पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

हुम्ला:   हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ ।    सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरुलाई भेडा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला भाम रोकायाले किसानलाई स्थानीय जातका भेडा वितरण गर्नुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा किसानलाई अनुदानमा भेडा वितरण गर्ने कार्यक्रम अघि बढाएको थियो ।       गाउँपालिकाको पशु शाखा प्रमुख महेन्द्र शाहीका अनुसार सिमकोट–१ का जैधन भण्डारी, कुञ्ज्याक लामा र सोनाम जामो लामा तथा वडा नं २ का रुपसिंह बोहरा, धनसुर कामी, सिलदेवी दमाई, नर बोहरा, बाक्ली बोहरा, काली भण्डारी र बालकृष्ण बोहरालाई भेडा वितरण गरिएको हो ।    अध्यक्ष भण्डारीले किसानलाई थप सेवा सुविधा उपलब्ध गराइने बताउनुभयो । ऊन उत्पादनमा जोड दिन आगामी दिनमा पनि भेडा वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ । ऊन प्रशोधनका लागि गाउँपालिकाले आधुनिक चर्खा सहयोग गर्ने भएको छ । 

रुपन्देही:    बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी विनबहादुर बिटालु राम्रोसँग ननिदाएको धरै दिन भयो । पहिराका कारण श्रवनडाँडाको माथिल्लो भू–भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएपछि पहिराले च्याप्ने डरले उहाँ निदाउन सक्नुहुन्न । पानी पर्ने बित्तिकै घर छोडेर हिँड्ने बिटालु दम्पती बेलवास आफन्तको घरमा बास बस्नुहुन्छ ।       गत वर्ष चार कोठा पहिराले पुरिएकोे उहाँको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरो पसेको छ । घरको पछाडिबाट ढुङ्गा माटोसहितको पहिरोभित्र पसेपछि उहाँहरुले एउटा कोठामा खाने बस्ने गर्दै आउनुभएको छ । “आकाश गर्जिन थाल्यो कि मन तर्सिन्छ दिउँसोमा त बरु देखिन्छ तर रातिमा आयो भने गुहार नपाई मरिन्छ कि भन्ने डर लाग्छ”, आँखाभरि आँशु पार्दै बिटालु दुःखेसो पोख्नुहुन्छ ।       तेह्र जनाको विटालुको परिवारमा छोरा बुहारीहरु अलग्गै बस्छन् । घरअगाडि सानो टङ्की पसल गरेर गुजारा गर्दै आएका बिटालु दम्पती पहिराका कारण व्यापार पनि नभएको गुनासो गर्नुहुन्छ । यो क्षेत्रमा ४१ वर्षदेखि बसोबास गर्दै आएका बिटालुको परिवारले गतवर्ष पहिरो घरभित्रै पस्दा पनि अहिलेसम्म कुनै राहत तथा सहयोग भने पाएका छैनन् ।       स्थानीय तहको निर्वाचनमा हामीले पहिराबाट बचाउँछौ भनी राजनीतिक दलका प्रतिनिधिहरु घरदैलोमा भोट माग्न पुगे तर कुनै सहयोग तथा पहिरो नियन्त्रणका लागि पहल नगरेको बिटालुकी श्रीमती उजेली गुनासो गर्नुहुन्छ । “पानी पर्ने बित्तिकै माटोको लेदोसहितको खोलो बग्न थाल्छ, हामी घर बाहिर रुझेर बस्छौँ । यसरी कति दिन चल्छ ? त्यसैले सरकारले हामीलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउनुपर्छ”, उजेली भन्नुहुन्छ ।      