हेटौंडा: मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले आज तोडफोड गरेका छन् । आफूहरुलाई खानतलासी गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले तोडफोड गरेका हुन् । अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ ।
विराटनगर: विराटनगरको रोडशेष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट उद्धार गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले मंगलबार राति भारतबाट अपहरित बालिकालाई उद्धार गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार बालिकाको उद्धार गरिएको र विस्तृत विवरण सार्वजकि गर्न दिउँसो २ बजे पत्रकार सम्मेलन राखिएको बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
काठमाण्डौँ: पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ । आज बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । राजमार्ग सञ्चालन भएपछि मुग्लिनतर्फ पोखरा आउँदै गरेका र डुम्रेतर्फबाट चितवन र काठमाण्डौँ जाँदै गरेका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरा खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।
सिरहा: सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रु १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । सो अवधिमा रु १० करोड ५१ लाखको डिएपी र रु सात करोड ८१ लाखको युरिया बिक्री गरेको छ । आव २०७८/७९ मा ६ हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मल बिक्री गर्ने लक्ष्य रहेकामा चार हजार ९५४ मेट्रिक टन युरिया र दुई हजार ३५५ मेट्रिक टन डिएपी मात्र आपूर्ति भएको कार्यालय प्रमुख दीपराज पौडेलले जानकारी दिनुभयो । गत आवमा युरिया चार हजार ९५४ मेट्रिक टन र डिएपी दुई हजार ३४८ मेट्रिक टन बिक्री भएको प्रमुख पौडेलले बताउनुभयो । यसअघि आव २०७७/७८ मा कृषि सामग्री कम्पनी लहानले रु १९ करोड ६५ लाख ६३ हजारको रासायनिक मल बिक्री गरेको थियो । अघिल्लो आवको भन्दा आव २०७८÷७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएको थियो । यसरी बर्सेनि रासायनिक मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएकाले समस्या भइरहेको प्रमुख पौडेलको भनाइ छ । प्रमुख पौडेलका अनुसार सिरहामा साउनमा मात्र ३० हजार बोरा युरिया मल आवश्यक भएकामा हाल एक बोरा पनि युरिया मौज्दात छैन । डिएपी मल ६ मेट्रिक टन मात्र मौज्दात छ । मल नहुँदा दैनिक किसान रित्तो हात फर्किन बाध्य रहेको प्रमुख पौडेलले बताउनुभयो । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आउने आश्वासन पाएको र आए लगत्तै कोटा निर्धारण गरी स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरमार्फत किसानलाई मल वितरण गरिने कार्यालयले जनाएको छ । बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरलाई मलखाद्य वितरण गर्दै आएको प्रमुख पौडल बताउनुहुन्छ । सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्टट्रेडिङले गाउँ–गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्रीवितरण गर्दै आएको छ । धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमानाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडलले बताउनुभयो । डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक–पटक पत्राचार गरे पनि बर्सेनि घट्दै गएकाले समस्यामा परेको प्रमुख पौडेलको भनाइ छ । यसरी डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलको समस्या भइरहेको नेपाल कृषक महासङ्घ मधेस प्रदेशका अध्यक्ष मुक्ति यादवले बताउनुभयो । मागअनुसार मलको आपूर्ति नहँुदा बर्सेनि किसान मलका लागि भौँतारिने गेका छन् । कुल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये सिरहामा यस वर्ष करिब ५५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठले बताउनुभयो । यस वर्ष समयमा वर्षा नभएकाले एकातिर धान रोपाइँ कम भएको र अर्कातिर सहजरूपमा मल उपलब्ध नहुँदा किसान मारमा परेको उहाँको भनाइ छ ।
नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो । सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउन आर्थिक वर्ष २०७८/७९ को बजेटबाट नगरपालिकाले प्रतिबस रु १८ लाख अनुदान दिएको छ । विद्यालयको लागत रु पाँच लाख मात्र रहेको छ । “हामीले नगरपालिकाको करिब ८० प्रतिशत अनुदानमा सामुदायिक विद्यालयलाई बस प्रदान गरेका छौँ”, पाण्डेले भन्नुभयो, “बसमा विद्यालयको लागत अनिवार्य गरेका छौँ ।” नगरपालिकाले मध्यविन्दु–३ को जनता मावि, मध्यविन्दु–११ को वीरेन्द्र मावि, मध्यविन्दु–१२ को यादव मावि, मध्यविन्दु–१३ को सरस्वती मावि र मध्यविन्दु–१५ को ज्ञानोदय माविलाई अनुदानमा बस प्रदान गरेको हो । नगरपालिकाले हालसम्म नगरका १० सामुदायिक माध्यमिक विद्यालयलाई बस प्रदान गरिसकेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाभित्र १३ वडामा १३ सामुदायिक माध्यमिक विद्यालय छन् । वडा नं ९ को नेपाल लोकसेवा माविलाई भने स्थानीय सामुदायिक वनले सहयोग गरेर बस प्रदान गरेको छ । पन्ध्र वडा रहेको मध्यविन्दुको वडा नं १ र ५ मा सामुदायिक माध्यमिक विद्यालय छैनन् । विद्यालय यातायात व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत नगरभित्रका सामुदायिक माविलाई बस उपलब्ध गराइएको हो ।
पोखरा: कान्तिपुर डेण्टल हस्पिटलले बोल बम तथा शिव महिमाको सन्दर्भमा साउन महिना भरका लागि छुट कार्यक्रम घोषणा गरेको छ । मुख तथा दन्त स्वास्थ्य उपचारका लागि ३ कान्तिपुर डेण्टल हस्पिटलमा आउने सम्पूर्ण महिलाहरुको लागि टिकद दर्ता, डाइग्नोसिस र विशेषज्ञ परामर्श सेवा निशुल्क गरिने घोषणा गरेको जनाएको छ । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले साउन महिना महिलाहरुले मान्ने विशेष पर्व महिना भएकाले महिलाहरुको लागि निशुल्क उपचार कार्यक्रम ल्याइएको बताए। कान्तिपुर डेण्टल हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै महिलाहरु मात्रको हितमा यो कार्यक्रम ल्याइएको दाबी गरेको छ । टिकट देखि परामर्श सेवा समेत निशुल्क लिएर मुख तथा दन्त स्वास्थ्य सम्बन्धी लाभ लिन हस्पिटलले आग्रह गरेको छ ।
पोखरा: पोखरा ३३ मा अनधिकृत रुपमा कब्जा गरि बनाइएका २६ छाप्रा हटाइयो, अन्यत्रपनि क्रमस हटाइने पोखरा पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अबैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए । मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ति छाप्रा भत्काइएको उनले बताए । उनका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा भत्काइएको हो । पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरुप ति छाप्रा भत्काइएको उनले बताएका छन् । अन्यत्र पनि यस्ता अनधिकृत रुपमा निर्माण गरिएका संरचना क्रमस भत्काउँदै लागिने उनले बताए । सर्वजनिक जमिन कब्जा गरि विभिन्न स्थानमा आफूखुसी संरचना निर्माण गरिएका कतै पाइए महानगरमा जानकारी गराउन समेत शर्माले महानगरवासीलाई आग्रह गरेका छन् । सर्वजनिक जमिनमा टहरा वा अन्य संरचना निर्माण गरेकाहरुले आँफै यस्ता संरचना हटाउन आग्रह गर्दै उनले नभए कानुन बमोजिम क्षेतिपूर्ति तिराएर महानगर आँफैले यस्ता संरचना हटाउने बताए । ‘अनधिकृत रुपमा जग्गा कब्जागरि निर्माण गरिएका २६ छाप्रा भत्काएका छौं । पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षणको अभियान यहीँबाट सुरु भएको छ । महानगरका अन्यत्रपनि यसरी निर्माण गरिएका संरचना क्रमस हटाइने छ’ उनले भने, ‘यसमा मेयर सापको खास इनिसियसन छ । यो वा त्यो समूह, संस्था वा व्यक्तिका नाममा सर्वजनिक संरचना निर्माण गर्न महानगरले दिनेछैन । यसरी बनाइएका संरचना कानुन बमोजिम त्यसको क्षतिपूर्ति भराएर महानगर आफैले भत्काउने छ । नगर प्रहरी नायव निरीक्षक पुरुषोतम थापाका अनुसार जिल्ला प्रशासन कार्यालयको सहयोगमा नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय डाँडाको नाक र सशस्त्र प्रहरीको सहकार्य महानगरले पोखरा ३३ मा सार्वजनिक जग्गा कब्जा गरि अबैध रुपमा निर्माण गरिएका संरचना हटाइएको हो ।
