पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

जुम्ला:   व्यावसायिक रुपमा पालिएका मौरी मर्न थालेपछि ललितपुरस्थित मौरी विकास केन्द्रको टोली यहाँ आएर अनुसन्धान गरेको छ ।       किसानका घार, मौरी पालन गरिएको स्थानको वस्तुस्थिति र मर्नुको कारणबारे अनुसन्धान गरी मौरीपालन किसान, केन्द्रका विज्ञको समूह र जिल्लाका सरोकार भएका निकायबीच आज भएको अन्तरक्रिया कार्यक्रममा परिजीवी, विषादी, कुपोषणलगायत समस्या देखिएकाले मौरी मरेका केन्द्रका प्रमुख एवं मौरीविज्ञ तीर्थकुमार श्रेष्ठले बताउनुभयो ।      उहाँले जुम्लामा पालन गरिएका मौरी पोलाको माथिलो भागमा हुनुपर्ने जति मह नभएकाले मरेका जानकारी दिनुभयो । मौरीपालक किसानका घार हेर्दा पोलाको माथिलो भागमा हुनुपर्ने जति मह नभएपछि मौरी मरेको हो ।  “कुटमा पोषण हुन्छ, कुट नै नभएकाले मौरी मरेका हुन्”, श्रेष्ठले भन्नुभयो । पोला कमजोर हुने बित्तिकै मौरी नासिने अवस्थामा पुग्ने भएकाले पोला बलियो बनाएर पोषणयुक्त बनाउन किसानले विशेष ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।      मौरी विज्ञ श्रेष्ठले मौरीमा देखिएको सङ्क्रमण, परिजीवी, विषादी र कुपोषणका कारणले यो समस्या देखिएको बताउनुभयो ।  “अध्ययनका क्रममा यहाँका मौरीपालनको व्यवस्थापकीय पक्ष राम्रो देखिएको छ । घार पनि व्यवस्थित रुपमा राखिएका छन्”, उहाँले भन्नुभयो, “कुपोषण, मौरी चरण क्षेत्रमा विषादीको प्रयोगलगायत करणले पोषणको कमी भई मौरी मरेका हुन् ।”      मरेका मौरीको नमूनाको थप अध्ययन गर्न नेपाल कृषि अनुसन्धान केन्द्रको किट तथा नेपाल बाहिर पठाएर रोगको पहिचान गरिने मौरी विज्ञ श्रेष्ठले जानकारी दिनुभयो ।  “कतिपय स्थानमा सुलसुले रोगले गर्दा पनि मौरी मरेका देखिएको छ । यसबारे विस्तृत विवरण थप अध्ययन । परीक्षणबाट थाहा हुन्छ”, उहाँले भन्नुभयो ।      तीन वर्षदेखि मौरीमा देखिएका विभिन्न रोगबारे अध्ययन गर्न मौरी विकास केन्द्रका विज्ञ श्रेष्ठको टोली विभिन्न स्थान पुगेर अनुसन्धान गरिरहेको छ । श्रेष्ठको टोलीसँग किट विकास महाशाखाका सुनिलकुमार जैसवाल र जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले अध्ययनसम्बन्धी जानकारी, समस्या समाधानका उपायलगायत पक्षका बारेमा छलफल गर्नुभएको थियो ।      जिल्लाका मौरीपालक किसानले सेराना जातको मौरी पाल्दै आएका छन् । पातारासी गाउँपालिका–१ पेरे, गुठिचौर गाउँपालिकाको गुठिगाउँ, तातोपानी र चन्दननाथ नगरपालिकामा रहेका घार, वरपरको वातावरण, रोग÷किरासम्बन्धी टोलीले अध्ययन गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ ।      मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो ।  यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।      युवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताउनुभयो ।  उहाँले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताउनुभयो ।      कार्यक्रममा युवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी हुनुहुुन्थ्यो ।  मन्त्री चौधरीले पलेशाको उच्च शिक्षाको अध्ययन र आगामी एसियाली खेलकुदमा सहभागिताका लागि समन्वय गर्ने विषयमा मन्त्रालयले पहल गर्ने बताउनुभयो ।

