पोखरा: अखिल नेपाल भूमिहिन सुकुम्बासी संघले आज विरोध जनाउँदै पोखरा महानगर घेराउ गरेको छ । सुकुम्बासीमाथि पोखरा महानगरले ज्यादती गरेको भन्दै अखिल नेपाल भुमिहिन सुकुम्बासी संघले आज (सोमबार) पोखरा महानगरपालिकाको कार्यालय घेराउ गरेको हो । नेकपा (बिप्लव समुह) कास्कीका सचिव काजी गुरुङले आन्दोलनमा बोल्दैे मेयरको कार्यशैली न्यायचित नभएको तर्क राखे । उनले मेयरले पोखरेली नागरिकहरुलाई समान व्यवहार नगरको बताउदै भने, ‘आदरणीय मेयरसाब तपाई मेयरसाब हैन मेयरसाँप हुनु भो । हामी सुकुम्बासीमाथी दानवीय दृष्टिकोण राख्नुभो । ठुला पदमा बसेर हामीलाई विभेद गर्नुभो, उनले थपे ‘हामीलाई गरिखान दिइएन । हाम्रो जग्गा जमिन खोसियो र हामिले उब्जाएको तरकारीमा बुट प्रहार गरियो । यो हामीलाई सहनीय छैन ।’ गुरुङले भूमिहिन सुकुम्बासीहरुमा मेयरको निरन्तर पक्षघाति दृष्टिकोण रहेको जनाउँदै उनले भने, ‘तपाइले माक्र्सवाद, लेनीनवाद पढ्नु भएकोछ र यदि तपाई समाजवादी मेयर हो भने आदरणीय मेयरसाब तपाई धनी धनराज भएर हैन, सेवक धनराज भएर जनताको समस्यामा गम्भिर हुनुहोस् ।’ आन्दोलनमा नालायक करोडपति मेयर मुर्दावाद, बास, गाँस, कपासको ग्यारेन्टि गर, सुकुम्बासीको अधिकारको रक्षा गर, लगायतका नारासहित महानगर अगाडी प्रदर्शन गरिएको थियो । पोखरा महानगरपालिकाले गत हप्ता पोखरा ३३ दुई पिप्लेस्थित सुकुम्बासी बस्तीमा निर्मित अस्थायी टहराहरु बल प्रयोग गरि हटाएको थियो ।
विराटनगर: प्रदेश नं १ मा कोभिड–१९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६ नागरिकले लगाएका छन् । प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ वर्षदेखि माथिका ७९ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप यही साउन ४ गतेसम्म लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिनुभयो । खोप लगाउनेमध्ये १२ वर्षमाथिका ८१ प्रतिशतले पहिलो मात्रा, ७९ प्रतिशतले दोस्रो र पाँच प्रतिशतले बुस्टर डोज खोप लगाएको प्रमुख साहले बताउनुभयो । प्रदेशमा कोभिड– १९ विरुद्धको छ प्रकारका खोप नागरिकलाई लगाएका छन् । यसरी लगाइएका खोपमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, अष्ट्राजेनेका, फाइजर र मोर्डना रहेका छन् । प्रदेशमा अहिलेसम्म ७१ लाख ५७ हजार ४३९ मात्रा खोप आएको छ । कतिपय नागरिकले पहिलो खोप लगाएपश्चात विदेश गएको, अन्य प्रदेशमा लगाएको र व्यवस्थित अभिलेख राख्न नसकेका कारण दोस्रो तथा बुस्टर मात्रा कम देखिएको छ । प्रदेशका तराईका जिल्लाको तुलनामा पहाडी तथा हिमाली जिल्लामा खोप लगाउनेको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको प्रमुख साहले बताउनुभयो । तराई क्षेत्रमा विभिन्न अफवाह एवं भ्रमका कारण खोप लगाउनेको सङ्ख्या कम हुन गएको केन्द्रले जनाएको छ । यस्तै प्रदेशका १० जिल्लामा भेरोसेल, जोनसन र फाइजर खोपको मौज्दात रहेको केन्द्रले जनाएको छ । ताप्लेजुङ, ओखलढुङ्गा, धनकुटा, मोरङमा कोभिड १९ विरुद्धको खोप मौज्दात नरहेको केन्द्रका निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र कार्यालयमा फाइजरको एक लाख ७४ हजार ८०० सय मात्रा मौज्दात रहनुका साथै प्रदेशका सबै जिल्लामा गरी चार लाख १८ हजार डोज खोप बाँकी रहेको कार्यालयका श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशमा अहिले सरदर दुई हजार ८५० जनाले दैनिक खोप लगाइरहेको कार्यालयका प्रमुख साहले बताउनु भयो । यस्तै प्रदेशमा ११ हजार कोभिसिल्ड खोप खेर गएको छ । केन्द्रका अनुसार म्याद सकिन १५ दिन बाँकी रहेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडाँैबाट उक्त खोप पठाएका कारण खेर गएको हो । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख साहले यसअघि पनि प्रयोग हुन नसक्द अष्ट्राजेनेकाको ५० हजार खोपको मात्रा खेर गएको थियो ।
