पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

पोखरा: पोखरा महानगरपालिका र केही गाउँपालिकामा कार्यरत करार कर्मचारीको सेवा नवीकरण नभएपछि आन्दोलन र तनाव बढिरहेकाबेला अन्नपूर्ण गाउँपालिकामा भने करार नवीकरण गरिएको छ ।    गाउँपालिकामा २३ करारसहित ६१ कर्मचारी कार्यरत छन् । अघिल्ला वर्षहरुमा राखिएका कर्मचारीहरु करार नवीकरण हुने हो कि होइन भन्ने दोसाँधमा रहेकाबेला गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सबैको समयावधि ६ महिना थपिदिएका छन् ।    ‘किन ६ महिनामात्र थप गरियो ?’ भन्ने प्रश्नमा अध्यक्ष केसी भन्छन् ‘कर्मचारीहरुको काम, योगदानबारे नयाँ प्रतिनिधि जानकार छैनन् । उहाँहरुको कार्यक्षमता हेर्न र मूल्यांकन गर्न ६ महिनाका समय राखेको हो ।’   अबको ६ महिना जनताबाट कुनैपनि गुनासो नआए, आलोचना नभए र जनउत्तरदायी भई काम गरेमा करार अवधि थपिने केसीले बताए । ‘अन्य गाउँपालिकामा जस्तो कर्मचारी हटाउने, आफ्नै तवरले भर्ना गर्ने काम मनासिब लागेन’ अध्यक्ष केसी भन्छन् ‘काम गरिरहेकै कर्मचारीलाई निरन्तरता दिइएको हो ।’   यद्यपि, कर्मचारीको कार्यकुशलता कस्तो हुनेछ भन्ने थाहा पाउन ६ महिनामात्रै थप गरिएको हो । यसबीचमा जनताबाट गुनासो वा आलोचना हुने काम गरे उनीहरुको समय थप नगरिने केसीले प्रष्ट पारे ।    नयाँ आर्थिक वर्ष लागेसँगै अध्यक्ष केसीले करारका सबै कर्मचारीलाई भेला गराई जनताको हितमा काम गर्न र जागिर जाने भयबाट मुक्त हुन निर्देशन दिएका थिए । त्यसबखत केसीले भनेका थिए, ‘म अनुहार हैन, तपाइहरुको काम हेर्छु, यसर्थ ६ महिना करार थप गर्नेछु, यसबीचमा जनताबाट गुनासो आए म नवीकरण नगर्न बाध्य हुनेछु ।’   गाउँपालिकामा कार्यरत कतिपय कर्मचारी बिनाप्रतिष्पर्धा आएका त कोही भनुसनकारभरमा समेत जागिर खाएका बताउँदै केसीले जे जस्तो भएपनि पालिकावासीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।    केसीले भने, ‘निर्वाचनपछि नयाँ पदाधिकारी आएका छौं, यसकारण करारका कर्मचारीका लागि थपिएको ६ महिना परीक्षण अवधि हो ।’ जनभावनामा ठेस पुग्ने काम गरे कर्मचारीमात्र हैन स्वयं आफुपनि पदमा बस्नुको औंचित्य नहुने उनले सुनाए ।   