भोजपुर:     भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ ।  सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ । विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो ।  कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडानमा भने समस्या छ ।  नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ, अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ । भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ ।  विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो । उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा पर्दैै आइरहेका छन ।  “घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ”, स्थानीय सञ्जीव कार्कीले भन्नुभयो ।  टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि पूर्वमन्त्री सुदन किरातीको पहलमा बजेट विनियोजन भएर हाल ठेक्का प्रक्रियाबाट आरबी अर्बान विल्डर्स एण्ड सप्लायर्सले विमानस्थलको टर्मिनल भवन निर्माण गरिरहेको छ ।  रु पाँच करोड ४५ लाख लागत सम्झौता रहेको उक्त टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी अहिले काम भइरहेको छ । विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताउनुभयो । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ ।  जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको रु १६ करोड ९२ लाख लागतमा सडक कालोपत्र भएको थियो । रायमाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको सो सडकको लम्बाइ पाँच किलोमिटर छ । भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण जिल्लाका राजनीतिक दल र नेताले मिलाउनुपर्ने माग जिल्लावासीको छ । “बजेट खर्च भएअनुसार जिल्लावासीले सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ”, जिल्लावासी कृष्णमाया तामाङले भन्नुभयो । 

काठमाडौं:   स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो ।      बिहीबार प्रतितोला रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।      यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६५ ले वृद्धि भएको छ ।  बिहीबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ६०  निर्धारण भएको छ । 

पर्वत:    डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ ।  पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेङ्गीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ ।   अस्पताल सङ्क्रमितले भरिभराउ छ । साठी शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ ।  ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् ।   नौवटा एम्बुलेन्स थन्किए  यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन् । हाल जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन् । विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मतसम्भार नहुँदा थन्किएका हुन् । 

पोखरा:   बागलुङको गलकोट नगरपालिका–२ भुङखानीमा आज बिहान जीप दुर्घटना हुँदा रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका भुपेन्द्रा बुढा मगर रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भएको जिल्ला प्रहरी कार्यालय बागलुङले पुष्टि गरेको हो ।  गलकोट नगपालिका–२ भुङखानी मध्यपहाडी लोकमार्गमा रा १ झ २०० नम्बरको सरकारी जीप दुर्घटना हुँदा मृत्यु भएका ३ जना मध्ये एकजनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो ।   दुर्घटनामा मृत्यु भएका २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।   दुर्घटनामा घाइते भएका चालक २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गर्नुभएको छ ।   विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएको हो ।   परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा रु ८५ हजार लगानी गरेर व्यवसाय सुरु गरेको बताउनुभयो ।   “घरमा भएका खरी जातका आठवटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका एक–एकवटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले फार्ममा ७३ वटा बाख्रा छन् ।”   किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा रु तीन लाख ५० हजार आम्दानी गर्दै आएको बताउनुभयो ।   उहाँले १६ रोपनी जग्गामा केराखेती पनि गर्नुभएको छ । “केराखेतीबाट वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएको छु । यो वर्ष दुई सय ९२ केराका बोट हावाले ढाल्यो”, उहाँले भन्नुभयो । अरूलाई यो गर्नुपर्छ भन्नुभन्दा आफैँले गरेर देखाउनुपर्छ भन्ने सोचसहित बाख्रा पालेको उहाँले बताउनुभयो ।   उहाँको फार्ममा खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म रु १५ लाख लगानी भएको छ । उहाँको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन् ।   “अहिले व्यवसाय राम्रो हुँदै गएको छ । उत्पादन गर्न सके बजारको समस्या छैन । खसीबोका पोखरा पठाउँछु”, किसान क्षेत्रीले भन्नुभयो । चरन क्षेत्रको समस्या छैन । ” यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन् । एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ । “व्यवसायबाट सन्तुष्ट छु । बाख्रापालन र केराखेतीबाट मासिक रु एक लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ ”, उहाँले भन्नुभयो, “मालिक बन्छु भन्ने सोच राखियो भने प्रगति हुँदैन । आफू सक्रिय भएर व्यवसाय थाल्ने हो भने सफल बन्न सकिन्छ, विदेश जानुपर्दैन ।”   सरकारबाट अनुदान नलिएको उहाँले बताउनुभयो । नगद नभई दानापानीमा अनुदान दिनुपर्नेमा उहाँको जोड छ । क्षेत्रीले बाख्रा र केरा बेचर बुटवल, सुनवल, चितवन, मिर्दी भिमाद सडकमा घडेरी किनेको बताउनुभयो ।   उहाँले गाउँमा गाह्रोसाह्रो पर्नेलाई दिएको रु ७५ लाखसम्म पुगेको बताउनुभयो ।   गाउँपालिकाका कृषि अधिकृत हरिप्रसाद गैह्रेले पालिकाले किसानलाई नि:शुल्क उपचार तथा औषधि वितरण, परामर्श, घाँसका बीउ वितरणलगायत सहयोग गर्दै आएको बताउनुभयो । गत वर्ष दुईवटा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन थिए । त्यतिबेला २८ वटा शुद्ध बोयर बीउ बोका वितरण गरियो ।   तीन सयभन्दा धेरै कुखुराका चल्ला पनि वितरण गरियो । यो वर्ष पनि किसानका मागका आधारमा काम गर्छौँ ।”

