महोत्तरी: महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो । बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो ।
पाल्पा: अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । पालिकाभित्र शिक्षाबाट बञ्चितको सङ्ख्या घटाउन नीतिगतरूपमा व्यवस्था गर्न थालेको र अभिभावक गुमाएकै कारण आर्थिक बोझले विद्यालय शिक्षाबाट बञ्चित अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । अभिभावक गुमाएका तथा हराएका परिवारका सन्तानले विद्यालय शिक्षा पूरा नगरेको पाइएको छ । अभिभावक गुमाएपछि आफन्त या अरुको आश्रय लिएर बस्नुपर्ने अवस्था छ । छात्र सानै उमेरमा मजदुरी गर्न विभिन्न क्षेत्रमा पुग्ने गरेको पाइएको छ । कक्षा १२ सम्म आर्थिक अभाव भएका तथा अभिभावकविहीन परिवारका सदस्यलाई केन्द्रित गरी सहयोग गर्न खोजिएको गाउँपालिकाले जनाएको छ । पालिकामा अभिभावकविहीन बालबालिकाको तथ्याङ्क सङ्कलनसमेत गर्न थालिएको छ । आगामी आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
ताप्लेजुङ: ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
काठमाण्डौँ: नेपाल प्रहरीले संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी बस्ने २५ वर्षीय रमेश राईलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले विसं २०७८ फागुन २७ गते काठमाडौँमा हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन गरी फरार रहेका राईलाई झापाको खुदुनाबारीबाट आज पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले राईसँग हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन संलग्न झापाका ५८ वर्षीय भक्तिकुमार लिम्बू र झापाकै ४२ वर्षीय अशोक कार्की र पाँचथरका ४३ वर्षीय रमेश सुवेदीलाई यसअघि पक्राउ गरिसकेको छ । पक्राउ परेकाबाट प्रहरीले १५.६८ किलोग्राम हात्तीको दाह्रा बरामद गरिसकेको छ । राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रवक्ता महतोले बताउनुभयो ।
गण्डकी: “जम्मा हुन्छन् किसानगण यी बीज मानो छरेर देख्छन् होला मधुर सपना काम राम्रो गरेर । खन्छन् जोत्छन् जमिन सबले घामपानी सहेर हाम्रो यस्तो श्रम र पसिना फल्छ जाँदैन खेर ।।” कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’ को सम्झनामा असार शीर्षकको कवितामा भनेजस्तै नेपालमा असार महिनालाई मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिने गरिएको छ । श्रम र पसिना खर्चेर उत्पादनमा जोड दिने किसान भने समस्या नै समस्यामा अल्झिनुपर्ने विवशता यतिखेर गम्भीर चुनौतीको विषय बनेको छ । कृषिको आधुनिकीकरणको अभावमा अझै पनि निर्वाहमुखी कृषि पेशा अँगाल्नुपर्ने बाध्यताका साथै प्रत्येक वर्ष मल र बीउ नपाएर भौतारिनुपर्ने समस्याले आम किसान ग्रस्त भएकोे अगुवा किसान हरिप्रसाद आचार्य बताउनुहुन्छ । संरक्षणको अभावमा रैथाने प्रजातीका धान लोप भइसकेको र रोपाइँको समयमा कृषि मल नपाउँदा त्यसले उत्पादनमा पनि ह्रास आउने गरेको उहाँ बताउनुहुन्छ । “असारको अन्त्यसम्म आइपुग्दा रासायनिक मलको अभावले रोपिएका खेतमा पनि मल राम्रोसँग राख्न पाइएको छैन”, कुर्लिङ बराह किसान समूहका अध्यक्षसमेत रहनुभएका आचार्य भन्नुहुन्छ, “दुःख गरेर उत्पादन गर्ने काममा लागेका किसानलाई रोप्ने बेलामा मलको अभाव हुनु जटिल विषय हो, यसबारे राज्यले सोच्नु जरुरी छ ।” पछिल्ला समयमा घडेरी बनाउने नाममा धान खेत मासिँदै गएको र रोप्ने खेतमा पनि समयमा मल बीउ नपाउँदा समस्या पर्ने गरेको उहाँ बताउनुहुन्छ । पछिल्ला वर्षमा कास्की र आसपासका क्षेत्रमा लगाउने गरिएका रैथाने जातका धान लोप हुँदै गएको छ । “कास्कीको सुरौदी र आसपासका क्षेत्रमा विगतमा लगाउने गरिएको मगमग बास्ना आउने रमनी धानको बीउ अहिले पाउन सकिदैन”, कृषक आचार्य भन्नुहुन्छ, “पछिल्ला वर्षमा यहाँ पाइने ढावे गौरिया, वीरेनफूल, कृष्णबौ, चोभोजस्ता धानका बीउ हराइसकेका छन् ।” तालैतालले भरिएका कास्की जिल्लाका अधिकांश स्थानमा पाइने जङ्गली धान नाभो लोप भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । धानको अति प्राचीन प्रजाति नाभोबाटै विस्तारै अन्य धानको विकास भएको विश्वासका आधारमा यसलाई धानको जननी मानिन्छ । पछिल्ला वर्षमा रासायनिक मलको बढ्दो प्रयोगसँगै धानमा रहेका मौलिक गुण पनि हराउँदै गएको सम्बद्ध किसानको गुनासो छ । झण्डै डेढदशक अघिसम्म सुरौदी, मालमूल, कुडहर, विरौटालगायत स्थानमा फल्ने गरेका पहेँले, जेठोबुढोलगायत बास्नादार धानमा अहिले भने बास्ना आउन छोडेको उनीहरु बताउँछन् । रासायनिक मलको बढ्दो प्रयोगसँगै उत्पादन बढाउने नाममा वर्णशङ्र जातका धानको बीउ बढी प्रयोग हुनाले रैथाने जात हराउँदै गएको अर्का किसान भवानी सुवेदी बताउनुहुन्छ । स्थानीय किसानका अनुसार पछिल्ला वर्षमा गौरिया, बिरम्फूल, आँगा, रमनी, रुदुवा मार्सीजस्ता धान देखिन छोडेको छ । नयाँ जातका धानको आगमनसँगै परम्परागत रुपमा रोपिने पोखरेली मसिनो ९पहेँले०, मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेका