पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

पोखरा:     पोखरा नागढुंगास्थित सुविधासम्पन्न चरक मेमोरियल हस्पिटलमा जाँच गर्दा सिटिजन्स् बैंक इन्टरनेशनलका ग्राहकले छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी समझदारी भएको छ । हस्पिटलका तर्फबाट एमडी कपिल पोखरेल र बैंकका तर्फबाट पोखरा ब्राञ्च म्यानेजर अनुप अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सम्झौता अनुसार होल बडी चेकअपमा २० प्रतिशत, बेडमा १० प्रतिशत, ल्याब, रेडियोलोजी र अप्रेशनहरुमा १० प्रतिशत तथा फार्मेसीमा औषधि किन्दा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । पछिल्लो समय सामाजिक योगदानलाई प्राथमिकता दिँदै आएको चरक हस्पिटलले गण्डकी प्रदेशका लगभग सबैजसो जिल्लामा स्थानीय संघसंस्थासँग सहकार्य गरी निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ । आवश्यकता अनुरुप ग्रामीण ठाउँहरुमा लक्षित गरी हस्पिटलले निःशुल्क शिविरलाई निरन्तरता दिने एमडी पोखरेलले जानकारी दिए । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ । बैेंंकले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

काठमाडौं:    भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।  काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।  ललितपुरको युएन पार्क  क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।

चितवन:    भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय  सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । उहाँ तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा हुनुहुन्छ ।    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते हुनुभएको । गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उहाँहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।   दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको हो ।

लमजुङ:     पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।  गए रातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार केही वर्ष अघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो ।  सो स्थानभन्दा मुनि  मस्र्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थल हो । सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ । 

भोजपुर:     अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् ।  बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ । प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ ।

काठमाडौं:     कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित हुनुभएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गर्नुभयो ।  समितिको सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त हुनुभएपछि सो पद रिक्त हुनपुगेको थियो ।  समितिको सभापति पदमा कांग्रेसकी थापाको मात्र उम्मेदवारी परेको थियो । 

पोखरा:   नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षामा सुरज थापामगर सर्वसम्मत चयन भएका छन् ।  मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट सुरज थापामगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए ।  यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु रानामगर, राज बुढामगर र जुना थापामगर चयन भए । संघको बैठकले २ जना सदस्य मनोनित गर्नेछ । 

पोखरा:    नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई अर्पण गरिएको छ ।  राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिमार्फत स्थापित मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो अधिवेशनको अवसरमा झेंडी मगरलाई अर्पण गरिएको हो ।  उनलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले दोसल्ला, सम्मानपत्र र नगद रु १० हजारसहित पुरस्कार अर्पण गरे । सो अवसरमा बोल्दै गाहामगरले मगर समुदाय शैक्षिक क्षेत्रमा कमजोर रहेकै कारण राजनीतिक तथा प्रशासनीक पहुुँचबाट पछाडि परेको धारणा राखे ।  सांसद गाहामगरले जनसंख्याको आधारमा मगर समुदाय तेस्रो समुदाय भएपनि शिक्षामा कमजोर हुँदा राज्यको नीति निर्माण तहमा पछाडि परेको उल्लेख गरे ।  ‘नेपालको जनसंख्या अनुसार मगर जाति तेस्रो स्थानमा रहेको छ, जनसंख्यामा मात्र धेरै भएर भएन’, सांसद गाहामगरले भने, ‘जनसंख्याको आधारमा मात्र धेरै भएर भने, हामी शिक्षामा पनि अगाडि बढ्न आवश्यक छ । शिक्षामा कमजोर हुँदा नै हामी राज्यको नीति निर्माण तहमा पछाडि परेका छौं ।’ उनले राज्यको निर्णायक तहमा पुग्नका लागि मगर समुदाय राजनीतिमा आउनुपर्ने बताए । उनले मगर समुदायको मात्र नभएर आदिवासी समुदायको संस्कार –सस्कृति पुस्तातन्रण गर्न आवश्यक रहेको बताए ।  सांसद गाहामगरले मगर समुदायको भाषा संरक्षण लोप हुन लागेकाले संरक्षणमा चासो देखाउन आवश्यक रहेको उल्लेख गरेका थिए ।  यस्तै राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिताबाट पुरस्कृत शारदा झेंडी मगरले मगर समुदायको मौलिक कला संस्कृति संरक्षण र पुस्तातन्तरण हुन आवश्यक रहेको बताएकी थिइन् ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष तथा ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’छनौट समितिका संयोजक रुद्र श्रीस मगरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले पत्रकार झेंडी मगरलाई यस वर्षको पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो ।  २०७५ सालमा स्थापना भएको पुरस्कारबाट यस अगाडि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप रानामगर (तनहुँ), मानबहादुर घर्तीमगर ‘एमबी आस्था’ (कास्की), मनोज घर्तीमगर (कास्की), खेम सारुमगर (कास्की) पुरस्कृत भइसकेका छन् ।  पुरस्कृत झेंडी मगर बुद्धदर्शन टेलिभिजनमा स्टेशन म्यानेजरको भूमिकामा रहेकी उनी रेडियो मध्यविन्दु र नवलपुर ताइम्समा सम्पादकको रुपमा कार्यरत छिन् ।  राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार मगर जातिको भाषा, कला, धर्म, रितिरिवाज तथा संस्कार–सस्कृति र कौराहा संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छ ।   

