डोटी: डोटीमा महिनैपिच्छे खानेतेल, साग, तरकारीलगायत उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्यवृद्धिले विपन्न वर्गलाई बढी असर पुर्याएको छ । मूल्यवृद्धिसँगै उपभोक्ताले दैनिक आवश्यक पर्ने साग, तरकारीदेखि खानेतेलसमेत किन्न सकेका छैनन् ।यहाँका विपन्न परिवारलाई साँझ–बिहान खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको दिपायल पिपल्लाका सोनु कामीले बताउनुभयो । उहाँले भन्नुभयो, “मूल्यवृद्धिका कारण दैनिक आवश्यक पर्ने तेल, तरकारी किन्न सक्ने अवस्था पनि भएन, हामी गरिखाने वर्ग मारमा प¥यौँ ।” सोनुका अनुसार डोटीका पसलहरूमा खानेतेल, साग र तरकारीको मूल्य महिनैपिच्छे वृद्धि हुँदै गइरहेको छ । दिपायल बजारमा प्रतिलिटर खानेतेलको मूल्य रु ३६० सम्म पर्ने गरेको उपभोक्ताको गुनासो छ । यसैगरी गेलभेँडाको मूल्य बढेर अहिले रु १६० पुगेको छ । आलु प्रतिकिलो रु १००, भिन्डी रु ७०, काउली रु ९०, रायोको साग मुठाको रु ५०, लौका र फर्सी एक किलोको रु ४० देखि ५० पुगेको स्थानीयवासी दीपकबहादुर साउदले बताउनुुभयो । उहाँका अनुसार तरकारी र तेलको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका छन् । तराईका जिल्लाबाट तरकारी तथा तेल आयात गरिने भएका कारण ती क्षेत्रमा मुल्यवृद्धि भएपछि यहाँ पनि मूल्यवृद्धि भएको दिपायल पिपल्लाकी तरकारी व्यवसायी बब्ली श्रीवास्तवले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी, खानेतेल सबै तराईबाट आउँछ, उता भाउ बढेका कारण यहाँ महँगो भएको हो, हामीले आफूखुसी मूल्य बढाएका छैनौँ ।”
काठमाण्डौँ: साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । यो महिना भगवान् शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् खुसी हुनुहुने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा चहलपहल बढेसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोलबम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । विसं २०७७ र २०७८ मा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको थियो । दुई वर्ष साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न नपाएका भक्तजन यस वर्ष भने चन्द्रामासअनुसार साउन लागेदेखि नै पशुपति क्षेत्रमा धाउन थालेका छन चान्द्रमास अनुसार यस वर्ष असार ३० गतेदेखि श्रावण शुक्ल प्रतिपदा सुरु भएको हो । साउन महिनामा तीजमा जत्तिकै भक्तजन आउने भएकाले सहज रुपमा दर्शनको व्यवस्था मिलाइएको पनि प्रवक्ता अधिकारीले बताउनुभयो । कोष सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा साउने मेला व्यवस्थापन समिति बनाइएको छ । यसैगरी कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा कार्यान्वयन समिति पनि गठन गरिएको छ । कार्यान्वयन समितिमा कोषका विभागीय प्रमुखलाई सदस्य राखिएको छ । पशुपति क्षेत्रमा जुत्ताचप्पल व्यवस्थापन, स्वयंसेवा, सुरक्षा व्यवस्था, चन्दन वितरणलगायत सेवा