काठमाडौं:   गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित समुदायले आफ्नो उन्मुक्तिका लागि कसरी बुद्ध धर्मलाई अंगिकार गरेका छन् भन्ने कुरामा अध्ययन अनुसन्धान गरेका छन् ।  पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा रहेको समाज विज्ञान केन्द्रले शुक्रबार यसै विषयमा कचहरी आयोजना गरेको थियो ।  ‘हाइरारकी, विलंगिंग रेजिस्टेन्सः फ्रम वुद्धिष्ट रिचुअल्स् टु दलित एक्टिभिजम्’ शीर्षकमा उनले प्रस्तुति दिए । भारतीय दलित नेता अम्वेडकरले वुद्धिज्मलाई सामाजिक तथा राजनीतिक स्वतन्त्रताको मार्गका रुपमा अंगिकार गरेको उनको भनाइ छ ।  सन् १९५६ मा काठमाण्डौं आएका अम्वेडकर भारत फर्केपछि ठूलो संख्यामा दलितहरुले धर्म परिवर्तन गरी वुद्धिष्ट बनेको भन्दै प्राध्यापक गेल्नरले नेपालमा भने त्यस घटनाको ठूलै प्रभाव भने नदेखिएको तथ्य प्रस्तुत गरेका छन् ।  उनी सन् १९८२ मा पिएचडीको अनुसन्धानका लागि नेपाल आउँदा दलित शब्द प्रचलनमा समेत नरहेको स्मरण गरे ।  ‘जव म फिल्डवर्कका लागि नेपाल आए त्यतिवेला जनजाति, दलित र खसआर्य भन्ने शब्दावली प्रचलनमा थिएनन्’, उनले भने ।  पछिल्ला दिनहरुमा पहिचानको राजनीतिका कारण यी शब्दावली बढी प्रचलनमा आएको उनको भनाइ छ ।  नेपालमा छुवाछुतको सन्दर्भमा धेरै परिवर्तन भएको पाएको उनले बताए ।  उनका अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरुका लागि जात ठूलो विषय नबनेको तर स्वदेशमा भने तिनै युवा त्यसका लागि अभ्यस्त बन्न नसकेको अध्ययनका क्रममा देखिएको छ । नेपालको पछिल्लो १ सय ५० वर्षको इतिहासलाई सबै खालका विभेद विरुद्धको प्रतिरोधका रुपमा लेख्न सकिने धारणा उनले राखेका छन् ।  पहिलो पटक सन् १९७५ मा नेपाल आउँदा पोखरा आएको प्रंसग स्मरण गरेका उनले त्यस यता यहाँ धेरै परिवर्तन भएको पनि बताए ।  लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराका अध्यक्ष एवम् कचहरीका परिकल्पनाकार प्राडा विश्वकल्याण पराजुलीले दलित शब्द अम्वेडकरले प्रचलनमा ल्याए पछि नेपालमा पनि अनुसरण गरिएको बताए ।  प्राडा पराजुलीका अनुसार त्यसअघि पानी चल्ने र नचल्ने भन्ने हिसाबले व्याख्या हुने गरेको थियो ।  नेपाली दलित आन्दोलनलाई धेरै आयामबाट हेर्नु पर्ने उनको भनाइ छ । जातीय विभेदमा परेर नेपाली दलितले अझै पनि विभिन्न सहारा लिनु परिरहेको दृष्टान्त उनले प्रस्तुत गरेका थिए ।  कार्यक्रममा डा कृष्ण अधिकारीले प्राध्यापक गेल्नरको पहिलो नेपाल भ्रमणदेखि नै यहाँको अध्ययनको शुरुवात भएको स्मरण गराए ।  दलित अधिकारकर्मी तथा वामपन्थी नेता केश बहादुर परियारले नेपालमा ठूला परिवर्तन हुँदा पनि विभेद उत्तिकै कायम रहेको बताए । उनले दलित माथिको विभेदको प्रश्न अहिलेको मूख्य प्रश्न भएको पनि भनाइ राखे । सो क्रममा डा अञ्चला चौधरी, सन्तोष सुनार, मनोज सुवेदी, मेघा पुन, अर्जुन पोखरेल, गिरिधारी दाहाल सहितका सहभागीहरुले जिज्ञासा र विचार राखेका थिए ।  लेकसिटी कलेजले प्रत्येक महिना समसामयिक विषयमा कचहरी गर्दै आएको छ । कलेजमा पत्रकारिता तथा आमसञ्चार, सोसल वर्क एवम् व्यवस्थापन विषयमा स्नातक तहको पढाइ हुन्छ ।    

