गण्डकी: सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए । फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको चहलपहल रङ्गशालामा थियो । बिहानबेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन् । कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन् । वर्षा याममा रङ्गशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् । आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका– २९ स्थित यो रङ्गशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ । पोखरा रङ्गशालाको विकल्प मानिएको लेखनाथ रङ्गशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन् । आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रङ्गशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गर्नुभयो । रङ्गशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उहाँले बताउनुभयो । प्यारापिट पनि लथालिङ्ग छ । “अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।” पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रङ्गशाला बन्न नसकेको बताउँछन् । आठ वर्षअघि रङ्गशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ । बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । हालसम्म त्यसमा रु एक करोड १० लाख खर्च भइसकेको छ । आव २०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट रु ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रङ्गशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिने बताउनुभयो । खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रङ्गशाला परेको उहाँको टिप्पणी छ । “राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो । लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि वेवास्ता गरिरहेको छ”, उहाँले भन्नुभयो ।
पर्वत: उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले झण्डै ५० मिटर सडक पुरिएको छ । आइतबार बिहानदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो । निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो । पहरो खसेपछि पर्वत खण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध बनेको छ । उक्त सडक हुँदै चल्ने सवारीसाधन मोदीवेणीबाट कुश्माबजार हुुँदै जानुपर्ने अवस्था आएको मोदीवेणी संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । भिरको ठूलो भूभागबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहावलाई कुनै असर नगरेको उहाँले जानकारी दिनुभयो । कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ । गत वर्ष ट्रयाक खुलेर सवारीसाधन वारपार हुन थाले पनि सडक स्तरोन्नतिको काम भने पूरा हुनसकेको छैन । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीलाई आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनमै सडक खुलाउने तयारी छ । पहिरोका कारण बडागाउँ–कैया झोलुङ्गे पुल जोखिममा परेको छ ।
धादिङ: होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ । बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो । “उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ । जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सक्नेछ”, उहाँले भन्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार आइतबार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुगेको थियो । “फ्रिजमा राखेको खानेकुरा समेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल सञ्चालकलाई गिरफ्तार गरी ल्यायौँ”, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, “बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकाले गन्ध आएको स्वीकारसमेत गरेकाले उपभोक्ता संरक्षण ऐनबमोजिम जरिवाना तोकिएको हो ।” पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी सञ्चालन भइरहेको होटलमा धादिङ, काठमाडौं चल्ने यात्रुवाहक सवारीले यात्रुलाई खाजाखाना खुवाउँदै आएको छ । समोसा, तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटलका सञ्चालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई गिरफ्तार गरेको थियो । एक साताभित्र तोकिएको जरिवाना दाखिला गर्ने समय तोकेर पठाइएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्यसचिव एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेगराज गौतम बताउनुभयो । तोकिएको समयमा जरिवाना दाखिला नगरे कारोबार रोक्का गर्न सक्ने पनि उहाँले जानकारी दिनुभयो । जरिवानामा परेको होटललाई २०८० असोज ६ गते जिल्ला अनुगमन टोलीले होटलको भान्छा र बााहिरी सरसफाइमा ध्यान दिन, कामदारलाई अनिवार्य मास्क प्रयोग गराउन निर्देशन दिएको थियो । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको प्रमुख गौतमले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयसहित नियामक निकायले पछिल्लो समय होटल तथा पसलको अनुगमनमा कडाइ गरेको छ । यसअघि पनि तोकिएको मूल्यभन्दा बढी लिने होटल तथा पसललाई कालोबजारी गरेको कसुरमा रु एक लाखसम्म जरिवाना तिराइएको थियो ।
