काठमाडौँ: चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मृत्यु भएको निकुञ्जले जनाएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विसं २०७८ साउन १ देखि २०७९ असार ३२ सम्म मरेका जनावरमध्ये चित्तल प्रजातिका जनावर सबैभन्दा बढी रहेका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार गत वर्ष ८६ वटा चित्तलको मृत्यु भएको छ । मृत्यु भएका चित्तलमध्ये कुकुरको आक्रमणबाट ५२, प्राकृतिक कारणबाट १५, तारजालीमा परेर १४, सडक दुर्घटनामा चार र एउटा चित्तलको मृत्युको कारण नखुलेको तिवारीले बताउनुभयो । त्यस्तै गत वर्ष ३७ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये ३३ वटा प्राकृतिक कारण, दुई वटा चोरी सिकारी, एउटा खाडलमा परेर तथा एउटा गैँडाको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीको भनाइ छ । त्यस्तै गत वर्ष अर्ना, जरायो र बँदेल १०/१० वटा मरेका छन् । दशवटै अर्ना, सातवटा जरायो र आठवटा बँदेल प्राकृतिक कारणबाट मरेका थिए । त्यस्तै एक÷एकवटा जरायो र बँदेल तारजालीमा परेर, एउटा जरायो सडक दुर्घटना तथा एउटा जरायो कुकुरको टोकाइबाट मरेको थियो भने एउटा बँदेलको मृत्युको कारण खुलेको छैन । यसैगरी सोही वर्ष छवटा बाघ, पाँचवटा रतुवा, पाँचवटा लगुना, चारवटा घडियाल गोही, तीनवटा भुँडीफोर गरुड, तीनवटा निर बिरालो तथा तीनवटा मगर गोहीको मृत्यु भएको छ । अधिकांश जनावरको मृत्यु प्राकृतिक कारणबाट भएको भए पनि केहीको सडक दुर्घटना तथा केहीको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । त्यस्तै हात्ती, सर्प, अजिङ्गर, निलगाई, चखेवा तथा बाँदर दुई/दुईवटा मरेका तिवारीले बताउनुभयो । निकुञ्जमा गत आवमा भालु, चितुवा, गिद्ध, मयुर, दुम्सी, पानी हाँस, गोहोरो, मलाहा बिरालो, गौरीगाई, कछुवा तथा बकुल्ला एक÷एकवटा मरेका छन् । गत वर्ष प्रकृतिक कारणबाट ११४ वटा, कुकुरको आक्रमणबाट ५९ वटा, तारजालीमा परेर १६ वटा, सडक दुर्घटनाबाट ११ वटा, चोरी सिकारीबाट दुईवटा, खाडलमा परेर एउटा जनावरको मृत्यु भएको छ भने १२ वटा जनावरको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष नै वन क्षेत्र र मध्यवर्ती क्षेत्रका विभिन्न स्थानबाट २२२ वटा जनावरको उद्धार गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार गत वर्ष १५४ वटा अजिङ्गर १४ वटा चित्तल, नौवटा मगर गोही, आठवटा कछुवा, सातवटा बाघ, तथा एउटा राज गोमन (किङ कोब्रा)सहित सातवटा सर्पको उद्धार गरिएको छ । त्यस्तै चारवटा लगुना, तीनवटा गैँडा, तीनवटा निरबिरालो, दुईवटा निलगाई, दुईवटा चिल र दुईवटा रतुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । निकुञ्जले गत वर्ष नै एक–एक वटा चितुवाको बच्चा, गिद्ध, जरायो, लाटोकसेरो, भुँडीफोर गरुड, बँदेल र मयुरको उद्धार गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लाको ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यस्तै यस निकुञ्जको मध्यवर्ती क्षेत्र यी पाँचवटै जिल्लाको ७२९.३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जले जनाएको छ ।
अछाम: सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी २० वर्षीया कृष्णा विकलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । उनीलाई उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत गर्भवतीलाई निःशुल्करूपमा हवाई उद्धार गरिएको भुलु स्वास्थ्य केन्द्रमा अहेव राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कृष्णाको पेटभित्रको नवजात शिशुसँगै रहेको पानी फोका फुटिसकेको र शिशु जन्माउन नसकेका कारण विकलाई उद्धार गरिएकोे हो । उद्धारपछि विकले सो अस्पतालमा शल्यक्रिया मार्फत शिशुलाई जन्म दिएकी जनाइएको छ ।