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न भनेको छ । आगामी आवदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्नका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ । सो प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व सरकारले नबेहोर्ने जानकारी गराइएको छ । सरकारले कर्मचारी, मजदुर तथा अन्य व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न योगगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा सरकारी कर्मचारीका लागि निवृत्तीभरण कोष ऐन २०७५ कार्यान्वयनमा ल्याएको छ । सरकारले २०७५ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गरिसकेको छ । कतियप नियामक निकाय, संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानमा पेन्सन, उपदान सुविधा प्रदान गर्ने प्रचलन कायम रहेको छ । सरकारले अबलम्बन गरेको नीति अनुसार सार्वजनिक प्रतिष्ठानबाट कर्मचारीको अवकाशपछिको दीर्घकालीन दायित्व भुक्तानीका लागि आवश्यक व्यवस्था नगर्दा घाटामा रहेका तथा आफ्नै स्रोत नभई सरकारकै स्रोतमा निर्भर रहनुपर्ने निकायले दीर्घकालीन दायित्व सिर्जना गरिरहेको देखिएको छ । अर्थमन्त्रीस्तरीय यही असार २० गतेको निर्णयअनुसार सो निर्णय भएको र कार्यान्वयनका लागि पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र सुनचाँदी व्यवसाय महासंघ गण्डकी प्रदेशले सयुक्त रुपमा आज पोखरामा पनि विरोध प्रदर्शन समेत गरेका छन् ।  सुनचाँदी व्यवसायीहरुले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले सुनचाँदीमा ‘विलासी कर’ लगाएको भन्दै छाता ओढेरै नाराबाजीसहित शुक्रबार व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् ।  उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज, सुनको भन्सार ६ प्रतिशत कायम र सुनचाँदी कारोबारको लागि प्रस्ट नीति,नियमावली निर्माण गर्न माग गरेका छन् ।    सुनचाँदी व्यवसायीहरुको आन्दोलनमा आज गण्डकी प्रदेशका ९ जिल्लाका समिति, पोखरा उद्योग वाणिज्य संघ र उपभोक्ता मञ्चले समेत सहभागिता जनाएका थिए ।  पोखराको लखनचोक (पृथ्वीचोक)बाट सुरु भएको विरोध र्‍याली सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा खेल पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम दिईएको छ ।  शुक्रबार भएको तालिममा गण्डकी प्रदेशमा रहेका विशेषगरि खेल क्षेत्रमा रुची राखेका क्रियाशिल पत्रकारहरुलाई भलिवल, एथ्लेटिक्स र क्रिकेट सम्वन्धि प्रशिक्षण गराइएको हो ।  खेलका नीति, नियम तथा मापदण्डका बारेमा बुझाउँदै पत्रकारले समाचार लेख्दा बुझ्नुपर्ने विषयका बारेमा समेत प्रशिक्षित गराइएको छ । तालिममा सहभागि पत्रकारले खेलका टेक्निकल नियमका विषयमा केन्द्रीत रहेका थिए । समाचार लेख्दा टेक्निकल नियमका बारेमा बुझ्न आवश्यक रहेको सहभागिको भनाई थियो । तालिममा भलिबल सम्वन्धि राजन पौडेल, आइटिओ एथ्लेटिक्स सम्वन्धि सिद्धान्त अधिकारी र क्रिकेट सम्वन्धि रिजन प्रजुले प्रशिक्षण दिए । यसअघि भएको उत्घाटन सत्रको अध्यक्षता गरेका मञ्चका अध्यक्ष एमबि आस्था मगरले तालिमका बारेमा जानकारी दिँदै यसको आवश्यकता र महत्वका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले खेल क्षेत्रका कुराहरु सरकार समक्ष पुराउन पत्रकारले