”      पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न नीतिगत तथा प्रक्रियागत सुधार आवश्यक रहेको मन्त्री पौडेलले बताउनुभयो । सरकारी क्षेत्रको साथसाथै नवीन उपकरणहरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर रहेको उहाँको भनाइ छ ।       “हामी पूर्वाधार विकासको हिसाबले कमजोर अवस्थामा छौँ । भू–परिवेष्ठित अवस्थिति र  जटिल भू–बनोटलाई हाम्रो पूर्वाधार विकासको मुख्य चुनौतीका रुपमा लिने गरिएको छ”, उहाँले भन्नुभयो, “सरकारले गुणस्तरीय तथा दिगो भौतिक पूर्वाधार र त्यसका विविध पक्षबीचको अन्तर आबद्धतालाई महत्वपूर्ण रुपमा लिएको छ । सरकारले यातायात, ऊर्जा, जलस्रोत, सूचना प्रविधिजस्ता प्रमुख पूर्वाधार क्षेत्रलाई केन्द्रित गर्दै बजेट विनियोजन तथा कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको छ ।”      उहाँका अनुसार एकीकृत एवं समन्वयात्मक पूर्वाधार विकासका लागि तहगत सरकारबीच आपसी समन्वय, सहकार्य एवं सहयोगको उत्तिकै भूमिका रहन्छ । यसका लागि विकास नीति, योजना र कार्यक्रमबीच उपयुक्त सामञ्जस्यता कायम गर्न वर्तमान सरकार प्रतिबद्ध र क्रियाशील रहेको उहाँको भनाइ छ ।      “सीमित स्रोतसाधन र पूर्वाधार विकासका आकाङ्क्षाबीचको सन्तुलन कायम गर्न आन्तरिक स्रोतबाट मात्र सम्भव छैन । पछिल्लो समय आन्तरिक राजस्व परिचालनको अवस्था दबाबमा रहेको र सार्वजनिक ऋणको भार बढ्दै गएकाले पूर्वाधार विकासका लागि स्रोतको जोहो गर्नु सरकारका लागि चुनौतीपूर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो, “यसैले हामीले निजी क्षेत्रको लगानी आकर्षित गर्न सम्मिश्रित वित्त, सार्वजनिक निजी साझेदारीलगायत अन्य सम्भाव्य विधिहरुको उपयोगका लागि आवश्यक प्रबन्ध गर्न प्राथमिकता दिएका छौँ ।”      उहाँले विकास सहायतालाई छनोटपूर्ण बनाउँदै यसलाई राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा केन्द्रित गर्न जोड दिइएको बताउनुभएको छ । “सहायता परिचालनका नवीन उपकरणको प्रयोग र परिचालनमा विशेष ध्यान दिइएको छ, सहायता परिचालनलाई थप प्रतिफलयुक्त बनाउन नयाँ विकास सहायता परिचालन नीति तर्जुमा गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो । सम्मेलन भोलिसम्म चल्नेछ । 

पोखरा:    ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा गण्डकी प्रदेशमा ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने भएको छ ।  गण्डकी प्रज्ञा प्रतिष्ठानमा शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा सहभागी हुनेछन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रदेश बाल परिषद्को सहकार्यमा हुने कार्यक्रममा शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ । बालबालिकाको सवाललाई प्रदेश सरकारले कसरी लिएको छ ? अघिल्लो वर्ष भएका बाचाको वस्तुस्थिति र आगामी दिनमा बालबालिकालाई प्रदेश सरकारले हेर्ने दृष्टिकोणलाई स्पष्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयकी महिला विकास अधिकृत देवी शर्माले जानकारी दिइन् । कार्यक्रममा बालबालिकाले आफुलाई लागेको प्रश्न वा जिज्ञासा मुख्यमन्त्रीलाई प्रत्यक्ष रुपमा राख्न सक्नेछन् । कार्यक्रममा प्रदेशभरबाट करिब एक सय बालबालिका सहभागी हुने शर्माले बताइन् । मन्त्रालयले यसअघि पनि उक्त कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्नेछ ।  