बुटवल–३ कै सति कुमारी श्रेष्ठ पनि आका गजिर्ने बित्तिकै घर छाडेर हिँड्नुहुन्छ । चुरे पहिराका कारण घर जोखिममा रहेकाले पहिराले च्याप्ने डरले उहाँ रातिमा घरमा सुत्न सक्नुहुन्न । गतवर्षको पहिराले घरको भूईँतला पुरेपछि लामो समय सरसफाइ गर्दा श्रेष्ठलाई धेरै पैसा खर्चिनुपरेको थियो । “गतवर्षको पहिरो बल्लबल्ल सफा गरे अहिले पनि पानी पर्ने वित्तिकै घरभित्र लेदोसहितको माटो पस्छ, रातिमा थाहै नपाई मरिन्छ कि भनेर अरुको घरमा गएर बस्छु” श्रेष्ठ दुःखेसो गर्नुहन्छ ।       श्रीमान र छोराको निधनपछि घरमा एक्लै बस्दै आउनुभएकी श्रेष्ठको सहारा कोही छैन । सरकारले पनि अहिलेसम्म कुनै सहयोग नगरेको उहाँको गुनासो छ । “पहिरोका कारण गत वर्षदेखि घरमै बस्न नसक्ने अवस्था भइसक्यो तर कसैले केही गर्दैन, कसैले हेर्दैन”, गहभरि आँशु झार्दै श्रेष्ठले भन्नुभयो ।      अहिले पानी पर्नासाथ उपमहानगरको वडा नं ३ र ४ मा पर्ने चुरे क्षेत्रमा लेदोसहितको माटो र पानी बग्न शुरु हुन्छ । यसले गर्दा यहाँका स्थानीयबासी घर छोडेर हिँड्न बाध्य हुन्छन् । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारि पहिरोका कारण छियाछिया परेका चुरे क्षेत्रबाट पहिरो जान थाल्छ, अनि स्थानीयबासी आत्तिन थाल्छन् । गतवर्षदेखि पानी पर्ने वित्तिकै घर छोडेर हिँड्नुपर्ने वाध्यता यहाँका वासिन्दालाई छ । खासगरी बुटवलको लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रका बासिन्दा चुरेको पहिरोबाट प्रभावित छन् ।       अहिले वर्षा शुरु भएसँगै यो क्षेत्रका वासिन्दाहरु रातिमा घर छाड्न बाध्य छन् । वडा नं ३ का स्थानीय केशवराज पन्थीका अनुसार चुरे पहिराको जोखिमका कारण यो क्षेत्रका बासिन्दा अन्यत्रै कोठा भाडामा लिएका छन् । पानी पर्ने बित्तिकै यो क्षेत्र छोडेर भाडाको कोठामा बस्न जाने गरेको उहाँको भनाइ छ । असारको पहिलो हप्ता परेको वर्षापछि आएको चुरोको पहिरो केही स्थानीयको घरमा पस्यो । पहिरोबाट बगेर र आएको लेदोसहितको पानी आधा दर्जन स्थानीयबासीको घरमा पसेपछि उनीहरु घर छोडेर हिँडेका थिए ।       गतवर्ष पहिरोका कारण करीब दुई दर्जन दर्जन स्थानीय वासिन्दाका घरमा क्षति पुगेपछि विज्ञको टोलीले चुरे पहिरोको अध्ययन गर्यो । चुरे क्षेत्रमा पहिरोका कारण थप जोखिम बढेपछि विज्ञको टोलीले अध्ययन गरेर पानीको अव्यवस्थित सतही बहाब नै बुटवल पहिरोको मुख्य कारण हो भन्ने ठहर गरे ।      यहाँको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय सतही र भूमिगत पानीको सही व्यवस्थापन भएको निष्कर्ष निकालेर राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय बुटवललाई प्रतिवेदन बुझाइएको थियो । पहिरो नियन्त्रणका लागि श्रवनडाँडा (पहिरो गएको डाँडो) को मध्यभागमा रहेका मूलहरुबाट बगेको पानीलाई पाइपमार्फत एकैठाउँ जम्मा गरेर पुराना वा नयाँ नालीहरुहरुमा मिसाउनु उपयुक्त हुने राय विज्ञले दिए । एक वर्षमा भएका अनुगमन, वुक्षरोपण र सामान्य पर्खाल लगाउने कामले पहिरो नियन्त्रण हुने देखिँदैन ।     गत वर्षको भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिरोका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो ।       