काठमाडौँ: पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा यो नाका भएर रु आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मुलक निर्यात भएको छ । सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट रु नौ अर्ब चार करोड ९० लाख ६३ हजारको सामग्री आयात भएको छ । निर्यातको तुलनामा करिब रु एक अर्ब बढीको सामग्री नेपालतर्फ आयात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । कार्यालयका बाली संरक्षण अधिकृत दविन्द्र साहुका अनुसार चामल, धानलगायतका खाद्य सामग्री रु एक अर्ब २१ करोड नौ लाख ४२ हजार, चना, भटमासलगायतका तेलहन रु एक अर्ब ३६ करोड ५८ लाख ३४ हजार, करेला, भान्टालगायत ताजा तरकारी रु १४ करोड ८५ लाख ९२ हजार, ताजा फलफूल रु ५३ करोड ५२ लाख २४ हजार, इण्डोनेसियन सुपारीलगायत मसलाजन्य सामग्री रु पाँच अर्ब चार करोड २५ लाख २८ हजार आयात भएको छ । उहाँले सोही अवधिमा ताजा तरकारी रु छ करोड ६४ लाख ९५ हजार, सुगनकोकिला, दालचिनीलगायतका जडीबुटी रु ७० करोड पाँच लाख ३० हजार, मुसुरो दाल रु ४७ करोड ३२ लाख सात हजार, चिया रु दुई अर्ब २२ करोड ५६ लाख १५ हजार, अदुवा, अलैँची, वनलसुन रु चार अर्ब ६६ करोड ३६ लाख दुई हजार, तोरीको पिना, अम्रिसो, चामल रु ७४ करोड ८३ लाख ८४ हजार गरी जम्मा रु आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको सामान निर्यात भएको बताउनुभयो ।
काठमाडौँ: एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गरेर मात्र दीर्घ समाधान नहुने हुँदा सोहीअनुरुप कानुन निर्माण गरिनुपर्ने बताइएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको र हाल बञ्चरेडाँडामा व्यवस्थापन गरिरहेको अवस्थाको स्मरण गर्दै जनप्रतीनिधिहरूको उक्त अभ्यास दीर्घ समाधान नरहेको बताएका छन् । ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जन जुन स्थानमा फोहर उत्पादन हुन्छ सोही स्थानमा नै व्यवस्थापन गरिनुपर्ने भन्दै यसको लागि केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताउनुहन्छ । “फोहर व्यवस्थापनसम्बन्धी बन्न लागेको नयाँ कानुनमा सरकारको काम कारबाहीको तहगत स्पष्टरूपमा व्यवस्था हुनुपर्छ”, उहाँ भन्नुहुन्छ । फोहरमैला व्यवस्थापन सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी र समन्वयको प्रारुप, सहलगानीको ढाँचा, यससम्बन्धी सार्वजनिक निजी साझेदारी कसरी गर्र्ने भन्ने विषय, घरायसी, संस्थाजन्य, औद्योगिक, विद्युतीय र विपद्पश्चातको उत्पन्न हुने फोहरमैला व्यवस्थापन र उत्पादन गर्ने व्यक्तिको दायित्वका बारेमा कानुनमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव प्रमुख महर्जनको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर अन्यत्र व्यवस्थापन गर्दा व्यवस्थापन गरिएका स्थानका नागरिकलाई नकरात्मक असर पर्ने भएकाले आगामी दिनमा उत्पादन भएकै स्थानमा फोहर व्यवस्थापन गर्र्ने गरी कानुनी व्यवस्था हुनुपर्ने छलफलमा सहभागी जनप्रतिनिधिहरूको पनि सुझाव छ । शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको फोहरमैला व्यवस्थापनसम्बन्धी नयाँ कानुनमा समावेश गरिनुपर्ने विषयवस्तुको छलफलमा