  चितवन:    चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।    माइती नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि सरोकारवालासँगको अन्तक्र्रियामा प्रहरी उपरीक्षक अधिकारीले पछिल्ला वर्षहरूमा यौनजन्य घटनामा वृद्धि हुँदै गएको जानकारी दिनुभयो । उहाँले जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा जबर्जस्ती करणीका ५१ घटना दर्ता भएकामा आव २०७७/७८ मा ६० तथा आव २०७८/७९ मा ६३ पुगेका जानकारी दिनुभयो । त्यस्तै बाल यौन दुरुपयोगका घटनामासमेत उल्लेख्य वृद्धि भएको उहाँको भनाइ छ ।   प्रहरी उपरीक्षक अधिकारीले आव २०७६/७७ मा पाँच बाल यौन दुरुपयोगको घटना भएको जनाउँदै आव २०७७/७८ मा १० तथा आव २०७८/७९ मा १७ घटना दर्ता भएका जानकारी दिनुभयो । बाल यौन दुरुपयोगका घटनामा विद्यालयका शिक्षकसमेत पीडक हुने गरी उजुरी आउन थालेका प्रहरीको भनाइ छ । त्यस्तै जिल्लामा मानव बेचबिखनका घटनामा भने कमी आएको कार्यक्रममा जानकारी दिइएको थियो ।    प्रहरीका जिल्लामा आव २०७६/७७ मा छवटा मानव बेचबिखनका घटना दर्ता भएको थियो । त्यस्तै आव २०७७/७८ मा चार तथा आव २०७८/७९ मा तीनवटा घटना मानव बेचबिखनसम्बन्धी दर्ता भएका थिए । जिल्लामा बालाअवस्थामै लागुऔषध सेवनकर्ताको सङ्ख्या बढेको भन्दै प्रहरी उपरीक्षक अधिकारीले बालश्रम शोषणका विभिन्न घटनासमेत हुने गरेको बताउनुभयो ।   जिल्ला प्रहरी कार्यालयले बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, दुव्र्यसनी घटनाउने उद्देश्यले जनचेतनामूलक पाठ्यसामग्री तयार पारेको छ । ती पाठयक्रमलाई विद्यालयमा पढाउने गरी तयारी भइरहेको उल्लेख गर्दै उहाँले स्थानीय तहहरूसँग सहकार्य भइरहेको जानकारी दिनुभयो ।   कार्यक्रममा माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले जिल्लामा बाल यौन शोषण र महिला बालबालिको बेचबिखनको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । सस्थाले महिला तथा बालबालिका, यौन हिंसा न्यूनीकरणका लागि काम गर्दै आएको उहाँले बताउनुभयो । अप्ठ्यारोमा परेका बालबालिकाको उद्धार र शिक्षादीक्षा प्रदान गरी अभिभावकत्व ग्रहण गर्दै संरक्षण गृहमा राख्ने गरिएको सस्थाले जनाएको छ ।    सस्थाले सात वर्षको बालिकालाई भरतपुरकै एसओएस विद्यालय, एक बालकलाई हेटौँडाको मामाघर तथा तीन बालिकालाई टेरेसा एकेडेमी काठमाडौँमा भर्ना गराएको कार्यक्रममा जानकारी दिइएको थियो ।  हिंसापीडित छ महिलालाई ब्यूटीसियन तालिममा सहभागी गराएको बालविवाह न्यूनीकरण तथा बालिबालिकामाथि हुने हिंसा रोकथाममा पनि सस्था सक्रिय रहेको छ । सस्थाले बालिकाको संरक्षण तथा उनीहरूमाथि हुने हिंसाको सामना गर्दै न्याय दिलाउन नेदरल्याण्ड सरकारको सहयोगमा ‘फ्रि अ गर्ल’ परियोजना सञ्चालन गरेको छ ।   सन् २०२१ को अप्रिलबाट सुरु भएको परियोजना २०२२ को डिसेम्बरमा सकिने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा कानुनी सहायता परियोजनाका गोमा न्यौपाने, देवघाटको रामजानकी आश्रमका अध्यक्ष सावित्री टण्डन, ट्रान्सपरेन्सी इन्टरनेशन चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । 

  पाँचथर:    यहाँ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् ।   सोमबार दिउँसो २ बजे  जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल पुर्याउनासाथ जीवनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   करेन्ट लागेर घाइते भएका पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक जीवनले हालैमात्र घरमा उक्त मिल जडान गरेको स्थानीयवासीले बताएका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार भई झिनो मतान्तरले पराजित भएका थिए । 