छन् । कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेँले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायत धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् । पछिल्ला समयमा कास्कीका अधिकांश स्थानमा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंलेजस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ । रैथाने प्रजाती हराउनाका साथै कृषिमा इच्छा राख्नेले समयमा मल तथा बीउ नपाउनु पनि कृषि क्षेत्रको ठूलै समस्याका रुपमा देखापरेको छ । यस वर्ष पनि कास्कीका अधिकांश स्थानमा जेठको तेस्रो साताबाटै रोपाइँ थालिए पनि असार मसान्तसम्म पनि मलको अभाव नै रहेको किसान आचार्यको भनाइ छ । राम्रो उत्पादनका लागि मल आवश्यक भए पनि त्यसलाई सहज रुपमा पाउन नसक्दा किसान चिन्तित बनेको उहाँ बताउनुहुन्छ । विशेषतः धान रोप्ने बेलामा डिएपी र पोटासजस्ता कृषि मल भण्डारण गर्नु आवश्यक हुने पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाको भनाइ छ । उत्पादन बढाउनका लागि ती मल रोप्ने बेलामा छर्नुपर्ने भए पनि सहज रुपमा प्राप्त हुन नसक्दा किसान समस्यामा परेको उहाँ बताउनुहुन्छ ।
काठमाण्डौँ: नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी)ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई आज कलङ्कीबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले पीडितलाई राम्रो पारिश्रमिक र आकर्षक रोजगारी हुने आश्वासन देखाएर उनले रु छ लाख ठगी गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिनुभयो ।पक्राउ परेका तामाङलाई उक्त अदालतले वैदेशिक रोजगार कसूरमा छ वर्ष कैद र रु छ लाख जरिवना ठहर गरेकामा फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ पेश गरिएको उहाँले बताउनुभयो ।
काठमाण्डौँ: मालारानी गाउँपालिका–५ बागीको स्वास्थ्यचौकीमा निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरिएको छ । गाउँमै अल्ट्रासाउण्ड सेवा पाएपछि बागीका महिला खुसी भएका छन् । गर्भवतीलाई अल्ट्रासाउण्ड गर्न घण्टौँ हिँडेर सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्यचौकीमै अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको मालारानी–५ बागीका वडाध्यक्ष तिलक मिश्रले बताउनुभयो । गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रासाउण्ड अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवाले स्थानीय महिला लाभान्वित हुने वडाध्यक्ष मिश्रले बताउनुभयो । उहाँले घण्टौँ हिँडेर अल्ट्रासाउण्ड गर्न सदरमुकाम सन्धिखर्क आउनुपर्ने समस्याको समाधान गरी गाउँमै स्वास्थ्य सेवा दिन अल्ट्रासाउण्ड सेवा सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यी र यस्तै कार्यक्रमका साथ बागीलाई जिरो होम डेलिभरी वडा बनाउने अभियानमा लागेका छौँ ।” उहाँले आफूले चुनावमा घोषणा गरेअनुसार मालारानी–५ बागीका जनतालाई स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने प्रयास भइरहेको बताउनुभयो । यस्तै उहाँले गर्भवती आमा तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो । वडाध्यक्ष मिश्रले बागी तथा मालारानीको स्वास्थ्य सेवाको विकास र विस्तारमा लागिरहेको बताउनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, स्वास्थ्यचौकी बागी र गाउँपालिकाको सहकार्यमा ग्रामीण अल्ट्रासाउन्ड सेवा विस्तार भएको हो ।
काठमाण्डौँ: कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिनुभएको छ । उहाँले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो सातादेखि भित्रिने बताउनुभएको हो । जनता समाजवादी पार्टी नेपालले वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले धानबालीका लागि आवश्यक डिएपी मलको अभावबाट पाठ सिक्दै सरकारले रविबालीका लागि पहिलेदेखि नै आवश्यक रासायनिक मलको व्यवस्थामा जुटेको जानकारी दिनुभयो । उहाँले नेपाल सरकारले ओमानबाट आयात गरेको मलमध्ये ३० हजार मेट्रिक टन युरिया कृषि सामग्री कम्पनीले र २० हजार मेट्रिक टन साल्टट्रेडिङ कम्पनीले आयात गर्ने बताउनुभयो । कृषि क्षेत्रमा हाल देखिएको मल तथा उन्नतजातको बीउबिजनको समस्याप्रति नेपाल सरकार गम्भीर रहेको र ती समस्या समाधानप्रति प्रयत्नशील रहेको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भारतसँग जोडिएका सीमावर्ती नेपाली जिल्लाका किसानले भारतबाट रासायनिक मल खरिद गरी ल्याउँदा कुनै पनि प्रकारको व्यवधान खडा नगर्न प्रशासनलाई निर्देशन दिइएको बताउनुभयो ।
काठमाण्डौँ: बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडिखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो । बालकको शव आज हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहररी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिनुभयो । उहाँले बर्खाको समयमा नदी तथा खबरे खोला आसपास नजानसमेत आग्रह गर्नुभयो । उहाँले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताउनुभयो ।

