मनाङ: मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिनुभयो । उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । यार्सा निकासीका लागि प्रतिकिलो रु ५१ हजार दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर रु ५१ हजारमध्येबाट रु १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा रु १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ । मनाङमा यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको थियो । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन गरिन्छ । गत वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएका थिए । अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन । जसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ । प्रमुख भुजेलका अनुसार मनाङमा नाम्के खर्क यार्सागुम्बा सङ्कलन गर्ने पहिलो गन्तव्य हो । खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णयबमोजिम सङ्कलकलाई अनुमति दिइएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका संयोजक एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान छ । सोहीअनुरुप यार्सागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइन्छ ।” मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गरिन्छ । यार्सागुम्बा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साविकको ‘नार’ र ‘फु’ गाविमा यार्सागुम्बा सङ्कलन कार्य रोकिएको थियो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले यार्सागुम्बा सङ्कलन गर्न अन्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाएका छौँ । विगतका जस्ता घटना दोहोरिनु हुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।” यार्सागुम्बा सङ्कलनका लागि अनुमति लिन प्रतिव्यक्ति रु ३५ हजार शुल्क तोकिएको छ । उहाँले पहिले जस्तै नार र फु मा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको बताउनुभयो । नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाका हिसाबले पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी निर्णय गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउँछन् । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन् । नार घटनापछि एक्याप मनाङले यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित बनाउँदै लगेको छ । जिल्ला समन्वय प्रमुख, पालिकाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख र संरक्षण समितिका पदाधिकारीसहितको बैठकपछि मात्रै यार्सागुम्बा सङ्लकनका लागि खुलाउने प्रावधान छ । संयुक्त बैठकले निर्णय गरेबमोजिम पुर्जी काटेर सङ्कलन अनुमति दिइन्छ । पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलकलाई खर्क जान अनुमति दिइने संरक्षण व्यवस्थापन समितिले जनाएको छ । चार वटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० यार्सागुम्बा टिपेपछि एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ । मनाङको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेकलगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन् । यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिन्छ ।
काठमाडौँ: देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