ढोरपाटन:   गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।   दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।   बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ जाँदै गइरहेको जीप दुर्घटना भएको हो ।   दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन ।   दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ ।   घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।

मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् ।   मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ । पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मुस्ताङमा तीर्थयात्रीसहित आर्थिक वर्ष २०८०/८१ सडकमार्ग भएर चार लाख २७ हजार पाहुना भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।   पृथक भूबनोट, ताल, गुफा, गुम्बा, धार्मिकस्थल, स्याउ बगैँचा, जनजीवन, रहनसहन र संस्कृतिले पर्यटक लोभ्याइरहेको मुस्ताङ पुग्न भने सहज छैन । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरलानाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्ड मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक हो ।   विसं २०६३ मा मार्ग खुलेको यो सडकले गण्डकी प्रदेशको पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।   बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी र पर्वत खण्ड स्तरोन्नतिमा भएको ढिलाइले स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष लीलाराम गौतमले बताउनुभयो ।   “मुस्ताङ पुगेपछि सडक सहज भए पनि मालढुङ्गाबाट बेनी हुँदै मुस्ताङको घाँसासम्मको सडक निर्माणले पूर्णता नपाएको, पहिरो, कटान र बाढीको जोखिमले सास्ती बनाएको छ”, उहाँले भन्नुभयो, “धार्मिक हिसाबले मुक्ति पाउन र प्रकृतिसँग रमाउन मुस्ताङको यात्रा गर्नेहरूलाई म्याग्दी खण्डमा भएको सकसले नराम्रो सन्देश प्रवाह भएको छ ।”   दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति विस २०७३ मा सुरु भएको आयोजनाको आठ वर्षमा ८४ प्रतिशत भौतिक प्रगति भएको छ । रु १० अर्ब लागत अनुमान गरिएको यो सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।   निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२/८३ सम्म लम्ब्याइएको छ ।   सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ । एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ४८ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजना प्रमुख धु्रवकुमार झाले बताउनुभयो ।   चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल ठेक्का प्रक्रियामा जान बाँकी छ ।   मालढुङ्गाबाट कागबेनीसम्म आठवटा खण्डमा कालोपत्र गर्ने ठेक्का सम्झौता भएकामा तीनवटा सकिएको र पाँचवटा जारी रहेको छ । बेनी, तातोपानी र रुप्सेमा तीनवटा अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गरिएको छ ।   सडकको क्षेत्राधिकारभित्र रहेको घरटहरा, पूर्वस्वीकृति नलिई जथाभावी शाखा सडक निर्माण गरिनु, कमजोर भूबनोट, नदी कटान र बाढीपहिरो, सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा रोक लगाउनु आयोजना निर्माणमा ढिलाइका कारण भएको आयोजना प्रमुख झाले बताउनुभयो ।   बाढी, कटान र पहिरोको चुनौती   बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि पहिरो, कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौतीका रूपमा देखिएको छ ।   