पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

एजेन्सी:   साविक विजेता भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक एसिसी एसिया कपको च्याम्पियन बनेको छ ।   श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार भएको फाइनलमा भारतलाई श्रीलंकाले ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।   श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ रन बनाइन् । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् । ओपनर तथा कप्तान चमिरा अथापाथ्थुले ६१ रन बनाइन् । उनले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् ।   कप्तान अथापाथ्थु र समराविक्रमाले दोस्रो विकेटका लागि ६३ बलमा ८७ रनको साझेदारी गर्दै टोलीलाई च्याम्पियन बनाउने आधार तयार गरे ।   कबिसा दिलहारीले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाइन् । तेस्रो विकेटका लागि समराविक्रमा र दिलहारीले ४० बलमा अविजित ६३ रनको विजयी साझेदारी गरेका थिए ।   त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाइन् । स्मृतीले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् ।   रिचा घोषले ३० रन बनाइन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । जेमिमा रोड्रिगेजले १६ बलमा १८, अर्की ओपनर शेफाली बर्माले १६ रन बनाईन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् ।   श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट लिइन् ।   भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक च्याम्पियन बनेको हो । पराजित भारत सात पटकको च्याम्पियन बनिसकेकाे छ ।   महिला एसिया कपको इतिहासमा भारत दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि सन् २०१८ को एसिया कपको फाइनलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

 पाेखरा:  गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ ।   यससँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् ।   प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरुले  आइतबार सार्वजनिक यातायात सेवा नै ठप्प पारेका थिए ।     दिउँसो भएको वार्तामा व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएको छ ।   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा बसेको समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि समेत छन् । समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिनेछ ।

काठमाडौँ:    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम सुरु गरिसकेको बताउनुभएको छ ।   प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले दुर्घटना जाँच आयोगले दुर्घटनास्थलको स्थलगत अनुगमनगरी आवश्यक विवरण लिएको बताउनुभयो । आयोगले ककपीट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) सङ्कलनगरी डाटा विश्लेषणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।   अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एनएक्स १३ को प्रावधान तथा गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली– २०७१ अनुरुप जाँचबुझ आयोग गठन गरिएको हो ।   