पोखरा:   गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने बताएकी छिन् ।  वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब परिणाममुखी योजनाहरुमा जोड दिनुपर्ने बताएकी हुन् । मन्त्री श्रेष्ठले भनिन्,‘अर्थतन्त्र सुदृढीकरणको सुरुवात अब कृषिबाट गर्नुपर्छ । कृषिजन्य दैनिक उपभोग्य वस्तुहरु समेत हामीले आयात गनुपर्ने अवस्था छ । यो आयात गनुपर्ने अवस्थाको अन्त्य गर्दै अब आत्मनिर्भर मात्रै होइन निर्यात उन्मुख हुनुपर्छ । अब हामी ठूला ठूला कुरा मात्रै होइन, परिणाममुखी कार्य गर्दै अघि बढ्नुपर्छ । परिणाम नै आजको आवश्यकता हो ।’ वुमन चेम्बर अफ कमर्समा संगठित महिलाहरुलाई विविध कार्यक्रमहरुसँग जोड्दै थप सशक्त रुपमा अघि बढाउन उनले सुझाइन् ।   कास्कीसँगै प्रदेशभरका महिलाहरुलाई कृषि उत्पादनमा जोडिन आग्रह गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयको तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरिन् ।  ‘यो संस्थामा आवद्ध रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई थप सशक्तताका साथ अघि बढ्न आग्रह गर्दछु । कुनै एक क्षेत्रमा मात्रै होइन, अब विविध क्षेत्रमा महिलाहरुको सहभागिता रहनुपर्छ । यसका लागि मेरो पूर्ण रुपमा साथ सहयोग रहन्छ,’उनले भनिन् । सो अवसरमा वुमन चेम्बर अफ कमर्स कास्कीका उत्कृष्ट सदस्य र स्मारिका प्रकाशनमा सहयोग गर्ने दाताहरुलाई मन्त्री श्रेष्ठले सम्मान समेत गरेकी थिइन् । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी, वुमन चेम्बर्स अफ कमर्स कास्कीका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।   

काठमाडौं:    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताउनुभएको छ ।       कर्पोरेसनको ६२ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले उपभोग्य वस्तुको अभाव हुन नदिएर यसले जनता र सरकारको विश्वासिलो संस्थाका रुपमा आफूलाई उभ्याउन सक्नुपर्नेमा जोड दिनुभयो ।       “साल्ट ट्रेडिङ जनताको विश्वासिलो संस्था बन्न सकोस्, ‘अब दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन साल्ट ट्रेडिङ मेरो साथमा छ’ भनेर आमजनतालाई विश्वास दिलाउनुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो, “उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि हुन नदिन यस संस्थाले उपभोग्य बजारमा गतिलो हस्तक्षेप गर्नुपर्छ ।”      सेवा प्रवाह, बजारीकरण, दायरा र व्यापार वृद्धि गर्न प्रविधिको प्रयोगलाई बढावा दिनुपर्नेतर्फ सचेत गराउँदै मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्न तथा रासायनिक मलको सहज आपूर्तिमा यसले नेतृत्वयादी भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । “साल्ट ट्रेडिङ यस्तो ब्राण्ड बनोस्, कि नामै काफी होस्, यसको उत्पादन आफ्नै ब्राण्ड बनोस्”, उहाँले भन्नुभयो ।       मन्त्री भण्डारीले व्यवसाय विस्तारका योजना बनाउन व्यवस्थापन र कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । “सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउँदै उच्च गुणस्तरको उपभोग्य वस्तुको आपूर्तिमा व्यवस्थापनले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “कर्पोरेसनलाई नेपालको भरपर्दो र विश्वासिलो तथा कृत्रिम अभाव अन्त्य गरी सहज आपूर्ति गर्नसक्ने संस्था बनाउनुपर्छ ।”      