पहिरो र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ ।   यात्रीलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्यभार बढेको छ । बाढी, कटान र पहिरो नियन्त्रणको काम तत्काल गर्न नसके नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको छ ।   आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद चापागाईँका अनुसार बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत १४ ठाउँमा ठूला पहिरो छन् ।   म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोला, वडा नं २ माझखर्क, कुनौटो, रिठाबोट, वडा नं ३ मा पर्ने बैसरी, चमेरे र गलेश्वरपारि राहुघाटमा पहिरोले सडक निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ ।   अन्नपूर्ण गाउँपालिकाको महभिर, नागढुङ्गा, भुरुङभिर, वडा नं ६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालीगण्डकी नदी र बारम्बार खस्ने पहिरोले सडक जोखिम बनाएको छ ।   अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ दानाको गुइठेभिर, खामभित्ता, लाटाखोलामा बर्सेनि निरन्तर पहिरो खस्ने तथा कालीगण्डकीले कटान गरिरहेको छ ।   खामभित्तामा तलबाट कालीगण्डकीले कटान गरेको र माथिल्लो खण्डमा संरक्षणबिना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ । काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा ‘रकफल’को समस्या छ । मुस्ताङको घासा नजिकै खहरेखोला क्षेत्रमा पहिरो र कालीगण्डकी नदीको कटानको दोहोरो समस्या छ ।   लेतेखोला क्षेत्रमा पनि पहिरोको समस्या छ ।   पुलमा बाढी र बगर   दानाको रुप्से र घाँसाको खहरेखोलामा २०७७ साउनमा आएको बाढीले निर्माणाधीन पुलको संरचना बगाएको थियो ।   धार परिवर्तन गरिरहने कालीगण्डकीले मार्फा, स्याङ, जोमसोममा सडकलाई कटानको जोखिम छ । विसं २०८० असारमा कागखोलामा आएको बाढीले कागबेनीमा निर्माण भएको मोटरेबल पुल बगाएको थियो । मुस्ताङका खोलामा आउने बाढीले थुपारेको गेग्रानको सतह बढेर पुललाई छुन थालेको छ ।   पाण्डाखोलाको बाढीले पुलको सतहसम्मै गेग्रान थुपारेको छ भने धार परिवर्तन गरिरहने समस्या छ ।   मार्फाखोलाको बाढीले मोटरेबल पुल निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ ।   समाधानका प्रयासहरू   सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरेको आयोजना प्रमुख झाले बताउनुभयो ।   कालीगण्डकी नदीको किनार र कडा चट्टान भएको अन्नपूर्ण गाउँपालिकाको भिरकाटे क्षेत्रमा सडकको विकल्पमा तीन सय ८४ मिटर लामो सुरुङ बनाउन डिपिआर तयार पारी बजेट व्यवस्थापनका लागि प्रस्ताव गरिएको छ ।   ‘रकफल’ हुने काभ्रेभिरको सडकलाई फराकिलो र ग्रेड सुधार गरेर सुरक्षित बनाउन ‘रकएङ्करिङ/रकनेलिङ’ गरिएको छ । रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको भिरबाट खस्ने पहिरो नियन्त्रणका लागि पनि हालै रकएङ्करिङ गरिएको आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कर्कीले बताउनुभयो ।   बादरजुङ भिरमा कालीगण्डकीको कटान नियन्त्रणका लागि खोला डाइभर्सन गरेर सडक संरक्षण गर्न थालिएको छ ।   बाढीले बगाएको निर्माणाधीन रुप्सेखोला र खहरेखोलाको पुलको ठेक्का तोडिएको छ । भुरुङखोला र रुप्सेखोलामा बेलिब्रिज जडान र रुप्सेमा भित्ता काटेर पहिरो पन्छाउने तथा सडक फराकिलो बनाइएको छ ।