काठमाडौं: कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ बस्ने भोजपुर खार्ताम्छाकी ४३ वर्षीया गिता गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत चितवनको २०७७ माघ १२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
काठमाडौँ: ४४औँ बुद्धिचाल ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ । भारतको चेन्नईमा यही साउन १२ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने बुद्धिचाल खेलाडी टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले उच्च मनोबलका साथ सहभागी हुँदै विजय हासिल गर्नका लागि शुभकामना दिनुभएको हो । सन् २००४ मा स्पेनमा सम्पन्न ३६औँ बुद्धिचाल ओलम्पियाडदेखि लगातार सहभागी नेपालको पुरुष टोलीमा पुरुषोतम चौलागाईं, रुपेश जयसवाल, क्षितीज भण्डारी, विवेक थिङ र मिलन लामा रहेका छन् । धनबहादुर बोगटीले नेपाली टोलीको नेतृत्व गर्नेछन् । त्यसैगरी सन् २०१४ मा नर्वेमा सम्पन्न ४१औँ बुद्धिचाल ओलम्पियाडबाट यात्रा थालनी गरेको नेपाली महिला टोलीमा सुजना लोहनी, कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति धिमाल छन् । महिला टोलीको जिम्मेवारी भने भुपेन्द्र निरौलाले पाएका छन् । टोली व्यवस्थापक रुपमा नेपाल बुद्धिचाल सङ्घका महासचिव धरमबहादुर लामा रहेका छन् । सङ्घका सचिवद्वय उमेश केसी र मोनालिशा खम्बु ४४औँ बुद्धिचाल ओलम्पियाडमा आर्विटरका रुपमा सहभागी हुँदैछन् । त्यसैगरी यही साउन १५ देखि २४ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) को ९३औँ फिडे कंग्रेसमा नेपालका तर्फबाट नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष विदुरप्रसाद गौतमले प्रतिनिधित्व गर्नेछन् । कांग्रेसले फिडेको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्नेछ । कंग्रेसअन्तर्गत आयोजना हुने विभिन्न बैठकमा सहभागिताका लागि नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, उपाध्यक्ष नारायणदास गमाल, कोषाध्यक्ष ज्ञानेन्द्र महर्जनसहितको टोली बुधबार चेन्नई प्रस्थान गर्नेछ ।
बाँके: बाँकेको कोहलपुर नगरपालिका १४ स्थित पार्वतीपुर निवासी दम्पतीको हत्या योजना दाजुले नै बनाएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भाइ बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको खुलेको हो। मंगलबार बिहान घरमै दम्पती मृत फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा विजयमाथि शंका गरेको थियो। भाइ(बुहारीको हत्याको समयमा उनी घरमै रहेको खुलेको छ। उनलाई घरबाटै पक्राउ गरेर सोधपुछ गर्दा आफूले एक लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको तथ्य स्वीकारेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए। विजयले भाइ बुहारीको हत्याका लागि एक लाख दिएर भाडामा प्रयोग गरेका अभियुक्तहरूबारे प्रहरीले विस्तृत खुलाइसकेको छैन। घटनाबारेमा अहिले अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताएका छन्।
काठमाडौं: यु-१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक रहेका उर्जनलाई यु-१७ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले जानकारी दिए । एन्फाले यु–१७ टोली निर्माणका लागि खुल्ला छनोट मार्फत खेलाडी छनोट गरिरहेको छ । खेलाडी छनोट साउन २० गतेसम्ममा सकिने राईले जानकारी दिए । श्रेष्ठले २०१६ मा प्रशिक्षणमा ‘ए’ लाइसन्स् प्राप्त गरेका थिए । उनले २०२१ मा थ्री स्टार क्लबको जिम्मेवारी लिएका थिए । उनले जिम्मेवारी लिएपछि थ्री स्टारले बाग्मती गोल्डकप फुटबलको उपाधि जितेको थियो ।