पोखरा: पोखरामा भएको स्कूल बस दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ । एलपी देवकोटा मेमोरियल स्कूलको बस विद्यार्थी लिएर आउँदै गर्दा दुर्घटनामा परी दुई जनाको मृत्यु र २८ जना घाइते भएपछि महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा महानगरका उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इञ्जिनीयर सरोज चालिसे सदस्य रहनुभएको छ । समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ । समितिलाई दुर्घटनाको कारण, सवारीसाधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीको सङ्ख्या, विद्यार्थी राख्न पाउने सङ्ख्यालगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताउनुभयो । यो पनि पढ्नुहोस स्कुल बस दुर्घटना अपडेट: एक बालकको मृत्यु, मृतकको सँख्या २ पुग्यो दुर्घटना अपडेट: बसमा को को थिए, कहाँ हुँदैछ उपचार ? (नामावली) पोखरा–२१ मा भएको दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उहाँका छोरा छ वर्षीय प्रिन्स विकको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो । दुर्घटनाग्रस्त बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पताल पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । महानगर प्रमुख आचार्यले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन चिकित्सकहरूलाई निर्देशन दिनुभएको छ ।
काठमाडौं: सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँले भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री गुप्ताका अनुसार बैठकले विभिन्न पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने समेत निर्णय गरेको छ । बैठकले २२ जना सचिवको सरुवाको निर्णय गरेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी तीन वटा प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो । वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको उहाँले जानकारी दिनभयो ।
काठमाडौं: साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ । दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पूर्वब्रिटिस गोरखाहरूले आफूहरूको समान ज्याला, सुविधा र व्यवहारका लागि बेलायत सरकारसँग पहल गरिदिन आग्रह गर्नुभएको छ । ब्रिटिस गोरखा सत्याग्रह संयुक्त सङ्घर्ष समिति युके नेपालको प्रतिनिधिमण्डलले आज मन्त्री डा राणासँग भेटगरी यस्तो आग्रह गरेको हो । सङ्घर्ष समितिका प्रतिनिधिहरूले सामान्यतया सिपाहीहरू जुन देशको झण्डामुनि गोलबद्ध हुन्छन् उनीहरूले सोही देशका सेना सरह नै सेवा सुविधा पाउनुपर्ने व्यवस्था रहेको भए पनि बृटिश गोरखाका हकमा त्यसो हुन नसकेको भन्दै समानताका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यस अवसरमा मन्त्री डा राणाले ब्रिटिस सरकारका पक्षमा ब्रिटिस गोरखाहरूको ठूलो योगदान र बलिदान रहेको चर्चा गर्नुहुँदै उनीहरूकै सेना सरहको सेवा र सुविधाका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त सङ्घर्ष समितिका अध्यक्ष भीमबहादुर तावा लिम्बूले ब्रिटिस गोरखाहरूले आफ्ना अधिकारका लागि करिब ३४ वर्षदेखि सङ्घर्ष गर्दै आएको स्मरण गर्नुहुँदै सन् २०१३ र सन् २०२१ मा गरिएको लामो अनशनपछि केही सुविधा दिए जस्तो देखिए पनि त्यो आफूहरूका पक्षमा नभएको बताउनुभयो । यसअघिका वार्ताहरूमा भएका सहमति कार्यान्वयन गर्न पनि उनीहरू तयार नरहेको भन्नुहुँदै उहाँले यो समस्या समाधानका लागि नेपाल सरकारले नै मन्त्रीकोे अध्यक्षतामा एक उच्चस्तरीय आयोग गठन गर्न पनि मन्त्री डा राणासँग माग गर्नुभयो । सङ्घर्ष समितिका प्रमुख सल्लाहकार एलबि घिसिङ, महासचिव एसबि घिसिङलगायतले बेलायतको पक्षमा दुई सय आठ वर्ष लामो समयदेखि लड्दै आएका गोरखालाई आफ्ना सैनिक सरहको सेवा, सुविधा दिई समान व्यवहार गर्नुपर्नेमा ब्रिटिस सरकारले उल्टै आधारभूत मानव अधिकारको पनि संरक्षण नगरेको र श्रम शोषण मात्र गरेको आरोप लगाउनुभयो । उहाँहरूले सन् २०१८ मा पनि दुवै सरकारका तर्फबाट एक संयुक्त प्रतिवेदन बनाएको भए पनि त्यसको कार्यान्वयनमा बेलायत सरकार इच्छुक नदेखिएको जानकारी गराउनुभयो ।
पोखरा: राष्ट्रिय संगीतकर्मी संघ कास्कीेको छैटौं साधारण सभा तथा तेश्रो अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा प्रकाश रसाईली, कोषाध्यक्षमा सोनिया कार्की खत्री, सह–सचिवमा नविन लामिछाने, सहकोषाध्यक्षमा सचिन भट्टराई चयन भएका छन् । यस्तै सदस्यहरुमा सुजित परियार, किसु गुरुङ्,रविन नेपाली,सूर्य बहादुर परियार, सुजन परियार, राज बराल, सिता सुवेदी,अनु विक, सागर रुम्बा सर्वसम्मत चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै सपथ खुवाउनु का साथै प्रमाणपत्र वितरण गरिएको थियो ।