  काठमाडौँ:     संसदीय विशेष छानविन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताका विषयमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु गरेको छ । बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई सम्लग्न गराएको भनी गठित छानबिन समितिले अर्थमन्त्रालयमा डिलिट गरिएको भनिएको सिसीटिभी फुटेजको वास्तविकता पत्ता लगाउन विधि विज्ञान प्रयोगशाला पठाएको थियो ।    आज बिहान बसेको समितिको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरणका सम्बन्धमा  अध्ययन सुरु गरिएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । प्राविधिक विषयमा थप जानकारी लिन हामीले सम्बन्धित अधिकारीलाई बोलाएका छौँ । समितिको बैठक अपराह्न ४ बजे पुनः बस्नेछ । बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो । सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । 

काठमाडौँ:      मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आव २०७८/७९ रु ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको हो ।   सवारी करबाट रु ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख चार हजार ९८१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । यो आव २०७७/७८ को भन्दा रु २२ करोड ३० लाख बढी हो । अघिल्लो आर्थिक वर्षमा रु ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो ।   यस्तै आव २०७८७/९ मा १६ हजार १८७ मोटरसाइकल, ५११ ट्र्याक्टर, ४७१ टेम्पु, २८२ इ–रिक्सा, २३८ जिप/कारलगायत १५ हजार ९२० नयाँ सवारी साधन दर्ता भएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख साहका अनुसार सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २२ हजार ७५० सवारी साधन नवीकरण गरिएको थियो ।मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई  नवीकरणमा लाग्ने जरिवाना छुट दिनु, नयाँ सवारीसाधनको दर्ता बढ्नु र कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले गत आवमा राजस्व सङ्कलन उल्लेखीय बढेको उहाँको भनाइ थियो ।

  काठमाडौँ:    सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले केसीलाई दुई वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।   कलाकार केसी चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय हुनुहुन्छ । केसीले सय भन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ भने यसअघि गायन क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।   केसीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल चलचित्र विकास बोर्डको अध्यक्षको दौडमा रहेका थिए ।

  काठमाडौँ:   देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।    उहाँका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ ।  बिहीबारदेखि मनसुन थप सक्रिय हुने बताइएको छ ।    विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना तथा उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला तथा खहरेखोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनु सबैमा अनुरोध गरेको छ ।   रातको समयमा देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।   मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव एक डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

बाँके:    बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।   मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो ।   उहाँका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतीको विवाह भएको एक वर्ष भएको बताइएको छ ।    “घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, प्रनाउ न्यौपानेले भन्नुभयो । उहाँले घटना शङ्कास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताउनुभयो । घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । 