खेल क्षेत्र र यसका नीति नियम बुझ्न आवश्यक रहेको बताए । साथै खेल र खेलाडीका बारेमा प्रकाशित सकारात्मक समाचारले खेल संघ तथा खेलाडीलाई प्रोत्साहन मिलेको समेत उनको भनाई थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल खेलकुद पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगाएतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजाराम पौडेलले राखेका थिएभने कार्यक्रमको सञ्चालन मञ्का महासचिव परशुराम शर्माले गरेका थिए ।  

गलकोटः   विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ ।  काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसेको १७औँ गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत रूपमा पालिकाको भवन बनाउने स्थानको टुङ्गो लगाएको हो । बागलुङका १० पालिकामध्ये नौ पालिका आफ्नै भवनमा रहँदा बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र विवादले गर्दा प्रशासकीय भवन निर्माण हुनसकेको थिएन । भवनका निर्माणका लागि स्थान छनोटमा सहमति नजुट्दा अहिलेसम्म गाउँपालिका भाडाकै घरमा सञ्चालनमा हुँदै आएको छ ।  काठेखोला गाउँपालिका–२ अक्षते र वडा नं ६ को सुल्डाँडा स्थानीय जग्गा उपलब्ध गराउन राजी भए पनि निर्वाचित जनप्रतिनिधिको मत बाँझिदा समस्या भएको थियो । यही असार १० गते १७औँ गाउँसभाको दोस्रो बैठकमा पालिकाको केन्द्र टुङ्ग्याएर भवन बनाउने विषयमा मतदानसमेत भएको थियो । मतदानका क्रममा समेत अक्षते र सुलल्डाँडा कुनै पनि ठाउँका लागि दुईतिहाइ मत प्राप्त हुन सकेन ।  अक्षतेमा प्रशासकीय भवन निर्माण गर्न १५ जना र सुल्डाँडामा बनाउनुपर्छ भन्ने पक्षमा २५ मत परेको थियो । ४३ जना कार्यपालिका रहेको काठेखोलामा दुई जना अनुपस्थित थिए ।  बहुमत नपुगेपछि असार १८ गते सर्वदलीय बैठक बसेर पालिकाको प्रशासनिक केन्द्र अछेते र सुल्डाँडालाई मान्ने र पालिकाको भवन काठेखोला गाउँपालिका–६ स्थित आमपाटामा निर्माण गर्ने सहमतिपश्चात बिहीबार बसेको १७औँ गाउँसभामा सर्वसम्मत रूपमा पास भएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।  ‘स्थापनाको नौ वर्षमा गाउँपालिकाको भवन निर्माण गर्ने स्थानको टुङ्गो लागेको छ, आमपाटामा स्थानीयले छ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्, आगामी वर्ष पालिकाको भवन निर्माण गर्न थालिन्छ’, अध्यक्ष थापाले भने, ‘राजनीतिक दलको एकताका कारण निर्वाचनपछि समेत नटुङ्गिएको भवन निर्माणस्थल सर्वसम्मतिमा टुङ्गो लागेको हो, पालिकाले अहिले मासिक रु ६० हजार तिरेर सुल्डाँडाबाट सेवा दिँदै आएको छ ।’ गाउँपालिकाले सुल्डाँडाका आधा दर्जन घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । पालिकाको आफ्नै भवन नहुँदा हरेक वर्ष रु सात लाख बढी घरभाडा तिर्दै आएको छ । बागलुङका अन्य नौ पालिकाले आफ्नै भवन बनाइसकेका छन् ।

भरतपुर:  बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो ।  चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो ।  बिहीबार राति एक जना साथीका साथ  माछा मार्न गएका थिए ।  

सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो । नियमित पानी परिरहेकाले समस्या भइरहेको उहाँले जानकारी दिनुभयो । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताउनुभयो ।