गतवर्ष पहिरो र दोस्रो चरणमा गरेर विज्ञको टोलीले चुरे पहिरो क्षेत्रको अवलोकन गरी दिएको सुझावका आधारमा ज्योतिनगर र लक्ष्मीनगरमा वृक्षरोपण गर्ने, तारजाली लगाउने र पर्खाल लगाउने काम गरिएको सो कार्यालयका सूचना अधिकारी निर्मल थापा भन्नुहुन्छ, “हामीले गत आर्थिक वर्षमा रु दुई करोड ३५ लाखको काम गरेका छौँ तर, प्राकृतिक प्रकोपसँग कस्को कसैको केही लाग्दैन ।”     गतवर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करीब ७० हेक्टर क्षेत्रमा पहिरो गएको थियो । “जुनसुकै समयमा खस्न सक्ने गरी ढुङ्गा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र निकै जोखिममा गतवर्षको पहिराका कारण घर वरिपरि ढुङ्गा माटोसहितको पहिराले लथालिङ्ग अवस्था छ, अहिले त झन पहिराले बाँच्न दिँदैन कि जस्तो लाग्छ”, स्थानीयबासी तुलसा सुवेदी दुःखेसो पोख्नुहुन्छ ।      चुरे क्षेत्रको पहिरो नियन्त्रणका लागि गत वर्ष स्थानीय तहले केही पहल गरेपनि सङ्घ र प्रदेश सरकारको खासै चासो नरहेको स्थानीयवासीको गुनासो छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे पहिरो प्रभावित क्षेत्रमा अनुगमनका लागि गए पनि ठोस कदम चाल्न नसकेको स्थानीय तुलसा सुवेदीको गुनासो छ । “अनुगमनले मात्रै केही हुँदैन मात्र होइन, पहिरो नियन्त्रणका लागि ठोस योजना ल्याउनुपर्छ ”, सुवेदी भन्नुहुन्छ ।     वर्षभरि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकाले यो वर्ष पनि समस्या झेल्नुपर्ने अवस्था आएको चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउनुहुन्छ । अझै पनि चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने होे बुटवलमा ठूलो क्षति हुने खतरा रहेको उहाँको भनाइ छ । चुरे–तिनाउ संरक्षण समितिका संयोजक गौतमका अनुसार यसअघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा रु दुई करोड ३० लाख, बुटवल उपमहानगरपालिकाका तत्कालीन प्रमुख शिवराज सुवेदीको पहलमा रु एक करोड १५ लाख स्थानीय युवा परिचालन गरी पहिरो नियन्त्रणका लागि खर्चिएको भएपनि यो वर्ष पहिराको खतरा टरेको छैन ।      अघिल्लो महिना मात्रै स्थानीय युवाको सक्रियतामा चुरे क्षेत्रबाट ज्योतिनगरतर्फ सोझिएको पानीको मूल स्काभेटर लगाएर चिडियाखोलातर्फ सोझ्याउने काम भएको थियो । “वडा नं ३ को सिरान बाँसघारीमा १९ फिट जमीन भासिएको छ, स्थानीय युवाले क्षति हुन नदिन स्काभेटरले माटो फालेर बगेको पानीलाई चिडियाखोलातर्फ सोझ्याइदिए । यसका लागि उपमहानगरले डिजेल सहयोग गरेको थियो”,  संयोजक गौतमले भन्नुभयो ।      विज्ञको प्रतिवेदनअनुसार ज्योतिनगरको पहिरो प्रभावित क्षेत्र पहिल्यै पहिचान भएको जोखिम क्षेत्र हो । तर, यो विषय सबैलाई थाहा थिएन । तत्कालीन राजा वीरेन्द्रले २०३४÷३५ सालमा यस क्षेत्रमा चुरे पहाड संरक्षणका लागि कार्यक्रम ल्याउन निर्देशन भएपछि भूताहा, चिसापानी, माकर तथा चिडियाखोला गाउँ पूरै बस्ती स्थानान्तरण गरिएको थियो । यो स्थानान्तरण गर्दा तामनगर र बर्दघाट क्षेत्रमा स्थानीयवासीलाई जग्गा उपलब्ध गराइएको थियो । सरकारले नयाँ ठाउँमा जग्गा उपलब्ध गराउँदा पुरानो ठाउँको जग्गा सरकारीकरण गरेन र जोखिम क्षेत्रको जग्गा पनि स्थानीयवासीकै नाममा नै रहिरह्यो ।      