काठमाडौँ: भारतबाट लागुऔषध बोकी नेपाल आएका दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका– १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, निजकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । आइतबार भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका तीनै जनालाई महोत्तरीको औरही नगरपालिका–४कठुधारस्थित प्रहरी चौकीका प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नाइट्राभेट–१० लेखिएको ९९ पिस लागुऔषध बरामद बरामाद भएको र तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएकोे थियो ।
तनहुँ: साउनको दोस्रो सोमबार बोलबम मेलाका लागि तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड बढेको हो । साउनको पहिलो सोमबार २० हजार भक्तजनले देवघाटमा मेला भरेका थिए । देवघाट क्षेत्र विकास समितिका अनुसार तनहुँ, चितवन, नवलपुरका अतिरिक्त आसपासका जिल्लाबाट पनि उल्लेख्य मात्रामा भक्तजन देवघाट आइपुगेका छन् । साउनमा पाँच सोमबार परेकाले भक्तजनको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेका अनुसार साउनका पाँच सोमबार गरेर एक लाख ५० हजारभन्दा बढी भक्तजन देवघाट आउने अनुमान गरिएको छ । देवघाट आउने भक्तजनका लागि ट्राफिक प्रहरी कार्यालयले रुट निर्धारण गरेको छ । कोरोना कहरका कारण अघिल्लो वर्ष औपचारिक रुपमा मेला आयोजना गरिएको थिएन । देवघाट क्षेत्र विकास समितिले दुई वर्षपछि बोलबम मेला आयोजना गरेको हो । घिमिरेका अनुसार भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको छ । देवघाटमा हरेक वर्ष साउनको सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट आउने गर्दछन् । साउनमा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवका रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ । मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशुलीको सङ्गम वेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास रहँदै आएको छ ।
नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा गैँडकोटको बेरुजु बढेको हो । गैँडाकोटमा हालसम्म रु नौ करोड १९ लाख ८५ हजार बेरुजु देखिएको छ । आव २०७६/७७ मा भन्दा आव २०७७/७८ नगरपालिकाको बेरुजु बढेको हो । महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार आव २०७६/७७ सम्म गैँडाकोटमा रु चार करोड १५ लाख १८ हजार बेरुजु रहेको थियो भने आव २०७७/७८ मा रु पाँच करोड ४२ लाख ४४ हजार बेरुजु थपिएको छ । आव २०७६/७७ को बेरुजुसमेत समायोजन र समपरीक्षणबाट फछ्र्यौट एवं आव २०७७/७८ को रु पाँच करोड ४२ लाख ४४ हजारसहित रु नौ करोड १९ लाख ८५ हजार बेरुजु पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयको प्रतिवेदनअनुसार नगरपालिकामा आव २०७७/७८ मा रु पाँच करोड ४२ लाख ४४ हजार बेरुजु रहेको छ । त्यस्तै आव २०७६/७७ मा रु दुई करोड ६० लाख दुई हजार, आव २०७५/७६ मा रु पाँच करोड ९९ हजार र आव २०७४/७५ मा रु एक करोड ४२ लाख ६० हजार बेरुजु थियो । बेरुजु रकममध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने र पेस्की रकम गरी हालसम्मको अद्यावधिक बेरुजु रु नौ करोड १९ लाख ८५ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