मन्त्री भण्डारीले आपूर्ति बजारमा साल्ट ट्रेडिङको भूमिका अपरिहार्य रहेको र अप्ठ्यारो अवस्थामा अत्यावश्यक वस्तुको उपलब्धता सहज बनाउन संस्थाले उल्लेख्य काम गरेको स्मरण गर्नुभयो ।  “अब बजार सङ्कुचन होइन, विस्तार र व्यावसायिकीकरणमा लाग्नुपर्छ, साल्ट्र ट्रेडिङसँग प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल र व्यावसायिकरुपमा उभ्याउनुपर्छ, व्यावसायिकता र सेवा प्रवाहलाई थप परिस्कृत गरेर लैजानुपर्छ ।”      अत्यावश्यक वस्तुको अभाव हुन नदिनेतर्फ संस्था सदैव सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले रासायनिक मलको आपूर्ति व्यवस्था थप सहज बनाउन क्रियाशील बन्नुपर्छ भन्नुभयो ।  “कर्पोरेसनले भरपर्दो आपूर्ति शृङ्खला बजारमा गतिलो हस्तक्षेप, बजार मूल्यमा समायोजन र गुणस्तरीय वस्तुको सहज उपलब्धतामा ध्यान दिनुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो ।            कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले गुणस्तरीय दैनिक उपभोग्य वस्तु सर्वसुलभ रुपमा जनताको घरदैलोमा पु¥याउन क्रियाशील रहेको बताउनुभयो । उहाँले आगामी दिनमा कर्पोरेसनको सेवा र व्यवसाय थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।       कर्पोरेसनका प्रमुख कार्यकारी अधिृकत उर्मिला श्रेष्ठले आमजनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।       कार्यक्रममा रु एक लाख राशिको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ यसवर्षका लागि मानव कल्याण समाज काभ्रेपलाञ्चोक तथा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने कर्मचारीका सन्तति दुई जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । यस्तै कर्पोरेसनका विभिन्न कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृतका साथै २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई कदरपत्र प्रदान गरिएको थियो । 

काठमाडौं:   लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो ।       ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव ४० अङ्कले उकालो लागेर चार सय ७८ दशमलव ४८ मा पुगेको छ ।  कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको शेयर मूल्य भने घटेको छ ।       कूल एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर रु आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार छ सय १२ मूल्यमा कारोबार भएको छ ।  नेप्सेका अनुसार विन नेपाल लघुवित्त, ग्रीन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एशियन हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।       थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्म्क सर्किट लागेको छ । सानिमा लार्ज क्याप फण्ड आठ दशमलव ४९, आरबिबी म्युचुअल फण्ड दोस्रो चार दशमलव शुन्य एक, सनराइज फस्ट म्युचुअल फण्ड तीन दशमलव ७१ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन् । 