बुटवलको शहरीकरण तथा आकर्षण बढेसँगै यो ठाउँको पहिरोलाई स्थानीयले पनि बिर्सिए । जोखिम हुँदाहुँदै पनि यहाँको जग्गा पनि किनबेच भयो । विस्तारै बस्ती बस्यो । विभिन्न जिल्लाबाट बसाइसराइ गरी आएकाहरुका घरहरु पहिरामा परेर पुरिए । विसं २०५५ को पहिरोमा यस क्षेत्रमा २१ घर पुरिएका थिए भने ५७ घर प्रभावित भएका थिए र यो क्रम गत वर्ष पनि दोहोरियो । गतवर्ष करिब डेढ दर्जन घर पुरिए । ज्योतिनगरका धेरै घरमा ढुङ्गा, माटोसहितको लेदो पस्यो ।      यो क्षेत्रमा २०५५ सालको पहिरोपछि जाइका समूहले सर्भे गरेको थियो । भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो । चुरे क्षेत्रमा भएका ठूला रुखले जोखिम निम्त्याउने भएकाले कटान गर्न सुझाव दिइएको थियो तर त्यो काम अझै पूरा भएको छैन । चुरे पहिरो नियन्त्रणका लागि प्रदेशको वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयले वृक्षरोपणबाहेक कुनै काम गरेको छैन । गत असार १४ गते बाँस र अम्रिसो रोप्ने काम गरिएको र थप कामका लागि समय लाग्ने मन्त्रालयका सूचना अधिकारी नारायणदेव भट्टराई बताउनुहुन्छ ।       पहिरो नियन्त्रणका लागि बाँसको बिरुवा काटेर राइजोन रोप्ने र ब्याम्बो वाल्टरिङ्ग अर्थात् बाँसको कप्टेराको जाली बनाएर लगाउने तयारी गरिएको उहाँको भनाइ छ । “यो वर्ष यहाँको चुरो पहिरो नियन्त्रणका लागि रु २५ लाख बजेट विनियोजन भएको छ । प्राविधिकको सल्लाहअनुसार काम गर्छौं”, उहाँले भन्नुभयो, “वन मन्त्रालय भएकाले हाम्रो मुख्य काम वृक्षरोपण गर्ने हो । अहिले बाँस र अम्रिसो रोपेका छौँ ।” ज्योतिनगर क्षेत्रमा पानी पर्ने बित्तिकै पहिरो जान सुरु हुने भएकाले तत्काल पहिरो नियन्त्रण तथा व्यवस्थापनकै लागि वन मन्त्रालय, राष्ट्रपति चुरे संरक्षण कार्यालय र बुटवल उपमहानगरबीच समन्वय हुन नसकेको मन्त्रालयका सूचना अधिकारी भट्टराईको भनाइ छ ।      बुटवल उपमहानगरले पनि बिरुवा रोप्ने र तारजाली लगाउने काम सो क्षेत्रमा गरेको छ । तर यतिले पहिरो नथामिने भएकाले स्थानीयवासी यसबाट ढुक्क हुन सकेका छैनन् । “आवश्यकताअनुसार तारजाली भरेर खोलाको पानी बस्तीमा आउन नदिने गरी स्थानीयवासीको सहयोगमा काम गरेका छौँ । थप कामका लागि बैठक बसेर निर्णय गर्छौं”, बुटवल उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक मित्रमणि खनाल भन्नुहुन्छ ।       चुरे पहिरो व्यवस्थापनका लागि यो वर्ष गृह मन्त्रालयले रु ४५ लाख विनियोजन गरेकाले प्राविधिकको सुझावका आधारमा पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम अघि बढाउने उहाँले जानकारी दिनुभयो । यस वर्षको मनसुनमा यस क्षेत्रमा धेरै पानी नपरेकाले पहिरो रोकिन्छ कि भन्ने आशा लागेको संयोजक खनालको भनाइ छ । 