एजेन्सी: आयोजक श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्यो। कप्तान चमारी अथापाप्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाईन् । अनुष्का सन्जिवनीले २२ बलमा २४ रन जोडिन् । पाकिस्तानका लागि सादीया इकवालले ४ ओभरमा १६ रन खर्चिएर ४ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । यो पनि पढ्नुहोस महिला एसिया कप: बंगालदेशलाई १० विकेटले हराउँदै भारत फाइनलमा पाकिस्तानका लागि ओपनर मुनिबा अलिले ३४ बलमा सर्वाधिक ३७ रन बनाउँदा अर्का ओपनर गुल फिरोजाले २४ बलमा २५ रन थपिन् । कप्तान निदा दार र फतिमा सानाले समान २३ रन बनाउँदा अलिया रियाजले १५ बलमा अविजित १६ रन बनाइन् । श्रीलंकाका कविशा दिलहरी र उडिशिका प्रबोधानीले समान २ विकेट लिए । श्रीलंकाले आइतबार भारतसँग उपाधिका लागि खेल्नेछ। साविक विजेता भारतले आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १० विकेटको जितका साथ फाइनलमा स्थान पक्का गरेको थियो । भारत ८ मध्ये ७ संस्करण को च्याम्पियन हो । सन् २०१८ मा बंगलादेशले उपाधि जितेको थियो।
कास्की: यस वर्षको मनसुन सुरू भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा छजना घाइते भएका छन् । यसबीचमा जिल्लामा बाढीपहिराका ३३ र अविरल वर्षाका ६१ वटा घटना घटेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकानुसार विपद्मा परेर पोखरा महानगरपालिकामा १२ र मादी गाउँपालिकामा दुईजनाको मृत्यु भएको हो । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका गत असार २७ गतेको पहिरामा परी स्थानीय कुलबहादुर परियारको परिवारका छसहित सात जनाको ज्यान गएको थियो । पहिरामा परेर कुलबहादुरसहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी ५६ वर्षीया राधिका परियारको मृत्यु भएको थियो । यसैगरी सोही रात पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह«विसेमा ४० वर्षीया आरती ओझोको घर पहिरामा पुरिदा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र नौ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको थियो । यसैगरी असार २७ गते राति मादी गाउँपालिका–११ ताप्लेमा गएको पहिरामा परेर ८० वर्षीया माइतीकुमारी गुरुङको ज्यान गएको थियो । गत असार २६ गते पोखरा महानगरपालिका–२७ का २२ वर्षीय भीमबहादुर थापाको घरमै सुतेको अवस्थामा पहिरामा परेर निधन भएको थियो । गत असार १२ गते रातिको घटनामा कास्कीको मादी गाउँपालिका–५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको थियो । सोही दिनको घटनामा पोखरा महानगरपालिका–२७ आरुपाटाका ३१ वर्षीय हरि सुनारका छोरा तीन वर्षीय अनमोल सुनारको पहिरामा परेर ज्यान गएको थियो । यसैगरी अविरल वर्षाका कारण दुईजना घाइते भएका छन् । प्रहरीकानुसार पहिराका कारण जिल्लामा १४ वटा घर पूर्ण क्षति र नौ वटामा आंशिक क्षति पुगेको छ । पहिराका कारण एकवटा चौपाया मरेका र चार वटा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । यस्तै वर्षाका कारण पाँचवटा चौपायाको मरेका, दुईवटा घाइते तथा एक हजार नौ सय २० वटा पंक्षी मरेका पनि शर्माले जानकारी दिनुभयो । विपद्बाट जिल्लामा अन्दाजी रु चार करोड आठ लाख ८१ हजारभन्दा बढीको सम्पत्तिमा क्षति भएको छ ।
धनकुटा: भेडेटारमा स्काई टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पाकसर् एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ल्याइएको हो । टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । मन्त्री कार्कीले प्रदेशले मनाउन लागेको ‘पर्यटन वर्ष, २०८२’लाई यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्नेमा विश्वास गर्नुभयो । भेडेटार क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन बिकासमा प्रदेश सरकार लागेको उहाँको भनाइ थियो । धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङले यस आयोजनाले धरान र धनकुटामा पर्यटक बढाउने बताउनुभयो । यस परियोजनाले गाउँपालिका र भेडेटारको मात्र नभई कोशी प्रदेशकै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले व्यक्त गर्नुभयो । धरान र धनकुटाको सिमानामा अवस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ मा ११ रोपनी वन क्षेत्रफलमा रु २० कारोड लगानीमा टावर निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोकाहाले जानकारी दिनुभयो । आगामी दिनमा यस टावरमा बञ्जी जम्प, जीपलाइन र फ्रिफल जस्ता साहसिक खेल सञ्चालनमा ल्याइने कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिनुभयो ।
