काठमाडौं: नेपाली कांग्रेसले संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नेकपा एमालेसँग भएको सहमतिअनुसार संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो । उक्त कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका दलहरू एवं अन्य दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्ने बताइएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायित्व र जिम्मेवारी पार्टीको नै भएको कुरामा स्पष्ट र पूर्ण प्रतिवद्ध रहेको कांग्रेसले दोहोर्याएको छ । संविधान कार्यान्वयनको एक दशकमा देखिएका चुनौती र जटिलताको समीक्षा गर्दै यसको गतिशील कार्यान्वयनका लागि समयानुकूल संशोधन गर्नुपर्छ भन्ने विश्वासका साथ ७ बुँदे सहमतिमा संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ भन्ने विषय महत्वका साथ उल्लेख गरिएको कांग्रेसले स्मरण गरेको छ ।
काठमाडौं: मंगलबार बिहान सवा दिन बजे आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलबीच भागमा भाँचिएर बगाई टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेको थियो । त्यहाँ रहेका सात आठवटा गाडी र आठ नौवटा मालबाहक कन्टेनर डिब्बा बगाएको बगाएको जानकारी सशस्त्र प्रहरीले दिएको छ । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ रसुवागढीस्थित नेपाल–चीन सीमानाकामा चीनतर्फ वर्षाको कारण बाढी आउँदा नेपाल–चीन जोड्ने मितेरीपुल बीच भागमा भाँचिएर बगाई टिमुरे स्थित भन्सार यार्डमा बाढी पसेको थियो । भन्सार यार्डमा एक जना स्थानीय, एक जना नेपाल प्रहरी र बिओपी टिमुरेमा कार्यरत सप्रज प्रदिप वाग्ले चारैतर्फ बाढीले गर्दा फसेकोले उद्धार कार्यको प्रयास भइरहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ । बाढी बढेकाले उद्धार कार्य कठिन भएको जानकारी दिइएको छ । नदीमा पानीको बाहब धेरै बर्दै गई रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरुलाई सचेत गराइएको बिओपी टिमुरे रसुवाबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डे कमाण्डमा २० जनाको टोली खटिएको छ । रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको पुगेको छ । बिहान ६ बजेबाट बजे रसुवा गोसाइँकुण्ड गापा २ तातोपानी स्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक पूर्ण कटान गरी पहिरो झरी सडक अबरुद्ध रहेको छ । उद्धार सामग्रीसहित उद्धारकर्ता घटनास्थल तर्फ गएको जानकारी पनि सशस्त्र प्रहरीले दिएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा दीपक अर्याल रहनुभएको छ । उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते कुलपति ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो । कुलपति ओलीले गत जेठ ६ गते शिक्षामन्त्री पन्तको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र शिक्षा मन्त्रालयका सचिव रहेको सिफारिस समिति गठन गर्नुभएको थियो ।
काठमाडौं: संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा गरिएको गडबडी छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन भएको छ । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमालेबाट नारायण प्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहनु भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा उक्त समितिको घोषणा गर्नु भएको हो । छानविन समितिलाई ४ बुँदे कार्यादेश दिइएको छ । कार्यदेशकोमा त्रुटी कसबाट कानुनी कारवाहीको सिफारिसको सुझाब पेश गर्ने लगायतको अधिकार दिएको छ । समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग र प्रशिक्षार्थीलाई एक कार्यक्रममा सम्मान गरिएको छ । शिक्षालय तर्फ निर्मल