पोखरा:   पोखरा उद्योग वाणिज्य संघका ३५ औं महाधिवेशनको मिति नजिकिएसँगै नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल नेतृत्वको प्यानल घरदैलो अभियानमा छन् ।   पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत रहेका पोखरेल वर्तमान कार्यसमितिका केही पदाधिकारी र सदस्यसहित महाधिवेशनको तयारीमा छन् । यसैबीच प्रस्तुत छ, ३५ औं महाधिवेशनको अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलसँग चुनावसँगै समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा नेतृत्वका लागि अध्यक्षको उम्मेदवार हुनुहुन्छ, तपाईको प्यानलमा रहेका ५ जना पदाधिकारी निर्विरोध हुँदा उपमहासचिव र तपाई घेराबन्दीमा परेको होकी, वातावरण सहज बन्दै गएको हो ?  वातावरण सहज बन्दै गएको हो, नेतृत्वको पहिलो कार्यकुशलता भनेको आफ्ना टिममा रहेका साथीहरुलाई सेफ ल्याण्डिङ गराउने पनि हो । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा होमिइरहँदा यो अलि ठुलो र गर्विलो संस्था हा । त्यहाँ धेरै चाहिँ कम्पोनेनहरुलाई हेर्नुपर्ने हुन्छ, त्यो गर्दा एउटा टिमको आवश्यकता पर्दछ । विगतमा पनि टिम नै बनेर निर्वाचनमा हामी होमिएका थियौं । लामो समय पनि पोखरा उद्योग वाणिज्य संघमा विभिन्न पदमा रहेर काम गरेको र निर्वाचनमा होमिएको हुनाले टिम चाँहि आवश्यक पर्छ र टिमका साथीहरुलाई सेफ ल्याण्डिङ गराएर आफु बलियो हुनुपर्छ भन्ने मेरो मान्यता हो । आफ्नो टिममा भएको साथीहरुलाई अरु प्रतिस्पर्धीहरुले निर्विरोध त बनाउँदैनन् । त्यो चाहिँ ग्लोबली इलिक्सनमा त्यस्तो हुँदैन ।   तपाईसँगै अध्यक्ष पदमा गोकर्ण कार्कीको पनि उम्मेदवारी परेको छ, उहाँको टिममा रहेका साथीहरुलाई घेराबन्दीमा पारेर आफ्नो टिममा ल्याउनु भयो नि, तपाईको टिममा आएपछि काउन्टर इस्टाट्रिजी भए जस्तो लाग्दैन ?  म ३४ औं महाधिवेशनमा प्रतिस्पर्धा गर्ने मेरो बाध्यता थियो । त्यो बेला म एक्लै चुनाव लडे यो हिसाबले मसँग टिम त थियो तर त्यो बेला कमजोर थियो । त्यसैले म पराजित भए, त्यो बेलामा मेरो चुनाव लड्नुपर्ने परिस्थिति थियो । अब यहाँ के भास्य बनाइएको छ भने, उहाँको टिममा हुनुहुन्छ भन्ने जुन खालका कुरा साथीहरुले कुरा गर्नुभएको छ । त्यो रियालिटीमा होइन, चुनावमा (इस्टाट्रिजी) रणनीति हुन्छ । २ वर्ष अगाडि ति साथीहरु जुन अहिले मेरो पदाधिकारी कार्यसमितिका साथीहरु थिए सबै मसँग काम गरेका थिए । २ वर्ष मात्र म बाहिरिएको हुँ ।  त्यो भन्दा अगाडि मेरो इतिहास हेर्नुभयो भने, मेरो प्रतिस्पर्धी बन्नुभएको प्राय एक्लै एक्लै चुनाव लडेर आउनु भएको हो । त्यसैले गर्दा के हो भने, पहिरो उथलपुथल भन्ने कुरा केही पनि छैन । नेतृत्व भनेको सबैलाई समन्वय गर्ने हो, मेरो एउटा एजेण्डा छ, समन्वय गर्ने, प्राइभेट सेक्टरको एड्भोकेसी गर्ने भन्ने नै छ । त्यसैले गर्दा चुनावमा कमजोर बनाउन शंकाहरु फाल्ने हो, मैले स्पष्ट रुपमा भन्नुपर्छ २ वर्ष अगाडि बाहिरी सकेका थिए  तर मैले संस्थाको हितको लागि राम्रै काम गरेको छु ।  पोखरा उद्योग वाणिज्य संघको इतिहास हेर्ने हो भने अध्यक्षमा पराजित जो कोही पलायन भएको देख्छौं, तपाई चाँहि के कति कारण वा परिस्थितिले आउने वातावरण बन्यो ?  