एजेन्सी: भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गरिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सकेको थियो। टोलीकी कप्तान निगर सुल्तनाले सबैभन्दा बढी ३२ रन जोडिन्। स्वर्ण अख्तरले १९ रन बनाइन् । त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतकी रेनुका सिंहले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ३ विकेट लिइन्। राधा यावदले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चदै ३ विकेट हात पारिन् । पुजा भास्त्रकर र दिप्ती शर्माले समान १ विकेट लिए। भारतले पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग फाइनल खेल्नेछ। साविक विजेता समेत रहेको भारत ८ मध्ये ७ संस्करण को च्याम्पियन हो । सन् २०१८ मा बंगलादेशले उपाधि जितेको थियो।
पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुु रोगको समेत परीक्षण गरिनेछ । जसका लागि डा. कुशुम महराको सहयोग मिल्ने उनले बताए । “नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं । सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्ध बुवाआमाहरुको उपचारमा सहयोग मिलोस् भन्ने भावनाले वडाले नै निशुल्क स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराएको हो ।”, उनले भने । वडाले उपलब्ध गराएको निशुल्क स्वास्थ्य परीक्षणको लाभ लिन उनको अनुरोध छ । स्थानीय तहको दायित्व र कर्तव्य अन्तर्गत आफुहरुले बेलाबेलामा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले उल्लेख गरे । पोखरा महानगरपालिका वडा नं. १३ ले वडाको भौतिक विकास मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्रभावकारी बनाउन लगानी गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सम्बद्ध सँघसंस्थासँग मिलेर गतिविधि अगाडि बढाइरहेको छ ।
लमजुङ: लमजुङ क्होलासोथर गाउँपालिकाका मंगलबहादुर बिक बेपत्ता भएको १० दिनपछि मृत फेला परेका छन् । क्होलासोथर गाउँपालिका ७ का वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार बेपत्ता बिक आज रुदी खोला किनारमा मृत फेला परेका हुन् । कास्कीको मादी गाउँपालिका र लमजुङको क्होलासोथर गाउँपालिका जोड्ने रुदी खोला किनारमा १० दिनपछि आज मृत भेटिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार बिक गत १ गते परिवारबाट सम्पर्कविहीन भएका थिए ।
काठमाडौँ: फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बनेको छ । ओलम्पिकअन्तर्गत फुटबल, रग्बीलगायतका खेलका प्रतियोगिता भने गत बुधबार नै सुरु भइसकेका छन् । ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि राजधानी पेरिस पुगिसकेको छ । यसपालि एक नेपाली खेलाडी छनोट प्रतियोगिता जितेर ओलम्पिकमा सहभागी हुन गएका छन् । टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ दक्षिण एशियाको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुन सफल भएका छन् । अन्य खेलाडीहरुलाई भने कोटा तथा वाइल्ड कार्डको आधारमा सहभागी गराइएको हो । नेपालले ओलम्पिकमा विभिन्न छ खेलमा सात खेलाडीलाई सहभागी गराउँदैछ । नेपालका अन्य खेलाडीहरुमा जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, स्विमिङ मा डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल छन् । नेपालले पहिलोपटक ओलम्पिकमा ब्याडमिण्टनमा भाग लिन लागेको हो । नेपालले ओलम्पिकमा भाग लिएको यो १५ औं पटक हो । आज राति ११ बजेर ४५ मिनेट जाँदा पेरिसमा आयोजना हुने भब्य उदघाटन समारोहमा नेपालको पनि सहभागिता रहनेछ । ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ । यसमध्ये एशियाका ४४ वटा देशहरुले भाग लिदैछन् । ओलम्पिकमा शरणार्थी टिमको समेत सहभागिता रहनेछ । नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो । पेरिस ओलम्पिकमा विभिन्न ३२ वटा खेलका ३२९ वटा इभेण्टस् सञ्चालन हुँदैछन् । यसअघि ओलम्पिकका लागि छनोट खेल पार गरी सहभागी हुन सफल नेपाली खेलाडीमध्ये पहिलो खेलाडीमा ताइक्वाण्डोकी खेलाडी संगिना बैध्य थिइन् । सन् २००४ मा ग्रीसको राजधानी एथेन्समा आयोजित ओलम्पिकमा उनी छनोट चरणमा जितेर भाग लिन सफल भएकी थिइन् । सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा ताइक्वाण्डो खेलाडी दिपक बिष्ट पनि छनोट खेल जितेर ओलम्पिक खेल्न गएका थिए । अन्य खेलाडीहरु भने कोटा तथा वाइल्ड कार्डको आधारमा ओलम्पिकमा सहभागी हुँदै आइरहेका छन् । ओलम्पिकमा एथलेटिक्स तथा स्विमिङ खेलमा अनिवार्य सहभागी पठाउनु पर्ने नियमअनुसार ती खेलमा नेपाली सहभागी बढी भएको पाइएको हो । विगतको सहभागिता सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजित ओलम्पिकदेखि नेपालले ओलम्पिकमा प्रतिस्पर्धा गर्न सुरु गरेको थियो । त्यतिखेर नेपाली टिममा दुई धावक र चार जना बक्सरलाई समावेश गरिएको थियो । बक्सरहरु भने हङ्गकङस्थित गोरखा रेजिमेण्टमा कार्यरत नेपाली सैनिकहरु थिए । सन् १९६८ मा मेक्सिकोमा आयोजित ओलम्पिक बाहेक नेपालको ओलम्पिकमा सहभागिता छुटेको छैन । हालसम्म सबैभन्दा धेरै एथलेटिक्सका खेलाडीहरुले नेपालको तर्फबाट ओलम्पिकमा भाग लिएका छन् । सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित ओलम्पिकमा नेपालबाट दुई धावक सहभागी भएका थिए । सन् १९७६ मा क्यानडाको मोर्टियलमा आयोजित ओलम्पिकमा नेपालको तर्फबाट धावक बैकुण्ठ मानन्धरले मात्र भाग लिएका थिए । उनले लगातार चार वटा ओलम्पिकमा दौडेर नेपालबाट सबैभन्दा धेरै पटक ओलम्पिकमा सहभागी हुने अवसर प्राप्त गरेका थिए । सन् १९८० मा रुसमा आयोजना गरिएको ओलम्पिकमा नेपालबाट एथलेटिक्स, बक्सिङ र भारोत्तोलनमा १२ जना खेलाडी सहभागी भएका थिए । सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा आयोजित ओलम्पिकमा पनि एथलेटिक्स, भारोत्तोलन बक्सिङमा ११ जना खेलाडी पठाइएको थियो । सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित ओलम्पिकमा नेपालको खेल टोली विगतमा भन्दा ठूलो थियो । त्यस प्रतियोगितामा नेपालले एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, जुडो, सुटिङ र ताइक्वाण्डो खेलमा १८ जना खेलाडीलाई सहभागी गराएको थियो । सन् १९९२ मा स्पेनको बार्सिलोना ओलम्पिकमा ताइक्वाण्डो, सुटिङ र एथलेटिक्समा पाँच जनाले भाग लिएका थिए । सन् १९९६ मा अमेरिकाको एटलाण्टामा एथलेटिक्स, भारोत्तोलन र सुटिङमा छ जना गएका थिए । यस्तै सन् २००० मा अष्ट्रेलियाको सिड्नीमा नेपालले एथलेटिक्स, स्विमिङ तथा सुटिङमा गरी पाँच खेलाडी पठाएको थियो । सन् २००४ मा ग्रीसको एथेन्समा नेपालबाट ताइक्वाण्डो, एथलेटिक्स, भारोत्तोलन र सुटिङमा छ जना खेलाडीहरु पठाइयो । सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा पनि एथलेटिक्स, जुडो, सुटिङ, स्विमिङ र ताइक्वाण्डोमा नौ खेलाडी सहभागी गराइएको थियो । सन् २०१२ मा लण्डन ओलम्पिकमा एथलेटिक्स, स्विमिङ र सुटिङमा भाग लिन चार जना नेपाली गएका थिए । सन् २०१६ मा दक्षिण अफ्रिकाको रियोदि जेनिरियोमा नेपालले एथलेटिक्स, स्विमिङ, जुडो र आर्चरीमा गरी छ जनालाई सहभागी गराएको थियो । सन् २०२१ को जापानको टोकियो ओलम्पिकमा एथलेटिक्स, स्विमिङ र एथलेटिक्समा