गुल्मी: गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँड्नुभयो । उहाँ आफू मात्रै हिँड्नुभएन, ८ वर्षीया छोरी पूजालाई पनि सँगै लिएर जानुभयो । छविकला आउने आशामा परिवारले झन्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरेपनि फेला पारेनन् । जेठ ४ गते देवर भीम बहादुरले जिल्ला प्रहरी कार्यालयमा भाउजू हराएकाले खोजिदिन निवेदन दिनुभयो । भाउजू आफूखुसी भागेर हिँडेको पीडकको निवेदनमा उल्लेख थियो । छविकलालाई परिवार, स्थानीयवासिन्दा एवम् प्रहरीले हराएको सूचीमा राखेर खोजी गरिरहे पनि अहिलेसम्म उहाँ फेला पर्नुभएको छैन । रेसुङ्गा नगरपालिका–८ की ईश्वरी कार्की पनि गत जेठ ८ गते घरबाट हिँड्नुभयो । चौँतीस वर्षीया उहाँले पनि दुई वर्षीया छोरीलाई सँगै लिएर जानुभयो । सोही दिन नै श्रीमान् नारायण कार्कीले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजी गरिदिन आग्रह गर्दै उजुरी दिनुभयो । ईश्वरी हराएको दुई महिना हुँदा पनि अहिलेसम्म अत्तोपत्तो छैन । उहाँलाई प्रहरी र आफन्तले खोजिरहेका छन् । थापा र कार्की त हराएर नभेटिनेमध्येका केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् । पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा ३३९ जना हराएका थिए । आर्थिक वर्ष २०७६/७७ देखि ०७८/७९ सम्म उक्त सङ्ख्यामा महिला, बालक, बालिका र वृद्ध हराएका हुन् । हराएकामध्ये पनि २२ जना अझै भेटिएका छैनन् । बाँकी ३२४ जना सम्पर्कमा आएका थिए । आर्थिक वर्ष ०७६/७७ मा ६९ महिला, सात बालक, २१ बालिका र वृद्ध गरी कुल १०८ जना हराएका थिए । हराएकामध्ये सबै सम्पर्कमा आएका थिए। आर्थिक वर्ष ०७७/७८ मा ७३ महिला, पाँच बालक, १० बालिका र चार वृद्ध गरी कूल ९२ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये चार महिला, एक बालक र दुई वृद्ध गरी सातजना अझैसम्म पनि नभेटिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आव०७८/७९ मा ९५ महिला, ११ बालक, ३० बालिका र तीन वृद्ध गरी एक सय ३९ जना हराएका थिए । तीमध्ये १० महिला, नौ बालक र तीन बालिका गरी १५ जना अझैसम्म पनि नभेटिएको उक्त कार्यालयका सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो । हराएकामध्ये अधिकांश १७ देखि ४० वर्षसम्मका महिला थिए । श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना धेरै हुने गरेको उहाँले बताउनुभयो । त्यसका साथै घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायत कारणले महिलाहरु हराउने गरेको पाइएको छ । यस्तो समस्या समाधानका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउनेलगायत कार्य गरिए मानिस हराउने सङ्ख्यामा कमी आउने सूचना अधिकारी खरेलको भनाइ थियो । । हराएका मानिसहरु पत्ता लगाउनका लागि उनीहरुको मोबाइल, फेसबुक, इन्टरनेटका साथै देशका अन्य ठाउँका प्रहरीलगायत स्रोतहरु परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ: नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्योपचारलगायत विषयमा सम्झौता भएको छ ।सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थाबाट उद्धार गरेर आश्रमको संरक्षणमा राखिएका व्यक्तिलाई अस्पतालले उपचार गर्ने सम्झौतामा उल्लेख छ ।सम्झौतापत्रमा अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर प्रहरी अतिरीक्त महानिरीक्षक डा आशा सिंह र आश्रमका तर्फबाट संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको हो । सम्झौता पश्चात् अस्पतालले विपन्न नागरिक उपचार कार्यविधि–२०७९ अन्तर्गत आश्रमको संरक्षणमा रहेका व्यक्तिलाई तीन शैय्या उपलब्ध गराउने भएको छ । उक्त सम्झौतापछि अब बेसहारा नागरिकलेसमेत निःशुल्क रुपमा उपचार प्राप्त गर्न सक्ने छन् ।