तनहुँ:  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरुद्ध भएको सडक सञ्चालन भएको छ । आज बिहान सडकको बीच भागमा ट्रक पल्टिएपछि अवरुद्ध भएको छिर्कने–डुम्रे सडक बिहान १०ः१५ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।    बालुवा बोकेर आउँदै गरेको ग १ ख ४७९२ नं को ट्रक पल्टिएपछि उक्त सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो । क्रेनको सहायताले ट्रकलाई सडकको छेउमा ल्याइएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।    दुईतर्फी रुपमा सडक सञ्चालन हुन अझै केही समय लाग्ने देखिएको छ । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका थिए । एकतर्फी सडक सञ्चालनमा आएपछि सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

  काठमाडौँ:   देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।   जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ भने पूर्वमा सरदर स्थानको आसपासमा छ ।   हाल देशभर आङ्शिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर आङ्शिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव एक डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

  काठमाडौं:   प्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताएका छन् । नागरिक शिक्षित र सुसूचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने बताउँदै उनले त्यसका लागि सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी रहेको बताए ।   राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित कार्यालय भवनको बुधबार बिहान उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘नागरिक जति सुसुचित हुन्छन् सरकार त्यति नै जवाफदेही बन्न बाध्य हुन्छ । अतः नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी छ ।’ सत्य तथ्य सूचना प्रसारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने उनले बताए ।   तथ्यहीन, भ्रामक समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रम सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको प्रधान्मन्त्री देउवाको भनाइ छ ।   प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने पनि बताए ।

  काठमाडौँ:    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ ।    एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । “विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण  रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको हो”, उहाँले भन्नुभयो । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ ।    शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक– शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको उहाँले बताउनुभयो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।    परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिनुभयो ।   यसरी हेर्न सकिन्छ एसइईको नतिजा   एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र ​आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।   नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो ।

बैतडी:    विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।    बिरामी पर्नेमहा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् । उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो ।   च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो । मङ्गलबार बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ उनीहरु सबैले खाएका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो । 

जुम्ला:    प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर हुन सकेको छैन ।    कर्णालीको जुम्ला प्राकृतिकरूपले पर्यटनको अत्यन्तै सम्भावनायुक्त ठाउँ मानिन्छ । जुम्लाको पातारासी हिमाल, संसारको उच्च स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्यूला, जुम्ला तातोपानी गाउँपालिकास्थित पहाड फोडेर निस्केको तातोपानी धारा, लक्षालकृति पैकला (वीरयोद्धा), मार्सी धान सुरुआत गरिएको गुरुफोक्टो, चन्दननाथ भैरवनाथ मन्दिर, मष्टो प्रथा, गुठीचौर भेडा अनुसन्धान केन्द्र, तिला त्रिवेणीलगायतका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र अध्ययन, अनुसन्धान र पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिन्छन् ।   जुम्लाको गुठीचौर गाउँपालिका–१ मा हालै चौँरी गोठालाहरुले आकाशे ताल पत्ता लगाएका छन् । वडा नं १ मणिसाँघुबाट डेढ दिनको दूरी हिँडेर पुगिने ठाउँमा चार हजार ७०० मिटरको उचाइमा उक्त आकाशे ताल गोठालाले पत्ता लगाएका हुन् । सात वर्षअघि चौँरीपालक गोठालाहरूले नै चार हजार ३०० मिटरको उचाइमा हिउल्सा ताल र चार हजार मिटर उचाइमा रहेको दूध कुण्डली तालसमेत पत्ता लगाएका थिए ।    ती सबै तालको केही दिनअघि वडाध्यक्ष अर्जुनकुमार महतारासहितको  टोली अवलोकन गरेर फर्केको छ । मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको उक्त आकाशे तालमा पहिलोपटक वडाध्यक्षको टोली पुगेको हो । “चौँरी गोठाला मुस्किलले त्यहाँ पुगेका रहेछन्”, वडाध्यक्ष महताराले भन्नुभयो, “चौँरी हराउँदा खोज्दै जाने क्रममा ताल भेटिएको रहेछ ।”   स्थानीय साङ्गे गुरुङका अनुसार चौँरी खोज्दै जाने क्रममा गोठाला तालमा पुगेका हुन् । “सहजै नपुग्न सकिन्न, त्यसैले तालको महत्वबारे कोहीलाई थाहा भएन”, उहाँले भन्नुभयो । गुरुङका अनुसार तिब्बती भाषामा आकाशे ताललाई म्हाङ्ग्वो युञ्जो भन्ने गरिन्छ । आकाश जस्तो  रङ भएकाले त्यसलाई आकाशे ताल भनिएको उहाँको भनाइ छ ।    तालको शिरमा दूध कुण्डली हिमाल अवस्थित छ । शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ । निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घण्टाको समय लाग्ने वडाध्यक्ष महतारा बताउनुहुन्छ । उक्त तालका माध्यमबाट भविष्यमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने उहाँको भनाइ छ । 

  पर्सा:    वीरगंज महानगरपालिका ११ श्रीपुरटोलस्थित सडकबाट रौतहट परोहा नगरपालिका(३ बस्ने ३२ वर्षीय बिटु दुवेदीलाई १ हजार दरको ६ थान नक्कली नोट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।        विषेश सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले उक्त टोलमा दुवेदीलाई फेला पारी जाँच गर्दा उनको साथबाट उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।    उनी उपर मुद्रा सम्बन्धी (खोटा चलन) कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।