मावि, व्यास तनहुँ प्रथम घोषित हुँदै रु ५० हजारसहित सम्मानित भयो भने धवलागिरी बहुप्राविधिक शिक्षालय, थासाङ मुस्ताङ द्वितीय रु ३० हजार, पोखरा प्राविधिक शिक्षालय तृतीय रु २० हजार र रणविर जनहित मावि, वालिङ स्याङ्जा चौथो रु १० हजार नगद सहित सम्मानति भए । चार वटा सीप तर्फ उत्कृष्ट उद्योगहरूलाई रु २५ हजार नगद र सम्मान पत्र प्रदान गरियो। सम्मानित हुनेमा होटल व्यवस्थापन तर्फ पोखराको टेम्पल ट्री रिसोर्ट एण्ड स्पा, भवन निर्माण तर्फ जुम कन्स्ट्रक्सन, इलेक्ट्रिकल इञ्जिनियरिङ तर्फ वालिङ स्याङ्जाको समिर इलेक्ट्रिकल्स तथा अटोमोबाइल इञ्जिनियरिङ तर्फ पोखराकै अक्टोपस अटोमोबाइल प्रालि परे । प्रशिक्षार्थी श्रेणीमा समेत उत्कृष्टता प्रदर्शन गर्ने १६ जनालाई विभिन्न वर्गमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार स्वरूप नगद रकम क्रमशः रु १५ हजार, १० हजार, ७ हजार देखि ५ हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरियो । जसमा होटल व्यवस्थापन तर्फ पोखरा प्राविधिक शिक्षालयका सन्दिप परियार प्रथम, पोखरा प्राविधिक शिक्षालयका निशान सुनार द्धितिय, धवलागिरी प्राविधिक शिक्षालयका सृजन अधिकारी तृतिय र पोखरा प्राविधिक शिक्षालयका रुपेश श्रेष्ठ चौथो भएका छन् । बिल्डिङ कन्सट्रक्सन तर्फ गण्डकी बहुप्राविधिक शिक्षालयका अरुण मल्ल प्रथम, गण्डकी बहुप्राविधिक शिक्षालयका सन्तोष पाण्डे द्धितिय, गण्डकी बहुप्राविधिक शिक्षालयका अस्गर मियाँ तृतिय र गण्डकी बहुप्राविधिक शिक्षालयका सारुख मोहमद मियाँ सान्तवना भएका छन् । यस्तै, इलेक्ट्रिकल ईञ्जिनियरिङ तर्फ रणविर जनहित माविका समिर कार्की प्रथम, देवेन्द्र नेपाली दोस्रो, विवेक राम तेस्रो र दामोदर अर्याल सान्तवना भएका छन् । अटोमोबाईल ईञ्जिनियरिङ तर्फ पोखरा प्राविधिक शिक्षालयका तेजेन्द्र थापा घर्ति पहिलो, विनम श्रीष द्धितिय, रोशन सुनार तृतिय, विवश गुरुङ सान्तवना भएका छन् । कार्यक्रममा बोल्दै सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले स्वदेशी स्रोतमै आधारित यस्ता कार्यक्रमलाई मन्त्रालयले निरन्तरता दिने प्रतिबद्धता जनाए । स्विस सरकार विकास सहयोग परियोजनालाई धन्यवाद दिँदै मन्त्री थापाले परियोजनाको निरन्तर सहयोगको समेत अपेक्षा गरेका छन् । युवालाई उद्योगी बन्न प्रेरित गर्ने र त्यसै अनुरुप बजेटको समेत व्यवस्थापन गरिएको भनाई उनको छ । सचिव नवराज ढकालले सीपयुक्त युवाशक्ति नै समृद्धिको आधार भएको उल्लेख गरे । नीजि क्षेत्रको विकास गरेर मात्रै राज्य अगाडि बढ्न सक्ने उनले बताए । सरकारले सहजीकरण मात्र गर्ने हुँदा सीप सिकेर उद्यमी बन्न तर्फ प्रेरित हुन युवालाई उनको आग्रह छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजीव बहादुर कोइरालाले नीजि क्षेत्र सरकारसँग समन्वय गरि अगाडि बढ्न तयार रहेको बताए । विद्यार्थीले सरकारी लगानीलाई खेरा जान दिन नहुने अभिव्यक्ति उनको छ । सरकारले लगानी गर्ने र विद्यार्थी बीचमा नै छाड्ने प्रवृतिले यो क्षेत्रमा केही गर्न चाहने विद्यार्थीलाई समस्या भएको उनले उल्लेख गरे । सरकारले केही गरेन भनेर भाष्य सिर्जना गर्नु गलत भएको र पछिल्लो समय विकासको गतिविधि बढ्दै गएको उनले प्रष्टाएका छन् । उपसचिव तोयानाथ लम्सालले तालिम, उद्योग र शिक्षालयबीचको सहकार्यले कार्यक्रम प्रभावकारी बनेको बताए । औद्योगिक प्रशिक्षार्थाी तेजेन्द्र थापा घर्तीमगर, टेम्पल ट्री रिर्सोट एण्ड स्पाका एचआर म्यानेजर रामकृष्ण कँडेल र निर्मला माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत लगायतले बोलेका थिए । उद्योग, विद्यालय र प्रशिक्षार्थी सबैको सहभागिता र उत्साहजनक योगदानले कार्यक्रम सार्थक बनेको सन्देश दिँदै वक्ताहरूले यस्ता अभ्यासहरूले सीपयुक्त, रोजगारोन्मुख र आत्मनिर्भर युवाशक्ति निर्माणमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