काठमाडौँ उपत्यकाको स्थानीय तहका सहभागी जनप्रतिनिधिले उत्पादित स्थानमा नै फोहरको व्यवस्थापन गर्न सुझाएका छन् । त्यसैगरी विद्यमान सङ्घीय संरचनाअनुरुप फोहरमैला व्यवस्थापनमा प्रदेश सरकारको भूमिकालाई समेत समेटी परिवर्तित सङ्घीय परिवेश अनुकूल हुने गरी त्यससम्बन्धी नयाँ कानुनको तर्जुमा गर्नुपर्ने चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको सुझाव छ । अब बन्ने कानुनमा फोहरमैलाको उत्सर्जन, सङ्कलन विसर्जन र समग्र व्यवस्थापनमा तहगत सरकारको कार्यजिम्मेवारी र प्रभावकारी कार्यान्वयनको सवाल पनि समावेश हुनुपर्नेमा उहाँको जोड रहेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल उत्पादित स्थानमा नै फोहरको व्यस्थापन गर्नुपर्ने विषय नै फोहर व्यवस्थापनका लागि प्रभावकारी र बलियो आधार रहेको बताउनुहुन्छ । फोहर व्यवस्थापनको सम्बन्धमा कानुन निर्माण गर्दा आर्थिक आम्दानीको स्रोतको रूपमा यसलाई विकास गर्नुपर्ने प्रमुख पौड्यालको सुझाव छ । उहाँका अनुसार फोहरको वर्गीकरण पनि विभिन्न प्रकार सिसाजन्य, प्लास्टिकजन्य, कुहिने फोहर, फलामजन्य र अस्पतालबाट निस्कने फोहर फरक–फरक तरिकाले व्यवस्थापन गर्नुपर्ने पाटो कानुनमा नै स्पष्ट हुनुपर्छ । घरेलु, औद्योगिक र सेवा क्षेत्रलगायत सबै स्रोतबाट सिर्जित फोहरमैलाको व्यवस्थापनको विषय, फोहरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्ने विषय, फोहरमैलाको समग्र व्यवस्थापनमा तहगत सरकारको जिम्मेवारी, अन्तर स्थानीय तह सहकार्य र यसलाई आर्थिक स्रोतको रूपमा विकास गर्ने विषय पनि अब बन्ने कानुनमा समावेश गर्नुपर्नेमा सहभागीको ध्यान केन्द्रित थियो । सो अवसरमा केन्द्रीय तथ्याङ्क विभागले सन् २०२० मा २७१ नगरपालिकामा गरेको सर्वेक्षणअनुसार फोहरमैलामा जैविक फोहरको अंश ५४ प्रतिशत रहेको र थोरै स्थानीय तहले मात्र फोहरको पुनःप्रयोग तथा प्रशोधनको विधि अपनाएको जानकारी गराइएको थियो । त्यसैगरी सामान्य प्रशासन मन्त्रालयले विसं २०७८ मा गरेको स्थानीय तहको क्षमता आवश्यकता पहिचानसम्बन्धी अध्ययनअनुसार २७ प्रतिशतले मात्र ल्यान्डफिल साइटको प्रयोग गरेको १२ प्रतिशतले सङ्गठन संरचनामा फोहरमैला व्यवस्थापनमा शाखा वा एकाइको प्रबन्ध गरेको र १२ प्रतिशतले व्यवस्थापनको सम्बन्धमा सार्वजनिक निजी साझेदारी अवधारणको अवलम्बन गरेको बताइएको छ । सो अध्ययनानुसार ४९ दशमलव चार प्रतिशत नगरपालिकाले नागरिकमा सचेतनाको कमी र ल्याण्डफिल साइट नहुनुलाई मुख्य चुनौतीका रूपमा लिएको जनाइएको छ । हाल फोहरमैला व्यवस्थापन ऐन २०६८ कार्यान्वयनमा रहेको छ । यस सम्बन्धमा कामपाले कुहिने फोहर उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कार्यलाई तीव्रता दिएको जनाएको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा सक्रियता बढाएको कामपाले जनाएको छ । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो । कामपाकाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल सम्भावित स्थान पहिचान गर्ने काम जारी छ । जसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहको नेतृत्वमा स्थान खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि १५० सम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा कामपा लागिरहेको प्रवक्ता मानन्धरले बताउनुुभयो । फोहर व्यवस्थापन गर्न कामपाले चालु आर्थिक वर्षका लागि करिब रु एक अर्ब बजेट विनियोजन गरेको छ । “उपत्यकाको अन्य स्थानीय निकायका प्रमुखसँग पनि कुराकानी भइरहेको छ, उपयुक्त स्थान पाउनासाथ काम सुरू गर्ने सोचमा छौँ ।”, उहाँले भन्नुभयो । कामपाले यही १ गतेदेखि कामपाले कुहिने र नकुहिने फोहरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि सुरु गरेको छ ।