मैले पनि संघमा यत्रो वर्ष काम गरे यहाँको नेतृत्वमा पुगेन भने मेरो दुःख त्यो एफोर्ड, एफेसेन्सी सबै खेर जाने भयो । बाहिरी सकेपछि कार्यक्रमहरुमा सबैसँग समन्वय गर्न गाह्रो हुन्छ ।  म साधारण सदस्यमा भए । निवर्तमान उपाध्यक्ष भएको कारण उपस्थित हुने बाहेक अरु भूमिका रहने भएन, तर  जुन पदाधिकारी भएका साथीहरु छन् सबै २ वर्ष अगाडि मसँगै भएका साथीहरु हुन् । उहाँहरुसँग मेरो सम्बन्ध थियो कुराहरु गरिराखेको थिए, बिचमा उहाँको उता पनि एटेचमेन्ट भयो जोसँगै काम गर्नु भएको छ उता पनि जोडिनुभयो । त्यहाँ पनि एक खालको समिकरण बन्न सक्ने सम्भावना रहन्छ, एक चोटि टिम कमजोर भएर हारिसकेको मान्छेले फेरी पनि त्यो खालको नियती भोग्ने पक्षमा थिइन । त्यसैले गर्दा ति साथीहरुलाई आउँदिन भन्ने होइन । मैले सुक्ष्म रुपमा हेरी राखेको थिए । साथीहरुसँग कुरा गरिराखेको थिए । उही दिन सेकेण्डमा यो टिम बनेको होइन ।  बिस्तारै सबैसँग कुराहरु गर्दै जसले पनि संस्थापन भन्ने चलन छ, उहाँहरु मिलेर गएको भए मेरो नियति त २ वर्ष बाहिर भएको मान्छे को त्यही हुन्थ्यो, एकचोटी घाइते भइसकेपछि विना तयारी हामी जतिको युवा त्यसरी चाँहि अगाडि बढिदैन भन्ने हो, यी साथीहरु मसँग थिए । दुई वर्ष अगाडि र १० वर्षदेखि सँगै हुनुहुन्छ । मैले कसैको चोरेको ल्याएको पनि होइन । ३४ औं महाधिवेशनमा पनि व्यवसायी उद्योगीहरुले मलाई राम्रो मत दिनुभएको थियो । पोखरा उद्योग वाणिज्य संघले पोखरामा केही गरिदिए हुन्थ्यो भन्ने छ त्यसैले पोखराका व्यवसायीहरुले विवेक प्रयोग गरेर नै मतदान गर्नुहुन्छ भन्ने लागेको छ ।  पोखराको शैक्षिकदेखि पूर्वाधार विकासमा संघको योगदान महत्वपूर्ण छ, पछिल्लो समय  अन्य संस्थाहरु चलायनमान हुन सकेको छैन, यसो हेर्दा  पोखरा उद्योग वाािणज्य संघको अध्यक्ष भन्ने जुन थियो पछिल्लो समय त्यो छैन यस्तो अवस्थामा तपाईलाई संघको अध्यक्षको मोह नै किन ?  संघको जुन छवि छ त्यो छवि मैले फिर्ता लिन छ । हामीले भुइँ टाइपको एजेण्डा लिएका छौं । पोखरा अन्तर्राष्ट्रिय शहर भइसक्यो  । तथापि हामीले गर्नुपर्ने समन्वय हो । संघ संस्था छन् खुल्छन् । पोखरा उद्योग वाणिज्य संघ व्यवसायसँगसँगै सामाजिक काममा महत्वपूर्ण भुमिका भएको संस्था हो । हरेक चिजको अध्ययनसँगै आफैले हेर्ने मौका पनि पाए ।  पोखराको विकासको कुरा हेर्दा एयरपोर्टदेखि लिएर विश्वविद्यालय बनाउन हामीले समन्वय गर्ने, निर्णायक कतै पनि होइनौ, छलफलको केन्द्रबिन्दु चाँहि पोखरा उद्योग वाणिज्य संघ रहेछ । यहाँ छलफल भएर निस्केपछि बल्ल बाहिर जाने रहेछ । चाहे त्यो पिएन क्याम्पस, फेवाताल होस् सबै पक्षमा यस संस्थाको योगदान छ, त्यसैले नै यस संस्थाको गरिमा रहेको हो ।  यस संस्थाको छविलाई कसरी माथि उठाउनुहुन्छ ?  सबैसँग समन्वय गर्दै लिडरसीपको क्षमता म राख्छु । मेरो टिमको चाँहि साथीहरु हुनुहुन्छ, अरु साथीहरु पनि हुनुहुन्छ सबैको सल्लाह सुझावहरु लिनुपर्छ र बीचमा उद्योग वाणिज्य संघमा साथीहरुको ग्याप भयो भन्ने कुरा छ, बीचमा चार पाँच वटा व्यवसायीक रुपमा रहेका पर्यटन, कृषि, सबै क्षेत्रलाई समेटेर सेकेण्ड लेयरको कमिटी बनाएर अगाडि बढियो भने, सबैलाई समेट्न सकिन्छ उहाँहरुले हामीलाई गाइड गरेजस्तो पनि हुन्छ समन्वय पनि भएर जान्छ ।  बजारमा सटर बन्द हुँदैछन्, व्यवसायीहरुको प्रश्न छ, संघमा बसेर तपाई उहाँहरुको पक्षमा के गर्नुहुन्छ ?  