म्याग्दी: म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न ठाउँमा सो सङ्ख्यामा उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले थप ११ किलोमिटर ११ केभी र ४००/२०० भोल्टेजको ९५ किलोमिटर शाखा लाइन विस्तार गरेर विद्युत् वितरण गरेको जानकारी दिनुभयो । रघुगङ्गाको चिमखोला, दरमिजा, घ्याँसीखर्क, मङ्गलाको अर्मन, गहते, छिसवाङ, मुसलबारी, मालिकाको घरिथोक, मगरदाङ, पन्थोक, जुग्जा, ओखरबोट, निस्कोट, कोदालीवाङ, धौलागिरिको मुना, फलियागाउँ, दर, सोलवाङ, खारालगायतका बस्तीमा नयाँ लाइन विस्तार भएको हो । २० वटा नयाँ ट्रान्सफर्मर जडान र बाबियाचौरलगायत केही ठाउँमा वितरण र शाखा लाइनको नाङ्गो हटाएर कालो तार राखिएको छ । उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसियाली छाएको छ । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ । यस वर्ष थपिएकासहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २० हजार ५०५ विद्युत्का ग्राहक पुगेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा केन्द्रअन्तर्गत १९ हजार ७३४ उपभोक्ता थिए । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सवस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ । गत वर्ष म्याग्दी वितरण केन्द्रमा नयाँ लाइन विस्तारका लागि विनियोजन भएको रु चार करोड ७५ बजेटबाट ठेक्का लगाइएको एक वटा योजनाको ६० प्रतिशत प्रगति र चार वटाको ठेक्का सम्झौता भएको केन्द्रका प्रमुख झाले बताउनुभयो । लाइन विस्तार र मर्मत सुधारका लागि आव २०७६/७७ का पाँचमध्ये चार र २०७७/७८ का छ वटामध्ये पाँचवटा ठेक्काको काम सकिएको छ । बाँकी एक/एक वटा ठेक्काको काम यही साउन महिनामा सकिदैछन् । यो आवमा मालिकाको रुम, स्याउलुङ, औल, रघुगङ्गाको पात्लेखर्क, धौलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत् आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ । गत आवमा वितरण केन्द्रमार्फत एक करोड ३६ लाख ८२ हजार ३४९.१४ युनिट विद्युत् खपत भएको छ । रु १४ करोड ५७ लाख ५५ हजार ७४१ मूल्य बराबरको विद्युत् खपत भएको हो । बक्यौता र अग्रिमसहित रु १४ करोड ८३ लाख १३ हजार ८७६ महशुल सङ्कलन भएकोमा रु दुई करोड ९९ लाख ३९ हजार ६७३.०६ अनलाइनमार्फत प्राप्त भएको थियो । गत वर्ष समयमा महशुल नबुझाउने ३६८ उपभोक्ताको लाइन काटेर रु ४६ लाख ८३ हजार २७३.७३ बक्यौता असुल गरिएको छ । अघिल्लो आव २०७७÷७८ मा ५३ जना ग्रहाकको लाइन काटेर रु २३ लाख ९९ हजार ६८६ बक्यौता असुल भएको थियो । कालोसूचीमा राखिएका पाँच जना ग्राहकबाट रु ३९ हजार ३२५ महशुल असुल भएको छ । तारबाट हुक गरेर विद्युत् चोरी गर्ने पाँच जनालाई रु एक लाख ६२ हजार ८६५ जरिवाना तिराइएको छ । छ महिनासम्म महशुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्तिलाई गुणस्तरीय र नियमित बनाउन नयाँ विस्तार हुने मुख्य, शाखा र वितरण लाइनको तार कालो राख्न थालिएको छ । बजार र जोखिमयुक्त क्षेत्रमा पनि नाङ्गो तार विस्थापित गर्न थालिएको छ । अनलाइनबाट महशुल भुक्तानी गर्न, फोनमार्फत र सामाजिक सञ्जालमार्फत मिटर रिडिङ गर्ने सुविधा दिएको केन्द्रका प्रमुख झाले बताउनुभयो । ग्रामीण क्षेत्रका उपभोक्ताले घरमा नआइ अनुमानको भरमा मिटर रिडिङ गरिँदा कुनै समय कम र कुनै महिना अस्वभाविक महशुलको बिल आउने गरेको गुनासो गरेका छन् ।
तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोगले शुक्लागण्डकी नगरपालिका–७ बाट आजदेखि जग्गाको नापजाँच सुरु गरेको हो । विसं २०७७ मा प्रकाशित सूचनाअनुसार दर्ता हुन आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदनबमोजिम जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत जग्गाको नापजाँच सुरु गरिएको शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । जग्गा नापजाँच सुरु गर्नु अगाडि नगरपालिकाले स्थानीयवासीलाई निवेदन दर्ताको निस्सा वितरण गरेको थियो । शुक्लागण्डकीमा करिब पाँच हजार ५०० भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । विगत लामो समयदेखि आफूले भोगचलन गर्दै आएको भूमिको पुर्जा सिरानीमा राखेर निदाउने तनहुँको शुक्लागण्डकी नगरपालिकाको