दिइने कोषले जनाएको छ । उक्त स्थानमा साउन महिनाको सोमबार विशेष भीड लाग्ने गर्छ । यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेको छ । पाँच वटा सोमबार पर्नुलाई राम्रो भन्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको धेरै भीड लाग्ने गर्छ । धार्मिक संस्थाहरुको आयोजनामा यस वर्ष साउन महिनाको अवसर पारेर अतिरुद्रांभिषेक महायज्ञसमेत आयोजना गरिएको कोषले जनाएको छ । भगवान् शिवलाई छिटो खुसी पार्न सकिने भएकाले आशुतोष नामले पनि पुकारिन्छ । भगवान् शिवलाई खुुसी पार्न शुद्ध जलमात्र चढाएपनि हुन्छ भन्ने धार्मिक मान्यता छ । यसै मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष साउनमा एकपटक अनिवार्य रुपमा रुद्राभिषेक गर्ने गरेका छन् । साउन महिनाको तयारीका लागि कोषले सफाइ कर्मचारीलाई तालिम दिएको छ । करिब १०० जना कर्मचारी पशुपति क्षेत्रको सफाइमा खटाइएको कोषले जनाएको छ ।
काठमाण्डौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय समाचार समिति (रासस)को श्रव्यदृष्य (भिडियो) सेवाको आज शुभारम्भ गर्नुभएको छ । रासस केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोमा रिबन काटेर मन्त्री कार्कीले सो स्टुडियो र सेवा शुभारम्भ गर्नुभएको हो । विसं २०१८ फागुन ७ गतेदेखि राज्यको एकमात्र समाचार समितिका रुपमा अविच्छिन्नरुपमा सेवारत राससको श्रव्यदृष्य सेवा शुभारम्भका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री कार्की र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले शुभकामना सन्देश दिइ रासस दक्षिण एसियाकै उत्कृष्ट समाचार संस्थाका रुपमा विकास हुन सकोस् भनी कामना गर्नुभएको छ । मुलुकमा टेलिभिजनको संख्यात्मक वृद्धि र अनलाइन सञ्चारमाध्यमले पनि च्यानल सञ्चालनको क्रम बढाएसँगै रासस श्रव्यदृष्य सेवाको माग र सान्दर्भिकता देखिएको हो । विगतमा राससले नेपालगञ्ज, विराटनगर, पोखरा र काठमाडौँबाट समाचारसँगै श्रव्यदृष्य सामग्री नेपाल टेलिभिजनलाई उपलब्ध गराएको थियो । त्यसबेला राससले श्रव्यदृष्य सेवालाई प्रविधिसम्पन्न बनाउन नसक्दा उक्त सेवा बन्द भएको थियो ।
काठमाण्डौँ: सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रङ्गीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात प्रतिबन्धलाई निरन्तरता दिएकोे हो । यसअघि देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड (ञ) अनुसार प्रतिबन्ध लगाइएको जनाएको छ । यसअघि ६०० अमेरिकी डलरभन्दा महँगा फोन आयातमा रोक लगाइएकामा त्यसलाई खुकुलो बनाउँदै ३०० अमेरिकी डलरभन्दा माथिका फोन आयातमा रोक लगाइएको छ । यसैगरी यसअघि २५० सिसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएकामा त्यसलाई कडाइ गर्दै १५० सिसीमाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएको हो ।