एप्रोचसहितको एड्भोकेसी गर्ने हो, हामी निर्णायक होइनौं । जति पनि गर्न पर्ने होलान तीन तहका सरकार छन् । करदेखि लिएर प्रशासनसम्मका कुराहरु होलान् । तिनीहरुसँग एप्रोचसहितको एड्भोकेसी गर्ने हो । सुरुवात हामी गर्ने हो । म उद्योग वाणिज्य संघमा लामो समय बसे । अठ्यारो पर्दा हामीले के गथ्यौ भने त्यहाँ, महासंघले कहिले बोल्ला भनेर पर्खेर बस्ने, मैले के भन्थे भने, महासचिव भैसकेको मान्छे, त्यस्तो होइन सुरुवात हामीले गर्नुपर्छ । सरकारको प्रतिपक्ष नीजि क्षेत्रपनि हो । सरकारको आलोचना त नीजि क्षेत्रले पनि गर्नुपर्छ । हामीले सुझाव त दिनुप¥यो, त्यो सुझावलाई तीन तहका सरकारले आलोचनाको रुपमा ग्रहण गर्ने कि नगर्ने, हामीले आवाज एकदमै बुलन्द गर्छौ । व्यवसायीका समस्याहरुलाई समाधानतर्फ लैजान्छौं, केही कामहरु म महासचिव हुँदा पनि गरेका छौं, संस्थाको इथिक्समा रहेर काम गरिरहेका छौं । पोखरा उद्योग वाणिज्य संघमा पूर्व अध्यक्षहरुको पनि चिन्ता छ । संस्था चलायन हुन सकेन, गलत भाष्य निर्माण हुँदै गयो भनेर चिन्तामा हुनुहुन्छ । त्यो चिन्तालाई आशामा बदल्न हामी टिमसहित आएका छौं काम गरेर देखाउँछौं । कुरा गरिरहँदा तपाईले पूर्व अध्यक्षहरुको आर्शिवाद मलाई छ भन्ने आशय राख्नुभयो तपाईलाई नै पूर्वअध्यक्षहरुले समर्थन छ त ?  मलाई पूर्वअध्यक्षहरुको आर्शिवाद होइन चिन्ता छ । चुनावमा प्रतिस्पर्धा गरिरहँदा शंका उपशंका उब्जा गर्ने कुराहरु रहन्छ । म बाहिरी सकेको मान्छे आएको हुनाले बिना तयारी आएको छैन । व्यवसायीहरुको विना आग्रह टिममा भएका साथीहरुको विना सपोत र अग्रजहरुको विना सद्भाव आएको छैन भन्ने त आम व्यवसायीहरुले बुझ्नुभएको छ ।  तपाईहरुको प्रतिवद्धता हेर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पहलकदमी गर्छौ भन्नुभएको छ सरकारले सकेको छैन तपाईहरुले कसरी सक्नुहुन्छ ?  अन्तर्राष्ट्रिय विमानस्थल कसलाई चाहिएको हो, हामी प्राइभेट सेक्टरलाई चाँहिएको हो । राजनीतिक दलहरुले एड्भोकेसी गरेर हुँदैन, प्राइभेट सेक्टरले चाह्यो भने सरकारको पनि घुँडा टेकाउन सक्ने हैसियत राख्नुपर्छ । सबै व्यवसायीहरु मिलेर अगाडि बढ्न सके विमानस्थल चलाउन सकिन्छ । सबै छातासंगठनलाई एकजुट बनाएर अगाडि बढ्न सके मात्र विमानस्थल सञ्चालन गर्न सकिन्छ ।  पोखरा उद्योग वाणिज्य संघमा छिमेकी र पूर्व अध्यक्षहरु र राजनीतिक दलहरुको पनि गन्ध आयो भन्ने व्यवसायीहरुको प्रश्न छ नी ?  म कास्कीको मट्टिखानमा जन्मेर सानो व्यवसायबाट नै यहाँसम्म आएको हो । कसै कतैबाट परिचालित भएको छैन । चुनाव भएकाले बाहिरी गन्ध आउनु स्वभाविक हो । रे को पछाडि नलागौं, यसले पोखरालाई कमजोर बनाउँछ । यसले पोखरालाई अझ पछाडि धकेल्छ । जति पनि प्रश्न जिज्ञासा आएका छन् सम्पूर्ण पोखरेलीहरुलाई एकजुट बनाएर त्यसलाई चिर्न सक्नुपर्छ ।  अन्तमा पोखरा उद्योग वाणिज्य संघमा सबैलाई गोलबन्द गराउन सके पोखराको विकासमा थप इटा थप्न सकिन्छ । मेला महोत्सवलाई परिवर्तन गर्नुपर्छ, सबै क्षेत्रका व्यवसायीहरुलाई एकजुट गराएर अगाडि बढ्नु आजको आवश्यकता हो ।  यही भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा अर्जुन पोखरेल प्यानललाई भोट गरी विजयी गराइदिनुहुन् पनि अनुरोध गर्दछु ।