साथै अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीका लागि भर्ना भइसकेपश्चात् औषधिलगायत सामग्री निःशुल्क उपलब्ध गराइने भएको छ । मेडिकल डाइरेक्टर सिंहले मानवीय सेवाको कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “जीवनरक्षाका लागि कार्य गर्दै आइरहेका थियौँ । यसमा थप सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा रहेका व्यक्तिको जीवन पनि बचाउन पाउनु हाम्रा लागि पनि खुसीको कुरा हो । आगामी दिनमा उक्त आश्रमको सेवामा संस्थागत र व्यक्तिगत रुपमा मेरो तर्फबाट साथ रहने कुरामा प्रतिबद्ध छु ।,” उहाँले थप्नुभयो । अस्पतालसँगको सहकार्यले यस आश्रमको काममा सहजता हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । “सडकपेटीबाट उद्धार गरिएका व्यक्ति विभिन्न क्यान्सर, एचआइभी एड्स, हेपाटाइटिस, मिर्गौलाले काम नगर्नेजस्ता रोग लागेका व्यक्ति छन् । अस्पतालको साथले हामीमा थप हौसला बढेको छ,” उहाँले भन्नुभयो, “यो सम्झौता एक वर्षका लागि रहेको र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने छ ।”आश्रमले हाल सातै प्रदेशको १९ जिल्लाको २३ स्थानमा शाखा स्थापना गरी सहयोगापेक्षी सडकआश्रित व्यक्तिको उद्धार एवं संरक्षण गरिरहेको छ । अहिले आश्रमको संरक्षणमा करिब एक हजार ५०० आश्रित छन् भने संस्थाको स्थापनादेखि १० वर्षको अवधिसम्म आइपुग्दा सातहजार २०० बढीको उद्धार भइसकेको छ ।
दाङ: घोराही उपमहानगरपालिका–१३ कलमघारीका रेशमबहादुर राणासँग १५० माहुरीका घार छन् । उहाँले ८३ घारबाट माहुरीपालन सुरुआत गर्नुभएको हो । पहिला माहुरीपालनबाट मेहनतअनुसार कमाई ठिकै थियो । त्यही अवस्थाबाट उत्साहित हुँदै राणाले माहुरीका घार थप्नुभयो । “घार थपेसँगै मह उत्पादन बढेको छ, तर मह बिक्री हुन सकेको छैन”, राणाले भन्नुभयो । जिल्लामै विगत वर्षभन्दा यस पटक मह उत्पादन बढेको छ । मह नबिकेपछि किसान निराश छन् । स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसानले मह घरमै भण्डारण गरी बजार खोज्न थालेका छन् । “बजारमा मह खपत हुन सकेको छैन, घरमा यत्तिकै राख्नु परेको छ,” राणाले भन्नुभयो, “फेरि मह उत्पादन हुने याम सुरु भएको छ, बिक्रीकोृ चिन्ता हुन थालेको छ ।” उत्पादन राम्रो भए पनि महले बजार नपाएपछि निराश बनेको तुलसीपुरका मौरीपालक किसान उमेश थापा बताउनुहुन्छ । खपत हुन नसक्दा घरमै मह राख्नुपर्ने अवस्था आएको घोराही–१८ अम्बापुरका मोहन खत्रीको भनाइ छ । किसानले सेरेना र मेलिफेरा जातका माहुरीपालन गर्दै आएका छन् । जिल्लामा हाल पाँच सयभन्दा बढी व्यावसायिक रुपमा मौरीपालक किसान रहेको नेपाल मौरीपालक महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । “मह नबिक्दा मौरीपालक किसान के गर्ने भन्ने अन्यौलमा छन्”, उहाँले भन्नुभयो । जिल्लामा हाल १५० टन मह बिक्री नभएर थन्किएको तथ्याङ्क महासङ्घसित छ । “मह बिक्री नहुँदा लागत खर्च उठाउन समस्या भएको छ”, श्रेष्ठले भन्नुभयो । आयातीत महले पनि स्थानीय महको बजार प्रतिस्थापन गरेको छ । महको स्थानीय ब्रान्डलाई स्तरीय बनाउन जरुरी रहेको उहाँको भनाइ छ । दाङको मह पोखरा, काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ । भारतीय बजारबाट आउने सस्तो मूल्यको महका कारण उपभोक्ताले स्थानीय महमा चासो दिएका