काठमाडौँ: राष्ट्रिय समाचार समिति (रासस) ले यही साउन १ गतेदेखि श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको राससको समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले औपचारिक रुपमै परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरिएकोे हो । समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र श्रव्यसेवा सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउँछ । भिडियो सेवाका सामग्री रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गर्न थालिएको छ । विसं २०१८ मा स्थापना भएको राससले श्रव्यदृश्य सञ्चालनका लागि ‘श्रव्यदृश्य सेवा सञ्चालन निर्देशिका–२०७९’ तयार गरेको छ । राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि छायाङ्कन गरेर टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई लक्षित गरी गुणस्तरीय श्रव्यदृश्य सामग्री उपलब्ध गराइने छ । राससको भिडयो सेवासहित समग्र सेवा सञ्चालनबारे राससका पूर्वप्रमुख समाचारदाता भैरब रिसालसँग गरिएको कुराकानी । तपाइँले राससमा २२ वर्ष काम गर्नुभयो ? यहाँको अनुभव कस्तो रह्यो ? –धन्यवाद मलाई सम्झेर आउनु भएकामा । मैले राससमा २०२० साल भदौदेखि जागिर सुरु गरेको हुँ । २०४२ साल वैशाखमा छोडेको हो । जनमत सङ्ग्रहपछि सुधारिएको पञ्चायत आउँछ भनेको झन् बिगारिएको पञ्चायत आयो । त्यसपछि राससको स्वतन्त्रता कम हुँदै गएपछि मेरो लागि रासस साँघुरो लाग्यो र राजीनामा दिएको हो । मेरो पुरानो अफिस, मलाई र मेरो परिावार पाल्ने अफिस रासस हो । बढो दुःख पाएको बेलामा राससमा भर्ना भएको हो । राससमा भर्ना हुने मेरो कथा अर्कै छ । तर मैले राससलाई वा राससले मलाई सहयोग गरेको छ । त्यो समयमा राससलाई भनेजति गर्न सकिएन । राससले मलाई र मेरो परिवारलाई पाल्यो । रासस मेरो आमा हो । मेरो परिवार पाल्न राससले सहयोग गरेको छ । अहिले राससलाई यसरी हेरिँदैन । राससलाई मैले बनाएँ भनिन्छ, तर राससले उस्लाई पनि बनाएको छ । राससलाई हामीलाई तलब दिएको हुन्छ, त्यसले परिवार पालिन्छ । त्यसैले मैले त्यसरी हेरेको हुन्छु । त्यतिबेलोको र अहिलेको राससमा के फरक पाउनुभएको छ ? –अहिले ढाँचाकाँचा बढी भयो । हाम्रो पालामा धेरै दुःख गर्नु पथ्र्यो । एउटा मोटरसाइकल पाइयो भने के के न पाएको जस्तो हुन्थियो । बजेट पेस हुने बेलामा राससलाई जहिले पनि पैसा कम हुन्थ्यो । बजेट प्रस्तुत भएको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेको बेला मन्त्रीसँग बाझ्नु पथ्र्यो, हामीलाई पैसा कम भयो थपिदिनु पर्यो भनेर । अनि थपिदिन्थे । हामी समाचारदाता चार/पाँचजना मात्रै हुन्थियौँ । त्यसमध्ये म प्रमुख समाचारदाता थिए । हामीले राससलाई दुःख गरेर हुर्काको हो । राससले दिने विषयवस्तुमा केही भिन्नता पाउनु भएको छ ? –पहिले साँघुरो थियो । निर्दलको पक्षमा लेख्न र बोल्नु पथ्र्यो । भित्र मनले निर्दल नमान्ने तर लेख्न पढ्न निर्दलको पर्ने थियो । आफैँले कल्पना गर्नु कस्तो असजिलो थियो होला । त्यो परिस्थितिमा काम गरियो । मुख्य कुरा हामीले बैमानी गरेनौँ । एक पटक बजारमा मट्टितेल, चिनी र नून नपाइने