पोखराः पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् ।  प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई ७८ रनमै समेट्दै कास्कीले लगातार दोस्रो जित हासिल गरेको हो ।  नवलपुरले २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो । नवलपुरका लागि यमुना पंगेनी ७ र वर्षा सुनार शुन्यमा अविजित रहे । मोनिका लामिछाने २२, धनकुमारी क्षेत्री ८, लिजा गुरुङ शुन्य, श्रेया शर्मा ४, आयुषा चापागाईँ ३, पुर्णिमा सुनार ७ र वर्षा सुनार शुन्यमा आउट भइन् ।  कास्कीका लागि चन्द्रमाया बराल २ तथा श्रद्धा गुरुङ, रेखा तामाङ र रिया तामाङले समान १÷१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । कास्कीका लागि रचना चौधरीले २५ र चन्द्रमाया बरालले १५ रनको अविजित पारि खेले । कप्तान सिर्जना पौडेल २७ रनमा आउट भइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् । श्रद्धा गुरुङ ८, शिखा दवाडी १५, रेखा तामाङ २ रनमा आउट भइन् ।  नवलपुरका लागि यमुना पंगेनीले २ तथा श्रेया शर्मा र आयुषा चापागाईँले समान १÷१ विकेट लिए । उता दोस्रो खेलमा पर्वत र स्याङ्जाले वर्षाका कारण खेल रोकिएपछि अंक बाडेका छन् ।  १४६ रनको विशाल लक्ष्य पाएको पर्वतले १.१ ओभरमै २ विकेट गुमाउँदै ३ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । लगातार वर्षाभएपछि खेल हुन नसक्दा दुवै टिमले अंक बाडेका हुन् ।  वर्षा हुनुअघि ओपनर शुसिला भट्टराई ३ रनमा अविजित रहँदा योगिता केसी क्याचआउट भइन भने जिविका क्षेत्री शुन्यमा रनआउट भइन् । स्याङ्जाका लागि निरु जिटीले १ विकेट लिइन् ।  त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनायो । स्याङ्जाका लागि सिमाना केसीले ३३ रनको योगदान दिइन् । उनले ३८ बलमा २ चौका प्रहार गरिन् ।  श्रेया शाह १९, सलिना सेन १३ रनमा आउट भइन् । ज्योत्सनिका मरासिनी २४ रनमा रिटायर्ड आउट भइन् । कुशुम गोदार ४ र निरु जिटी ४ रनमा नटआउट रहिन् ।  पवर्तका लागि दिपिका सापकोटाले २ तथा प्रतिभा खड्काले १ विकेट लिइन् । 

पोखरा:   जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।      संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेको जनप्रकाश क्याम्पस अल्मुनाइ एशोसिएसनका अध्यक्ष पदम थापाले जानकारी दिनुभयो      कार्यक्रमका प्रमुख अतिथि जनप्रकाश बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीले पहिलो रक्तदाता हरिश्चन्द्र पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो ।      कार्यक्रममा प्रमुख अतिथि भण्डारीले रक्तदान जीवनदान भएको बताउँदै संस्थाको कार्यको प्रशंसा गर्नुभयो ।      जनप्रकाश क्याम्पस अल्मुनाइ एशोसिएसनका अध्यक्ष पदम थापाको सभापतित्व एवम् सचिव कमल थापा मगरले सञ्चालन गर्नुुभएको कार्यक्रममा सदस्य सशिश भट्टराईले स्वागत गर्नुुभएको थियो ।      कार्यक्रममा जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, रक्त सञ्चार केन्द्रका प्राविधिक महेन्द्र केसी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल लगायतले रक्तदानको महत्व लगायतका विषयमा बोल्नुभएको थियो ।