पाँच जना खेलाडीले भाग लिएका थिए । गौरवमय त्यो क्षण सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा भएको गृष्मकालीन ओलम्पिक प्रतियोगितामा नेपालले ताइक्वाण्डो खेलमा कास्य पदक पाएको थियो । खेलाडी विधान लामाले उक्त पदक जितेका थिए । सन् १९८६ मा बिधानसहित आठ नेपाली खेलाडीले सियोलमै एशियाली खेलकुदमा कास्य पदक पनि पाएका थिए । सम्पूर्ण नेपालीहरु गौरवान्वित बनेको त्यो खुसीको क्षण क्षणिक बन्न पुग्यो । त्यतिखेर ओलम्पिकमा ताइक्वाण्डो खेललाई प्रदर्शन खेलका रुपमा समावेश गरिएकाले खेलाडी लामाले जितेको पदकलाई आधिकारिक मान्यता प्रदान नगरिएपछि नेपाल आधिकारिक पदक तालिकामा अङ्कित हुनबाट बन्चित हुन पुगेको थियो । नगण्य उपलब्धि ओलम्पिकमा नेपाली खेलाडीहरुको सहभागिता १५ चोटी पुगे पनि हालसम्म सहभागितामै सिमित रहेको छ । एशियाली खेलकुदमा रजत पदकसम्म जित्न सकेको नेपालले हालसम्म ओलम्पिकमा भने कुनै पदक जित्न सकेको छैन । ओलम्पिकमा सहभागिता अझै पनि औपचारिकतामा सिमित रहेको छ । ओलम्पिकका लागि दीर्घकालीन योजना सञ्चालन नहुनाले यस्ता ठूला प्रतियोगितामा नेपालको सहभागिता खाली औपचारिकतामा सिमित हुन पुगेको हो । यस्ता प्रतियोगितामा विभिन्न खेलमा भाग लिनुभन्दा उचित प्रदर्शन गर्न सकिने सिमित खेललाई जोड दिनु उचित हुने गर्दछ । खेलाडीको क्षमताको मुल्याङ्कन नगरी कोटा प्राप्त भएकै आधारमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनु उचित हुन्छ कि हुदैंन गम्भीर भएर सोच्नु पर्ने बेला पनि आएको छ । प्रतियोगिताको केही समयअघि खेलाडी जम्मा गरी दिइएको प्रशिक्षण ओलम्पिकजस्तो विश्व स्तरीय प्रतियोगिताका लागि अपर्याप्त भएको अनुभव विगतदेखि नै हुँदै आइरहेको छ । सिमित समय र सानो लगानीले ओलम्पिकमा सफलता सम्भव नभएको कुरा स्वयं खेल क्षेत्रसँग सम्बन्धित अधिकारी तथा प्रशिक्षकहरुले बताउँदै आइरहेका छन् । वर्षैभरि नियमित प्रशिक्षण, पर्याप्त मात्रामा खेल प्रतियोगितामा सहभागिता, वैदेशिक प्रशिक्षण र प्रतियोगितामा जाने अवसरले खेलाडीको क्षमता अभिवृद्धि गर्दै लैजाने गर्दछ । यसैगरी उनीहरुलाई यथोचित सुविधातर्फ पनि ध्यान दिनु जरुरी पर्दछ । यसै सिलसिलामा हालसम्म कैयौं स्थापित खेलाडीहरु समेत विदेश पलायन हुनु चिन्ताको विषय बनेको छ । नेपालमा सरकार परिवर्तनसँगै त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा पनि पर्ने गरेको छ । खेलकुद क्षेत्रको आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषदमा हुने गरेको पदाधिकारी परिवर्तनले पनि नेपालको समग्र खेलकुदको विकासमा असर पर्ने गरेको छ । नेपालमा भएका सयौं खेलकुद सङ्घ पनि नेपालको अन्तर्राष्ट्रिय असफलतामा जिम्मेवार रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीजस्ता विभागीय टिमहरुले खेलाडीहरुलाई रोजगार दिई नियमित रुपमा प्रशिक्षण सञ्चालन गरेर नेपालको अन्तर्राष्ट्रिय सहभागितामा यथाशक्य योगदान दिइरहेका छन् । दक्षिण एशियाली मुलुकहरुमध्ये भारतले हालसम्म ओलम्पिकमा ३५ वटा पदक जितिसकेको छ । यसैगरी पाकिस्तानले १० तथा श्रीलङ्काले दुई वटा पदक पाइसकेका छन् । अब नेपालले पनि ओलम्पिक जस्तो खेलकुद प्रतियोगितालाई औपचारिकतामा मात्र सिमित हुन नदिई पदक प्राप्तिका लागि उचित पहल गर्न जरुरी भसकेको छ । ओलम्पिक भनेको खेलाडीले राष्ट्रिय किर्तिमान भङ्ग गर्दा गौरव गर्ने क्षण होइन । पदक जितेर मुलुकको छवि जाज्वल्यमान बनाउने महत्वपूर्ण अवसर हो । नेपाल सरकारले पनि ओलम्पिकलाई उच्च प्राथमिकता दिई दीर्घकालीन वार्षिक योजना बनाउन तथा पदक प्राप्तसम्मका लागि आवश्यक पूर्वाधारहरु जुटाउन नेतृत्व लिनुपर्ने आवश्यकता देखिएको छ । (लेखक राजु सिलवाल खेलकूदमा अभिरुचि राख्ने पत्रकार हुनुहुन्छ)