अभावको अवस्था थियो । तर मलाई राज्यका मान्छेले अभाव छैन भनेका थिए । मैले पाइँदैन नै भने । हामीले विना स्रोत पाइन्छ भनेर लेख्नुपर्ने र त्यसबारेमा स्रोत उल्लेख नगर्ने रे । राज्यका निकायका प्रमुखसँगै बाझाबाझ गरिन्थ्यो । सजिलोसँग जागिर खाइएन । तर जनतालाई बेइमान गरिएन । ‘मेन्टेन’ गर्न सकेको भनेको त्यही एउटा हो । राससका विषयवस्तुमा अझै सुधार गर्न के गर्नुपर्ला ? –राससलाई अझै विश्वासनीय बनाउन राससले ढाँट्न हुन्न । सबैभन्दा सत्य कुरा दिनुपर्छ । समाचार भनेकै सत्य हो । तपाईँले नढाँटी भएन भने स्रोत उल्लेख गरेर ढाँट्नुपर्छ । फलानोले भनेको हो भनेर । तर हाम्रोमा स्रोत कोट नगरीकन आफ्नो तर्फबाट भन्नुपर्ने । एकपटक जनमत सङ्ग्रह घोषणा भएको बेलामा स्याङ्जामा विपी कोइराला जाँदा गोली चल्यो र एकजना मान्छे म¥यो । त्यसबेला राज्यले राससलाई मान्छे मरेको छैन भन है भनेर भन्यो । अनि मँ बाझे मान्छे मरेको छ, कसरी मरेको छैन भन्ने । मान्छे मरेको हो भने ढाँट्न हुँदैन । आखिर हामीले समाचार दियौँ, हामीले जित्यौँ । राससले नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र श्रव्यसेवा सेवासँगै श्रव्यदृश्य पनि सुरु गरेको छ । तपाइँको विचारमा राससको भिडियोमा कस्ता–कस्ता विषयवस्तु समावेश गर्नुपर्ला ? – राससको भिडयोमा सबैको समाचार दिनुपर्छ । रासस सरकारको मात्रै पनि हुँदैन । रासस आवाज नहुनेको आवाज पनि हुनुपर्छ । पत्रकार भनेको सरकारको मान्छे होइन, जनताको मान्छे हो । तलब सरकारको खाए पनि काम जनताको गर्नुपर्छ । जनतालाई जागरुक गराउनुपर्छ । पत्रकारितामार्फत जनतालाई राष्ट्र निर्माणमा जुट्न उत्प्रेरित गर्नुपर्छ । जनतालाई ठग्नु हुँदैन । ढाँट्नु हुँदैन । सरकारको रासस छ तर जनताको रासस छैन कि जस्तो लाग्छ । दृश्यश्रव्यलाई जनताको पनि बनाउनुप¥यो । त्यसको मतलब सरकारको विरोध गर्ने भनेको होइन । सरकारको काम जस्ताको तस्तै दिने । नढाँटीकन दियो भने धेरै कुरा हुन्छ । श्रव्यदृश्यमा जनताका अइया, आथु, सुस्केरा, सुसेलीका समाचार दिनुप¥यो । सेवा गर्नुपर्ने राज्य होइन, जनता हो । जनताको सेवा गरियो भने राज्यको सेवा त्यतैबाट हुन्छ । अन्त्यका यहाँलाई राससलाई केही भन्नु छ ? –तपाइँपछि पनि रासस रहन्छ । अहिलेको हाकिमपछि पनि रासस रहन्छ । यो कुरा हेक्का राखियो भने धेरै कुरा समाधान हुन्छ । त्यसैले अहिलेको खाँचो मात्रै टार्ने होइन, दीर्घकालीन, स्थायी र भविष्यसम्म कसरी गराउनेभन्दा राससले सत्य कुरा, आवाज नभएको मान्छेको आवाज बोल्नुपर्छ । बोली नभएको मान्छेको बोली बोलिदिने, र मूल कुरो नढाँट्ने ।
सङ्खुवासभा: सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा २० च ९५०२ नंको स्कारपियोले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते बालिकाको उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । चालक पाँचखपन नगरपालिका–१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही: सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना भइसक्दा पनि जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् । जनक शिक्षा सामग्रीले समयमै पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा सर्लाहीसहित देशैभर पाठ्यपुस्तकको अभाव भएको थियो । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अध्यायनरत विद्यार्थीले पुस्तक पाउन नसकेका जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सुनिलकुमार कुशवाहले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सामुदायिक विद्यालयहरुमा अहिले त्रैमासिक परीक्षा सञ्चालन भइहे पनि अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यार्थीहरु पाठ्यपुस्तक विना नै अध्ययन गरिरहेका सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरुले बताए । कतिपय विद्यार्थीले पुरानो पुस्तक जुटाएर पढिरहेका नवजन जागरण नमूना मावि बागमती नगरपालिका–८ का प्रधानाध्यापक ध्रुव पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय सामुदायिक विद्यालयले निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकको प्रयोग गरेर विद्यार्थीलाई पढाइरहेका छन् । त्यस्तै निजी विद्यालयमा समेत पूरै पाठ्यपुस्तक आइनपुगेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले जनाएको छ । जिल्लाका सामुदायिक विद्यालयमा अझै पनि करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको विद्यालयहरुले बताएका छन् । जिल्लामा ५५६ सामुदायिक विद्यालयमा ८६ हजार विद्यार्थी अध्ययनरत छन् । तीमध्ये करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको उक्त इकाइले जनाएको छ । प्राथमिक तहका करिब सबै पाठ्यपुस्तक आए पनि आधारभूत तह र माध्यमिक तहको विभिन्न विषयका पाठ्यपुस्तकहरु नआएको उक्त इकाइका निमित्त प्रमुख कुशवाहले बताउनुभयो ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही रु एक लाख रुपैयाँ दिने भएको छ । मलामी पुगेर फर्कंदै गरेको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका तीन जनाको परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको हो । नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिनुभयो । गत असार २४ गते मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका –९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो भने ट्र्याक्टर दुर्घटनामा परेर ४२ जना मलामी घाइते भएका थिए । यस्तै बैठकले घाइतेमध्ये तीन जनालाई उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख तामाङले बताउनुभयो । गम्भीर घाइते चैनपुर–१० का दीपेश कटुवाल, चित्रबहादुर तामाङ र नरबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च बेर्होने निर्णय भएको नगरप्रमुख तामाङले बताउनुभयो । ४४ जना मलामी बोकेर फर्किंदै गरेको को २ त ३९६१ ट्र्याक्टर खाँदबारी–लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।
काठमाडौँ: लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाइए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ । त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ । अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ । जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन् । अहिले किउलदेखि मेलम्चीसम्मका नदी किनार आसपासका नागरिक ढुक्कले सत्न पाएका छैनन् । “बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ, हामी मर्मत गरिरहेका छौँ, केही समयमात्र यातायात सेवा अवरुद्ध भएको छ, हामी तत्काल बाटो खुलाउन र जोखिममा रहेका संरचना बचाउनका निम्ति लागि परेका छौँ”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भन्नुभयो । मेलम्ची नगरपालिकाको राम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक खुलाउन मेसिन पठाइसकिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