प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समय र शून्य समयमा सांसदहरुले विमान दुर्घटनाको बारेमा प्रश्न गर्नुभएको थियो । पर्यटनमन्त्री पाण्डेले विमान दुर्घटनाबारे जाँच गर्न समिति बनिसकेको र सरोकारवाला विभिन्न निकायसँग परामर्श गरिएको भन्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालय प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो ।   उहाँले विमान दुर्घटनाको भोलिपल्टै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छलफल गरिएको बताउनुभयो । पर्यटनमन्त्रीका अनुसार यमनी नागरिकबाहेक मृतक सबैको शव आफन्तले बुझिसकेका छन् ।   यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकाले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको तथा शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सले बेहोरेको छ ।   पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा परी मृत्युभएका सबैप्रति मन्त्रालय र व्यक्तिगततर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते चालकदलका सदस्य क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।   विमान दुर्घटनामा मृत्यु भएकालाई बीमा नीतिअनुसार सरल र सहज रुपमा उपलब्ध गराउन कम्पनीले प्रतिबद्धता जनाएको छ । बीमा नीति अतिरिक्त एयरलाइन्सबाट रु सात लाखको सामाजिक सुरक्षा कोषसमेत रहेको छ । यस्तै मृतकमध्ये सौर्य एयरलाइन्सका आइटी इञ्जिनियर मनुराज शर्माको श्रीमती पृजा खतिवडा ऊर्जा मन्त्रालयको कम्प्युटर अपरेटरका रुपमा कार्यरत हुनुहुन्थ्यो ।   उहाँले एयरलाइन्समा पनि पार्टटाइमका रुपमा सोही पदमा काम गर्दै आउनुभएको एयरलाइन्सले जनाएको छ ।   बालक अधिराज शर्माको सम्बन्धमा काठमाडौँमा हेरचाह गर्ने व्यक्ति नभएपछि सँगै लगिएको जानकारी एयरलाइन्सले दिएको पर्यटनमन्त्रीले संसद्मा जानकारी दिनुभयो । हवाई नीति–२०६३ का अनुसार प्रेसराइज वायुयान १५ वर्षभन्दा पुरानो आयात गर्न प्रतिबन्ध लगाइएको अवस्थामा सौर्य एयरलाइन्सको विमान सो अवधिभन्दा मुनिको रहेको कम्पनीले जनाएको छ ।   नेपालले सन् २०१८ मा यात्रु बीमासम्बन्धी मन्ट्रियल सन्धि अनुमोदन गरिसकेको र उक्त व्यवस्था अन्तर्राष्ट्रिय हवाई यात्रुमा मात्रै लागू हुने भएकाले आन्तरिक उडानका लागि यात्रुको बीमा कम भएकाले आन्तरिक उडानका लागि बीमा विधेयक तर्जुमाको काम अगाडि बढिसकेको पर्यटनमन्त्रीले जानकारी दिनुभयो ।   हाल आन्तरिकमा यात्रु उडानका लागि रु २० हजार अमेरिकी डलर बीमा व्यवस्था गरिएको छ । एयरलाइन्सकातर्फबाट मृतकका परिवारलाई थप सुविधा उपलब्ध गराउन एयरलाइन्सका पदाधिकारीसँग छलफल गरिएको र कम्पनीकातर्फबाट सम्भव भएसम्म योग्यताका आधारमा रोजगारीको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको छ ।   मन्त्री पाण्डेले बीमा रकम सहज तवरले यथाशीघ्र उपलब्ध गराउन सौर्य एयरलाइन्सलाई निर्देशन दिइसकिएको बताउनुभयो । सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान यही साउन ९ गते स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानका क्रममा उड्नेबित्तिकै दुर्घटना भएको थियो ।   चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट उडान गर्नेबित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै एक जना घाइते हुनुभएको छ । विमान दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । हाल उहाँको स्वास्थ्यावस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