काठमाण्डौँ|: राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका सेवालाई थप प्रभावकारी बनाई सेवामा विविधिकरण गर्ने सन्दर्भमा श्रव्य दृश्य (भिडियो) सेवा सुरु गरिएको बताउनुभएको छ । राससले आजदेखि सुरु गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना सन्देशमा अध्यक्ष झाले भन्नुभयो, “हाम्रा सेवाहरू देशभित्र र देश बाहिरका सञ्चारमाध्यमले समेत उपयोग गर्दै आइरहेका छन्, समय र प्रविधिको विकासँगै हामीले हाम्रा सेवाहरूलाई पनि परिस्कृत गर्दै लैजानुपर्छ, राससको स्थापनाको छ दशकपछि भिडियो सेवा सुरु गर्दैछौँ, सबैको सुझाव र सहयोगको अपेक्षा राखेका छौँ ।” उहाँले विश्वका समाचार एजेन्सीहरूसँग राससले पनि सँगसँगै हिँड्नुपर्ने आजको आवश्यकता रहेको बताउँदै रासस नेपालको मात्रै नभई विश्वका समाचार संस्थासँग पनि सहकार्य गर्दै आएको जानकारी दिनुभयो । “राससलाई जनताको सूचनाको संवाहक बनाउन आम दर्शक, स्रोताको महत्वपूर्ण भूमिका हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु”, अध्यक्ष झाले भन्नुभयो । उहाँले राससले आफ्ना सेवाहरूलाई विविधिकरण गर्दै लैजाने क्रममा श्रव्य दृश्य सेवाको पनि सुरुआत गर्न लागेकामा राससका समग्र पत्रकार एवं कर्मचारी र समग्र सेवाग्राहीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो ।
काठमाण्डौँ: राष्ट्रिय समाचार समिति(रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए । कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् । पौडेल शुक्रबार राति नै पक्राउ परेका हुन् । उनीहरुलाई कानुनअनुसार कारबाही गर्ने गरी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । कार्यालय परिसरभित्रै मदिरा सेवन गरेर बसेका कर्मचारीले समाचारदाता आचार्यलाई कुटपिट गरी दुव्र्यवहार गरेका थिए । उहाँको हातमा चोट लागेको छ भने कपडासमेत च्यातिदिएका थिए । समूह नै मिलेर कुट्न थालेपछि बन्द भएको गेट नाघेर ज्यान जोगाउन बाध्य भएको उहाँले बताउनुभयो । समाचारदाता आचार्यलाई ती कर्मचारीले कार्यलय परिसरभन्दा केही पर रहेको चितवन पोष्ट दैनिकको कार्यालयसम्म लखेट्दै लगेका थिए । उहाँलाई कर्मचारीले कुटपिट गरेपछि दुईवटा मोबाइल पनि नियन्त्रणमा लिएका थिए ।
काठमाडौँ: काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को गोदामघरमा आगलागी भएको चार दिन बित्यो । तर आगलागीका कारण र क्षतिका विवरण यकिन हुन सकेको छैन । आगलागी बुधबार दिउँसो भएको थियो । बुधबार आगलागी नियन्त्रणमा आएको पनि थियो तर बिहीबार फेरि सोही स्थानमा आगलागी भएको थियो । समाज कल्याण परिषद् स्थापना हुँदा अर्थात् २०४३ देखिका महत्वपूर्ण दस्तावेज, विभिन्न दातृनिकायसँग गरिएका सम्झौता र समझदारीका फाइल, विभिन्न ऐतिहासिक मठमन्दिरमा भएका सुन–चाँदीका गरगहनाका विवरणयुक्त कागजात र ऐतिहासिक पुस्तक र फर्निचर जलेर नष्ट भएका छन् । त्यस्ता वस्तुका क्षतिलाई मूल्यमा आँकलन गर्नै नसकिने सरोकारवालाहरू बताउँछन् । ती दस्तावेज लैनचौरस्थित परिषद्को कार्यालय उपराष्ट्रपतिको