पोखरा: पोखराको दुई स्थानबाट १७ जना जुवाडेलाई ४ लाख बढी नगदसहित कास्की प्रहरीले गरेको छ । पोखरा महानगरपालिका–१० रक्षामार्गबाट ९ जना र पोखरा–१५ घलेचोकबाट ८ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले रक्षामार्गबाट २ लाख २२ हजार ८० रुपैयाँ, ४ बुक ताससहित ९ जना र घलेचोकबाट १ लाख ९० हजार ९ सय ८५ रुपैयाँ, ४ बुक ताससहित ८ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । जुवातास खेलिरहेको अवस्थामा पोखरा–१० रक्षामार्गबाट लामाचौर बस्ने बर्ष ३८ को ई प्रसाद छन्त्याल, फुलबारी बस्ने बर्ष ३९ को हेम नारायण गर्बुजा, माटेपानी बस्ने बर्ष ४१ को लिल प्रसाद गुरुङ, सैनीक बस्ती बस्ने बर्ष ५१ को टेक बहादुर गुरुङ, १६ बस्ने बर्ष ३४ की रेनु गर्बुजा, न्युरोड बस्ने बर्ष ३४ की दिपा पुन,नयाँगाँउ बस्ने बर्ष ३२ की जेनिषा पुन, चाउथे बस्ने बर्ष ३७ की पुष्पा पुन, रक्षा मार्ग बस्ने ३९ को दल बहादुर पुन पक्राउ परेका हुन् । यस्तै जुवातास खेलिरहेको अवस्थामा घलेचोकबाट पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० बस्ने ३४ को चन्द्र बहादुर पुन, रंगशाला बस्ने बर्ष ४४ की कल्पना भन्ने टिकामाया आले, १० काजीपोखरी बस्ने बर्ष ३७ की बिष्णु थापा, लक्ष्मीटोल बस्ने बर्ष ४२ की सोनी गुरुङ, घलेचोक बस्ने बर्ष ४२ को हिमाल गुरुङ ,लामाचौर बस्ने बर्ष ४५ की केश कुमारी गुरुङ, काजिपोखरी बस्ने बर्ष ५१ को टोप बहादुर थापा, मितेरी टोल बस्ने बर्ष ६७ को बलराम गुरुङ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । बक्स पोखराका उपाध्यक्ष चुमान गुरुङले प्रतियोगिताको तयारी तिव्र पारिएको बताए । ‘खेलकुद युवाको शक्ति हो हो भन्ने नाराका साथ खुल्ला फुटसल प्रतियोगिता आयोजना गरेका छौं, उपाध्यक्ष चुमानले भने, ‘ तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा २५ देखि ३० समूहको सहभागिता हुने अनुुमान गरेका छौं । ’ उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख ७० हजार रुपैयाँ,उपविजेताले १ लाख रुपैयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले ७ हजार ट्रफि मेडल र प्रमाणपत्र, उदीयमान खेलाडी, उच्च गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई ६ हजार बराबरको १ महिने सदस्यता प्रदान गरिने छ । प्रतियोगितामा सहभागिताका लागि एक समूहलाई नौ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । युवाको प्रतिभा उजागर गर्ने, स्थानीय र राष्ट्रिय खेलाडीबिच सम्पर्क तथा सम्बन्ध स्थापित गर्ने उद्देश्य रहेको बक्स पोखराका उपाध्यक्ष चुमान गुरुङले बताए । प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा योगदान पुग्ने उनको भनाइ छ । प्रतियोगितालाई निरन्तरता दिइने आयोजकको भनाइ छ । बक्स पोखराले आएको छ ।
पोखरा: चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यसमितिमा देखिएको समस्याको समाधान गर्न आफूले जिम्मा लिएको बताउँदै केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएपछि छैटौं अधिवेशन गरिने जानकारी गराए । उनले २०६० साल असार २२ गते संस्थाको स्थापना भएको र संस्थाले विविध चुनौति पार गर्दै यहाँसम्म आएको उल्लेख गरे । संघका सल्लाहकार सुरेश रानाभाटले संघलाई मजबुत बनाउने आधारका रूपमा विधान र कार्यविधिलाई अक्सिजनको संज्ञा दिए । कास्की शाखा देशभरकै उत्कृष्ट शाखा भएको उल्लेख गर्दै संस्था मजबुत भएको अभिव्यक्ति उनले राखे । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले चलचित्र पत्रकारितालाई जोगाउन चलचित्रसम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिंदै मिडिया नै कलाकारलाई बाहिर ल्याउने मूल माध्यम भएको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले संघ युवा अवस्थामा प्रवेश गरेको बताउँदै यसको गतिशीलता कायम राख्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् । नेतृत्वविहीनताको प्रभाव स्वभाविक भएको बताउँदै समाधानका उपायसहित अघि बढ्नुपर्ने सुझाव उनको छ । कलाकार प्रकाश घिमिरेले पत्रकारहरूले राम्रो चलचित्रलाई खुलेर राम्रो भन्नुपर्ने र पैसा कमाउने फिल्म मात्र राम्रो भन्ने मानसिकता त्याग्नुपर्ने बताए । उनले आफ्ना अनुभव सुनाउँदै कहिलेकाहीँ उत्कृष्ट अभिनय भए तापनि सिनेमा फेल हुने अवस्थाको चिन्ता व्यक्त गरे । चलचित्र पत्रकार संघ नेपाल कास्कीले गर्दै आएको सिनेमा संवाद लगायतका गतिविधिको उनले प्रशंसा गरेका छन् । कलाकार माओत्से गुरुङले चलचित्र पत्रकारितालाई परिस्कृत गर्दै अघि बढाउन र चलचित्र ऐनमा रहेका त्रुटिहरू सच्याउन मिडियाको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् । संघका पूर्वउपाध्यक्ष एवम् पूर्वसल्लाहकार राजाराम पौडेलले नेतृत्वले आफ्नो कार्यकाल पूरा गर्नुपर्ने आवश्यकतासँगै सिनेमा संवाद कार्यक्रमलाई अझ परिस्कृत र प्रभावकारी बनाउनुपर्ने बताए । चलचित्र पत्रकार संघ नेपाल कास्कीले केवल चलचित्र भन्दा पनि मनोरञ्जन क्षेत्रका हरेक आयाममा कलम चलाउन पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने विषयमा उनले जोड दिएका छन् । संघका पूर्व सह—सचिव एवम् पत्रकार विजय नेपालले चलचित्र पत्रकारका लागि फेलोसिप, तालिम र गोष्ठी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् । संघका सचिव सन्तोष बस्यालले संस्थाको वर्तमान अवस्थाको विषयमा जानकारी गराएका थिए । संस्थापक अध्यक्ष सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैले चलचित्र पत्रकार संघ कास्कीको भूमिका, भविष्य र सुदृढीकरणका विविध आयाममा विचार प्रस्तुत गरे । चलचित्र पत्रकारहरुको हकहितमा ७ जेठ, २०५६ मा केन्द्रमा भरत शाक्यको अध्यक्षतामा गठित चलचित्र पत्रकार संघले पहिलोपल्ट चलचित्र नगरी पोखरामा २२ असार, २०६० मा शाखा बिस्तार गरेको थियो ।
पोखरा: रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेष्टुरेण्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य सेवा तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणी राज लामिछानेले पोखरा पर्यटकीय राजधानी सहर भएकाले यहाँ आउने पर्यटकलाई स्वास्थ्य खाना पस्किनुपर्नेमा जोड दिनुभयो । तालिम पश्चात् पोखराको खाद्य गुणस्तरमा थप सुधार आउने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पछिल्लो समय पोखराका रेष्टुरेण्ट तथा होटलका भान्साघरमा उल्लेख्य सुधार आएको बताउनुभयो । पाहुनाहरूलाई स्वस्थकर खानाले स्वागत गर्नका लागि रेवानले बेलाबखत आफु मातहतका रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरूलाई खाद्य सचेतना सम्बन्धी तालिम प्रदान गर्दै आएको जनाउनुभयो । के कस्ता खाद्यवस्तु प्रयोग गरी खानालाई सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले बताउनुभयो । कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवर र प्रदिप काफ्लेले तालिममा सहजिकरण गर्नुभएको थियो । एकदिन तालिममा विभिन्न होटल तथा रेष्टुरेण्टमा कार्यरत ८० जना म्यानेजर तथा सेफहरूले भाग लिएका थिए । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले तालिममाथि प्रकाश पार्दै तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभएको थियो ।