काठमाडौं:   सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ ।   असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो ।   लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले जानकारी दिए । शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो ।   अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित १२ सदस्यीय टोलीले खोजी कार्य सुरु गरेको थियो ।    असार २८ गते चितवन महनगरपालिका–२९, सीमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस बेपत्ता छन् ।   वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुलेको थियो ।   १७ दिनसम्म विभिन्न उपकरणसहित खोजी कार्य जारी राख्दासमेत हराएका २ वटै बस भेटिएका छैनन् ।   दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँचेका थिए भने अहिलेसम्म २० जनाकोमात्रै शव भेटिएको छ । त्यसमध्ये ४ जनाको शव अझै सनाखत हुन सकेको छैन । २ जनाको शव भारतीय भूमिमा फेला परेको थियो । बसमा सवार बाँकी यात्रुको अवस्था अझै अज्ञात छ ।

नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ।   नेपथ्य छैठौं पटक आफ्ना गीत सुनाउनका लागि अमेरिका जान लागेको हो। ब्याण्डले यसपालीको यात्रामा अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सातवटा फरक फरक सहरका भब्य मञ्चहरुमा आफूलाई प्रस्तुत गर्नेछ।   सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ मा कोलोराडोको राजधानी डेनभर सहरमा आफूलाई उभ्याउने छ । यहाँ नेपथ्यले पहिलोपटक साँगीतिक पाइला टेक्न लागेको हो। डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोशेली प्रस्तुत गर्नेछ।   त्यसपछिको दोश्रो प्रस्तुती अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ।    तेश्रो प्रस्तुतीको निम्ति भने ब्याण्ड ओहायो राज्यको राजधानी कोलम्बसतर्फ प्रस्थान गर्नेछ। त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्याण्डले अगस्त १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। यो सहर पनि नेपथ्यका लागि पहिलो अनुभव हुनेछ।   त्यसपछिको चौथो कन्सर्टका लागि ब्याण्ड फेरि दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य आइपुग्नेछ। उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुन लागेको हो। यसपालि ब्याण्डले ‘टोयोटा म्यूजिक फ्याक्ट्री’ मा आफुलाई उभ्याउँदैछ।   विशाल एवं भब्य यो आयोजनास्थलमा टेक्सासका नेपाली दर्शकहरुलाइ अगस्त २४ तारिखका दिन फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्याण्डले लिएको छ।   त्यसपछि भने ब्याण्ड फेरि उत्तरतर्फ उक्लँदै अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ। अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपाली भने बेग्लै हल ‘टर्मिनल फाइभ’मा आफ्ना लोकरक धुनहरु पस्कने छ। त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ।   न्यूयोर्कमा प्रस्तुत भइसकेपछि ब्याण्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्याण्ड राज्य पुग्नेछ । त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्याण्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाइभ १’को प्रेक्षालयमा प्रस्तुती दिनेछ।   अमेरिकाका फरक फरक सहरहरुमा आफुलाई उभ्याइसकेपछि अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभानियाको ह्यारिसवर्ग सहर पुग्नेछ।   ब्याण्डको लागि यो सहर पनि पहिलो अनुभव बन्ने छ। यसै सहरको ‘द फोरम अडिटोरियम’मा अमेरिकाको श्रृंखलावद्ध यात्राकै अन्तिम अर्थात् सातौं कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ।    

काठमाडौँ:  डा मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।   उनले आज आयोगमा निवेदन दर्ता गराएका हुन् ।   आयोगका सूचना अधिकारी सुमन घिमिरेले डा ढकालको निवेदन आयोगमा दर्ता भएको जानकारी दिए ।   डा ढकालले पार्टीले आफूलाई पदमुक्त गर्ने निर्णय अवैधानिक भएको र रास्वपाका कुनै पनि निर्णय सदर नगर्न आग्रह गर्दै आयोगमा निवेदन दिएको बताए ।   उनले अहिलेसम्म आफू पदमुक्त भएको आधिकारिक पत्र पार्टीबाट प्राप्त नगरेकोसमेत प्रतिक्रिया दिए ।   “संविधानको धारा २६९ (४) र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८(२) अनुसार मलाई पार्टीले गरेको कारबाही अवैधानिक छ । कारबाही अवैधानिक भएकाले मेरो हस्ताक्षरबिना पार्टीका निर्णय अद्यावधिक गर्न आए नगर्नु त्यो अवैधानिक छ भनेर निवेदन दिएको छु”, उनले भने ।   रास्वपाको केन्द्रीय समितिको बैठकले गत असार २५ गते डा ढकाललाई पार्टी अनुशासनविपरीत अभद्र र पार्टीहितविपरीत अराजनीतिक व्यवहार प्रदर्शन गरेको भन्दै पदमुक्त गरेको थियो ।