चाहना अझै पूरा हुन सकेको छैन । पटक–पटक लालपुर्जा पाउने आश्वासन पाएपनि त्यो सपना अधुरै छ । निर्वाचनका बेला भोट तान्न आश्वासन पाए पनि स्थानीयवासीले लालपुर्जा पाउन सकेका छैनन् । शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २, ५, ६, ७ र ८ मा अव्यवस्थित, सुकुम्बासीको बसोबास अधिक छ । बस्तीमा सडक, बिजुली, खानेपानी, विद्यालयजस्ता आधारभूत विकास भए पनि पुर्जाविहिन हुनुको पीडाले स्थानीयवासी चिन्तित छन् । राष्ट्रिय भूमि आयोगले देवघाट गाउँपालिकामा पनि जग्गा नापजाँचको काम सुरु गर्ने तयारी गरेको छ । आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका–७, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका–१ र २, देवघाट गाउँपालिका–५ र व्यास नगरपालिका–१ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ । बन्दीपुर गाउँपालिकामा भने अव्यवस्थित बसोबासीको निस्सा वितरण गर्न बाँकी रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ । यो कामका लागि सबै अधिकार स्थानीय तहमा रहेको बताइएको छ । तथ्याङ्क दर्ता, निस्सा वितरण, सार्वजनिक सूचना जारीपश्चात् उजुरी सङ्कलनलगायतका काम हुने आयोग अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । भूमिहीन सुकुम्बासी र भूमिहीन दलितका हकमा सात दिने र अव्यवस्थित बसोबासीका हकमा १५ दिने सार्वजनिक सूचना जारी हुनेछ ।
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वथ हुनुभएको छ । मधुमेह बढेपछि उपचारका लागि उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकयसचिव मनोज लिम्बूले जानकारी दिनुभयो । वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना हुनुभएको बताउनुभयो । उहाँका अनुसार मन्त्री खापुङको अहिले वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ । “उहाँको प्रारम्भिक जाँच गरिएको छ । स्वास्थ्य अवस्था पनि राम्रो छ”, डा बस्नेतले भन्नुभयो, “जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ ।”
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो “लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक–पटक प्रतिबद्धता जनाएको थिएँ । अब यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छ ।” सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शुक्रबार पारित नागरिकता विधेयक माओवादीकै कारण सम्भव भएको दाबी गर्नुभयो । “तपाईँहरूले माओवादी पार्टीलाई बलियो बनाएर आउने दिनमा यहाँका जनताको हकअधिकार, पहिचान र विकास समृद्धि र समाजवादका निम्ति योगदान गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकी देश चीन र भारतसँग सन्तुलित राम्रो सम्बन्ध बनाउनुपर्छ ।” मधेसी जनताको चाहनाअनुरुप यहाँको शिक्षा, स्वास्थ्य, सडक संरचना माओवादी केन्द्रको अगुवाइमा विकासका काम हुने उहाँले दाबी गर्नुभयो । “चीन सरकारको एउटा टोलीसँग र भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्षको निम्तोमा भारतमा गएर सरकारका प्रतिनिधि र पार्टीका प्रतिनिधिसँग स्पष्ट छलफल भएको छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालको राष्ट्रिय हितका निम्ति, नेपाली जनतको विकास र समृद्धिका निम्ति मैले दुवै छिमेकीबाट त्रिदेशीय सम्झदारी बनाउने, दुवैबाट सहयोग जुटाउने कोसिस पार्टीले गरिरहेको छ ।” अध्यक्ष दाहालले सङ्घीयतालाई बदनाम र कमजोर पार्ने काम भइरहेकाले यहाँको जनता सजग भएर संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई आगामी चुनावमा मत दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता प्रल्हाद बुढाथोकीलगायतले जनताका बीचमा गएर पार्टी गतिविधिका बारेमा प्रचार–प्रसार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