कार्यालय र निवासका लागि लिइएपछि परिषद्को कार्यालय ललितपुरको पुल्चोकस्थित पुरानो बालपरिषद्को साँघुरो स्थानमा सार्नुपरेको थियो । २०७५ मङ्सिरमा परिषद्को कार्यालय त्यहाँ सार्दा सबै दस्तावेज त्यहाँ राख्ने ठाउँ नभएपछि ‘केही समयका लागि’ भनेर भृकुटीमण्डपको सोही गोदाममा राखिएको थियो । ‘केही समयका लागि’ भनेर तत्कालीन व्यवस्थापन गरिएका दस्तावेज तीन वर्षभन्दा बढी समय पनि स्थायी रूपमा सुरक्षित व्यवस्थापन भएन । जसकारण आगलागी हुँदा ती ज्यादै महत्वपूर्ण दस्तावेज जलेर नष्ट भए । तर कति के–के जलेर नष्ट भए भन्ने यकिन छैन । समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्ट आगलागीबाट भएको क्षतिको विस्तृृत विवरण सङ्कलन भइरहेको बताउनुहुन्छ । परिषद्मा दरबन्दीभन्दा करिब आधामात्र जनशक्ति रहेको भन्दै उहाँले परिषद्सँग जोडिएका विभिन्न सङ्घ संस्थाका कागजातसमेत भिडाएर यकिन गर्नुपर्ने भएकाले केही बढी समय लागेको बताउनुभयो । उहाँले आफूहरू त्यसको मुचुल्का बनाएर विस्तृत विवरण तयार पार्नेक्रममा रहेको र केही दिनमै सार्वजनिक गर्ने बताउनुभयो । आगलागी भएको चार दिन बित्दा पनि के–कति क्षति भएको भनेर मुचुल्कासमेत तयार हुन नसक्दा अगालागीका कारण खोजी गर्ने कार्यमा पनि ढिलाइ भएको छ । कुनै विद्युतीय लाइन नजोडिएको गोदामघरमा मध्यबर्खाको समयमा भएको आगलागी कतै सुनियोजित त होइन भन्ने शङ्का पनि गर्न थालिएको छ । प्रहरी प्रशासनले पनि मुचुल्का नउठेका कारण त्यसमा कुनै किसिमको छानबिन अगाडि बढाएको छैन । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले क्षतिका विवरण परिषद्ले नै यकिन गर्न नसकेकाले मुचुल्का बनाउने र थप छानबिन गर्ने कार्य नभएको बताउनुभयो । आगलागी कतै सुनियोजित त होइन भन्ने प्रश्नमा सदस्य–सचिव भट्ट भन्नुहुन्छ, “आगलागी भइसकेपछि यस्ता शङ्का स्वाभाविक हुन् । दस्तावेज नष्ट हुँदा कसलाई के फाइदा हुन सक्छ भन्ने विषयमा हामी पनि अनुसन्धान गरिरहेका छौँ ।” बुधबार नियन्त्रणमा आएको भनिएको आगो बिहीबार फेरि फैलेको कुरालाई पनि शङ्काका रूपमा हेरिएको छ । आगलागी हुँदा परिषद्का दस्तावेजमात्र होइन, त्यही गोदाममा राखिएका राष्ट्रिय अपाङ्ग कोषका अरू सामग्री पनि जलेर नष्ट भएका छन् । तिनमा कोषलाई विभिन्न दातृनिकायले सहयोगस्वरूप उपलब्ध गराएका अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्न राखिएका ह्विलचेयर, वाकर, कृत्रिम हात–खुट्टा, बेल्ट, सेतो छडीलगायतका अपाङ्गता सहयोगी सामग्री छन् । कोषका सभापति बेकराज भट्टराईका अनुसार कोषले त्यहाँ भण्डारण गरेका करिब पाँच लाख मूल्यबराबरका सामग्री जलेर नष्ट भएका छन् ।