  काठमाडौँ:     शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ । सरोकारवालाहरू शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक रहेको बताउँछन् । अध्ययनशील शिक्षकले मात्र नानीबाबुलाई गुणस्तरीय शिक्षा दिनसक्ने भएकाले शिक्षक अध्ययनशील बन्नुपर्ने शिक्षकहरूकै प्रतिक्रिया छ ।    शिक्षक नियमित विद्यालय जान्छ र शिक्षण गर्छ । नियमित विद्यालय जानु, शिक्षण गर्नु शिक्षकको पेशागत दायित्वभित्र पर्छ । शिक्षकले कक्षामा दैनिक विभिन्न विषयवस्तु शिक्षण गर्नुपर्ने हुन्छ, शिक्षण गर्ने विषय आफूले पनि अध्ययन गरेको भए सहज हुने शिक्षकहरू बताउँछन् । शिक्षक शिक्षकसँगै विद्यार्थी पनि हो । असल शिक्षकले जहिले पनि कक्षाकोठामा प्रवेश गर्नुपूर्व तयारीस्वरुप विषयवस्तु राम्रोसँग अध्ययन गर्न जरुरी रहेको कर्णाली मावि टीकापुरका गणित शिक्षक ज्ञानेन्द्र जोशी बताउनुहुन्छ । “मेहेनती र अध्ययनशील शिक्षकले नै विद्यार्थीलाई विषयवस्तुमाथि राम्रोसँग प्रस्ट्याउन सक्छ र छोटो समयमा धेरै ज्ञान दिन सक्छ र यसका लागि हामी पनि विद्यार्थी बन्न अर्थात् विषयवस्तुको ज्ञान हुनुपर्छ”, उहाँ भन्नुहुन्छ, “शिक्षकले कुन विषयवस्तु शिक्षण गरिँदैछ, शिक्षणको उद्देश्य के हो ? कतातिर जाँदैछ अर्थात् विषयवस्तु शिक्षण गर्दा कुन कुरालाई बढी केन्द्रित गर्नेजस्ता कुराको तयारी गर्न आवश्यक छ । म कक्षामा जानुपूर्व पाठ्यक्रमका आधारमा तयारी गरेर जान्छु ।”   ज्ञान र सिकाइ जति अध्ययन गर्यो त्यति बढ्दै जान्छ । शिक्षकले शिक्षण गर्दा विद्यार्थीको मनोविज्ञानसमेत अध्ययन गर्नुपर्छ । कुन विद्यार्थीले कसरी कुन माध्यमबाट विषयवस्तुलाई शिक्षण गर्दा विद्यार्थीले छिटो बुझ्दछ भन्ने कुराको ज्ञान हुन जरुरी रहेको सरस्वती माध्यामिक विद्यालय बनगाउँकी अङ्ग्रेजी शिक्षक सम्झना अर्याल बताउनुहुन्छ । “सबै शिक्षकले नियमित कक्षामा गई कक्षा शिक्षण गर्नुहुन्छ । तर कक्षामा जानुपूर्व विषयवस्तु राम्रोसँग अध्ययन गरेको र नगरेको शिक्षकले विद्यार्थीलाई दिने ज्ञान र विषयवस्तुमाथिको दखलतामा फरक देखिन्छ”, उहाँ भन्नुहुन्छ, “राम्रो शिक्षणका लागि शिक्षक पनि विद्यार्थी हुन जरुरी छ । विषयवस्तुमाथि पूर्वतयारी जरुरी छ ।”   यसैगरी शिक्षकले कक्षामा शिक्षण गर्दा शिक्षणपश्चात विद्यार्थीको उपलब्धि के रहन्छ भन्ने कुराको ज्ञान लिनुपर्ने हुन्छ । विद्यार्थीलाई कति मात्रामा ज्ञान दिने, कुन विधिमार्फत शिक्षण गर्ने भन्ने कुरा शिक्षकले मानसिकता बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्ने त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्र कठायतको भनाइ छ । “शिक्षकको तयारी र ज्ञानका भरमा शिक्षण सिकाइमा प्रभाव पर्छ”, उहाँ भन्नुहुन्छ, “सिकाइ प्रभावकारी बनाउन शिक्षक पहिला विद्यार्थी बन्नुपर्छ । शिक्षकले कक्षाकोठा र विद्यार्थीबाट पनि ज्ञान लिइरहेको हुन्छ ।”   मानिस आफैँमा पूर्ण हुँदैन सिकाइमा पूर्णताका लागि मेहेनत निरन्तर आवश्यक हुन्छ । समय र परिस्थितिअनुसार विषयवस्तु परिवर्तन भइरहने भएकाले शिक्षकले पहिले आफूले विषयवस्तु राम्रोसँग अध्ययन गरेर कक्षाकोठामा प्रवेश गरेमा सिकाइ प्रभावकारी र गुणस्तरीय हुने लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपाने बताउनुहुन्छ । “विषयवस्तु राम्रोसँग अध्ययन गरेको र पूर्वतयारी गरेको शिक्षकले नै राम्रोसँग शिक्षण गर्न सक्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले सिकाइका लागि शिक्षकको लगाव र रुचि पनि महत्वपूर्ण हुन्छ ।” शिक्षा तथा समन्वय एकाइ कैलालीका अनुसार जिल्लामा जम्मा ५६५ सामुदायिक विद्यालय छन् ।