पोखरा: गण्डकी प्रदेशले आगामी साउन ६ देखि ८ गतेसम्म आयोजना गर्ने ‘वृत्ति परामर्श तथा रोजगार मेला’को तयारी पुरा भएको छ । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशले आयोजना गर्न लागेको रोजगार मेलाको सम्पूर्ण तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो । ‘समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार’ भन्ने मूल नाराका साथ प्रर्दशनी केन्द्र नयाँबजारमा ३ दिनसम्म सञ्चालन हुने मेलामा १० हजार बढीले अवलोकन गर्ने मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले मेलामा प्रदेशस्तरीय ठूला उद्योगी, व्यवसायी एवं रोजगारदाताहरु, घरेलु तथा साना उद्योगीहरु, पेशा एवम् व्यवसायसँग सम्बन्धित संस्थाका प्रमुख, प्रतिनिधिहरु बैङ्क तथा वित्तिय संस्थाहरुले रोजगारका अवसरका बारेमा जानकारी एवम् रोजगारीका लागि सहजीकरण गर्ने बताए । उनका अनुसार मेलामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदायक शैक्षिक संस्थाहरु, प्राविधिक धार सञ्चालित विद्यालयहरु, ईन्स्योर परियोजनाको सहयोगी संस्था अन्तरङ्ग र अन्य संघ संस्थामा आवद्ध विज्ञहरुबाट वृृत्ति विकासका बारेमा अवलोकनकर्ताहरुलाई परामर्श सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । जागिर खोज्ने र कर्मचारी रोज्ने एप सार्वजनिक सामाजिक विकास मन्त्रालयले ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइएस्) नामक एप्लिकेसन सार्वजनिक गरेको छ । उक्त एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्नसक्ने मन्त्री श्रेष्ठले बताए । उनका अनुसार सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको छ । उनले उक्त एफ जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने विश्वास व्यक्त गरे । विद्यार्थीहरु अन्यौलमा छन्: मन्त्री श्रेष्ठ गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले अहिले विद्यार्थीहरु एसईई र कक्षा १२ पछि कुन विषय अध्ययन गर्ने भनेर अनविज्ञ भएको बताए । ‘विद्यार्थीहरु एसईई र कक्षाको परिक्षा पछि कुनकुन विषय अध्ययन पछि आफुले रोजेको विषयमा दक्ष हुन सकिन्छ भनेर निर्णय लिन नसकेको अवस्थालाई मध्यनजर गर्दै रोजगारको मेलाको आयोजना गरेको हो ।’ उनले भने । मन्त्री श्रेष्ठका अनुसार मेला अवधिभर सहभागीहरुले रोजगारीका सम्भावित क्षेत्रहरुका बारेमा जानकारी हासिल गर्नेछन् । ‘प्रविधिक शिक्षा र व्यवसायिक सीप हाँसिल गर्न चाहने विद्यार्थी र तिनका अभिभावकका लागि प्रदेशमा प्राविधिक शिक्षा अध्ययन गर्न सकिने र अध्ययनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्वन्धमा जानकारी र स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउन सहजीकरण गर्नेछौं ।’ मन्त्री श्रेष्ठले भने । सो मेलालाई स्वीस सरकारको द्वीपक्षिय सहयोग, नेपाल व्यवसायिक योग्यता परियोजनाको प्राविधिक सहयोग, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान (जिटिइभिटीए), प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारदाताहरु र राइट फर चिल्ड्रेनको समन्वयमा कार्यक्रम आयोजना हुनेछ ।
काठमाण्डौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गाडी छोडेर विद्युतीय माइक्रोबसमा यात्रा गरेका छन । एमाले अध्यक्ष ओली सुन्दर यातायात प्रालीले सञ्चालनमा ल्याएको विद्युतीय माइक्रोबसमा भक्तपुरको बालकोट देखि ललितपुरको च्यासलमा रहेको पार्टी कार्यालयसम्म पुगेका हुन । सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लागेका ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबस देखेपछि आफ्नो गाडी छाडेर सुन्दर यातायातको माइक्रोबस चडेका हुन । एमाले अध्यक्ष ओली युवा संघका नेतालाई साथमा लिएर च्यासल पुगेका हुन । ओलीका अंगरक्षक माइक्रो बसमै बसे भने स्कर्टिङ गाडी पछि पछि लाग्यो । काठमाडौं देखि सिन्धुली हुँदै धनुषा रुटमा चल्ने माइक्रोबसमा सवार गरेर पार्टी कार्यालय पुगेका ओलीले वातावरण संरक्षण र पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सार्वजनिक यातायात आवश्यक रहेको बताएका छन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस अघि पनि बुटवल भैरहवा रुटमा सुन्दर यातायात प्रालिले सञ्चालनमा ल्याएको विधुतिय बसमा सवार गरेका थिए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएकै बेला नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक यातायात नेपालमा सञ्भालनमा ल्याइएको थियो ।