खोटाङ: दिक्तेलमा आयोजित १३औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले आयोजना गरेको प्रतियोगितामा १३ स्वर्ण, १० रजत र १३ कास्य पदकसहित दिक्तेल डोजोले प्रथम भएको हो । जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा छ स्वर्ण, आठ रजत र १५ कास्यसहित हलेसी डोजो दोस्रो भएको छ । यस्तै तीन स्वर्ण, तीन रतज र १६ कास्य पदकसहित जालपा डोजोले तेस्रो स्थान प्राप्त गरेको सङ्घका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो । कूल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगिताका वितेजालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतिस्पर्धामा पुरुषतर्फ हलेसी डोजोका युनिस राई र महिलातर्फ दिक्तेल डोजोकी परिना राईले बेष्ट फाइटरको उपाधि जितेका छन् । अनुशासित टिमको उपाधि हलेसी डोजोले हात पारेका छन् । वर्ष अनुशासित खेलाडी २०७८ को उपाधि भने दिक्तेल डोजोकी श्रेया राईले पाएकी छन् । उनीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी विचारी तामाङ संयोजकत्वको टिमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको थियो । कोभिड–१९ को महामारीका कारण एक वर्ष रोकिएको जिल्लास्तरीय प्रतियोगिता यसपल्ट आयोजना गरिएको आयोजकले जनाएको छ । विसं २०७७ चैतमा १२औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगिता आयोजना गरिएको थियो ।
काठमाण्डौँ: दिनचाहिँ साउने सङ्क्रान्तिको भए पनि पानीझरी छैन । पानी नपर्दा दुई सातायता धान रोपाइँ बढाउन नसकेका किसान साउने सङ्क्रान्ति पर्वको संस्कृति थेग्न आज ‘लुतो फाल्ने’ तयारीमा छन् । खासगरी युवापुस्ता पर्वविशेषको सो चलनलाई रमाइलो बनाउन आज एकाबिहानैदेखि चहलपहलमा देखिन्छन् । जिल्लाको उत्तरवत्र्ती क्षेत्रका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास बाहुल्यताका बस्तीमा साउने सङ्क्रान्ति परम्परालाई उल्लासमय बनाउन युवायुवती तयारीमा लागेका देखिँदा छन् । खासगरी पर्वते मूलका नेपाली हिन्दू परम्परामा मनाइने यो पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ । सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि आज एकाबिहानै बस्ती–बस्तीबाट युवायुवतीको समूह ती वनस्पतिको खोजमा वन क्षेत्र पसेका छन् । पहाडी मूलका हिन्दू परम्पराको पर्व भए पनि लुतो फाल्ने वनस्पति लिन जङ्गल जाने समूहमा तराईकै मूल बासिन्दा कोइरी, यादव, लोहार, बिन, हजाम, पासवानसहितका जाति समुदाय र फरक धर्म परम्पराका इस्लाम धर्मावलम्बी युवा पनि सरिक देखिएका छन् । एक ठाउँमा बस्दा आपसी सद्भाव अभिवृद्धिमा सांस्कृतिक घुलमिलले सजिलो बनाउने हुँदा आफूहरु लुतो फाल्ने पर्व मनाउने साथीहरूसँगै रमाइलोमा मिसिएको भङ्गाहा–४ का बासिन्दा २० वर्षीय इस्लाम धर्मावलम्बी युवा अमिरुल राइन बताउनुहुन्छ । “समूहमा एकसाथ हिँड्दा रमाइलो लाग्छ, फेरि हाम्रा पुराना परम्परा जगाइराख्ने पनि त भयो”, बर्दिबास–७ मनहरिपुरकी २२ वर्षीया मीना खत्री भन्नुहुन्छ, “बस्तीका एक उमेरका साथीबीचको हेलमेलले संस्कृति थेग्ने कुरामात्र नभई सामाजिक काम पनि सहज बन्छन् ।” आफ्ना बस्तीमा नयाँ युवापुस्तामा हेलमेल र अपनत्व बढेको देख्दा पुराना बाबु पुस्ताका अभिभावक पनि खुसी देखिएका