कालीकोट:   कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ ।   चारैतिर अग्लाअग्ला लेक र धार्मिक रुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो ।   पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रुपमा रहेको कालीकोट महावै गाउँपालिका–४ ओदानकुका रजबहादुर शाहीले बताउनुभयो ।   कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जोड दिन थालेका छन् ।   महावै पाटनका नामबाट दैलेखमा महाबु र कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ । पाटनका बीचमा रहेको डुङ्गामाथि शिवको मन्दिर छ । हरेक वर्ष जनैपूर्णिमामा यहाँ मेला लाग्ने गर्दछ ।   मेलमका अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । शिव मन्दिरलाई यहाँका स्थानीयले महाबु जगन्नाथ भन्ने प्रचलन रहेको बताउँदै महावै जगन्नाथलाई पनि महादेवको प्रतीकका रुपमा लिने गरिएको शाहीले बताउनुभयो ।   “पूजाप्रार्थना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ”, उहाँले भन्नुभयो, “शिव मन्दिरको मेला भर्नका लागि प्रत्येक वर्ष जनैपूर्णिमाका दिन कालीकोट, दैलेख, जुम्ला, जाजरकोट र सुर्खेतबाट श्रद्धालु भक्तजन यहाँ आउने गर्छन् ।”   देशका एकसय महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महाबुधाम समेटिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।   यस क्षेत्रको भौतिक पूर्वाधारसहित विकासमा पहल थालिएको उहाँको भनाइ छ । “यहाँको पर्यटन प्रवर्द्धन गर्न धर्मशालालगायत अन्य भौतिक संरचना निर्माणको पहल थालेका छौँ”, उहाँले भन्नुभयो, “पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेका छन् ।”   धाममा धर्मशाला, सडक र मन्दिरलगायत अन्य संरचना निर्माण गर्न ठूलो रकमको आवश्यकता रहेको बताउँदै सिंहले अहिले दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको जानकारी दिनुभयो ।   उहाँका अनुसार यहाँबाट जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, बर्दिया, टीकापुर र नेपालगञ्जका अधिकांश स्थान देख्न सकिन्छ ।   “महावैमा वर्षा याममा कालीकोट र दैलेखबाट चरनका लागि ल्याउने भेडाबाख्रा तथा गाईभैँसीलाई गोठ बनाइएका छन्”, अध्यक्ष सिंहले भन्नुभयो, “वर्षायाममा हरियाली फाँटमा भेडाबाख्रा, घोडा, गाईभैँसीका बथान देख्न सकिन्छ, यसले यहाँको आकर्षण थप बढाएको छ ।”

पोखरा:  नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ ।    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष तथा ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ छनौट समितिका संयोजक रुद्र श्रीस मगरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले झेंडी मगरलाई यस वर्षको पुरस्कार अर्पण गर्न सिफारिस गरेको हो ।   मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको पुरस्कार यही साउन १५ गते पोखराको ह्वाइटहाइस पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी  प्रदान गरिने संघका सचिव प्रविण थापा मगरले जानकारी दिए ।   उनका अनुसार राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिमार्फत स्थापित सो पुरस्कारको राशी नगद रु १० हजार रहेको छ ।   उक्त पुरस्कार मगर  जातिको भाषा, कला, धर्म, रितीरिवाज तथा संस्कार– संस्कृति र कौराहा संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छ ।    २०७५ सालमा स्थापना भएको पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), मान बहादुर घर्तीमगर ‘एमबी आस्था’ (कास्की), मनोज घर्तीमगर (कास्की) र खेम सारु मगर (कास्की) पुरस्कृत भइरहेका छन् । यस वर्ष पुरस्कृत हुन लागेकी झेंडीमगर विगत १५ वर्षदेखि पत्रकारिकतामा सक्रिय छिन् ।   उनी यसअघि बुद्धदर्शन टेलिभिजनमा स्टेशन म्यानेजरको भूमिकामा रहेकी उनी अहिले रेडियो मध्यविन्दु र नपलपुर ताइम्समा सम्पादकको रुपमा कार्यरत छिन् ।     १५ गते हुने उक्त कार्यक्रमकाबीच संघको तेस्रो अधिवेशनसमेत हुने अध्यक्ष विनु थापाले जानकारी दिइन् ।   उनका अनुसार प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका पूर्वा आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सभा सदस्य रोशन गाहामगर रहेका छन् ।

गोरखा:   उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौँ लगिएको छ ।   प्रमुख जिल्ला अधिकारी भोला दाहालका पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।   पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका थिए ।   बेपत्ता हुनेहरुमा ३७ वर्षीय जीतबहादुरसहित उनका बुबा ६० वर्षीय सोलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ कान्छी गुरुङ तथा ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार रहेका छन् ।   शनिबार राति तीन बजे पहिरो जाँदा जीतबवहादुरले सञ्चालन गर्दैआएको कृषि फर्म र नजिकै रहेको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   उद्धारका लागि जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।