छैनन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मौरीजोनकी प्राविधिक सहायक नारायणी घर्ती मौरीपालक कृषकलाई मौरीको नस्ल सुधारदेखि व्यावसायिक रुपमा मह उत्पादनमा अनुदानलगायत सहयोग गर्दै आएको बताउनुहुन्छ । “बजारीकरणको काम कृषक आफँैले गर्ने गरेका छन्”, उहाँले भन्नुभयो । यस पटक औसतमा प्रतिघार १२ दशमलव ८३ किलो मह उत्पादन भएको घर्तीले बताउनुभयो । मौरीजोनमा घोराहीका १०१, तुलसीपुरका ४५ र बङ्गलाचुलीका ११ फार्म सूचीकृत छन् । उत्पादित मह सहकारीमार्फत बेच्ने तयारी छ । बजारीकरणमा समस्या भएपछि यहाँका किसान सङ्गठित रुपमा एकद्वार प्रणालीमार्फत मह बिक्री गर्ने तयारीमा जुटेका छन् । मह उत्पादक किसानलाई सहकारी संस्थामा आबद्ध गराउँदै एकीकृत रुपमा मह बिक्री गर्ने तयारी छ ।
काठमाडौँ: प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीमा नेवार समुदायले मनाउँछ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाइ दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ । स्थान एवं कूल परम्परा अनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगी जलाइन्छ । यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ । यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रुपमा मान्छन् ।
म्याग्दी: म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पुर्याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो । गण्डकी प्रदेश सरकारले सुरुआत गरेको हरेक घरमा खानेपानी पुर्याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पुर्याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । चौधवटा खानेपानी योजनामार्फत धारा निर्माण गरिएको हो । आर्थिक वर्ष २०७८/७९ मा एक हजार ३४७ घरमा धारा निर्माण गरिएको छ । “स्थानीयवासीले स्वच्छ र सफा खानेपानी उपभोग गर्न पाएका छन्”, पौडेलले भन्नुभयो । विसं २०७५ देखि गण्डकी प्रदेश सरकारले हरेक घरमा सफा र स्वच्छ खानेपानी सुविधा विस्तार गर्न ‘एक घर एक धारा’ कार्यक्रम अघि सारेको हो । जिल्लाभर २९ हजार ४९९ घरमा आधारभूत खानेपानीको पहुँच पुगेको पौडेल बताउनुहुन्छ । आयोजनाले ९६ प्रतिशत घरमा आधारभूत खानेपानीको पहुँच पु¥याउने लक्ष्य लिएको छ । प्रदेश सरकारको बजेटबाट अन्नपूर्ण गाउँपालिका–८ मा थावन खानेपानी योजना, रघुगङ्गा गाउँपालिका–१ मा बेगखोला खानेपानी योजना, बेनी नगरपालिका–९ मा गलेश्वर पम्पिङ खानेपानी योजना, निलदह खानेपानी योजना र वडा नं ४ मा सिङ्गा खानेपानी योजना सम्पन्न भई घर–घरमा धारा निर्माण गरिएका छन् । यस्तै अन्नपूर्ण गाउँपालिका–६ मा घारा खानेपानी योजना सम्पन्न भएको छ । मङ्गला गाउँपालिका–२ मा हिदी खानेपानी योजना, वडा नं १ मा कुहुँ खानेपानी योजना र मालिका गाउँपालिका–२ रुममा सेतखोला खानेपानी योजना सम्पन्न भएको इञ्जिनीयर राजेश उलकले जानकारी दिनुभयो । त्यसैगरी बेनी नगरपालिका–२ मा ज्यामरुककोट अर्जम रत्नेचौर खानेपानी योजना र मालिका गाउँपालिका–५ मा देवीस्थान खानेपानी योजना सम्पन्न भएको छ । मङ्गला गाउँपालिका–१ मा भर्जुला सल्यान खानेपानी योजना र अन्नपूर्ण गाउँपालिका–६ घारामा नेपाने खोनेपानी योजना सम्पन्न भएको छ। जिल्लामा सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएका १० र प्रदेश सरकारका २२ खानेपानी योजना सञ्चालित छन् । सङ्घीय सरकारबाट हस्तान्तरण भएका दुई सम्पन्न तथा ८ योजना निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ । प्रदेश सरकारका १८ योजना हाल निर्माणाधीन अवस्थामा छन् ।