छन् । तराईमा मनाइने छठ, चौरचन र जुडशीतललगायतका पर्व र इस्लाम धर्मावलम्बीका इद, बकरइद र मुहर्रमजस्ता पर्वमा पहाडी मूलका युवाको र पहाडी मूलका तराईका बासिन्दाले मनाउने पर्वहरूमा मधेसी र इस्लाम युवायुवतीको हुने सरिकताले चाडबाड थप रमाइलो हुने र आपसी सहकार्य बढ्ने भङ्गाहा–४ का सामाजिक, राजनीतिक कार्यकर्ता गङ्गाराम महतो बताउनुहुन्छ । “हामी उमेरदारी तन्नेरी हुँदा ‘लुतो फाल्ने’ चलन त्यति थिएन, पहाडी मूलका हिन्दूको बसोबास बढेपछि थाहा पायौँ”, उहाँ भन्नुहुन्छ, “अहिले हाम्रा छोरा पुस्ता सँगसँगै यो पर्व मनाउँदै छन्, सबै एकसाथ मिलेको देख्दा खुसी लाग्छ ।” जिल्लाको उत्तरी भेगका पहाडी र मधेसी मूलका छ्यासमिस बस्तीमा एकअर्काका सांस्कृतिक पर्वहरू अब सबैका साझा बन्दै गरेका देखिन्छन् । फरक–फरक सांस्कृतिक परम्पराका नयाँ पुस्तामा देखिएको घुलमिल र हिमछिमले पुराना राजनीतिक आग्रह र पहाडी मधेसी भनेर हेर्ने, सोच्ने दृष्टिकोण हराउँदै, मेटिँदै जाँदा खुसी लाग्ने गरेको बर्दिबास–९ पशुपतिनगरका पाका व्यक्तित्व ७० वर्षीय रामचन्द्र महतोको धारणा छ । पर्वका अवसरमा आज जिल्लाको सुदूर उत्तरी क्षेत्रको सघन वनक्षेत्रमा विभिन्न ठाउँका युवाको समूह ‘लुतो फाल्ने’ पर्व प्रयोजनका वनस्पति खोज्न व्यस्त छन् । साँझमा ‘लुतो फाल्ने’ विधिको परम्परा अति नै रमाइलो लाग्ने हुँदा पर्वते मूलका साथीसँगै मिसिएर आफु पनि वनस्पति खोज्न आएको वन क्षेत्रमा भेटिएका गौशाला नगरपालिका–१ का १७ वर्षीय किशोर पङ्कज साह बताउनुहुन्छ । जिल्लाको उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन धेरैजसो खिर खाने चलन छ । जिल्लाको उत्तरी क्षेत्रमा सघन बसोबास रहेका मगर जातिले त साउने सङ्क्रान्ति पर्व विशेषरूपमै मनाउने गरेका छन् । मगर जातिमा यस पर्वका दिन विवाह गरिएका छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जीलाई बोलाएर ख्वाउने परम्परा छ । बिहानदेखि साँझसम्म विभिन्न परिकार खाने–खुवाउने गरिएपछि साँझमा भने बस्तीकै युवायुवती भेला भएर हल्लीखल्ली गर्दै ‘लुतो फाल्ने’ पर्व मनाउँछन् । फरक–फरक परम्परा, संस्कृति र रीतिथितिका भए पनि एक ठाउँमा बस्ने युवा र किशोरवयका छोराछोरीको आपसी घुलमिल देख्दा बाबु, काका पनि मख्ख देखिन्छन् । “यहाँ मधेसी हउन् कि पहाडी मूलका हुन्, अनि हिन्दू हउन् कि इस्लाम, सबै सँगसँगै चाडवाड मनाउँछन्”, भङ्गाहा–४ कै इस्लाम धर्मावलम्बी ५० वर्षीय सहबुल अन्सारी भन्नुहुन्छ , “आफ्नो बस्तीका पछिल्ला पुस्ताका युवा र किशोरबीचको प्रेम र आपसी हेलमेल देख्दा मन प्रशन्न हुन्छ ।” पर्व मनाउने नेपाली परम्परा अति नै सहिष्णु र सहकार्यमा आधारित भएको बुद्धिजीवीको ठहर छ । फरक–फरक धर्म, संस्कृति र परम्पराका भए पनि एकअर्काका पर्वमा उत्तिकै रमाएर सरिक हुने नेपाली समाजको सहकार्य संस्कृति नमूना नै रहेको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोबहादुर ठकुरी बताउनुहुन्छ ।