पोखरा:      पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो ।   कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ ।  फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भन्नुभयो, “पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ । यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि ?” स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कृषि एम्बुलेन्सले महानगरका ग्रामीण बस्तीमा उत्पादित तरकारी निःशुल्क रूपमा बजारमा बिक्री वितरणमा सहयोग पुगेको छ । गत वर्षदेखि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्ने काम गरेको महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । उहाँका अनुसार पोखराका सात ठाउँमा सातामा एक दिन किसान बजार सञ्चालन हुने गरेकामा माग बढ्दै गएकाले केही वडामा सातामा दुई दिन बजार सञ्चालन हुने गरेको छ ।  ग्रामीण भेगका साना किसानले उत्पादन गरेको कृषि उपज सङ्कलनका लागि महानगरका २१ स्थानमा सङ्कलन केन्द्र स्थापना गरिएको र ती ठाउँमा एम्बुलेन्स पुगेर कृषि उपज बजारमा ल्याउने गरेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।   “ठूला किसानले आफ्नै गाडीबाट ल्याएर बजारमा बिक्री गरे पनि साना किसानले त्यसरी बिक्री गर्न सक्दैनन् । अहिले किसानले आफूले उत्पादन गरेका कृषि उपज सङ्कलन केन्द्रमा लिएर आउनुहुन्छ, कृषि एम्बुलेन्सले त्यहाँबाट बजारसम्म ल्याउने गर्दछ । अहिले उत्पादकको उत्पादनले राम्रो बजार पाएको छ भने उपभोक्ताले स्वस्थ, विषादीरहित र ताजा कृषि उत्पादन उपभोग गर्न पाउनुभएको छ”, प्रमुख कडरियाले भन्नुभयो ।  कृषि एम्बुलेन्स सञ्चालनसँगै बजारका उपभोक्ताले विषादीरहित ताजा तरकारी उपभोग गर्न पाएको बताइन्छ । बाहिरबाट ल्याउँदा तरकारी क्षति हुने, प्रदूषित हुने गरेकामा अहिले एकदेखि दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आइपुग्ने अवस्था रहेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।  उहाँले भन्नुभयो, “बाहिरबाट तरकारी ल्याउँदा क्षति हुने गरेको थियो । प्रदूषितसमेत हुन्थ्यो । चिस्यान सुविधासहितको एम्बुलेन्समा राखेर ल्याउँदा तरकारी बिग्रिँदैन । एक–दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आउने गरेको छ ।” कृषि उपजमा हुने क्षति कम, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित उपज ढुवानी, बजारीकरण र बिचौलियापनको अन्त्य, किसानलाई तरकारी बजारसम्म पुर्याउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धतामा एम्बुलेन्सले सहयोग पुगेको बताइन्छ ।